थोरै स्वतन्त्रता भएको चौडा बाटो
बुबा, आमा र सानी छोरी गरी जम्मा तीन सदस्य भएको सानो परिवार अस्ट्रेलियाको सिड्नीमा बस्थे। अचानक एक दिन तिनीहरूको घरमा आगलागी भयो। तिनीहरू झ्यालबाट बाहिर फुत्कन खोजे तर सकेनन्। किनभने झ्यालमा फलामे डण्डीको छेकबार लगाएको रहेछ। वारुणयान्त्रीहरूले पनि तिनीहरूलाई बचाउन सकेनन्। आगो र धुवाँले गर्दा आमा र बुबाको ज्यान गयो। सानी छोरी चाहिं पछि अस्पतालमा मरिन्।
आफ्नो सुरक्षाको निम्ति राखेको साधनले आफ्नै ज्यान लिनु कति दुःखलाग्दो कुरा! आफ्नो घरको सुरक्षाको निम्ति फलामे डण्डी र बलिया बलिया ताला लगाउन पल्किने थुप्रै मानिसहरूले यो दुःखदायी घटनाबाट केही सिकून्। आजकल हाम्रो टोलछिमेकका थुप्रै मानिसहरूले घर र सम्पत्तिलाई घेरेर किल्लाजस्तो बनाउन थालेका छन्। किन? किनभने तिनीहरू सुरक्षा चाहन्छन्, मनोशान्ति चाहन्छन्। तर “स्वतन्त्र” समाजमा आफ्नै घरको चारकिल्लाभित्र कैदीजस्तो बसेपछि मात्र सुरक्षित महसुस गर्नु के साह्रै हतोत्साही कुरा होइन र! धेरै टोलहरूमा अभिभावक वा कुनै वयस्क व्यक्तिको हेरचाहबिना केटाकेटीहरूलाई घर नजीकैको पार्कमा खेल्न वा विद्यालयमा पठाउन समेत डरलाग्दो भइसक्यो। बिहानीको शीत विलाएजस्तै जीवनका अधिकांश क्षेत्रहरूबाट स्वतन्त्रता विलीन भइरहेको छ।
परिवर्तित जीवनपद्धति
हाम्रो बाजेबज्यैको समय अर्कै थियो। केटाकेटी छँदा उहाँहरू आफूलाई मन परेको ठाउँमा कुनै डरबिना खेल्न सक्नुहुन्थ्यो। वयस्क हुँदा उहाँहरूले घरमा ताला र फलामे बारहरू लगाउनु आवश्यक ठान्नुभएन। उहाँहरू स्वतन्त्र महसुस गर्नुहुन्थ्यो र केही हदसम्म साँच्चै नै स्वतन्त्र पनि हुनुहुन्थ्यो। तर उहाँहरूले आफ्नै जीवनकालभित्र मानव समाजको प्रवृत्ति परिवर्तन भएको देख्नुभएको छ। मानिसहरू भावशून्य भए, अझ स्वार्थी भए; अधिकांश ठाउँहरूमा छिमेकीहरूसित माया गर्नु होइन अब डराउनु परेको छ। फलस्वरूप, माथि उल्लिखित कारुणिक घटना भइरहन्छ। तर स्वतन्त्रता सँगसँगै आजकल नैतिक मूल्य तथा मान्यता पनि झन् झन् पतित भइरहेको छ। मानव समाज “नयाँ नैतिकताले” लट्ठ छ तर वास्तवमा परिस्थिति कतिसम्म नाजुक छ भने अब नैतिकता भन्ने कुरा नै कतै देख्न नपाइने भइसक्यो।
क्विन्सल्यान्ड विश्वविद्यालयका शिक्षासम्बन्धी भूतपूर्व प्राध्यापक डा. रूपर्ट गुडम्यान लेख्छन्: “जवान मानिसहरू अहिले विलासी वातावरणमा हुर्कंदैछन्, जहाँ सबै कुरा ‘आत्म’ केन्द्रित छ। उदाहरणको लागि, आत्मविलासी, आत्मचेतना, आत्मसन्तुष्टि, आत्मस्वार्थ।” तिनी अझ के भन्छन् भने, “आत्मसंयम, आत्मत्याग, मेहनत, वचत, अख्तियारप्रतिको आदर, आमाबाबुप्रतिको प्रेम तथा सम्मानजस्ता नैतिक मूल्य तथा मान्यताहरू हराइसके।”
साँच्चै नै चौडा बाटो
तर बाइबलको भविष्यवाणीसित परिचित हुने मानिसहरूलाई अवश्य यस्तो व्यापक आत्मकेन्द्रित मनोवृत्ति देखेर अचम्म लाग्दैन। किनभने येशू ख्रीष्टले आफ्ना श्रोताहरूलाई पहिल्यै यस्तो चेताउनी दिनुभएको थियो: “विनाशमा पुऱ्याउने ढोका फराकिलो र बाटो चौडा हुन्छ, र यसबाट भित्र पस्नेहरू धेरै हुन्छन्। किनभने त्यो ढोका साँघुरो हुन्छ, औ त्यो बाटो असजिलो हुन्छ, जसले चाहिं जीवनमा पुऱ्याउँछ, र त्यो भेट्टाउने थोरै हुन्छन्।” (मत्ती ७:१३, १४) पहिलो बाटो थुप्रै यात्रुहरू हिंड्न मिल्ने अनि “चौडा” छ। नैतिकता तथा हाम्रो दिनचर्यालाई नियन्त्रण गर्ने बाइबलीय सिद्धान्तहरूले त्यो बाटोका बटुवाहरूमाथि रोक लगाएको हुँदैन। कुनै नियम, प्रतिबद्धताबिना आफूलाई मनलागेअनुसार सोच्न र बाँच्न चाहनेहरूको निम्ति त्यो बाटो रहरलाग्दो छ।
हो, चौडा बाटोमा हिंड्न मन पराउने अधिकांश मानिसहरू आफूले स्वतन्त्रता पाएको दाबी गर्छन्। तर तिनीहरूमध्ये प्रायजसो सबै जना व्यापक स्वार्थी मनोवृत्तिले उत्प्रेरित हुन्छन्। बाइबलअनुसार तिनीहरू “अनाज्ञाकारिताका सन्तानमा काम गर्ने आत्मा[द्वारा]” नियन्त्रित हुन्छन्। चाहे अनैतिकता, दुर्व्यसन, धन, प्रतिष्ठा वा शक्ति प्राप्त गर्न मरिमेट्ने प्रवृत्ति नै किन नहोस्, त्यस्तो आत्माले तिनीहरूलाई “शरीर[को] . . . इच्छा पूरा गरेर आफ्नै शरीरको लालसामा” जीवन बिताउन उत्प्रेरित गर्छ।—एफिसी २:२, ३.
चौडा बाटोले विनाशतर्फ लैजान्छ
यहाँ याद गर्नुपर्ने कुरा के छ भने, चौडा बाटोमा हिंड्ने मानिसहरू “आफ्नै शरीरको लालसा” पूरा गर्न उत्प्रेरित हुन्छन्। त्यसले यो देखाउँछ, तिनीहरू वास्तवमा स्वतन्त्र छैनन्—तिनीहरूको मालिक छ। र त्यो मालिक हो शरीर। यो मालिकको सेवा गर्दा थुप्रै समस्याहरू उत्पन्न हुनसक्छन्। यौनजन्य रोगहरूको बिगबिगी, टुक्रिएका परिवारहरू, मदिरा तथा नशालु पदार्थले विकृत भएका शरीर तथा मन त्यसका नतिजाहरूमध्ये केही हुन्। वास्तवमा हिंसा, चोरी र बलात्कारजस्ता अपराधहरूले समेत यही चौडा अनि छाडा बाटोमा फस्टाउने आत्मकेन्द्रित सोचाइमाथि जरो गाडेको हुन्छ। “विनाशमा पुऱ्याउने . . . [यो] बाटो” खुला रहुञ्जेल यसका फलहरू झन् झन् कष्टप्रद हुँदै जानेछन्।—हितोपदेश १:२२, २३; गलाती ५:१९-२१; ६:७.
