प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w20 जनवरी pp. १-३२
  • “त्यसैले जाओ र . . . चेला बनाओ”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “त्यसैले जाओ र . . . चेला बनाओ”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • येसुले चेला बनाउनू भन्‍ने आज्ञा कसलाई दिनुभयो?
  • विद्यार्थीको मनसम्म पुग्न प्रयास गर्नुहोस्‌
  • विद्यार्थीलाई प्रगति गर्न मदत गर्नुहोस्‌
  • कस्तो अवस्थामा बाइबल विद्यार्थीसित अध्ययन गर्न छोड्‌नु बेस हो?
  • बाइबल विद्यार्थीलाई बप्तिस्मा गरेर चेला बन्‍न मदत गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • बाइबल विद्यार्थीलाई बप्तिस्मासम्म पुग्न कसरी मदत गर्न सकिन्छ?—भाग १
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • बाइबल विद्यार्थीलाई बप्तिस्मासम्म पुग्न कसरी मदत गर्न सकिन्छ?—भाग २
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • मण्डलीको रूपमा बाइबल विद्यार्थीहरूलाई बप्तिस्मासम्म प्रगति गर्न मदत गरौँ!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
w20 जनवरी pp. १-३२

अध्ययन लेख १

“त्यसैले जाओ र . . . चेला बनाओ”

सन्‌ २०२० को वार्षिक पद: “त्यसैले जाओ र . . . चेला बनाओ; तिनीहरूलाई . . . बप्तिस्मा गराओ।”—मत्ति २८:१९.

गीत ७९ दृढ हुन सिकाऔँ!

परिचयa

१-२. एक जना स्वर्गदूतले येसुको चिहाननेर आइपुगेका स्त्रीहरूलाई के भने? येसुले तिनीहरूलाई कुन निर्देशन दिनुभयो?

इस्वी संवत्‌ ३३, नीसान १६ को बिहानीको कुरा हो। केही भक्‍तालु स्त्री दुःखी हुँदै येसुको चिहानतिर गइरहेका थिए। येसुको शवलाई चिहानमा राखेको ३६ घण्टाभन्दा धेरै भइसकेको थियो। तिनीहरू उहाँको शवमा सुगन्धित मसला र तेल दल्न चिहाननेर पुग्दा तीनछक परे किनभने चिहान रित्तो थियो। एक जना स्वर्गदूतले तिनीहरूलाई येसु मृत्युबाट ब्युँतिसक्नुभएको कुरा बताए। तिनले भने: “उहाँ तिमीहरूभन्दा अघि गालिल जाँदै हुनुहुन्छ र तिमीहरूले उहाँलाई त्यहीँ देख्नेछौ।”—मत्ति २८:१-७; लुका २३:५६; २४:१०.

२ ती स्त्रीहरू त्यहाँबाट गइसकेपछि येसुले तिनीहरूलाई भेट्‌नुभयो अनि यस्तो निर्देशन दिनुभयो: “जाओ, मेरा भाइहरूलाई गालिल जान भनिदेओ। तिनीहरूले मलाई त्यहीँ देख्नेछन्‌।” (मत्ति २८:१०) येसुले पक्कै पनि आफ्ना चेलाहरूलाई केही महत्त्वपूर्ण निर्देशन दिन चाहनुभएको हुनुपर्छ। त्यसैले मृत्युबाट ब्युँतिनेबित्तिकै उहाँले तिनीहरूलाई गालिलमा भेला हुन भन्‍नुभयो।

येसुले चेला बनाउनू भन्‍ने आज्ञा कसलाई दिनुभयो?

फेरि जीवित हुनुभएका येसु आफ्ना प्रेषितहरू र अरूसित गालिलमा भेटेर तिनीहरूलाई ‘जाओ र चेला बनाओ’ भन्‍ने निर्देशन दिँदै हुनुहुन्छ।

येसु मृत्युबाट ब्युँताइनुभएपछि प्रेषितहरू र अरू चेलालाई गालिलमा भेट्‌नुभयो अनि तिनीहरूलाई “जाओ र . . . चेला बनाओ” भनेर निर्देशन दिनुभयो (अनुच्छेद ३-४ हेर्नुहोस्‌)

३-४. मत्ति २८:१९, २० को आज्ञा प्रेषितहरूको लागि मात्र थिएन भनेर किन भन्‍न सक्छौँ? (आवरण पृष्ठको चित्र हेर्नुहोस्‌)

३ मत्ति २८:१६-२० पढ्‌नुहोस्‌। चेलाहरू गालिलमा भेला भएपछि येसुले ती चेलाहरूले प्रथम शताब्दीमा गर्नुपर्ने एउटा महत्त्वपूर्ण कामबारे बताउनुभयो। त्यो काम आज हामी पनि गर्दै छौँ। उहाँले यसो भन्‍नुभयो: “त्यसैले जाओ र सबै जातिका मानिसहरूलाई चेला बनाओ; . . . मैले तिमीहरूलाई आज्ञा गरेको सबै कुरा तिनीहरूलाई पालन गर्न सिकाओ।”

४ येसु आफ्ना सबै अनुयायीले प्रचार गरेको चाहनुहुन्थ्यो। उहाँले यो आज्ञा आफ्ना वफादार ११ प्रेषितलाई मात्र दिनुभएको थिएन। हामी किन त्यसो भन्‍न सक्छौँ? येसुले गालिलको डाँडामा यो आज्ञा दिनुहुँदा के त्यहाँ उहाँका प्रेषितहरू मात्र थिए? स्वर्गदूतले स्त्रीहरूलाई के भनेका थिए, याद गर्नुहोस्‌: “तिमीहरूले उहाँलाई [गालिलमा] देख्नेछौ।” त्यसैले त्यहाँ भेला भएका उहाँका चेलाहरूमाझ भक्‍तालु स्त्रीहरू पनि हुनुपर्छ। त्यति मात्र होइन, प्रेषित पावलले येसु “एकैचोटि ५०० भन्दा धेरै भाइकहाँ देखा पर्नुभयो” भनेर बताए। (१ कोरि. १५:६) तिनीहरू कहाँ भेला भएका थिए?

५. हामी १ कोरिन्थी १५:६ बाट के सिक्न सक्छौँ?

५ पावलले मत्ति अध्याय २८ मा येसुले गालिलमा चेलाहरूसँग भेट्‌नुभएको घटनालाई मनमा राख्दै १ कोरिन्थी १५:६ को कुरा भनेको हुनुपर्छ। किन? पहिलो कारण, येसुका धेरैजसो चेला गालिलवासीहरू थिए। त्यसैले उहाँले त्यति धेरै मानिसलाई यरुसलेममा कसैको निजी घरमा होइन तर गालिलको डाँडामा भेट्‌नुभएको हुनुपर्छ। दोस्रो कारण, येसुले मृत्युबाट ब्युँतिनुभएपछि आफ्ना ११ प्रेषितसित यरुसलेमको एउटा कोठामा भेटिसक्नुभएको थियो। यदि चेला बनाउनू भन्‍ने आज्ञा प्रेषितहरूको लागि मात्र थियो भने उहाँले त्यतिखेरै त्यो कुरा भनिसक्नुहुने थियो। उहाँले तिनीहरू, स्त्रीहरू र अरूलाई गालिलमा भेट्‌न बोलाउनु आवश्‍यक थिएन।—लुका २४:३३, ३६.

६. चेला बनाउनू भन्‍ने आज्ञा अहिले पनि पालन गर्नुपर्छ भनेर मत्ति २८:२० बाट कसरी थाह पाउन सक्छौँ? मानिसहरूले यो आज्ञा पालन गर्दै छन्‌ भनेर किन भन्‍न सक्छौँ?

६ तेस्रो कारण विचार गर्नुहोस्‌। येसुले चेला बनाउनू भनी दिनुभएको आज्ञा प्रथम शताब्दीका ख्रिष्टियनहरूको लागि मात्र थिएन। हामी कसरी यसो भन्‍न सक्छौँ? येसुले चेलाहरूलाई निर्देशन दिँदै अन्तमा यसो भन्‍नुभयो: “यस युगको आखिरी समयसम्म म सधैँभरि तिमीहरूसितै छु।” (मत्ति २८:२०) येसुले भन्‍नुभएजस्तै आज चेला बनाउने काम जोडतोडले अघि बढिरहेको छ। हरेक वर्ष झन्डै ३ लाख मानिस येसु ख्रिष्टको चेला बन्छन्‌, बप्तिस्मा गर्छन्‌ अनि यहोवाको साक्षी बन्छन्‌।

हामी आफ्ना विद्यार्थीहरूलाई ख्रिष्टको चेला बन्‍न मदत गर्न चाहन्छौँ

हामी चेला बनाउने काममा कसरी उन्‍नति गर्न सक्छौँ?

यहोवाका साक्षीहरू चेला बनाउने कामलाई अझ फलदायी बनाउँछन्‌। चित्रहरूको सँगालो: १. प्रगति नगर्ने बाइबल अध्ययनमा समय खेर नफाल्नुहोस्‌; दुई जना भाइ एक युवकसित बाइबल अध्ययन गर्दै छन्‌, जसले अध्ययनमा कुनै चासो देखाएका छैनन्‌। २. तपाईँको इलाकामा मदतको लागि प्रार्थना गरिरहेकाहरू होलान्‌; एउटी स्त्रीले प्रार्थना गरिरहेकै बेला दुई जना बहिनीले ढोका ढकढक्याउँछन्‌। ३. अध्ययन सुरु गर्नुअघि प्रार्थना गर्नुहोस्‌; एक जना भाइ बाइबल अध्ययन सुरु गर्नुअघि प्रार्थना गर्दै छन्‌। ४. तपाईँको बाइबल विद्यार्थीलाई सभामा आउन निम्तो दिनुहोस्‌; बाइबल विद्यार्थीलाई राज्यभवनमा लिएर आएका भाइले सभामा के-के हुन्छ भनेर बताउँदै छन्‌। ५. तपाईँको विद्यार्थीलाई समस्या सुल्झाउने तरिका सिकाउनुहोस्‌; एक जना भाइले आफ्नो बाइबल विद्यार्थीलाई इलेक्ट्रोनिक साधनमा अनुसन्धान गर्ने तरिका देखाउँदै छन्‌।

७. हामी के छलफल गर्नेछौँ र किन?

७ हामीसित नियमित बाइबल अध्ययन गर्ने धेरैजसो मानिसले प्रगति गरेर बप्तिस्मा गर्छन्‌। तर कोही-कोही भने चेला बन्‍न आलेटाले गर्छन्‌। तिनीहरूलाई अध्ययन गर्न त मन पर्छ तर बप्तिस्मा गर्न अघि बढ्‌दैनन्‌। यदि तपाईँ कसैलाई बाइबल अध्ययन गराउँदै हुनुहुन्छ भने तिनलाई पक्कै पनि सिकेको कुरा लागू गर्न र ख्रिष्टको चेला बन्‍न मदत गर्न चाहनुहुन्छ। हामी कसरी विद्यार्थीहरूको मनसम्म पुग्न सक्छौँ अनि तिनीहरूलाई आध्यात्मिक उन्‍नति गर्न मदत गर्न सक्छौँ, त्यसबारे यस लेखमा छलफल गर्नेछौँ। हामीले किन यो कुरा राम्ररी बुझ्नुपर्छ? किनभने हामीले आफ्नो विद्यार्थीसित अध्ययन गरिरहने हो अथवा छोड्‌ने भनेर कुनै न कुनै समयमा निर्णय गर्नुपर्ने हुन्छ।

विद्यार्थीको मनसम्म पुग्न प्रयास गर्नुहोस्‌

८. विद्यार्थीहरूको मनसम्म पुग्न किन गाह्रो हुन सक्छ?

८ यहोवा मानिसहरू प्रेमले उत्प्रेरित भएर उहाँको सेवा गरेको चाहनुहुन्छ। त्यसैले हाम्रो लक्ष्य विद्यार्थीहरूलाई यहोवाले तिनीहरू हरेकको असाध्यै चासो राख्नुहुन्छ र धेरै माया गर्नुहुन्छ भनेर बुझाउने हुनुपर्छ। हामी यहोवालाई “अनाथहरूका बुबा र विधवाहरूका रक्षक”-को रूपमा हेर्न तिनीहरूलाई मदत गर्न चाहन्छौँ। (भज. ६८:५) तपाईँका विद्यार्थीहरूले यहोवाले धेरै माया गर्नुहुन्छ भनेर बुझेमा तिनीहरूले उहाँलाई माया गर्न सिक्ने सम्भावना धेरै हुन्छ। कुनै-कुनै विद्यार्थीले आफ्नो बुबाको माया र स्नेह नपाएकोले तिनीहरूलाई यहोवा मायालु बुबा हुनुहुन्छ भनेर स्विकार्न गाह्रो लाग्न सक्छ। (२ तिमो. ३:१, ३) त्यसैले तिनीहरूलाई बाइबल अध्ययन गराउँदा यहोवाका मनमोहक गुणहरूतर्फ ध्यान खिच्नुहोस्‌। हाम्रा मायालु परमेश्‍वरले तिनीहरूले अनन्त जीवन पाएको चाहनुहुन्छ र त्यो पाउन उहाँ तिनीहरूलाई मदत गर्न तयार हुनुहुन्छ भनेर बुझाउनुहोस्‌। हामी अरू के गर्न सक्छौँ?

