हामीले परमेश्वरलाई कसरी प्रार्थना गर्नुपर्छ?
चेलाले प्रार्थनासम्बन्धी निर्देशन माग्दा येशूले जवाफ दिन अस्वीकार गर्नुभएन। लूका ११:२-४ अनुसार उहाँले यस्तो जवाफ दिनुभयो: “तिमीहरूले प्रार्थना गर्दा यसो भन, ‘हे पिता, तपाईंको नाउँ पवित्र गरिओस्, तपाईंको राज्य आओस्, हामीलाई दिनदिनै हाम्रा दिनहुँको भोजन दिनुहोस्। औ हाम्रा पाप हामीलाई क्षमा गर्नुहोस्, किनकि हामी आफै पनि हाम्रा हरेक ऋणीलाई क्षमा गर्दछौं। औ हामीलाई परीक्षामा नल्याउनुहोस्।’” यो साधारणतया प्रभुको प्रार्थना भनेर चिनिन्छ। यसले धेरै जानकारीहरू प्रदान गर्छ।
एउटा कुरा त, हामीले प्रार्थना गर्दा कसलाई सम्बोधन गरेको हुनुपर्छ भनेर सुरुकै शब्दले देखाउँछ। त्यो हो, हाम्रो पितालाई। ध्यान दिनुहोस्, यहाँ येशूले अन्य कुनै व्यक्ति, मूर्ति, “सन्त” वा उहाँलाई पनि प्रार्थना गर्ने छूट दिनुभएन। आखिरमा परमेश्वरले यो घोषणा गर्नुभएको थियो: “मेरो महिमा म अरूलाई दिनेछैनँ, मेरो स्तुति ढालेर बनाएका मूर्तिहरूलाई दिनेछैनँ।” (यशैया ४२:८) अतः, हाम्रो स्वर्गमा हुनुहुने पिताको अलावा अरू कुनै वस्तुलाई वा कसैलाई हाम्रो प्रार्थना निर्देशित छ भने उपासक जतिसुकै निष्कपट भए तापनि उहाँले सुन्नुहुन्न। बाइबलमा यहोवा परमेश्वरलाई मात्रै “प्रार्थना सुन्नुहुने” भनिएको छ।—भजन ६५:२.
केही व्यक्तिहरूले “सन्तहरू” त केवल मध्यस्थकर्ताहरू हुन् भन्लान्। तर येशू स्वयंले यस्तो निर्देशन दिनुभयो: “बाटो, सत्य, र जीवन मै हुँ, मबाहेक अरू कोहीद्वारा पिताकहाँ जानसक्तैन। औ जेसुकै तिमीहरू मेरो नाउँमा मागौला, त्यो पुत्रमा पिताको महिमा होस् भनेर म गर्नेछु।” (यूहन्ना १४:६, १३) अतः, कुनै सन्तले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्नसक्छ भन्ने विचारलाई येशूले हटाउनुभयो। प्रेरित पावलले पनि ख्रीष्टसम्बन्धी के भने, ध्यान दिनुहोस्: “ख्रीष्ट येशू, जो मर्नुभयो, औ बरू मुर्दाबाट बिउँतनु पनि भयो, र परमेश्वरको दाहिने बाहुलीतर्फ हुनुहुन्छ, र जसले हाम्रा निम्ति अन्तरबिन्ती पनि गर्नुहुन्छ।” “तिनीहरूका निम्ति अन्तरबिन्ती गर्नालाई उहाँ सधैंभरि रहनुहुन्छ।”—रोमी ८:३४; हिब्रू ७:२५.
पवित्र गर्नैपर्ने नाउँ
येशूको प्रार्थनाका थप शब्दहरू यसप्रकार थिए: “तपाईंको नाउँ पवित्र गरिओस्।” कुनै व्यक्तिलाई परमेश्वरको नाउँ थाह छैन र चलाएको छैन भने उसले कसरी पवित्र वा अलग पार्नसक्छ? “पुरानो नियम”-मा ६,००० चोटिभन्दा बढी परमेश्वरलाई उहाँको व्यक्तिगत नाउँ यहोवाद्वारा परिचित गराइएको छ।
परमेश्वरको नाउँको सन्दर्भमा क्याथोलिक डुवे भर्सन-मा प्रस्थान ६:३ को पादटिप्पणीमा यसो भनिएको छ: “केही आधुनिक व्यक्तिहरूले यहोवा भन्ने नाउँ रचेका छन् . . . किनभने [परमेश्वरको] नाउँको सही उच्चारण हिब्रू भाषामा गरिएको छ तर यो भाषा निकै समयदेखि चलनचल्तीमा नभएकोले सही उच्चारण थाह पाउन सकिंदैन।” अतः क्याथोलिक न्यु जेरूशलेम बाइबल-ले याहवेह नाउँ प्रयोग गर्छ। केही शास्त्रविद्हरूले त्यो उच्चारण मन पराए तापनि अंग्रेजी भाषामा चाहिं ईश्वरीय नाउँ “जेहोवा” भनी उच्चारण गर्नु वैध हुनुका साथै निकै समयदेखि चलाउँदै आएको छ। अन्य भाषाहरूमा ईश्वरीय नाउँ उच्चारण गर्ने आफ्नै तरिका छ। सबैभन्दा महत्त्वपूर्ण कुरा त हामीले यो नाउँ पवित्र हुने तरिकामा प्रयोग गर्नुपर्छ। के तपाईंको चर्चले प्रार्थना गर्दा यहोवाको नाउँ प्रयोग गर्न सिकाएको छ?
प्रार्थनाका लागि उचित विषयहरू
त्यसपछि येशूले आफ्ना चेलाहरूलाई यसरी प्रार्थना गर्न सिकाउनुभयो: “तपाईंको राज्य आओस्।” मत्तीरचित सुसमाचारको पुस्तकले अझ यी शब्दहरू थप्छन्: “तपाईंको इच्छा स्वर्गमाझैं यस पृथ्वीमा पूरा होस्।” (मत्ती ६:१०) परमेश्वरको राज्य येशू ख्रीष्टको हातमा भएको सरकार हो। (यशैया ९:६, ७) बाइबल भविष्यवाणीअनुसार यसले चाँडै नै मानव सरकारहरू सबैलाई प्रतिस्थापन गर्नेछ र विश्वभरि शान्तिमय युग ल्याउनेछ। (भजन ७२:१-७; दानियल २:४४; प्रकाश २१:३-५) तसर्थ, साँचो मसीहीहरूले आफ्नो प्रार्थनामा परमेश्वरको राज्य आओस् भन्ने विषयलाई दोहोऱ्याउँछन्। के तपाईंको चर्चले यसो गर्न सिकाएको छ?
चाखलाग्दो कुरा के हो भने, येशूले हाम्रो प्रार्थनामा आफूलाई चिन्ता लाग्ने व्यक्तिगत कुराहरू पनि समावेश गर्नसक्ने देखाउनुभयो। उहाँले यसो भन्नुभयो: “हामीलाई दिनदिनै हाम्रा दिनहुँको भोजन दिनुहोस्। औ हाम्रा पाप हामीलाई क्षमा गर्नुहोस्, किनकि हामी आफै पनि हाम्रा हरेक ऋणीलाई क्षमा गर्दछौं। औ हामीलाई परीक्षामा नल्याउनुहोस्।” (लूका ११:३, ४) येशूका शब्दहरूले संकेत गरेअनुसार आफ्ना दैनिक क्रियाकलापहरूमा पनि हामी परमेश्वरको इच्छा खोजी गर्नसक्छौं। हाम्रो मनोशान्तिलाई खलबल्याउने वा हामीलाई चिन्तित पार्नसक्ने जुनसुकै कुरा-बारे हामी यहोवालाई पुकार्नसक्छौं। यसप्रकार परमेश्वरलाई नियमित तवरमा बिन्ती गर्दा हामी उहाँमा कत्तिको निर्भर छौं भनी मूल्यांकन गर्न मदत पाउँछौं। अतः, हाम्रो जीवनमा उहाँको प्रभावबारे अझ धेरै सजग हुन्छौं। त्यस्तैगरि हाम्रा गलत कार्यहरूको निम्ति दिनहुँ परमेश्वरसित क्षमा माग्नु लाभदायी हुन्छ। त्यसो गऱ्यौं भने, हामी आफ्ना कमजोरीहरूबारे झन् सजग हुनुका साथै अरूका गल्तीहरूप्रति सहनशील हुन्छौं। विशेषगरि यस संसारको नैतिक पतनलाई विचार गर्ने हो भने प्रलोभनहरूबाट छुटकारा पाउनको निम्ति प्रार्थना गर्ने येशूको सल्लाह पनि सुहाउँदो छ। त्यही प्रार्थनाअनुरूप हामी गलत कार्यहरूतर्फ डोऱ्याउने परिस्थिति तथा अवस्थाहरूबाट जोगिन होशियार हुन्छौं।
निस्सन्देह, प्रभुको प्रार्थनाले परमेश्वरलाई खुशी तुल्याउने प्रार्थनाहरूबारे थुप्रै कुराहरू बताउँछ। तर के हामीले यही प्रार्थनालाई केवल कण्ठ गरेर नियमित तवरमा भनोस् भन्ने येशूको अभिप्राय थियो त?
प्रार्थनासम्बन्धी थप सल्लाह
येशूले प्रार्थनासम्बन्धी अझ थप निर्देशनहरू दिनुभयो। मत्ती ६:५, ६ मा हामी पढ्छौं: “जब तिमी प्रार्थना गर्दछौ तब कपटीहरू जस्ता नहोऊ, किनकि तिनीहरू सभाघरहरूमा र गल्लीहरूका कुनामा मानिसहरूले देखून् भनी खड़ा भएर प्रार्थना गर्न मन गर्दछन्। . . . तर तिमी जब प्रार्थना गर्दछौ, त्यसबेला आफ्नो भित्री कोठाभित्र पस, र ढोका थुनेर गुप्तमा बसेका तिम्रा पितालाई प्रार्थना गर, र गुप्तमा देख्ने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ।” हाम्रो प्रार्थना कसैलाई प्रभावित गर्न देखावटी र आडम्बरी हुनु हुँदैन भनेर उक्त शब्दहरूले हामीलाई सिकाउँछन्। बाइबलले आग्रह गरेझैं के तपाईं आफ्नो व्यक्तिगत प्रार्थनामा हृदयका सबै कुराहरू यहोवालाई पोख्नुहुन्छ?—भजन ६२:८.
येशूले यो चेताउनी दिनुभयो: “प्रार्थना गर्दा अन्यजातिहरू जस्ता व्यर्थै नबरबराऊ। किनभने कराएर बोल्दा तिनीहरूको सुनाइ हुन्छ भन्ने तिनीहरू विचार गर्दछन्।” (मत्ती ६:७) स्पष्टतः, येशूले कण्ठस्थ प्रार्थनाहरूलाई अनुमोदन दिनुभएन, नता पुस्तकबाट प्रार्थना पढ्न नै दिनुभयो। उहाँका शब्दहरूले जपमाला प्रयोग गर्ने छूट पनि दिंदैन।
क्याथोलिक धर्मग्रन्थले यो कुरा स्वीकार्छ: “उहाँलाई धन्यवाद दिन वा खाँचोमा, दुःखमा परेको बेला वा दिनहुँ उहाँको प्रशंसा गर्दा हाम्रो मनबाट स्वतः निस्किने प्रार्थना नै सर्वोत्तम हुन्छ होला।” येशू स्वयंका प्रार्थनाहरू कण्ठस्थ नभई स्वाभाविक थिए। उदाहरणका लागि, यूहन्ना अध्याय १७ मा लिपिबद्ध येशूको प्रार्थना पढ्नुहोस्। यसले यहोवाको नाउँ पवित्र गर्ने येशूको इच्छालाई जोड दिंदै नमुना प्रार्थनालाई अनुसरण गर्छ। येशूको प्रार्थना स्वाभाविक र भित्री हृदयदेखि निस्किएको थियो।
परमेश्वरले सुन्नुहुने प्रार्थनाहरू
तपाईंलाई कण्ठस्थ प्रार्थना भन्न, “सन्त” वा मूर्तिलाई प्रार्थना गर्न अथवा जपमालाजस्ता धार्मिक कुराहरू प्रयोग गरेर प्रार्थना गर्न सिकाइएको छ भने येशूले सिकाउनुभएको तरिकाअनुसार प्रार्थना गर्न सुरुमा तपाईं दुविधामा पर्न सक्नुहुन्छ। तथापि, कुञ्जी चाहिं परमेश्वरलाई अर्थात् उहाँको नाउँ, उद्देश्य र व्यक्तित्वलाई चिन्नु हो र यो तपाईंले बाइबलको विस्तृत अध्ययनद्वारा सम्पन्न गर्न सक्नुहुन्छ। (यूहन्ना १७:३) यस सन्दर्भमा यहोवाका साक्षीहरू तपाईंलाई सहयोग गर्न तयार र इच्छुक छन्। ‘यहोवा कस्तो भलो हुनुहुन्छ भनी पारख गरेर हेर्न’ तिनीहरूले विश्वभरि लाखौं व्यक्तिहरूलाई सहयोग गरेका छन्! (भजन ३४:८) परमेश्वरलाई जति बढी चिन्नुहुन्छ, त्यति नै धेरै प्रार्थनामा उहाँको प्रशंसा गर्न तपाईं प्रेरित हुनुहुनेछ। अनि यहोवाप्रति श्रद्धेय प्रार्थनाद्वारा जति नजीक हुनुहुन्छ, त्यति नै तपाईं उहाँसित घनिष्ठ हुनुहुनेछ।
तसर्थ, परमेश्वरका सबै साँचो उपासकहरूलाई “निरन्तर प्रार्थना” गरिरहन आग्रह गरिएको छ। (१ थिस्सलोनिकी ५:१७) तपाईंका प्रार्थनाहरू बाइबलका साथै येशू ख्रीष्टका निर्देशनहरूअनुरूप मेल खान्छन् कि खाँदैनन्, निश्चित गर्नुहोस्। यसप्रकार तपाईंका प्रार्थनाहरूले परमेश्वरको अनुमोदन पाउनेछ भनेर तपाईं ढुक्क हुन सक्नुहुन्छ।
[पृष्ठ ७-मा भएका चित्र]
हामीले परमेश्वरबारे जति बढी सिक्छौं, हृदयदेखि त्यति नै धेरै प्रार्थना गर्न प्रेरित हुन्छौं