“सबै देशका मानिसहरूलाई चेला बनाओ”
“यसकारण, गएर सबै देशका मानिसहरूलाई चेला बनाओ र पिता, पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्तिस्मा देओ।” मत्ती २८:१९ मा येशूले दिनुभएको यो आज्ञालाई पवित्र धर्मशास्त्रको नयाँ विश्व अनुवाद-मा (अंग्रेजी) त्यसरी अनुवाद गरिएको छ। तथापि, उक्त अनुवादको आलोचना गरिएको छ। उदाहरणका लागि, एउटा धार्मिक समूहले निकालेको पर्ची यस्तो दाबी गर्छ: “हिब्रू पदबाट गर्न सकिने एउटै सही अनुवाद हो: ‘सबै देशका जातिहरूलाई चेला बनाओ!’ ” के यो सही हो त?
“सबै देशका जातिहरूलाई चेला बनाओ” भन्ने अनुवाद थुप्रै बाइबल अनुवादहरूमा पाइन्छ र यो हिब्रू भाषाको शाब्दिक अनुवाद हो। त्यसो भए “सबै देशका मानिसहरूलाई चेला बनाओ . . . तिनीहरूलाई बप्तिस्मा देओ” भन्ने अनुवादको आधार के छ त? यसको प्रसंग। “तिनीहरूलाई बप्तिस्मा देओ” भन्ने अभिव्यक्तिले स्पष्टतया व्यक्तिविशेषलाई औंल्याउँछ, जातिहरूलाई होइन। जर्मन शास्त्रविद् हान्स ब्रन्स यसो भन्छन्: “ ‘तिनीहरूलाई’ भन्ने [शब्दले] जातिहरूलाई नभएर (युनानी शब्दले स्पष्ट भिन्नता देखाउँछ) देशहरूका मानिसहरूलाई संकेत गर्छ।”
यसबाहेक, येशूले दिनुभएको आज्ञा कसरी व्यवहारमा उतारियो, त्यो पनि विचार गर्नुपर्छ। पावल र बर्णाबासले एसिया माइनरको डर्बी शहरमा गरेको सेवकाईबारे हामी यस्तो लेखिएको पाउछौं: “तिनीहरूले त्यस शहरमा सुसमाचार प्रचार गरेर धेरै जनतालाई चेला बनाएर तिनीहरू फेरि लिस्त्रा, आइकोनियम हुँदै एन्टिओकमा फर्के।” (प्रेरित १४:२१) ध्यान दिनुहोस्, यहाँ पावल र बर्णाबासले डर्बी शहरलाई होइन तर डर्बी शहरका केही मानिसहरूलाई चेला बनाए।
त्यसैगरि, सबै जातिहरूले होइन तर “हरेक जातिबाटको र सबै कुलको र मानिसको, र भाषा भाषाहरूको एक ठूलो भीड[ले]” परमेश्वरको सेवा गर्नेछ भनेर अन्तको समयबारे प्रकाशको पुस्तकले भविष्यवाणी गरेको छ। (प्रकाश ७:९) यसप्रकार, पवित्र धर्मशास्त्रको नयाँ विश्व अनुवाद ‘परमेश्वरबाट प्रेरणा भएको हरेक धर्मशास्त्रको’ रूपमा भरपर्दो अनुवाद साबित भएको छ।—२ तिमोथी ३:१६.