प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w13 ७/१५ pp. २०-२५
  • “वास्तवमा विश्‍वासी र बुद्धिमान्‌ दास को हो?”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “वास्तवमा विश्‍वासी र बुद्धिमान्‌ दास को हो?”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • दृष्टान्तको पूर्ति कहिले भयो?
  • विश्‍वासी र बुद्धिमान्‌ दास को हो?
  • घरका अरू दासहरू को हुन्‌?
  • मालिकका सबै सम्पत्तिमाथि कहिले नियुक्‍त गरिन्छ?
  • “दास” जो विश्‍वासी र बुद्धिमान्‌ दुवै छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • तिनीहरू ‘थुमाको पछिपछि लागिरहन्छन्‌’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • विश्‍वासी र बुद्धिमान्‌ दास को हो?
    आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्‌?
  • ख्रीष्ट र उहाँका विश्‍वासी दासप्रति वफादार हुनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
w13 ७/१५ pp. २०-२५

“वास्तवमा विश्‍वासी र बुद्धिमान्‌ दास को हो?”

‘वास्तवमा विश्‍वासी र बुद्धिमान्‌ दास को हो, जसलाई उसको मालिकले आफ्नो घरका अरू दासहरूमाथि नियुक्‍त गरेका हुन्छन्‌?’—मत्ती २४:४५.

के तपाईं जवाफ भेट्टाउन सक्नुहुन्छ?

  • विश्‍वासी र बुद्धिमान्‌ दास को हो?

  • घरका अरू दासहरू को हुन्‌ र येशूले विश्‍वासी दासलाई तिनीहरूमाथि कहिले नियुक्‍त गर्नुभयो?

  • येशूले विश्‍वासी दासलाई आफ्ना सबै सम्पत्तिमाथि कहिले नियुक्‍त गर्नुहुनेछ? यसमा के पनि पर्नेछ?

१, २. आज हामीलाई खुवाउन येशूले कुन माध्यम प्रयोग गरिरहनुभएको छ अनि यस माध्यमलाई चिन्‍नु किन असाध्यै महत्त्वपूर्ण छ?

हाम्रो मुख्य कार्यालयमा सेवा गर्ने भाइहरूलाई धन्यवाद दिंदै एक जना बहिनीले यस्तो पत्र लेखिन्‌: “भाइहरू हो, तपाईंहरूले मलाई चाहिएकै समयमा चाहिएकै लेख कति पटक दिनुभएको छ, गनेर साध्य छैन।” के तपाईं तिनको भावना बुझ्न सक्नुहुन्छ? हामीमध्ये थुप्रैले सक्छौं। यस्तो कुरा सुन्दा छक्क मान्‍नुपर्छ र? पर्दैन।

२ हामीले ठीक समयमा आध्यात्मिक भोजन पाइरहेका छौं। मण्डलीका शिर येशू ख्रीष्टले हामीलाई खुवाउने प्रतिज्ञा पूरा गरिरहनुभएको छ भनेर यसबाट प्रमाणित हुन्छ। उहाँले कोमार्फत हामीलाई खुवाइरहनुभएको छ? आफ्नो उपस्थितिको चिन्ह दिंदा उहाँले आफ्नो घरका अरू दासहरूलाई “ठीक समयमा भोजन” दिन “विश्‍वासी र बुद्धिमान्‌ दास” प्रयोग गर्ने कुरा बताउनुभयो।a (मत्ती २४:४५-४७ पढ्‌नुहोस्‌) हो, उहाँले त्यही विश्‍वासी दासमार्फत यस अन्तको समयमा आफ्ना साँचो अनुयायीहरूलाई खुवाइरहनुभएको छ। हामीले विश्‍वासी दासलाई चिन्‍नु असाध्यै महत्त्वपूर्ण छ। हाम्रो आध्यात्मिक स्वास्थ्य र परमेश्‍वरसितको सम्बन्ध यही माध्यममा निर्भर छ।—मत्ती ४:४; यूह. १७:३.

३. विश्‍वासी दाससम्बन्धी दिइएको दृष्टान्तबारे हाम्रा प्रकाशनहरूमा के बताइएको थियो?

३ त्यसोभए विश्‍वासी दासबारे येशूले बताउनुभएको दृष्टान्तको अर्थ के हो? विगतमा हाम्रा प्रकाशनहरूमा यस्तो भनिएको थियो: इस्वी संवत्‌ ३३ मा येशूले विश्‍वासी दासलाई आफ्नो घरका अरू दासहरूमाथि नियुक्‍त गर्नुभयो। त्यसबेलादेखि अहिलेसम्म जुन-जुन बेला पृथ्वीमा अभिषिक्‍त ख्रीष्टियनहरू थिए, तिनीहरूको समूह नै विश्‍वासी दास हो। घरका अरू दासहरूले चाहिं ती अभिषिक्‍त ख्रीष्टियनहरूलाई व्यक्‍तिविशेषको रूपमा सङ्‌केत गर्छ। अनि सन्‌ १९१९ मा येशूले विश्‍वासी दासलाई “आफ्ना सबै सम्पत्तिहरूमाथि” अर्थात्‌ राज्य प्रचारकार्यलाई टेवा पुऱ्‍याउने पृथ्वीका सम्पूर्ण कुराहरूमाथि नियुक्‍त गर्नुभयो। तर यस विषयमा थप अध्ययन गरेपछि अनि प्रार्थनापूर्वक मनन गरेपछि विश्‍वासी र बुद्धिमान्‌ दासबारे हाम्रो बुझाइमा छाँटकाँट गर्नुपर्ने आवश्‍यकता देखियो। (हितो. ४:१८) आउनुहोस्‌, यस दृष्टान्तबारे छलफल गरौं। साथै हाम्रो आशा स्वर्ग जाने होस्‌ वा पृथ्वीमै बस्ने, यस दृष्टान्तले हाम्रो लागि कस्तो अर्थ राख्छ, त्यसबारे पनि विचार गरौं।

दृष्टान्तको पूर्ति कहिले भयो?

४-६. सन्‌ १९१४ पछि मात्र विश्‍वासी दासबारे येशूले बताउनुभएको दृष्टान्तको पूर्ति हुन थाल्यो भनेर किन भन्‍न सक्छौं?

४ विश्‍वासी र बुद्धिमान्‌ दाससम्बन्धी दृष्टान्तको प्रसङ्‌गले यसको पूर्ति इस्वी संवत्‌ ३३ पेन्तिकोसदेखि होइन, यस अन्तको दिनदेखि हुन थाल्यो भनेर देखाउँछ। बाइबलले हामीलाई यस्तो निष्कर्षमा पुग्न कसरी मदत गर्छ, विचार गरौं।

५ विश्‍वासी दासबारे येशूको दृष्टान्त “[उहाँको] उपस्थिति र यस युगको आखिरी समयको चिन्ह”-बारे उहाँले गर्नुभएको भविष्यवाणीको भाग हो। (मत्ती २४:३) यस भविष्यवाणीको पहिलो भाग मत्ती २४:४-२२ मा रेकर्ड गरिएको छ। यस भागको दुईवटा पूर्ति छ। पहिलो पूर्ति, इस्वी संवत्‌ ३३ देखि इस्वी संवत्‌ ७० सम्म। दोस्रो र विस्तृत पूर्ति, हाम्रो समयमा। के यसको अर्थ विश्‍वासी दासबारे येशूले बताउनुभएको दृष्टान्तको पनि दुईवटा पूर्ति छ? अहँ, छैन।

६ मत्ती २४:२९ लगायत त्यसपछिका केही पदमा येशूले विशेषगरि हाम्रो समयमा हुने घटनाहरूबारे जोड दिनुभयो। (मत्ती २४:३०, ४२, ४४ पढ्‌नुहोस्‌) येशूले महासङ्‌कष्टमा हुने घटनाहरूबारे बताउँदा मानिसहरूले “मानिसको छोरालाई . . . आकाशका बादलहरूमा आउँदै गरेको देख्नेछन्‌” भन्‍नुभयो। त्यसपछि अन्तको दिनमा बाँचिरहेका मानिसहरूलाई जागा रहन यस्तो सल्लाह दिनुभयो: “तिमीहरूका प्रभु कुन दिन आउँदै हुनुहुन्छ, तिमीहरूलाई थाह छैन” र “तिमीहरूले नचिताएको समयमा मानिसको छोरा आउँदैछ।”b अन्तको दिनमा हुने घटनाहरूबारे बताए लगत्तै येशूले विश्‍वासी दाससम्बन्धी दृष्टान्त बताउनुभयो। तसर्थ सन्‌ १९१४ मा अन्तको दिन सुरु भएपछि मात्र विश्‍वासी दासबारे उहाँले बताउनुभएको दृष्टान्तको पूर्ति हुन थाल्यो। यस्तो निष्कर्षमा पुग्नु तर्कसङ्‌गत छ। किन?