उदाहरणस्वरूप, अस्ट्रेलियाका यथार्थ घटनाहरूलाई विचार गर्नुहोस्। क्षणिक आनन्दको प्रलोभनमा परेर मेरी दुर्व्यसन अनि अनैतिकतामा फँसिन्।a तर आफूले खोजेको आनन्द कतै पाइनन्। दुइ सन्तानको बावजूद तिनी नीरस महसुस गर्थिन्। पछि आफू एड्सग्रस्त भएको कुरा थाह पाउँदा तिनी आफ्नै नजरबाट झरिन्।
टमलाई चाहिं अरू नै कुराले चोट पुऱ्याएको थियो। “म उत्तरी क्विन्सल्यान्डमा चर्चका मिसनरीहरू बसोबास गर्ने ठाउँमा हुर्कें,” तिनी लेख्छन्। “सोऱ्ह वर्षको उमेरदेखि मैले अचाक्ली पिउन थालें। मेरो बुबा, काका र मित्रहरू पनि अचाक्ली पिउने गर्थे। अतः त्यसरी अचाक्ली पिउनु मलाई स्वाभाविक लाग्थ्यो। समय बित्दै जाँदा म कुन हदसम्म पिउने भएँ भने, बियरदेखि लिएर मिथाइल स्पिरिट, जे पनि पिउँथे। मैले घोडदौडहरूमा बाजी लगाउन थालें, कहिलेकाहीं आफूले मेहनत गरेर कमाएको सबै पैसा हार्थें। त्यो चानचुने पैसा थिएन, किनभने उखु काट्ने काममा मैले राम्रो ज्याला पाउँथे।
“त्यसपछि मैले विवाह गरें र हाम्रो सन्तान भयो। तर आफ्ना जिम्मेवारीहरू पूरा गर्नुको सट्टा मैले साथीहरूको अनुकरण गरें। म तिनीहरूजस्तै पिउँथे, जुवा खेल्थें अनि झगडा गर्थें। म निकै चोटि स्थानीय झ्यालखानामा थुनिएँ। तर म सुध्रिनँ। मेरो जीवन एक किसिमले ओरालो लाग्दैथियो। पूरै जीवन अस्तव्यस्त थियो।”
हो, खराब इच्छाहरू पूरा गरेर टम र मेरीले चोट पुऱ्याए त केवल आफू र आफ्नो परिवारलाई। अझ दुःखलाग्दो कुरा त के छ भने, अरू थुप्रै जवान मानिसहरू अहिले त्यही चौडा बाटोमा पाइने स्वेच्छाचारी तथा पथभ्रष्ट स्वतन्त्रताको आत्माले भर्मिंदैछन्। यी जवानहरूले यस्तो स्वतन्त्रताको छली रूपलाई बुझ्न सके कति असल हुने थियो। चौडा बाटोका वास्तविकताहरू र त्यसका बटुवाहरूले अन्ततः भोग्नुपर्ने तिता नतिजाहरू तिनीहरूले देख्नसके कति राम्रो हुने थियो। हो, बाटो चौडा भएकोले पस्न सजिलो छ। तर त्यसको चौडापन नै त्यसको अभिशाप हो। त्यसकारण, “जसले आफ्नै शरीरको लागि रोप्तछ, त्यसले शरीरैबाट विनाशको कटनी गर्नेछ,” भन्ने अकाट्य तथ्यलाई मानि लिनु नै बुद्धिमानी हुनेछ।—गलाती ६:८.
तथापि, हामी सबैले छान्नसक्ने राम्रो बाटो पनि छ। त्यो हो, साँघुरो बाटो। त्यसोभए यो बाटो कत्तिको कडा, कतिको साँघुरो र अप्ठ्यारो छ त? र त्यसले कता पुऱ्याउँछ?
[फुटनोट]
a नाउँहरू परिवर्तन गरिएका छन्।