स्वतन्त्रतातर्फ लैजाने साँघुरो बाटो
हाम्रो ब्रम्हाण्ड प्राकृतिक नियमहरूद्वारा नियन्त्रित छ भन्ने कुरा इन्कार गर्ने विचारशील मानिसहरू कमै होलान्। सानो परमाणुदेखि लिएर खरबौं ताराहरू भएको विशाल तारापुञ्जलाई समेत यी नियमहरूले नियन्त्रण गर्छ। त्यस्ता नियमहरू नभएका भए, कुनै योजना बनाउन वा बुझ्न त के, जीवन भन्ने कुरा नै हुने थिएन। प्राकृतिक नियमहरूलाई बुझेर, त्यसलाई प्रयोगमा ल्याएर मानिसहरूले आश्चर्यजनक कामहरू गर्न सकेका छन्। चन्द्रमामा हिंड्न सकेका छन्, पृथ्वी पल्लो छेउदेखि वा अझ भनौं भने पृथ्वीको वायुमण्डल बाहिरदेखि हाम्रो घरको टेलिभिजनको पर्दासम्म रंगीन चित्रहरू प्रसारण गर्न सकेका छन्।
तर नैतिक नियमहरूबारे के भन्न सकिन्छ? के ती नियमहरू पालन गर्नु त्यतिकै लाभदायी अनि फलदायी छ? अधिकांश मानिसहरू कुनै नैतिक नियम नभएको महसुस गर्छन् र आफ्नो इच्छाअनुसार छाडा दर्शन वा धर्म स्वीकार्छन्।
यद्यपि, त्यस्ता मानिसहरू पनि छन् जो बाइबलमा बताइएको ‘जीवनतर्फ लैजाने साँघुरो बाटोमा’ हिंड्न रुचाउँछन्। तर थोरै मानिसहरूले मात्र त्यस्तो छनौट गरेकोमा हामीले अचम्म मान्नु पर्दैन, किनभने येशूले त्यस साँघुरो बाटोबारे यसो भन्नुभयो: “त्यो भेट्टाउने थोरै हुन्छ।” (मत्ती ७:१४) किन थोरै?
किनभने साँघुरो बाटो परमेश्वरका नियम तथा सिद्धान्तहरूद्वारा नियन्त्रित हुन्छ। परमेश्वरको स्तरबमोजिम जीवन बिताउन चाहने निष्कपट मानिसहरूलाई मात्र त्यो बाटो रहरलाग्दो हुनसक्छ। स्वतन्त्रताको छायाँ देखाएर दासत्वमा पार्ने चौडा बाटोको विपरीत साँघुरो बाटो हेर्नमा ज्यादै रोकटोक भएको जस्तो लाग्ला तर त्यसले हर महत्त्वपूर्ण पक्षमा मानिसलाई स्वतन्त्र बनाउँछ। त्यसका सिमानाहरू “स्वतंत्रताको सिद्ध व्यवस्था[द्वारा]” निर्धारित छन्।—याकूब १:२५.
साँघुरो बाटोले कसरी स्वतन्त्र बनाउँछ
हो, साँघुरो बाटोमा हिंड्नु सधैं सजिलो हुँदैन। सबैले असिद्धता र खराब कामप्रति जन्मजात झुकाव लिएर आएको हुन्छ। त्यसैकारण केही क्षण साँघुरो बाटो छोडेर अन्तै जान मन लाग्ला। तर ‘साँघुरो बाटोमा’ मात्र हिंडिरहँदा हुने लाभहरूलाई विचार गऱ्यौं भने जतिसुकै आत्मसंयम वा काँटछाँट गर्नु परे तापनि त्यसो गर्नु गाह्रो लाग्नेछैन। किनभने परमेश्वरले ‘हाम्रो फाइदाको निम्ति हामीलाई सिकाउनुहुन्छ।’—यशैया ४८:१७; रोमी ३:२३.
उदाहरणको लागि: विवेकी आमाबाबुले आफ्ना छोराछोरीहरूले खान हुने र ‘नहुने कुराहरू नियन्त्रण’ गर्लान्। फलतः खाने बेला कहिलेकाहीं कडिकडाउ पनि गर्नुपर्ला। तर छोराछोरीहरू हुर्केपछि तिनीहरूले आमाबाबुले दिएको मायालु अनुशासनको मूल्यांकन गर्नेछन्। वयस्क भएपछि तिनीहरूले स्वस्थ भोजन खान सिकिसकेका हुन्छन्। र विभिन्न प्रकारका पोषक भोजनहरू उपलब्ध भएकोले तिनीहरूले आफू प्रतिबन्धित हुनुपरेको महसुस पनि गर्नेछैनन्।
जीवनतर्फ लैजाने साँघुरो बाटोमा हिंड्ने मानिसहरूलाई पनि परमेश्वरले आध्यात्मिक तवरमा त्यसै गर्नुहुन्छ। उहाँले नम्र मानिसहरूको हृदयमा आनन्द तथा साँचो स्वतन्त्रतातर्फ लैजाने इच्छाहरू बढाउनुहुन्छ। यो काम उहाँले आफ्नो वचन, बाइबलद्वारा गर्नुहुन्छ। यसबाहेक उहाँले हामीलाई परमेश्वरको पवित्र आत्माको लागि प्रार्थना गर्ने निमन्त्रणाका साथै साँघुरो बाटोमा हिंड्न प्रोत्साहन दिने संगी मसीहीहरूसँग संगत गर्ने आज्ञा दिनुहुन्छ। (हिब्रू १०:२४, २५) हो, परमेश्वर प्रेम हुनुहुन्छ र उहाँका उद्देश्य तथा तरिकाहरूमा यही मुख्य गुन लुकेको हुन्छ।—१ यूहन्ना ४:८.
प्रेम, शान्ति, भलाइ, आत्मसंयम र परमेश्वरको आत्माका फलहरू फलाउँदै जाँदा साँघुरो बाटोमा त्यति प्रतिबन्ध भएको जस्तो लाग्दैन। किनभने शास्त्रअनुसार “यस्ताका विरुद्धमा कुनै व्यवस्था छैन।” (गलाती ५:२२, २३) “जहाँ प्रभुका आत्मा हुन्छ, त्यहाँ स्वतन्त्रता हुन्छ।” (२ कोरिन्थी ३:१७) असली मसीहीहरूले अहिले पनि यो स्वतन्त्रता चाखिरहेका छन्। भविष्यको डर र मृत्युप्रतिको अन्धविश्वासी डरजस्ता आज मानिसहरूलाई पिरोल्ने डरहरूदेखि तिनीहरू स्वतन्त्र छन्। साथै भविष्यमा “समुद्र पानीले भरिएझैं पृथ्वी परमप्रभुको ज्ञानले भरिपूर्ण हुनेछ” भनी सोच्नु मात्र पनि कति रोमाञ्चकारी छ! (यशैया ११:९) तत्पश्चात् अपराधको डरसमेत हुनेछैन। ताला र छेकबारहरू कहिल्यै लगाउनु पर्नेछैन। दिन होस् वा रात, घरभित्र होस् वा बाहिर, सबैले स्वतन्त्र र सुरक्षित महसुस गर्नेछन्। अवश्य, त्यो चाहिं साँच्चै नै स्वतन्त्रता हुनेछ!
हामीसित ईश्वरीय मदतको आश्वासन छ
हो, परमेश्वरका स्तरहरूबमोजिम चल्न प्रयत्न गर्नुपर्छ तर असिद्ध मानिसहरूका लागि समेत “उहाँका आज्ञाहरू कड़ा छैनन्।” (१ यूहन्ना ५:३) साँघुरो बाटोमा हिंड्न आफूमा परिवर्तन गर्दै अनि साँघुरो बाटोका फाइदाहरू अनुभव गर्दै जाँदा चौडा बाटोमा हिंड्ने बटुवाहरूको तौरतरिका तथा सोचाइप्रति हाम्रो अरुचि झन् झन् बढ्दै जान्छ। (भजन ९७:१०) हाम्रो ईश्वरप्रदत्त अन्तस्करणलाई परमेश्वरका नियमहरू मन पर्न थाल्छ। धेरै मानिसहरूले भोगिरहेको असह्य “चोट” र “निरुत्साह[को]” सट्टा परमेश्वर यस्तो प्रतिज्ञा गर्नुहुन्छ: “हेर, मेरा दासहरू हृदयमा आनन्द भएकोले गाउनेछन्।” हो, यहोवाद्वारा प्रशिक्षित हृदय आनन्दित र स्वतन्त्र हुन्छ।—यशैया ६५:१४.
हामीले साँचो स्वतन्त्रता पाउन सकोस् भनेर येशू मर्नुभयो। यसबारे बाइबल यसो भन्छ: “परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनुभयो, उहाँमाथि विश्वास गर्ने प्रत्येक नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्।” (यूहन्ना ३:१६) अहिले परमेश्वरको स्वर्गीय राज्यमा राज गरिरहनुभएको येशूले आफ्नो बलिदानका लाभहरू परिचालन गर्दैहुनुहुन्छ। चाँडै नै “महा संकष्ट” आएपछि चौडा बाटो र त्यसका बटुवाहरू नष्ट हुनेछन्। तत्पश्चात् उहाँले आज्ञाकारी मानवजातिलाई धैर्यतापूर्वक साँघुरो बाटोको गन्तव्य अर्थात् मानव सिद्धतासम्म डोऱ्याउनुहुनेछ। (प्रकाश ७:१४-१७; मत्ती २४:२१, २९-३१) अन्ततः हामीले यो महान् प्रतिज्ञाको पूर्ति अनुभव गर्नेछौं: “परमेश्वरको सन्तानको महिमाको स्वतन्त्रतामा सृष्टि आफैले पनि विनाशको बन्धनबाट छुटकारा पाउनेछ।” यो ईश्वरप्रदत्त स्वतन्त्रताभन्दा ठूलो स्वतन्त्रता अरू हुनै सक्दैन। किनभने मृत्युसमेत हटाइनेछ।—रोमी ८:२१; प्रकाश २१:३, ४.
साँघुरो बाटोले कहाँ पुऱ्याउँछ, त्यो राम्ररी जाँच्यो र बुझ्यो भने जो कसैले पनि त्यो बाटोलाई छानेर त्यसैमा हिंडिरहन सक्नेछ। अझ विशेषगरि जवानहरूले त्यसो गर्दा दूरदर्शी हुन र अक्सर जवानहरूले सोच्ने गरेजस्तो परमेश्वरका स्तरहरूलाई प्रतिबन्ध नठान्न मदत पाउँछन्। साथै तिनीहरूले त्यसलाई परमेश्वरको प्रेमको प्रमाण र चौडा बाटोका हानिकारक कुराहरूसित बच्ने सुरक्षा सम्झन सिक्छन्। (हिब्रू १२:५, ६) निस्सन्देह, यस्तो नतिजा प्राप्त गर्ने हो भने संयमी हुनुका साथै ईश्वरीय गुन तथा इच्छाहरू खेती गर्न समय लाग्छ भनेर मनमा राख्नुपर्छ। किनभने फलफूलको रूखलाई पनि त असल फल फलाउन समय लाग्छ। तर रूखलाई मलजल दिएको छ भने त्यसले अवश्य फल फलाउँछ।
त्यसकारण, परमेश्वरको वचन अध्ययन गर्नुहोस्, अरू मसीहीहरूसित संगत गर्नुहोस्, साथै पवित्र आत्माको लागि “निरन्तर प्रार्थना” गरिरहनुहोस्। (१ थिस्सलोनिकी ५:१७) परमेश्वरले तपाईंका “बाटोहरू सुगम तुल्याइदिनुहुनेछ” भनी भरोसा गर्नुहोस्। (हितोपदेश ३:५, ६) तर के यी सबै कुरा व्यवहारिक छन् त? के त्यसले साँच्चै नै फाइदा गर्न सक्छ र? अवश्य सक्छ। अघिल्लो लेखमा उल्लिखित टम तथा मेरीलाई त्यसले फाइदा नै गऱ्यो।
तिनीहरू चौडा बाटोमा हिंड्न छाडे
टम लेख्छन्: “सत्तरी दशकको मध्यतिर हाम्रो घरमा यहोवाका साक्षी आएपछि हामी साक्षीहरूको सम्पर्कमा आयौं। छलफल गर्दागर्दै बाइबल अध्ययन पनि सुरु गऱ्यौं। त्यसपछि मैले क्रमशः आफ्नो जीवनमा सुधार गरें। मैले सन् १९८२ मा बप्तिस्मा लिएँ र अहिले म स्थानीय मण्डलीमा सेवा गर्दैछु। हाम्रो छोराले पनि बप्तिस्मा लिइसक्यो। मैले सच्चाइ सिक्नुअघि त्यति लामो समयसम्म सहनशीलता देखाएकीमा म मेरी पत्नीप्रति कृतज्ञ छु। र अझ त्योभन्दा धेरै यहोवा र उहाँको पुत्र, ख्रीष्ट येशूप्रति कृतज्ञ छु। किनभने भविष्यको आशालगायत उहाँहरूले हामीलाई अहिलेसम्म धेरै कुरा दिनुभएको छ।”
अनि मेरी चाहिं के भन्छिन्? भनौं भने परमेश्वरले कहिल्यै माफ गर्नुहुनेछैन भनेर तिनी महसुस गर्थिन् तर आफ्ना छोराछोरीहरूको खातिर परमेश्वरबारे सिक्न चाहन्थिन्। त्यतिकैमा आफ्नो एक जना छिमेकीलाई यहोवाका साक्षीहरूले बाइबल सिकाइरहेका छन् भनेर थाह पाएपछि तिनले पनि मदत मागिन्। तथापि, तिनलाई साह्रै नराम्रोसँग कुलत परिसकेकोले प्रगति गर्न कठिन पऱ्यो। तिनको बाइबल अध्ययन कहिले प्रगतिशील हुन्थ्यो त कहिले हुँदैनथियो। यद्यपि, तिनकी सात वर्षीया सानी छोरीले तिनलाई प्रोत्साहन दिंदै भन्थी, “मुमा, हार नमान्नुहोस्। तपाईंले अवश्य जित्न सक्नुहुन्छ!” छोरीबाट यस्तो प्रोत्साहन पाएपछि मेरी अझ मेहनत गर्थिन्।
तिनको विधिवत् विवाह भएको थिएन र तिनका पति पनि दुर्व्यसनी थिए। पछि, तिनका पति घर फर्केपछि तिनी पनि अध्ययनमा सामेल भए। अन्ततः दुवैले आफ्ना कुलतहरूलाई जिते। आफ्नो विवाहलाई दर्ता गरेर बप्तिस्मा लिएपछि तिनीहरूले ठूलो आनन्द र जीवनमा पहिलो पटक एउटा वास्तविक परिवारजस्तो अनुभव गरे। दुःखको कुरा, एड्सले गर्दा अन्ततः मेरीको मृत्यु भयो। तर तिनले बाइबलको प्रतिज्ञालाई आफ्नो हृदयमा राखेकी थिइन्। किनभने बाइबलले पुनरुत्थान र पार्थिव प्रमोदवनको प्रतिज्ञा गर्छ, जहाँ चौडा बाटोको कुनै पनि हानिकारक तत्त्व हुनेछैन।
हो, विनाशतर्फ लैजाने चौडा र सजिलो बाटो छोड्नु सम्भव छ। ख्रीष्ट येशूले यसो भन्नुभयो: “अनन्त जीवन यही हो, कि तिनीहरूले तपाईं, एकमात्र सत्य परमेश्वरलाई, र जसलाई तपाईंले पठाउनुभयो, अर्थात् येशू ख्रीष्टलाई चिनून्।” (यूहन्ना १७:३) त्यसोभए, जीवनतर्फ लैजाने साँघुरो बाटोमा कदम हाल्ने निर्णय गरे कसो होला? परमेश्वरको वचनबाट आफूले सिकेका कुराहरूलाई मनमा राखेर प्रयोगमा ल्याउनुभयो भने शायद तपाईंले पनि बाइबलले दिएको यो हृदयग्राही प्रतिज्ञा व्यक्तिगत तवरमा अनुभव गर्नसक्नु होला: “तिमीहरूले सत्य के हो, सो जान्नेछौ, र सत्यले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ।”—यूहन्ना ८:३२.