७. बाली काट्‌ने बेला सुरु भएपछि कस्तो महत्त्वपूर्ण प्रश्‍न उठ्यो र किन?

७ यस प्रश्‍नबारे एकछिन सोच्नुहोस्‌: “वास्तवमा विश्‍वासी र बुद्धिमान्‌ दास को हो?” प्रथम शताब्दीमा यो प्रश्‍न सोध्नुपर्ने कारणै थिएन। अघिल्लो लेखमा छलफल गरिएझैं प्रेषितहरूले चमत्कार गर्न सक्थे अनि अरूलाई पनि चमत्कार गर्ने वरदान दिन सक्थे। यसबाट परमेश्‍वरले प्रेषितहरूलाई नै प्रयोग गरिरहनुभएको थियो भनेर प्रस्टै देखिन्थ्यो। (प्रेषि. ५:१२) त्यसकारण येशूले नियुक्‍त गर्नुभएको नेतृत्व लिने माध्यम कुन हो भनेर सोध्नुपर्ने कारणै थिएन। तर सन्‌ १९१४ मा भने अवस्था एकदमै फरक थियो। त्यस वर्ष बाली काट्‌ने बेला सुरु भयो। सामालाई गहुँबाट छुट्ट्याउने समय आइपुगेको थियो। (मत्ती १३:३६-४३) बाली काट्‌ने बेला सुरु भएपछि एउटा महत्त्वपूर्ण प्रश्‍न उठ्यो: नक्कली ख्रीष्टियनहरूले येशूको साँचो अनुयायी भएको दाबी गरिरहेको समयमा गहुँ अर्थात्‌ अभिषिक्‍त ख्रीष्टियनहरूलाई कसरी चिन्‍न सकिन्थ्यो? विश्‍वासी दासबारे दिइएको दृष्टान्तले यसको जवाफ दियो। त्यतिखेर प्रशस्त आध्यात्मिक भोजन पाइरहेका मानिसहरू नै येशूका अभिषिक्‍त अनुयायीहरू हुनेथिए।

विश्‍वासी र बुद्धिमान्‌ दास को हो?

८. विश्‍वासी दास अभिषिक्‍त ख्रीष्टियनहरू नै हुनुपर्छ भन्‍नु किन तर्कसङ्‌गत छ?

८ विश्‍वासी दास अभिषिक्‍त ख्रीष्टियनहरू नै हुनुपर्छ। तिनीहरू “शाही पुजारीको दल” हुन्‌ जसलाई यहोवाले ‘अन्धकारबाट बोलाएर आफ्नो अद्‌भुत ज्योतिमा ल्याउनुभयो र उहाँका असल गुणहरूबारे चारैतिर घोषणा’ गर्ने काम सुम्पनुभयो। (१ पत्रु. २:९) “शाही पुजारीको दल”-का सदस्यहरूले सङ्‌गी विश्‍वासीहरूलाई सत्य सिकाउने काममा सीधै भाग लिन्छन्‌।—मला. २:७; प्रका. १२:१७.

९. के सबै अभिषिक्‍त ख्रीष्टियनहरू विश्‍वासी दास हुन्‌? व्याख्या गर्नुहोस्‌।

९ के पृथ्वीमा भएका सबै अभिषिक्‍त ख्रीष्टियनहरू विश्‍वासी दास हुन्‌? अहँ, होइनन्‌। वास्तवमा संसारभरका सँगी विश्‍वासीहरूलाई आध्यात्मिक भोजन बाँड्‌ने काममा सबै अभिषिक्‍त ख्रीष्टियनले भाग लिंदैनन्‌। हो, केही अभिषिक्‍त भाइहरूले मण्डलीमा एल्डर वा सहायक सेवकको रूपमा सेवा गरिरहेका छन्‌। तिनीहरू घरघरमा अनि मण्डलीमा सिकाउँछन्‌ र मुख्यालयबाट आएको निर्देशन वफादार भई पछ्याउँछन्‌। तर तिनीहरू संसारभरका भाइबहिनीलाई आध्यात्मिक भोजन बाँड्‌ने काममा भने भाग लिंदैनन्‌। साथै अभिषिक्‍त जनहरूमा नम्र बहिनीहरू पनि पर्छन्‌ र तिनीहरू मण्डलीमा सिकाउने काम कहिल्यै गर्दैनन्‌।—१ कोरि. ११:३; १४:३४.

१०. विश्‍वासी र बुद्धिमान्‌ दास को हो?

१० त्यसोभए विश्‍वासी र बुद्धिमान्‌ दास को हो? जसरी येशूले थोरै मानिसमार्फत धेरैलाई खुवाउनुभयो, त्यसरी नै विश्‍वासी दास पनि अभिषिक्‍त भाइहरू मिलेर बनेको सानो समूह हो, जसले ख्रीष्टको उपस्थितिको दौडान आध्यात्मिक भोजन तयार पार्ने र बाँड्‌ने काममा प्रत्यक्ष रूपमा भाग लिन्छन्‌। अभिषिक्‍त भाइहरू मिलेर बनेको विश्‍वासी दासले अन्तको दिनको दौडान मुख्यालयमा सेवा गरिरहेका छन्‌। हालैका वर्षहरूमा यहोवाका साक्षीहरूको परिचालक निकायले नै यो दासको भूमिका निर्वाह गरिरहेको छ। हुन पनि येशूले दृष्टान्तमा “दास” भन्‍नुभयो, दासहरू होइन। त्यसैले परिचालक निकायले सधैं समूहको रूपमा निर्णय गर्छ।

घरका अरू दासहरू को हुन्‌?

११, १२. (क) विश्‍वासी र बुद्धिमान्‌ दासलाई दुई पटक नियुक्‍त गरियो, ती नियुक्‍ति के-के हुन्‌? (ख) येशूले विश्‍वासी दासलाई घरका अरू दासहरूमाथि कहिले नियुक्‍त गर्नुभयो? उहाँले विश्‍वासी दास हुन कसलाई छान्‍नुभयो?

११ येशूको दृष्टान्तमा विश्‍वासी र बुद्धिमान्‌ दासलाई दुई पटक नियुक्‍त गरिएको कुरा पनि याद गर्नुहोस्‌। पहिलो पटक, घरका अरू दासहरूमाथि। दोस्रो पटक, मालिकको सबै सम्पत्तिमाथि। दृष्टान्तको पूर्ति यस अन्तको दिनमा मात्र हुने भएकोले यी दुवै नियुक्‍ति सन्‌ १९१४ मा येशू राजाको रूपमा उपस्थित भएपछि मात्र हुनेथियो।

१२ येशूले विश्‍वासी दासलाई आफ्नो घरका अरू दासहरूमाथि कहिले नियुक्‍त गर्नुभयो? यसको जवाफ पाउन सन्‌ १९१४ मा बाली काट्‌ने बेला सुरु हुँदा के भयो, विचार गरौं। अगाडि नै हामीले बुझेझैं त्यतिबेला थुप्रै समूहले आफू ख्रीष्टियन हुँ भनी दाबी गरेका थिए। येशूले कुन समूहलाई विश्‍वासी दासको रूपमा छानेर नियुक्‍त गर्नुहुनेथियो? येशू र उहाँको बुबाले सन्‌ १९१४ देखि १९१९ को सुरुसम्म आध्यात्मिक मन्दिरको निरीक्षण गर्नुभयो र त्यसपछि मात्र यस प्रश्‍नको जवाफ पाइयो।c (मला. ३:१) यहोवा र उहाँको वचनलाई प्रेम गर्ने वफादार बाइबल स्टुडेन्ट्‌स देख्दा यहोवा र येशू निकै खुसी हुनुभयो। तर तिनीहरूलाई शुद्ध पार्नु आवश्‍यक थियो। अनि खार्ने र शुद्ध पार्ने समयको दौडान आफूले पाएको सुधार तिनीहरूले नम्र हुँदै स्वीकारे। (मला. ३:२-४) वफादार बाइबल स्टुडेन्ट्‌सको त्यो सानो समूह येशूको दृष्टान्तको गहुँ अर्थात्‌ साँचो ख्रीष्टियनहरू थिए। सन्‌ १९१९ मा येशूले ती अभिषिक्‍त भाइहरूमध्येबाटै योग्य भाइहरूलाई विश्‍वासी र बुद्धिमान्‌ दासको रूपमा छान्‍नुभयो र तिनीहरूलाई घरका अरू दासहरूमाथि नियुक्‍त गर्नुभयो।

१३. घरका अरू दासहरूमा को-को पर्छन्‌ र किन?

१३ त्यसोभए घरका अरू दासहरू को हुन्‌? सरल शब्दमा भन्‍ने हो भने आध्यात्मिक भोजन खानेजति सबै। अन्तको दिन सुरु हुँदा घरका अरू दासहरू अभिषिक्‍त जनहरू मात्र थिए। पछि अरू भेडाको ठूलो भीड पनि घरका अरू दासहरूमा परे। अहिले येशूको “एउटै बगाल”-मा प्रायजसो अरू भेडाका सदस्यहरू छन्‌। (यूह. १०:१६) दुवै समूहले विश्‍वासी दासले ठीक समयमा दिने एउटै आध्यात्मिक भोजन खान्छन्‌। के विश्‍वासी र बुद्धिमान्‌ दास अर्थात्‌ अहिले परिचालक निकायको सदस्यको रूपमा सेवा गर्ने भाइहरू पनि घरका अरू दासहरू हुन्‌? हो, तिनीहरूलाई पनि आध्यात्मिक भोजन चाहिन्छ। त्यसकारण येशूका अरू साँचो ख्रीष्टियनहरूजस्तै तिनीहरू पनि व्यक्‍तिविशेषको रूपमा घरका अरू दासहरू हुन्‌। यो कुरा तिनीहरू नम्र हुँदै स्वीकार्छन्‌।

हाम्रो आशा स्वर्ग जाने होस्‌ वा पृथ्वीमै बस्ने, हामी सबै जना घरका अरू दासहरू हौं र हामी सबैलाई नै ठीक समयमा दिइने एउटै आध्यात्मिक भोजन चाहिन्छ

१४. (क) विश्‍वासी र बुद्धिमान्‌ दासलाई कस्तो जिम्मेवारी सुम्पिइएको छ? यसमा के-के पर्छ? (ख) येशूले विश्‍वासी र बुद्धिमान्‌ दासलाई कस्तो चेतावनी दिनुभयो? (‘यदि त्यो दास दुष्ट भयो भने’ पेटी हेर्नुहोस्‌)

१४ येशूले विश्‍वासी र बुद्धिमान्‌ दासलाई गहन जिम्मेवारी सुम्पनुभएको छ। बाइबलकालीन समयमा भरोसायोग्य दास अर्थात्‌ भण्डारेले मालिकको सम्पूर्ण कुराको रेखदेख गर्थ्यो। (लूका १२:४२) त्यसैगरि परमेश्‍वरका सेवकहरूको रेखदेख गर्ने जिम्मेवारी विश्‍वासी र बुद्धिमान्‌ दासलाई सुम्पिइएको छ। यसमा पैसा, जायजेथा, प्रचारकार्य, सम्मेलन तथा अधिवेशनसित सम्बन्धित कार्यक्रमको रेखदेख गर्ने काम पर्छ। साथै प्रचारमा, व्यक्‍तिगत अध्ययनमा र मण्डलीका सभाहरूमा हामीले प्रयोग गर्ने बाइबल साहित्यहरू तयार पार्ने काम पनि यसमा पर्छ। घरका अरू दासहरू विश्‍वासी दासले दिने आध्यात्मिक भोजनमा निर्भर छन्‌।

मालिकका सबै सम्पत्तिमाथि कहिले नियुक्‍त गरिन्छ?

१५, १६. येशूले विश्‍वासी दासलाई आफ्ना सबै सम्पत्तिमाथि कहिले नियुक्‍त गर्नुहुन्छ?

१५ येशूले दोस्रो नियुक्‍ति अर्थात्‌ विश्‍वासी र बुद्धिमान्‌ दासलाई आफ्ना सबै सम्पत्तिमाथि कहिले नियुक्‍त गर्नुहुन्छ? येशूले यसो भन्‍नुभयो: “आनन्दित हो त्यो दास, जसलाई उसको मालिकले फर्केर आउँदा त्यसै गरिरहेको भेट्टाउँछन्‌! म तिमीहरूलाई साँचो-साँचो भन्छु, तिनले उसलाई आफ्ना सबै सम्पत्तिहरूमाथि नियुक्‍त गर्नेछन्‌।” (मत्ती २४:४६, ४७) याद गर्नुहोस्‌, आफू आएपछि र दासले “त्यसै गरिरहेको” अर्थात्‌ वफादार भई आध्यात्मिक भोजन दिइरहेको भेट्टाएपछि मात्र येशू दोस्रो नियुक्‍ति गर्नुहुन्छ। त्यसकारण केही समयको फरकमा यी दुई नियुक्‍ति गरिनेथियो। येशूले विश्‍वासी दासलाई कहिले र कसरी आफ्ना सबै सम्पत्तिमाथि नियुक्‍त गर्नुहुन्छ भनेर थाह पाउन दुईवटा कुरा बुझ्नुपर्छ। त्यो हो, उहाँ कहिले आउनुहुन्छ र उहाँका सबै सम्पत्तिमा के-के पर्छन्‌?

१६ येशू कहिले आउनुहुन्छ? मत्ती २४:४६, ४७ अघिका केही पदमा यसको जवाफ पाइन्छ। यी पदहरूमा येशू ‘आउने’-बारे बताइएको छ। यो शब्दले यस युगको अन्तमा येशू न्यायको घोषणा र कार्यान्वयन गर्न आउनुहुने समयलाई बुझाउँछ।d (मत्ती २४:३०, ४२, ४४) त्यसकारण विश्‍वासी दाससम्बन्धी दृष्टान्तमा येशू ‘आउने’ भनिएको समय महासङ्‌कष्टको दौडान हुनेछ।

१७. येशूका सबै सम्पत्तिमा के पनि पर्छ?

१७ येशूका “सबै सम्पत्ति”-मा के पनि पर्छ? येशूको सम्पत्तिमा पृथ्वी मात्रै होइन; स्वर्ग पनि पर्छ। उहाँले यसो भन्‍नुभयो: “स्वर्ग र पृथ्वीको सबै अधिकार मलाई दिइएको छ।” (मत्ती २८:१८; एफि. १:२०-२३) अहिले उहाँका सबै सम्पत्तिमा मसीही राज्य पनि पर्छ। सन्‌ १९१४ देखि यो राज्य उहाँलाई दिइएको छ र उहाँले आफ्ना अभिषिक्‍त अनुयायीहरूसित मिलेर राज्य गर्नुहुनेछ।—प्रका. ११:१५.

१८. येशूले खुसीसाथ विश्‍वासी दासलाई आफ्ना सबै सम्पत्तिमाथि किन नियुक्‍त गर्नुहुनेछ?

१८ त्यसोभए हामी कस्तो निष्कर्षमा पुग्न सक्छौं? येशू महासङ्‌कष्टको दौडान न्याय गर्न आउँदा विश्‍वासी दासले वफादार हुँदै घरका अरू दासहरूलाई ठीक समयमा आध्यात्मिक भोजन दिइरहेको पाउनुहुनेछ। त्यसकारण उहाँले खुसीसाथ दासलाई आफ्ना सबै सम्पत्तिमाथि नियुक्‍त गर्नुहुनेछ। विश्‍वासी दास स्वर्गमा येशूको सह-शासक भएपछि मालिकका सबै सम्पत्तिमाथि नियुक्‍त हुनेछ।

१९. के विश्‍वासी दासले स्वर्गमा अरू अभिषिक्‍त ख्रीष्टियनले भन्दा अझै राम्रो इनाम पाउँछ? व्याख्या गर्नुहोस्‌।

