प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • “जे-जे मैले तिमीहरूलाई आज्ञा गरें, तिनीहरूलाई ती सबै गर्नलाई सिकाओ”
    प्रहरीधरहरा—२००४ | जुलाई १
    • “जे-जे मैले तिमीहरूलाई आज्ञा गरें, तिनीहरूलाई ती सबै गर्नलाई सिकाओ”

      “यसकारण गएर . . . चेला बनाओ, र . . . जे-जे मैले तिमीहरूलाई आज्ञा गरें, तिनीहरूलाई ती सबै गर्नलाई सिकाओ।”—मत्ती २८:१९, २०.

      १. चेला फिलिप र इथियोपियाका मानिसबीच कस्तो वार्तालाप भएको थियो?

      इथियोपियाका एक जना मानिसले यरूशलेमसम्मको यात्रा गरेका थिए। त्यहाँ तिनले आफूले प्रेम गरेको परमेश्‍वर, यहोवाको उपासना गरे। निस्सन्देह, तिनी परमेश्‍वरको प्रेरित वचनलाई पनि प्रेम गर्थे। आफ्नो रथमा चढेर घर फर्कंदै गर्दा, ख्रीष्टका एक जना चेला फिलिपले तिनलाई भेट्‌दा तिनी यशैया अगमवक्‍ताका लेखोटहरूको एउटा प्रति पढिरहेका थिए। फिलिपले ती इथियोपियालीलाई यस्तो प्रश्‍न सोधे: “के तपाईंले पढ़िरहनुभएको कुरा बुझ्नुहुन्छ?” ती व्यक्‍तिको जवाफ यस्तो थियो: “कसैले नबताईकन म कसरी बुझौंला र?” धर्मशास्त्रका यी लगनशील विद्यार्थीलाई ख्रीष्टको चेला बन्‍ने मदत दिन फिलिप अघि सरे।—प्रेरित ८:२६-३९.

      २. (क) इथियोपियालीले दिएको जवाफ कुन तरिकामा अर्थपूर्ण थियो? (ख) चेला बनाओ भनी येशूले दिनुभएको आज्ञासित सम्बन्धित कुन-कुन प्रश्‍नहरूबारे हामी विचार गर्नेछौं?

      २ ती इथियोपियालीको जवाफ अर्थपूर्ण छ। तिनले यसो भने: ‘कसैले नबताईकन म कसरी बुझ्न सक्छु र?’ हो, तिनले पढिरहेको कुरा बुझाउने अर्थात्‌ तिनलाई डोऱ्‍याउने व्यक्‍तिको खाँचो थियो। यस भनाइ स्वयम्‌ले पनि चेला बनाओ भनी येशूले दिनुभएको आज्ञामा समावेश भएको एउटा खास निर्देशनको महत्त्व स्पष्ट पार्छ। कस्तो निर्देशन? यसको जवाफ पाउनको लागि मत्ती २८ अध्यायमा पाइने येशूका शब्दहरूबारे अझै विचार गरौं। अघिल्लो लेखले किन? र कहाँ? भन्‍ने प्रश्‍नमा ध्यान खिच्यो। अब हामी चेला बनाओ भनी येशूले दिनुभएको आज्ञासित सम्बन्धित अरू दुई प्रश्‍नहरू अर्थात्‌ के? र कहिलेसम्म? भन्‍ने प्रश्‍नहरूबारे विचार गर्नेछौं।

      “तिनीहरूलाई ती सबै गर्नलाई सिकाओ”

      ३. (क) कुनै व्यक्‍ति कसरी येशू ख्रीष्टको चेला बन्छ? (ख) चेला बनाउनुमा कुन कुरा सिकाउनु समावेश छ?

      ३ अरूलाई ख्रीष्टको चेला बन्‍ने मदत दिन हामीले के सिकाउनै पर्छ? येशूले आफ्ना अनुयायीहरूलाई यस्तो आज्ञा दिनुभयो: “यसकारण गएर सबै देशका जातिहरूलाई चेला बनाओ, र पिता, पुत्र र पवित्र आत्माको नाउँमा बप्तिस्मा देओ। जे-जे मैले तिमीहरूलाई आज्ञा गरें, तिनीहरूलाई ती सबै गर्नलाई सिकाओ।” (मत्ती २८:१९, २०) त्यसैकारण ख्रीष्टले आज्ञा गर्नुभएका कुराहरू हामीले सिकाउनै पर्छ।a यद्यपि, येशूका आज्ञाहरू सिकाइएका व्यक्‍तिहरू चेला बन्‍ने मात्र नभई चेलाको रूपमा रहिरहन्छन्‌ भनेर कसरी पक्का गर्न सकिन्छ? एउटा मुख्य कुरा त येशूले होसियारसाथ गर्नुभएको शब्द छनोटमा देख्न सकिन्छ। याद गर्नुहोस्‌, उहाँले यसो भन्‍नुभएन: ‘जे-जे मैले तिमीहरूलाई आज्ञा गरें, तिनीहरूलाई ती सबै सिकाओ।’ तर उहाँले यसो भन्‍नुभयो: “जे-जे मैले तिमीहरूलाई आज्ञा गरें, तिनीहरूलाई ती सबै गर्नलाई सिकाओ।” (मत्ती १९:१७, छड्‌के अक्षर हाम्रो) यसको अर्थ के हो?

      ४. (क) कुनै आज्ञा पालन गर्नुको अर्थ के हो? (ख) कुनै व्यक्‍तिलाई ख्रीष्टका आज्ञाहरू पालन गर्न हामी कसरी सिकाउँछौं, उदाहरण दिनुहोस्‌।

      ४ कुनै आज्ञा पालन गर्नुको अर्थ त्यस आज्ञा “अनुरूप काम गर्नु” अर्थात्‌ त्यो मान्‍नु वा अनुसरण गर्नु हो। त्यसोभए, कुनै व्यक्‍तिलाई ख्रीष्टले आज्ञा गर्नुभएका कुराहरू पालन गर्न वा त्यो मान्‍न हामी कसरी सिकाउँछौं? गाडी चलाउन सिकाउने प्रशिक्षकले आफ्ना विद्यार्थीहरूलाई ट्राफिक नियमहरू पालन गर्न कसरी सिकाउँछन्‌, विचार गर्नुहोस्‌। ती प्रशिक्षकले सडकमा पालन गर्नुपर्ने नियमहरूबारे आफ्ना विद्यार्थीहरूलाई कक्षा कोठामै बसेर सिकाउन सक्छन्‌। तथापि, ती नियमहरू कसरी पालन गर्ने भनेर सिकाउने हो भने चाहिं विद्यार्थीहरूले सडकमा गाडी चलाएर आफूले सिकेका कुराहरू लागू गर्ने कोसिस गर्दा तिनीहरूलाई डोऱ्‍याइ प्रदान गर्नुपर्ने हुन्छ। त्यसै गरी, मानिसहरूसित बाइबल अध्ययन गर्दा हामी तिनीहरूलाई ख्रीष्टका आज्ञाहरू सिकाउँछौं। तथापि, ती विद्यार्थीहरूले ख्रीष्टका निर्देशनहरू आफ्नो दैनिक जीवन तथा सेवकाईमा लागू गर्ने कोसिस गर्दा हामीले पनि तिनीहरूलाई डोऱ्‍याउनुपर्छ। (यूहन्‍ना १४:१५; १ यूहन्‍ना २:३) त्यसैले चेला बनाओ भनी ख्रीष्टले दिनुभएको आज्ञा पूर्णतया पालन गर्न हामी शिक्षक र डोऱ्‍याउने व्यक्‍ति दुवै हुन आवश्‍यक छ। यसरी हामी येशू र यहोवा स्वयम्‌ले बसाल्नुभएको उदाहरण अनुकरण गर्छौं।—भजन ४८:१४; प्रकाश ७:१७.

      ५. चेला बनाओ भनी येशूले दिनुभएको आज्ञा पालन गर्न हामीले बाइबल अध्ययन गर्ने व्यक्‍ति किन हिचकिचाउन सक्छन्‌?

      ५ अरूलाई येशूका आज्ञाहरू पालन गर्न सिकाउनुमा चेला बनाउने आज्ञा पालन गर्न तिनीहरूलाई मदत दिनु पनि समावेश छ। हामीले बाइबल अध्ययन गर्नेहरूमध्ये कतिपयलाई यो काम साह्रै गाह्रो लाग्न सक्छ। पहिला तिनीहरू मसीहीजगत्‌को कुनै चर्चका सक्रिय सदस्यहरू भए तापनि सम्भवतः तिनीहरूका भूतपूर्व धार्मिक गुरूहरूले चेला बनाउन तिनीहरूलाई कहिल्यै नसिकाएका हुन सक्छन्‌। आफ्नो बगाललाई प्रचार गर्न सिकाउने सन्दर्भमा मसीहीजगत्‌का चर्चहरू पूर्णतया विफल छन्‌ भन्‍ने कुरा चर्चका केही नेताहरू खुल्लमखुल्ला स्वीकार्छन्‌। संसारमा गएर सबै खालका व्यक्‍तिहरूलाई चेला बन्‍न मदत दिने येशूको आज्ञाबारे टिप्पणी गर्दै बाइबलविद्‌ जोन आर. डब्लु. स्टाटले यसो भने: “हामीले यो आज्ञाको आशय पालन गर्न नसक्नु आज प्रचारकार्यको क्षेत्रमा हामी इभान्जेलिकल मसीहीहरूको ठूलो कमजोरी हो।” तिनले अझै यसो भने: “हामी टाढैबाट हाम्रो सन्देश घोषणा गर्ने प्रयास गर्छौं। कहिलेकाहीं हामी पानीमा डुब्न लागेको व्यक्‍तिलाई समुद्र किनाराको सुरक्षित स्थानमा बसेर यसो गर र उसो गर भनेर मात्र कराउने व्यक्‍तिजस्तो देखिन्छौं। तिनीहरूलाई बचाउन हामी पानीमा हाम फाल्दैनौं। हामी पानीमा भिज्नदेखि डराउँछौं।”

      ६. (क) बाइबल विद्यार्थीलाई मदत गर्दा हामी कसरी फिलिपको उदाहरण अनुकरण गर्न सक्छौं? (ख) बाइबल विद्यार्थीले प्रचारकार्यमा भाग लिन थाल्दा हामी कसरी आफ्नो चासो देखाउन सक्छौं?

      ६ हामीले बाइबल अध्ययन गर्ने व्यक्‍ति पहिले ‘पानीमा भिज्नदेखि डराउने’ सदस्यहरू भएको धर्ममा सहभागी थिए भने पानीप्रति आफ्नो डर हटाएर चेला बनाओ भनी येशूले दिनुभएको आज्ञा पालन गर्नु तिनको लागि एउटा चुनौती हुन सक्छ। तिनलाई मदतको खाँचो पर्नेछ। त्यसैले, फिलिपको शिक्षाले इथियोपियालीको ज्ञान बढाएर तिनलाई बप्तिस्मा लिन उत्प्रेरित गरेजस्तै हाम्रो बाइबल विद्यार्थीको समझ बढाएर तिनलाई काम गर्न उत्प्रेरित गर्ने निर्देशन तथा डोऱ्‍याइ दिंदा हामी धीरजी हुनु आवश्‍यक छ। (यूहन्‍ना १६:१३; प्रेरित ८:३५-३८) साथै, चेला बनाउनेबारे दिइएको आज्ञा पालन गर्न बाइबल विद्यार्थीहरूलाई सिकाउने हाम्रो चाहना भएकोले तिनीहरूले राज्य प्रचारकार्यमा पहिलो कदम चाल्दा तिनीहरूलाई डोऱ्‍याउनको निम्ति तिनीहरूसितै काम गर्न हामी उत्प्रेरित हुन्छौं।—उपदेशक ४:९, १०; लूका ६:४०.

      “सबै गर्नलाई”

      ७. अरूलाई “सबै गर्नलाई” सिकाउने काममा तिनीहरूलाई कुन-कुन आज्ञाहरू सिकाउनु समावेश छ?

      ७ हाम्रो काम नयाँ चेलाहरूलाई अरू चेलाहरू बनाउन सिकाउनु मात्र होइन। येशूले आज्ञा गर्नुभएका “सबै गर्नलाई” अरूलाई सिकाउने निर्देशन उहाँले हामीलाई दिनुभयो। त्यसमा पक्कै पनि सबैभन्दा प्रमुख दुइटा आज्ञा—परमेश्‍वेरलाई प्रेम गर्नु र छिमेकीलाई प्रेम गर्नु समावेश छन्‌। (मत्ती २२:३७-३९) यी आज्ञाहरू पालन गर्न नयाँ चेलालाई कसरी सिकाउन सकिन्छ?

      ८. प्रेम देखाउनेबारे दिइएको आज्ञा नयाँ चेलालाई कसरी सिकाउन सकिन्छ, उदाहरण दिनुहोस्‌।

      ८ गाडी चलाउन सिक्ने विद्यार्थीको उदाहरण फेरि विचार गर्नुहोस्‌। आफ्नो प्रशिक्षकलाई सँगै राखेर गाडी हाँक्दा, प्रशिक्षकले भनेको कुरा सुनेर मात्र नभई अरू चालकहरूलाई हेरेर पनि विद्यार्थीले सिकिरहेका हुन्छन्‌। उदाहरणका लागि, अरूलाई बाटो छोडिदिने, अगाडिबाट आउँदै गरेको गाडी चालकको आँखा नतिरमिराओस्‌ भनेर आफ्नो गाडीको हेडलाइट मधुरो पार्ने, गाडी बिग्रिएर आपत्‌मा परेकाहरूलाई मदत गर्ने चालकहरूतर्फ प्रशिक्षकले विद्यार्थीको ध्यान खिच्न सक्छन्‌। यस्ता उदाहरणहरूले विद्यार्थीलाई गाडी हाँक्दा तिनले लागू गर्न सक्ने अमूल्य पाठहरू सिकाउँछ। त्यसै गरी, जीवनको बाटोमा यात्रा गर्ने नयाँ चेलाले आफ्नो शिक्षकबाट मात्र नभई मण्डलीमा देख्ने असल उदाहरणहरूबाट पनि सिक्छन्‌।—मत्ती ७:१३, १४.

      ९. प्रेम देखाउनेबारे दिइएको आज्ञा पालन गर्नुको अर्थ के हो भन्‍ने कुरा नयाँ चेलाले कसरी सिक्छन्‌?

      ९ उदाहरणका लागि, आफ्ना साना छोराछोरीलाई पछि-पछि लगाएर राज्यभवन आउन कडा प्रयत्न गर्ने एक्लो आमा वा बाबुलाई बाइबल विद्यार्थीले देख्न सक्छन्‌। तिनले निरुत्साहसित लड्‌दै भने पनि नछुटाई सभाहरूमा आउने निराश व्यक्‍ति, अरू वृद्धहरूलाई मण्डलीका हरेक सभाहरूमा उपस्थित हुन मदत गर्ने पाको उमेरका विधवा अनि राज्यभवनको सरसफाइमा भाग लिने किशोर-किशोरी देख्न सक्छन्‌। मण्डलीमा कुनै प्राचीनको तीन थुप्रो जिम्मेवारीहरू भए तापनि तिनले अटुट रूपमा क्षेत्र सेवामा नेतृत्व लिएको यी बाइबल विद्यार्थीले याद गर्न सक्छन्‌। अशक्‍त वा घरमै कोचिएर बस्नुपरे तापनि उनलाई भेट्‌न आउनेहरूको लागि आध्यात्मिक प्रोत्साहनको स्रोत बन्‍ने साक्षीलाई तिनले भेट्‌न सक्छन्‌। उमेर ढल्कँदै गरेका आफ्ना आमाबाबुको हेरविचार गर्न आफ्नो जीवनमा आमूल छाँटकाँट गरिरहेका दम्पतीलाई तिनले देख्न सक्छन्‌। यस्ता दयालु, मदतकारी र भरपर्दा मसीहीहरूलाई हेरेर नयाँ चेलाले परमेश्‍वर र छिमेकीलाई, त्यसमा पनि विशेष गरी सँगी विश्‍वासीहरूलाई प्रेम गर्नेबारे येशूले दिनुभएको आज्ञाको अर्थ के हो भन्‍ने कुरा उदाहरणद्वारा सिक्छन्‌। (हितोपदेश २४:३२; यूहन्‍ना १३:३५; गलाती ६:१०; १ तिमोथी ५:४, ८; १ पत्रुस ५:२, ३) यसरी मसीही मण्डलीका हरेक सदस्य शिक्षक तथा डोऱ्‍याउने व्यक्‍ति हुन सक्छन्‌ र हुनुपर्ने पनि यस्तै हो।—मत्ती ५:१६.

      “यस रीतिरिवाजको अन्तसम्म”

      १०. (क) हामी कहिलेसम्म चेला बनाइरहनेछौं? (ख) जिम्मेवारीहरू पूरा गर्ने सन्दर्भमा येशूले कस्तो उदाहरण बसाल्नुभयो?

      १० हामीले कहिलेसम्म चेला बनाइरहनुपर्छ? यस रीतिरिवाजको अन्तसम्मै। (मत्ती २८:२०, NW ) के हामी येशूको आज्ञाको यस पक्षलाई पूरा गर्न सक्षम हुनेछौं? एउटा विश्‍वव्यापी मण्डलीको रूपमा हामी यसो गर्न कटिबद्ध छौं। “अनन्त जीवनका लागि नियुक्‍त भएकाहरू[लाई]” खोज्नको लागि हामीले वर्षौंदेखि हाम्रो समय, शक्‍ति र स्रोत-साधनहरू खुसीसाथ दिएका छौं। (प्रेरित १३:४८) आज विश्‍वभरका यहोवाका साक्षीहरूले राज्य प्रचार तथा चेला बनाउने काममा हरेक दिन औसत ३० लाख घण्टाभन्दा बढी समय बिताउँछन्‌। येशूको उदाहरण पछ्याउने भएकोले हामी यसो गर्छौं। उहाँले यसो भन्‍नुभयो: “मलाई पठाउनेको इच्छा पूरा गर्नु, र उहाँको काम पूरा गर्नुनै मेरो भोजन हो।” (यूहन्‍ना ४:३४, छड्‌के अक्षर हाम्रो) हाम्रो हृदयदेखिको इच्छा पनि यही नै हो। (यूहन्‍ना २०:२१) हामी आफूलाई सुम्पिएको काम सुरु गर्ने मात्र नभई पूरा पनि गर्न चाहन्छौं।—मत्ती २४:१३; यूहन्‍ना १७:४.

      ११. हाम्रा केही मसीही भाइबहिनीहरूलाई के भएको छ र हामीले आफूलाई कस्तो प्रश्‍न सोध्नुपर्छ?

      ११ तथापि, हाम्रा केही सँगी विश्‍वासीहरू आध्यात्मिक तवरमा कमजोर भएर चेला बनाओ भनी येशूले दिनुभएको आज्ञा पूरा गर्न सेलाएका वा त्यसो गर्न छोडेको देख्दा हामीलाई दुःख लाग्छ। तिनीहरूलाई फेरि मण्डलीसित संगत गर्न र चेला बनाउने काममा भाग लिन उत्प्रेरित गर्न के हामी कुनै तरिकामा मदत दिन सक्छौं? (रोमी १५:१; हिब्रू १२:१२) येशूका चेलाहरू केही समयको लागि कमजोर अवस्थामा हुँदा उहाँले तिनीहरूलाई मदत दिनुभएको तरिकाले आज हामी के गर्न सक्छौं भनी सङ्‌केत गर्छ।

      चासो देखाउनुहोस्‌

      १२. (क) येशूको मृत्यु हुनुअघि प्रेरितहरूले के गरे? (ख) येशूका प्रेरितहरूले गम्भीर खालका कमजोरीहरू देखाए तापनि उहाँले तिनीहरूसित कस्तो व्यवहार गर्नुभयो?

      १२ येशूको पार्थिव सेवकाईको अन्ततिर उहाँको मृत्यु नजिकै आइपुग्दा प्रेरितहरू “उहाँलाई त्यागेर भागे।” येशूले अगमवाणी गर्नुभएझैं तिनीहरू “हरेक आफ्ना आफ्नै ठाउँमा तितर-बितर” भए। (मर्कूस १४:५०; यूहन्‍ना १६:३२) आध्यात्मिक तवरमा कमजोर आफ्ना साथीहरूसित येशूले कस्तो व्यवहार गर्नुभयो? आफ्नो पुनरुत्थान भएको केही समयपछि येशूले आफ्ना केही अनुयायीहरूलाई यसो भन्‍नुभयो: “नडराओ, जाओ, मेरा भाइहरूलाई गालीलमा जानालाई भनिदेओ, र त्यहाँ तिनीहरूले मलाई देख्नेछन्‌।” (मत्ती २८:१०) प्रेरितहरूले गम्भीर खालका कमजोरीहरू देखाए तापनि येशूले अझै तिनीहरूलाई “मेरा भाइहरू” भन्‍नुभयो। (मत्ती १२:४९) उहाँले तिनीहरूदेखि हरेस खानुभएको थिएन। यहोवा अनुग्रही र क्षमाशील हुनुभएजस्तै येशू पनि अनुग्रही र क्षमाशील हुनुहुन्थ्यो। (२ राजा १३:२३) हामी कसरी येशूको अनुकरण गर्न सक्छौं?

      १३. आध्यात्मिक तवरमा कमजोर भएकाहरूलाई हामीले कुन दृष्टिकोणले हेर्नुपर्छ?

      १३ सेवकाईमा भाग लिन छोडेका वा सेलाएका व्यक्‍तिहरूतर्फ हामीले गहिरो चासो देखाउनुपर्छ। ती सँगी विश्‍वासीहरूले बितेको समयमा गरेका प्रेमका कार्यहरू हामीले बिर्सेका छैनौं; तिनीहरूमध्ये कतिपयले त दशकौंसम्म यस्ता कार्यहरू गरे होलान्‌। (हिब्रू ६:१०) हामीलाई साँच्चै तिनीहरूसितको संगतिको अभाव महसुस हुन्छ। (लूका १५:४-७; १ थिस्सलोनिकी २:१७) यद्यपि, हामी तिनीहरूप्रति आफ्नो चासो कसरी व्यक्‍त गर्न सक्छौं?

      १४. येशूको अनुकरण गर्दै, कमजोर व्यक्‍तिलाई हामी कसरी मदत दिन सक्छौं?

      १४ निराश भएका प्रेरितहरूलाई येशूले गालीलमा जान भन्‍नुभयो र त्यहाँ तिनीहरूले उहाँलाई देख्ने थिए। यसरी उहाँले वास्तवमा तिनीहरूलाई एउटा विशेष सभामा उपस्थित हुने निम्तो दिनुभयो। (मत्ती २८:१०) त्यसै गरी आध्यात्मिक तवरमा कमजोरहरूलाई आज हामी सभाहरूमा उपस्थित हुन प्रोत्साहन दिन्छौं र त्यसको लागि एक चोटि मात्र नभई धेरै चोटि प्रोत्साहन दिनुपर्ने हुन सक्छ। प्रेरितहरूको सन्दर्भमा उक्‍त निम्तोले फल फलायो किनभने “एघारै चेलाहरू गालीलमा येशूले तिनीहरूलाई खटाउनुभएको डाँड़ामा गए।” (मत्ती २८:१६) त्यसै गरी हामीले दिएको न्यानो निम्तो स्वीकारेर कमजोर व्यक्‍तिहरू फेरि मसीही सभाहरूमा उपस्थित हुन थाल्दा हामी अपार आनन्द महसुस गर्छौं!—लूका १५:६.

      १५. हाम्रो सभा हुने ठाउँमा आउने कमजोर व्यक्‍तिहरूलाई स्वागत गर्ने सन्दर्भमा हामी कसरी येशूको उदाहरण पछ्याउन सक्छौं?

      १५ कुनै कमजोर मसीही राज्यभवनमा आउँदा हामी कस्तो प्रतिक्रिया देखाउनेछौं? केही समयको लागि विश्‍वास कमजोर भएका आफ्ना चेलाहरू उहाँले तिनीहरूलाई खटाउनुभएको ठाउँमा पुग्दा तिनीहरूलाई देखेपछि येशूले के गर्नुभयो? “तिनीहरूकहाँ आएर येशू तिनीहरूसित . . . बोल्नुभयो।” (मत्ती २८:१८) उहाँले टाढै बसेर तिनीहरूलाई क्वारक्वारती हेरिरहनुभएन तर तिनीहरूकहाँ जानुभयो। येशू आफै अघि सर्दा प्रेरितहरूले कस्तो ढुक्क महसुस गरेको हुनुपर्छ, कल्पना गर्नुहोस्‌ त! हामी पनि मसीही मण्डलीमा फर्कन प्रयास गर्ने आध्यात्मिक तवरमा कमजोर व्यक्‍तिहरूलाई आफै अघि सरेर न्यानो स्वागत गरौं।

      १६. (क) येशूले आफ्ना अनुयायीहरूसित व्यवहार गर्नुभएको तरिकाबाट हामी के सिक्न सक्छौं? (ख) कमजोरहरूप्रति हामी कसरी येशूको दृष्टिकोण झल्काउन सक्छौं? (पादटिप्पणी हेर्नुहोस्‌।)

      १६ येशूले अरू के-के गर्नुभयो? पहिलो, उहाँले यस्तो घोषणा गर्नुभयो: “सारा अधिकार मलाई दिइएको छ।” दोस्रो, उहाँले एउटा जिम्मेवारी दिनुभयो: “यसकारण गएर . . . चेला बनाओ।” तेस्रो, उहाँले एउटा प्रतिज्ञा गर्नुभयो: “म सब दिन . . . तिमीहरूका साथमा छँदैछु।” तर येशूले के चाहिं गर्नुभएन, के तपाईंले याद गर्नुभयो? चेलाहरू चुकेका वा तिनीहरूले शङ्‌का गरेको कारण उहाँले तिनीहरूलाई हप्काउनुभएन। (मत्ती २८:१७) के उहाँको तरिका प्रभावकारी थियो त? अवश्‍य, थियो। चाँडै नै चेलाहरूले फेरि “शिक्षा दिन र . . . सुसमाचार सुनाउन” थाले। (प्रेरित ५:४२) कमजोरहरूलाई कुन दृष्टिकोणले हेर्ने र तिनीहरूसित कस्तो व्यवहार गर्ने भन्‍ने सन्दर्भमा येशूको उदाहरण पछ्याउँदा हाम्रो स्थानीय मण्डलीमा पनि हामी यस्तै खालका हृदयस्पर्शी नतिजाहरू देख्ने आशा गर्न सक्छौं।b—प्रेरित २०:३५.

      “म सब दिन . . . तिमीहरूका साथमा छँदैछु”

      १७, १८. “म सब दिन . . . तिमीहरूका साथमा छँदैछु” भन्‍ने येशूका शब्दहरूमा बल प्रदान गर्ने कस्ता विचारहरू छन्‌?

      १७ “म सब दिन . . . तिमीहरूका साथमा छँदैछु” भन्‍ने येशूको आज्ञाका अन्तिम शब्दहरूले चेला बनाओ भनी येशूले दिनुभएको आज्ञा पूरा गर्न कोसिस गर्नेहरू सबैलाई बल प्रदान गर्छ। शत्रुहरूले हाम्रो राज्य प्रचारकार्यमा जस्तोसुकै विरोध ल्याए तापनि र हामी विरुद्ध जस्तोसुकै बदनामको षड्यन्त्र रचे तापनि हामी डराउनुपर्ने कुनै कारण छैन। किन? किनभने “स्वर्ग र पृथ्वीमा सारा अधिकार” पाउनुभएको हाम्रो नेता येशू हामीलाई मदत दिन हाम्रो साथमा हुनुहुन्छ!

      १८ “म सब दिन . . . तिमीहरूका साथमा छँदैछु” भन्‍ने येशूको प्रतिज्ञा ठूलो सान्त्वनाको स्रोत पनि हो। चेला बनाओ भनी ख्रीष्टले दिनुभएको आज्ञा पालन गर्ने कोसिस गर्दा हामीले सुखका दिनहरू मात्र नभई कहिलेकाहीं दुःखका दिनहरू पनि अनुभव गर्छौं। (२ इतिहास ६:२९) अत्यन्तै प्रिय व्यक्‍तिको मृत्युको कारण हामीमध्ये कोही-कोहीले दुःखदायी अवस्थाको सामना गर्छौं। (उत्पत्ति २३:२; यूहन्‍ना ११:३३-३६) अरूले वृद्धावस्थाको सामना गरिरहेका छन्‌, जतिबेला स्वास्थ्य र बल दुवै खस्कँदै जान्छ। (उपदेशक १२:१-६) अझ अरूले कहिलेकाहीं अत्यन्तै निराश भावनाहरूद्वारा पिरोलिएर दिन बिताउँछन्‌। (१ थिस्सलोनिकी ५:१४) अनि हामीमध्ये थुप्रैले गम्भीर आर्थिक कठिनाइहरूसित सङ्‌घर्ष गर्छौं। तैपनि, यस्ता चुनौतीहरूको बावजुद हाम्रो सेवकाईमा हामी सफल हुन्छौं किनभने हाम्रो जीवनको सबैभन्दा अन्धकारमय समय लगायत “सब दिन” येशू हामीसित हुनुहुन्छ।—मत्ती ११:२८-३०, छड्‌के अक्षर हाम्रो।

  • “जे-जे मैले तिमीहरूलाई आज्ञा गरें, तिनीहरूलाई ती सबै गर्नलाई सिकाओ”
    प्रहरीधरहरा—२००४ | जुलाई १
    • a एउटा सन्दर्भ सामग्रीले बताएअनुसार येशूले “बप्तिस्मा देओ . . . सिकाओ” भन्‍नुभयो तर ‘बप्तिस्मा देओ र सिकाओ’ भन्‍नुभएन। त्यसैले बप्तिस्मा दिने र सिकाउने आज्ञा “एउटा काम पूरा भएपछि मात्र गर्नुपर्ने . . . छुट्टाछुट्टै काम होइन।” बरु, “सिकाउनु भनेको एउटा लगातार चलिरहने प्रक्रिया हो, जुन आंशिक रूपमा बप्तिस्माअघि . . . र आंशिक रूपमा बप्तिस्मापछि हुन्छ।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने