येशूको जीवन र सेवकाई
जन्मजात अन्धो मानिसलाई निको पार्नु हुन्छ
यहूदीहरूले येशूलाई ढुङ्गाले हान्ने प्रयास गर्दा, उहाँ यरूशलेम छाड़नु हुँदैन। पछि, विश्राम-दिनमा, उहाँ र उहाँका चेलाहरू शहरमा हिंड़ि रहेको बेलामा, उहाँहरूले एउटा जन्मजात अन्धो मानिसलाई देख्नुहुन्छ। चेलाहरूले येशूलाई सोध्छन्: “हे गुरु, कसले पाप गऱ्यो, यसले कि यसका आमा-बाबुले, र यो अन्धा जन्म्यो?”
आमाको गर्भमा छँदै पनि मानिसले पाप गर्न सक्छ भनी, शायद कुनै कुनै यहूदी गुरुहरूले विश्वास गरेझैं, चेलाहरूले पनि शायद त्यस्तै विश्वास गर्दछन्। तर येशू जवाफ दिनुहुन्छ: “नता यसले पाप गऱ्यो, न यसका आमा-बाबुले, तर यस हेतुले, कि परमेश्वरका कामहरू यसमा प्रकट होऊन्।” उसको आफ्नै अथवा उसको आमा-बाबुको कुनै एउटा खास पापको परिणामस्वरूप त्यो मानिस अन्धो भएको होइन। प्रथम पुरुष आदमको पापको कारण, सबै मानिसहरू असिद्ध हुनगए, जसले गर्दा अन्धो भएर जन्मने र यस्ता अन्य त्रुटिहरू सबैमा हुने भए। त्यस मानिसमा भएको यो त्रुटिको कारणलेनै, अहिले येशूले ईश्वरीय कार्य प्रकट गर्ने मौका पाउनु हुन्छ।
यस प्रकारका कार्यहरू गर्ने कुराको अत्यावश्यकतामाथि येशूले जोड़ दिनु हुन्छ। उहाँ भन्नुहुन्छ: “दिन छँदै मलाई पठाउनेको कामहरू हामीले गरिहाल्नु पर्दछ, रात आउँछ, जब कसैले काम गर्न सक्तैन। जब म संसारमा छु, म संसारको ज्योति हुँ।” चाँड़ैनै येशूको मृत्युले उहाँलाई चिहानको अन्धकारमा फाल्नेछ जहाँ उहाँले केही गर्न सक्नु हुनेछैन। तर त्यसो नहोउञ्जेल, उहाँ संसारका निम्ति ज्योतिको एउटा स्रोत हुनुहुन्छ।
यी कुराहरू भनी सके पछि, येशूले भुइँमा थुक्नुहुन्छ र थुक मिसाएर, अलिकता हिलो बनाउनुहुन्छ। उहाँले त्यसलाई अन्धो मानिसको आँखामा लगाइ दिनुहुन्छ र भन्नुहुन्छ: “जाऊ, सिलोआमको तलाउमा गएर पखाल।” त्यस मानिसले आज्ञा मान्दछ। र आँखा पखाले पछि, उसले देख्न थाल्छ! जीवनमा प्रथम पटक देख्न पाएकोमा, उ बाटोमा रमाउँदै फर्कन्छ!
उसलाई चिन्ने छिमेकीहरू र अरूहरू छक्क पर्छन्। तिनीहरू सोध्छन्: “के बसेर भीख माग्ने यही होइन?” कसै कसैले जवाफ दिन्छन्: “यो त्यही हो।” तर फेरि कसै-कसैले चाहिं विश्वासै गर्न नसकेर भन्छन्: “अहँ, यो त्यही जस्तो छ।” तापनि त्यस मानिसले भन्छ: “म त्यही हुँ।”
“तेरा आँखा कसरी खोलिए त?” मानिसहरू जान्न चाहन्छन्।
“येशू भन्ने एउटा मानिसले माटोको हिलो बनाएर मेरा आँखामा लगाइदिएर मलाई भन्नुभयो, ‘सिलोआममा जाऊ र पखाल।’ त्यहाँ गएर मैले पखालें, र देख्ने भएँ।”
तिनीहरूले त्यसलाई सोध्छन्: “तिनी कहाँ छन्?”
“म जान्दिन।” उसले जवाफ दिन्छ।
पहिले आँखा नदेख्ने त्यस मानिसलाई मानिसहरूले आफ्ना धर्मगुरु फरिसीहरू कहाँ लैजान्छन्। उ कसरी देख्ने भयो भनी तिनीहरूले पनि त्यसलाई सोध्छन्। त्यस मानिसले वर्णन गर्छ: “उहाँले मेरा आँखामा माटोको हिलो लगाइ दिनुभयो अनि मैले त्यो धोए पछि, देख्ने भएँ।”
त्यो भिखारी निको भएकोमा निश्चय पनि फरिसीहरू आनन्दित हुनुपर्ने हो! तर त्यसको सट्टा, तिनीहरूले येशूको बदख्वाइ गर्दछन्। तिनीहरू दाबा गर्दछन्: “त्यो मानिस परमेश्वर तर्फको होइन।” तिनीहरू एसो किन भन्छन्? “किनकि त्यसले विश्रामको दिन पालन गर्दैन।” तापनि, केही फरिसीहरू आश्चर्य व्यक्त गर्दै भन्छन्: “कसरी एउटा पापी मानिसले यस्ता चिन्हहरू गर्नसक्तछ र?” त्यसकारण तिनीहरूका बीचमा फाटो हुनजान्छ।
तसर्थ, त्यस मानिसलाई तिनीहरू सोध्छन्: “उसले तेरा आँखा खोलि दिएकोमा उसको विषयमा तँ के भन्छस्?”
उसले जवाफ दिन्छ: “उहाँ अगमवक्ता हुनुहुन्छ।”
तर फरिसीहरू सो विश्वास गर्न अस्वीकार गर्दछन्। मानिसहरूलाई बेवकुफ बनाउनकालागि येशू र त्यस मानिसका बीचमा कुनै गोप्य समझौता हुनै पर्दछ भनी तिनीहरू विश्वस्त छन्। अतः त्यस कुराको निराकरणका निम्ति, त्यस भिखारीका आमा-बाबुसित प्रश्न गर्न तिनीहरूलाई बोलाइ पठाउँछन्। यहून्ना ८:५९; ९:१-१८.
◆ मानिसको अन्धोपनाकालागि के जिम्मेवार हो, र के चाहिं होइन?
◆ कुनै पनि मानिसले काम गर्न न सक्ने त्यो रात के हो?
◆ मानिस निको भए पछि, त्यसलाई चिन्नेहरूले कस्तो प्रतिक्रिया प्रकट गर्छन्?
◆ मानिस निको भएको कुरालाई लिएर, फरिसीहरू बीच कसरी फाटो आउँछ?