प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w03 १२/१५ pp. १९-२४
  • यहोवाको दिनको लागि तयार रहनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाको दिनको लागि तयार रहनुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • आत्म-सन्तुष्ट हुने मनोवृत्ति त्याग्नुहोस्‌
  • आध्यात्मिक निदोउरोपनको प्रतिरोध गर्नुहोस्‌
  • आध्यात्मिक तवरमा हानिकारक जीवन शैली त्याग्नुहोस्‌
  • हर हालतमा तयार रहनुहोस्‌
  • के तपाईं यहोवाको दिनको लागि तयार हुनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • जागा रहनेहरू धन्यका हुन्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • “अन्तको समयमा” जागा रहनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
  • “जागा रहो”—इन्साफको समय आएको छ!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
w03 १२/१५ pp. १९-२४

यहोवाको दिनको लागि तयार रहनुहोस्‌

“तिमीहरू पनि तयार रहो किनकि मानिसको पुत्र तिमीहरूले नचिताएको बेला आउँछ।”—मत्ती २४:४४.

१. हामीले यहोवाको दिनलाई किन ध्यान दिनुपर्छ?

यो लडाइँ र क्रोध, वेदना र विपत्ति, अन्धकार र विनाशको दिन हुनेछ। नूहको दिनमा जलप्रलयले दुष्ट संसारलाई स्वात्तै लगेझैं यहोवाको “महा र भयंकर दिन” यो दुष्ट रीतिरिवाजमाथि अवश्‍य आउनेछ। त्यो पक्कै आउनेछ। यद्यपि, “परमप्रभुको [“यहोवाको,” NW] नाउँ लिने जोसुकै पनि बचाइनेछ।” (योएल २:३०-३२; आमोस ५:१८-२०) परमेश्‍वरले आफ्ना शत्रुहरूलाई विनाश गर्नुहुनेछ र आफ्ना जनहरूलाई बचाउनुहुनेछ। अविलम्बी भाव राख्दै अगमवक्‍ता सपन्याह यस्तो घोषणा गर्छन्‌: “परमप्रभुको भयानक दिन नजीकै छ, नजीकै, त्यो चाँडै आउँदैछ।” (सपन्याह १:१४) तर यो ईश्‍वरीय न्याय कहिले आउनेछ?

२, ३. यहोवाको दिनको लागि हामी तयार रहनु किन अत्यावश्‍यक छ?

२ “त्यस दिन र घड़ीको विषयमा कसैले जान्दैन, नता स्वर्गका दूतहरूले, न पुत्रले, तर पिताले मात्र” भनी येशूले भन्‍नुभयो। (मत्ती २४:३६) हामीलाई निश्‍चित समय थाह नभएको हुँदा २००४ को वार्षिक पद हामीले हृदयंगम गर्नु अत्यावश्‍यक छ: “जागा रहो . . . तयार रहो।”—मत्ती २४:४२, ४४.

३ तयार रहनेहरू कति चाँडै सुरक्षित ठाउँमा जम्मा गरिनेछन्‌ र अरू त्यागिनेछन्‌ भनी देखाउन येशूले यसो भन्‍नुभयो: “दुइ जना खेतबारीमा हुनेछन्‌, एक जना लगिन्छ अर्को छोड़िन्छ। दुइ स्त्रीहरू जाँतो पिंधिरहेका हुनेछन्‌, एक जना लगिन्छे, अर्को छोड़िन्छे।” (मत्ती २४:४०, ४१) त्यो निर्णायक घडीमा हाम्रो व्यक्‍तिगत परिस्थिति कस्तो हुनेछ? के हामी तयार रहनेछौं वा त्यो दिन आउँदा वाल्लै पर्नेछौं? अहिले हामी कस्तो कदम चाल्छौं, त्यसमा निकै भर पर्छ। यहोवाको दिनको लागि तयार रहन अहिले संसारमा व्याप्त केही मनोवृत्ति हामीले त्याग्नुपर्छ अर्थात्‌ सुस्त आध्यात्मिक अवस्थामा पुग्नदेखि प्रतिरोध गर्नुपर्छ र कुनै-कुनै प्रकारको जीवन शैली त्याग्नुपर्छ।

आत्म-सन्तुष्ट हुने मनोवृत्ति त्याग्नुहोस्‌

४. नूहको दिनका मानिसहरूको मनोवृत्ति कस्तो थियो?

४ नूहको दिनलाई विचार गर्नुहोस्‌। “विश्‍वासैबाट त्यस बेलासम्म नदेखिएका कुरामा परमेश्‍वरबाट जनाउ पाएपछि आफ्ना परिवारलाई बचाउन नूहले जहाज तयार पारे” भनी बाइबल बताउँछ। (हिब्रू ११:७) यो जहाज असामान्य र प्रस्टै देखिने थियो। यसबाहेक, नूह “धार्मिकताका प्रचारक” थिए। (२ पत्रुस २:५, नयाँ संशोधित संस्करण) नता नूहको निर्माणकार्य नता तिनको प्रचारकार्यले नै त्यतिबेलाका मानिसहरूलाई कदम चाल्न उत्प्रेरित गऱ्‍यो। किन? किनभने तिनीहरू “खाइरहेका, र पिइरहेका र विवाह-बारी गरिरहेका थिए।” नूहले प्रचार गरेका मानिसहरू आफ्नै व्यक्‍तिगत कामकुरा र सुखविलासमा यति मग्न थिए कि “जलप्रलय आएर सबलाई स्वात्तै नलगुञ्जेल तिनीहरूले थाहै पाएनथे।”—मत्ती २४:३८, ३९.

५ लूतको दिनमा पनि यस्तै थियो। धर्मशास्त्र हामीलाई यसो भन्छ: “मानिसहरू खाँदैथिए, पिउँदैथिए, किनबेच गर्दैथिए, रोप्तैथिए, बनाउँदैथिए, तर जुन दिन लूत सदोमबाट निस्केथे, आकाशबाट आगो र गन्धक बर्षेर सबैलाई नष्ट पाऱ्‍यो।” (लूका १७:२८, २९) नजिकै आइरहेको विनाशबारे स्वर्गदूतहरूले लूतलाई चेतावनी दिएपछि तिनले के हुन लागेको छ भनेर आफ्ना ज्वाइँहरूलाई बताए। तर तिनीहरूको नजरमा “तिनले ठट्टा गरेजस्तो लाग्यो।”—उत्पत्ति १९:१४.

६ नूह र लूतको दिनमा जस्तै “मानिसको पुत्रको आगमन [“उपस्थिति,” NW] पनि हुनेछ” भनी येशूले बताउनुभयो। (मत्ती २४:३९; लूका १७:३०) निस्सन्देह, आज थुप्रैमा आत्म-सन्तुष्टिको मनोवृत्ति व्याप्त छ। हामी त्यस्तो दृष्टिकोणबाट प्रभावित हुनदेखि होसियार हुनुपर्छ। संयमित भएर मीठो भोजन र पेय पदार्थको आनन्द उठाउनु गलत होइन। त्यसरी नै, विवाह पनि परमेश्‍वरको प्रबन्ध हो। तथापि, त्यस्ता कुराहरू हाम्रो जीवनको सर्वमहत्त्वपूर्ण कुरा हुन थाल्यो अनि आध्यात्मिक चासोहरू पन्छाइएका छन्‌ भने के हामी व्यक्‍तिगत तवरमा यहोवाको महा तथा भयंकर दिनको लागि तयार छौं?

७ “समय अल्प भएको छ” भनी प्रेरित पावलले बताए। “अब उप्रान्त पत्नी भएका मानिसहरू पत्नी हुँदै नभएकाहरूजस्तै होऊन्‌।” (१ कोरिन्थी ७:२९-३१) ईश्‍वर-प्रदत्त राज्य प्रचारकार्य पूरा गर्न हामीसित थोरै समय मात्र बाँकी छ। (मत्ती २४:१४) विवाहित दम्पतीहरूलाई समेत एक आपसमा मग्न भएर राज्यसम्बन्धी गतिविधिलाई दोस्रो स्थान दिनदेखि होसियार रहनुपर्छ भनेर पावल सल्लाह दिन्छन्‌। स्पष्टतः पावलले सल्लाह दिइरहेको मानसिक झुकाव, आत्म-सन्तुष्टिको ठीक विपरीत हो। येशूले यसो भन्‍नुभयो: “पहिले उहाँको राज्य र [परमेश्‍वरको] धार्मिकता खोजी गर।” (मत्ती ६:३३) कुनै निर्णय गर्नु वा कुनै काम थाल्नुअघि सोध्नै पर्ने प्रश्‍न हो, ‘के यसो गर्दा मैले आफ्नो जीवनमा राज्यसम्बन्धी गतिविधिलाई प्राथमिकता दिइरहन सक्नेछु?’

८ हामी सामान्य दिनचर्याको काममा अति व्यस्त भएकोले आध्यात्मिक कामकुराहरू गर्न समय नै नभएको अहिले महसुस गर्छौं भने नि? के हाम्रो जीवन शैली र धर्मशास्त्रको सही ज्ञान नभएका अनि राज्य उद्‌घोषक नभएका हाम्रा छिमेकीहरूबीच खासै भिन्‍नता छैन? त्यसो हो भने, हामीले यसबारे प्रार्थना गर्नुपर्छ। यहोवाले हामीलाई सही मनोवृत्ति राख्न मदत गर्न सक्नुहुन्छ। (रोमी १५:५; फिलिप्पी ३:१५) उहाँले हामीलाई राज्यसम्बन्धी गतिविधिलाई प्राथमिकता दिन, सही कुरा गर्न अनि उहाँप्रति हाम्रो दायित्व पूरा गर्न मदत दिन सक्नुहुन्छ।—रोमी १२:२; २ कोरिन्थी १३:७.

आध्यात्मिक निदोउरोपनको प्रतिरोध गर्नुहोस्‌

९ आरमागेडोनमा आउँदै गरेको “सर्वशक्‍तिमान परमेश्‍वरको ठूलो दिनको लडाइँ[बारे]” गरिएको भविष्यवाणीले नै कोही-कोही जागा रहनेछैनन्‌ भनेर चेतावनी दिन्छ। “हेर, म चोरजस्तै आउनेछु” भनी प्रभु येशू ख्रीष्ट भन्‍नुहुन्छ। “त्यो धन्यको हो, जो सतर्क रहन्छ, र आफ्ना लुगाको रखवाली गर्छ। नत्रता त्यो नाङ्‌गै हिंड़नेछ, र तिनीहरूले त्यसको लाज देख्नेछन्‌।” (प्रकाश १६:१४-१६) यहाँ उल्लेख गरिएको लुगाले हामीलाई यहोवाका मसीही साक्षीहरू भनी चिनाउने चिह्नलाई संकेत गर्छ। यसमा राज्य उद्‌घोषकहरूको हैसियतमा हाम्रो काम र हाम्रो मसीही आचरण समावेश छ। हामी निद्रामा परेजस्तो निष्क्रियतातिर ढल्क्यौं भने हाम्रो मसीही चिनारी खोसिएर नाङ्‌गै हुन सक्छौं। त्यो लज्जास्पद र खतरनाक हुन्छ। हामी आध्यात्मिक तवरमा निदाउरो वा लखतरान अवस्थामा नपर्न प्रतिरोध गर्नै पर्छ। हामी त्यस्तो झुकावको कसरी प्रतिरोध गर्न सक्छौं?

१० बाइबलले जागा र होसियार रहनुपर्ने खाँचोलाई पटक-पटक जोड दिन्छ। उदाहरणका लागि, सुसमाचारको विवरणले हामीलाई यसरी सम्झाउँछ: “जागा रहो” (मत्ती २४:४२; २५:१३; मर्कूस १३:३५, ३७); “तयार रहो” (मत्ती २४:४४); “होशियार रहो, जागा बस” (मर्कूस १३:३३); “तयार रहो” (लूका १२:४०)। आशै नगरेको बेला यस संसारमाथि यहोवाको दिन आउनेछ भनेर उल्लेख गरिसकेपछि प्रेरित पावल सँगी विश्‍वासीहरूलाई यस्तो आग्रह गर्छन्‌: “अरूहरूझैं हामी नसुतौं, तर जागा रहौं र होशियार होऔं।” (१ थिस्सलोनिकी ५:६) बाइबलको अन्तिम पुस्तकमा महिमित ख्रीष्ट येशूले उहाँ अकस्मात्‌ आउनुहुनेछ भनेर जोड दिंदै यसो भन्‍नुहुन्छ: “म चाँडै आउँछु।” (प्रकाश ३:११; २२:७, १२, २०) थुप्रै हिब्रू अगमवक्‍ताहरूले पनि यहोवाले न्याय गर्नुहुने महा दिनबारे वर्णन गर्नुका साथै चेतावनी दिए। (यशैया २:१२, १७; यर्मिया ३०:७; योएल २:११; सपन्याह ३:८) परमेश्‍वरको वचन, बाइबल दिनहुँ पढ्‌नु र आफूले पढेको कुरामा मनन गर्नु आध्यात्मिक तवरमा जागा रहनको लागि निकै ठूलो मदत हो।

११ हो, “विश्‍वासी र बुद्धिमान दास[ले]” प्रबन्ध गरेको बाइबल आधारित प्रकाशनहरू चलाउँदै धर्मशास्त्रको लगनशील व्यक्‍तिगत अध्ययनले हामीलाई आध्यात्मिक तवरमा जागा रहनको लागि कस्तो उत्प्रेरणा दिन्छ! (मत्ती २४:४५-४७) तथापि, व्यक्‍तिगत अध्ययनबाट लाभ उठाउनको लागि यो प्रगतिशील अनि नियमित हुनै पर्छ। (हिब्रू ५:१४–६:३) हामीले नियमित तवरमा खँदिलो आध्यात्मिक भोजन लिनै पर्छ। यसो गर्नको लागि आजकल समय निकाल्नु चुनौतीपूर्ण हुन सक्छ। (एफिसी ५:१५, १६) तैपनि, सुविधा भएको बेला मात्र बाइबल र धर्मशास्त्रीय प्रकाशन पढेर पुग्दैन। हामी “विश्‍वासमा पक्का” र जागा रहने हो भने नियमित तवरमा व्यक्‍तिगत अध्ययन गर्नु अत्यावश्‍यक छ।—तीतस १:१३.

१२ मसीही सभा, सम्मेलन तथा अधिवेशनहरूले पनि हामीलाई आध्यात्मिक निदाउरोपन विरुद्ध लड्‌न मदत गर्छ। कसरी? हामीले पाउने निर्देशनद्वारा। यी जमघटहरूमा के हामीलाई यहोवाको दिनको निकटताबारे सधैं सम्झाइँदैन र? साप्ताहिक मसीही सभाहरूले पनि ‘प्रेम र सुकर्ममा उत्तेजित गर्ने’ मौका प्रदान गर्छ। त्यस्तो उत्तेजना वा जोसले आध्यात्मिक तवरमा जागा रहन सहयोग पुऱ्‍याउँछ। त्यसैले हामीलाई “दिन नजीक नजीक आईपुगेकोले” नियमित तवरमा भेला हुन आज्ञा दिएकोमा छक्क पर्नुपर्ने कुनै कारण छैन।—हिब्रू १०:२४, २५.

१३ हामी पूरा तनमनले मसीही सेवकाईमा भाग लिंदा पनि जागा रहने मदत पाउँछौं। समयका चिह्नहरू र त्यसको अर्थ हाम्रो मनमा ताजा राख्नका लागि अरूसित कुरा गर्नुभन्दा राम्रो उपाय अरू के होला र? अनि हामीसित अध्ययन गरेका व्यक्‍तिहरूले प्रगति गरेको अनि आफूले सिकेको कुराअनुसार कदम चाल्न थालेको देख्दा हाम्रो आफ्नै अविलम्बी भाव बढ्‌छ। प्रेरित पत्रुसले यसो भने, “आफ्नो मन बाँधेर सचेत होओ।” (१ पत्रुस १:१३) आध्यात्मिक शिथिलताको एउटा राम्रो उपाय “सधैं प्रभुको काममा प्रशस्त हुँदै” जानु हो।—१ कोरिन्थी १५:५८.

आध्यात्मिक तवरमा हानिकारक जीवन शैली त्याग्नुहोस्‌

१४ आफ्नो उपस्थितिको चिह्नसम्बन्धी महान्‌ भविष्यवाणीमा येशूले अर्को एउटा चेतावनी दिनुभयो। उहाँले भन्‍नुभयो: “तिमीहरू आफ्नो विषयमा होशियार रहो, नत्रता तिमीहरूका मन वाक्क-ब्याक्क, नशा र जीवनको फिक्रीले लट्टिएका हुनेछन्‌, औ त्यो दिन तिमीहरूमाथि एक्कासि पासोझैं आइपर्ला। किनकि यसरीनै सारा पृथ्वीको सतहमा रहनेहरूमाथि यो आइपर्नेछ। तर आउनलागेका कुराहरूबाट उम्कन र मानिसको पुत्रको सामने खड़ा हुनसक्नलाई हर घड़ी प्रार्थना गर्दै जागा रहो।” (लूका २१:३४-३६) मानिसहरूले सामान्यतया पछ्याउने जीवन शैलीबारे येशूले सही वर्णन गर्नुभयो: भोजनमा अचाक्लीपन, अत्यधिक मद्यपान अनि चिन्ता बढाउने जीवन शैली।

१५ अचाक्ली खाने र धेरै पिउने बानी बाइबल सिद्धान्त अनुरूप होइनन्‌ र ती त्याग्नुपर्ने कुराहरू हुन्‌। “मतवाला अथवा घिचुवाहरूको संगत नगर्‌” भनी बाइबल बताउँछ। (हितोपदेश २३:२०) तर यो खतरनाक हुनको लागि खाने र पिउने त्यो हदसम्म पुग्नु आवश्‍यक छैन। त्यसो हुनुअघि नै मानिस सुस्त र अल्छी हुन सक्छ। बाइबलको एउटा हितोपदेश यसो भन्छ, “अल्छे मान्छेको भोक कहिल्यै तृप्त हुँदैन।” (हितोपदेश १३:४) त्यस्तो व्यक्‍ति परमेश्‍वरको इच्छा गर्न चाहन्छ होला तर लापरवाहको कारण तिनको इच्छा अपूरो रहन्छ।

१६ येशूले चेतावनी दिनुभएका जीवनका फिक्रीहरू के हुन्‌? ती व्यक्‍तिगत चासो, परिवारको लागि प्रबन्ध गर्ने इत्यादि कुराहरू हुन सक्छन्‌। यस्ता कुराहरूको बोझले आफू लादिनु कत्ति मूर्खतापूर्ण हुनेछ! येशूले यस्तो प्रश्‍न गर्नुभयो, “तिमीहरूमध्ये कुन चाहिंले फिक्री गरेर आफ्नो कदमा एक हात थप्नसक्छौ?” उहाँले आफ्ना स्रोताहरूलाई यस्तो सल्लाह दिनुभयो: “के खाउँला ? कि के पिऔंला ? कि के पहिरौंला ?’ भनेर फिक्री नगर, किनकि अन्यजातिहरूले मात्र यी सब थोक खोज्दछन्‌। किनभने तिमीहरूका स्वर्गका पिताले तिमीहरूलाई यी सबै थोकको दर्कार छ भनी जान्‍नुहुन्छ।” हाम्रो जीवनमा राज्यसम्बन्धी गतिविधिलाई प्राथमिकता दिएर अनि यहोवाले हाम्रो हेरचाह गर्नुहुनेछ भन्‍ने विश्‍वस्तता राख्यौं भने फिक्रीहरूलाई नियन्त्रणमा राखेर जागा रहन सक्नेछौं।—मत्ती ६:२५-३४.

१७ भौतिक कुराहरू प्राप्त गर्ने दौडधूपले गर्दा पनि फिक्री हुन सक्छ। उदाहरणका लागि, कसै-कसैले आफ्नो औकातले नभ्याउने जीवन शैली बिताएर आफ्नो जीवनलाई जटिल बनाउँछन्‌। अरू भने रातारात धनी हुने योजना र जोखिमपूर्ण वित्तीय लगानीमा प्रलोभित भएका छन्‌। अरू कतिका लागि भने, आर्थिक सफलता हासिल गर्नको लागि सांसारिक शिक्षा नै एउटा पासो हुन्छ। हुन त हो, जागिर पाउनको लागि केही मात्रामा पढाइ हुनु आवश्‍यक छ। तथापि, तथ्य के हो भने, उच्च शिक्षा हासिल गर्न निकै समय खर्च गर्दा कसै कसैले आध्यात्मिक क्षति भोग्नुपरेको छ। यहोवाको दिन नजिकिंदै जाँदा त्यस्तो अवस्थामा पर्नु कति खतरनाक हुनेछ! बाइबल यस्तो चेतावनी दिन्छ: “धनी हुने इच्छा गर्ने चाहिं, सर्वनाश र विनाशमा डुबेका मानिसझैं परीक्षा र पासो, औ धेरै मूर्ख र हानिकारक अभिलाषाहरूमा फस्तछन्‌।”—१ तिमोथी ६:९.

१८ भौतिकवादी जीवन शैलीप्रति प्रलोभित नहुन एउटा अत्यावश्‍यक कुरा, निर्णयहरू गर्दा सही र गलतबीच भिन्‍नता छुट्टयाउन सक्ने क्षमता विकास गर्नु हो। यो क्षमता विकास गर्ने तरिका, ‘पूरा बढेका मानिसहरूका निम्ति खँदिलो खानेकुरा’ नियमित तवरमा लिएर अनि ‘प्रयोगबाट ज्ञानेन्द्रियको अभ्यास’ गरेर हो। (हिब्रू ५:१३, १४) प्राथमिकताहरू निर्धारण गर्दा “जे उत्तम छ” सो पक्का गरेर पनि हामी खराब निर्णयहरू गर्नदेखि जोगिन सक्छौं।—फिलिप्पी १:१०.

१९ भौतिकवादी जीवन शैलीले हामीलाई अन्धो बनाउन सक्छ अनि आध्यात्मिक कुराहरूका लागि अलिकता मात्र वा समय नै नहुने हुन सक्छ। हामी कसरी आफ्नो परीक्षण गर्न सक्छौं अनि त्यस्तो जीवन शैलीको पासोमा फस्नदेखि सतर्क हुन सक्छौं? हामी कसरी अनि कुन हदसम्म आफ्नो जीवन सरल बनाउन सक्छौं भनेर प्रार्थनापूर्वक विचार गर्नुपर्छ। पुरातन इस्राएलका राजा सुलेमानले यसो भने: “थोरै खाओस्‌ कि धेरै खाओस्‌ परिश्रम गर्नेको निद्रा मीठो हुन्छ। तर धनीको धन धेरै भएकोले गर्दा त्यसलाई निद्रै लाग्दैन।” (उपदेशक ५:१२) के अनावश्‍यक भौतिक सर-सम्पत्तिको हेरचाह गर्न हाम्रो धेरै समय र परिश्रम खर्च हुन्छ? हामीसित जति धेरै मालताल छ, त्यति नै धेरै स्याहार-सम्भार गर्नुपर्ने, बिमा गर्नुपर्ने र सुरक्षित राख्नुपर्ने हुन्छ। के कुनै-कुनै सरसम्पत्ति हटाएर आफ्नो जीवन सरल बनाउँदा हाम्रै भलाइ हुन सक्छ?

हर हालतमा तयार रहनुहोस्‌

२० नूहको दिनको संसारको अन्त भयो अनि वर्तमान रीतिरिवाज पनि अन्त हुनेछ। प्रेरित पत्रुस हामीलाई यस्तो आश्‍वसान दिन्छन्‌: “प्रभुको दिन चोर जस्तैगरी आउनेछ, जसमा आकाशचाहिं ठूलो शब्दले बितिजानेछ, र पृथ्वी र त्यसमा भएका कामहरू चाहिं स्वाहा हुनेछ।” नता लाक्षणिक स्वर्ग अर्थात्‌ दुष्ट सरकारहरू नता लाक्षणिक पृथ्वी अर्थात्‌ परमेश्‍वरबाट तर्किएको मानिसजाति नै परमेश्‍वरको बल्दो क्रोधबाट बच्नेछ। हामी आफूलाई त्यो दिनको लागि कसरी तयार राख्न सक्छौं भनी संकेत गर्दै पत्रुस यसो भन्छन्‌: “यी सबै कुराहरू यसरी पग्लन्छ भन्‍ने देखेर सबै पवित्र जीवन र भक्‍तिमा तिमीहरू कस्तो किसिमका मानिस हुनुपर्छ? परमेश्‍वरको त्यस दिनको बाटो हेर्दै, उत्सुक्‍तासाथ इच्छा गरेर, जुन कारणबाट आगलागी भएको आकाश पग्लिहाल्नेछ, र तत्त्वहरू चाहिं उखुम गर्मीले गलिहाल्नेछ।”—२ पत्रुस ३:१०-१२.

२१ हामी नियमित तवरमा सभाहरू धाउनुका साथै सुसमाचार प्रचारकार्यमा भाग लिनु ईश्‍वरभक्‍तिको जीवन र कार्यमा समावेश छन्‌। उत्सुकतापूर्वक यहोवाको महा दिन पर्खंदै गर्दा हामी परमेश्‍वरलाई हृदयस्पर्शी भक्‍ति चढाइरहन सकौं। हामी “शान्तिसाथ . . . [परमेश्‍वरको] दृष्टिमा निष्खोट र निष्कलंक ठहरिनालाई प्रयत्न” गरिरहौं।—२ पत्रुस ३:१४.

के तपाईंलाई सम्झना छ?

• हामी किन यहोवाको दिनको लागि तयार रहनुपर्छ?

• जीवनका सामान्य गतिविधिहरू हाम्रो प्रमुख चासोको विषय भएका छन्‌ भने हामीले के गर्नुपर्छ?

• आध्यात्मिक निदाउरोपनको प्रतिरोध गर्न हामीलाई कुन कुराले मदत गर्नेछ?

• हामीले कस्ता हानिकारक जीवन शैलीहरू त्याग्नुपर्छ अनि कसरी?

५. लूतको दिनमा सदोमका बासिन्दाहरूको दृष्टिकोण कस्तो थियो?

६. हामी कस्तो मनोवृत्तिबाट अलग बस्नै पर्छ?

७. कुनै काम थाल्नुअघि हामीले कुन अत्यावश्‍यक प्रश्‍न सोध्नुपर्छ अनि किन?

८. सामान्य दिनचर्याका कुराहरू हाम्रो प्रमुख चासो हुन थालेको छ भने हामीले के गर्नुपर्छ?

९. प्रकाश १६:१४-१६ अनुसार आध्यात्मिक निदाउरोपनको प्रतिरोध गर्नु किन महत्त्वपूर्ण छ?

१०. दिनहुँ बाइबल पढ्‌दा हामी कसरी आध्यात्मिक तवरमा जागा रहन मदत पाउँछौं?

११. आध्यात्मिक तवरमा जागा रहनको लागि व्यक्‍तिगत बाइबल अध्ययन किन अत्यावश्‍यक छ?

१२. मसीही सभा, सम्मेलन तथा अधिवेशनहरूले आध्यात्मिक निदाउरोपन विरुद्ध लड्‌न कसरी मदत गर्छ?

१३. मसीही सेवकाईले हामीलाई कसरी आध्यात्मिक तवरमा जागा रहन मदत गर्छ?

१४. लूका २१:३४-३६ मा वर्णन गरिएअनुसार येशूले कस्तो जीवन शैली विरुद्ध चेतावनी दिनुभएको छ?

१५. हामी किन अचाक्ली खाने र पिउने बानीबाट अलग्गै बस्नुपर्छ?

१६. आफ्नो परिवारबारे फिक्रीको बोझले नलादिन हामी के गर्न सक्छौं?

१७. भौतिक कुराहरूको पछि लाग्दा कसरी फिक्री हुन सक्छ?

१८. भौतिकवादी जीवन शैलीतर्फ प्रलोभित नहुन हामीले कस्तो क्षमता खेती गर्नुपर्छ?

१९. आध्यात्मिक कामकुराको लागि हामीसित एकदमै कम समय मात्र छ भनेर थाह पायौं भने हामीले के गर्नुपर्छ?

२०, २१. (क) यहोवाको दिनबारे प्रेरित पत्रुसले कस्तो आश्‍वासन दिन्छन्‌? (ख) यहोवाको दिनको लागि तयार रहँदा हाम्रो जीवन र कार्य कस्तो हुनुपर्छ?

[पृष्ठ २०, २१-मा भएका चित्रहरू]

नूहको दिनका मानिसहरूले नजिकै आइरहेको न्यायबारे वास्तै गरेनन्‌—तपाईं नि?

[पृष्ठ २३-मा भएको चित्र]

आध्यात्मिक कामकुरामा बढी समय बिताउनको लागि के तपाईं आफ्नो जीवन सरल बनाउन सक्नुहुन्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने