सबै मानिसहरूले के एकअर्कालाई प्रेम गर्नसक्छन्?
व्यवस्थाका एक अध्यापकले “अनन्त जीवन” पाउन आफ्नो छिमेकीलाई आफूलाई जस्तै पूरा मनतनले प्रेम गर्नुपर्छ भनेर जवाफ दिए। उसको जवाफ सुनेर येशूले स्याबासी दिनुभयो र भन्नुभयो: “तिमीले ठीकै जवाफ दियौ, यही गर, र तिमी बाँच्नेछौ।” (लूका १०:२५-२८; लेवी १९:१८; व्यवस्था ६:५) तर तिनले आफैलाई धार्मिक ठहराउने इच्छा गरेर येशूलाई भने: “मेरो छिमेकी चाहिं को हो त?”
पक्कै पनि तिनले येशूको जवाफ “तिम्रा सँगी यहूदीहरू” हुनेथियो भन्ने आशा गरेका थिए। तर त्यस्तो जवाफ दिनुको साटो येशूले मित्रैलो सामरीको कथा सुनाउनुभयो, जुन कथाले हाम्रो छिमेकी हाम्रो आफ्नै जातको मात्र नभई सबै जातिका मानिसहरू हुन् भनेर प्रष्ट्याउनुभयो। (लूका १०:२९-३७; यूहन्ना ४:७-९) आफ्नो पार्थिव सेवकाईको दौडान येशूले परमेश्वर अनि छिमेकीलाई प्रेम गर्नु नै हाम्रो सृष्टिकर्ताले दिनुभएको सबैभन्दा महत्वपूर्ण आज्ञा हुन् भनेर जोड दिनुभयो।—मत्ती २२:३४-४०.
तर के आजसम्म कुनै समूहले कहिल्यै त्यसरी साँच्चै आफ्नो छिमेकीलाई प्रेम गरेका छन् त? सबै मानिसहरूले एकअर्कालाई प्रेम गर्नु के साँच्चै सम्भव छ?
प्रथम शताब्दीको चमत्कार
येशूले आफ्ना चेलाहरू जातभात, राष्ट्रियतालगायत कुनै कुराले पनि बाधा नपुऱ्याउने प्रेमद्वारा चिनिन्छन् भन्नुभयो। उहाँले भन्नुभयो: “एउटा नयाँ आज्ञा म तिमीहरूलाई दिंदैछु, कि तिमीहरू आपसमा प्रेम गर, जस्तो मैले तिमीहरूलाई प्रेम गरेको छु, तिमीहरूले पनि आपसमा प्रेम गर।” उहाँले यो पनि भन्नुभयो: “यदि तिमीहरूले आपसमा प्रेम गऱ्यौ भने, तिमीहरू मेरा चेलाहरू हौ भनी यसैबाट सबैले जान्नेछन्।”—यूहन्ना १३:३४, ३५; १५:१२, १३.
येशूले दिनुभएको प्रेमको शिक्षा अनि त्यसअनुसारको कामले प्रथम शताब्दीमा चमत्कारको काम गऱ्यो। उहाँका अनुयायीहरूले आफ्नो मालिकको अनुकरण गरे। फलतः तिनीहरूले एकअर्कालाई यसरी प्रेम गर्न सिके, त्यसको कीर्ति अनि प्रशंसा चारैतिर फैलन थाल्यो। सा.यु. दोस्रो अनि तेस्रो शताब्दीको लेखक टर्टुलियनले गैरमसीहीहरूले येशूका अनुयायीहरूको यस्तो सराहना गरेको उल्लेख गरे: ‘हेर, तिनीहरू एकअर्कालाई कत्ति माया गर्छन्, एकअर्काका लागि मर्न समेत तयार छन्।’
त्यस्तो हुनु स्वाभाविकै थियो किनकि प्रेरित यूहन्नाले लेखे: “हामीले पनि हाम्रो भाइको निम्ति आफ्नो प्राण अर्पण गर्नुपर्छ।” (१ यूहन्ना ३:१६) येशूले आफ्ना अनुयायीहरूलाई शत्रुहरूलाई समेत प्रेम गर्न सिकाउनुभयो। (मत्ती ५:४३-४५) येशूले भनेजस्तै मानिसहरूले एकअर्कालाई प्रेम गर्न थाल्दा नतिजा के हुन्छ?
एक जना राजनैतिक विज्ञानका प्राध्यापकले निश्चय पनि त्यस प्रश्नमाथि गौर गरेका थिए होलान्। त्यसैले, क्रिश्चियन सेन्चुरी नामक किताबअनुसार तिनले यस्तो प्रश्न गरे: “हजारौं आमा अनि केटाकेटीहरूको ज्यान लिन वा अंगभंग गर्नसक्ने गरी येशूले आफ्ना शत्रुहरूमाथि गोलाबारूद फ्याँकेको, मेशीन गन ताकेको, आगोको मुस्लोले हिर्काएको, आणविक बम झारेको वा मिसाइल चलाएको के हामी कसैले कल्पना गर्नसक्छौं?”
जवाफमा प्राध्यापकले भने: “त्यस्तो सवाल यति वाहियात छ कि जवाफ दिनु नै बेकार छ।” त्यसपछि तिनले प्रश्न गरे: “यदि येशूले त्यसो गर्न सक्नुहुन्न र गर्न सुहाउँदैन भने, हामी कसरी त्यस्तो व्यवहार गरेर उहाँप्रति वफादर भइरहन सक्छौं त? अतः येशूका प्रारम्भिक अनुयायीहरू तटस्थ रहेकोमा हामी अचम्म मान्दैनौं, जसबारे थुप्रै इतिहासका किताबहरूमा लेखिएको पाउँछौं। तीमध्ये यी दुइलाई विचार गर्नुहोस्।
नेथन प्ल्याट र एम. जे. ड्रमन्डको युगौंदेखिको हाम्रो संसार, (अंग्रेजी) भन्ने किताब यसो भन्छ: “मसीहीहरूको व्यवहार रोमीहरूको भन्दा कता हो कता भिन्दै थियो। . . . ख्रीष्टले शान्तिको प्रचार गर्नुभएको हुँदा, तिनीहरूले सिपाही बन्न इन्कार गरे।” त्यस्तैगरि, एडवर्ड गिब्बनको रोमी साम्राज्यको उत्थान अनि पतन नामक (अंग्रेजी) किताब यसो भन्छ: “[प्रारम्भिक मसीहीहरूले] रोमी साम्राज्यको जन प्रशासन वा सैन्य सेवाजस्ता कुराहरूमा सक्रिय भाग लिन इन्कार गरे। त्योभन्दा पवित्र सेवा छाडेर सिपाहीको भूमिका स्वीकार्नु मसीहीहरूको लागि अकल्पनिय थियो।”
आज नि?
के आज, ख्रीष्टले जस्तै प्रेम गर्नेहरू छन् त? इनसाइक्लोपीडिया क्यानाडियना यस्तो टिप्पणी गर्छ: “यहोवाका साक्षीहरूको काम येशू र उहाँका अनुयायीहरूले सुरु गरेको प्रारम्भिक मसीहीधर्मको जागरण र पुनर्स्थापना हो . . . तिनीहरू सबै दाजुभाइ हुन्।”
मतलब? यहोवाका साक्षीहरू रंग, राष्ट्रियता, जातीय भिन्नता जस्ता कुनै पनि कुरालाई लिएर आफ्ना छिमेकीहरूलाई घृणा गर्दैनन्। नता तिनीहरुले कसैको हत्या नै गर्छन्। किनकि तिनीहरूले प्रतिकात्मक तवरमा आ-आफ्ना तरवार पिटेर हलोको फाली अनि भालाचाहिं हँसिया बनाएका छन् र वास्तवमा परमेश्वरका साँचो सेवकहरूले त्यस्तै गर्नेछन् भनेर बाइबलमा भविष्यवाणी गरिएको पनि छ।—यशैया २:४.
अतः क्यालिफोर्नियाको समाचारपत्र साक्रामेन्टो युनियन-को सम्पादकीयले यसो भन्नु कुनै अचम्मको कुरा होइन: “यहोवाका साक्षीहरूको विषयमा यति भने पुग्छ, सबै मानिसहरू तिनीहरूको सिद्धान्तअनुसार चल्ने हो भने रक्तपात र घृणाको अन्त हुनेछ अनि प्रेमपूर्ण वातावरण हुनेछ।”
त्यस्तैगरि, हंगेरीको रीङ पत्रिकामा एक लेखकले यसरी लेखे: “संसारमा यहोवाका साक्षीहरू मात्र रहने हो भने युद्धको नामोनिसानै हुनेछैन भन्ने निष्कर्षमा म पुगेको छु। अनि प्रहरीको दायित्व, ट्राफिक नियन्त्रण गर्नु र पासपोर्ट वितरण गर्नु मात्र हुनेछ।”
इटालेली चर्च पत्रिका आन्दारे आले जेन्ती-मा रोमन क्याथोलिक ननले साक्षीहरूको प्रशंसा गर्दै यस्तो टिप्पणी गरिन्: “तिनीहरू कुनै किसिमको हिंसा गर्न चाहँदैनन् र आफ्ना विश्वासका कारण साह्रै अन्याय हुँदा समेत चुपचाप सहन्छन्। . . . यहोवाका साक्षीहरूले जस्तै सबै मानिसहरूले फेरि हतियार नउठाउने निर्णय गरेका भए यो संसार कति भिन्न हुनेथियो!”
साक्षीहरू आफ्ना छिमेकीहरूलाई मदत गर्न अघि सर्छन् भनेर मानिसहरूले मानिलिएका छन्। (गलाती ६:१०) सोभियत बन्दीमा परेका महिलाहरू नामक (अंग्रेजी) आफ्नो किताबमा एक लाट्भियाली महिलाले १९६० बीचतिर पट्मा शिविरमा आफू कार्यरत छँदा सिकिस्त परेको उल्लेख गरिन्। “म निको नहोउञ्जेल [साक्षीहरूले] मेरो स्याहार सुसार गरे। त्यस्तो शिविरमा त्योभन्दा राम्रो स्याहार मैले पाउन सक्तिन थिएँ।” तिनले अझ यसो पनि भनिन्: “जुनसुकै धर्म वा देशका होस् सबैलाई मदत गर्नु, यहोवाका साक्षीहरू आफ्नो कर्तव्य ठान्छन्।”
हालै चेक गणतन्त्रका पत्रपत्रिकाहरूमा साक्षीहरूले यातना शिविरहरूमा देखाएको त्यस्तो आचरणहरूबारे लेखिन थालिएको छ। बर्नो शहरमा तयार पारिएको वृत्तचित्र, “हराएको घर[बारे]” टिप्पणी गर्दै सेभेरओचस्की डेनिक समाचारपत्रले यस्तो अवलोकन गऱ्यो: “[चेक र स्लोभाक यहूदीहरू] जस्ता साक्षीहरूसँगै कैदमा पर्ने मानिसहरूले समेत यहोवाका साक्षीहरूको ठूलो कदर अनि प्रशंसा गरेको देख्नु उल्लेखनीय कुरा हो। ‘साक्षीहरू असाध्यै साहसी थिए र आफ्नै ज्यान खतरामा पारेर समेत हामीलाई हरबखत मदत गर्थे। ‘आफ्नै परिवारको सदस्यजस्तै गरी तिनीहरू हाम्रो लागि प्रार्थना गर्थे, हरेस नखान प्रोत्साहन दिन्थे।’ ”
तर घृणा गर्नेहरूलाई प्रेम गर्ने सन्दर्भमा नि? के यो सम्भव छ?
प्रेमले घृणालाई जित्छ
येशूले शत्रुहरूलाई प्रेम गर्नू भनेर दिनुभएको आज्ञा बाइबलको यो हितोपदेशसित मेल खान्छ: “तेरो शत्रु भोका छ भने त्यसलाई खुवा, त्यो तिर्खाएको छ भने त्यसलाई पानी दे।” (हितोपदेश २५:२१; मत्ती ५:४४) आफूले शत्रु ठानेका मानिसहरूबाट मदत पाउँदा कस्तो सकारात्मक असर पर्छ, त्यसबारे एउटी अश्वेत स्त्रीले यो लेखिन्, जो अहिले यहोवा साक्षी पनि भइसकेकी छिन्: “गोरा साक्षीहरूले देखाएको साँचो माया देखेर बेला बेलामा मेरो मन यति भारी भएर आउँथ्यो कि मलाई भक्कानो फुटेर आउँथ्यो। सायद यसअघि म क्रान्तिका खातिर तिनीहरूको ज्यान लिन रत्तिभर हिचकिचाउँदिन थिएँ होला।”
एक जना फ्रेन्च साक्षीले दोस्रो विश्व युद्धको दौडान आफ्नो छिमेकीले गेस्तापोलाई पोल हालेकोले आफ्नी आमा पक्राउ परेको बताइन्। तिनले भनिन्, “फलतः मेरी आमाले जर्मन यातना शिविरमा दुई वर्ष बिताइन् र त्यहाँ झन्डै उहाँको मृत्यु भएको थियो। युद्धपछि फ्रेन्च प्रहरीले आमालाई उहाँको पोल खोल्ने आइमाईलाई जर्मन समर्थकको आरोप लगाउन हस्ताक्षर गर्न लगाए। तर आमाले इन्कार गर्नुभयो।” पछि, त्यस छिमेकीलाई घातक क्यान्सर रोगले समात्यो। छोरीले भनिन्: “आमा, त्यो आइमाई नमरुञ्जेल आराम होस् भनेर रातादिन खट्नुभयो। घृणामाथिको प्रेमको यस्तो विजयलाई म कहिल्यै बिर्सिन सक्तिन।”
अतः मानिसहरूले अवश्य एकअर्कालाई प्रेम गर्नसक्छन्। यसमा कुनै सन्देह छैन। टुट्सी अनि हुटु, यहूदी अनि अरबी, आरेमेनियाली अनि तुर्क, जापानी अनि अमेरिकी, जर्मनी अनि रुसी, प्रोटेस्टेन्ट अनि क्याथोलिक जस्ता सबै पुराना शत्रुहरू बाइबलको सत्य वचनले एकताबद्ध भइसकेका छन्।
पहिले एकअर्कालाई घृणा गर्ने मानिसहरू अहिले एकअर्कालाई प्रेम गर्नसक्छन् भने, अरूले किन नसक्नु। तथापि, यो मानिलिनैपर्छ, विश्वव्यापी रूपमा आमूल परिवर्तन भएपछि मात्र सबै मानिसहरूले एकअर्कालाई प्रेम गर्नसक्छन्। त्यस्तो परिवर्तन कसरी होला त?
[पृष्ठ ७-मा भएको चित्र]
दक्षिण अफ्रिकाका गोरा अनि कालाहरू
यहूदी अनि अरबीहरू
हुटु अनि टुट्सीहरू
प्रतिकात्मक अर्थमा, साक्षीहरूले आ-आफ्ना तरवार पिटेर हलोको फाली बनाएका छन्