९-१०. बाइबल अध्ययन गर्न कुन किताबहरू चलाउन सक्छौँ र किन?

९ “बाइबलले हामीलाई के सिकाउँछ?” र “परमेश्‍वरको प्रेम पाउन लायक भइरहनुहोस्‌” किताबहरूबाट अध्ययन गराउनुहोस्‌। यी किताबहरू विद्यार्थीलाई मन छुने तरिकामा सिकाउन सकियोस्‌ भनेर तयार पारिएका हुन्‌। उदाहरणको लागि, सिकाउँछ किताबको अध्याय १ ले यी प्रश्‍नहरूको जवाफ दिन्छ: के परमेश्‍वर साँच्चै हाम्रो ख्याल राख्नुहुन्छ अथवा उहाँ निर्दयी हुनुहुन्छ? मानिसहरूले दुःख भोग्दा परमेश्‍वरलाई कस्तो लाग्छ? के तपाईँ यहोवा परमेश्‍वरको साथी बन्‍न सक्नुहुन्छ? साथै परमेश्‍वरको प्रेम किताबले विद्यार्थीलाई बाइबलको सिद्धान्त लागू गर्दा कस्तो फाइदा हुन्छ अनि कसरी यहोवासित घनिष्ठ हुन सकिन्छ भनेर बुझ्न मदत गर्छ। तपाईँले यी किताबहरूबाट अरूलाई अध्ययन गराइसक्नुभएको होला। तैपनि विद्यार्थीको आवश्‍यकतालाई मनमा राखेर हरेक पटक राम्ररी तयारी गर्नुहोस्‌।

१० मानिलिनुहोस्‌, ती विद्यार्थीलाई अरू कुनै विषयमा बुझ्न मन लागेको छ तर त्यसबारे जानकारी दिने प्रकाशन ‘शिक्षण सामग्री’-मा छैन। त्यसोभए के गर्न सक्नुहुन्छ? तपाईँ तिनलाई त्यसबारे जानकारी दिने प्रकाशन आफै पढ्‌न प्रोत्साहन दिन सक्नुहुन्छ अनि अघिल्लो अनुच्छेदमा उल्लेख गरिएका किताबहरूमध्ये कुनै एउटाबाट अध्ययन कायम राख्न सक्नुहुन्छ।

दुई जना भाइ एक जना पाको व्यक्‍तिसित बाइबल अध्ययन गर्दै छन्‌। एक जना भाइ अध्ययन सुरु गर्नुअघि प्रार्थना गर्दै छन्‌।

अध्ययन सुरु गर्नुअघि प्रार्थना गर्नुहोस्‌ (अनुच्छेद ११ हेर्नुहोस्‌)

११. अध्ययनको सुरु र अन्तमा कहिलेदेखि प्रार्थना गर्नु बेस हो? विद्यार्थीलाई यसो गर्नुको कारणबारे बुझाउन के भन्‍न सक्छौँ?

११ अध्ययन सुरु गर्नुअघि प्रार्थना गर्नुहोस्‌। अध्ययन नियमित हुन थालेको केही हप्ताभित्रै अध्ययन सुरु गर्नुअघि र अन्तमा प्रार्थना गर्नु बेस हो। विद्यार्थीलाई परमेश्‍वरको वचनको कुरा बुझ्न पवित्र शक्‍तिको मदत नभई हुँदैन भनेर बुझाउनुपर्छ। कोही-कोही अध्ययन सञ्चालकले अध्ययनको लागि प्रार्थना गर्नुको कारणबारे बुझाउन याकुब १:५ पढ्‌छन्‌: “यदि तिमीहरूमध्ये कसैसित बुद्धिको कमी छ भने उसले परमेश्‍वरसित मागिरहोस्‌।” त्यसपछि तिनी विद्यार्थीलाई सोध्छन्‌: “हामी कसरी परमेश्‍वरसित बुद्धि माग्न सक्छौँ?” विद्यार्थीले प्रार्थना गर्नुपर्छ भनेर जवाफ दिन्छन्‌ होला।

१२. भजन १३९:२-४ चलाएर विद्यार्थीलाई यहोवासित खुलस्त कुरा गर्न कसरी मदत दिन सक्नुहुन्छ?

