साँचो प्रेम इनामदायक हुन्छ
“तिमीहरूको काम र त्यो प्रेम जो उहाँको नाउँतर्फ देखाएका छौ, सो बिर्सन परमेश्वर अधर्मी हुनुहुन्न।”—हिब्रु ६:१०
१, २. व्यक्तिगत रुपमा साँचो प्रेम हामीहरुको निम्ति किन इनामदायक हुन्छ?
हामीले व्यक्त गर्न सक्ने सर्वोत्कृष्ट, कुलीन, अत्यन्त मूल्यवान गुण निस्वार्थ प्रेम हो। यो प्रेम (ग्रीक, अ.गाʹपे) ले हामीबाट लगातार धेरै माग्छ। तर न्याय अनि प्रेमको परमेश्वरले हामीलाई सृष्टिगर्नु भएको हुनाले, निस्वार्थ प्रेम वास्तवमा फलदायक हुन्छ भनी हामी पाउदछौं। यसो किन भएको?
२ साँचो प्रेम इनामदायक हुने एउटा कारणमा त्यो मनोवैज्ञानिक सिद्धान्त संलग्न छ, अर्थात हाम्रो शरीरमा विचार अनि भावनाको प्रभाव। तनावबारे एउटा अधिकारीले भनेका छन्: “‘आफ्नो छिमेकीलाई प्रेम गर’ कसैले दिएको औषधीय सल्लाहहरुमा सबै भन्दा बुद्धियुक्त टुक्राहरुमा गनिन्छ।” हो, “उदार मानिसले आफ्नो कल्याण ल्याउँछ।” (हितोपदेश ११:१७) यसै अनुरुप अर्थ राख्छ यी शब्दहरुले: “उदार प्राणी प्रचुर हुनेछ, अरुलाई सित्तैमा पानी दिनेले सित्तैमा पानी पाउनेछन्।”—हितोपदेश ११:२५, न्यु वर्ल्ड; तुलना गर्नुहोस् लूका ६:३८.
३. साँचो प्रेम इनामदायक बनाउनको निम्ति परमेश्वरले कसरी कार्य गर्नु हुन्छ?
३ साथै प्रेम यसकारण इनामदायक हुन्छ किनकि परमेश्वरले निस्वार्थतालाई पुरस्कृत गर्नुहुन्छ। हामी पढ्छौं: “उदारचित्तले गरीबलाई जस्ले दिन्छ, त्यसले यहोवालाई (न्यु वर्ल्ड) दिन्छ, उहाँले (परमेश्वरले) त्यसलाई भरिपूर्ण प्रतिफल दिनुहुनेछ।” (हितोपदेश १९:१७) यहोवाका साक्षीहरु यिनै शब्दहरुसँग सुस्वरतामा हिड्छन् जब तिनीहरु परमेश्वरको राज्यको सुसमाचारको प्रचार गर्छन्। तिनीहरुलाई थाहा छ कि ‘तिमीहरुको काम र त्यो प्रेम जो उहाँको नाउँतर्फ देखाएका छौ, सो बिर्सन परमेश्वर अधर्मी हुनुहुन्न।’—हिब्रू ६:१०.
हाम्रा उम्दा उदाहरण
४. साँचो प्रेम इनामदायक हुन्छ भनेर कसले उम्दा उदाहरण उपलब्ध गराउनु भयो, अनि उहाँले कसरी सो गर्नुभयो?
४ साँचो प्रेम इनामदायक हुन्छ भनी कसले उम्दा उदाहरण प्रदान गर्छ? किन नि, यो ता अरु कोही होइन तर परमेश्वर आफैले उपलब्ध गराउनु भएको छ! उहाँले “संसारलाई (मानव जातिको) यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्नो एकमात्र पुत्रलाई दिनुभयो।” (यूहन्ना ३:१६) छुडौतीको बलिदान स्वीकार गर्नेहरुले अनन्त जीवन पाउन् भनेर तिनीहरुका निम्ति आफ्नो छोरो दिनु अवश्य पनि यहोवालाई धेरै दाम पऱ्यो, अनि यसले यो स्पष्ट देखाउछ कि उहाँमा प्रेम अनि समःभाव दुवै छन्। यो कुरो यस तथ्यले अझ प्रकट भयो जब ‘मिस्रमा इस्राएलको दुःखमा उहाँ दुःखित हुनुभयो।’ (यशैया ६३:९) आफ्नो छोरोलाई यातनाको काठमा छटपटाएको हेर्नु अनि ठूलो स्वरले कराएर: “हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईंले मलाई किन त्याग्नु भयो?” भनेको सुन्नु यहोवालाई अझ कति कष्टदायक भयो होला?—मत्ती २७:४६.
५. परमेश्वरले मानवजातिलाई यति प्रेम गर्नुभयो कि उहाँले आफ्नो छोरो बलिदान स्वरुप दिनुभएको हुनाले के हुन सम्भव भएको छ?
५ आफ्नो साँचो प्रेमको अभिव्यक्ति के यहोवाले इनामदायक पाउनुभयो? अवश्य नै पाउनुभयो। असाधारण तरिकामा, यहोवाले कस्तो सुहाउँदो जवाफ दियाबलको अनुहारमा फ्याँक्न सक्नुभयो किनकि शैतानले येशूलाई अनेक गरेतापनि तिनी विश्वासी रहे। (हितोपदेश २७: ११) वास्तवमा, यहोवाको नाउँबाट कलङ्क मेटाउने, यस पृथ्वीमा प्रमोदवन ल्याउने, लाखौंलाई अनन्त जीवन दिने जति पनि कार्य परमेश्वरको राज्यले सम्पादन गर्नेछ, यो यसकारण संभव भयो किनकि परमेश्वरले मानवजातिलाई यति प्रेम गर्नुभयो कि उहाँले आफ्नो हृदयको सबैभन्दा प्रिय वस्तुलाई बलिदानस्वरुप दिनुभयो।
येशूको असल उदाहरण
६. प्रेमले येशूलाई के गर्ने प्रेरणा दियो?
६ साँचो प्रेम इनामदायक हुन्छ भनी अर्को राम्रो उदाहरण चाहिं परमेश्वरको पुत्र, येशू मसीहको छ। तिनी आफ्नो स्वर्गीय पितालाई प्रेम गर्नुहुन्छ, अनि त्यो प्रेमले यहोवाको इच्छा कुनै हालतमा पनि गर्न येशूलाई प्रेरणा दिएको छ। (यूहन्ना १४:३१; फिलिप्पी २:५–८) कहिले काहीं येशूलाई आफ्नो पितालाई “बेसरी कराएर, आसु बगाएर” विन्ती गर्नु परेता पनि येशूले परमेश्वरलाई आफ्नो प्रेम देखाइ नै रहे।—हिब्रू ५:७.
७. कुन कुन प्रकारले साँचो प्रेमलाई येशूले इनामदायक पाउनु भएको छ?
७ यस्तो आत्म-बलिदानी प्रेमको लागि के येशूले इनाम पाउनुभयो? अवश्य पाउनु भयो नि! याद गर्नुहोस् उहाँको-तीन-अनी-आधा वर्षको सेवकाईमा गरेको असल कुराहरुबाट उहाँले कस्तो आनन्द उठाउनुभयो। अध्यात्मिक अनि शारीरिक रुपमा उहाँले मानिसहरुलाई कत्ति सहायता दिनुभयो! त्यस माथि, शैतानले जति नै गरेतापनि एउटा सिद्ध व्यक्तिले परमेश्वरतर्फ पूर्ण निष्ठा राख्न सक्छ भनी प्रदर्शन गरेर, येशूले प्रमाण दिने सन्तोष पाउनु भयो कि दियाबल असत्य वक्ता हो। यस अतिरिक्त, परमेश्वरको एउटा विश्वासी दास भएर, येशूले पुनःरुत्थान पश्चात स्वर्गमा अविनाशी जीवनको ठूलो पुरस्कार इनामस्वरुप पाउनुभयो। (रोमी ६:९; फिलिप्पी २:९–११; १ तिमोथी ६:१५, १६; हिब्रू १:३, ४) साथै आरमागेडनमा अनी उहाँको सहस्र राज्य पर्यन्त, जब पृथ्वीमा प्रमोदवन स्थापित हुन्छ र अरबौं मरेको अवस्थाबाट जीवित पारिनेछ त्यत्तिबेला कस्ता कस्ता अदभुत विषेशाधिकार उहाँको अगाडि हुने होला! (लूका २३:४३) यसमा कुनै शंका छैन कि येशूले साँचो प्रेम इनामदायक पाउनुभयो।
पावलको उदाहरण
८. परमेश्वर अनि दौंतरीहरु प्रतिको साँचो प्रेमले गर्दा पावलको के अनुभव थियो?
८ प्रेरित पत्रुसले एकपल्ट येशूलाई सोध्यो: “हेर्नुहोस्! हामीले ता सबै थोक छोडर तपाईंको पछि लाग्यौं; हामीले के पाउनेछौं” आंशिक रुपमा, येशूले जवाफ दिनुभयो: “जस जसले मेरो नाउँको निम्ति घर, दाजु-भाइ, दिदी-बहिनी, अथवा बाबु, कि आमा, कि छोरा-छोरीहरु, कि जग्गा-जमीनहरु छोड्छ, त्यसले सय गुणा बढी पाउनेछ, र अनन्त जीवनको अधिकार पाउनेछ।” (मत्ती १९:२७–२९) यस सम्बन्धमा घतपार्ने उदाहरण प्रेरित पावलमा पाउछौं जसले धेरै आशीषको आनन्द उठायो, जुन कुरोको विवरण लूकाले प्रेरितहरुको किताबमा दिएका छन्। परमेश्वर अनि छिमेकी प्रति साँचो प्रेमले पावललाई एउटा सम्माननीय फरिसीको कार्य-जीवन त्याग्न लगायो। यो पनि विचार गर्नुहोस् पावलले अरु के के सहे, मुक्का, मृत्यु वारंवार, खतरा, दारिद्रय–यी सबै परमेश्वर अनि उहाँको पवित्र सेवकाइ प्रति साँचो प्रेमले गर्दा।—२ कोरिन्थी ११:२३–२७.
९. साँचो प्रेम व्यक्त गरेको हुनाले पावल कसरी पुरस्कृत भए?
९ साँचो प्रेमको यस्तो असल उदाहरण पावलले प्रदर्शन गरेका हुनाले के यहोवाले उसलाई पुरस्कृत गर्नुभयो? लौ, विचार गर्नुहोस् पावलको सेवकाई कत्ति फलदायक थियो। उनले एउटा पछि अर्को मण्डली स्थापनागर्न सके। साथै कस्ता कस्ता आश्चर्यकामहरु गर्न परमेश्वरले उसलाई अधिकार दिनुभयो! (प्रेरित १९:११, १२) साथै पावलले अलौकिक दर्शनहरु प्राप्तगर्न अनि १४ पत्रहरु लेख्ने विषेशाधिकार पाए जुन अहिले क्रिस्टियन ग्रीक शास्त्रको भाग भएको छ। यी सबै माथि श्रीपेच चाहिं स्वर्गमा अविनाशी जीवनको पुरस्कार उनलाई दिइयो। (१ कोरिन्थी १५:५३, ५४; २ कोरिन्थी १२:१–७; २ तिमोथी ४:७, ८) परमेश्वरले साँचो प्रेम पुरस्कृत गर्नु हुन्छ भनेर पावलले वास्तवमा पाए।
साँचो प्रेम हाम्रो दिनमा इनामदायक छ
१०. येशूको चेला हुन र यहोवा प्रति आफ्नो प्रेम प्रकट गर्नु हामीलाई के मोल लाग्नु सक्छ?
१० त्यसैगरि आज यहोवाका साक्षीहरुले पाएका छन् कि साँचो प्रेम इनामदायक हुन्छ। उहाँको पक्षमा हामी अडिग र येशूका चेला भएर यहोवाको निम्ति आफ्नो प्रेम प्रकट गरेर समग्रतापालक हुँदा हामीलाई आफ्नो प्राण पनि गुमाउनु पर्ला। (तुलना गर्नुहोस् प्रकाश २:१०।) त्यसैकारण नै हामीले हिसाब गर्नु पर्छ भनेर येशूले भन्नूभयो। तर यसो गर्नु चाहिं चेला हुन इनामदायक छ वा छैन भनेर थाहा लगाउनु होइन। बरु, चेला हुँदा हामीलाई जे मोल लागेता पनि तिर्न तैयार हुनको लागि हामीहरुले यसो गरेका हौं।—लूका १४:२८.
११. आफूलाई परमेश्वरमा समर्पित गर्न कोही किन बिराउँछन्?
११ आज, धेरै—निःसंदेह लाखौं—को निम्ति यहोवाका साक्षीहरुले परमेश्वरको वचनबाट ल्याएको समाचार माथि तिनीहरु विश्वास गर्छन्। तर परमेश्वरमा आफूलाई समर्पण गर्न र बप्तिस्मा लिनबाट पछि सर्छन्। यसको कारण तिनीहरुको मा अरुहरुमा भए जस्तो परमेश्वरप्रति साँचो प्रेम नभएर पो हो की? धेरै जना आफ्नो अविश्वासी जोडाको निगाहमा रहनको निम्ति समर्पण अनि बप्तिस्माको पाइला चाल्न बिराउँछन्। अरुहरु चाहिं परमेश्वरको नजिक यसकारण जाँदैनन् किनकि तिनीहरुको प्रवृति त्यस व्यापारीको जस्तो हुन्छ जसले एउटा साक्षीलाई भन्यो: “मलाई पाप मनपर्छ।” स्पष्टतया, यस्ता व्यक्तिहरुले तिनीहरुको निम्ति परमेश्वर अनि येशूले जे गर्नुभयो त्यसको मूल्याङ्कन गर्दैनन्।
१२. यो पत्रिकाले के भनेको छ जसले साँचो प्रेममा परमेश्वरको नजिक ल्याउने ज्ञानको इनामहरु माथि प्रकाश पार्छ?
१२ यदि हामीमा यहोवा परमेश्वर अनि येशू ख्रीष्टले हाम्रो निम्ति गर्नुभएको सबै थोकको असली मूल्याङ्कन छ भने, यसलाई हामीहरुले आफ्नो स्वर्गीय पिताको सेवा गर्न र येशूको चेलाहरु हुन जति लागेता पनि स्वेच्छापूर्वक तिरेर देखाउनेछौं। परमेश्वरको निम्ति साँचो प्रेम भएको हुनाले, अनेक व्यवसायबाट आएका व्यक्तिहरु—सफल व्यापारीहरु, प्रख्यात खेलाडी व्यक्तित्वहरु, अनि अरुहरुले—आत्म-स्वार्थ खोज्ने कार्य जीवनलाई मसीही सेवकाईको निम्ति साटेका छन्, जसरी प्रेरित पावलले गरेका थिए। र परमेश्वरलाई जान्न र सेवागर्नको पुरस्कारको सट्टामा तिनीहरुले केही लिनेछैनन्। यस सम्बन्धमा, द वॅच टावर ले एक पटक भन्यो: “हामीहरुले कहिले काहीं सोधेका छौं, कति जना दाजुभाइले सत्यबारे तिनीहरुले जे जति जानेका छन् त्यसको निम्ति हजार डॅलर लिन इच्छुक छ? एउटा पनि हात देखिएन! दश हजार डॅलर लिने कोही छ? छैन! दश लाख डॅलर लिने कोही छ? जसलाई इश्वरीय चरित्र र इश्वरीय योजना बारे जे जति थाहा छ त्यसको बदलामा सारा विश्व लिने कोही छ? कोही पनि छैन! तब हामीले भन्यौं, प्रिय जन, तपाईंहरु अति असन्तुष्ट जमात त होइन रहेछौ। यदि तपाईंले आफूलाई यति धनी पाउनुहुन्छ की परमेश्वरबारे तपाईंको ज्ञानको बदलामा तपाईं केही लिनुहुन्न, तब तपाईंले आफूलाई उति नै धनी अनुभव गर्नुहुन्छ जति हामी गर्छौं।” (डिसेम्बर १५, १९१४, पृष्ठ ३७७) हो, परमेश्वर अनि उहाँको उद्देश्यबारे सही ज्ञानले हामीहरुलाई साँचो प्रेममा उहाँको नजीक लान्छ जुन साँचै नै इनामदायी हुन्छ।
१३. व्यक्तिगत अध्ययनलाई हामीहरु कुन दृष्टिकोणबाट हेर्नु पऱ्यो?
१३ यदि हामी परमेश्वरलाई प्रेम गर्छौं भने, उहाँको इच्छा जान्न र गर्न हामी प्रयत्न गर्नेछौं। (१ यूहन्ना ५:३) हामीहरु व्यक्तिगत अध्ययनबारे, प्रार्थना, अनि मसीही सभामा भागलिने बारे गम्भीर विचार राख्नेछौं। यी सबैमा आत्म-बलिदानको आवश्यकता पर्छ, किनकि यी क्रिया-कलापमा समयको खर्च, ताकत, अनि अरु साधन समावेश छन्। हामीहरुलाई टेलीभिजन कार्यक्रम हेर्ने अथवा व्यक्तिगत बाइबल अध्ययनमा व्यस्त हुने बारे रोज्नुपर्ला। तर हामीहरु आध्यात्मिकतामा अझ कति बलिया हुनेछौं, अरुह- रुलाई अझ कति श्रेयस्कर साक्षी दिन सक्नेछौं, अनि मसीही सभाहरुबाट हामीहरु अझ कति लाभ उठाउनेछौं जब हामीहरु यस्ता अध्ययन गम्भीरतापूवर्क लिन्छौं र यसको निम्ति पर्याप्त समय पन्छाउँछौं!—भजनसंग्रह १:१–३.
१४. यहोवा परमेश्वरलाई प्रार्थनागर्नु अनि उहाँसँग राम्रो सम्बन्ध राख्नु कतिको महत्वपूर्ण छन्?
१४ ‘प्रार्थनामा निरन्तर लागी रहेर’ हाम्रो स्वर्गीय पितासँग कुरागर्ने आनन्द के हामीहरुले नियमित रुपमा उठाइरहेका छौं? (रोमी १२:१२) अथवा यस बहुमूल्य विशेषाधिकार प्रति उचित व्यवहारगर्न के हामीहरु प्रायः ज्यादै व्यस्त रहन्छौं? यहोवा परमेश्वरसँग हाम्रो सम्बन्ध बलियो राख्नको निम्ति ‘प्रार्थनामा निरन्तर लागी’ रहनु अत्यावश्यक छ। (१ थिस्सलोनिकी ५:१७) र प्रलोभनको सामना गर्ने सहायता पाउनको लागी यहोवासँगको राम्रो सम्बन्ध भन्दा असल अरु केही कुरो छैन। पोतीफरकी श्रीमतीको प्रलोभनलाई विरोधगर्ने यूसुफलाई सामर्थ के कुरोले दियो? अनि मादी र फारसका नियम व्यवस्थाले यहोवालाई अन्तर्विन्ती निषेध गरेतापनि दानियलले प्रार्थना गर्न किन छाडेनन्? (उत्पत्ती ३९: ७–१६; दानियल ६: ४–११) किन नि, परमेश्वर सँगको राम्रो सम्बन्धले ती मानिसहरुलाई विजयी हुन सहायता गऱ्यो, जसरी आज पनि यसले हामीलाई यस्तै हुने सहायता गर्नेछ!
१५. मसीही सभाहरु प्रति हाम्रो कस्तो विचार हुनुपऱ्यो, अनि किन?
१५ त्यसो भए, हाम्रा साप्ताहिक पाँच सभाहरुमा उपस्थित हुन हामीहरुले कतिको गम्भीरतासाथ लिन्छौं? संगी विश्वासीहरुसँग भेला हुने हाम्रो कर्तव्यलाई के हामीहरुले थकाई, अलिकता शारीरिक अस्वस्थता, अथवा अलिक खराब मौसमले गर्दा हस्तक्षेप हुन दिन्छौं? (हिब्रू १०:२४, २५) राम्रो तलब पाउने एकजना अमेरिकी कालिगडले देख्यो कि उसको जागीरले मसीही सभामा उसको उपस्थितिलाई वारंवार हस्तक्षेप गर्दो रहेछ। यसकारण, मण्डलीका सबै सभाहरुमा नियमित उपस्थित हुनको निम्ति उसले आर्थिक खति उठाएर जागीर फेऱ्यो। हाम्रा सभाहरुले हामीहरुलाई प्रोत्साहनको अदला-बदलीको आनन्द उठाउन र एकअर्काको विश्वासलाई बलियो पार्न सामर्थ दिन्छ। (रोमी १: ११, १२) यी सबै कुरोहरुमा, “प्रशस्तसँग छर्नेले प्रशस्तसँगै काट्छ” भन्ने कुरो के हामी पाउँदैनौ र? (२ कोरिन्थी ९: ६) हो, यी तरिकाहरु द्वारा साँचो प्रेम प्रदर्शन गर्नु अति इनामदायक हुन्छ।
साँचो प्रेम अनि हाम्रो सेवकाइ
१६. के परिणाम हुनसक्छ जब प्रेमले हामीहरुलाई अनौपचारिक साक्षी दिन प्रेरणा दिन्छ?
१६ यहोवाको जन भएर साँचो प्रेमले हामीहरुलाई सुसमाचार प्रचारगर्न प्रेरणा दिन्छ। उदाहरणको लागि, यसले हामीहरुलाई अनौपचारिक साक्षीदिने काममा भाग लिने प्रेरणा दिन्छ। अनौपचारिक साक्षी दिन हामीहरु अकमकाउँला, तर प्रेमले हामीलाई बोल्न कर लगाउनेछ। वास्तवमा, प्रेमले हामीहरुलाई वार्तालाप थाल्न अनि तत्पश्चात त्यसलाई राज्यतर्फ निर्दिष्टगर्ने बुद्धिमानी तरिकाहरुको विचारगर्न कर लगाउनेछ। उदाहरणको लागि, एक जना मसीही प्राचीनले विमानमा आफूलाई एउटा रोमन क्याथलिक् पादरीको छेउमा बसेको पाएछ। पहिले त, त्यो प्राचीनले पादरीलाई रीस नउठाउने प्रश्नहरु सोधेछन्, तर पादरी विमानबाट उत्रने समयसम्म त, उसको चासोले उसलाई हाम्रो दुईवटा किताबहरु प्राप्तगर्न उत्तेजित गराएछ। अनौपचारिक साक्षीदिने कामको कस्तो असल नतीजा!
१७, १८. मसीही सेवकाईको सम्बन्धमा प्रेमले हामीहरुलाई के गर्न तत्पर गराउँछ?
१७ साँचो प्रेमले अझ हामीहरुलाई घर-घर गएर प्रचारगर्ने काम र मसीही सेवकाईको अरु अभ्यासमा नियमित भाग लिन तत्पर गराउँछ। जुन मात्रामा हामी बाइबल माथि छलफल गर्न सकछौं, उति नै हामीले यहोवा परमेश्वरमाथि आदर ल्याउनेछौं र भेडा खालका मानिसहरुलाई अनन्त जीवनको बाटोमा लाग्ने सहायता दिनेछौं। (तुलना गर्नुहोस् मत्ती ७:१३, १४।) यदि हामी बाइबल छलफल गर्न अशक्त छौं भने पनि हाम्रो प्रयत्न व्यर्थै जाँदैन। अरुको घरहरुमा हाम्रो उपस्थिति नै साक्षीको काम गर्दछ, अनि हामी आफैपनि सेवकाइबाट लाभ उठाउँछौं, किनकि आफ्नो विश्वास बलियो नपारीकन हामी बाइबलको सत्यहरुको घोषणागर्न सक्दैनौं। यो कुरो साँचो हो, कि घर-घर जान हामीमा विनय हुनुपर्छ, ‘सुसमाचारको सहभागी हुन सकौं भनेर सुसमाचारकै खातिर सब थोक गर्छौं।’ (१ कोरिन्थी ९:१९–२३) तर परमेश्वर अनि दौंतरीहरु प्रति प्रेम हुनाले, विनयी भएर हामी प्रयत्न गर्छौं र भरपूर आशिष द्वारा पुरस्कृत हुन्छौं।—हितोपदेश १०:२२.
१८ साथै, बाइबल सत्यमा चासो दिने व्यक्तिहरुलाई पुनःभेट गर्नुको निम्ति विवेकी हुनको लागि पनि यहोवाको दासहरुमा साँचो प्रेम हुनुपर्छ। हप्तैपिच्छे, महिनैपिच्छे बाइबलको अध्ययन संचालनगर्नु परमेश्वर अनि छिमेकी प्रति प्रेमको प्रकटन हो, किनकि यो कामको निम्ति समय, प्रयत्न, साथै भौतिक साधनको खर्च हुन्छ। (मर्कूस १२:२८–३१) तरैपनि, जब हामीहरु यी बाइबल शिक्षार्थीहरु मध्ये एक जनाले बप्तिस्मा लिएको र शायद पूर्ण समय सेवकाईमा प्रवेश गरेको देख्यौं भने, के हामी निश्वित हुँदैनौ होला कि साँचो प्रेम वास्तवमा इनामदायक हुन्छ?—तुलना गर्नुहोस् २ कोरिन्थी ३:१–३.
१९. प्रेम अनि पूर्ण-समय सेवकाईबीच के सम्बन्ध छ?
१९ निस्वार्थ प्रेमले हामीहरुलाई पूर्ण-समय सेवकाइको निम्ति भौतिक सुखसुविधाहरुलाई त्याग्न प्रेरणा दिन्छ, यदि हामीहरुलाई यस्तो क्रिया-कलापमा भाग लिन सम्भव छ भने। हजारमाथि हजार साक्षीहरुले प्रमाण दिन सक्छन् कि साँचो प्रेमलाई त्यो हदसम्म प्रकटगर्दा ज्यादै इनामदायक भएको छ। यदि परिस्थितिले तपाईंलाई पूर्ण-समय सेवकाइमा भाग लिने मौका दिन्छ तर तपाईंले त्यसको लाभ उठाउनु भएन भने, तपाईंलाई थाहै छैन तपाईंले कस्ता आशिषहरू गुमाउनु हुँदैछ।—तुलना गर्नुहोस् मर्कूस १०:२९, ३०.
अरु प्रकारले इनामदायक
२०. प्रेमले हामीहरुलाई क्षमाशील हुन कसरी सहायता दिन्छ?
२० अर्को तरिकामा साँचो प्रेम इनामदायक यसकारण हुन्छ किनकि यसले हामीहरुलाई क्षमाशील हुन सहायता दिन्छ। हो, प्रेमले “खराबीको वास्ता गर्दैन।” वास्तवमा, “प्रेमलेनै असंख्य पापहरु ढाक्तछ।” (१ कोरिन्थी १३:५; १ पत्रूस ४:८) “असंख्य” को अर्थ धेरै पापहरु हुन्, होइन र? र क्षमाशील हुन कति इनामदायक हुन्छ! जब तपाईं क्षमा दिनु हुन्छ, यसले तपाईंलाई र तपाईंको विरुद्ध पाप गर्नेलाई पनि निको लाग्छ। तर यो भन्दा अझ महत्वपूर्ण तथ्य यो हो कि हामी विरुद्ध पाप गर्नेहरुलाई हामीले पहिल्यै क्षमा गरेका छैनौं भने, यहोवाले हामीहरुलाई क्षमा गर्नुहुन्छ भनेर आशा राख्न सक्दैनौं।—मत्ती ६:१२; १८:२३–३५.
२१. साँचो प्रेमले हामीहरुलाई आज्ञाकारी हुन कसरी सहायता दिन्छ?
२१ अझ, साँचो प्रेम इनामदायक हुन्छ यस कुरोमा कि यसले हामीहरुलाई आज्ञाकारी हुन सहायता गर्छ। यदि हामीहरु यहोवालाई प्रेम गर्छौं भने, उहाँको पराक्रमी बाहुली मुनी हामीले आफैलाई नम्र तुल्याउनेछौं। (१ पत्रूस ५:६) उहाँ प्रतिको प्रेमले हामीहरुलाई उहाँको चुनिएको उपकरण “विश्वासी र बुद्धिमान दास” प्रति आज्ञाकारी हुन चलाउँछ। यसमा मण्डलीलाई डोऱ्याउनेहरु प्रति पनि आज्ञाकारी हुने कुरो समावेश छ। यो इनामदायक हुन्छ किनकि यसोगर्न बिराएमा हामीहरुको निम्ति “हानिकारक” हुनेछ। (मत्ती २४:४५–४७; हिब्रू १३:१७) अवश्य पनि, आज्ञाकारी हुने यो सिद्धान्त पारिवारिक चक्रमा पनि लागु हुन्छ। यस्तो मार्ग इनामदायक यसकारण हुन्छ कि यसले पारिवारिक आनन्द, शान्ति, र सुस्वरताको वृद्धि साथै हामीले परमेश्वरलाई आनन्दित तुल्याउँदैछौं भन्ने ज्ञानसँग आउने सन्तोष पाउछौं।—एफिसी ५:२२; ६:१–३.
२२. हामी वास्तवमा खुशी कसरी हुन सक्छौं?
२२ त्यसो भए, स्पष्ट छ, हामीले खेति गर्नुपर्ने सर्वश्रेष्ठ गुण अ.गा’पे हो, जुन निस्वार्थ, सैद्धान्तिक प्रकारको प्रेम हो। र यसमा कुनै शंका छैन कि साँचो प्रेम इनामदायक हुन्छ। यसकारण, हामी वास्तवमा खुशी हुनेछौं यदि हामीहरुले अझ बढी मात्रामा यो गुणलाई खेति र अभिव्यक्त गऱ्यौं भने, हाम्रा प्रेमालु परमेश्वर, यहोवाको महिमाको निम्ति। (w90 11/15)
तपाईंले के प्रतिउत्तर दिनुहुन्छ?
▫ कुन कुन तरिकामा यहोवा परमेश्वरले साँचो प्रेम प्रदर्शन गर्नुभएको छ?
▫ येशू मसीहले प्रेम कसरी देखाउनु भएको छ?
▫ साँचो प्रेम देखाउनुमा प्रेरित पावलले के उदाहरण राखे?
▫ यहोवाको साक्षीहरुले प्रेम कसरी प्रदर्शन गरेका छन्?
▫ साँचो प्रेम इनामदायक हुन्छ भनी तपाईं किन भन्नुहुन्छ?
[पृष्ठ १६-मा भएको चित्र]
मानवजाति प्रति प्रेमले यहोवालाई आफ्नो छोरो दिन उत्प्रेरित गरायो जसले गर्दा हामीहरूले अनन्त जीवन पाउन सक्छौं। यस्तो साँचो प्रेमको के तपाईं मुल्याङ्कन गर्नुहुन्छ?
[पृष्ठ १८-मा भएको चित्र]
यहोवा प्रति साँचो प्रेमले हामीहरूलाई “प्रार्थनामा लागि रहने” प्रेरणा दिनेछ