प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w14 १२/१५ pp. ११-१५
  • के तपाईंले ‘अर्थ बुझ्नुभयो’?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईंले ‘अर्थ बुझ्नुभयो’?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • बीउ छर्ने मानिसको दृष्टान्त
  • ठूलो जालको दृष्टान्त
  • उडन्ते छोराको दृष्टान्त
  • कुन चाहिं सफल हुन्छ, तपाईं जान्‍नुहुन्‍न!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • ‘सुन्‍नुहोस्‌ र अर्थ बुझ्नुहोस्‌’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • “बढाउने परमेश्‍वरनै हुनुहुन्छ”!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • तपाईंका निम्ति महाजाल र माछाले के अर्थ राख्तछ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
w14 १२/१५ pp. ११-१५
बीउ छर्ने मानिस, ठूलो जाल र उडन्ते छोराबारे येशूले बताउनुभएको दृष्टान्त

के तपाईंले ‘अर्थ बुझ्नुभयो’?

“धर्मशास्त्रको अर्थ बुझ्न सकून्‌ भनेर उहाँले तिनीहरूको समझ पूरै खोलिदिनुभयो।”—लूका २४:४५.

निम्न दृष्टान्तबाट तपाईंले के सिक्नुभयो?

  • बीउ छर्ने मानिसको दृष्टान्त

  • ठूलो जालको दृष्टान्त

  • उडन्ते छोराको दृष्टान्त

१, २. आफू पुनर्जीवित भएको दिन येशूले चेलाहरूलाई कसरी बलियो पार्नुभयो?

येशूका दुई जना चेला यरूशलेमबाट लगभग ११ किलोमिटर टाढा पर्ने एउटा गाउँतिर यात्रा गर्दै थिए। येशूको मृत्यु भएकोले तिनीहरू असाध्यै दुःखित थिए। तिनीहरूलाई येशू जीवित हुनुभएको कुरा थाह थिएन। अचानक येशू तिनीहरूकहाँ देखा पर्नुभयो र तिनीहरूसँगै हिंड्‌न थाल्नुभयो। उहाँले ती चेलाहरूलाई सान्त्वना दिनुभयो। तर कसरी? “मोशा र सारा भविष्यवक्‍ताको लेखोटदेखि सुरु गरेर सम्पूर्ण धर्मशास्त्रमा भएका आफूसित सम्बन्धित कुराहरूको अर्थ उहाँले तिनीहरूलाई खोलिदिनुभयो।” (लूका २४:१३-१५, २७) येशूले “धर्मशास्त्रको पूरै अर्थ” खोलिदिनुभएकोले तिनीहरूको मनमा छटपटी भयो।—लूका २४:३२.

२ त्यही साँझ ती दुई चेला यरूशलेम फर्के अनि अरू चेलाहरूलाई भेटेर सबै कुरा बताए। तिनीहरूले यो कुरा बताइरहेकै बेला येशू त्यहाँ आउनुभयो। तर चेलाहरू भने तर्सिए। उनीहरूको मनमा शङ्‌का उब्जियो। येशूले उनीहरूलाई कसरी बलियो पार्नुभयो? बाइबल भन्छ, “धर्मशास्त्रको अर्थ बुझ्न सकून्‌ भनेर उहाँले तिनीहरूको समझ पूरै खोलिदिनुभयो।”—लूका २४:४५.

३. हामी किन निराश हुन सक्छौं? हामी कसरी सेवामा आनन्दित भई लागिरहन सक्छौं?

३ ती दुई चेलाजस्तै कहिलेकाहीं हामी पनि निराश हुन सक्छौं। हामी प्रभुको काममा व्यस्त छौं होला, तर मानिसहरूले हाम्रो कुरामा चासो नदेखाउँदा हामीलाई नमीठो लाग्छ। (१ कोरि. १५:५८) अथवा हाम्रा बाइबल विद्यार्थीहरूले हामीले सोचेजति प्रगति नगरेको जस्तो लाग्न सक्छ। उनीहरूमध्ये कतिपय त यहोवादेखि तर्किनसमेत सक्छन्‌। हामी कसरी सेवामा आनन्दित भई लागिरहन सक्छौं? एउटा तरिका हो, येशूले चलाउनुभएका दृष्टान्तहरूको अर्थ राम्ररी बुझेर। आउनुहोस्‌, तीमध्ये तीनवटा दृष्टान्तबारे छलफल गरौं र केही महत्त्वपूर्ण पाठ सिकौं।

बीउ छर्ने मानिसको दृष्टान्त

४. येशूले बताउनुभएको बीउ छर्ने मानिसको दृष्टान्तको अर्थ के हो?

४ मर्कूस ४:२६-२९ पढ्‌नुहोस्‌। बीउ छर्ने मानिसको दृष्टान्तको अर्थ के हो? यस दृष्टान्तको मानिसले राज्य प्रचारकहरूलाई बुझाउँछ। बीउले राज्यको सुसमाचारलाई बुझाउँछ र यो सुसमाचार राम्रो मन भएकाहरूलाई सुनाइन्छ। सामान्य दिनचर्याअनुसारै बीउ छर्ने मानिस “हरेक रात . . . सुत्छ र बिहान उठ्‌छ।” बीउ छरेको समयदेखि कटनी गर्ने समयसम्म बीउ बढ्‌ने क्रम चलिरहन्छ। त्यस समयावधिमा “बीउ . . . अङ्‌कुराउँछ र बढ्‌दै जान्छ।” बीउ “आफ्नै सुर”-मा बिस्तारै बढ्‌दै जान्छ। त्यसैगरि कुनै व्यक्‍तिको आध्यात्मिक प्रगति पनि बिस्तारै हुन्छ। प्रगति गर्दै जाँदा ऊ यहोवाको सेवा गर्न जुरमुरिन्छ। त्यसपछि उसले यहोवालाई जीवन समर्पण गर्छ र बप्तिस्मा गर्छ। यस अर्थमा उसले फल फलाउँछ।

५. येशूले किन बीउ छर्ने मानिसको दृष्टान्त चलाउनुभयो?

५ येशूले किन यो दृष्टान्त चलाउनुभयो? यस दृष्टान्तले “उचित मनसाय” भएका मानिसहरूको मनमा सत्यको बीउ बढाउने यहोवा नै हुनुहुन्छ भनेर बुझ्न मदत गर्छ। (प्रेषि. १३:४८; १ कोरि. ३:७) हामी बीउ छर्छौं र पानी हाल्छौं तर त्यसलाई जबरजस्ती बढाउन भने सक्दैनौं। दृष्टान्तमा बताइएको मानिसलाई जस्तै हामीलाई पनि बीउ कसरी बढ्‌छ भनेर थाह हुँदैन। दैनिक गतिविधिमा व्यस्त भएकोले हामीलाई बीउ बढेको यादै नहुन सक्छ। तर समयमा राज्यको बीउले अवश्‍य फल फलाउँछ। त्यसपछि नयाँ चेलाले हामीसित मिलेर बाली काट्‌ने काममा भाग लिन्छ।—यूह. ४:३६-३८.

६. बाइबल विद्यार्थीको प्रगतिबारे हामीले कुन कुरा स्वीकार्नुपर्छ?

६ यस दृष्टान्तबाट हामी के सिक्न सक्छौं? पहिलो, बाइबल विद्यार्थीको आध्यात्मिक प्रगति हाम्रो हातमा छैन भन्‍ने कुरा स्वीकार्नुपर्छ। विद्यार्थीलाई मदत गर्न हामी हरप्रयास गर्छौं तर तिनलाई बप्तिस्मा गर्न भने कहिल्यै दबाब दिनुहुँदैन। बरु यहोवालाई जीवन समर्पण गर्ने कि नगर्ने भनेर निर्णय गर्ने जिम्मेवारी तिनकै हो भनेर मानिलिनुपर्छ। कुनै व्यक्‍तिले यहोवालाई मनैदेखि प्रेम गर्छ भने मात्र ऊ यहोवालाई जीवन समर्पण गर्न उत्प्रेरित हुन्छ र त्यसरी गरिएको समर्पण मात्र यहोवाको लागि स्वीकार्य हुन्छ।—भज. ५१:१२; ५४:६; ११०:३.

७, ८. (क) बीउ छर्ने मानिसको दृष्टान्तबाट हामी के-कस्ता पाठ सिक्न सक्छौं? उदाहरण दिनुहोस्‌। (ख) यस दृष्टान्तबाट तपाईंले यहोवा र येशूबारे के सिक्नुभयो?

७ दोस्रो, हाम्रो प्रचारकार्यको नतिजा झट्टै देखिएन भने पनि निराश नहुन यस दृष्टान्तले मदत गर्छ। हामीले धैर्य गर्नुपर्छ। (याकू. ५:७, ८) विद्यार्थीलाई मदत गर्न हामीले हरप्रयास गर्दा पनि तिनको मनमा सत्यको बीउ बढेन भने त्यसमा हाम्रो कुनै दोष छैन। छाँटकाँट गर्न चाहने नम्र मानिसहरूको मनमा मात्र यहोवाले सत्यको बीउ बढ्‌न दिनुहुन्छ। (मत्ती १३:२३) नतिजाको आधारमा मात्र आफ्नो प्रचारकार्य कत्तिको प्रभावकारी भयो भनेर नाप्नु ठीक होइन। यहोवाले पनि हामीले सुनाउने सुसमाचारप्रति मानिसहरूले कस्तो प्रतिक्रिया देखाउँछन्‌, त्यसको आधारमा हाम्रो प्रचारकार्य कत्तिको सफल भयो भनेर नाप्नुहुन्‍न। बरु नतिजा जस्तोसुकै भए पनि उहाँले हाम्रो परिश्रमको मोल गर्नुहुन्छ।—लूका १०:१७-२०; १ कोरिन्थी ३:८ पढ्‌नुहोस्‌।

८ तेस्रो, कुनै व्यक्‍तिको मनमा भएको परिवर्तन हामीलाई पत्तै नहुन सक्छ। उदाहरणको लागि, एक जना मिसनरीसँग बाइबल अध्ययन गरिरहेका एक दम्पती तिनीकहाँ आए र प्रकाशक बन्‍न चाहेको कुरा बताए। प्रकाशक बन्‍न तिनीहरूले चुरोट पिउन छोड्‌नुपर्छ भनेर ती भाइले बताए। तर तिनीहरूले केही महिनाअघि नै चुरोट छोडिसकेका थिए। तिनीहरूले किन चुरोट पिउन छोडे? यहोवाको नजरबाट कुनै कुरा लुक्न सक्दैन र उहाँ कपटीहरूलाई घृणा गर्नुहुन्छ भनेर तिनीहरूले बुझेका थिए। त्यसैले तिनीहरूले चुरोट पिउने हो भने पनि मिसनरीकै अगाडि पिउने नत्र पूरै छोड्‌ने अठोट गरेका थिए। यहोवालाई प्रेम गर्न थालेकोले तिनीहरूले सही निर्णय गर्न सके। तिनीहरू यहोवासित अझ घनिष्ठ भए। त्यो दम्पतीले गरेको परिवर्तन मिसनरीलाई पत्तै थिएन।

ठूलो जालको दृष्टान्त

९. ठूलो जालको दृष्टान्तको अर्थ के हो?

९ मत्ती १३:४७-५० पढ्‌नुहोस्‌। येशूले बताउनुभएको ठूलो जालको दृष्टान्तको अर्थ के हो? ठूलो जाल समुद्रमा हाल्नुले सारा मानिसजातिलाई राज्यको सुसमाचार प्रचार गर्नुलाई बुझाउँछ। त्यस जालले “विभिन्‍न किसिमका माछाहरू” बटुलेझैं राज्यको सुसमाचारले पनि विभिन्‍न किसिमका लाखौं मानिसलाई जम्मा गर्छ। (यशै. ६०:५) यसको प्रमाण हरेक वर्ष हुने अधिवेशन र येशूको मृत्युको वार्षिकीमा आउने लाखौं मानिस हुन्‌। ती प्रतीकात्मक माछाहरूमध्ये केही “असल” छन्‌ र तिनीहरूलाई ख्रीष्टियन मण्डलीमा जम्मा गरिन्छ। तर अरू भने “काम नलाग्ने” ठहरिन्छन्‌। जम्मा गरिएकाहरूमध्ये कोही-कोही यहोवाको नजरमा स्वीकार्य हुँदैनन्‌।

१. ठूलो जालले विभिन्‍न किसिमका माछाहरू बटुल्छ, असल माछाहरूलाई भाँडामा जम्मा गरिन्छ; २. प्रकाशकले केही मानिसहरूलाई प्रचार गर्छन्‌ तर एक जना मात्र यहोवाको सेवक बन्छ

मत्ती १३:४७-५० पढेपछि, त्यो दृष्टान्त हाम्रो समयमा कसरी लागू भइरहेको छ, विचार गर्नुहोस्‌

राज्यको सुसमाचार रुचाउने कसै-कसैले यहोवाको सेवा गर्ने निर्णय गर्छन्‌ (अनुच्छेद ९-१२ हेर्नुहोस्‌)

१०. येशूले किन ठूलो जालको दृष्टान्त चलाउनुभयो?

१० येशूले किन यो दृष्टान्त चलाउनुभयो? मानिसहरूलाई यसरी छुट्ट्याउनुले यस युगको आखिरी समयमा हुने घटनालाई बुझाउँछ; महासङ्‌कष्टको बेला हुने अन्तिम न्यायलाई होइन। राज्यको सुसमाचार रुचाउने सबै नै यहोवाका सेवक बन्छन्‌ भन्‍ने छैन भनेर येशूले देखाउनुभयो। थुप्रै मानिस हाम्रा सभाहरूमा आउँछन्‌। कतिपयले हामीसित बाइबल अध्ययन गर्छन्‌ तर यहोवालाई जीवन समर्पण गर्न भने चाहँदैनन्‌। (१ राजा १८:२१) अरू कतिपयले त मण्डलीसित सङ्‌गत गर्न पनि छोडेका छन्‌। केही युवाहरू ख्रीष्टियन परिवारमा हुर्केका छन्‌ तर आफैले यहोवाको स्तरलाई प्रेम गर्न भने सिकेका छैनन्‌। हामी प्रत्येकले व्यक्‍तिगत निर्णय गर्नुपर्छ भनेर येशूले जोड दिनुभयो। त्यसो गर्नेहरूलाई यहोवा “जाति-जातिका धन-सम्पत्ति”-को रूपमा हेर्नुहुन्छ।—हाग्गै २:७.

११, १२. (क) ठूलो जालको दृष्टान्तबाट हामी के सिक्न सक्छौं? (ख) यस दृष्टान्तबाट तपाईंले यहोवा र येशूबारे के सिक्नुभयो?

११ ठूलो जालको दृष्टान्तबाट हामी के सिक्न सक्छौं? यो दृष्टान्त राम्ररी बुझ्यौं भने बाइबल विद्यार्थी वा छोराछोरीले यहोवाको सेवा गर्न नचाहँदा अचाक्ली दुःखी नहुन मदत पाउँछौं। तिनीहरूलाई बाइबलको कुरा सिकाउन हामीले हरप्रयास गऱ्‍यौं होला। तर बाइबल अध्ययन गर्दैमा वा ख्रीष्टियन परिवारमा हुर्कंदैमा कुनै व्यक्‍ति यहोवासित घनिष्ठ हुन्छ नै भन्‍ने छैन। यहोवाको अख्तियारलाई समर्थन नगर्नेहरू उहाँको सेवक बन्‍न सक्दैनन्‌।

१२ तर के यसको अर्थ यहोवाबाट तर्केर गएकाहरू मण्डलीमा कहिल्यै फर्कन पाउँदैनन्‌ भन्‍ने हो? अथवा कसैले यहोवालाई जीवन समर्पण गरेको छैन भन्दैमा ऊ सधैंको लागि “काम नलाग्ने” ठहरिन्छ भन्‍ने हो? त्यसो त पटक्कै होइन। तिनीहरूसित अझै पनि मौका छ। महासङ्‌कष्ट सुरु हुनुअघि नै तिनीहरूले यहोवाको मित्र बन्‍ने कदम चाल्नुपर्छ। यहोवा तिनीहरूलाई यसो भन्दै हुनुहुन्छ, “मतिर फर्क र म तिमीहरूतिर फर्कनेछु।” (मला. ३:७) येशूले बताउनुभएको उडन्ते छोराको दृष्टान्तले यहोवा त्यस्तै चाहनुहुन्छ भनेर बुझ्न मदत गर्छ।—लूका १५:११-३२ पढ्‌नुहोस्‌।

उडन्ते छोराको दृष्टान्त

१३. उडन्ते छोराको दृष्टान्तको अर्थ के हो?

१३ येशूले चलाउनुभएको उडन्ते छोराको दृष्टान्तको अर्थ के हो? यस दृष्टान्तका दयालु बुबाले स्वर्गमा बस्नुहुने मायालु बुबा यहोवालाई चित्रण गर्छ। बुबासित अंश माग्ने र सबै सम्पत्ति उडाउने छोराले मण्डलीबाट तर्केर गएकाहरूलाई बुझाउँछ। त्यसरी तर्केर जाँदा एक अर्थमा तिनीहरू “परदेश” अर्थात्‌ सैतानको संसारमा जान्छन्‌, जुन संसार यहोवाबाट टाढिएको छ। (एफि. ४:१८; कल. १:२१) तर होस खुलेपछि तिनीहरूले यहोवाको सङ्‌गठनमा फर्कने निर्णय गरेका छन्‌। गल्ती स्वीकार्ने र पश्‍चात्ताप गर्नेहरूलाई यहोवा क्षमा गर्नुहुन्छ र आफ्नो सङ्‌गठनमा न्यानो स्वागत गर्नुहुन्छ।—यशै. ४४:२२; १ पत्रु. २:२५.

१४. येशूले किन उडन्ते छोराको दृष्टान्त चलाउनुभयो?

१४ येशूले किन यो दृष्टान्त चलाउनुभयो? तर्केर गएकाहरू आफूकहाँ फर्केको यहोवा मनैदेखि चाहनुहुन्छ भनेर येशूले देखाउनुभयो। यस दृष्टान्तको बुबाले छोराको बाटो हेर्न कहिल्यै छोडेनन्‌। एक दिन “बुबाले टाढैबाट उसलाई आउँदै गरेको देख्यो” र उसलाई स्वागत गर्न दौडेर गयो। यहोवाबाट तर्केर गएकाहरूलाई ढिलासुस्ती नगरी उहाँकहाँ फर्कन यस दृष्टान्तले प्रोत्साहन दिन्छ। यहोवासित तिनीहरूको सम्बन्ध कमजोर भएको हुन सक्छ र तिनीहरूलाई फर्केर आउन अप्ठेरो लाग्न सक्छ। तर तिनीहरू फर्कंदा नतिजा राम्रो हुन्छ; स्वर्गमा पनि रमाहट हुन्छ।—लूका १५:७.

१५, १६. (क) उडन्ते छोराको दृष्टान्तबाट हामी के सिक्न सक्छौं? केही उदाहरण दिनुहोस्‌। (ख) यस दृष्टान्तबाट तपाईंले यहोवा र येशूबारे के सिक्नुभयो?

१५ उडन्ते छोराको दृष्टान्तबाट हामी के सिक्न सक्छौं? हामीले यहोवाको देखासिकी गर्नुपर्छ। हामी “ज्यादै धर्मी” हुनु हुँदैन; पश्‍चात्ताप गरेकाहरूलाई मण्डलीमा न्यानो स्वागत गर्नुपर्छ। त्यसो गरेनौं भने यहोवासित हाम्रो सम्बन्ध बिग्रन सक्छ। (उप. ७:१६) यस दृष्टान्तबाट अर्को पाठ पनि सिक्न सक्छौं। तर्केर गएकाहरूलाई हामीले “हराएको भेडाजस्तै” ठान्‍नुपर्छ र उनीहरू मण्डलीमा फर्केर आउँछन्‌ भन्‍ने आस गर्नुपर्छ। (भज. ११९:१७६) त्यस्तो व्यक्‍तिलाई भेट्‌यौं भने के हामी तिनलाई मदत दिन्छौं? एल्डरहरूले तिनलाई सक्दो छिटो मदत गर्न सकोस्‌ भनेर के हामी उनीहरूलाई तिनीबारे जानकारी दिन्छौं? येशूले बताउनुभएको उडन्ते छोराको दृष्टान्तबाट सिकेको कुरा लागू गर्न चाहन्छौं भने हामी अवश्‍य त्यसो गर्नेछौं।

१६ मण्डलीमा फर्केर आएकाहरूमध्ये केही यहोवाको कृपाको लागि अनि मण्डलीका सदस्यहरूको मदत र तिनीहरूले देखाएको प्रेमको लागि आभारी छन्‌। बहिष्कार भएको २५ वर्षपछि मण्डलीमा फर्केका एक भाइ यसो भन्छन्‌, “मण्डलीमा फर्केपछि म आनन्दित हुन सकेको छु। किनकि मैले यहोवाबाट ‘स्फूर्ति’ पाएको छु। (प्रेषि. ३:१९) सबैले मेरो ख्याल गर्छन्‌ र मलाई माया गर्छन्‌। मैले कत्ति राम्रो परिवार पाएको छु।” पाँच वर्षसम्म निष्क्रिय भएकी यस्तै २०/२२ वर्षकी एक बहिनी यसो भन्छिन्‌, “मण्डलीका दाजुभाइ दिदीबहिनीले मलाई येशूले सिकाउनुभएजस्तै माया गरे। यसले गर्दा म कत्ति खुसी छु बयानै गर्न सक्दिनँ। यहोवाको सङ्‌गठनको भाग हुनुजस्तो ठूलो सुअवसर अरू केही छैन।”

१७, १८. (क) यस लेखमा छलफल गरिएका तीनवटा दृष्टान्तबाट हामीले के-के सिक्यौं? (ख) हामीले कस्तो अठोट गर्नुपर्छ?

१७ यी तीनवटा दृष्टान्तबाट हामीले के-कस्ता पाठ सिक्यौं? पहिलो, बाइबल विद्यार्थीको आध्यात्मिक प्रगति हाम्रो हातमा नभई यहोवाको हातमा छ भन्‍ने कुरा स्वीकार्नुपर्छ। दोस्रो, हामीसित सङ्‌गत गर्ने र बाइबल अध्ययन गर्ने सबैले नै यहोवाको सेवा गर्ने निर्णय गर्नेछन्‌ भन्‍ने आस गर्न सकिंदैन। तेस्रो, निष्क्रिय भएकाहरू र बहिष्कार भएकाहरू मण्डलीमा फेरि कहिल्यै फर्केर आउँदैनन्‌ भन्‍ने सोच्नु हुँदैन। फर्केर आएकाहरूलाई यहोवाको देखासिकी गर्दै मण्डलीमा न्यानो स्वागत गर्नुपर्छ।

१८ हामीले ज्ञान, समझशक्‍ति र बुद्धि खोजिरहने अठोट गर्नुपर्छ। येशूले चलाउनुभएका दृष्टान्तहरू पढ्‌दा आफैलाई यस्ता प्रश्‍नहरू सोधौं: ‘यस दृष्टान्तको अर्थ के हो? यो दृष्टान्त बाइबलमा किन राखियो? यसबाट सिकेको पाठ कसरी लागू गर्न सक्छु? अनि यसबाट यहोवा र येशूबारे के सिक्न सक्छु?’ यसो गऱ्‍यौं भने येशूले भन्‍नुभएको कुराको अर्थ राम्ररी बुझ्न सक्छौं।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने