“हामीले मसीहलाई भेट्टाएका छौं!”
“तिनले [अन्द्रियास] पहिले आफ्नो साक्खै भाइ शिमोनलाई भेट्टाएर तिनलाई भने, ‘हामीले मसीहलाई (जसको अर्थ ख्रीष्ट हो) भेट्टाएका छौं।”—यूहन्ना १:४१.
१. नासरतका येशूबारे बप्तिस्मा दिने यूहन्नाले के गवाही दिए, र अन्द्रियासले उहाँबारे के ठहर गरे?
अन्द्रियासले बेरसम्म नियालेर नासरतको येशू भनौदो यहूदी मानिसलाई हेरी रहे। उहाँ हेर्नमा कुनै राजा, विद्वान अथवा रब्बी जस्तो हुनुहुन्न थियो। उहाँले शाही पोशाक पहिरनु भएको थिएन, नता उहाँको शिरको रौं नै सेतो थियो। उहाँका हातहरू नरम र छाला गोरो पनि थिएन। येशू जवान हुनुहुन्थ्यो—करीब ३० वर्ष पुगेको—र एउटा श्रमिक काम गर्ने मानिसको झैं उहाँका हातहरू खस्रो र छाला अलिकता डढेको थियो। अतः, उहाँ एकजना सिकर्मी हुनुहुन्छ भन्ने कुरा थाह पाउँदा अन्द्रियास छक्क परेनन् होला। तथापि, बप्तिस्मा दिने यूहन्नाले यस मानिसको विषयमा यसो भने: “हेर! परमेश्वरको थुमा!” एक दिनअघि मात्र यूहन्नाले यो अझ उदेकलाग्दो कुरा भनेका थिए: “परमेश्वरको पुत्र उहाँनै हुनुहुन्छ।” के यो साँचो हुन सक्थ्यो? त्यस दिन अन्द्रियासले केही समय येशूका कुराहरू सुन्न बिताए। येशूले के भन्नु भयो, सो हामी जान्दैनौं; तर उहाँका शब्दहरूले अन्द्रियासको जीवनलाई बदलिदियो, त्यो चाहिं हामी जान्दछौं। तिनी हतार-हतार आफ्ना भाइ शिमोनलाई खोज्न गए र यो घोषणा गरे: “हामीले मसीहलाई भेट्टाएका छौं!”—यूहन्ना १:३४-४१.
२. येशू नै प्रतिज्ञा गरिएका मसीह हुनुहुन्छ भन्ने प्रमाणमाथि विचार गर्नु किन महत्त्वपूर्ण छ?
२ पछि गएर अन्द्रियास र शिमोन (जसलाई येशूले पत्रुस नाउँ दिनु भयो) येशूका प्रेरितहरू भए। उहाँका चेला भएको केही दुइ वर्षपछि, पत्रुसले येशूलाई भने: “तपाईं जीवित परमेश्वरका पुत्र ख्रीष्ट [मसीह] हुनुहुन्छ।” (मत्ती १६:१६) यसै विश्वासका लागि विश्वासी प्रेरितहरू र चेलाहरू पछि गएर आफ्नो ज्यानको बाजीसमेत लगाउन तयार भए। आज पनि लाखौं मानिसहरू त्यतिकै समर्पित छन्। तर कुन प्रमाणको आधारमा? आखिर, विश्वास र पत्यार गर्नु बीचको भिन्नता प्रमाण त हो नि। (हिब्रू ११:१ हेर्नुहोस्।) यसकारण, येशू वास्तवमा मसीह हुनुहुन्थ्यो भनेर पुष्टि दिने तीन बेग्ला-बेग्लै प्रमाणहरूबारे अब हामी विचार गरौं।
येशूको वंशावली
३. येशूको वंशावलीबारे मत्ती र लूकाका सुसमाचारहरूले के विस्तृत विवरणहरू दिन्छन्?
३ येशू नै मसीह हुनुहुन्छ भन्ने कुराको पुष्टि दिन मसीही युनानी शास्त्रले प्रस्तुत गरेको प्रथम प्रमाण येशूको वंशावली हो। राजा दाऊदको घरानाबाट नै मसीह आउनु हुनेछ भनेर बाइबलमा अग्रिमवाणी गरिएको थियो। (भजनसंग्रह १३२:११, १२; यशैया ११:१, १०) मत्ती रचित सुसमाचार यस प्रकार सुरु हुन्छ: “अब्राहामका पुत्र, दाऊदका पुत्र, येशू ख्रीष्टको वंशावली।” विश्वस्तता साथ गरिएको यो दाबीलाई पुष्टि दिन मत्तीले येशूको वंशावली उहाँको धर्म-पिता यूसुफ पट्टिबाट केलाउँछन्। (मत्ती १:१-१६) लूका रचित सुसमाचारमा चाहिं येशूको वंशावलीलाई उहाँलाई जन्म दिने आमा मरियमदेखि दाऊद, अब्राहाम र अन्तमा आदमसम्म पुऱ्याइएको छ। (लूका ३:२३-३८)a यसप्रकार, येशू साँच्चै नै दाऊदको एक जना उत्तराधिकारी हुनुहुन्थ्यो भन्ने दाबीलाई येशूको जीवनी लेख्नेहरूले कानुनी र प्राकृतिक, दुवै तवर्मा प्रमाणित गर्छन्।
४, ५. (क) येशू दाऊदको वंशको हुनुहुन्छ भन्ने कुरालाई के उहाँका समकालीनहरूले चुनौती दिए, र यो किन महत्त्वपूर्ण छ? (ख) बाइबल बाहेकका अन्य सूत्रहरूले पनि कसरी येशूको वंशावलीलाई समर्थन गर्दछन्?
४ येशू, मसीह हुनुहुन्छ भन्ने तथ्यको सबैभन्दा कट्टर विरोधीले पनि येशू दाऊदको पुत्र हुनुहुन्थ्यो भन्ने दाबीलाई अस्वीकार गर्न सक्तैन। किन? यसका लागि दुईवटा कारणहरू छन्। एक त, सा० यु० ७०-मा यरूशलेम नाश हुनुभन्दा धेरै नै अघि देखि यो दाबीको चर्चा त्यस शहरभरि भइसकेको थियो। (मत्ती २१:९; प्रेरित ४:२७; ५:२७, २८ सङ्ग तुलना गर्नुहोस्।) यो दाबी झुट्टा हुँदो हो त येशूका थुप्रै विरोधीहरू मध्ये कुनै एक जनाले पनि साझा अभिलेखालयहरूमा रेकर्ड गरिएको येशूको वंशावली हेरेर उहाँलाई धोकाबाज साबित गर्न सक्ने थिए।b तर येशू, राजा दाऊदको सन्तान हुनुहुन्छ भन्ने तथ्यलाई कसैले पनि चुनौती दिएको प्रमाण इतिहासमा छैन। जाहेर छ, त्यो दाबी निर्विवाद थियो। निःसन्देह, मत्ती र लूकाले तिनीहरूको विवरणका लागि मुख्य-मुख्य नाउँहरू साझा रेकर्डहरू बाट नै नकल गरेको हुनुपर्छ।
५ दोस्रो, बाइबलभन्दा बाहिरका स्रोतहरूले पनि येशूको वंश परम्परालाई आम रूपमा स्वीकार्दछ। उदाहरणका लागि, चौथो शताब्दीका एकजना यहूदी धर्मगुरुले येशूकी आमा, मरियमलाई ‘सिकर्मीहरूसँग बेश्यावृति गर्ने’ भन्दै अति कटु आक्रमण गरेको कुरा तालमुदमा दर्ज गरिएको छ। साथै त्यसै ठाउँमा “तिनी राजकुमारहरू र शासकहरूकी वंशज थिइन” भनी स्वीकारेको पनि छ। त्योभन्दा पनि अघिको उदाहरण दोस्रो शताब्दीका इतिहासकार हेजेसीपस हुन्। तिनले वर्णन गरे कि दाऊदका खानदानहरूलाई रोमी सम्राट डोमिशियनले सखाप पार्ने प्रयास गर्दा सुरुका मसीहीहरूका केही शत्रुहरूले येशूका सौतेनी भाइ, यहूदाका नातीहरूलाई “दाऊदका खानदानका भनी” खुला रूपमा बदख्वाई गरेका थिए। यहूदा दाऊदका खानदानका एक जना ज्ञात व्यक्ति थिए भने, येशू पनि दाऊदकै खानदानको हुनै पर्छ। निस्सन्देह हुनुहुन्थ्यो!—गलाती १:१९; यहूदा १:१.
मसीही भविष्यवाणीहरू
६. हिब्रू शास्त्रमा कति थुप्रा मसीही भविष्यवाणीहरू पाइन्छन्?
६ येशू, मसीह हुनुहुन्थ्यो भन्ने अर्को प्रमाणको क्षेत्र हो, पूरा भएको भविष्यवाणी। हिब्रू शास्त्रमा मसीहका निम्ति प्रयोग हुने अनगिन्ती भविष्यवाणीहरू छन्। द लाइफ एण्ड टाइम्स आफ जिसस् द मेसाया (येशू मसीहको जीवन र समय) भन्ने आफ्नो लेखमा अलफ्रेड एडेरसीमले हिब्रू शास्त्रमा पुराना यहूदी धर्मगुरुहरूले मसीहलाई जनाउने ४५६ वटा जति पदहरू देखाएका छन्। तथापि, ती धर्मगुरुमा मसीहबारे धेरै नै गलत धारणाहरू थिए। तिनीहरूले सङ्केत गरेका धेरै पदहरू मसीहसम्बन्धी हुँदै होइनन्। तरपनि, कमसेकम दर्जनौं यस्ता भविष्यवाणीहरू छन् जसले येशू नै मसीह हुनुहुन्छ भनी सङ्केत गर्दछ।—प्रकाश १९:१० तुलना गर्नुहोस्।
७. येशू पृथ्वीमा रहनुहुँदा उहाँले पूरा गर्नु भएका केही भविष्यवाणीहरू के के हुन्?
७ ती यी हुन्: उहाँ जन्मनु हुने शहर (मीका ५:२; लूका २:४-११); उहाँको जन्मपश्चात घट्ने आम बालहत्याको दुखद् घटना (यर्मिया ३१:१५; मत्ती २:१६-१८); उहाँलाई मिस्र देशबाट बोलाइने (होशे ११:१; मत्ती २:१५); उहाँलाई नष्ट पार्न अन्यजातिका शासकहरू एक जुट हुने (भजनसंग्रह २:१, २; प्रेरित ४:२५-२८); चाँदीका ३० टुक्राका निम्ति उहाँलाई धोका दिइने (जकरिया ११:१२; मत्ती २६:१५); उहाँलाई मार्ने विधिसमेत।—भजनसंग्रह २२:१६, पादटिप्पणी; यूहन्ना १९:१८, २३; २०:२५, २७.c
उहाँको आगमनबारे भविष्यवाणी गरिएको थियो
८. (क) मसीहको आगमनबारे कुनचाहिं भविष्यवाणीले ठोकेर भन्दछ? (ख) त्यो भविष्यवाणीलाई बुझ्न कुन दुई तथ्यहरूलाई बुझ्नै पर्दछ?
८ अब हामी एउटै भविष्यवाणीमाथि ध्यान दिऊँ। मसीही कहिले आउनु हुनेछ भनी यहूदीहरूलाई दानियल ९:२५-मा भनिएको थियो। त्यहाँ भन्दछ: “यो जान र बुझ, यरूशलेमको पुनर्प्राप्ति र पुनर्निर्माण हुनेछ भन्ने वचन निस्केको समयदेखि एक अभिषेक जन, एक राजकुमार देखा परेको, समयसम्म सात हप्ता बित्नेछन्। त्यसपछि ब्यासट्ठी हप्तासम्म।” झट्ट यसो हेर्दा यो भविष्यवाणी रहस्यमय लाग्न सक्छ। तर विस्तारपूर्वक हेर्दा यसमा हामीले दुईवटा मात्र सूचनाबारे पता लगाए पुग्छ। एउटा त सुरु हुने समय र अर्को समयावधि। उदाहरणका लागि, “शहरको पार्कको उत्तरपट्टि भएको इनारको पूर्वतर्फ ५० गज जतिमा” एउटा खजाना गाडिएको छ भनी सङ्केत गर्ने तपाईंसँग कुनै नक्सा छ, तर तपाईंलाई त्यो इनार कहाँ छ र ‘एक गज’ भनेको कति हो भन्ने कुरा थाह छैन भने तपाईंले पाउनु भएको सङ्केत देख्दा तपाईं अकमक्क पर्न सक्नुहुन्छ। के तपाईं ती दुईवटा तथ्यहरूबारे पता लाउने प्रयास गर्नु हुनेछैन? दानियलको भविष्यवाणी पनि त्यस्तै हो। फरक यति मात्र हो कि हामीले सुरु हुने समय पता लगाउन सक्नुपर्छ र त्यसपछिको समय गन्न सक्नुपर्छ।
९, १०. (क) कुन् बेलादेखि ६९ हप्ताको गन्ती सुरु गर्नुपर्छ? (ख) ती ६९ हप्ताहरू कति लामो थिए, सो कुरा हामी कसरी बुझ्दछौं?
९ हामीले पहिले कहाँबाट सुरु गर्ने हो, अर्थात् ‘यरुशलेमको पुनर्प्राप्ति र पुनर्निर्माण गर्ने वचन निस्केको’ तारिख थाह लाउनु परेको छ। त्यसपछि, त्यस बेलादेखि कति समय, अर्थात् ६९ (७ अनि ६२) हप्ताहरू भनेको कति लामो अवधि हो सो हामीले थाह लाउनु पर्दछ। यी दुवै नै तथ्य पता लाउनु गाह्रो छैन। नहेम्याहले हामीलाई खुलस्त गरेर बताइ दिएका छन् कि “आर्ट-जारसेज राजाको बीसौं वर्षमा” यरूशलेमको चारैतिर पर्खाल बनाउने वचन निस्केको थियो, जसले गर्दा अन्ततोगत्वा यरूशलेम एउटा पुनर्प्राप्त शहर हुन सक्यो। (नेहेम्याह २:१, ५, ७, ८) यसबाट हामीले सुरु गर्ने ठाउँ ४५५ सा० यु० पू० रहेछ भनी ठम्याउन सक्छौं।d
१० अब यी ६९ हप्ताहरूबारे हेरौं। के तिनीहरू अक्षरसः सात दिने हप्ताहरू हुन्? होइन, किनभने ४५५ सा० यु० पू० को एक वर्षपछि नै मसीह देखिनु भएन। तर धेरैजसो बाइबलविद्हरू र अनेकौं अनुवादहरूले (यहूदीहरूको तनाखमां यस पदको पादटिप्पणीमा समेत) यी हप्ताहरू “वर्षहरूका” हुन् भनी स्वीकार्दछन्। ‘वर्षहरूका हप्ता’ अथवा सात वर्षिय चक्र भन्ने धारणासित पुरातन यहूदीहरू पूर्ण परिचित थिए। हरेक सातौं दिनमा एक दिन विश्राम दिन मानेजस्तै तिनीहरूले प्रत्येक सात-सात वर्षमा एउटा विश्राम वर्ष मान्ने गर्थे। (प्रस्थान २०:८-११; २३:१०, ११) अतः ६९ वटा वर्षहरूका हप्ताहरूको अर्थ ६९ गुणा ७ वर्षहरू, अर्थात् ४८३ वर्षहरू हुने भए। अब हामीले गन्नु मात्र पर्छ। सा० यु० पू० ४५५ देखि ४८३ वर्षसम्म गन्दै लग्दा हामी २९ सा० यु० मा पुग्दछौं। यसै वर्ष येशूको बप्तिस्मा भएको थियो र मशियाक, अर्थात् मसीह हुनुभयो!—इनसाइट ओन द स्क्रिपचर्स, खण्ड २, पाना ८९९मा “सेभेन्टी वीक्स” भन्ने विषयलाई हेर्नुहोस्।
११. दानियलको भविष्यवाणीको अर्थ लगाउने यो एउटा आधुनिक तरिका हो भन्नेहरूलाई हामीले कसरी उत्तर दिन सक्तछौं?
११ कसै कसैले भन्न सक्छन् कि यो त भविष्यवाणीलाई इतिहाससँग मिलाउने एउटा आधुनिक तरिका हो। त्यसो हो भने येशूका दिनमा त्यसबेला नै मसीह देखा पर्नु हुनेछ भनी मानिसहरूले किन आशा गरी रहेका थिए? त्यसबेलामा बाँचेका मसीही इतिहासकार लूका, र रोमी इतिहासकारहरू ट्यासिटस र सिउटोनियस, यहूदी इतिहासकार जोसेफस, र यहूदी दार्शनिक फिलो सबैले नै यस आशाबारे बयान गरेका छन्। (लूका ३:१५) रोमी सतावटले गर्दा यहूदीहरू त्यसबेला मसीहको आशामा बसेका थिए भन्ने कुरामा आजकाल केही विद्वदवर्गहरू जोड दिन्छन्। तथापि, शताब्दियौंअघि युनानीहरूबाट घोर सतावट भएको बेलामा मसीहको आशा नगरेर त्यसबेला यहूदीहरूले किन आशा गरेका होलान्? यी “रहस्यमय भविष्यवाणीहरूले” गर्दा यहूदाबाट एउटा शक्तिशाली शासक निस्कने छन् र “विश्व साम्राज्य कायम गर्नेछन्” भन्ने कुराको आशा यहूदीहरूले राखेका थिए भनी ट्यासिटसले किन भनेका होलान्? आबे हिलेल सिल्भरले ए हिस्टरी आफ मेसाइनिक स्पेकुलेशन इन इस्रायल भन्ने आफ्नो पुस्तकमा स्वीकार्दछन् कि ‘प्रथम शताब्दीको दोस्रो अर्धार्धतिर मसीहको आशा गरिएको थियो।’ यो आशा रोमी सतावटको कारण नभएर दानियलको पुस्तकको केही अंशबाट पाएका “त्यस समयको प्रचलित मितिक्रमानुसार” गरिएको थियो।
माथिबाट चिन्हाइएको
१२. येशू नै मसीह हुनुहुन्छ भनी यहोवाले कसरी चिनाउनु भयो?
१२ येशूको मसीहत्वको प्रमाणको तेस्रो आधार परमेश्वरकै गवाही हो। लूका ३:२१, २२ अनुसार येशूको बप्तिस्मा भइसकेपछि उहाँलाई विश्वको सबैभन्दा पवित्र र शक्तिशाली ताकतद्वारा, अर्थात् यहोवाको आफ्नै पवित्र आत्माद्वारा अभिषिक्त गरियो। अनि उहाँको आफ्नै आवाजद्वारा यहोवाले येशू उहाँको पुत्र हुनुहुन्छ भनी अनुमोदन गर्नुभयो। अरू दुई अवसरहरूमा येशूसित स्वर्गबाट यहोवाले सोझै बोल्नु भयो। त्यसबाट पनि उहाँले आफ्नो अनुमोदन जनाउनु भयो: एक पटक येशूका तीन जना प्रेरितहरूका सामू र अर्को पटकचाहिं दर्शकहरूका भीडका सामू। (मत्ती १७:१-५; यूहन्ना १२:२८, २९) अझ अरू, येशू ख्रीष्ट, अर्थात् मसीह हुनुहुन्छ भन्ने कुराको पुष्टि गर्न माथिबाट स्वर्गदूतहरू पठाइएका थिए।—लूका २:१०, ११.
१३, १४. येशूलाई मसीहको हैसियतमा यहोवाले आफ्नो अनुमोदन कसरी प्रदर्शित गर्नुभयो?
१३ आफ्ना अभिषिक्तमाथि यहोवाको अनुमोदन छ भनी जनाउन उहाँलाई ठूलठूला कामहरू गर्ने शक्ति दिनुभयो। उदाहरणका लागि, इतिहासको अग्रिम सूचना विस्तृत रूपमा दिने भविष्यवाणीहरू येशूले भन्नुभयो—त्यसमध्ये कुनै कुनै हाम्रो समयसम्म पनि लागुहुन्छ।e भोकाहरूलाई ख्वाउने, बिमारीलाई निकोपार्ने जस्ता चमत्कारहरू उहाँले गर्नुभयो। उहाँले मुर्दासमेतलाई बिउँताउनु भयो। के उहाँका अनुयायीहरूले तथ्यहरूका आधारमा यी शक्तिशाली कार्यहरूको कथा जोडेका हुन्? येशूले त हजारौं प्रत्यक्षदर्शीका सामू आफ्ना धेरै चमत्कारहरू देखाउनु भयो। उहाँका शत्रुहरू समेतले पनि त्यस कुरालाई इन्कार गर्न सक्तैनन् (मर्कुस ६:२; यूहन्ना ११:४७) यस बाहेक, येशूका अनुयायीहरूले कथा गढेका नै हुन् भने तिनीहरूले आफ्ना त्रुटिहरूबारे किन त्यस्तो खुला रूपले लेखेका नि? यथार्थमा के तिनीहरू आफैले गढेको दन्त्य कथाको आधारमा रहेको विश्वासका निम्ति मर्नसम्म तयार हुन्थे र? कदापि पनि हुने थिएनन्। येशूका चमत्कारहरू ऐतिहासिक तथ्य हुन्।
१४ येशू मसीह हुनुहुन्छ भन्ने परमेश्वरको गवाही योभन्दा पनि बढी छ। येशूको मसीहत्वबारेको प्रमाण लेखिओस् र इतिहासमा सबैभन्दा बढी अनुवाद गरिएको र वितरण भएको पुस्तकको भाग भएर रहोस् भनी यहोवाले आफ्नो पवित्र आत्माद्वारा निश्चित पार्नु भयो।
यहूदीहरूले येशूलाई किन स्वीकार गरेनन्?
१५. (क) येशू नै मसीह हुनहुन्छ भन्ने कति विस्तृत प्रमाणहरू छन्? (ख) कुन आशाहरूले गर्दा धेरैजसो यहूदीहरूले येशूलाई मसीह स्वीकार गर्न इन्कार गरे?
१५ त्यसैले यी तीन प्रकारका प्रमाणहरूमा अक्षरसः सैकडौं यस्ता तथ्यहरू छन् जसले येशू नै मसीह हुनुहुन्छ भनी सङ्केत गर्दछ। के त्यो पर्याप्त छैन? यसो कल्पना गर्नुहोस्, तपाईंले गाडी चलाउने लाईसेन्स अथवा क्रेडिट कार्डका निम्ति निवेदन गर्नु भएको छ तर तीनवटा चिनारी-पत्र चाहिं पर्याप्त छैन—सयकडौं चिनारी-पत्र ल्याउनु पर्छ भनी तपाईंलाई भनियो भने कतिको बेमनासिब कुरा हुनेछ! त्यस्तै, जरुर पनि, बाइबलमा पर्याप्त मात्रामा येशूको चिनारी पाइन्छ। उसो भए यतिका प्रमाण हुँदा हुँदै पनि उहाँका आफ्नै मानिसहरूले किन उहाँ मसीह हुनुहुन्छ भन्ने कुरालाई इन्कार गरे? असली विश्वासका लागि प्रमाण जतिसुकै महत्त्वपूर्ण कुरा भए तापनि त्यसले विश्वासको ग्यारेन्टी चाहिं दिंदैन। बडो दुःखको कुरा हो कि, सारा प्रमाणहरू भए तापनि धेरै मानिसहरू आफूले चाहेका कुरालाई मात्र विश्वास गर्न चाहन्छन्। मसीहका सम्बन्धमा पनि धेरै यहूदीहरूलाई तिनीहरू के चाहन्थे भन्ने कुराबारे तिनीहरूको निश्चित धारणा थियो। एउटा राजनैतिक मसीह जसले रोमी सतावटलाई अन्त गरेर सुलेमानको समयमाजस्तै भौतिक रूपले समृद्धशाली इस्राएल बनाउन सक्ने मसीह तिनीहरूले खोजेका थिए। त्यसो हुनाले एउटा सिकर्मीको तुच्छ छोरा, राजनीति अथवा धन-दौलतमा चासो नदेखाउने नासरतका त्यस बासिन्दालाई तिनीहरूले कसरी स्वीकार्न सक्थे? खासगरी, दुःख भोगेर शूलीमा लज्जास्पद ढङ्गमा मर्ने मानिस कसरी मसीह हुन सक्थ्यो?
१६. येशूका चेलाहरू समेतले मसीहका सम्बन्धमा आफ्नो सोचाइमा किन काँट-छाँट गर्नु पऱ्यो?
१६ उहाँको मृत्यु हुँदा येशूका चेलाहरूसमेत विचलित भएका थिए। उहाँको महिमावान पुनरुत्थानपछि, उहाँले तुरुन्तै ‘इस्राएलको राज्य फिर्ता गराइदिनुहुनेछ’ भनी स्वभावतः तिनीहरूले आशा गरेका थिए। (प्रेरित १:६) तर तिनीहरूको यो आशा पूरा नहुँदैमा तिनीहरूले येशूलाई मसीहको रूपमा इन्कार गरेनन्। तिनीहरूसँग भएको प्रचूर प्रमाणको आधारमा तिनीहरूले उहाँमाथि विश्वास कायमै राखे। अनि तिनीहरूको ज्ञान विस्तारै बढ्दै गयो; रहस्यहरू खुल्दै गए। तिनीहरूले बुझ्नसके कि मानवको रूपमा उहाँ थोरै समयका लागि पृथ्वीमा हुँदा उहाँको सम्बन्धमा गरिएका सबै नै भविष्यवाणीहरू उहाँले पूरा गर्न सक्नु हुने थिएन। किनभने, एउटा भविष्यवाणीले गधैनीको बछेडामाथि सवार भएर उहाँको दीन आगमनबारे भनेको थियो भने अर्को भविष्यवाणीले चाहिं आकाशका मेघहरूसँग उहाँको महिमित आगमनबारे भनेको छ! दुइटै सत्य कसरी हुन सक्थ्यो र? जरुरपनि उहाँले दोस्रो पटक आउनै पर्थ्यो।—दानियल ७:१३; जकरिया ९:९.
मसीह किन मर्नु परेको थियो
१७. मसीह मर्नैपर्छ भन्ने कुरा दानियलको भविष्यवाणीले कसरी स्पष्ट पार्दछ, र केका लागि मर्नु हुनेछ?
१७ अझ साथै, मसीह मर्नैपर्छ भनी मसीही भविष्यवाणीहरूले स्पष्ट पारेको थियो। उदाहरणका लागि, जुन भविष्यवाणीमा मसीह आउनु हुन्छ भनी अग्रिमवाणी गरिएको थियो त्यसैको अगाडिको पदले अग्रिमवाणी गऱ्यो: “ब्यासट्ठी हप्तापछि (सात हप्ताहरूपछिको) मसीह हटाइनेछन्।” (दानियल ९:२६) “हटाइनेछन्” भन्ने शब्दका निम्ति प्रयोग गरिएको हिब्रू शब्द कराथ मोशाको व्यवस्थामा दिइने मृत्युदण्डको निम्ति पनि सोही शब्द प्रयोग गरिएको छ। मसीहले निस्सन्देह मर्नु नै परेको थियो। किन? पद २४-ले उत्तर दिन्छ: “पापको अन्त गरिनेछ, अपराधको प्रायश्चित हुनेछ, अनन्तको धार्मिकता शुरू गरिनेछ।” एउटा बलिदान, अर्थात एउटा मृत्युले मात्र पापको प्रायश्चित हुन सक्तछ भन्ने कुरा यहूदीहरू राम्ररी जान्दथे।—लेवी १७:११; हिब्रू ९:२२ सङ्ग तुलना गर्नुहोस्.
१८. (क) मसीहले दुःख भोग्नै पर्छ र मर्नै पर्छ भनी यशैयाको ५३ अध्यायले कसरी देखाउँछ? (ख) यो भविष्यवाणीले कुनचाहिं विरोधाभासलाई खडा गर्दछ?
१८ यशैया ५३ अध्यायमा मसीहलाई यहोवाको विशेष सेवक भनिएको छ जसले दुःख भोग्नु पर्नेछ र अरूहरूका पाप ढाक्नका लागि मर्नु पर्नेछ। पाँचौं पदले भन्दछ: “उ ता हाम्रा अपराधका निम्ति घायल भयो। उसले हाम्रा अधर्मका निम्ति चोट पायो।” ती मसीह एउटा “दोष बलि”-को रूपमा मर्नै पर्छ भनेपछि सोही भविष्यवाणीले अगाडि तिनको बारेमा यसो भन्छ: “उसले आफ्नो दिन बढाउनेछ, र परमप्रभुको इच्छा उसमा पूरा हुनेछ।” (पद १०) के त्यो एउटा विरोधाभास होइन? मसीह मर्नु पनि पर्ने, तर फेरि कसरी “आफ्नो दिन बढाउने”? तिनलाई बलिदानको रूपमा चढाउनु पर्ने, फेरि कसरी “परमप्रभुको इच्छा उसमा पूरा हुने”? वास्तवमा उहाँ मरेको मरेकै रहने हो भने उहाँले कसरी अनन्तकालसम्म राजाको हैसियतमा काम गर्ने र सारा संसारमा शान्ति र सुख स्थापित गर्नु हुनेछ भन्ने महत्त्वपूर्ण भविष्यवाणी पूरा हुने?—यशैया ९:६, ७.
१९. मसीहको सम्बन्धमा विरोधाभासजस्तो देखिने कुरालाई येशूको पुनरुत्थानले कसरी साम्य पार्दछ?
१९ हेर्दा विरोधाभास जस्तो देखिने कुराको समाधान एउटै शानदार चमत्कारद्वारा भयो। येशूको पुनरुत्थान भयो। सयकडौं इमान्दार यहूदीहरू यो भव्य वास्तविकताको प्रत्यक्षदर्शी थिए। (१ कोरिन्थी १५:६) प्रेरित पावलले पछि लेखे: “ख्रीष्टले ता पापको निम्ति सदाको लागि एउटै बलिदान चढाएर उहाँ परमेश्वरको दाहिने बाहुलीतर्फ बस्नुभयो। यसपछि उहाँका शत्रुहरू उहाँको पाउदान नहोउञ्जेल उहाँ पर्खिरहनुहुन्छ।” (हिब्रू १०:१०, १२, १३) हो, येशूको स्वर्गीय जीवनमा पुनरुत्थान भएर केही बेरसम्म “पर्खिनु” भएपछि मात्र अन्तमा उहाँ राजाको हैसियतमा राजगद्दीमा बस्नु हुनेछ र अनि आफ्ना पिता, यहोवाका शत्रुहरूका विरुद्धमा कार्य गर्नु हुनेछ। स्वर्गीय राजाको हैसियतमा मसीह येशूले अहिले बाँचिरहेका प्रत्येक मानिसको जीवनमाथि प्रभाव पार्नु हुनेछ। कुन प्रकारले? त्यसबारे हाम्रो अर्को लेखले विचार गर्नेछ। (w92 10/1)
[फुटनोटहरू]
a लूका ३:२३-मा “यूसुफ . . . जो एलीका छोरा थिए” भनिएको छ। यहाँ स्वभाविकतः “छोरा”-को अर्थ “जुवाइँ” हुनुपर्छ, किनभने एली मरियमको जन्म दिने बाबु थिए।—इनसाइट ओन द स्क्रिप्चर्स, खण्ड १, पाना ९१३-१७.
b सा० यु० ७० अघि पनि यस प्रकारका रेकर्डहरू उपलब्ध थिए भन्ने कुरा, इतिहासकार जोसेफसले आफ्नै वंशावली प्रस्तुत गर्दा स्पष्ट पार्दछन्। यरूशलेमको शहर नाश हुँदा ती रेकर्डहरू नष्ट भएको हुन सक्छ। यसले गर्दा मसीह हुने कुनै पनि दाबी प्रमाणित हुन नसक्ने भयो।
c इनसाइट ओन द स्क्रिपचर्स, खण्ड २, पाना ३८७ हेर्नुहोस्।
d पुरातन युनानी, बेबिलोनी र फारसी स्रोतहरूबाट सङ्केत मिल्दछ कि आर्ट-जारसेज राजाको प्रथम राज्यकाल ४७४ सा० यु० पू० मा थियो। इनसाइट ओन द स्क्रिपचर्स, खण्ड २, पानाहरू, ६१४-१६, ९०० हेर्नुहोस्।
e एउटा भविष्यवाणीमा उहाँको दिनदेखि झूटा मसीहहरू निस्कनेछन् भनी भन्नुभयो। (मत्ती २४:२३-२६) योभन्दा अघिको लेख हेर्नुहोस्।
तपाईं कसरी उत्तर दिनुहुन्छ?
▫ येशू नै प्रतिज्ञा गरिएको मसीह हुनुहुन्छ भन्ने कुराको प्रमाण जाँच्न किन आवश्यक छ?
▫ येशूको वंशावलीले उहाँको मसीहीत्वलाई कसरी समर्थन गर्दछ?
▫ येशू नै मसीह हुनुहुन्छ भनी प्रमाणित गर्न बाइबलका भविष्यवाणीहरूले कसरी मदत दिन्छ?
▫ येशू नै मसीही हुनुहुन्छ भनी यहोवा स्वयंले कुन तरिकाहरूबाट पुष्टि गर्नुहुन्छ?
▫ येशू नै मसीह हुनुहुन्छ भनी त्यत्तिका यहूदीहरूले किन इन्कार गरे, र ती कारणहरू किन निराधार थिए?
[पृष्ठ ६-मा भएको चित्र]
येशूका अनेकौं चमत्कारहरूमध्ये प्रत्येकले उहाँको मसीहीत्वलाई प्रमाणित गर्दछ