प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w96 २/१५ pp. १९-२२
  • चेला बनाउने कार्यमा कसरी आनन्द प्राप्त गर्ने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • चेला बनाउने कार्यमा कसरी आनन्द प्राप्त गर्ने
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • सम्भाव्य “भेड़ा[लाई]” चिन्‍ने
  • बाइबल अध्ययन सुरु गर्ने
  • चासोलाई यथावत्‌ राख्ने
  • यहोवाप्रति प्रेम बढाउने
  • व्यवहारिक मदत दिनुहोस्‌
  • परीक्षाहरू सहन तिनीहरूलाई बलियो बनाउनुहोस्‌
  • चेला बनाउन हामीले गरेको प्रयत्न किन खेर जाँदैन
  • बाइबल विद्यार्थीलाई बप्तिस्मासम्म पुग्न कसरी मदत गर्न सकिन्छ?—भाग १
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • मण्डलीको रूपमा बाइबल विद्यार्थीहरूलाई बप्तिस्मासम्म प्रगति गर्न मदत गरौँ!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • के तपाईँ चेला बनाउने काममा मदत गर्न सक्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • “त्यसैले जाओ र . . . चेला बनाओ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
w96 २/१५ pp. १९-२२

चेला बनाउने कार्यमा कसरी आनन्द प्राप्त गर्ने

कु नै पनि व्यक्‍तिले अनुभव गर्नसक्ने गहिरा आनन्दहरूमध्ये एक, परमेश्‍वरको सहकर्मी हुँदा प्राप्त हुने आनन्द हो। आज, धार्मिक झुकाउ भएका मानिसहरूलाई मसीही मण्डलीमा जम्मा गर्नु अनि मसीहीको हैसियतमा जीवन बिताउने र भावी नयाँ संसारका लागि छुटकारा प्राप्त गर्न प्रशिक्षण दिनु परमेश्‍वरको काममा समावेश छ।—मीका ४:१-४; मत्ती २८:१९, २०; २ पत्रुस ३:१३.

ल्याटिन अमेरिकामा सन्‌ १९८० देखि दश लाख मानिसहरू येशू ख्रीष्टका चेला भएको देख्न पाउनु त्यहाँका साक्षीहरूका निम्ति ठूलो हर्षको कुरा हो। बाइबललाई आदर तथा विश्‍वास गर्ने थुप्रै मानिसहरू भएको यस क्षेत्रमा केही पूर्ण-समय सेवकहरूले दर्जनौं मानिसलाई यहोवाप्रति आफ्नो जीवन समर्पण गर्न मदत गर्न सकेका छन्‌। अनुभवको भण्डार बोक्ने यी सेवकहरूले चेला बनाउने कार्यबाट प्राप्त हुने आनन्दबारे शायद हामीलाई पनि केही बताउन सक्लान्‌। तिनीहरूका केही सुझाउहरूले तपाईंलाई स्थानीय इलाकामा चेला बनाउँदा आनन्द प्राप्त गर्न मदत दिनसक्छ।

सम्भाव्य “भेड़ा[लाई]” चिन्‍ने

येशूले आफ्ना प्रेरित चेलाहरूलाई प्रचार गर्न पठाउनुहुँदा यसो भन्‍नुभयो, “औ जुन शहर कि गाउँमा तिमीहरू पसौला, त्यसमा ‘को योग्य छ?’ भनी सोधपूछ गर।” (मत्ती १०:११) तर मानिसहरूलाई भेट्‌न जाँदा कसलाई आध्यात्मिक तवरमा मदत गर्न सकिन्छ भनेर कसरी चिन्‍ने? पूर्ण-समय सेवकाईमा पचास बसन्त काटिसकेका एडवर्ड यसो भन्छन्‌: “तिनीहरूले सोधेका गम्भीर प्रश्‍नहरू अनि धर्मशास्त्रबाट त्यसको जवाफ पाउँदा तिनीहरूले प्रकट गर्ने सन्तुष्टिबाट त्यो थाह लगाउन सकिन्छ।” यसमा थप्दै क्यारोल यसो भन्छिन्‌: “कुनै व्यक्‍तिले आफ्नो व्यक्‍तिगत समस्या वा चिन्ता व्यक्‍त गर्दा म उसले गुहार मागिरहेको सम्झन्छु। त्यसपछि म वाच टावर सोसाइटीका प्रकाशनहरूमा मदतकारी जानकारी खोज्छु। अनि यसरी व्यक्‍तिगत चासो लिंदा प्रायः बाइबल अध्ययन सुरु भएको मैले अनुभव गरेकी छु।” यद्यपि, निष्कपट व्यक्‍तिलाई सधैं सजिलै चिन्‍न सकिंदैन। त्यसबारे लुइस यसो भन्छन्‌: “पहिले निकै चासो दिने जस्तो देखिने मानिसहरू पछि रत्तिभर चासो लिंदैनन्‌। बरु सुरु-सुरुमा विरोध गर्ला जस्तो देखिने केही व्यक्‍तिहरूले पछि बाइबलबाट वास्तविक कुरा थाह पाएपछि परिवर्तन भएको मैले देखें।” थुप्रै ल्याटिन अमेरिकीहरूले बाइबललाई आदर गर्ने हुँदा तिनी अझ यसो भन्छन्‌, “बाइबलले सिकाउने वास्तविक कुरा देखाउँदा सहर्ष स्वीकार्ने व्यक्‍तिलाई म आध्यात्मिक तवरमा मदत गर्न सकिन्छ भनेर ठान्छु।” अनि त्यस्ता “योग्य” जनहरूलाई आध्यात्मिक तवरमा प्रगति गर्न मदत गर्दा साँचो आनन्द र सन्तुष्टि प्राप्त हुन्छ। त्यसोभए तपाईं कसरी यस्ता योग्य जनहरूलाई मदत गर्न सक्नुहुन्छ?

बाइबल अध्ययन सुरु गर्ने

“विश्‍वासी र बुद्धिमान दास[द्वारा]” प्रबन्धित बाइबल अध्ययन सहायकहरू चलाउनु नै प्रायः मानिसहरूलाई बाइबल सच्चाइ सिकाउने उत्तम तरिका हो। (मत्ती २४:४५) त्यसोभए, त्यस्ता बाइबल अध्ययन सहायकहरूप्रति तपाईंले कसरी अरूको मूल्यांकन बढाउन सक्नुहुन्छ? एडवर्ड यसो भन्छन्‌: “मानिसहरूका परिस्थिति, व्यक्‍तित्व र दृष्टिकोणहरू असाध्यै फरक हुने भएकोले अध्ययन सुरु गर्दा म लचकदार हुने कोसिस गर्छु।” यद्यपि, तपाईं सबैसित त्यस्तै प्रक्रिया अपनाउन सक्नुहुन्‍न।

कहिलेकाहीं बाइबल अध्ययन पाठ्यपुस्तकबाट अध्ययन सुरु गरिहाल्नुअघि धर्मशास्त्रबाट दुइ तीन चोटि अनौपचारिक छलफल गर्नु आवश्‍यक हुनसक्छ। तथापि, एक मिसनरी दम्पती यसो भन्छन्‌: “प्रायः हामी प्रथम भेटमै अध्ययन गर्ने प्रस्ताव राख्छौं।” त्यस्तैगरि ५५ जनालाई बप्तिस्मा प्राप्त गर्न मदत गरेकी साक्षी यसो भन्छिन्‌: “म सिधै पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तकबाट कुरा गरेर बाइबल अध्ययन सुरु गर्छु।” हुन त, केही मानिसहरू पढ्‌ने भन्‍नेबित्तिकै नाक खुम्चाउँछन्‌। तर आफूलाई फाइदा हुने विषयवस्तुहरू पढ्‌न उत्सुक हुने मानिसहरू पनि हुन्छन्‌। आफ्नै घरमा, त्यो पनि सित्तै बाइबल अध्ययन गर्ने प्रस्ताव राख्दा यस्ता मानिसहरूलाई प्रायः आकर्षक लाग्छ। केही मिसनरीहरू त्यस्तो प्रस्ताव राख्दै घरधनीलाई यसो भन्छन्‌: “बाइबल अध्ययन कसरी गरिन्छ, म तपाईंलाई देखाउन चाहन्छु। मन पऱ्‍यो भने तपाईंले फेरि फेरि त्यस्तो अध्ययन गर्न सक्नुहुन्छ। मन परेन भने, तपाईंकै इच्छा।” यसरी प्रस्ताव राख्दा त्यसलाई स्वीकार्न मानिसहरू हिचकिचाउँदैनन्‌।

कम आयस्रोत तथा शिक्षा हुने थुप्रै मानिसहरूलाई मदत गर्ने अर्को साक्षी यसो भन्छन्‌: “बाइबल अध्ययन सुरु गर्ने सम्बन्धमा मैले पर्चालाई असाध्यै लाभकारी पाएको छु।” तथापि, यी सबै पूर्ण-समय शिक्षकहरूले जुनसुकै प्रकाशन प्रयोग गरे तापनि तिनीहरू मुख्यतः बाइबलमाथि जोड दिने कोसिस गर्छन्‌। कारोला यसो भन्छिन्‌: “पहिलो चोटि अध्ययन सुरु गर्दा म चित्रहरू देखाएर चार पाँचवटा शास्त्रपदहरू पढ्‌छु। त्यसो गर्दा घरधनीले मुख्य कुरा थाह पाउनुकासाथै बाइबल बुझ्नु सजिलै रहेछ भनेर देख्छन्‌।”

चासोलाई यथावत्‌ राख्ने

मानिसहरूलाई प्रगति मन पर्छ। त्यसैकारण जेनिफर यस्तो सुझाउ दिन्छिन्‌: “अध्ययनलाई जीवन्त बनाउनुहोस्‌। अध्ययनलाई प्रगतिशील ढंगमा अगाडि बढाउनुहोस्‌।” नियमित तवरमा हप्तैपिच्छे अध्ययन गर्नाले विद्यार्थीले पनि आफूले प्रगति गरिरहेको महसुस गर्छ। थोरै शिक्षा हुने व्यक्‍तिले समेत प्रगति गर्नसक्ने किसिमले बुझ्ने ढंगमा व्याख्या गर्नु अनि मुख्य बुँदाहरूमा जोड दिनु कत्तिको महत्त्वपूर्ण छ, त्यसबारे दुर्गम क्षेत्रमा हुर्केबढेका विशेष अग्रगामी यसो भन्छन्‌: “मेरो गाउँमा बीउ छरिसकेपछि पानी छर्कने चलन छ। खेतमा छ्याप्छ्याप्पी पानी हाल्यो भने माटोको सतह कडा हुन्छ। जसले गर्दा बीउले जरा गाड्‌न सक्दैन र त्यो मर्छ। त्यस्तैगरि, नयाँ जिज्ञासु व्यक्‍तिहरूलाई तपाईंले तीन थुप्रो मुख्य बुँदाहरू बताउनुभयो भने, उसलाई बुझ्न असाध्यै गाह्रो लाग्नसक्छ। फलस्वरूप उसले अध्ययन गर्नै छाड्‌छ।” जान्‍न बुझ्न खोज्ने मानिसहरूले समेत एक पटकमा एउटै विषयमा मात्र ध्यान केन्द्रित गर्न सिक्नु आवश्‍यक छ। अन्यथा तिनीहरूले प्रगतिशील ढंगमा बुझ्न सक्नेछैनन्‌। येशूले आफ्ना प्रेरितहरूलाई यसो भन्‍नुभयो: “तिमीहरूलाई भन्‍ने मसँग अझ धेरै कुरा छन्‌, तर अहिले तिमीहरू सहन सक्‍तैनौ।”—यूहन्‍ना १६:१२.

तपाईंले भेटेर गइसकेपछि पनि मानिसहरूलाई परमेश्‍वरको वचनबारे सोच्न प्रोत्साहित गर्नु चासोलाई यथावत्‌ राख्ने अर्को तरिका हो। योलान्डा यस्तो सुझाउ दिन्छिन्‌: “छलफलको अन्तमा प्रश्‍न छाडेर आउनुहोस्‌। तिनीहरूलाई बाइबलको कुनै अंश पढ्‌ने वा तिनीहरूलाई चासो लागेका विषयमा खोजखाज गर्ने जस्ता गृहकार्य दिनुहोस्‌।”

यहोवाप्रति प्रेम बढाउने

तपाईंले आफ्ना विद्यार्थीहरूलाई “आफैलाई धोका दिएर सुन्‍ने मात्र होइन” तर “वचन पालन गर्ने” व्यक्‍ति बन्‍न मदत गर्नुभयो भने तपाईंको आनन्द बढ्‌नेछ। (याकूब १:२२) तपाईंले त्यो कसरी गर्न सक्नुहुन्छ? साँचो मसीहीहरू यहोवाप्रतिको प्रेमले उत्प्रेरित हुन्छन्‌। मेक्सिकोका पेड्रो यसरी वर्णन गर्छन्‌: “अपरिचित मानिसलाई कसैले प्रेम गर्न सक्दैन। त्यसकारण, सुरुमै म तिनीहरूलाई बाइबलबाट परमेश्‍वरको नाउँ देखाउँछु। त्यसपछि मौका पाउनेबित्तिकै यहोवाका गुनहरूमाथि प्रकाश पार्छु।” कुराकानीको दौडान यहोवाप्रतिको आफ्नो भावना व्यक्‍त गरेर पनि तपाईंले विद्यार्थीको मूल्यांकन बढाउन सक्नुहुन्छ। एलिजाबेथ यसो भन्छिन्‌: “म सधैं यहोवाको भलाइबारे बताउने कोसिस गर्छु। अध्ययनको दौडान सुन्दर फूल, चरा वा चुलबुले न्याउरो देखें भने, म त्यसलाई यहोवाको कार्य हो भनेर व्याख्या गर्छु।” त्यस्तैगरि जेनिफर यस्तो सुझाउ दिन्छिन्‌: “परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको नयाँ संसारबारे पक्का विश्‍वासकासाथ बताउनुहोस्‌। नयाँ संसारमा तिनीहरू के गर्न चाहन्छन्‌, सोध्नुहोस्‌।”

यहोवाबारे सिकेका कुराहरूलाई मूल्यांकनसहित मनन गर्ने व्यक्‍तिको हृदयमा ती कुराहरू गड्‌छ र त्यसले उसलाई ठोस कदम चाल्न उत्प्रेरित गर्छ। तर सिकेका कुराहरू सम्झन सकेन भने मनन गर्ने कुरै उठ्‌दैन। अतः हरेक अध्ययनपश्‍चात्‌ तीन चारवटा मुख्य बुँदाहरूलाई संक्षेपमा दोहोऱ्‍याउनाले सिकेका कुराहरू सम्झने मदत पाइन्छ। अधिकांश बाइबल शिक्षकहरू आफ्ना विद्यार्थीहरूलाई बाइबलको अन्तिम पातामा मुख्य शास्त्रपद र टिपोट लेख्न लगाउँछन्‌। सिकेका कुराहरू दोहोऱ्‍याउँदा हुने अर्को फाइदाबारे बेलाइतकी मिसनरी यसो भन्छिन्‌: “आफूले सिकेका जानकारीहरूबाट के फाइदा भयो भनेर म तिनीहरूलाई सोध्छु। यसो गर्दा तिनीहरूले यहोवाका तौरतरिका तथा नियमहरूमाथि मूल्यांकनसहित मनन गर्ने प्रोत्साहन पाउँछन्‌।”

गिलियड तेस्रो कक्षाकी स्नातक तथा विश्‍वासी साक्षी यसो भन्छिन्‌: “हामी उत्साही हुनुपर्छ। हामी जे सिकाउँछौं, त्यसमा विश्‍वास पनि गर्छौं भनेर हाम्रा विद्यार्थीहरूले बुझ्नुपर्छ।” हो, तपाईंले आफूलाई “वचन पालन गर्ने” आनन्दित व्यक्‍ति बनाउने विश्‍वास प्रकट गर्नुभयो भने, त्यसले अरूलाई प्रभाव पार्छ।—याकूब १:२५.

थुप्रै मानिसहरूलाई यहोवाको उपासना गर्न मदत पुऱ्‍याउने एक साक्षी भन्छिन्‌, “मानिसहरूलाई आफ्ना प्रार्थनाहरूको जवाफ चिन्‍न मदत दिंदा तिनीहरूले परमेश्‍वरसित अझ घनिष्ठ महसुस गरेको मैले देखें। म तिनीहरूलाई आफ्नै अनुभव सुनाउँछु। जस्तै: म र मेरो साथीलाई नयाँ ठाउँमा अग्रगामीको सेवा गर्न खटाइँदा हामीसित केही मुठा हरिया सागपात र सानो पोका मख्खन मात्र थियो। हामीसित पाँच पैसा थिएन। आफूसित भएको खानेकुरा पनि बेलुकापख सिद्धिहाल्यो। ‘अब भोलि के खाने,’ हामी कुरा गर्दै यहोवालाई प्रार्थना पनि गऱ्‍यौं। त्यसपछि हामी सुत्यौं। भोलिपल्ट बिहान सबेरै एक जना स्थानीय साक्षी हामीकहाँ आइन्‌ र आफ्नो परिचय दिंदै यसो भनिन्‌, ‘यहाँ अग्रगामी पठाइदिऊन्‌ भनेर यहोवालाई प्रार्थना गरेकी थिएँ। अब म पनि प्रायः दिनभरि तपाईंहरूसितै प्रचारमा जान्छु। मेरो घर टाढा गाउँमा भएकोले तपाईंहरूसितै भोजन खान मैले सबैलाई पुग्ने खानेकुरा पनि ल्याएकी छु।’ तिनले पर्याप्त मासु र तरकारी ल्याएकी रहेछिन्‌। यसरी हामीले यहोवाको राज्यलाई प्रथम स्थान दियौं भने उहाँले कहिल्यै त्याग्नु हुनेछैन भनेर आफ्ना विद्यार्थीहरूलाई सधैं बताउँछु।”—मत्ती ६:३३.

व्यवहारिक मदत दिनुहोस्‌

तर ख्रीष्टका चेलाहरू बनाउन बाइबल अध्ययन गरेर मात्र पुग्दैन। निकै वर्षसम्म परिभ्रमण निरीक्षकको रूपमा सेवा गर्ने मिसनरी यसो भन्छन्‌: “तिनीहरूसित केही समय बिताउनुहोस्‌। अध्ययन सकिनेबित्तिकै जुरुक्क उठेर गई नहाल्नुहोस्‌। उपयुक्‍त छ भने, केही बेर कुरा गर्नुहोस्‌।” त्यस्तैगरि एलिजाबेथ यसो भन्छिन्‌: “तिनीहरूको जीवन मुछिएको हुनाले म तिनीहरूमा चासो लिन्छु। कति पटक त आफ्नै छोराछोरीजस्तै सम्झेर तिनीहरूको चिन्ता पनि गरेकी छु।” अरू केही साक्षीहरूले अझ यस्तो सुझाउ दिए: “तिनीहरू बिरामी हुँदा भेट्‌न जानुहोस्‌।” “क्षेत्र सेवकाईमा जाँदा विद्यार्थीको घर नजीकै पुग्नुभयो भने, अरू साक्षीहरूसित परिचय गराउन केही क्षण भेट्‌न जानुहोस्‌।” इभा यसो भन्छिन्‌: “उसको पृष्ठभूमि र परिस्थिति बुझ्न ध्यान दिएर सुन्‍नुहोस्‌। किनभने मानिसहरूले सत्यप्रति व्यक्‍त गर्ने प्रतिक्रियालाई ती कुराहरूले असर गर्छ। साथै तिनीहरूको प्रगतिमा पनि बाधा पुऱ्‍याउँछ। उनीहरूको मित्र बन्‍नुहोस्‌। त्यसो गर्दा उनीहरूले ढुक्क भएर आफ्ना समस्याहरू बताउन सक्नेछन्‌।” क्यारोल यसो भन्दै थप्छिन्‌: “ऊप्रति साँचो चासो देखाउनु अत्यावश्‍यक छ। किनभने सच्चाइले गर्दा कहिलेकाहीं उसले आफ्नो परिवार तथा मित्र गुमाउनुपर्ने हुन्छ। हामी कहाँ बस्छौं, त्यो थाह पाउनुका साथै कुनै पनि समय हामीलाई भेट्‌न आउनसक्ने भरोसा पनि उसित हुनुपर्छ।” मण्डलीलाई आफ्नो नयाँ परिवार सम्झन विद्यार्थीहरूलाई मदत गर्नुहोस्‌।—मत्ती १०:३५; मर्कूस १०:२९, ३०.

योलान्डा भन्छिन्‌, “आवश्‍यक पर्नेबित्तिकै व्यवहारिक मदत दिइहाल्नुहोस्‌। सभाहरूमा तिनीहरूसँगै बस्नुहोस्‌ र तिनीहरूका बालबच्चाहरूको हेरचाह गर्न मदत दिनुहोस्‌।” छोराछोरीलाई प्रशिक्षण दिने, अझ सफासुग्घर हुने, सभाहरूका लागि टिप्पणी तयार गर्ने अनि ईश्‍वरतान्त्रिक सेवकाई पाठशालाका लागि भाषणहरू बनाउने जस्ता कुराहरू सिकाउनु पनि चेला बनाउने कार्यको भाग हो। अर्की बहिनी यसो भन्दै थप्छिन्‌: “नयाँ व्यक्‍तिहरूलाई सेवकाईका लागि तयार पार्नु अत्यावश्‍यक छ। यसलाई ध्यान नदिंदा केही व्यक्‍तिहरू प्रचार गर्न डराउँछन्‌ र आनन्दित भएर यहोवाको सेवा गर्न सक्दैनन्‌। साथै परीक्षाहरू आइपर्दा सहन सक्दैनन्‌।” अतः आफ्ना विद्यार्थीहरूलाई घर-घरमा प्रचार गर्न, पुनःभेटहरू गर्न र बाइबल अध्ययनहरू सुरु गर्न होशियारीपूर्वक प्रशिक्षण दिनुहोस्‌। यसरी तपाईंको मदत र निर्देशन पाएर आफ्नो विद्यार्थीले प्रगति गर्दा तपाईंलाई असाध्यै आनन्द लाग्नेछ।

परीक्षाहरू सहन तिनीहरूलाई बलियो बनाउनुहोस्‌

चेला बनाउने काममा अनुभवी भइसकेकी एउटी साक्षी भन्छिन्‌, “विद्यार्थीले बप्तिस्मा लिइसकेपछि अध्ययनलाई हेलचक्राइँ गर्ने झुकाउ हामीमा हुनसक्छ।” अतः शिक्षक तथा विद्यार्थी दुवैले के कुरा बिर्सनुहुन्‍न भने, बप्तिस्मा लिनेबित्तिकै कोही पनि आध्यात्मिक तवरमा परिपक्व भइहाल्दैन। आफ्नो विश्‍वास, परमेश्‍वरको नियमप्रतिको मूल्यांकन अनि यहोवाप्रतिको प्रेमलाई बढाउन उसले अझ धेरै प्रगति गर्नुपर्छ। अतः भर्खरै बप्तिस्मा लिने व्यक्‍तिलाई व्यक्‍तिगत अध्ययन गर्ने असल बानी बसाल्न प्रोत्साहित गर्नु अति नै महत्त्वपूर्ण छ। किनभने तब मात्र उसले प्रगति गरिरहन सक्नेछ।—१ तिमोथी ४:१५.

नयाँ व्यक्‍तिलाई प्रगति गर्न र भाइहरूबीच मिलनसार बन्‍न मदत चाहिएको हुनसक्छ। भाइहरूसित घनिष्ठ हुँदा उसले तिनीहरूको असिद्धताहरू देख्नसक्छ। त्यसको सामना गर्न पनि उसलाई डोऱ्‍याइ चाहिएला। (मत्ती १८:१५-३५) उसलाई दक्ष शिक्षक बन्‍न र आफ्नै भरमा अनुसन्धानहरू गर्न मदत चाहिनसक्छ। यस सम्बन्धमा एक जना मिसनरी साक्षी आफ्नो अनुभव यसरी बताउँछिन्‌: “बप्तिस्मापश्‍चात्‌ मेरो एक जना विद्यार्थी कुशल शिक्षक बन्‍न चाहन्थिन्‌। अतः मकहाँ आएर तिनले यसो भनिन्‌, ‘अर्को हप्ता मेरो नयाँ अध्ययन सुरु हुन लागेको छ। त्यसैले सुरु-सुरुमा सिकेका अध्यायहरू म फेरि दोहोऱ्‍याउन चाहन्छु। के तपाईं मसित ती अध्यायहरू फेरि पढ्‌न सक्नुहुन्छ? कृपया, एक एकवटा अध्याय गरेर मलाई बताउनुहोस्‌। किनभने तपाईंले शास्त्रपद तथा चित्रहरूको व्याख्या गर्नुहुँदा त्यसको टिपोट लिएर पछि म अध्ययनमा चलाउन चाहन्छु।’ तिनी असल शिक्षिका भइन्‌ र एउटा सम्मेलनमा तिनका चार जना विद्यार्थीहरूले बप्तिस्मा लिए।”

चेला बनाउन हामीले गरेको प्रयत्न किन खेर जाँदैन

पामेला भन्छिन्‌, “चेला बनाउनुको अर्थ यहोवाका अझ धेरै प्रशंसकहरू बनाउनु हो। सच्चाइ स्वीकार्नेहरूका निम्ति त्यो जीवन हो। अरूलाई सच्चाइ सिकाउन मलाई असाध्यै मन पर्छ। मलाई यो अति नै रमाइलो लाग्छ। किनभने तपाईं आफ्ना विद्यार्थीहरूले जीवनमा परिवर्तनहरू गरेर अनि यहोवाको आत्माद्वारा मात्र उछिन्‍न सकिने बाधाहरू पार तरेर बिस्तारै प्रगति गरेको देख्नुहुन्छ। अनि यहोवालाई प्रेम गर्न सिक्ने कतिपय विद्यार्थीहरू मेरा घनिष्ठ मित्रहरू भएका छन्‌।”

जर्मनीका एक जना मिसनरी यसो भन्छिन्‌, “मैले चेला बन्‍न मदत गरेका मानिसहरूमध्ये केही त असाध्यै डरछेरुवा थिए। तर तिनीहरूले परमेश्‍वरको सेवक बन्‍न यति धेरै प्रगति गरे, मलाई विश्‍वास गर्नै गाह्रो लाग्छ। यहोवाको मदत पाएर कतिपयले ठूल-ठूला बाधाहरू पार तरेको मैले देखेकी छु। टुक्रिएको परिवार फेरि एकताबद्ध भएर छोराछोरीहरू आनन्दित भएको अनि आमाबाबुहरूले पनि आफ्नो जिम्मेवारी पूरा गरेको देखेकी छु। मानिसहरूले यहोवाको प्रशंसा गर्दै अर्थपूर्ण जीवन बिताएको पनि देखेकी छु। चेला बनाउँदा प्राप्त हुने आनन्द नै यही हो।”

हो, चेला बनाउने काममा यहोवा परमेश्‍वरको सहकर्मी हुन पाउनु अतुलनीय आनन्दको स्रोत हो। मिसनरी तथा अग्रगामीहरूका अनुभवले त्यसलाई प्रमाणित गरेको छ। तपाईंले पनि यहाँ दिइएका सुझाउहरू पालन गरेर तनमनले काम गर्नुभयो भने त्यस्तै आनन्द र सन्तुष्टि पाउन सक्नुहुन्छ। अनि यहोवाको आशिष्‌ले तपाईंको आनन्द भरपूर हुनेछ।—हितोपदेश १०:२२; १ कोरिन्थी १५:५८.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने