“नूनको स्वाद गयो भने”
यसैको कारण युद्धहरू लडिएका छन्। यसलाई व्यापारिक लेनदेनको माध्यमको रूपमा प्रयोग गरिएको छ। पुरातन चीनमा यो सुन पछिको दोस्रो बहुमूल्य साधन थियो। हो, मानिसजातिले नूनलाई बहुमूल्य सामाग्रीको रूपमा लिएको निकै भइसक्यो। आज पनि रोगोपचार र एन्टिसेप्टिकमा यो गुणकारी साबित भएको छ भने विश्वभरि स्वाद बढाउन र खाना सञ्चय गर्न पनि यसको प्रयोग गरिन्छ।
नूनका थुप्रै मनमोहक गुणहरू र प्रयोगको कारण यसलाई बाइबलमा लाक्षणिक तवरले प्रयोग गर्नु अनौठो होइन। उदाहरणका लागि, मोशालाई दिइएको व्यवस्थामा यहोवाको निम्ति वेदीमा चढाइने जुनसुकै कुरा पहिले नूनले नुनिलो बनाउनुपर्थ्यो। (लेवी २:१३) बलिदानहरू स्वादिलो पार्नका लागि होइन तर नूनले भ्रष्ट नभएको वा नकुहिएको कुरा चित्रित गर्ने भएकोले त्यसो गरिन्थ्यो।
डाँडाको प्रसिद्ध उपदेशमा येशू ख्रीष्टले आफ्ना चेलाहरूलाई यसो भन्नुभयो: “तिमीहरू पृथ्वीका नून हौ।” (मत्ती ५:१३) येशूले यस वाक्यद्वारा चेलाहरूले परमेश्वरको राज्यबारे गर्ने प्रचारकार्य सुन्नेहरू जत्ति सुरक्षित हुन्थे अथवा उनीहरूको ज्यान जोगिन्थ्यो भनेर संकेत गर्दै हुनुहुन्थ्यो। वास्तवमा, येशूका शब्दहरूलाई व्यवहारमा उतार्नेहरू आफू बाँचिरहेको वा बसिरहेको समाजको नैतिक तथा आध्यात्मिक कुहावटबाट जोगिन्छन्।—१ पत्रुस ४:१-३.
तथापि, येशूले यस्तो चेताउनी पनि दिनुभयो: “तर नूनको स्वाद गयो भने . . . त्यो ता फालिन र मानिसका खुट्टाले कुल्चनबाहेक अरू केही कामको हुँदैन।” यसबारे टिप्पणी गर्दै बाइबल शास्त्रज्ञ अल्बर्ट बार्न्जले येशू अनि उहाँका प्रेरितहरूले देख्नु तथा प्रयोग गर्नु भएको नून “अशुद्ध, सागपात र माटो मिसिएको हुन्थ्यो।” अतः नूनको नुनिलो स्वाद गयो भने “माटै माटो” मात्र बाँकी हुनसक्थ्यो। “अनि यो बेकामको हुन्थ्यो . . . यसलाई बाटोमा गिट्टीको रूपमा प्रयोग गर्नु सिवाय अरू कुनै पनि काममा प्रयोग गर्न सकिंदैन थियो” बार्न्ज उल्लेख गर्छन्।
यो चेताउनीलाई पालन गर्दै मसीहीहरू जनसमक्ष साक्षी दिनदेखि नरोकिन वा फेरि अभक्त आचरणहरूमा नलाग्न होसियार हुनुपर्छ। नत्रता तिनीहरूको आध्यात्मिकता खस्किन्छ र तिनीहरू पनि ‘स्वाद नभएको नून’ जस्तै हुनपुग्छन्।