येशूका उपदेशहरूले तपाईंको मनोवृत्तिमा प्रभाव पारोस्
“जसलाई परमेश्वरले पठाउनुभयो, त्यसले परमेश्वरकै वचनहरू बोल्दछ।”—यूह. ३:३४.
१, २. डाँडाको उपदेशमा येशूले भनेका कुराहरू केसित तुलना गर्न सकिन्छ र यो “परमेश्वरकै वचन”-मा आधारित छ भन्न सकिन्छ, किन?
मान्छेले काटेर बनाएको संसारको सबैभन्दा ठूलो हिराहरूमध्ये एउटा ५३० क्यारेटको स्टार अफ अफ्रिका हो। यो पक्कै अनमोल रत्न हो! तर त्योभन्दा पनि अनमोल आध्यात्मिक रत्न येशूको डाँडाको उपदेशमा पाइन्छ। यो कुनै छक्कलाग्दो कुरा होइन किनभने उहाँका उपदेशहरूको स्रोत यहोवा हुनुहुन्छ! येशूलाई संकेत गर्दै बाइबल भन्छ: “जसलाई परमेश्वरले पठाउनुभयो, त्यसले परमेश्वरकै वचनहरू बोल्दछ।”—यूह. ३:३४-३६.
२ येशूलाई डाँडाको उपदेश दिन आधा घण्टा पनि लागेन। तर उहाँले हिब्रू धर्मशास्त्रको आठ वटा किताबबाट २१ चोटि उद्धरण गर्नुभयो। त्यसैले यो पूरापूर “परमेश्वरकै वचन”-मा आधारित छ। परमेश्वरका प्यारो पुत्रको एकदमै प्रभावकारी यो उपदेशमा पाइने केही अनमोल कुरा व्यवहारमा कसरी उतार्न सक्छौं अब हामी चर्चा गरौं।
“पहिले आफ्नो भाइसित मिलाप गर”
३. रिस पालिराख्नुको खतराबारे चेलाहरूलाई होसियार गराइसकेपछि येशूले कस्तो सल्लाह दिनुभयो?
३ हामी ख्रीष्टियानहरू आनन्दित हुनुका साथै मिलापमा रहन्छौं किनभने हामीसित परमेश्वरको पवित्र आत्मा छ। पवित्र आत्माको फलमा आनन्द र शान्ति पनि पर्छ। (गला. ५:२२, २३) चेलाहरूले आनन्द र शान्ति गुमाएको येशू चाहनुहुन्न थियो। त्यसैले रिसलाई पालिराख्दा हुने घातक प्रभावबारे उहाँले तिनीहरूलाई होसियार गराउनुभयो। (मत्ती ५:२१, २२ पढ्नुहोस्) त्यसपछि उहाँले यस्तो भन्नुभयो: “यसकारण तिमीले वेदीमा आफ्नो भेटी चढाउँदा तिम्रो विरुद्धमा तिम्रो भाइको हृदयमा केही छ भनी तिमीलाई याद भयो भने, त्यही वेदीको सामु तिम्रो भेटी छोड, र बाटो लाग। पहिले आफ्नो भाइसित मिलाप गर, त्यसपछि आएर आफ्नो भेटी चढाऊ।”—मत्ती ५:२३, २४.
४, ५. (क) मत्ती ५:२३, २४ मा येशूले भनेको “भेटी”-ले केलाई संकेत गर्थ्यो? (ख) चित्त दुखाएको भाइसित मिलाप गर्नु कत्तिको महत्त्वपूर्ण छ?
४ यहाँ येशूले भनेको “भेटी”-ले यरूशलेमको मन्दिरमा चढाइने कुनै पनि प्रकारको बलिलाई संकेत गरिरहेको थियो। उदाहरणको लागि, पशुबलि महत्त्वपूर्ण थियो किनभने त्यो परमेश्वरका जनहरूले उहाँलाई चढाउने उपासनाको भाग थियो। तर येशूले त्योभन्दा पनि महत्त्वपूर्ण कुरालाई जोड दिनुभयो। त्यो हो: परमेश्वरलाई भेटी चढाउनुअघि चित्त दुखाएको भाइसित मिलाप गर्नुपर्ने।
५ त्यसोभए येशूको यो उपदेशबाट हामी के पाठ सिक्न सक्छौं? अरूसित कस्तो व्यवहार गर्छौं, अवश्य त्यसले यहोवासित गाँसेको सम्बन्धलाई सीधै असर गर्छ। (१ यूह. ४:२०) हुन पनि, अरूसित राम्रो व्यवहार नगर्ने व्यक्तिले चढाएको बलिको प्राचीन समयमा कुनै महत्त्व थिएन।—मीका ६:६-८ पढ्नुहोस्।
नम्र हुनै पर्छ
६, ७. चित्त दुखाएको भाइसित सम्बन्ध सपार्ने प्रयास गर्दा नम्रताको किन खाँचो पर्छ?
६ चित्त दुखाएको भाइसित मिलाप गर्नुपर्दा पक्कै हाम्रो नम्रताको जाँच हुन्छ। नम्र व्यक्तिले मैले यस्तो/यस्तो अधिकार पाउनै पर्छ भन्ने दाबी गर्दै सँगी विश्वासीहरूसित बहस वा झगडा गर्दैन। नत्र त प्रथम शताब्दीको कोरिन्थ मण्डलीमा जस्तै नराम्रो परिस्थिति सृजना हुन्छ। त्यस परिस्थितिबारे प्रेरित पावलले एउटा गहकिलो कुरा भने: “अहँ, एउटामाथि अर्कोको मुद्दा हुनु यो तिमीहरूको ठूलो त्रुटि हो। बरु अन्याय किन नसहनु? बरु किन ठगिएरनै नरहनु?”—१ कोरि. ६:७.
७ ‘गल्ती तिम्रै हो, मैले त केही गरेकै छैन’ भनेर सफाइ दिने हेतुले आफ्नो भाइकहाँ जानुपर्छ येशूले भन्नुभएन। हाम्रो उद्देश्य बिग्रेको सम्बन्ध सपार्ने हुनुपर्छ। शान्ति कायम गर्न आफूलाई लागेको कुरा इमानदार भई स्पष्टसित बताउनुपर्छ। ती भाइको पनि चित्त दुखेको छ भनी स्वीकार्नुपर्छ। अनि आफूबाट गल्ती भएको रहेछ भने पक्कै नम्र भएर माफी माग्न तयार हुन्छौं।
‘तिम्रो दाहिने आँखाले तिमीलाई बाधा पार्छ भने’
८. मत्ती ५:२९, ३० को येशूका शब्दहरूको सार बताउनुहोस्।
८ डाँडाको उपदेशमा येशूले नैतिकतासम्बन्धी एकदमै राम्रो पाठ सिकाउनुभयो। उहाँलाई थाह थियो कि हामीलाई आफ्ना असिद्ध शरीरका अंगहरूले खतरनाक प्रभाव पार्न सक्छ। त्यसैले उहाँले भन्नुभयो: “यदि तिम्रो दाहिने आँखाले तिमीलाई बाधा पार्ने तुल्याउँछ भने, त्यसलाई निकालेर फालिदेऊ। किनभने तिम्रो सम्पूर्ण शरीर नरकमा फालिनुभन्दा बरु तिम्रा अङ्गहरूमध्ये एउटा नष्ट हुनु तिम्रो निम्ति हितकारी हुन्छ। तिम्रो दाहिने हातले तिमीलाई बाधा पार्ने तुल्याउँछ भने त्यसलाई काटेर फालिदेऊ। किनभने तिम्रो सम्पूर्ण शरीर नरकमा जानुभन्दा बरु तिम्रा अङ्गहरूमध्ये एउटा नष्ट हुनु तिम्रो निम्ति हितकारी हुन्छ।”—मत्ती ५:२९, ३०.
९. “आँखा” वा “हातले” हामीलाई कसरी “बाधा” पार्न सक्छ?
९ येशूले भनेको “आँखाले” कुनै कुरामा ध्यान लगाउन सक्ने शक्ति वा क्षमतालाई बुझाउँछ अनि “हातले” चाहिं हाम्रो हातले गर्ने सबै कुरालाई। होसियार भएनौं भने शरीरका यी अंगहरूले हामीलाई ‘परमेश्वरको साथै हिंड्न’ “बाधा” पुऱ्याउन सक्छ। (उत्प. ५:२२; ६:९) त्यसैले यहोवाको आज्ञा विपरीत चल्ने प्रलोभनमा पर्दा हामीले ठोस कदम चाल्नुपर्छ। भन्ने हो भने, त्यो आँखा वा हात काटेर फ्याँकेसरह गर्नुपर्छ।
१०, ११. यौन अनैतिकताबाट जोगिन हामीलाई कुन कुराले मदत गर्न सक्छ?
१० अनैतिक कुरामा ध्यान लगाउनदेखि हामी आफ्नो आँखालाई कसरी रोक्न सक्छौं? परमेश्वरको डर राख्ने व्यक्ति अय्यूबले भने: “कुनै स्त्रीलाई कुदृष्टिले नहेर्ने मैले दृढ संकल्प गरें।” (अय्यू. ३१:१) विवाहित पुरुष अय्यूबले नैतिकतासम्बन्धी परमेश्वरको व्यवस्था विपरीत नजाने संकल्प गरेका थिए। चाहे हामी विवाहित होऔं वा अविवाहित, हाम्रो मनोवृत्ति पनि त्यस्तै हुनुपर्छ। यौन अनैतिकताबाट जोगिन हामी परमेश्वरको पवित्र आत्माद्वारा डोरिएको हुनुपर्छ। परमेश्वरलाई प्रेम गर्नेहरूमा पवित्र आत्माले संयम फलाउँछ।—गला. ५:२२-२५.
११ यौन अनैतिकताबाट जोगिन हामीले आफूसित यो प्रश्न गर्नुपर्छ, ‘किताब, टेलिभिजन कार्यक्रम वा इन्टरनेटमा सजिलै पाइने अनैतिक कुराहरू हेरेर के म आफूमा कुइच्छाहरू जाग्न दिन्छु?’ चेला याकूबका यी शब्दहरू पनि नबिर्सौं: “हरेक मानिस आफ्नै तृष्णाबाट खिचिई लोभिएर परीक्षामा पर्दछ। तब तृष्णा गर्भवती भएर पापलाई जन्माउँछ, र पाप पूरा बढेपछि मृत्यु उत्पन्न गराउँछ।” (याकू. १:१४, १५) हो, परमेश्वरमा समर्पित जनले खराब इच्छाले विपरीत लिंगको व्यक्तिलाई ‘हेरिरहन्छ’ भने तिनले आफ्नो आँखा वा हात काटेर फाल्नु जत्तिकै ठूलो कदम चालिहाल्नुपर्नेछ।—मत्ती ५:२७, २८ पढ्नुहोस्।
१२. अनैतिक कुइच्छाहरू विरुद्ध लड्न पावलको कुन सल्लाह मदतकारी हुन सक्छ?
१२ हातको अनुचित प्रयोगले यहोवाको नैतिक स्तरको घोर उल्लंघन हुन सक्ने भएकोले नैतिक तवरमा शुद्ध रहने दृढ अठोट गर्नुपर्छ। त्यसैले पावलको यो सल्लाह पालन गर्नुपर्छ: “यसकारण तिमीहरूमा जो सांसारिक स्वभावका कुराहरू छन्, तिनलाई मार: व्यभिचार, अशुद्धता, कामुकता, खराब इच्छा र लोभ, जो मूर्तिपूजा हो।” (कल. ३:५, NRV ) “मार” भन्ने शब्दले अनैतिक कुइच्छाहरू विरुद्ध लड्न चाल्नुपर्ने ठोस कदमलाई जोड दिन्छ।
१३, १४. अनैतिक सोचाइ र कार्यबाट जोगिनु किन अत्यावश्यक छ?
१३ रोग वा कुनै कारणले कुनै मानिसको ज्यानै जाने स्थिति आयो भने ऊ आफ्नो खुट्टा शल्यक्रियाद्वारा काटेर फाल्न अवश्यै राजी हुन्छ। हाम्रो आध्यात्मिक जीवनलाई खतरामा पार्न सक्ने अनैतिक सोच र कार्य नगर्न प्रतीकात्मक अर्थमा आफ्नो आँखा र हात ‘काटेर फाल्नु’ नितान्त आवश्यक छ। गेहेन्ना अर्थात् अनन्त विनाशबाट बच्ने एउटै मात्र तरिका आफूलाई मानसिक, नैतिक र आध्यात्मिक तवरमा शुद्ध राख्नु हो।
१४ जन्मजातै पाएको पाप र असिद्धताको कारण नैतिक शुद्धता कायम राख्न प्रयास गर्नुपर्छ। पावलले भने: “म आफ्नो शरीरलाई कुट्तछु, र वशमा ल्याउँछु, नत्रता अरूहरूलाई प्रचार गरेपछि म आफैचाहिं इन्कार गरिनेछु।” (१ कोरि. ९:२७) त्यसैले ख्रीष्टको बलिदानले लगाएको गुण बिर्से जस्तो व्यवहार कहिल्यै नगरौं र नैतिकतासम्बन्धी येशूको सल्लाह पालन गर्न कटिबद्ध होऔं।—मत्ती २०:२८; हिब्रू ६:४-६.
“देओ”
१५, १६. (क) दिने सन्दर्भमा येशूले कसरी उदाहरण बसाल्नुभयो? (ख) लूका ६:३८ को येशूका शब्दहरूको अर्थ के हो?
१५ येशूको उपदेश र उहाँले बसालेको उत्कृष्ट उदाहरणले उदार हुन प्रोत्साहित गर्छ। असिद्ध मानिसजातिको खातिर पृथ्वीमा आएर उहाँले ठूलो उदारता देखाउनुभयो। (२ कोरिन्थी ८:९ पढ्नुहोस्) पापी मानवजातिको खातिर उहाँ स्वर्गको महिमा त्यागेर पृथ्वीमा जन्म लिन र जीवन दिन राजी हुनुभयो। यिनै मानवजातिमध्ये केहीले परमेश्वरको राज्यमा उहाँसँगै उत्तराधिकारी भएर स्वर्गको धन पाउनेछन्। (रोमी ८:१६, १७) अनि येशूले यसो भन्नुहुँदा निश्चय नै उदार हुन प्रोत्साहन दिइरहनुभएको थियो:
१६ “देओ, र तिमीहरूलाई दिइनेछ। पूरा नाप खाँदी-खाँदी, बेसरी हल्लाएर पोखिने गरी तिमीहरूको पोल्टामा दिनेछन्। किनकि जुन नापले तिमीहरू नाप्तछौ, त्यसरी तिमीहरूका निम्ति पनि नापिनेछ।” (लूका ६:३८) ‘पोल्टामा दिनु’ भन्ने वाक्यांशले कुनै-कुनै व्यापारीहरूको चलनलाई संकेत गर्छ। किनमेल गरेको सामान ती व्यापारीहरूले ग्राहकको पोल्टामा हालिदिन्थे। अरूलाई खाँचो पर्नेबित्तिकै उदारता देखाउँदा, हुन सक्छ अरूले पनि हामीलाई खाँचोमा परेको बेला उदारता देखाउलान्।—उप. ११:२.
१७. दिने सन्दर्भमा यहोवाले कसरी उत्कृष्ट उदाहरण बसाल्नुभयो र कसरी दिंदा हामी आनन्दित हुन सक्छौं?
१७ खुसीसाथ दिनेहरूलाई यहोवा प्रेम गर्नुहुन्छ र इनाम पनि दिनुहुन्छ। उहाँ आफैले यस सन्दर्भमा उत्कृष्ट उदाहरण बसाल्नुभयो। परमेश्वरले “उहाँमाथि विश्वास गर्ने प्रत्येक नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्” भनेर एक मात्र पुत्र दिनुभयो। (यूह. ३:१६) पावलले लेखे: “प्रशस्तसँग छर्नेले प्रशस्तसँगै काट्छ। हरेक मानिसले आफ्नो मनमा अड्कलेबमोजिम गरोस्, नता चित्त दुखाएर, [न] जरुरत भएकोले, किनभने खुशीसाथ दिनेलाई परमेश्वरले प्रेम गर्नुहुन्छ।” (२ कोरि. ९:६, ७) साँचो उपासनामा टेवा पुऱ्याउन आफ्नो समय, शक्ति र भौतिक स्रोतसाधन दिंदा निश्चय नै आनन्द र प्रचुर इनाम पाउनेछौं।—हितोपदेश १९:१७; लूका १६:९ पढ्नुहोस्।
“आफ्नो सामु तुरही नबजाऊ”
१८. के गर्दा स्वर्गका पिताबाट “केही इनाम मिल्नेछैन”?
१८ “होशियार बस, तिमीहरू मानिसहरूले देखुन् भन्ने हेतुले धर्मकर्म नगर नत्रता स्वर्गका पिताबाट तिमीहरूलाई केही इनाम मिल्नेछैन।” (मत्ती ६:१) येशूले “धर्मकर्म” भन्नुको अर्थ परमेश्वरको इच्छासित मेल खाने आचरण हो। भक्तिका कार्यहरू मानिसले देख्ने गरी कहिल्यै गर्नुहुन्न भन्ने उहाँको तात्पर्य थिएन। किनभने उहाँले चेलाहरूलाई “तिमीहरूको ज्योति मानिसहरूका सामु चम्कोस्” भन्नुभयो। (मत्ती ५:१४-१६) तर रंगमञ्चमा अभिनय गर्ने पात्रहरूलाई जस्तो “मानिसहरूले देखुन्” र प्रशंसा गरून् भन्ने हेतुले कामकुरा गर्छौं भने स्वर्गमा हुनुहुने पिताबाट “केही इनाम मिल्नेछैन।” हाम्रो मनसाय त्यस्तो छ भने यहोवासित घनिष्ठ सम्बन्ध राख्न सक्दैनौं न त उहाँको राज्यमा अनन्त आशिष् पाउन सक्छौं।
१९, २०. (क) “धर्मकर्म” गर्दा “आफ्नो सामु तुरही नबजाउनुको” अर्थ के हो? (ख) दायाँ हातले गरेको कुरा बायाँ हातलाई हामी कसरी थाह दिंदैनौं?
१९ हाम्रो मनसाय सही छ भने येशूको यो सल्लाह पालन गर्नेछौं: “यसकारण जब तिमी धर्मकर्म गर्दछौ, तब आफ्नो सामु तुरही नबजाऊ, जस्तो कपटीहरूले सभाघर र गल्लीहरूमा मानिसहरूबाट प्रशंसा पाउनलाई गर्दछन्। म तिमीहरूलाई साँचो भन्दछु, ‘तिनीहरूले आफ्ना इनाम पाइसकेका हुन्छन्।’ ” (मत्ती ६:२) “धर्मकर्म” अर्थात् दान खाँचोमा परेकाहरूलाई दिइने चन्दा थियो। (यशैया ५८:६, ७ पढ्नुहोस्) गरिबहरूलाई मदत गर्न येशू र उहाँका प्रेरितहरूले एउटा साझा कोष स्थापना गरेका थिए। (यूह. १२:५-८; १३:२९) गरिबहरूलाई दान दिनुअघि तुरही बजाउने गरिंदैन थियो। त्यसैले “धर्मकर्म” गर्नुअघि “तुरही नबजाऊ” भनेर येशूले अवश्यै अत्युक्ति चलाउनुभएको थियो। त्यस्तो दान दिंदा यहूदी फरिसीहरूले जस्तै झ्याली पिट्नु पर्दैन। येशूले तिनीहरूलाई कपटी भन्नुभयो किनभने तिनीहरूले आफ्नो दानपुण्यबारे “सभाघर र गल्लीहरूमा” गएर प्रचारप्रसार गर्थे। ती कपटीहरूले प्रशस्त “इनाम पाइसकेका हुन्छन्।” तिनीहरूले पाउने भनेकै मानिसहरूको वाहवाही र सम्भवतः सभाघरमा मुख्य-मुख्य आसनहरू मात्र थिए किनभने तिनीहरूले यहोवाबाट केही पाउनेछैन। (मत्ती २३:६) तर ख्रीष्टका चेलाहरूको व्यवहार कस्तो हुनुपर्ने थियो? येशूले तिनीहरू र हामीलाई यसो भन्नुभयो:
२० “तर जब तिमी दान-पुण्य गर्दछौ, तिम्रो दाहिने हातले गरेको बायाँ हातले थाह नपाओस्। तिम्रो दान-पुण्य गुप्तमा होस्, र गुप्तमा देख्ने तिम्रो पिताले तिमीलाई इनाम दिनुहुनेछ।” (मत्ती ६:३, ४) साधारणतया हाम्रो दुइटै हात सँगसँगै चल्छ। त्यसैले दायाँ हातले गरेको कुरा बायाँ हातलाई थाह नदिनुको अर्थ हामी आफ्नो उपकारी कार्य अरूलाई भन्दै हिंड्दैनौं भन्ने हो। दायाँ हातबाट बायाँ हात जत्तिको नजिक छ, त्यत्तिको नजिकका व्यक्तिहरूलाई समेत त्यस्ता उपकारी कार्यहरूबारे हामी थाह दिंदैनौं।
२१. “गुप्तमा देख्ने” पिताबाट पाउने केही इनाम के-के हुन्?
२१ आफ्ना उपकारी कार्यबारे धाक लगाउँदैनौं भने हाम्रो “दान-पुण्य” गुप्तमा रहन्छ। अनि “गुप्तमा देख्ने” हाम्रा पिताले हामीलाई बदलामा इनाम दिनुहुनेछ। स्वर्गमा बस्नुहुने पितालाई मानव आँखाले देख्न नसक्ने भएकोले उहाँ हाम्रो लागि “गुप्तमा” रहेसरह हो। (यूह. १:१८) “गुप्तमा देख्ने” पिताबाट पाइने इनाममा उहाँसित कायम राख्न सक्ने घनिष्ठ सम्बन्ध, पापको लागि क्षमा र अनन्त जीवन समावेश छ। (हितो. ३:३२; यूह. १७:३; एफि. १:७) मानिसको प्रशंसाभन्दा यी कुरा कत्ति असल छन्!
मोल गर्नुपर्ने अनमोल उपदेशहरू
२२, २३. येशूले भनेका कुराहरूको मोल गर्नुपर्छ, किन?
२२ डाँडाको उपदेश पक्कै पनि विभिन्न सुन्दर मोहडा भएको आध्यात्मिक रत्नहरूले भरिभराउ छन्। यस संकटग्रस्त संसारमा समेत आनन्दित हुन मदत गर्न सक्ने अनमोल शब्दहरू यसमा पाइन्छन् भन्नेबारे दुई मत छैन। हो, येशूका उपदेशहरूको मोल गऱ्यौं अनि त्यसबाट आफ्नो मनोवृत्ति र जीवनशैलीलाई प्रभावित हुन दियौं भने हामी आनन्दित हुनेछौं।
२३ येशूले सिकाएका कुराहरू ‘सुन्ने’ र ‘गर्ने’ सबैले आशिष् पाउनेछन्। (मत्ती ७:२४, २५ पढ्नुहोस्) त्यसकारण येशूका सल्लाहहरू पालन गर्न हामी कटिबद्ध होऔं। डाँडाको उपदेशमा उहाँले भनेका थप कुरा यस शृंखलाको अन्तिम लेखमा छलफल गरिनेछ। (w 09 2/15)
तपाईं के भन्नुहुन्छ?
• चित्त दुखाएको भाइसित मिलाप गर्नु किन महत्त्वपूर्ण छ?
• “दाहिने आँखाले” बाधा पार्न नदिन हामीले के गर्न सक्छौं?
• दिने सन्दर्भमा हाम्रो मनोवृत्ति कस्तो हुनुपर्छ?
[पृष्ठ २१-मा भएको चित्र]
चित्त दुखाएको सँगी विश्वासीसित ‘मिलाप गर्नु’ कत्ति असल कुरा हो
[पृष्ठ २३-मा भएको चित्र]
खुसीसाथ दिनेहरूलाई यहोवा आशिष् दिनुहुन्छ