प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • jy chap. १२६ p. २८८-p. २८९ par. ९
  • पत्रुस येसुलाई कैयाफाको घरमा तिरस्कार गर्छन्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पत्रुस येसुलाई कैयाफाको घरमा तिरस्कार गर्छन्‌
  • येसु—बाटो, सत्य र जीवन
  • मिल्दोजुल्दो सामग्री
  • चोकमा तिरस्कार
    सबैभन्दा महान्‌ पुरुष
  • तिनले आफ्नो गुरुबाट क्षमा दिन सिके
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
  • पत्रुस येसुलाई चिन्‍न इन्कार गर्छन्‌
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • हाम्रो अनमोल विश्‍वासलाई थामिराखौं!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
थप हेर्नुहोस्
येसु—बाटो, सत्य र जीवन
jy chap. १२६ p. २८८-p. २८९ par. ९
येसु आफूलाई भर्खरै तिरस्कार गरेको पत्रुसलाई बार्दलीबाट हेर्नुहुन्छ; पछाडि एउटा भाले पनि छ

अध्याय १२६

पत्रुस येसुलाई कैयाफाको घरमा तिरस्कार गर्छन्‌

मत्ति २६:६९-७५ मर्कुस १४:६६-७२ लुका २२:५४-६२ युहन्‍ना १८:१५-१८, २५-२७

  • पत्रुस येसुलाई तिरस्कार गर्छन्‌

गेत्समनीको बगैँचामा येसु पक्राउ पर्नुभएपछि प्रेषितहरू डराउँछन्‌ र उहाँलाई छोडेर भाग्छन्‌। तर दुई जनाचाहिँ बीचमै रोकिन्छन्‌। तिनीहरूमध्ये एक जना पत्रुस हुन्‌ अनि “अर्को एक जना चेला”-चाहिँ प्रेषित युहन्‍ना हुन सक्छन्‌। (युहन्‍ना १८:१५; १९:३५; २१:२४) उनीहरूले येसुलाई हन्‍नासकहाँ लैजाँदै गर्दा भेटेका हुन सक्छन्‌। अनि हन्‍नासले येसुलाई प्रधानपुजारी कैयाफाकहाँ पठाउँदा पत्रुस र युहन्‍ना टाढैबाट उहाँको पछिपछि लाग्छन्‌। एकातिर उनीहरूलाई आफ्नो ज्यानको माया लागिरहेको छ भने अर्कोतिर आफ्नो मालिकलाई के हुने होला भनेर चिन्ता पनि लागिरहेको छ।

युहन्‍नाको प्रधानपुजारीसित चिनापर्ची छ। त्यसैले तिनी कैयाफाको घरको चोकसम्म जान पाउँछन्‌। पत्रुसचाहिँ बाहिर ढोकामै उभिरहन्छन्‌। युहन्‍ना आएर ढोकेको काम गरिरहेकी नोकर्नीसँग कुरा गरेपछि पत्रुस पनि भित्र पस्न पाउँछन्‌।

राती जाडो भएकोले चोकमा भएकाहरू दाउरा बालेर आगो तापिरहेका छन्‌। पत्रुस पनि येसुलाई “के हुँदो रहेछ” भनेर हेर्न तिनीहरूसँगै आगो तापेर बस्छन्‌। (मत्ति २६:५८) पत्रुसलाई भित्र छिर्न दिएकी त्यस ढोकेले तिनलाई आगोको उज्यालोमा राम्ररी देख्छे अनि तिनलाई सोध्छे: “तपाईँ पनि त्यस मानिसकै चेला हुनुहुन्छ जस्तो छ, होइन र?” (युहन्‍ना १८:१७) तर उसले मात्र होइन, अरूले पनि पत्रुसलाई चिन्छन्‌ र तिनी येसुसँगै थिए भन्‍न थाल्छन्‌।—मत्ति २६:६९, ७१-७३; मर्कुस १४:७०.

पत्रुसलाई असाध्यै डर लाग्छ। आफूतर्फ अरूको ध्यान खिच्न नचाहेकोले तिनी निस्केर मूलढोकातिर जान्छन्‌। पत्रुस आफू येसुसँग भएको कुरा नकार्दै एक पटक यसो समेत भन्छन्‌: “न म उहाँलाई चिन्छु न त तिमी जे भन्दै छ्यौ, त्यो बुझ्छु।” (मर्कुस १४:६७, ६८) तिनी ‘आफूले झूट बोलेको हो भने आफूलाई सराप लागोस्‌ भनेर कसम खान्छन्‌।’ यसको मतलब तिनी आफूले भनेको कुरा सत्य हो र यदि त्यो झूटो ठहरियो भने आफू विपत्ति भोग्न तयार छु भनेर शपथ खानसमेत राजी हुन्छन्‌।—मत्ति २६:७४.

यतिबेला सम्भवतः कैयाफाको घरको चोकमाथिको कुनै भागमा येसुको पुर्पक्ष चलिरहेको छ। तल चोकमा फैसला कुरेर बसिरहेका पत्रुस र अरूले येसुको विरुद्धमा गवाही दिन बोलाइएका साक्षीहरू आउजाउ गरेको देखेका हुन सक्छन्‌।

पत्रुसको गालिली लबजले गर्दा मानिसहरू तिनी झूट बोल्दै छन्‌ भनेर थाह पाउँछन्‌। साथै, पत्रुसले कान काटिदिएको माल्कसको एक जना नातेदार पनि त्यहीँ छ। ऊ यसो भन्छ: “मैले तपाईँलाई उहाँसित बगैँचामा देखेको होइन र?” जब पत्रुसले यतिबेला तेस्रो पटक येसुलाई तिरस्कार गर्छन्‌, तब येसुले भन्‍नुभएअनुसारै भाले बास्छ।—युहन्‍ना १३:३८; १८:२६, २७.

यतिबेला येसु चोकमाथिको बार्दलीमा हुनुहुन्छ जस्तो देखिन्छ। प्रभुले फर्केर सीधै पत्रुसलाई हेर्नुहुन्छ। पत्रुसको मन कत्ति छियाछिया भयो होला! केही घण्टाअघि मात्र येसुले माथिल्लो तलाको कोठामा भन्‍नुभएको कुरा पत्रुस सम्झन्छन्‌। आफूले येसुलाई तिरस्कार गरेको कुरा महसुस गर्दा पत्रुसलाई कत्ति नमीठो लाग्यो होला, कल्पना गर्नुहोस्‌ त! पत्रुस बाहिर निस्केर धुरुधुरु रुन्छन्‌।—लुका २२:६१, ६२.

आफू आध्यात्मिक रूपमा बलियो छु र येसुप्रति वफादार छु भन्‍ने कुरामा विश्‍वस्त भएका पत्रुस कसरी आफ्नो मालिकलाई तिरस्कार गर्न पुग्छन्‌? यतिबेला पत्रुस परिस्थितिको वशमा परेका छन्‌। सत्यलाई बङ्‌ग्याइएको छ र येसुलाई एक जना खुँखार अपराधीको संज्ञा दिइएको छ। चाहेको भए पत्रुस आफ्नो निर्दोष मालिकको पक्षमा खडा हुन सक्थे। तर तिनले जससित “अनन्त जीवनका वचनहरू” छन्‌, उहाँलाई नै आफ्नो पिठ्यूँ फर्काए।—युहन्‍ना ६:६८.

आशै नगरेको परीक्षा वा प्रलोभन आउँदा परमेश्‍वरलाई विश्‍वास गर्ने र उहाँको भक्‍ति गर्ने मानिसले समेत आफ्नो सन्तुलन गुमाउन सक्छन्‌ भन्‍ने कुरा पत्रुसको यस्तो मार्मिक अनुभवबाट प्रस्ट हुन्छ। पत्रुसको उदाहरणलाई परमेश्‍वरका सबै सेवकले चेतावनीको रूपमा लिनुपर्छ!

  • पत्रुस र युहन्‍ना कसरी कैयाफाको घरको चोकसम्म पुग्न सफल हुन्छन्‌?

  • पत्रुस र युहन्‍ना चोकमा छँदा घरभित्र के भइरहेको छ?

  • पत्रुसले आफूलाई सराप लागोस्‌ भनेर कसम खानुको अर्थ के हो?

  • पत्रुसको उदाहरणबाट हामी कस्तो गम्भीर पाठ सिक्न सक्छौँ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने