पाठकहरूका प्रश्नहरू
कम्प्युटरका व्यापारिक सफ्टवेयर प्रोग्रामहरू अरूलाई दिने खुलेआम चलनलाई साँचो मसीहीहरूले कुन दृष्टिकोणले हेर्नुपर्छ?
“सित्तैंमा पायौ, सित्तैंमा देओ” भन्ने येशूका शब्दहरूलाई संकेत गर्दै कसै कसैले यसलाई हल्कासित लिने कोसिस गर्लान्। येशूले यहाँ कानुनन सर्वाधिकार सुरक्षित साहित्य अथवा कम्प्युटर प्रोग्राम (सफ्टवेयर) जस्ता सामग्रीहरू सित्तैंमा दिनु भनेर संकेत गर्नुभएको पक्कै पनि थिएन। उहाँले सेवकाईको सम्बन्धमा सित्तैंमा दिनु भन्नुभएको थियो। येशूले आफ्ना प्रेरितहरूलाई विभिन्न शहर तथा गाउँहरूमा गएर राज्यको प्रचार गर्ने, बिरामी निको पार्ने र भूत धपाउने विषयमा बताइरहनुभएको थियो। यस्तो कामको निम्ति पैसा असुल गर्नुको साटो प्रेरितहरूले “सित्तैमा” दिनुपर्थ्यो।—मत्ती १०:७, ८.
व्यापारिक क्षेत्र तथा व्यक्तिगत प्रयोगका लागि बनाइएका कम्प्युटरको बिगबिगीले गर्दा झन् झन् धेरै मानिसहरूलाई सफ्टवेयर आवश्यक पर्न थालेको छ। सफ्टवेयर अक्सर किन्नुपर्छ, सित्तैंमा पाइँदैन। हो, कम्प्युटर प्रोग्राम बनाउने कसै कसैले ती प्रोग्राम सित्तैंमा उपलब्ध गराउँछन् र तिनीहरूले यसको कपी बनाएर अरूलाई पनि दिन सकिन्छ भनेर उल्लेख गरेका हुन्छन्। तर प्रायजसो कम्प्युटर सफ्टवेयर बेच्नका लागि नै तयार पारिएका हुन्छन्। घरमा व्यक्तिगत प्रयोगको लागि होस् वा व्यापारिक प्रयोगको लागि, सफ्टवेयर प्रयोग गर्न चाहने व्यक्तिले ती किनेको वा त्यसका लागि पैसा तिरेको आशा गरिन्छ। कसैले पैसा नतिरीकन सफ्टवेयर प्रयोग गर्छ अथवा त्यसको कपी बनाउँछ भने त्यो कार्य पूरै किताबको फोटोकपी बनाउनुजस्तै गैरकानुनी हुनेछ, चाहे त्यो कसैले सित्तैंमा दिएको नै किन नहोस्।
प्रायजसो कम्प्युटर प्रोग्रामहरूको (यसमा गेमहरू पनि समावेश छन्) लाइसेन्स हुन्छ र उक्त प्रोग्राम किन्ने वा चलाउने व्यक्तिले त्यस लाइसेन्सको नीतिनियम पालन गर्नु आवश्यक हुन्छ। यस्ता थुप्रै लाइसेन्सअनुसार एक जना व्यक्तिले मात्र त्यो प्रोग्राम इन्स्टल गर्न र प्रयोग गर्न सक्छन् अर्थात् घरको वा स्कूलको या अफिसको कुनै एउटा कम्प्युटरमा मात्र उक्त प्रोग्राम चलाउन पाइन्छ। कुनै कुनै लाइसेन्समा आफ्नो व्यक्तिगत प्रयोगको निम्ति एउटा ब्याकअप कपी बनाइराख्न सकिन्छ पनि भनिएको हुन्छ तर तिनले अरू व्यक्तिका लागि भने कपी बनाइदिनु मिल्दैन। प्रोग्राम किन्ने व्यक्तिले (लाइसेन्स र कागजपत्रलगायत) आफ्नो सम्पूर्ण प्रोग्राम कसैलाई दिन चाहन्छन् भने तिनले त्यो दिन सक्छन्। तर त्यसपछि तिनले उक्त प्रोग्राम प्रयोग गर्ने हकचाहिं पाउँदैनन्। लाइसेन्स फरक फरक हुन्छन्। त्यसकारण, प्रोग्राम किन्न वा पाउन लागेको व्यक्तिले लाइसेन्समा के के लेखिएको छ, त्यो पत्ता लगाउनुपर्छ।
थुप्रै राष्ट्रले कम्प्युटर प्रोग्राम जस्ता “बौद्धिक सम्पत्तिको” जगेर्ना गर्न कपीराइट सम्झौता गरेका हुन्छन् र तिनीहरू कपीराइट नियम लागू गर्ने प्रयास गर्छन्। उदाहरणका लागि, जनवरी १४, २००० को द न्यु योर्क टाइम्स-को रिपोर्टअनुसार “जर्मन र डेनिस पुलिसहरूले सफ्टवेयर चोरीनिकासी गर्ने ठूलो टोलीका सदस्यहरूलाई नै गिरफ्तार गरे।” रिपोर्टअनुसार उक्त टोलीले कम्प्युटर प्रोग्राम तथा गेमहरूको नक्कल प्रति बनाउने अनि वितरण गर्ने र इन्टरनेटमा समेत बेच्ने गरेको थियो।
यसमा मसीही मण्डलीको अडान कस्तो छ? येशूले यसो भन्नुभयो: “सिजरका चीजहरू सिजरलाई देओ, र परमेश्वरका चीजहरू परमेश्वरलाई।” (मर्कूस १२:१७) यसको अर्थ, मसीहीहरूले परमेश्वरको व्यवस्थासित नबाझिने, देशअनुसारको नियम पालन गर्नुपर्छ। सरकारको सम्बन्धमा प्रेरित पावलले यसप्रकार लेखे: “हरेक प्राणी उच्च अख्तियारवालाहरूका अधीनमा रहोस्, . . . अख्तियारवालाको विरुद्धमा खड़ा हुनेले परमेश्वरको धार्मिकविधानको विरोध गर्दछ, औ जस जसले विरोध गर्छन्, तिनीहरू आफैले दण्डको आज्ञा पाउनेछन्।”—रोमी १३:१, २.
मसीही मण्डलीका प्राचीनहरू अरूको कम्प्युटरमा के छ के छैन जाँच्दैनन् अर्थात् कपीराइट नियम लागू गर्ने व्यक्तिले जस्तो व्यवहार गर्दैनन्। तर मसीहीहरूले आफ्नो हक नलाग्ने सामान लिनदेखि पर बस्नुपर्छ र नियम परायण हुने प्रयास गर्नुपर्छ भन्ने विश्वास तिनीहरू गर्छन् र त्यही सिकाउँछन्। यसो गर्दा मसीहीहरू नियम उल्लंघन गर्दा पाउने दण्डदेखि जोगिन्छन् र परमेश्वरसामु सफा अन्तस्करण राख्न सक्नेछन्। पावलले यसप्रकार लेखे: “यसकारण क्रोधको खातिर मात्र होइन, तर अन्तस्करणको निम्ति पनि तिमीहरूलाई अधीनमा रहनु उचित छ।” (रोमी १३:५) त्यसै गरी, पावलले साँचो मसीहीहरूको इच्छालाई यी शब्दहरूमा वर्णन गरे: “सबै कुरामा इमान्दारीसाथ रहने इच्छा गरेर हाम्रो असल विवेक छ भनी हामी विश्वास गर्दछौं।”—हिब्रू १३:१८.
[पृष्ठ २९-मा भएको पेटी]
केही व्यापारी तथा स्कूलहरूले एउटै प्रोग्राम थुप्रैले प्रयोग गर्न मिल्ने किसिमको लाइसेन्स लिन्छन्। सन् १९९५ मा यहोवाका साक्षीहरूको मण्डलीले एउटा लेख छलफल गरेको थियो र त्यसमा यस्तो सल्लाह दिइएको थियो:
“कम्प्युटर प्रोग्राम तयार पार्ने तथा बिक्री गर्ने अधिकांश कम्पनीहरूले ती प्रोग्रामहरू कपीराइट गर्छन् र कानुनी तवरमा तिनको प्रयोग कसरी गर्न सकिन्छ भनेर लेखिएको लाइसेन्स पनि बनाउँछन्। प्रोग्राम कपी गरेर अरूलाई वितरण गर्न पाइँदैन भनेर त्यस्ता लाइसेन्सहरूमा उल्लेख गरिएको हुन्छ। भनौं भने, अन्तरराष्ट्रिय कपीराइट नियमले कानुनी तवरमा यसो गर्न निषेध गरेको हुन्छ। . . . केही ठूलठूला कम्पनीहरूले बेच्ने कम्प्युटरहरूमा पहिल्यै इन्स्टल गरिसकेका लाइसेन्सप्राप्त प्रोग्रामहरू हुन्छन्। तथापि, केही कम्प्युटर पसलेहरूले लाइसेन्स दिंदैनन् किनकि तिनीहरूले इन्स्टल गरेका प्रोग्रामहरू गैरकानुनी हुन्छन् र यसको अर्थ क्रेताले उक्त प्रोग्राम प्रयोग गर्दा नियम उल्लंघन गरिरहेका हुन्छन्। यसबाहेक, मसीहीहरूले कपीराइट जानकारीहरू (सोसाइटीका साहित्यहरूसमेत) इलेक्ट्रोनिक बुलेटिन बोर्डमा राख्ने वा त्यहाँबाट डाउनलोड गर्ने गर्नु हुँदैन र प्रोग्राम धनीको कानुनन अनुमतिबिना कपी गर्नु पनि हुँदैन।”