१२ विद्यार्थीलाई प्रार्थना गर्ने तरिका सिकाउनुहोस्‌। यहोवाले मनैदेखि गरेको प्रार्थना सुन्‍नुहुन्छ भनेर विद्यार्थीलाई बताउनुहोस्‌। हामीले यहोवालाई आफ्नो भावना व्यक्‍त गर्न सक्छौँ अनि अरूलाई भन्‍न नसक्ने कुराहरू उहाँलाई बताउन सक्छौँ भनेर विद्यार्थीलाई बुझाउनुहोस्‌। हुन पनि यहोवा हाम्रो मनभित्रको कुरा जान्‍नुहुन्छ। (भजन १३९:२-४ पढ्‌नुहोस्‌) हामी विद्यार्थीहरूलाई गलत सोचाइ र खराब आनीबानी त्याग्न परमेश्‍वरसित मदत माग्न प्रोत्साहन पनि दिन सक्छौँ। मानिलिनुहोस्‌, तपाईँसित अध्ययन गरिरहेको केही समय भइसकेको एक जना विद्यार्थीलाई ख्रिष्टियनहरूले भाग लिन नहुने कुनै खास चाड मन पर्छ। उसलाई त्यो मनाउनु गलत हो भनेर थाह छ तर त्यसको कुनै-कुनै कुरा उसलाई अझै पनि मन पर्छ। त्यस्तो अवस्थामा आफूलाई लागेको कुरा यहोवालाई तोकेरै बताउन प्रोत्साहन दिनुहोस्‌। साथै यहोवाले मन पराउने कुराहरूलाई मन पराउन मदत दिनुहोस्‌ भनेर उहाँसित बिन्ती गर्न पनि भन्‍नुहोस्‌।—भज. ९७:१०.

बाइबल विद्यार्थीलाई राज्यभवनमा लिएर आएका भाइले सभामा के-के हुन्छ भनेर बताउँदै छन्‌।

विद्यार्थीलाई सभामा उपस्थित हुन निम्तो दिनुहोस्‌ (अनुच्छेद १३ हेर्नुहोस्‌)

१३. (क) हामीले किन विद्यार्थीलाई सभामा उपस्थित हुन सकेसम्म छिटो निम्तो दिनुपर्छ? (ख) सभामा विद्यार्थीलाई कसरी सजिलो महसुस गराउन सक्छौँ?

१३ विद्यार्थीलाई सभामा उपस्थित हुन सकेसम्म छिटो निम्तो दिनुहोस्‌। सभामा सुन्‍ने र देख्ने कुराले तपाईँको विद्यार्थीको मन छुन सक्छ। राज्यभवनमा के-कस्ता कार्यक्रमहरू हुन्छन्‌? भिडियो देखाउनुहोस्‌ अनि तिनलाई तपाईँसितै सभामा उपस्थित हुन आग्रह गर्नुहोस्‌। सम्भव छ भने तिनलाई सँगै लैजानुहोस्‌। अध्ययनमा फरक-फरक भाइबहिनीलाई लैजानु बेस हो। त्यसो गर्दा विद्यार्थीले मण्डलीका विभिन्‍न भाइबहिनीलाई चिन्‍न सक्नेछन्‌ अनि तिनलाई सभामा अप्ठेरो लाग्नेछैन।

विद्यार्थीलाई प्रगति गर्न मदत गर्नुहोस्‌

१४. विद्यार्थीलाई आध्यात्मिक उन्‍नति गर्न केले जुरमुऱ्‍याउँछ?

१४ हाम्रो लक्ष्य विद्यार्थीलाई आध्यात्मिक उन्‍नति गर्न मदत गर्नु हो। (एफि. ४:१३) हामीसित बाइबल अध्ययन गर्ने विद्यार्थीले सुरु-सुरुमा आफूलाई त्यसबाट के फाइदा हुन्छ भनेर सोचिरहेका हुन सक्छन्‌। तर यहोवाप्रतिको माया बढ्‌दै जान थालेपछि तिनले मण्डलीका भाइबहिनीलगायत अरू मानिसलाई कसरी मदत गर्ने भनेर सोच्न थाल्नेछन्‌ होला। (मत्ति २२:३७-३९) उपयुक्‍त समय हेरेर तिनलाई राज्य गतिविधिलाई अघि बढाउन आर्थिक सहयोग गर्ने मौकाबारे बताउन पनि नहिचकिचाउनुहोस्‌।

एक जना भाइले आफ्नो बाइबल विद्यार्थीलाई इलेक्ट्रोनिक साधनमा अनुसन्धान गर्ने तरिका देखाउँदै छन्‌।

विद्यार्थीलाई समस्या सुल्झाउने तरिका सिकाउनुहोस्‌ (अनुच्छेद १५ हेर्नुहोस्‌)

१५. विद्यार्थीलाई समस्या सुल्झाउने तरिका कसरी सिकाउन सक्छौँ?

१५ विद्यार्थीलाई समस्या सुल्झाउने तरिका सिकाउनुहोस्‌। मानिलिनुहोस्‌, तपाईँको विद्यार्थी बप्तिस्मा नगरेका प्रकाशक हुन्‌। तिनले तपाईँलाई मण्डलीको कसैको व्यवहारले गर्दा चित्त दुखेको कुरा बताउँछन्‌। यस्तो अवस्थामा कसैको पक्ष लिनुको साटो बाइबलले यस्तो समस्या समाधान गर्न कस्तो सल्लाह दिएको छ, बताउनुहोस्‌। तिनले उक्‍त भाइ वा बहिनीलाई क्षमा दिन सक्छन्‌ तर त्यसो गर्न सक्दैनन्‌ भने तिनले उनलाई “ठीक बाटोमा फर्काउन” उनीसित दयालु र मायालु भई कुरा गर्न सक्छन्‌ भनेर बुझाउनुहोस्‌। (मत्ति १८:१५ तुलना गर्नुहोस्‌) विद्यार्थीलाई उक्‍त व्यक्‍तिसित कसरी कुरा गर्ने अनि के भन्‍ने, तयारी गर्न मदत गर्नुहोस्‌। तिनलाई JW लाइब्रेरी एप, यहोवाका साक्षीहरूको लागि अनुसन्धान सहयोगी र jw.org® मा पाइने व्यावहारिक सल्लाह खोज्न मदत गर्नुहोस्‌। यसरी विद्यार्थीलाई समस्या सुल्झाउन राम्रो तालिम दियौँ भने तिनी बप्तिस्मापछि मण्डलीमा सबैसँग मिलिजुली बस्न सक्नेछन्‌।

१६. अध्ययनमा अरू भाइबहिनीलाई लैजाँदा के फाइदा हुन्छ?

१६ मण्डलीका अरू भाइबहिनीलाई र भ्रमणमा आएका क्षेत्रीय निरीक्षकलाई अध्ययनमा लैजानुहोस्‌। किन? किनभने तपाईँले आफ्नो विद्यार्थीलाई त्यति राम्ररी मदत गर्न नसकेको क्षेत्रमा अरू प्रकाशकले मदत गर्न सक्छन्‌। मानिलिनुहोस्‌, तपाईँको विद्यार्थी धूम्रपान त्याग्न प्रयास गर्दै छन्‌ तर सफल भएका छैनन्‌। त्यस्तो बेला धेरै पटकको प्रयासपछि त्यस्तो कुलत त्याग्न सफल भएको कुनै भाइ वा बहिनीलाई अध्ययनमा लैजानुहोस्‌। तपाईँको साथीले तिनलाई व्यावहारिक सल्लाह दिन सक्छन्‌। तपाईँलाई अनुभवी भाइको अगाडि अध्ययन सञ्चालन गर्न अप्ठेरो लाग्छ भने उनलाई नै अध्ययन सञ्चालन गर्न आग्रह गर्नुहोस्‌। अरूलाई अध्ययनमा लैजाँदा उनको अनुभवबाट बाइबल विद्यार्थीले धेरै कुरा सिक्छन्‌। नबिर्सनुहोस्‌, हाम्रो मुख्य लक्ष्य विद्यार्थीलाई आध्यात्मिक उन्‍नति गर्न मदत गर्नु हो।

कस्तो अवस्थामा बाइबल विद्यार्थीसित अध्ययन गर्न छोड्‌नु बेस हो?

१७-१८. अध्ययन गर्न छोड्‌ने कि भनेर निर्णय गर्नुअघि के विचार गर्नुपर्छ?

१७ तपाईँको विद्यार्थीले प्रगति गरिरहेका छैनन्‌ भने तपाईँले आफैलाई यो प्रश्‍न सोध्नै पर्छ, ‘तिनीसित अध्ययन गरिरहने कि छोड्‌ने?’ तर निर्णय गर्नुअघि तिनको क्षमता विचार गर्नु बेस हो। कसै-कसैलाई प्रगति गर्न अरूलाई भन्दा धेरै समय लाग्न सक्छ। त्यसैले आफैलाई सोध्नुहोस्‌: ‘के मेरो विद्यार्थीले आफ्नो परिस्थितिले दिएसम्म प्रगति गर्दै छन्‌?’ ‘के तिनले सिकेको कुरा “पालन गर्न” थालेका छन्‌?’ (मत्ति २८:२०) तपाईँको विद्यार्थीले अरूले भन्दा बिस्तारै प्रगति गर्लान्‌ तर प्रगति भने गरिरहेकै हुनुपर्छ।

१८ यदि कुनै विद्यार्थीले अध्ययन गरेको केही समय बितिसक्दा पनि अध्ययनलाई महत्त्व दिएको कुनै सङ्‌केत देखिँदैन भने के गर्नुपर्छ? यो दृश्‍य कल्पना गर्नुहोस्‌: तपाईँको विद्यार्थीले सिकाउँछ किताबबाट अध्ययन सिध्याइसकेका छन्‌ अनि सायद परमेश्‍वरको प्रेम किताबबाट पनि अध्ययन गर्न थालिसकेका छन्‌ तर एक चोटि पनि सभामा उपस्थित भएका छैनन्‌, स्मरणार्थ उत्सवमा समेत। तिनले झिनामसिना कारण देखाएर अध्ययन पनि सारिरहन्छन्‌। त्यस्तो बेला तपाईँले तिनीसित खुलस्त कुरा गर्नुपर्छ।b

१९. विद्यार्थीले अध्ययनलाई त्यति महत्त्व नदिएको जस्तो लाग्दा तिनलाई के भन्‍न सक्नुहुन्छ? तपाईँले के विचार गर्नुपर्छ?

१९ तपाईँ यस्तो प्रश्‍न सोधेर कुरा सुरु गर्न सक्नुहुन्छ: ‘तपाईँलाई यहोवाको साक्षी बन्‍न बाधा पुऱ्‍याउने केही कुरा छ कि?’ सायद तिनले यस्तो जवाफ देलान्‌, ‘मलाई बाइबल अध्ययन गर्न त मन पर्छ तर म कहिल्यै यहोवाको साक्षी बन्दिनँ।’ तिनले अध्ययन गरेको निकै समय बितिसकेको भए पनि त्यसो भन्छन्‌ भने तिनीसित अध्ययन गरिरहनु आवश्‍यक नहुन सक्छ। अर्कोतर्फ, तपाईँको विद्यार्थीले आफूले प्रगति नगर्नुको पछाडि पहिला कहिल्यै नबताएको कुनै कारण बताउलान्‌। जस्तै: तिनलाई घरघर गएर प्रचार गर्न कहिल्यै सक्दिनँ जस्तो लागेको होला। अब भने तिनको भावनाको कदर गर्दै तिनलाई आवश्‍यक मदत दिन सक्नुहुन्छ।

दुई जना भाइ एक युवकसित बाइबल अध्ययन गर्दै छन्‌, जसले अध्ययनमा कुनै चासो देखाएका छैनन्‌।

प्रगति गर्न नचाहने व्यक्‍तिसित अध्ययन नगर्नुहोस्‌ (अनुच्छेद २० हेर्नुहोस्‌)

२०. प्रेषित १३:४८ लाई ध्यानमा राख्दै हामीले अध्ययन कायम राख्ने कि छोड्‌ने भनेर कसरी निर्णय गर्न सक्छौँ?

२० दुःखको कुरा, कुनै-कुनै विद्यार्थी इजकिएलको समयका इस्राएलीहरूजस्तै हुन्छन्‌। यहोवाले तिनीहरूबारे इजकिएललाई यसो भन्‍नुभयो: “हेर, तिम्रो कुरा तिनीहरूका लागि तारेबाजाको मीठो धुनमा सुरिलो स्वरले गाएको माया-प्रीतिको गीतजस्तै हुनेछ। तिनीहरूले तिम्रो कुरा सुन्‍नेछन्‌ तर तिमीले भनेझैँ गर्नेछैनन्‌।” (इज. ३३:३२) आफ्ना विद्यार्थीलाई तिनीसित अध्ययन छोड्‌दै छौँ भनेर बताउन गाह्रो लागे तापनि बताउनै पर्छ। किनभने “समय थोरै मात्र बाँकी छ।” (१ कोरि. ७:२९) त्यसैले प्रगति नगर्ने विद्यार्थीसित अध्ययन गरेर समय खेर फाल्नुभन्दा हामीले “अनन्त जीवन पाउन लायकको उचित मनसाय” भएका मानिसहरू खोज्नुपर्छ।—प्रेषित १३:४८ पढ्‌नुहोस्‌।

एउटी स्त्रीले प्रार्थना गरिरहेकै बेला दुई जना बहिनीले ढोका ढकढक्याउँछन्‌।

तपाईँको इलाकाका अरू मानिसले मदतको लागि प्रार्थना गर्दै होलान्‌ (अनुच्छेद २० हेर्नुहोस्‌)

२१. सन्‌ २०२० को वार्षिक पद के हो? यो किन सुहाउँदो छ?

२१ सन्‌ २०२० भरि हामीले चेला बनाउने काममा उन्‍नति गर्न के गर्नुपर्छ, त्यसबारे सोच्न वार्षिक पदले मदत गर्नेछ। उक्‍त पदमा येसुले गालिलको डाँडामा भेला भएका चेलाहरूलाई दिनुभएको यो महत्त्वपूर्ण आज्ञा पाइन्छ: “त्यसैले जाओ र . . . चेला बनाओ; तिनीहरूलाई . . . बप्तिस्मा गराओ।”—मत्ति २८:१९.

एक बाइबल विद्यार्थी बप्तिस्मा गर्दै छन्‌।

हामी चेला बनाउने काममा उन्‍नति गरिरहौँ र विद्यार्थीलाई बप्तिस्मासम्म पुग्न मदत गरिरहौँ (अनुच्छेद २१ हेर्नुहोस्‌)

के तपाईँले सम्झनुभएको छ?

  • विद्यार्थीहरूको मनसम्म पुग्नु किन आवश्‍यक छ अनि हामी कसरी यसो गर्न सक्छौँ?

  • हामी विद्यार्थीलाई आध्यात्मिक उन्‍नति गर्न कसरी मदत गर्न सक्छौँ?

  • बाइबल अध्ययन गर्न छोड्‌नुअघि कुन-कुन कुरा विचार गर्नुपर्छ?

गीत ७० योग्य व्यक्‍तिहरू खोजौँ!

a सन्‌ २०२० को वार्षिक पदले हामीलाई ‘चेला बनाउन’ जोड दिएको छ। यो आज्ञा यहोवाका सबै सेवकले पालन गर्नुपर्छ। हामी कसरी बाइबल विद्यार्थीहरूलाई ख्रिष्टको चेला बन्‍न जुरमुऱ्‍याउन सक्छौँ? हामी कसरी बाइबल विद्यार्थीहरूलाई यहोवासित घनिष्ठ हुन मदत गर्न सक्छौँ, त्यसबारे यस लेखमा छलफल गरिनेछ। कुनै विद्यार्थीसित बाइबल अध्ययन कायम राख्ने कि छोड्‌ने भनेर कसरी निर्णय गर्न सक्छौँ, त्यसबारे पनि बुझ्नेछौँ।

b JW ब्रोडकास्टिङमा प्रगति नगर्ने बाइबल विद्यार्थीहरूसित अध्ययन गर्न छोड्‌नुहोस्‌ भिडियो हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने