पृथ्वीको रहस्यमय शासकको पर्दाफास
येशूले एक चोटि मानिसहरूलाई यसो भन्नुभयो: “यस संसारको शासक बाहिर फ्याँकिनेछ।” पछि उहाँले यो पनि भन्नुभयो, ‘यस संसारको शासकले ममाथि कुनै नियन्त्रण जमाउन सक्दैन’ र “यस संसारको शासकको न्याय भएको छ।” (यूह. १२:३१; १४:३०; १६:११) येशूले कसको बारेमा कुरा गर्दै हुनुहुन्थ्यो?
येशूले “यस संसारको शासक”-बारे भनेको कुरालाई विचार गर्दा उहाँले आफ्नो बुबा यहोवा परमेश्वरबारे बताइरहनुभएको हुन सक्दैन। त्यसोभए “यस संसारको शासक” को हो त? त्यो कसरी “बाहिर फ्याँकिनेछ” अनि कसरी त्यसको “न्याय” भएको छ?
“यस संसारको शासक”-ले आफूलाई प्रकट गर्छ
आपराधिक गिरोहको नाइकेले अक्सर आफ्नो शक्तिको घमन्ड गर्छ। दियाबलले परमेश्वरको छोरा येशूलाई प्रलोभनमा पार्दा पनि त्यसै गरेको थियो। येशूलाई संसारका “सबै राज्य” देखाइसकेपछि सैतानले यो प्रस्ताव राख्यो: “म यी सबै राज्यको अख्तियार अनि त्यसको गौरव तपाईंलाई दिनेछु। किनकि ती मलाई दिइएका छन् र जसलाई इच्छा लाग्छ, म उसैलाई दिन्छु। त्यसैले तपाईंले मलाई एक चोटि ढोग्नुभयो भने यी सबै थोक तपाईंकै हुनेछ।”—लूका ४:५-७.
कसै-कसैले भनेझैं दियाबल वास्तविक होइन भने त्यो प्रलोभनको घटना नि? के येशूलाई कुनै दुष्ट सोचाइले वा सायद बप्तिस्मापछिको आन्तरिक वेदनाले प्रलोभनमा पारिरहेको थियो? त्यसो हो भने “उहाँमा कुनै पाप छैन” भन्न मिल्छ र? (१ यूहन्ना ३:५) मानिसजातिमाथि दियाबलको शक्तिलाई इन्कार गर्नुको साटो येशूले त्यसलाई “यस संसारको शासक” भनी पुष्टि गर्नुभयो र त्यो “हत्यारा” अनि “झूटा” हो भन्नुभयो।—यूहन्ना १४:३०; ८:४४.
ख्रीष्टले दियाबलको सामना गरेको लगभग ७० वर्षपछि प्रेषित यूहन्नाले खीष्टियनहरूलाई दियाबलको शक्तिशाली प्रभावबारे सम्झाउँदै भने, “सारा संसार त्यस दुष्टको हातमा परेको छ।” यूहन्नाले त्यसलाई “सारा संसारलाई ठग्ने” पनि भने। (१ यूहन्ना ५:१९; प्रकाश १२:९) बाइबलले “यस संसारको शासक” अदृश्य छ भनी स्पष्टसित बताउँछ। तर त्यसले मानिसहरूमाथि कसरी प्रभाव जमाउँछ?
संसारको शासकले आफ्ना चाकरहरूलाई शक्ति दिन्छ
विश्वासको लागि सङ्घर्ष गर्ने ख्रीष्टियनहरूबारे लेख्दा प्रेषित पावलले तिनीहरूको सबैभन्दा खराब शत्रुहरूलाई चिनाए। तिनले स्पष्टसित भने: “हाम्रो यो लडन्त मानिसहरूसित होइन तर सरकारहरूसित, अख्तियारवालाहरूसित, यस अन्धकार संसारका शासकहरूसित अनि स्वर्गका दुष्ट दूतहरूका दलसित हो।” (एफिसी ६:१२) तसर्थ यो सङ्घर्ष “मानिसहरूसित” होइन तर “स्वर्गका दुष्ट दूतहरूका दलसित” हो।
थुप्रै आधुनिक बाइबल अनुवादअनुसार “स्वर्गका दुष्ट दूतहरूका दल” भनेको दुष्टताको धारणा नभई स्वर्गमा बस्ने शक्तिशाली दूतहरू हुन्। त्यसकारण दियाबलले आफूजस्तै “आफ्नो उचित बासस्थान त्याग्ने” अन्य विद्रोही स्वर्गदूतहरूमार्फत आफ्नो शक्ति चलाइरहेको छ।—यहूदा ६.
बाइबलको भविष्यसूचक किताब दानियलमा “संसारका शासकहरू”-ले प्राचीन समयदेखि कसरी संसारमाथि प्रभुत्व जमाइरहेका छन् भनी बताइएको छ। ईसापूर्व ५३७ मा बेबिलोनी निर्वासनबाट फर्केका सँगी यहूदीहरूको विषयमा भविष्यवक्ता दानियल असाध्यै चिन्तित थिए। त्यसैले तिनले उनीहरूको खातिर तीन हप्तासम्म प्रार्थना गरे। परमेश्वरले दानियललाई सान्त्वना दिन पठाउनुभएको स्वर्गदूतले आफू आउन ढिलो हुनुको कारण बताए। तिनले भने: “फारस राज्यका राजकुमारले मलाई एक्काईस दिनसम्म अवरोध गरे।”—दानियल १०:२, १३, NRV.
“फारस राज्यका राजकुमार” को थिए? स्वर्गदूतले फारसी राजा कोरेसबारे बताइरहेका थिएनन् किनभने तिनले दानियल र तिनीसँगै निर्वासनमा परेका मानिसहरूप्रति राम्रो व्यवहार गर्थे। यसबाहेक एक स्वर्गदूतले एकै रातमा १,८५,००० वीर योद्धाहरूलाई मार्न सक्छ भने के मानव राजाले स्वर्गका दूतसित तीन हप्तासम्म लडिरहन सक्छ र? (यशैया ३७:३६) विरोध गर्ने “फारस राज्यका राजकुमार” दियाबलको चाकर हुनुपर्छ। त्यस दुष्ट दूतलाई फारसी साम्राज्यमाथि अधिकार गर्ने जिम्मा दिइएको थियो। बाइबल विवरण पढ्दै जाने हो भने परमेश्वरको दूतले फेरि “फारस राज्यका राजकुमार”-सँग र पछि अर्को दुष्ट दूत “ग्रीसका राजकुमार”-सँग लड्नुपर्नेछ भनी बताए।—दानियल १०:२०, NRV.
यसबाट हामी कस्तो निष्कर्षमा पुग्न सक्छौं? यही कि “संसारका शासकहरू” अर्थात् दुष्ट राजकुमारहरू अदृश्य छन् अनि तिनीहरूको नाइके सैतान अर्थात् दियाबलले तिनीहरूलाई पनि संसारमाथि प्रभुत्व जमाउने अख्तियार दिएको छ। तर अहिलेसम्म पनि तिनीहरू के गर्न लागिपरेका छन्?
संसारको शासकले आफ्नो वास्तविक रूप देखाउँछ
बाइबलको अन्तिम किताब प्रकाशमा प्रेषित यूहन्नाले प्रधान दूत माइकलको रूपमा येशूले कसरी दियाबल र त्यसका दूतहरूलाई परास्त गर्नुहुन्छ अनि तिनीहरूलाई स्वर्गबाट फालिएपछि कस्तो दुःखद परिणाम हुन्छ, त्यसबारे बताउँछ। हामी यस्तो लेखिएको पाउँछौं: “पृथ्वी[लाई] . . . धिक्कार छ, किनकि दियाबल तल तिमीहरूकहाँ आएको छ अनि आफ्नो समय थोरै मात्र बाँकी भएकोले त्यो असाध्यै रिसाएको छ।”—प्रकाश १२:९, १२.
दियाबलले आफू असाध्यै रिसाएको कसरी देखाउँछ? थुप्रै अपराधीले ‘गर या मर’ भन्ने सिद्धान्त अपनाएझैं दियाबल र त्यसका दूतहरू पनि पृथ्वी र यसका बासिन्दाहरूलाई आफूसँगसँगै नाश गर्न लागिपरेका छन्। आफ्नो समय थोरै मात्र बाँकी भएकोले त्यसले आफ्नो नियन्त्रणमा भएको मानव समाजको एउटा महत्त्वपूर्ण तत्त्वलाई चलाइरहेको छ। त्यो हो —व्यापारजगत्। यही व्यापारजगत्लाई चलाएर दियाबलले उपभोक्तावादको बेलगाम होडबाजीलाई प्रवर्धन गरेको छ। यसको परिणामस्वरूप प्राकृतिक स्रोतसाधन ह्रास हुनुका साथै विश्वभरि वातावरण विनाश भइरहेको छ, जसले गर्दा मानिसहरूको अस्तित्व नै सङ्कटमा परेको छ।—प्रकाश ११:१८; १८:११-१७.
दियाबल शक्तिको भोको छ भन्ने कुरा मानव इतिहासको सुरुदेखि नै राजनीति र धर्ममा प्रस्ट देखिएको छ। प्रकाशको पुस्तकले राजनैतिक शक्तिहरूलाई जङ्गली जनावर भनी चित्रण गरेको छ, जसलाई दियाबलले “ठूलो अख्तियार” दिएको छ। राजनीति र धर्मबीचको निर्लज्ज साठगाँठलाई प्रतीकात्मक अर्थमा परपुरुषसितको यौनसम्बन्ध भनी व्याख्या गरिएको छ। (प्रकाश १३:२; १७:१, २) शताब्दीयौंको दौडान भएको दमन, दासत्व, युद्ध अनि जातीय झगडाले गर्दा लाखौंको ज्यान गइसक्यो। बीभत्स अनि दर्दनाक घटनाहरूले गर्दा मानव इतिहासका पानाहरूमा लागेको दागलाई के मानिसहरूको सामान्य काम भन्न सकिन्छ र? अथवा कतै त्यो अदृश्य दुष्ट स्वर्गदूतहरूको चलखेलको परिणाम थियो कि?
मानव नेता र संसारका शासकहरूलाई चलाउने वास्तवमा को हो भनेर बाइबलले स्पष्टसित चिनाउँछ। जानेर होस् या अनजानमा, मानव समाजले आफ्नो शासकको व्यक्तित्व अनि ‘गर या मर’ भन्ने त्यसको सिद्धान्त झल्काउँछ। मानिसजातिले दियाबलको शासनमुनि कतिन्जेल दुःख भोग्नु पर्नेछ?
दियाबलको अन्तिम सास
प्रथम शताब्दीमा पृथ्वीमा ख्रीष्टको गतिविधि दियाबल र त्यसका दूतहरूको लागि मृत्युको घण्टी थियो। येशूका चेलाहरूले अदृश्य दुष्ट स्वर्गदूतहरूलाई धपाएको विषयमा बताउँदा उहाँले तिनीहरूलाई भन्नुभयो: “बिजुली चम्केजस्तै सैतान आकाशबाट खसेको मैले देखें।” (लूका १०:१८) यी शब्दहरू व्यक्त गरेर येशू यस संसारको शासकमाथि आफ्नो भावी विजयमा रमाउँदै हुनुहुन्थ्यो। यो घटना येशूले स्वर्गमा फेरि प्रधान दूत माइकलको भूमिका निर्वाह गर्नुभएपछि हुनेथियो। (प्रकाश १२:७-९) बाइबलका भविष्यवाणीहरू विस्तृत तवरमा अध्ययन गर्दा उक्त घटना स्वर्गमा सन् १९१४ मा वा त्यसको अलिक पछि भयो भनेर देखिन्छ।a
त्यस मितिमा भएको घटनाले गर्दा दियाबललाई आफ्नो विनाश हुने समय अब धेरै छैन भनेर थाह छ। “सारा संसार त्यस दुष्टको हातमा” परे तापनि आज लाखौं मानिसहरू त्यसको बहकाउमा पर्नदेखि जोगिएका छन्। बाइबल पढेर तिनीहरूले दियाबलको साँचो चिनारी र त्यसका युक्तिहरू प्रस्ट बुझ्न सकेका छन्। (२ कोरिन्थी २:११) पावलले सँगी ख्रीष्टियनहरूलाई लेखेका शब्दहरूले तिनीहरूलाई आशा दिएको छ: “तिमीहरूलाई शान्ति दिनुहुने परमेश्वरले चाँडै सैतानलाई तिमीहरूको खुट्टामुनि राखेर कुल्चनुहुनेछ।”b—रोमी १६:२०.
चाँडै दियाबलले अन्तिम सास लिनेछ! ख्रीष्टको मायालु शासनको अधीनमा बस्ने असल मानिसहरूले पृथ्वीलाई प्रमोदवनमा परिवर्तन गर्नेछन्। हिंसा, घृणा र लोभ सदाको लागि हटाइनेछ। बाइबल भन्छ: “अघिअघिका कुराहरूको सम्झना हुनेछैन।” (यशैया ६५:१७) यस संसारको रहस्यमय शासक र त्यसको अख्तियारको चङ्गुलबाट मुक्त भएपछि तिनीहरूले ढुक्क भएर लामो सास तान्नेछन्! (w11-E 09/01)
[फुटनोटहरू]
a यस मितिबारे थप जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? किताबको परिशिष्टमापृष्ठ २१५ देखि २१८ हेर्नुहोस्।
b पावलका यी शब्दहरूमा उत्पत्ति ३:१५ मा लिपिबद्ध बाइबलको पहिलो भविष्यवाणी दोहोऱ्याइएको छ, जसले दियाबलको अन्तिम विनाशलाई सङ्केत गर्छ। त्यो घटनाबारे व्याख्या गर्न पावलले “चकनाचूर पार्नु, धूलोपीठो पार्नु, टुक्राटुक्रा पार्नु” भन्ने अर्थ बुझाउने ग्रीक शब्द चलाए।—भाइन्स कम्प्लीट एक्सपोजिटरी डिक्सनरी अफ ओल्ड एण्ड न्यु टेस्टामेन्ट वर्डस्।
[पृष्ठ २९-मा भएको ठूलो अक्षरको क्याप्सन]
ख्रीष्टको मायालु शासनको अधीनमा बस्ने असल मानिसहरूले पृथ्वीलाई प्रमोदवनमा परिवर्तन गर्नेछन्