१९ के विश्‍वासी दासले स्वर्गमा अरू अभिषिक्‍त ख्रीष्टियनले भन्दा अझै राम्रो इनाम पाउँछ? अहँ, पाउँदैन। पहिल्यै कुनै खास समूहलाई दिने प्रतिज्ञा गरिएको इनाम पछि अरूसित पनि बाँड्‌न सकिन्छ। जस्तै: येशूले आफ्नो मृत्यु हुनुभन्दा अघिल्लो रात आफ्ना ११ जना वफादार प्रेषितलाई के भन्‍नुभयो, याद गर्नुहोस्‌। (लूका २२:२८-३० पढ्‌नुहोस्‌) त्यस सानो समूहले आफ्नो वफादारीको उत्तम इनाम पाउनेछन्‌ भनेर येशूले प्रतिज्ञा गर्नुभयो। तिनीहरूले पनि स्वर्गमा येशूसँगै शासन गर्नेथिए। तर येशूले वर्षौंपछि भन्‍नुभएको कुराले १,४४,००० सबैले नै उहाँसित शासन गर्नेछन्‌ भनेर सङ्‌केत गर्छ। (प्रका. १:१; ३:२१) त्यसैगरि मत्ती २४:४७ मा उल्लेख गरिएझैं अभिषिक्‍त भाइहरू मिलेर बनेको सानो समूह अर्थात्‌ विश्‍वासी दास उहाँका सबै सम्पत्तिमाथि नियुक्‍त हुनेछ भनेर येशूले प्रतिज्ञा गर्नुभयो। तर वास्तवमा १,४४,००० सबै नै येशूका सबै सम्पत्तिमाथि नियुक्‍त हुनेछन्‌।—प्रका. २०:४, ६.

एक लाख चवालीस हजार सबै नै येशूका सबै सम्पत्तिमाथि नियुक्‍त हुनेछन्‌ (अनुच्छेद १९ हेर्नुहोस्‌)

२०. येशूले विश्‍वासी दास किन नियुक्‍त गर्नुभयो? हामी सधैं के गर्न चाहन्छौं?

२० येशूले प्रथम शताब्दीमा थोरै मानिसमार्फत धेरैलाई खुवाएझैं अहिले पनि विश्‍वासी र बुद्धिमान्‌ दासमार्फत धेरैलाई खुवाउँदै हुनुहुन्छ। अभिषिक्‍त ख्रीष्टियनलगायत अरू भेडाका सदस्यहरूले अन्तको दिनको दौडान ठीक समयमा आध्यात्मिक भोजन पाइरहून्‌ भनेर येशूले विश्‍वासी दास नियुक्‍त गर्नुभयो। त्यसकारण विश्‍वासी र बुद्धिमान्‌ दासलाई वफादार भई समर्थन गरिरहौं।—हिब्रू १३:७, १७.

a अनुच्छेद २: पहिला पनि येशूले यस्तै दृष्टान्त बताउनुभएको थियो। त्यस दृष्टान्तमा येशूले “दास”-लाई “भण्डारे” र “घरका अरू दासहरूलाई” “आफ्ना सेवकहरूको दल” भन्‍नुभएको थियो।—लूका १२:४२-४४.

b अनुच्छेद ६: मत्ती २४:४२-४४ मा ‘आउने’ (एर्खोमाइ) भनी अनुवाद गरिएको ग्रीक शब्द र मत्ती २४:३ मा ‘उपस्थित’ (पारुसिया) भनेर अनुवाद गरिएको ग्रीक शब्दबीच भिन्‍नता छ। न्याय गर्न आउनअघि ख्रीष्टको अदृश्‍य उपस्थिति सुरु हुन्छ।

c अनुच्छेद १२: यस अङ्‌कको ‘हेर, म सधैंभरि तिमीहरूसितै छु’ भन्‍ने लेखको पृष्ठ १०-१२, अनुच्छेद ५-८ हेर्नुहोस्‌।

d अनुच्छेद १६: यस अङ्‌कको “हामीलाई भन्‍नुहोस्‌, यी कुराहरू कहिले हुनेछन्‌?” भन्‍ने लेखको पृष्ठ ७-८, अनुच्छेद १४-१८ हेर्नुहोस्‌।

के तपाईंले बुझ्नुभयो?

  • “विश्‍वासी र बुद्धिमान्‌ दास”: ख्रीष्टको उपस्थितिको दौडान आध्यात्मिक भोजन तयार पार्ने र बाँड्‌ने काममा प्रत्यक्ष रूपमा भाग लिने अभिषिक्‍त भाइहरूको सानो समूह। हालैका वर्षहरूमा यो समूह अभिषिक्‍त भाइहरू मिलेर बनेको परिचालक निकाय हो

  • “आफ्नो घरका अरू दासहरू”: अभिषिक्‍त ख्रीष्टियनहरू होऊन्‌ वा अन्य भेडा, आध्यात्मिक भोजन खानेजति सबै

  • ‘आफ्नो घरका अरू दासहरूमाथि नियुक्‍त’: सन्‌ १९१९ मा येशूले योग्य अभिषिक्‍त भाइहरूलाई विश्‍वासी र बुद्धिमान्‌ दासको रूपमा छान्‍नुभयो

  • “तिनले उसलाई आफ्ना सबै सम्पत्तिहरूमाथि नियुक्‍त गर्नेछन्‌”: विश्‍वासी दासले स्वर्गमा इनाम पाउँदा यो नियुक्‍ति पाउनेछ। तिनीहरूलगायत १,४४,००० का बाँकी सदस्यहरूले ख्रीष्टका सबै सम्पत्तिहरूमाथि अधिकार गर्नेछन्‌

‘यदि त्यो दास दुष्ट भयो भने’

येशूले विश्‍वासी र बुद्धिमान्‌ दासलाई अत्यन्तै महत्त्वपूर्ण जिम्मेवारी सुम्पनुभएको छ। त्यो हो, घरका अरू दासहरूको हेरचाह गर्ने अनि ठीक समयमा आध्यात्मिक भोजन दिने। जसलाई धेरै जिम्मेवारी दिइएको छ, ऊबाट धेरै नै माग गरिनेछ भनेर येशूले बताउनुभयो। (लूका १२:४८) त्यसकारण एउटा गम्भीर चेतावनी दिंदै उहाँले विश्‍वासी र बुद्धिमान्‌ दासको दृष्टान्त टुङ्‌ग्याउनुभयो।

येशूले एउटा दुष्ट दासबारे बताउनुभयो। उक्‍त दासले मनमनै मालिकले बियाँलो गर्दै हुनुहुन्छ भनी सोच्छ अनि आफ्ना सँगी दासहरूलाई पिट्‌न थाल्छ। मालिक आउँछन्‌ र त्यस दुष्ट दासलाई “असाध्यै कठोर दण्ड” दिन्छन्‌।—मत्ती २४:४८-५१ पढ्‌नुहोस्‌।

के येशूले अन्तको दिनमा दुष्ट दास वर्ग हुनेछ भनेर भविष्यवाणी गरिरहनुभएको थियो? अहँ, थिएन। हो, केहीले येशूले बताउनुभएको दुष्ट दासको जस्तै मनोवृत्ति देखाएका छन्‌। अभिषिक्‍तहरू होऊन्‌ वा “ठूलो भीड”-काहरू होऊन्‌, हामी तिनीहरूलाई धर्मत्यागी भन्‍नेछौं। तर तिनीहरू दुष्ट दास वर्ग भने होइनन्‌। किनकि येशूले दुष्ट दास नियुक्‍त गर्छु भन्‍नुभएको थिएन। बरु उहाँले विश्‍वासी र बुद्धिमान्‌ दासलाई चेतावनी दिंदै हुनुहुन्थ्यो।

याद गर्नुहोस्‌, येशूले “यदि” भन्दै चेतावनी दिन थाल्नुहुन्छ। भनाइको मतलब येशूले जे भन्‍नुभयो त्यो एउटा सम्भावना मात्रै हो। वास्तवमा येशू यसो भन्‍न खोज्दै हुनुहुन्थ्यो: ‘यदि विश्‍वासी र बुद्धिमान्‌ दासले आफ्ना सँगी दासहरूलाई यस्तो किसिमको व्यवहार गऱ्‍यो भने मालिक आउँदा उसले कठोर सजाय पाउनेछ।’ (लूका १२:४५ पनि हेर्नुहोस्‌) तर विश्‍वासी र बुद्धिमान्‌ दास जागा रहिरहेको छ अनि पोसिलो आध्यात्मिक भोजन दिइरहेको छ।

विश्‍वासी दासले घरका अरू दासहरूको हेरचाह गरेको मालिक चाहन्छन्‌। यो तथ्य विश्‍वासी दासको रूपमा सेवा गर्ने अभिषिक्‍त भाइहरूलाई थाह छ। यी अभिषिक्‍त भाइहरू आफ्नो मालिक आउँदा उहाँबाट ‘स्याबासी’ पाउन चाहन्छन्‌। त्यसकारण उनीहरू आफ्नो जिम्मेवारी वफादार भई पूरा गर्छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने