प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • jy chap. ९९ p. २३०-p. २३१ par. ३
  • येसु अन्धाहरूलाई निको पार्नुहुन्छ र जक्कैलाई मदत गर्नुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • येसु अन्धाहरूलाई निको पार्नुहुन्छ र जक्कैलाई मदत गर्नुहुन्छ
  • येसु—बाटो, सत्य र जीवन
  • मिल्दोजुल्दो सामग्री
  • येशूले यरिहोमा शिक्षा दिनुहुन्छ
    सबैभन्दा महान्‌ पुरुष
  • परमेश्‍वरलाई प्रेम गर्नेहरूलाई मात्र हामीले साथी बनाउनुपर्छ
    महान्‌ शिक्षकबाट सिकौं
  • अपराधको अन्त अब नजिक!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९०
  • निडर हुनुहोस्‌
    मानिसलाई प्रेम गर्नुहोस्‌—चेला बनाउनुहोस्‌
थप हेर्नुहोस्
येसु—बाटो, सत्य र जीवन
jy chap. ९९ p. २३०-p. २३१ par. ३
जक्कै रूखमाथि

अध्याय ९९

येसु अन्धाहरूलाई निको पार्नुहुन्छ र जक्कैलाई मदत गर्नुहुन्छ

मत्ति २०:२९-३४ मर्कुस १०:४६-५२ लुका १८:३५–१९:१०

  • येसु यरिहोमा अन्धाहरूलाई निको पार्नुहुन्छ

  • कर उठाउने जक्कै पश्‍चात्ताप गर्छन्‌

येसु आफूसँगै यात्रा गरिरहेकाहरूसित यरिहो आइपुग्नुहुन्छ। यो सहरबाट यरुसलेम पुग्न झन्डै एक दिन लाग्छ। वास्तवमा यरिहो सहर दुई वटा छ; पुरानोचाहिँ रोमीहरूको समयमा बनाइएको नयाँ सहरबाट करिब डेढ किलोमिटर टाढा पर्छ। येसु र उहाँको पछि लागेको भीड यीमध्ये एउटा सहर छोडेर अर्को सहरतर्फ जाँदै गर्नुहुँदा दुई जना अन्धा माग्नेले मानिसहरूको हल्लाखल्ला सुन्छन्‌। तिनीहरूमध्ये एक जनाको नाम बर्तिमै हो।

येसु त्यो बाटो भएर जाँदै हुनुहुन्छ भन्‍ने सुनेपछि बर्तिमै र उसको साथी यसो भन्दै कराउन थाल्छ: “हे प्रभु, दाउदका छोरा, हामीमाथि कृपा गर्नुहोस्‌!” (मत्ति २०:३०) भीडमा भएका केहीले तिनीहरूलाई चुप लाग भन्दै हप्काउँछन्‌ तर तिनीहरू झनै चिच्याउँछन्‌। तब येसु रोकिनुहुन्छ अनि चिच्याइरहेका ती मानिसहरूलाई आफूकहाँ ल्याउन भन्‍नुहुन्छ। येसुसँगै भएकाहरू ती माग्नेहरू भएको ठाउँमा जान्छन्‌ र तिनीहरूमध्ये एक जनालाई यसो भन्छन्‌: “साहस गर। उठ, उहाँले तिमीलाई बोलाउँदै हुनुहुन्छ।” (मर्कुस १०:४९) खुसी हुँदै त्यो अन्धोले आफ्नो लुगा फ्याँक्छ अनि बुर्लुक्क उफ्रेर येसुकहाँ जान्छ।

येसु अन्धो मानिसलाई निको पार्नुहुन्छ

येसु सोध्नुहुन्छ: “मैले तिमीहरूका लागि के गरिदिएको तिमीहरू चाहन्छौ?” (मत्ति २०:३२, ३३) येसु टिठाउँदै तिनीहरूको आँखा छुनुहुन्छ र तिनीहरूमध्ये एक जनालाई यसो भन्‍नुहुन्छ: “जाऊ, तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ।” (मर्कुस १०:५२) अनि उत्तिखेरै ती दुई जना अन्धा देख्न सक्ने हुन्छन्‌ र पक्कै पनि दुवैले परमेश्‍वरको महिमा गर्न थाल्छन्‌। यो देखेर अरू मानिसहरूले पनि परमेश्‍वरको प्रशंसा गर्न थाल्छन्‌। निको भएका ती दुई जना अन्धा येसुको पछि लाग्न थाल्छन्‌।

येसु यरिहो सहर भएर जाँदै गर्नुहुँदा मानिसहरू उहाँको वरिपरि झुम्मिन थाल्छन्‌। अन्धाहरूलाई निको पारिदिएको मानिसलाई उनीहरू हेर्न चाहन्छन्‌। येसु चारैतिरबाट चेपिनुहुन्छ। कसै-कसैले त येसुलाई देख्न समेत पाउँदैनन्‌। तिनीहरूमध्ये एक जना जक्कै हुन्‌। तिनी यरिहो र वरपरका ठाउँहरूमा कर उठाउने मानिसहरूका हाकिम हुन्‌। तिनी पुड्‌को भएकोले त्यहाँ के भइरहेको छ भनेर देख्न सक्दैनन्‌। त्यसैले तिनी दौडेर अरूभन्दा अगाडि जान्छन्‌ अनि येसु हिँडिरहनुभएको बाटो छेउमा भएको एउटा खनिउँको (वा जङ्‌गली अन्जिरको) रूखमा चढ्‌छन्‌। तिनले माथिबाट सबै कुरा राम्ररी देख्न सक्छन्‌। त्यहाँ पुग्नुभएपछि येसुले जक्कैलाई रूखमा बसिरहेको देख्नुहुन्छ र यसो भन्‍नुहुन्छ: “ए जक्कै, झट्टै तल ओर्ल। किनकि आज मलाई तिम्रो घरमा बस्नु छ।” (लुका १९:५) जक्कै रूखबाट ओर्लन्छन्‌ अनि आफ्नो घरमा विशेष पाहुनालाई स्वागत गर्न हतारहतार जान्छन्‌।

यो देखेर मानिसहरू गनगन गर्न थाल्छन्‌। पापी भनेर चिनिएको मानिसको घरमा येसु पाहुनाको रूपमा जानु उचित होइन जस्तो तिनीहरूलाई लाग्छ। बेइमानी गरेर जक्कैले कर उठाउने कामबाट धेरै पैसा कमाएका छन्‌।

येसु जक्कैको घरमा पस्नुहुँदा मानिसहरू यसो भन्छन्‌: “यो त पापी मानिसको घरमा पो गयो।” तर येसु जक्कैले पश्‍चात्ताप गर्न सक्ने सम्भावना देख्नुहुन्छ। हुन पनि त्यस्तै हुन्छ। जक्कै जुरुक्क उठेर उहाँलाई यसो भन्छन्‌: “हेर्नुहोस्‌ प्रभु, म अब आफ्नो आधा सम्पत्ति गरिबहरूलाई बाँड्‌छु अनि मैले ज-जसबाट लुटेँ, म उसलाई चार गुणा तिर्छु।”—लुका १९:७, ८.

जक्कैले साँचो पश्‍चात्ताप गरेको कुरा कत्ति राम्रो तरिकामा देखाए! तिनले करको रेकर्ड हेरेर थुप्रै यहुदीबाट कति पैसा असुलेका थिए भनेर हिसाब निकाल्न सक्छन्‌ अनि तिनले त्यसको चार गुणा तिर्ने वाचा गर्छन्‌। यो परमेश्‍वरको व्यवस्थाले माग गरेकोभन्दा पनि धेरै हो। (प्रस्थान २२:१; लेवी ६:२-५) यसबाहेक जक्कै आफ्नो आधा सम्पत्ति गरिबहरूलाई बाँड्‌ने वचन पनि दिन्छन्‌।

जक्कैले यसरी पश्‍चात्ताप गरेको देखेर येसु खुसी हुनुहुन्छ र तिनलाई यसो भन्‍नुहुन्छ: “आज यो घरले उद्धार पाएको छ किनकि ऊ पनि अब्राहामको छोरा हो। मानिसको छोरा हराएकोलाई खोज्न र उसको उद्धार गर्न आएको हो।”—लुका १९:९, १०.

हालै येसुले हराएको छोराको उदाहरण चलाएर ‘हराएकाहरूको’ अवस्था कस्तो छ भन्‍ने कुरामा जोड दिनुभएको थियो। (लुका १५:११-२४) अहिले भने येसुले हराएको एक जना मानिस फेरि भेटिएको वास्तविक उदाहरण दिनुभएको छ। येसुले जक्कैजस्ता मानिसहरूतर्फ ध्यान दिनुभएकोले धर्मगुरुहरू र तिनीहरूका समर्थकहरूले उहाँको विरोध र आलोचना गर्लान्‌। तैपनि येसुले अब्राहामका हराएका सन्तानहरूलाई खोज्ने र फेरि परमेश्‍वरकहाँ फर्काउने काम गरिनै रहनुहुनेछ।

  • येसु दुई जना अन्धो माग्नेलाई सम्भवतः कहाँ भेट्‌नुहुन्छ र उहाँ तिनीहरूको लागि के गरिदिनुहुन्छ?

  • जक्कै को हुन्‌ र तिनले पश्‍चात्ताप गरेको कसरी देखाउँछन्‌?

  • येसुले जक्कैसित गर्नुभएको व्यवहारबाट हामी के सिक्न सक्छौँ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने