यहोवाले हाम्रा दैनिक आवश्यकताहरूको प्रबन्ध गर्नुहुन्छ
“नता शङ्का गर। किनकि . . . तिमीहरूलाई यी कुराहरूको दरकार पर्छ भन्ने तिमीहरूका पिताले जान्नुहुन्छ।”—लूका १२:२९, ३०.
१. यहोवाले पशुपक्षीहरूका लागि कसरी प्रबन्ध गर्नुहुन्छ?
के तपाईंले भँगेरा वा अरू कुनै चराले जमिनमा केही टिपिरहेको देख्नुभएको छ? तपाईंले सायद त्यसले भुइँमा त्यसरी के पाउला र भनेर सोच्नुभयो होला। येशूले डाँडाको उपदेशमा बताउनुभएझैं यहोवाले चराहरूको लागि प्रबन्ध गर्नुहुने कुराबाट हामी पाठ सिक्न सक्छौं। उहाँले यसो भन्नुभयो: “आकाशका चरा-चुरुङ्गीहरूलाई हेर। तिनीहरूले नता बिउ छर्छ, न अन्न काट्छ। न भकारीहरूमा बटुल्छ, तर तिमीहरूका स्वर्गका पिताले तिनीहरूलाई खुवाउनुहुन्छ। के तिमीहरू तिनीहरूभन्दा ज्यादा श्रेष्ठ होइनौ?” (मत्ती ६:२६) यहोवाले सबै प्राणीहरूका लागि अद्भुत ढङ्गमा भोजनको प्रबन्ध गर्नुहुन्छ।—भजन १०४:१४, २१; १४७:९.
२, ३. येशूले हामीलाई दिनभरिको भोजनको निम्ति प्रार्थना गर्न सिकाउनुभएको तथ्यबाट हामी कस्ता आध्यात्मिक पाठहरू सिक्न सक्छौं?
२ त्यसोभए, येशूले आफ्नो नमुना प्रार्थनामा “हाम्रो दिनभरिको भोजन आज हामीलाई दिनुहोस्” भनेर किन बिन्ती गर्नुभयो? (मत्ती ६:११) यो सरल बिन्तीबाट गहन आध्यात्मिक पाठहरू सिक्न सकिन्छ। पहिलो, यसले यहोवा सबैभन्दा महान् प्रबन्धक हुनुहुन्छ भनेर सम्झाउँछ। (भजन १४५:१५, १६) मानिसहरूले रोप्न र गोडमेल गर्न सक्छन् तर आध्यात्मिक तथा भौतिक तवरमा बढाउने त परमेश्वर मात्रै हुनुहुन्छ। (१ कोरिन्थी ३:७) हामीले खाने र पिउने कुरा परमेश्वरबाट आएका वरदान हुन्। (प्रेरित १४:१७) हाम्रा दैनिक आवश्यकताहरू प्रबन्ध गरिदिनुहोस् भनी बिन्ती गर्दा हामी ती प्रबन्धहरूलाई हल्कासित लिंदैनौं भनेर देखाउँछौं। निस्सन्देह, त्यस्तो बिन्तीले हामीलाई यदि सक्छौं भने काम गर्नुपर्ने जिम्मेवारीबाट मुक्त गर्दैन।—एफिसी ४:२८; २ थिस्सलोनिकी ३:१०.
३ दोस्रो, “दिनभरिको भोजन” दिनुहोस् भनेर बिन्ती गर्नुले हामी भविष्यबारे अचाक्ली चिन्तित हुनुपर्दैन भनेर देखाउँछ। येशूले अझ यसो भन्नुभयो: “के खाउँला ? कि के पिऔंला ? कि के पहिरौंला ?’ भनेर फिक्री नगर, किनकि अन्यजातिहरूले मात्र यी सब थोक खोज्दछन्। किनभने तिमीहरूका स्वर्गका पिताले तिमीहरूलाई यी सबै थोकको दर्कार छ भनी जान्नुहुन्छ। तर पहिले उहाँको राज्य र उहाँको धार्मिकता खोजी गर, र यी सबै थोक तिमीहरूलाई थपिनेछन्। यसकारण भोलिको निम्ति फिक्री नगर, किनकि भोलिको दिनले आफ्नो फिक्री आफै गर्नेछ।” (मत्ती ६:३१-३४) “दिनभरिको भोजन” दिनुहोस् भन्ने प्रार्थनाले “सन्तुष्टता सहितको भक्ति” अनुरूपको सरल जीवन बिताउने नमुना बसाल्छ।—१ तिमोथी ६:६-८.
दिनहुँ आध्यात्मिक भोजन
४. येशू र इस्राएलीहरूको जीवनमा घटेका कस्ता घटनाहरूले आध्यात्मिक भोजन लिनुपर्ने महत्त्वलाई जोड दियो?
४ दिनभरिको भोजनको लागि प्रार्थना गर्दा त्यसले हामीलाई दिनहुँ आध्यात्मिक भोजनको आवश्यकताबारे पनि सम्झाउनुपर्छ। लामो समय उपवास बसेपछि येशू भोकाउनुभए तापनि ढुङ्गालाई रोटीमा परिणत गर्ने शैतानको प्रलोभनलाई विरोध गर्दै उहाँले यसो भन्नुभयो: “यस्तो लेखिएको छ, ‘मानिस भोजनले मात्र होइन, तर परमेश्वरका मुखबाट निस्केको हरेक वचनले बाँच्तछ।’ ” (मत्ती ४:४) येशूले यहाँ अगमवक्ता मोशाको कुरा उद्धरण गर्दै हुनुहुन्थ्यो, जसले इस्राएलीहरूलाई यसो भनेका थिए: “[यहोवाले] तिमीहरूलाई नम्र बनाउन भोकले पीड़ित तुल्याउनुभयो, औ तिमीहरूलाई मन्न खुवाउनुभयो, जसको बारेमा तिमीहरूका पिता-पुर्खाहरूलाई थाहै थिएन। मानिस भोजनले मात्र होइन, तर परमप्रभुको मुखबाट निस्केको प्रत्येक वचनले जिउँछ भन्ने कुरो बुझाउनलाई यसो गर्नुभएको हो।” (व्यवस्था ८:३) यहोवाले प्रबन्ध गर्नुभएको मन्नले इस्राएलीहरूलाई भौतिक आहार दिनुका साथै आध्यात्मिक पाठहरू पनि सिकायो। एउटा कुरा, तिनीहरूले आफ्नो “दिनदिनको हिस्सा” बटुल्नुपर्थ्यो। तिनीहरूले एक दिनको लागि चाहिनेभन्दा बढी बटुलेमा बाँकी सबै कीरा लागेर गन्हाउन थाल्थ्यो। (प्रस्थान १६:४, २०) यद्यपि, तिनीहरूले विश्राम दिनको लागि समेत गरी दुई गुणा जम्मा गर्नुपर्ने छैठौं दिनमा भने यस्तो भएन। (प्रस्थान १६:५, २३, २४) त्यसकारण मन्नले तिनीहरूलाई आज्ञाकारी हुनुपर्ने अनि तिनीहरूको जीवन भोजनले मात्र होइन तर “परमप्रभुको मुखबाट निस्केको प्रत्येक वचनले जिउँछ” भन्ने अमेट छाप पाऱ्यो।
५. यहोवाले हामीलाई दैनिक आध्यात्मिक भोजन कसरी प्रबन्ध गर्नुहुन्छ?
५ त्यसरी नै, यहोवाले आफ्नो पुत्रमार्फत प्रबन्ध गर्नुभएको आध्यात्मिक भोजन हामीले दिनहुँ खानुपर्छ। यही उद्देश्य अनुरूप येशूले विश्वासको घरानाको लागि “ठीक ठीक समयमा” भोजन प्रदान गर्न “विश्वासी र बुद्धिमान दास” नियुक्त गर्नुभएको छ। (मत्ती २४:४५) त्यो विश्वासी दासवर्गले बाइबल अध्ययन सहायकको रूपमा प्रचुर मात्रामा आध्यात्मिक भोजन प्रदान गर्ने मात्र होइन तर हामीलाई दिनहुँ बाइबल पढ्न पनि प्रोत्साहन दिन्छ। (यहोशू १:८; भजन १:१-३) येशूले जस्तै हामीले पनि यहोवाको इच्छाबारे सिक्न र त्यसअनुसार गर्न दिनहुँ प्रयास गरेर आध्यात्मिक आहार प्राप्त गर्न सक्छौं।—यूहन्ना ४:३४.
