किन चमत्कारले मात्र विश्वास जगाउन सक्दैन
नदेखेसम्म पत्याउन सकिंदैन। धेरैको यस्तै धारणा छ। कोही भन्छन्, कुनै चमत्कारपूर्ण तरिकामा ईश्वर प्रकट हुनुभयो भने मात्र उनीहरू विश्वास गर्नेछन्। शायद त्यो ठीकै हो, तर के त्यस्तो धारणाले साँचो विश्वास जगाउँछ र?
इस्राएलीहरू कोरह, दातान र अबीरामलाई विचार गर्नुहोस्। तिनीहरू परमेश्वरले गर्नुभएका यी अद्भुत चमत्कारहरूको प्रत्यक्षदर्शी थिए भनेर बाइबलले देखाउँछ: मिश्रमाथि परेको दश विपत्ति, इस्राएली जातिले लाल समुद्र तरेको अनि मिश्री फिरऊन र उनका सैनिक डफ्फाको संहार। (प्रस्थान ७:१९–११:१०; १२:२९-३२; भजन १३६:१५) कोरह, दातान र अबीरामले यहोवा सीनै पर्वतबाट बोल्नुभएको पनि सुनेका थिए। (व्यवस्था ४:११, १२) तैपनि, यी सबै चमत्कारहरू देखेको धेरै समय नबित्दै तिनीहरू यहोवा र उहाँले नियुक्त गर्नुभएको सेवकको विद्रोह गर्न सुरिए।—गन्ती १६:१-३५; भजन १०६:१६-१८.
लगभग ४० वर्षपछि बिलाम नाउँका भविष्यवक्ताले पनि आफ्नै आँखाले चमत्कार देखे। स्वर्गदूत स्वयं आएर रोक्दा समेत तिनले यहोवाका शत्रु मोआबीहरूको पक्ष लिन छोडेनन्। त्यस्तो चमत्कार देख्दादेख्दै पनि बिलाम अघि बढे र यहोवा अनि उहाँका मानिसहरूको विरुद्धमा खडा भए। (गन्ती २२:१-३५; २ पत्रुस २:१५, १६) यहूदा इस्करयोतीले देखाएको विश्वासको अभावले त झन् बिलामको यस्तो अविश्वासलाई समेत फिक्का बनाइदिन्छ। येशूसँग त्यस्तो नजीकको सम्बन्ध हुँदाहुँदै र त्यति धेरै उदेकलाग्दा चमत्कारहरू देख्दादेख्दै पनि ती यहूदाले ख्रीष्टलाई तीस टुक्रा चाँदीको लोभमा धोखा दिए।—मत्ती २६:१४-१६, ४७-५०; २७:३-५.
यहूदी धार्मिक नेताहरू पनि येशूका चमत्कारहरूबारे अनभिज्ञ थिएनन्। उहाँले लाजरसको पुनरुत्थान गर्नुभएपछि तिनीहरूले यसो समेत भनेका थिए: “यस मानिसले ता धेरै चिह्नहरू गरिरहेछ।” तर के त्यहाँ जिउँदो लाजरस खडा भएको देख्दा तिनीहरूको हृदय पग्लेर त्यसमा विश्वास गरे र? कहाँ गर्थे! बरु, तिनीहरू येशू र लाजरस दुवैलाई मार्ने योजना पो रच्न थाले!—यूहन्ना ११:४७-५३; १२:१०.
परमेश्वरको प्रत्यक्ष प्रकटीकरणले समेत ती दुष्ट मानिसहरूमा विश्वास जगाउन सकेन। एक पटक मन्दिरमा शिक्षा दिंदै गर्नुहुँदा येशूले ठूलो स्वरले यसरी प्रार्थना गर्नुभयो: “हे पिता, आफ्नो नाउँको महिमा गर्नुहोस्।” अनि यहोवाले स्वर्गबाट यस्ता शब्दहरूमा जवाफ दिनुभयो: “मैले महिमा गरेको छु, र फेरि महिमा गर्ने पनि छु।” तैपनि, त्यहाँ भएकाहरूको हृदयमा यो चमत्कारपूर्ण घटनाको कुनै असर परेन। बाइबल भन्छ: “उहाँले तिनीहरूका सामु यतिका चिह्नहरू गर्नुभएको थियो, तथापि तिनीहरूले उहाँलाई विश्वास गरेनन्।”—यूहन्ना १२:२८-३०, ३७; तुलना गर्नुहोस् एफिसी ३:१७.
चमत्कारले किन विश्वास जगाउन सकेन
त्यत्तिका चमत्कारको बावजूद किन विश्वास नपलाएको होला? खासगरि येशूलाई यहूदी धार्मिक नेताहरूले लत्याउनुको कारणै बुझ्न गाह्रो छ। किनभने येशूले प्रचार गर्न थाल्नुभएको समयमा सबै यहूदीहरू “ख्रीष्ट” अथवा मसीहको “आशा गरिरहेकै” थिए। (लूका ३:१५) तथापि, समस्या चाहिं तिनीहरूले आशा गरिरहेको कुरा थियो। यसबारे कोशकार डब्लु. इ. भाइनले चिरपरिचित बाइबलविद्को भनाइ उद्धृत गर्दै भने, यहूदीहरू एकोहोरोसँग त्यस्तो मसीहलाई दिमागमा राखिरहेका थिए जसले तिनीहरूलाई “पृथ्वीमा विजय” र “भौतिक सम्पन्नता” दिनेथियो। तसर्थ, सा.यु. २९ मा नम्र अनि राजनीतिमा चासो नराख्ने नासरतका येशू साँचो मसीहको रूपमा देखा पर्नुहोला भनेर त उनीहरूले कल्पनासम्म गरेका थिएनन्। येशूको शिक्षाले उथलपुथल मच्चाउला र आफ्नो लोकप्रियता गुम्ला कि भनेर पनि ती धार्मिक नेताहरू डराइरहेका थिए। (यूहन्ना ११:४८) तिनीहरूका आफ्नै मनगढन्ते विचारधारा र स्वार्थले गर्दा तिनीहरूले येशूका चमत्कारहरूको महत्त्व बुझ्न सकेनन्।
पछि येशूका चेलाहरूले ईश्वरीय अनुमोदन पाएको कुरा पनि ती यहूदी धार्मिक नेता र अन्य मानिसहरूले स्वीकार्न सकेनन्। उदाहरणका लागि, येशूका प्रेरितहरूले जन्मजात लंगडोलाई निको पार्दा यहूदी महासभाका चिढिएका सदस्यहरूले यसो भने: “यी मानिसहरूलाई अब हामीले के गर्ने हो? किनभने साँच्चि नै यिनीहरूबाट एउटा प्रसिद्ध अचम्मको काम भएको छ भन्ने यरूशलेमका बासिन्दा जम्मैलाई प्रत्यक्ष भइसकेको छ। औ हामी यसलाई इन्कार गर्नसक्तैनौं। तर यो कुरो जनतामा नफैलियोस् भनी हामी यिनीहरूलाई ‘फेरि यस नाउँमा कुनै मानिससित तिमीहरू बात नगर्नू’ भनी धम्काऔं।” (प्रेरित ३:१-८; ४:१३-१७) कुरा स्पष्ट छ, यो अद्भुत चमत्कार हुँदा पनि ती मानिसहरूको हृदयमा विश्वास टुसाउन सकेन।
महत्त्वाकांक्षा, घमण्ड र लोभजस्ता अवगुनहरूले धेरैजसो मानिसहरूको हृदय कठोर बनाइदिन्छ। सुरुमा चर्चा गरिएका कोरह, दातान र अबीरामलाई पनि त्यस्तै भएको हुनुपर्छ। कतिपयलाई चाहिं डाह, डरछेरुवापन र ईर्ष्याजस्ता स्वभावहरूले बाधा पारेका छन्। हामीलाई ती स्वर्गदूतहरू अर्थात् प्रेतहरूको पनि सम्झना छ, जसले कुनै बेला परमेश्वरकै अगलबगलमा बस्ने सुअवसर पाएका थिए। (मत्ती १८:१०) तिनीहरूलाई परमेश्वर हुनुहुन्छ भनेर निश्चय पनि थाह छ। साँच्चै, “भूतात्माहरूले पनि विश्वास गर्दछ र थरथर काम्छ।” (याकूब २:१९) तापनि तिनीहरू परमेश्वरमाथि विश्वास गर्दैनन्।
साँचो विश्वासको अर्थ
विश्वास, धारणाजस्तो होइन। यो कुनै चमत्कारले पैदा गर्ने क्षणिक आवेग पनि होइन। हिब्रू ११:१ भन्छ: “विश्वासचाहिं आशा राखेका कुराको निश्चयता, र नदेखेका कुराको प्रमाण हो।” जो व्यक्तिमा विश्वास छ, ऊ यहोवाले गर्नुभएका जुनसुकै प्रतिज्ञा पनि अवश्य पूरा हुन्छ भनेर हृदयदेखि नै विश्वस्त हुन्छ। साथै, अदृश्य वास्तविकताहरूको अकाट्य प्रमाण यति ठोस हुन्छ कि स्वयं विश्वासलाई ती अदृश्य वास्तविकताको प्रमाण भनिएको छ। हो, विश्वास तथ्यमा आधारित हुन्छ। बितेको समयमा विश्वास जगाउन अनि दिलाउन चमत्कारले भूमिका खेल्यो। येशूले देखाउनुभएका चिह्नहरूले प्रतिज्ञा गरिएको मसीह उहाँ नै हुनुहुन्थ्यो भनी पत्याउन अरूलाई मदत गरे। (मत्ती ८:१६, १७; हिब्रू २:२-४) त्यस्तैगरि, विभिन्न भाषामा बोल्ने, चमत्कारपूर्ण ढंगमा रोग निको पार्ने जस्ता परमेश्वरको पवित्र आत्मा अथवा सक्रिय शक्तिका वरदानहरूले अब यहूदीहरूमा होइन तर यहोवाको प्यारो पुत्रले स्थापना गर्नुभएको मसीही मण्डलीसित परमेश्वरको अनुमोदन छ भनेर प्रमाणित गरे।—१ कोरिन्थी १२:७-११.
आत्माका चमत्कारपूर्ण वरदानहरूमध्ये भविष्यवाणी गर्नसक्ने क्षमता पनि थियो। केही अविश्वासीहरूले यस्तो चमत्कार देखेर यसो भन्दै यहोवाको उपासना गर्न अघि सरे: “साँच्चि नै परमेश्वर तिमीहरूका बीचमा हुनुहुन्छ।” (१ कोरिन्थी १४:२२-२५) यद्यपि, यहोवा परमेश्वरले चमत्कार मसीही उपासनाको स्थायी हिस्सा होस् भनेर चाहनुभएन। तदनुसार प्रेरित पावलले लेखे: “चाहे अगमवाणीहरू होऊन्, ती टली जान्छन्, चाहे भाषाहरू होऊन्, ती बन्द हुन्छन्।” (१ कोरिन्थी १३:८) यी वरदानहरू प्रेरितहरूको मृत्युसँगै खतम भए, त्यसैगरि प्रेरितहरूबाट त्यस्ता वरदान पाउनेहरूका ती वरदानहरू पनि अन्त भए।
के त्यसोभए त्यतिबेलाका मानिसहरूका लागि विश्वास गर्ने कुनै आधार छोडिएन त? अहँ, त्यसो गरिएन। किनभने पावलले यसो भने: “[परमेश्वर]ले आफुलाई विना गवाही छोड़नुभएन, यसरी कि उहाँले तपाईंहरूलाई स्वर्गबाट पानीको झरी र फल फल्ने ऋतु दिएर भलाइ गरी तपाईंहरूका हृदयमा खुराक र आनन्दले भरिदिनुभयो।” (प्रेरित १४:१७) निस्सन्देह, आफ्नो मन खोलेर वरपरका प्रत्यक्ष प्रमाणहरू हेर्न चाहने सोझा मानिसहरूका लागि यहोवा परमेश्वरको “अदृश्य गुण, अर्थात् उहाँको अनन्त शक्ति र ईश्वरीय स्वभाव, संसारको सृष्टिदेखिनै बनिएका कुराबाट थाह पाएर, उहाँको कामद्वारा बुझ्न सकिने र छर्लङ्गै देखिने भएको छ, र यिनीहरूलाई [अर्थात् परमेश्वरलाई इन्कार गर्नेहरू] कुनै किसिमको बहाना छैन।”—रोमी १:२०.
परमेश्वर हुनुहुन्छ भन्ने धारणा राखेर मात्र पुग्दैन। पावलले यसप्रकार आग्रह गरे: “यस संसारसित एकै चालका नहोओ, तर तिमीहरूको मनको परिवर्त्तनले तिमीहरू बदलियौ। औ परमेश्वरका असल, मनपर्ने र सिद्ध इच्छा के रहेछ भनी तिमीहरू जाँचेर पत्ता लगाओ।” (रोमी १२:२) यो पत्रिकाजस्तै अरू मसीही प्रकाशनहरूको मदतले धर्मशास्त्रको गहन अध्ययन गरेर त्यसो गर्न सकिन्छ। परमेश्वरको वचन, बाइबलको सही ज्ञानमा आधारित विश्वास कमजोर अथवा फितलो हुँदैन। परमेश्वरको चाहना बुझ्ने र त्यसैअनुरूप विश्वास राख्नेहरूले परमेश्वरलाई पवित्र सेवा चढाइरहेका छन्।—रोमी १२:१.
देख्दै नदेखे पनि विश्वास गर्ने
प्रेरित थोमालाई येशूको पुनरुत्थानमा विश्वास गर्न गाह्रो परेको थियो। उनले यसो भने, “जबसम्म म उहाँका हातमा कीलाहरूको डोब देख्तिनँ, र कीलाहरूको डोबमा मेरो औंला हाल्दिनँ औ उहाँको कोखामा मेरो हात हाल्दिनँ, तबसम्म म पत्याउनेछैनँ।” पछि येशूले कीलाको डोब भएको भौतिक शरीर धारण गर्नुभएपछि मात्र उनले त्यस चमत्कारलाई पत्याए। तथापि, येशूले यसो भन्नुभयो, “नदेखेर विश्वास गर्नेहरू धन्य हुन्।”—यूहन्ना २०:२५-२९.
आज यहोवाका लाखौं साक्षीहरू “दृष्टिले होइन तर विश्वासले” हिंडिरहेका छन्। (२ कोरिन्थी ५:७) बाइबलमा लेखेर राखिएका चमत्कारहरू नदेखे तापनि त्यो भएकै थियो भनेर तिनीहरू अटल विश्वास राख्छन्। साक्षीहरू परमेश्वर र उहाँको वचन बाइबलमा विश्वास गर्छन्। त्यसैले उहाँको पवित्र आत्माको मदत पाएर तिनीहरूले बाइबलको मुख्य विषय अर्थात् यहोवा परमेश्वरको सार्वभौमिकता उहाँको स्वर्गीय राज्य मार्फत स्थापना हुनेछ भनी बुझ्न सकेका छन्। (मत्ती ६:९, १०; २ तिमोथी ३:१६, १७) यी साँचो मसीहीहरू बाइबलको बुद्धिमत्तापूर्ण सल्लाह जीवनमा उतार्छन् र यसबाट धेरै लाभ हासिल गर्छन्। (भजन ११९:१०५; यशैया ४८:१७, १८) हामी बाँचिरहेको वर्तमान समय “आखिरी दिन” हो भनेर पुष्टि दिने बाइबलका अकाट्य प्रमाणहरूलाई तिनीहरू स्वीकार्छन्। साथै, परमेश्वरले वाचा गर्नुभएको नयाँ विश्व चाँडै देख्नेछौं भनेर पनि विश्वास गर्छन्। (२ तिमोथी ३:१-५; मत्ती २४:३-१४; २ पत्रुस ३:१३) तिनीहरू परमेश्वरको ज्ञानबारे अरूलाई बताउन आनन्द मान्छन्। (हितोपदेश २:१-५) परमेश्वरको खोजी गर्नेहरूले धर्मशास्त्रको अध्ययनबाट मात्र उहाँलाई साँच्चै भेट्टाउनेछन् भनेर तिनीहरूले बुझेका छन्।—प्रेरित १७:२६, २७.
के तपाईंलाई यसअघिको लेखमा उल्लेख गरिएको अल्बर्टको सम्झना छ? कुनै चमत्कार देखाउनुहोस् भनेर उनले प्रार्थना गरेका थिए। त्यसको जवाफ नपाएको केही दिनपछि एउटी बूढी आइमाई उनलाई भेट्न आइन्। तिनी यहोवाकी साक्षी थिइन् र उनलाई बाइबलमा आधारित केही साहित्य छाडेर गइन्। त्यसपछि अल्बर्ट निश्शुल्क गृह बाइबल अध्ययन गर्न मञ्जुर भए। बाइबलका विवरणहरूसँग राम्ररी भिजेपछि उनको निराशा आनन्दमा परिणत भयो। आखिरमा उनले परमेश्वर भेट्टाएको महसुस गर्न थाले।
धर्मशास्त्र यस्तो आग्रह गर्छ: “जबसम्म परमप्रभुलाई पाउनसक्छ उहाँलाई खोज। उहाँ नजीक हुनुहुँदा नै उहाँलाई पुकार।” (यशैया ५५:६) यस आधुनिक जमानामा चमत्कार पर्खेर होइन तर उहाँको वचनको सही ज्ञान लिएर तपाईं त्यसो गर्न सक्नुहुन्छ। यसो गर्नैपर्छ किनभने चमत्कारले मात्र विश्वास दिलाउन सक्दैन।
[पृष्ठ ५-मा भएको चित्र]
लाजरसको चमत्कारपूर्ण पुनरुत्थानले समेत येशूका विरोधीहरूमा विश्वास जगाउन सकेन
[पृष्ठ ७-मा भएको चित्र]
विश्वास बाइबलको सही ज्ञानमै आधारित हुनुपर्छ