हामी कसरी परमेश्वरप्रति आफ्नो प्रेम देखाउँछौं
परमेश्वरबारे सिकेर आफ्नो दिमागी ज्ञान बढाउँदैमा उहाँप्रति स्वतः प्रेम विकास हुँदैन। संसारभरि रहेका परमेश्वरका सेवकहरूले प्रमाणित गर्न सकेझैं कुनै व्यक्ति परमेश्वरको व्यक्तित्वसित राम्ररी परिचित भइसकेपछि उहाँप्रतिको साँचो प्रेम बढ्छ र उहाँले प्रेम गर्नुहुने कुरा, उहाँले घृणा गर्नुहुने कुरा अनि उहाँका रुचि तथा आवश्यकताहरूलाई राम्ररी बुझेपछि यो प्रेम अझै बलियो बन्दै जान्छ।
यहोवाले माया गरेर हामीलाई आफ्नो वचन बाइबल दिनुभएको छ र त्यसमा उहाँले आफूलाई प्रकट गर्नुभएको छ। हामी यसबाट यहोवाले विभिन्न परिस्थितिहरूमा कस्तो व्यवहार देखाउनुभयो भनी सिक्छौं। एक जना प्रिय व्यक्तिले पठाएको चिठी पढ्दा हामी रमाएझैं बाइबलमा प्रकट गरिएको यहोवाको व्यक्तित्वका नयाँ पक्षहरूलाई बुझ्दा हामी आनन्दित हुन्छौं।
यद्यपि, जन सेवकाईमा हामीले कहिलेकाहीं याद गरेझैं परमेश्वरबारे सिक्दैमा कुनै व्यक्ति उहाँलाई प्रेम गर्न उत्प्रेरित हुँदैन। येशूले आफ्नो समयका मूल्याङ्कन नदेखाउने केही यहूदीहरूलाई यसो भन्नुभयो: “तिमीहरू धर्मशास्त्रमा खोजी गर्दछौ, किनभने त्यहाँ अनन्त जीवन पाइन्छ भनी तिमीहरू ठान्छौं; . . . तर परमेश्वरको प्रेम तिमीहरूमा छैन भनी म जान्दछु।” (यूहन्ना ५:३९, ४२, नयाँ संशोधित संस्करण) कसै-कसैले यहोवाका मायालु कार्यहरूबारे सिक्न वर्षौं बिताउँछन् तैपनि तिनीहरूमा उहाँप्रति थोरै मात्र प्रेम हुन्छ। किन? तिनीहरू आफूले सिकेका कुराहरूको अर्थबारे चिन्तन गर्न असफल हुन्छन्। यसको विपरीत, हामीले बाइबल अध्ययन सञ्चालन गर्ने करोडौं निष्कपट मानिसहरूले परमेश्वरप्रतिको आफ्नो प्रेम निरन्तर बढिरहेको अनुभव गर्छन्। किन? किनभने हामीले गरेजस्तै तिनीहरू आसापको उदाहरणलाई पछ्याउँछन्। कुन तरिकामा?
मूल्याङ्कनसहितको मनन गर्नुहोस्
आसाप आफ्नो हृदयमा यहोवाप्रति प्रेम विकास गर्न कटिबद्ध थिए। उनले यस्तो लेखे: “मेरो आत्माले . . . परमप्रभुका कार्यहरूको म चर्चा गर्नेछु, किनकि म तपाईंका तादिका आश्चर्यकामहरू सम्झनेछु। म तपाईंका सबै कामहरूमा पनि ध्यान गर्नेछु, र तपाईंका कार्यहरूमा घोरिन्छु।” (भजन ७७:६, ११, १२) भजन रचयिताले जस्तै यहोवाका तौरतरिकाहरूमा घोरिने व्यक्तिको हृदयमा परमेश्वरप्रतिको प्रेम बढ्नेछ।
यसको अतिरिक्त, यहोवाको सेवा गर्दा हामीले आनन्द उठाएका अनुभवहरूलाई सम्झँदा त्यसले उहाँसितको हाम्रो सम्बन्धलाई बलियो बनाउँछ। प्रेरित पावलले हामी परमेश्वरका “सहकर्मी” हौं भने, अनि सहकर्मीहरूबीच विकास हुन सक्ने मित्रता अत्यन्तै विशेष हुन्छ। (१ कोरिन्थी ३:९) जब हामी यहोवाप्रतिको आफ्नो प्रेम व्यक्त गर्छौं, उहाँले यसको मूल्याङ्कन गर्नुहुन्छ अनि यसले उहाँको हृदयलाई प्रसन्न तुल्याउँछ। (हितोपदेश २७:११) फलतः जब हामी यहोवाको मदत माग्छौं अनि कुनै खास कठिनाइको समाधान गर्न उहाँले हामीलाई मार्गदर्शन दिनुहुन्छ, त्यतिबेला उहाँ हामीसित हुनुहुन्छ भनी हामीलाई थाह हुन्छ अनि उहाँप्रतिको हाम्रो प्रेम अझै गहिरो बन्छ।
जब दुई जना मानिसले एक-अर्कालाई आफ्नो भावना पोखाउँछन्, तिनीहरूबीचको मित्रता बढ्न थाल्छ। त्यसरी नै, जब हामी उहाँलाई हामी उहाँप्रति समर्पित हुनुको कारण बताउँछौं, उहाँप्रतिको हाम्रो प्रेम बलियो हुन्छ। हामीले येशूका यी शब्दहरू झल्काइरहेका हुनेछौं: “तैंले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा मनले, आफ्नो सारा प्राणले, आफ्नो सारा बुद्धिले र आफ्नो सारा शक्तिले प्रेम गर्।” (मर्कूस १२:३०) हामी निरन्तर यहोवालाई आफ्नो सारा मन, सारा प्राण, सारा बुद्धि र सारा शक्तिले प्रेम गरिरहनेछौं भन्ने कुरालाई पक्का गर्न के गर्न सक्छौं?
आफ्नो सारा मनले यहोवालाई प्रेम गरिरहने
धर्मशास्त्रले त्यस्तो मनलाई सङ्केत गर्छ जुन हाम्रो भित्री व्यक्तित्व अर्थात् हाम्रो इच्छा, मनोवृत्ती अनि सोचाइहरू हुन्। त्यसैले, आफ्नो सारा मनले यहोवालाई प्रेम गर्नुको अर्थ हाम्रो जीवनमा सबैभन्दा ठूलो कुरा यहोवालाई प्रसन्न तुल्याउने चाहना हुनु नै हो। (भजन ८६:११) आफ्नो व्यक्तित्वलाई उहाँसामु स्वीकार्य बनाएर हामी आफूसित यस्तो प्रेम छ भनी देखाउँछौं। ‘जुन कुरो खराब छ, त्यसलाई घृणा गरेर अनि जुन कुरो असल छ, त्यसमा लागिरहेर’ हामी परमेश्वरको अनुकरण गर्ने कोसिस गर्छौं।—रोमी १२:९.
परमेश्वरप्रतिको हाम्रो प्रेमले हाम्रा सारा भावनाहरूलाई असर गर्छ। उदाहरणको लागि, हामीलाई आफ्नो जागिर आकर्षक लाग्न सक्छ अथवा यसमा हामी निकै ध्यान दिएर लाग्छौं होला तर के हाम्रो मन त्यसैमा छ? छैन। हामी यहोवालाई आफ्नो सारा मनले प्रेम गर्ने भएकाले सबैभन्दा पहिले हामी उहाँका सेवकहरू हौं। यस्तै गरी हामी आफ्ना आमाबाबु, विवाहित जोडी अनि हाकिमलाई खुसी बनाउन त चाहन्छौं तर सबैभन्दा पहिले यहोवालाई खुसी पार्न खोजेर हामी उहाँप्रतिको आफ्नो पूर्ण हृदयको प्रेम प्रमाणित गर्छौं। आखिर, उहाँ हाम्रो हृदयमा प्रथम स्थान लिन योग्यको हुनुहुन्छ।—मत्ती ६:२४; मत्ती १०:३७.
आफ्नो पूरा प्राणले यहोवालाई प्रेम गर्ने
धर्मशास्त्रमा “प्राण” शब्दले साधारणतया सम्पूर्ण व्यक्ति अनि हाम्रो जीवनलाई सङ्केत गर्छ। त्यसैले आफ्नो सारा प्राणले यहोवालाई प्रेम गर्नुको अर्थ उहाँको प्रशंसा गर्न अनि उहाँप्रतिको आफ्नो प्रेम प्रमाणित गर्न हामी आफ्नो सारा जीवन चलाउँछौं।
निस्सन्देह, जीवनमा हाम्रो चासोका अन्य विषयहरू हुन सक्छन्। जस्तै, कुनै पेसासम्बन्धी तालिम लिनु, कुनै व्यवसाय चलाउनु अथवा परिवारको पालनपोषण गर्नु। तर त्यति नै बेला उहाँको तौरतरिकाअनुसार काम गरेर अनि जीवनमा अन्य कुराहरूलाई उचित स्थानमा राखेर हामी यहोवाप्रतिको आफ्नो पूरा प्राणको प्रेम प्रमाणित गर्छौं, यसरी हामी “पहिले उहाँको राज्य र उहाँको धार्मिकता खोजी” गर्छौं। (मत्ती ६:३३) पूरा प्राणले उपासना गर्नु भनेको जोसिलो हुनु पनि हो। जोसिलो भई राज्यसन्देश प्रचार गरेर, सभाहरूमा उत्थानदायी टिप्पणीहरू दिएर अथवा हाम्रा मसीही भाइ तथा बहिनीहरूलाई मदत गरेर हामी उहाँलाई प्रेम गर्छौं भनी देखाउँछौं। हरेक कुरामा हामी “हृदयदेखिनै परमेश्वरको इच्छा पूरा” गरिरहन्छौं।—एफिसी ६:६.
आफूलाई इन्कार गरेर येशूले परमेश्वरलाई आफ्नो पूरा प्राणले प्रेम गरेको कुरा देखाउनुभयो। उहाँले परमेश्वरको इच्छालाई प्रथम स्थानमा अनि आफ्ना व्यक्तिगत आवश्यकताहरूलाई दोस्रो स्थानमा राख्नुभयो। येशूले हामीलाई उहाँको उदाहरण पछ्याउन आमन्त्रित गर्नुभयो। उहाँले यसो भन्नुभयो: “कोही मेरोपछि आउने इच्छा गर्दछ भने उसले आफूलाई इन्कार गरोस् र आफ्नो क्रूस [“शासनाको खम्बा,” NW] उठाएर मेरोपछि लागोस्।” (मत्ती १६:२४, २५) आफूलाई इन्कार गर्नुको अर्थ समर्पण गर्नु हो। यसको अर्थ, हामी परमेश्वरलाई यत्ति प्रेम गर्छौं कि हामी आफ्नो स्वामित्व उहाँलाई हस्तान्तरण गर्छौं जसरी बाइबलकालीन समयमा एउटा इस्राएलीले आफ्नो मालिकलाई यति साह्रो प्रेम गर्थ्यो कि एक जना कमाराको रूपमा उसले सधैंको लागि आफूलाई आफ्नो मालिकमा सुम्पन बाध्य सम्झन्थ्यो। (व्यवस्था १५:१६, १७) यहोवालाई हामी प्रेम गर्छौं भन्ने कुराको विश्वसनीय प्रमाण आफ्नो जीवन उहाँलाई समर्पण गर्नु हो।
आफ्नो सारा बुद्धिले यहोवालाई प्रेम गर्ने
यहोवालाई आफ्नो सारा बुद्धिले प्रेम गर्नुको अर्थ यहोवाको व्यक्तित्व, उद्देश्य तथा आवश्यकताहरू बुझ्नको लागि आवश्यक प्रयास गर्न हामी यथाशक्य गर्छौं। (यूहन्ना १७:३; प्रेरित १७:११) अरूलाई पनि यहोवालाई प्रेम गर्न मदत गर्नको लागि आफ्ना सारा मानसिक क्षमताहरू प्रयोग गरेर अनि सिकाउने कलामा प्रगति गरेर यहोवाको लागि आफ्नो प्रेम व्यक्त गर्छौं। प्रेरित पत्रुसले यस्तो आग्रह गरे, “आफ्नो मन बाँधेर सचेत होओ।” (१ पत्रुस १:१३) अरूलाई विशेष गरेर परमेश्वरका सँगी सेवकहरूलाई चासो देखाउन पनि हामी प्रयत्न गर्छौं। हामीलाई तिनीहरूका परिस्थितिहरू थाह छ अनि तिनीहरूलाई कहिले प्रशंसा गर्नु उपयुक्त हुन्छ अथवा तिनीहरूलाई कहिले सान्त्वना चाहिएको छ भनी हामी अवलोकन गर्छौं।
मानसिक रूपमा उहाँप्रति समर्पित भई हामी यहोवालाई आफ्नो सारा बुद्धिले प्रेम गर्छौं भनी देखाउँछौं। हामी कामकुरालाई उहाँको दृष्टिकोणबाट हेर्ने प्रयास गर्छौं, निर्णयहरू गर्दा उहाँलाई ध्यानमा राख्छौं अनि उहाँको मार्ग नै उत्तम हो भनी भरोसा गर्छौं। (हितोपदेश ३:५, ६; यशैया ५५:९; फिलिप्पी २:३-७) तर परमेश्वरलाई निरन्तर प्रेम देखाइरहँदा हामी कसरी आफ्नो बल प्रयोग गर्न सक्छौं?
आफ्नो सारा बलले यहोवालाई प्रेम गर्ने
मसीही मण्डलीमा धेरै युवाहरूले यहोवाको प्रशंसा गर्न आफ्नो बल प्रयोग गर्छन्। (हितोपदेश २०:२९; उपदेशक १२:१) धेरै जवान मसीहीहरूले आफ्नो सारा बलले यहोवालाई प्रेम गर्छन् भनेर देखाउने एउटा तरिका अग्रगामी सेवा अर्थात् पूर्ण-समय सेवकाईमा भाग लिएर हो। धेरै आमाहरू आफ्ना छोराछोरीहरू स्कूलमा हुँदा सेवकाईमा भाग लिन्छन्। आफ्नो परिवारको हितको ख्याल गर्नुको अलावा गोठालो भेट गर्ने विश्वासी प्राचीनहरू आफ्नो सारा बलले यहोवालाई प्रेम गर्छन् भनी देखाउँछन्। (२ कोरिन्थी १२:१५) उहाँमा आशा राख्नेहरूलाई यहोवाले शक्ति दिनुहुन्छ त्यसकारण आफूसित भएको सारा बल प्रयोग गरी उहाँलाई प्रसन्न पारेर तिनीहरूले आफ्नो प्रेम प्रदर्शन गर्न सक्छन्।—यशैया ४०:२९; हिब्रू ६:११, १२.
सही तरिकामा विकास गरेको खण्डमा प्रेम बढ्नेछ। त्यसैले, हामी मनन गर्न निरन्तर समय निकालिरहन्छौं। यहोवाले हाम्रो लागि के-के गर्नुभएको छ अनि उहाँ किन हाम्रो भक्तिको योग्य हुनुहुन्छ भनी हामी सम्झना गर्छौं। आदमका असिद्ध सन्तानहरू भएका हुनाले “परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूका निम्ति तयार पार्नुभएका” कुराहरूको लागि हामी कहिल्यै योग्य हुन सक्दैनौं तर हामी दिलोज्यानले यहोवालाई प्रेम गर्छौं भनी देखाउन सक्छौं। हामी निरन्तर यसो गरिरहौं!—१ कोरिन्थी २:९.
[पृष्ठ २०-मा भएको चित्र]
हामी कामद्वारा परमेश्वरप्रति प्रेम व्यक्त गर्छौं