पापहरूको क्षमा
६. हामीले कस्ता ऋणहरूको लागि क्षमा माग्नुपर्छ अनि कस्तो सर्तमा यहोवा ती मिनाहा गर्न इच्छुक हुनुहुन्छ?
६ नमुना प्रार्थनाको अर्को बिन्ती यस प्रकार छ: “हाम्रो अपराध [“ऋण,” NW] क्षमा गर्नुहोस्, जसरी हामीले पनि आफ्ना अपराधीहरूलाई [“ऋणीहरू,” NW] क्षमा गरेका छौं।” (मत्ती ६:१२) येशूले यहाँ पैसाको ऋणबारे कुरा गरिरहनुभएको थिएन। उहाँले हाम्रा पापहरूको क्षमाबारे बताउँदै हुनुहुन्थ्यो। लूकाले लिपिबद्ध गरेको नमुना प्रार्थनामा यो बिन्ती यस प्रकार छ: “हाम्रा पाप हामीलाई क्षमा गर्नुहोस्, किनकि हामी आफै पनि हाम्रा हरेक ऋणीलाई क्षमा गर्दछौं।” (लूका ११:४) तसर्थ, हामीले पाप गर्नु भनेको हामीलाई यहोवाको ऋण लाग्नु जस्तै हो। तर हाम्रा मायालु परमेश्वर हामीले साँचो पश्चात्ताप गरेर ‘फर्केको’ अनि ख्रीष्टको छुडौतीको बलिदानमाथि विश्वासको आधारमा क्षमा मागेको खण्डमा त्यो ऋण ‘मेटाउन’ वा मिनाहा गर्न तयार हुनुहुन्छ।—प्रेरित ३:१९; १०:४३; १ तिमोथी २:५, ६.
७. हामीले किन प्रत्येक दिन प्रार्थनामा क्षमा माग्नुपर्छ?
७ अर्को दृष्टिकोणबाट हेर्ने हो भने, यहोवाको धार्मिकताको स्तरअनुसार गर्न चुक्दा हामी पाप गर्छौं। हाम्रो जन्मजात पापले गर्दा हामी बोली, काम र सोचाइमा भूल गर्छौं वा हामीले गर्नुपर्ने कुरा गर्नदेखि चुक्छौं। (उपदेशक ७:२०; रोमी ३:२३; याकूब ३:२; ४:१७) तसर्थ, हामीले दिनभरिमा पाप गऱ्यौं कि गरेनौं भनेर चाल पाएका होऔं वा नहोऔं, हामीले आफ्नो दैनिक प्रार्थनामा हाम्रा पापहरूको लागि क्षमा माग्नुपर्छ।—भजन १९:१२; ४०:१२.
८. क्षमाको लागि प्रार्थनाले हामीलाई के गर्न लगाउनुपर्छ अनि त्यसको कस्ता लाभदायक परिणाम हुन्छन्?
८ क्षमाको लागि प्रार्थना गरेपछि इमानदार भई आत्म-परीक्षण गर्नु, पश्चात्ताप गर्नु अनि ख्रीष्टले बगाउनुभएको रगतमा भएको छुडौतीको मोलमा विश्वास राख्दै पाप स्वीकार्नु आवश्यक छ। (१ यूहन्ना १:७-९) हाम्रो प्रार्थनाको निष्कपटता प्रमाणित गर्न क्षमाको लागि बिन्ती गर्दा “पश्चाताप योग्यको काम” पनि सँगसँगै हुनै पर्छ। (प्रेरित २६:२०) तब हामी हाम्रा पापहरू क्षमा गर्न यहोवाको तत्परतामा विश्वास राख्न सक्छौं। (भजन ८६:५; १०३:८-१४) फलस्वरूप अतुलनीय मनोशान्ति पाउन सक्छौं, अर्थात् “परमेश्वरको शान्ति . . . , जो सारा समझलाई माथ गर्छ” जसले “[हाम्रो] हृदय र [हाम्रो] विचारलाई येशूमा रक्षा गर्नेछ।” (फिलिप्पी ४:७) तर येशूको नमुना प्रार्थनाले क्षमा पाउनको लागि हामीले गर्नै पर्ने अरू कुराबारे सिकाउँछ।
क्षमा पाउन हामीले क्षमा गर्नै पर्छ
९, १०. (क) येशूले नमुना प्रार्थनामा कुन टिप्पणी थप्नुभयो अनि यसले कुन कुरालाई जोड दियो? (ख) हामीले क्षमा दिनुपर्ने खाँचोलाई येशूले कसरी दृष्टान्तद्वारा अझ प्रस्ट पार्नुभयो?
९ चाखलाग्दो कुरा के हो भने, नमुना प्रार्थनामा “हाम्रो अपराध [“ऋण,” NW] क्षमा गर्नुहोस्, जसरी हामीले आफ्ना अपराधीहरूलाई [“ऋणीहरू,” NW] क्षमा गरेका छौं” भन्ने बिन्तीमा मात्रै येशूले केही थप टिप्पणी गर्नुभयो। प्रार्थना टुङ्ग्याइसक्नुभएपछि येशूले अझ यसो भन्नुभयो: “किनकि तिमीहरूले मानिसहरूका कसूर क्षमा गऱ्यौ भने तिमीहरूका स्वर्गका पिताले पनि तिमीहरूलाई क्षमा गर्नुहुनेछ। तर तिमीहरूले मानिसहरूका कसूर क्षमा गरेनौ भनेता तिमीहरूका पिताले तिमीहरूका कसूर क्षमा गर्नुहुनेछैन।” (मत्ती ६:१४, १५) तसर्थ, हामीले यहोवाबाट क्षमा पाउने या नपाउने कुरा हामी अरूलाई क्षमा गर्न इच्छुक हुनु वा नहुनुमा निर्भर छ भनेर येशूले स्पष्ट पार्नुभयो।—मर्कूस ११:२५.
१० अर्को अवसरमा, हामी यहोवाबाट क्षमा पाउने अपेक्षा गर्छौं भने अरूलाई क्षमा दिनुपर्ने खाँचोबारे येशूले एउटा दृष्टान्त बताउनुभयो। उहाँले एक जना मालिकबारे बताउनुभयो जसले आफ्नो दासको ठूलो ऋण उदारचित्त भई माफी गरिदिएका थिए। पछि मालिकले त्यो दासलाई कडा सजाय दिए किनभने उसले आफ्नो सँगी दासको अत्यन्तै थोरै ऋण माफी दिन इन्कार गऱ्यो। येशूले दृष्टान्तको अन्तमा यसो भन्नुभयो: “मेरा स्वर्गको पिताले पनि, तिमीहरू हरेकले आफ्नो भाइलाई आफ्नो हृदयले माफी दिएनौ भने, तिमीहरूलाई त्यसै गर्नुहुनेछ।” (मत्ती १८:२३-३५) पाठ स्पष्ट छ: यहोवाले हामी प्रत्येकलाई क्षमा गर्नुभएको पापको ऋण, हामी विरुद्ध कसैले गरेको हुन सक्ने गल्तीभन्दा कता हो कता ठूलो छ। त्यति मात्र कहाँ हो र, यहोवाले हामीलाई दिनहुँ क्षमा गर्नुहुन्छ। त्यसकारण अरूले बेलाबखत हामी विरुद्ध गर्ने त्रुटिलाई अवश्य क्षमा दिन सकिन्छ।
११. हामी यहोवाबाट क्षमा पाउने आशा गर्छौं भने प्रेरित पावलले दिएको कुन सल्लाह पालन गर्नेछौं र कस्तो असल परिणाम पाउनेछौं?
११ प्रेरित पावलले यस्तो लेखे: “जसरी परमेश्वरले पनि ख्रीष्टमा तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरीनै एकले अर्कोलाई क्षमा गरेर तिमीहरू एक अर्कोप्रति कोमल मनको र दयालु होओ।” (एफिसी ४:३२) एक-अर्कालाई क्षमा दिंदा मसीहीहरूबीच शान्ति बढ्छ। पावलले अझ यस्तो आग्रह गरे: “परमेश्वरका चुनिएकाहरूझैं पवित्र र प्रिय, सहानुभूतिको हृदय, दया, नम्रता, विनय, सहनशीलता धारण गर। एउटाले अर्कोलाई सहेर, कुनै मानिसको विरुद्धमा केही दोषको कारण छ भने, एउटाले अर्कोलाई क्षमा गर, जसरी प्रभुले पनि तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरी तिमीहरूले पनि क्षमा गर, र यी सबै कुराहरूभन्दा बढ़ी प्रेम धारण गर, जो सिद्धताको गाँठो हो।” (कलस्सी ३:१२-१४) यी सबै कुरा येशूले हामीलाई सिकाउनुभएको प्रार्थनामा समेटिएको छ: “हाम्रो अपराध [“ऋण,” NW] क्षमा गर्नुहोस्, जसरी हामीले पनि आफ्ना अपराधीहरूलाई [“ऋणीहरू,” NW] क्षमा गरेका छौं।”
परीक्षामा पर्दा सुरक्षा
१२, १३. (क) नमुना प्रार्थनाको अर्को बिन्तीको अर्थ के हुन सक्दैन? (ख) महाप्रलोभक को हो र परीक्षामा नपार्नुहोस् भन्ने हाम्रो प्रार्थनाको अर्थ के हो?
१२ येशूको नमुना प्रार्थनामा अर्को बिन्ती यस्तो छ: “हामीलाई परीक्षामा नल्याउनुहोस्।” (मत्ती ६:१३) के येशूले यहाँ हामीलाई परीक्षा अथवा प्रलोभनमा नपार्नुहोस् भनेर यहोवालाई बिन्ती गर्नुपर्छ भन्न खोजिरहनु भएको थियो? यसो हुन सक्दैन किनभने चेला याकूब यस्तो लेख्न प्रेरित भए: “परीक्षामा पर्दा कुनै मानिसले पनि यसो नभनोस्, ‘परमेश्वरबाट मेरो परीक्षा भएको छ,’ किनभने कुनै खराब कुराबाट परमेश्वरको परीक्षा हुनसक्तैन, औ उहाँ आफैले कुनै मानिसको परीक्षा गर्नुहुन्न।” (याकूब १:१३) यसबाहेक भजन रचयिताले यस्तो लेखे: “हे परमप्रभु, तपाईंले अधर्मको लेखा दिनुभयो भनेता हे परमप्रभु, को खडा हुनसक्छ र?” (भजन १३०:३) यहोवाले हाम्रो एक-एक गल्ती कोट्याउनुहुन्न अनि उहाँले पक्कै पनि हामीलाई छिर्की लगाउनुहुन्न। त्यसोभए नमुना प्रार्थनाको यो भागको अर्थ के हो?
१३ हामीलाई छिर्की लगाउन खोज्ने, धूर्त युक्तिहरूद्वारा हामीलाई ढाल्ने अनि निल्न समेत खोज्ने शैतान अर्थात् दियाबल हो। (एफिसी ६:११) त्यो महाप्रलोभक हो। (१ थिस्सलोनिकी ३:५) परीक्षामा नपार्नुहोस् भनी प्रार्थना गर्दा हामीले परीक्षामा पर्दा ढल्न नदिनुहोस् भनी यहोवालाई बिन्ती गरिरहेका हुन्छौं। हामीलाई त्यसका “केही दाउ नलागोस्,” परीक्षामा नपरौं भनेर मदत मागिरहेका हुन्छौं। (२ कोरिन्थी २:११) हामी “सर्वशक्तिमानको छत्र छायामनि” रहिरहेर आफ्नो सबै कुरामा यहोवाको सार्वभौमिकता स्वीकार्नेहरूलाई दिइने आध्यात्मिक सुरक्षाको लागि प्रार्थना गरिरहेका हुन्छौं।—भजन ९१:१-३.
१४. परीक्षामा पर्दा यहोवाको मुख ताक्यौं भने उहाँले हामीलाई त्याग्नुहुनेछैन भनेर प्रेरित पावलले कसरी आश्वासन दिन्छन्?
१४ हामीले त्यस्तो निष्कपट इच्छा प्रार्थनामा व्यक्त गरेर व्यवहारमा उतारेका छौं भने यहोवाले हामीलाई कहिल्यै त्याग्नुहुनेछैन भनेर ढुक्क हुन सक्छौं। प्रेरित पावल हामीलाई यस्तो आश्वासन दिन्छन्: “मानिसले सहनसक्ने किसिमको बाहेक अरू परीक्षामा तिमीहरू परेका छैनौ, तर परमेश्वर विश्वासयोग्य हुनुहुन्छ, जसले तिमीहरूलाई तिमीहरूका शक्तिदेखि बाहिरको परीक्षामा पर्न दिनुहुनेछैन, तर तिमीहरूले सहनसकोस् भनेर परीक्षाको साथसाथै उम्कने बाटो पनि दिनुहुन्छ।”—१ कोरिन्थी १०:१३.
“दुष्टबाट छुटाउनुहोस्”
१५. दुष्टबाट छुटाउनुहोस् भनेर प्रार्थना गर्नु अहिले किन झनै महत्त्वपूर्ण भएको छ?
१५ मसीही युनानी धर्मशास्त्रको सबैभन्दा भरपर्दो पाण्डुलिपिअनुसार येशूको नमुना प्रार्थनाको अन्तमा यसो भनिएको छ: “हामीलाई दुष्टबाट छुटाउनुहोस्।”a (मत्ती ६:१३) अन्तको समयमा दियाबलबाट सुरक्षा झनै आवश्यक छ। शैतान र त्यसका प्रेतहरूले ‘परमेश्वरको आज्ञा पालन गर्ने र येशूको साक्षी दिने’ अभिषिक्त शेष जन अनि “ठूलो भीड[का]” सँगीहरूसित लडाइँ गर्दैछन्। (प्रकाश ७:९; १२:९, १७) प्रेरित पत्रुसले मसीहीहरूलाई यस्तो सल्लाह दिए: “सचेत रहो, जागा रहो, तिमीहरूको विरोधी शैतान, कसलाई भेट्टाऊँ र निलिहालूँ भनेर गर्जने सिंहझैं खोजेर हिंड्छ। तिमीहरू आफ्नो विश्वासमा दह्रो” होओ। (१ पत्रुस ५:८, ९) शैतान हाम्रो साक्षीकार्य बन्द गर्न चाहन्छ अनि पृथ्वीमा भएका त्यसका कर्ताहरू मार्फत—धार्मिक, आर्थिक वा राजनैतिक चाहे जेसुकै होस्—त्यसले हामीलाई धम्क्याउन खोज्छ। तथापि, हामी दृढ रह्यौं भने यहोवाले हामीलाई बचाउनुहुनेछ। चेला याकूबले यस्तो लेखे: “यसकारण परमेश्वरको अधीनमा बस, शैतानको विरोध गर, अनि त्यो तिमीहरूबाट भाग्नेछ।”—याकूब ४:७.
१६. परीक्षामा परेका आफ्ना सेवकहरूलाई मदत गर्न यहोवासित कस्तो माध्यम उपलब्ध छ?
१६ यहोवाले आफ्नो पुत्रलाई परीक्षामा पर्न दिनुभयो। तर येशूले सुरक्षाको लागि परमेश्वरको वचन चलाएर दियाबलको विरोध गर्नुभएपछि यहोवाले उहाँलाई बल प्रदान गर्न स्वर्गदूतहरू पठाउनुभयो। (मत्ती ४:१-११) त्यसरी नै, हामीले विश्वास गरेर प्रार्थना गऱ्यौं अनि उहाँलाई हाम्रो शरण बनायौं भने यहोवाले हामीलाई मदत गर्न स्वर्गदूतहरू चलाउनुहुन्छ। (भजन ३४:७; ९१:९-११) प्रेरित पत्रुसले यस्तो लेखे: “भक्तहरूलाई परीक्षाबाट बचाउन र अभक्तहरूलाई इन्साफको दिनसम्म सजायमा राख्न प्रभु जान्नुहुन्छ।”—२ पत्रुस २:९.
पूर्ण छुटकारा नजिकै छ
१७. हामीलाई नमुना प्रार्थना सिकाउनुभएर येशूले कसरी महत्त्वपूर्ण कुराहरूलाई त्यसको सही स्थानमा राख्नुभयो?
१७ नमुना प्रार्थनामा येशूले महत्त्वपूर्ण कुराहरूलाई त्यसको सही स्थानमा राख्नुहुन्छ। हाम्रो प्रमुख चासो भनेको यहोवाको महान् तथा पवित्र नाउँको पवित्रीकरण हुनुपर्छ। यो पूरा गर्ने माध्यम मसीही राज्य भएको हुँदा हामी यो राज्य आओस् र सम्पूर्ण असिद्ध मानव राज्य वा सरकारको विनाश होस् अनि परमेश्वरको इच्छा स्वर्गमा झैं यस पृथ्वीमा पूरा होस् भनेर प्रार्थना गर्छौं। यहोवाको नाउँ पवित्र पार्नु र ब्रह्माण्डका सबैले उहाँको धार्मिक सार्वभौमिकता मानिलिनुमा पार्थिव प्रमोदवनमा अनन्त जीवन पाउने हाम्रो आशा निर्भर छ। यी सर्वमहत्त्वपूर्ण कुराहरूका लागि प्रार्थना गरिसकेपछि हामीले हाम्रा दैनिक आवश्यकताहरू, हाम्रो पापको क्षमा र त्यो दुष्ट शैतान अर्थात् दियाबलको परीक्षाहरू तथा धूर्तताबाट छुटकाराको लागि प्रार्थना गर्न सक्छौं।
१८, १९. येशूको नमुना प्रार्थनाले हामीलाई चनाखो रहन र हाम्रो आशालाई ‘अन्तसम्मै थामिराख्न’ कसरी मदत गर्छ?
१८ त्यो दुष्ट र त्यसको भ्रष्ट रीतिरिवाजबाट पूर्ण छुटकारा नजिकै छ। पृथ्वीमा, विशेष गरी यहोवाका विश्वासी सेवकहरूमाथि “ठूलो क्रोध” पोखाउन आफ्नो “अल्प समय” मात्र छ भनेर शैतानलाई राम्ररी थाह छ। (प्रकाश १२:१२, १७) “जगत्को अन्तको” संयुक्त चिह्नमा येशूले रोमाञ्चकारी घटनाहरूबारे भविष्यवाणी गर्नुभयो र त्यसमध्ये कुनै-कुनै भविष्यमा हुन बाँकी नै छन्। (मत्ती २४:३, २९-३१) यी घटनाहरू भएको देख्दा छुटकाराको लागि हाम्रो आशा अझ चहकिलो हुनेछ। येशूले यसो भन्नुभयो: “जब यी कुरा हुनेछन् तब शिर उठाएर माथि हेर, किनभने तिमीहरूको छुटकारा नजीकै आएको हुनेछ।”—लूका २१:२५-२८.
१९ येशूले आफ्ना चेलाहरूलाई दिनुभएको संक्षिप्त नमुना प्रार्थनाले अन्त नजिकिंदै जाँदा हाम्रो प्रार्थनामा कुन-कुन कुरा समावेश गर्नुपर्छ भनेर भरपर्दो निर्देशन दिन्छ। यहोवाले हाम्रा आध्यात्मिक तथा भौतिक दुवै, दैनिक आवश्यकताहरू प्रबन्ध गरिरहनुहुनेछ भनेर हामी अन्तसम्मै विश्वस्त रहन सकौं। हामी प्रार्थनामा चनाखो रह्यौं भने “हामीले शुरूको विश्वासलाई अन्तसम्मै” थामिराख्न मदत पाउनेछौं।—हिब्रू ३:१४; १ पत्रुस ४:७.
[फुटनोट]
a कुनै-कुनै पुराना बाइबलहरू, जस्तै अंग्रेजी भाषाको किङ जेम्स भर्सन-को अन्तमा डक्सोलजी (परमेश्वरको प्रशंसा गर्ने अभिव्यक्ति) प्रयोग गरेर टुङ्ग्याइएको छ: “किनभने राज्य, पराक्रम र महिमा सदा सर्वदा तपाईंकै हुन्, आमिन।” द जेरोम बिब्लिकल कमेन्टरी (अंग्रेजी) यसो भन्छ: “प्रशंसा अभिव्यक्ति . . . सबैभन्दा भरपर्दो [पाण्डुलिपिमा] पाइँदैन।”
पुनरावृत्ति गर्दा
• “दिनभरिको भोजन” दिनुहोस् भनेर बिन्ती गर्नुको अर्थ के हो?
• “हाम्रो अपराध [“ऋण,” NW] क्षमा गर्नुहोस्, जसरी हामीले पनि आफ्ना अपराधीहरूलाई [“ऋणीहरू,” NW] क्षमा गरेका छौं” भनेर प्रार्थना गर्नुको अर्थ के हो?
• हामीलाई परीक्षामा नपार्नुहोस् भनेर यहोवालाई बिन्ती गर्नुको अर्थ के हो?
• हामीलाई “दुष्टबाट छुटाउनुहोस्” भनेर हामीले किन प्रार्थना गर्नुपर्छ?
[पृष्ठ १५-मा भएका चित्रहरू]
हामी क्षमा चाहन्छौं भने हामीले अरूलाई क्षमा गर्नै पर्छ
[पृष्ठ १३-मा भएको चित्रको स्रोत]
Lydekker