“अधर्मको मानिसको” पर्दाफास गरिदिने
“हे मेरा मानिस हो, त्यसबाट निस्केर आओ। त्यसका पापसँग तिमीहरूको केही सँगत हुन नपाओस, . . .त्यसका विपत्तिहरू तिमीहरूले भोग्नु न परोस्।”—प्रकाश १८:४
१, २. (क) अधर्मको मानिसलाई कसरी चिन्न सकिन्छ? (ख) एक तिर परमेश्वरको सेवा गर्ने दाबी गर्दै अर्को तिर रक्तपात गर्ने मानिसहरूलाई परमेश्वरले कुन दृष्टिले हेर्नुहुन्छ? (मत्ती ७:२१-२३)
परमेश्वरको वचनले “अधर्मको मानिसको” आगमन बारे भविष्यद्वाणी गरेको थियो। यो अधर्मी तत्वलाई परमेश्वरको स्वर्गीय कार्यान्वयन कर्ता, येशू ख्रीष्टले “नाश” गर्नु हुनेछ भनेर पनि अग्रिम घोषणा गरिएको थियो। (२ थिस्सलोनिकी २:३-८) अघिका लेखहरूमा दिइएको स्पष्ट विवरण अनुसार, त्यो अधर्मको मानिस मसीही जगतको पादरी समूह हो। धेरै समय अघि तिनीहरूले परमेश्वरको वचनका सत्य कुराहरू त्यागेर, त्रिएक, नरकको आगो र प्राणको अमरत्व जस्ता गैर मसीही शिक्षाहरू अपनाएका छन्। यसको अलावा, तिनीहरूले परमेश्वरको व्यवस्था विपरित जाने कार्यहरू पनि गरेकाछन्। यस्ताहरूको विषयमा, पावलले तीतसलाई यी शब्दहरूमा चेताउनी दिएको पाउँछौं: “तिनीहरूले परमेश्वरलाई चिनेका छन् भनी तिनीहरू भनी टोपल्छन्, तर तिनीहरू घृणित, अट्टेरी र कुनै बढ़िया कामको लायक नभएका हुनाले आफ्ना कामबाट भने उहाँलाई इन्कार गर्छन्।”—तीतस १:१६.
२ येशूले एसो भन्नु भएको थियो: “झूटा अगमवक्ताहरू देखि होशियार रह, जो तिमीहरूकहाँ भेड़ाका भेषमा आउँछन्, तर भित्रपट्टि चाहिं लुटाहा ब्वाँसाहरू जस्ता हुन्छन्। तिनीहरूका फलबाट तिमीहरूले तिनीहरूलाई चिन्ने छौ।” (मत्ती ७:१५-१७) झूटा अगमवक्ताहरूले “खराब फल” फलाउने रहेछन्। पादरीहरूले बगाएको रगत तिनीहरूको खराब फलको एउटा ठूलो प्रमाण हो। कैयौं शताब्दि देखिन् तिनीहरूले क्रुसेडहरू, इनक्वीजीशनहरू, र लाखौंका रगत बगाउने युद्धहरूलाई समर्थन गर्दै आएकाछन्। तिनीहरूका आफ्नै धर्मका मानिसहरूले, एक अर्काको हत्या गर्ने युद्धहरूमा, यी पादरीहरूले दुवै पक्षलाई आशीष दिएका छन् र दुवै पक्षका लागि प्रार्थना गरेका छन्। यसको ठीक विपरीत, पावल प्रेरित्ले एसो भन्न सके: “म सबै मानिसहरूको प्राणको [रगत, दी न्यु वल्ड ट्रान्सलेसनमा] निम्ति निर्दोष छु।” (प्रेरित् २०:२६) तर पादरीहरू निर्दोष छैनन्। यस्ताहरूलाई परमेश्वर एसो भन्नु हुन्छ: “तिमीहरूले ज्यादै प्रार्थना गर्दा पनि म सुन्नेछैनँ। तिमीहरूका हात रगतले भरिएका छन्।”—यशैया १:१५.
३. विश्व-व्यापी महत्व भएका के घटनाहरू चाँड़ै हुनेवालाछन्?
३ अधर्मको मानिसको विरूद्धमा परमेश्वरले न्याय गर्ने समय नगीच आइ सक्यो। चाँड़ै, येशूलेगर्नु भएको भविष्यद्वाणीमा झैं, “त्यस बेला यस्तो महा सङ्कष्ट हुनेछ, जो जगत्को शुरूदेखि अहिले सम्म भएको छैन, नता फेरि कहिल्यै हुनेछ।” (मत्ती २४:२१) त्यो पहिले कहिल्यै पनि नभएको सङ्कष्टको समय, महा बेबिलन अर्थात् झूटो धर्मको विश्व-व्यापी साम्राज्यको विनाश सँग शुरू हुनेछ र यो साम्राज्यमा मसीही जगतका धर्महरू पनि समावेश हुनेछन्। राजनैतिक तत्वहरूले त्यसलाई “उजाड़ र नाङ्गो पार्नेछन्। औ त्यसको मासु खानेछन्, र त्यसलाई आगोमा भस्म पारिदिनेछन्।” (प्रकाश १७:१६) र आरमागेडोन अर्थात् “सर्वशक्तिमान परमेश्वरको ठूलो दिनको लड़ाइँमा,” शैतानको संसारका बाँकी अङ्गहरू नष्ट भइ सके पछि, त्यो महा सङ्कष्ट समाप्त हुनेछ।—प्रकाश १६:१४, १६; १९:११-२१.
अरूहरूलाई प्रेम गर्ने बाध्यता
४. परमेश्वरको सेवा “आत्मा र सत्यतामा” गर्नेहरूले कुन कुरा मनमा राख्नु पर्छ?
४ विश्वलाई थर्काउने यी घटनाहरू चाँड़ै आउन लागेको यो बेलामा, “पितालाई आत्मा र सत्यतामा” पुज्नेहरू कुन-कुन कुरा गर्न बाध्य छन्? (यूहन्ना ४:२३) एउटा ता, तिनहरूले येशूको यो कुरा मनमा राख्नु पर्छ: “मेरा आज्ञाहरू पालन गर्छौ भने, तिमीहरू मेरो प्रेममा रहनेछौ, जसरी मैले मेरा पिताका आज्ञाहरू पालन गरेको छु, र उहाँका प्रेममा रहन्छु। . . . मेरो आज्ञा यही हो कि तिमीहरू आपसमा प्रेम गर, जस्तो मैले तिमीहरूलाई प्रेम गरेको छु। आफ्नो प्राण मित्रहरूका लागि अर्पण गरिदिनु भन्दा बढ़ता प्रेम कसैको हुँदैन। जे जे म तिमीहरूलाई आज्ञा गर्दछु, ती तिमीहरूले गर्यौ भने, तिमीहरू मेरा मित्र हौ।”—यूहन्ना १५:१०-१४; १ यूहन्ना ५:३.
५, ६. (क) येशूले आफ्ना चेलाहरूलाई के गर्ने आदेश दिनु भयो जसबाट सबैले तिनीहरूलाई चिन्नेछन्? (ख) यो एउटा नया आदेश किन थियो?
५ यस प्रकार, साँचो मसीहीहरूले अरू मानिसहरूलाई प्रेम गर्नु पर्छ, विशेषगरी सबै देशका आफ्ना मसीही भाइ बैनीहरू सँग प्रेम गर्न आवश्यक छ। (प्रेरित् १०:३४; गलाती ६:१०; १ यूहन्ना ४:२०, २१) हो, मसीहीहरूले आपसमा “प्रगाढ़ प्रेम” राख्नु पर्दछ। (१ पत्रुस ४:८) त्यस प्रकारको प्रेमले नै तिनीहरू साँचो उपासकहरू हुन् भन्ने कुराको प्रमाण दिने छ, किनभने येशूले स्वयं एसो भन्नु भएको छ: “एउटा नया आज्ञा म तिमीहरूलाई दिंदैछु, कि तिमीहरू आपसमा प्रेम गर, जस्तो मैले तिमीहरूलाई प्रेम गरेको छु, तिमीहरूले पनि आपसमा प्रेम गर। यदि तिमीहरूले आपसमा प्रेम गऱ्यौ भने, तिमीहरू मेरा चेलाहरू हौ भनी यसैबाट सबैले जान्नेछन्।”—यूहन्ना १३:३४, ३५.
६ यो आज्ञामा नया कुरा के थियो? किनभने, के मोशा द्वारा आएको व्यवस्थामा पनि यहूदीहरूले “आफ्नो छिमेकीसँग आफैलाई झैं प्रेम गर” भन्ने आज्ञा पाएका थिएनन् र? (लेवीहरूको १९:१८) थिए, तर येशूले “जस्तो मैले तिमीहरूलाई प्रेम गरेको छु” भन्नु भएर कुरा थप्नु भएको छ। उहाँले आफ्नो प्रेममा हाम्रो लागि आफ्नो प्राण समेत अपर्ण गर्नु भयो र उहाँका चेलाहरू पनि त्यही गर्न तैयार हुनु पर्छ। (यूहन्ना १५:१३) यो एउटा उच्च श्रेणीको प्रेम थियो र मोशा द्वारा आएको व्यवस्थामा यस प्रकारको प्रेम आवश्यक थिएन।
७. यो शताब्दिमा प्रेमको यो व्यवस्था कुन धर्ममा पालन गरिएको छ?
७ हाम्रो शताब्दिमा, प्रेमको यो आज्ञा कुन धर्ममा पालन गरेको पाउँछौं? अवश्य, मसीही जगतका धर्महरूमा यो आज्ञा पालन गरिएको छैन किनभने तिनीहरूले, दुई विश्व-युद्धहरू बाहेक अन्य युद्धहरूमा, एक अर्कालाई, लाखौंको संख्यामा मारेका छन्। प्रेमको यो आज्ञा पृथ्वी भरि पालन गर्ने मानिसहरू यहोवाका साक्षीहरू हुन्। तिनीहरू राष्ट्र-राष्ट्रका युद्धहरूमा तटस्थ भएर बसेका छन्, किनभने येशूले उहाँका चेलाहरू “संसारका होइनन्” भन्नु भएको छ। (यूहन्ना १७:१६) जसले गर्दा, तिनीहरूले पनि पावलले झैं, “सबै मानिसहरूको प्राणको निम्ति निर्दोष छु” भन्न सक्छन्। उदाहरणका लागि, नवम्बर २७, १९२१ मा, वाशीङ्गटन, डी. सी. को सम्मेलनमा, यहोवाका सेवकहरूले अपनाएको प्रस्ताव यी शब्दहरू मा आरम्भ गरे:
“हाम्रा प्रभु येशू ख्रीष्ट र उहाँका चेलाहरूका शिक्षाहरू कायम राख्न अथक कोशिश गर्ने मसीहीहरूको हैसियतमा, हाम्रो विश्वास अनुसार: युद्ध असभ्यताको एउटा संझौटो हो, जसले असल नैतिकताको नाश गर्छ र मसीही मानिसहरूमाथि बदनामी ल्याउँछ; र प्रभु येशू ख्रीष्टले दिनु भएको शिक्षा अनुसार, समर्पित मसीहीहरूले युद्ध, रक्तपात अथवा कुनै प्रकारको हिंसामा भाग लिनु हुँदैन।”
८. दोस्रो विश्व युद्धमा, यहोवाका साक्षीहरूको विषयमा, इतिहासले के भन्दछ?
८ दोस्रो विश्व-युद्धमा यो दृष्टिकोणको प्रयोग कसरी गरियो? मानव इतिहासको त्यो सबै भन्दा हिंसात्मक युद्धमा, प्राय ५ करौड़ मानिसहरूको हत्या भयो। तर ती मध्य एउटाको पनि हत्या, यहोवाको एक जना साक्षीको हातबाट भएन! उदाहरणका लागि, जमर्नीका प्रायः जम्मै पादरीहरूले नाजीबादलाई सकृय, असकृय ढङ्गमा समर्थन गरे। तर यसको ठीक विपरित, यहोवाका साक्षीहरूले नाजीबादको शासनकाल भित्र पनि कड़ा तटस्थता कायम राखे र न हिटलरको पल्टनमा केही भाग लिए र नता हिटलरको सामने ‘हायल’ गरे। यस प्रकार, तिनीहरूले अरू देशहरूमा भएका आफ्ना कुनै पनि आत्मिक भाइहरूको अथवा कसैको पनि हत्या गरेनन्। र अरू देशका यहोवाका साक्षीहरू पनि तटस्थ रहे।
९. नाजीबादीहरूको शासनकाल भित्र, यहोवाका साक्षीहरूलाई जर्मनी र अस्ट्रीयामा के भयो?
९ प्रेमको यो आज्ञा पालन गर्दा, यहोवाका धेरै साक्षीहरूले आफ्ना मित्रहरूका लागि आफ्नो प्राण अर्पण गरेकाछन्। फ्रिडरीख जिप्फेलले लेखेको कर्खनकाम्फ इन डोइशलेन्ड (जर्मनीका गिर्जाहरूको सङ्घर्ष) भन्ने पुस्तकको समीक्षामा, यहोवाका साक्षीहरूको विषयमा एसो भनिएको छ: “यो सानो धार्मिक पन्थको ९७ प्रतिशत सदस्यहरूले नाजीबादको हातमा सतावट भोगे। तीन भागमा एक भागको मृत्यु, प्राण दण्ड, अरू हिंसात्मक कार्यहरू, भोक, रोग अथवा दासत्वले गर्दा भयो। यस प्रकारको दबाव पहिले कसैले पनि अनुभव गरेका थिएनन् र यसको मूल कारण एउटै थियो: नाजीबादीहरू सँग समझौता गर्न नसक्ने दृढ़ विश्वास।” अस्ट्रीयामा, २५ प्रतिशत यहोवाका साक्षीहरूको हत्या गरियो, कतिलाई पिटेर मारे र कति चाहिं नाजीहरूको झ्यालखानामा रोग र कमजोरीले मरे।
१०. प्रेमको व्यवस्था पालन गरेर मर्नेहरूको के आशा थियो?
१० “तिमीहरूको काम र त्यो प्रेम, जो उहाँको नाउँतर्फ, र पवित्र जनहरूको सेवा गरेको र गर्दै रहेकोमा तिमीहरूले देखाएका छौ, सो बिर्सनलाई परमेश्वर अधर्मी हुनुहुन्न,” भनेर, प्रेमको आज्ञा पालन गर्दा शहीद भएकाहरू निश्चित थिए। (हिब्रू ६:१०) “संसार बितिजान्छ र त्यसको अभिलाषा पनि बितेर जान्छ, तर परमेश्वरको इच्छाबमोजिम गर्ने चाहिं सधैंभरि रहिरहन्छ,” भनेर पनि तिनीहरूलाई थाह थियो। (१ यूहन्ना २:१७) अनन्त जीवन पाउनका निम्ति पुनरूत्थान हुने आशा तिनीहरूमा थियो।—यूहन्ना ५:२८, २९; प्रेरित् २४:१५.
११. यहोवाका साक्षीहरू कुन कुरामा सबै भन्दा बेग्लै छन्, र तिनीहरूद्वारा के भविष्यद्वाणी पुरा भइरहेको छ?
११ यहोवाका सेवकहरूले मात्र, पत्रुस र अरू प्रेरितहरूले एउटा सर्वोच्च अदालतको सामने पेश गरेका यो नियम पालन गर्छन्: “हामीले मानिसहरूको भन्दा परमेश्वरको आज्ञा अवश्य मान्नु पर्छ।” (प्रेरित् ५:२९) यहोवाका साक्षीहरूले एसो गरेको हुनाकारण, पवित्र आत्माको सहायता तिनीहरूले पाएकाछन्, किनभने, “परमेश्वरले आफ्ना आज्ञा मान्नेहरू जत्तिलाई” पवित्र आत्मा दिनु हुन्छ। (प्रेरित् ५:३२) यही पवित्र आत्माको शक्ति द्वारा तिनीहरूले यशैया २:२-४ मा उल्लेखित् भविष्यद्वाणी पुरा गर्न सकेकाछन्। यो भविष्यद्वाणीले, हाम्रो पालोमा साँचो उपासनाको पुनःस्थापना हुनेछ र सबै जातिहरू र धर्महरूका मानिसहरू त्यसमा लाग्नेछन् भनेर अग्रिम घोषणा गरिएको थियो। यसको एउटा नतिजाको वर्णन यस प्रकार गरिएको छ: “तिनीहरूले आ-आफ्ना तरवार पिटेर हलोको फाली र भाला चाहिं हँसिया बनाउनेछन्। एउटा जातिले अर्को जातिको विरूद्धमा तरवार उठाउनेछैनन्, औ तिनीहरूले अब उप्रान्त युद्ध गर्न सिक्नेछैनन्।” यहोवाका सेवकहरू एउटा शान्तिपूर्ण नया संसारमा जीवन बिताउने तैयारी गर्दैछन्, र यसकारण तिनीहरू अब उप्रान्त युद्ध गर्न सिक्नेछैनन्। तिनीहरूले प्रेमको व्यवस्था सिक्तैछन्।—यूहन्ना १३:३४, ३५.
१२. प्रेमको व्यवस्था पालन गर्नेहरूले अरूहरूका लागि के गर्नु पर्छ?
१२ मसीही प्रेमको अर्थ, “आफ्नो छिमेकीलाई आफूलाई झैं प्रेम गर्नु” हो। यसकारण, परमेश्वरका सेवकहरू आफूलाई थाहा भएका कुराहरू बारे स्वार्थी हुनु भएन। (मत्ती २२:३९) परमेश्वरको सेवा गर्दै उहाँको नया संसारमा बास गर्न चाहने अझ धेरै मानिसहरू छन्। समय बाँकी रहुञ्जेल, तिनीहरूले पनि प्रेमको व्यवस्था र सर्वसत्ताधारी यहोवा परमेश्वर बारे धेरै अरू सत्य कुराहरू सिक्नु पर्छ। यहोवा मात्र हाम्रो उपासनाको योग्य हुनुहुन्छ र त्यो उपासना चढ़ाउने विधि बारे तिनीहरूले शिक्षा प्राप्त गर्नु परेकोछ। (मत्ती ४:१०; प्रकाश ४:११) यी कुराहरू बारे शिक्षा प्राप्त गरिसकेका व्यक्तिहरू, अरूहरूलाई यही कुराहरू बारे शिक्षा दिन बाध्य छन् किनभने अरूहरूले पनि यहोवाबाट अनुग्रह प्राप्त गर्ने मौका पाउनु पर्छ।—इजकिएल ३३:७-९, १४-१६.
अधर्मको मानिसको पर्दाफास गरिदिने
१३. विश्व-व्यापी साक्षी दिने हाम्रो कामको एउटा भाग समझेर, हामीले के को घोषणा गर्नु पर्छ, र किन?
१३ येशूले “राज्यको यो सुसमाचार सारा संसारमा सब जातिहरूलाई साक्षीको निम्ति प्रचार गरिनेछ, त्यस पछि अन्त हुनेछ,” भनेर भन्नु भएको थियो। (मत्ती २४:१४) परमेश्वरका सेवकहरूले झूटो धर्म, विशेषगरी मसीही-जगतका पादरीहरूको विरूद्धमा परमेश्वरको न्यायको घोषणा गर्नै पर्छ, किनभने यो काम पनि भविष्यद्वाणी गरिएको त्यो विश्व-व्यापी साक्षी दिने कामको एउटा भाग हो। मसीही जगतका पादरीहरू परमेश्वरको नजरमा धेरै दोषी छन् किनभने तिनीहरूले मसीही हुने दाबी गरेकाछन्। परमेश्वरको सेवा गर्न चाहने सबै मानिसहरू तिनीहरूको प्रभावबाट मुक्त भएर बचावको निम्ति उचित् कदम उठाउने मौका पाउनका लागि, यी पादरीहरूको पर्दा फास गरिदिनै परेको छ। येशूले भन्नु भए झैं: “सत्यले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ।”—यूहन्ना ८:३२.
१४. झूटो धर्म बारे के स्पष्ट समाचार घोषित् गर्नु परेकोछ?
१४ यसरी यहोवाका साक्षीहरूले झूटो धर्म बारे यो प्रेरित् समाचारको घोषणा गर्नै पर्छ: “हे मेरा मानिस हो, त्यसबाट निस्केर आओ। त्यसका पापसँग तिमीहरूको केही सङ्गत हुन नपाओस्। त्यसका विपत्तिहरू तिमीहरूले भोग्न नपरोस्। किनभने त्यसका पाप स्वर्गसम्मै चुल्लिएका छन्, परमेश्वरले त्यसका अधर्म सम्झनुभएको छ। . . . यसकारण एकै दिनमा त्यसका विपत्तिहरू आउनेछन्—मृत्यु, अफसोस र अनिकाल, र त्यो आगोमा भस्म परेर जाइजानेछ। किनभने त्यसको इन्साफ गर्ने परमेश्वर बलवान हुनुहुन्छ।”—प्रकाश १८:४-८.
१५. यहोवाको समय तालिकामा १९१४ सालले के भूमिका निभायो, र प्रथम विश्व-युद्ध पश्चात् के परिणाम देखियो?
१५ बाइबलमा गरिएको अगमवाणी अनुसार, यो रितीरिवाजको “अन्तिम दिनहरू” १९१४ को महत्वपूर्ण सालमा शुरू भयो। (२ तिमोथी ३:१-५, १३; मत्ती २४:३-१३) त्यो साल देखिन् एसो, हामी “अन्तको समयमा” छौं। (दानियल १२:४) प्रथम विश्व-युद्ध पश्चात्, यहोवाको समय तालिकासँग कदम मिलाउँदै, उहाँका सेवकहरूले, मत्ती २४:१४ मा भविष्यद्वाणी गरे अनुसार, परमेश्वारको राज्यको घोषणा जोर सित गर्न शुरू गरे। साथै, तिनीहरूले अझ जोशका साथ झूटो धर्म, विशेष गरि मसीही जगतका अधर्मी पादरीहरूको पर्दाफास गर्न आरम्भ गरे।
१६. अधर्मको मानिसको पर्दाफास गर्ने काम, प्राय ७० वर्ष देखिन्, कसरी जोड़तोड़का साथ बढ़दै गएको छ?
१६ अब ७० वर्ष भन्दा बढ़ी समय देखिन्, परमेश्वरका सेवकहरूले जोड़तोड़का साथ, यो अधर्मको मानिसको छलछामबारे मानिसहरूलाई सतर्क गराएकाछन्। प्रथम विश्व-युद्ध पश्चात् यो काम केही हजार साक्षीहरूले मात्र गरिरहेका थिए। तर आज तिनीहरू एउटा “समर्थी जाति” भएका छन्। तिनीहरूको संख्या साढ़े तीस लाख भन्दा बढ़ी भइ सक्यो र तिनीहरू पृथ्वी भरी, ६०,००० भन्दा धेरै मण्डलीहरूमा सङ्गठित् भएर बसेका छन्। (यशैया ६०:२२) बढ़दो मात्रामा, परमेश्वरका सेवकहरूले, जोसिला भएर, मानिस जातिको एक मात्र आशा, परमेश्वरको राज्यको प्रचार गर्नका साथै, पादरी समूह, अथवा अधर्मको एउटा छली मानिसको भित्री रूपको पनि पर्दाफास गरिरहेकाछन्।
यति जोड़तोड़को साथ किन?
१७. यहोवाका साक्षीहरूले अधर्मको मानिसको भण्डाफोर, किन यति जोड़तोड़का साथ गरेकाछन्?
१७ यहोवाका सेवकहरूले यतिका वर्ष देखिन्, अधर्मका मानिसको जोड़तोड़का साथ पर्दाफास गर्दै किन अएकाछन्? किनभने मुक्तिको बाटोमा लागिसकेका यहोवाका लाखौं अरू भेड़ाहरूलाई शैतानको संसार र त्यस्को झूटो धर्मबाट बचाउनु परेको छ। (यूहन्ना १०:१६; प्रकाश ७:९-१४) साथै, पादरीहरूको पर्दाफास नहोउञ्जेल, आज सम्म परमेश्वरको बगालमा सम्मिलित् नभएका, इमानदार हृदय हुने मानिसहरू गलत बाटोबाट अलग हुन सक्ने छैनन्। यसकारण तिनीहरूलाई जानकारी दिन आवश्यक छ, जसरी येशूले पनि, उहाँका दिनका ती कपटी धर्मगुरूहरू बारे, मानिसहरूलाई होसियारी दिलाउँनु हुँदै, एसो भन्नु भयो: “ती अगुवाहरू हुन्। अन्धाले अन्धालाई डोर्याउँछ भने, दुवै खाल्डामा पर्नेछन्।”—मत्ती १५:१४; २ कोरिन्थी ४:४; ११:१३-१५ पनि हुर्नेहोस्।
१८. सत्य सिक्न चाहनेहरूलाई के कुरा थाह हुन खाँचो छ?
१८ पादरी समूह पनि शैतानको संसारको एउटा भाग हो। (यूहन्ना ८:४४) तर त्यो संसारलाई यहोवाले चाँड़ै नष्ट गर्नुहुनेछ। (२ पत्रुस ३:११-१३; १ यूहन्ना २:१५-१७) यसकारण, परमेश्वरको वचनमा यो चेताउनी दिएको पाउँछौं: “जो संसारको मित्र हुन चाहन्छ, त्यसले आफैलाई परमेश्वरको शत्रु बनाउँछ।” (याकूब ४:४) तर पादरी समूहले यो चेताउनीको वास्ता नगर्दै, राजनीतिमा भाग लिन छाड़ेका छैनन्। तिनीहरूले आफ्ना अनुयायीहरूलाई पनि, राजनीतिज्ञहरूको प्रयत्न द्वारा एउटा असल संसार आउँनेछ भन्छन्। तर यो एउटा झूटो आशा हो, किनभने शैतानको अधीनमा परेको यो संसार सर्वनाशको बाटोमा गइरहेको छ। यसकारण, यो संसार तर्फ आशा लगाएर बस्ने मानिसहरू धोकामा परेकाछन्। यो संसार कतातिर गइरहेछ र के हुनेवालाछ भनेर साँचो साँचो कुरा यी मानिसहरूलाई भन्नु खाँचो छ।—हितोपदेश १४:१२; १९:२१; मत्ती ६:९, १०; प्रकाश २१:४, ५.
१९. पत्र-पत्रिका द्वारा हालसालैमा, कुनै कुनै पादरीहरूका सांसारिक जीवन शैलीको पर्दाफास कसरी भएको छ?
१९ कुनै-कुनै पादरीहरूको सांसारिक स्वभावको भण्डाफोर, हालसालैमा, पत्र-पत्रिका द्वारा भएको छ। उदाहरणका लागि, दूरदर्शनमा देखा परेर प्रचार गर्ने केही पादरीहरूको विलासी र भोगी जीवन शैली प्रकाशित् भएको थियो। एउटा आधुनिक सङ्गीतकारले यो शिर्षक भएको गीत सङ्कलन गरे: “के येशूले आफ्नो टेलिभिजन कार्यक्रममा [१०,००० डलर दामको] रोलेक्स घड़ी लाउनु हुन्थियो?” यो गीतमा अझ एसो पनि भनिएको छ: “के येशू पृथ्वीमा आउनु भएर राजनीति गर्नु हुन्थियो? आफ्नो दोस्रो घर [एयासीपूर्ण] पाम स्प्रीङ्गस्मा बनाएर, आफ्नो धन लुकाउनु हुन् थियो र?” यस बाहेक, पादरीहरूको बढ़दो संख्यामा पुरूषगामीहरूलाई मान्यता दिने गर्छन् र धेरै ता स्वयं पुरूषगामी भएका छन्। आज पनि, संयुक्त राष्ट्र अमेरिकाका क्याथोलिक गिर्जाहरूले, साना साना केटा-केटीहरूसँग तिनका पादरीहरूले लैंगिक दुर्व्यवहार गरेका लागि, हर्जानाको रूपमा, लाखौं डलर तिरीरहेकाछन्।—रोमी १:२४-२७; १ कोरिन्थी ६:९, १०.
२०. परमेश्वरका सेवकहरूले अधर्मको मानिसको पर्दाफास किन गरिनै रहनु पर्छ?
२० यस प्रकारका खराब कामको वास्ता नगरिकन, परमेश्वरका सेवकहरू बस्न सक्तैनन्। यस प्रकारको खराब कामको पर्दाफास गर्नै पर्छ। अरू भेड़ाहरूको ठूलो भीड़लाई परमेश्वरका नियमहरू भङ्ग गराउने तत्वहरू बाट बचाउन अति नै आवश्यक छ। र “सबै घिनलाग्दा कामहरू देखेर शोक र विलाप गर्ने मानिसहरूलाई” खोजेर, महान गोठालो, यहोवा परमेश्वर र “असल गोठालो” येशू ख्रीष्टका” सुरक्षित् अगुवाईमा एकत्रित गर्ने खाँचो छ।—इजकिएल ९:४; यूहन्ना १०:११; हितोपदेश १८:१०.
२१. यहोवाका साक्षीहरूले के को घोषणा निरन्तर गर्ने छन्?
२१ यसकारण, शैतानको संसार र त्यसको अधर्मको मानिसको विरूद्धमा परमेश्वरले लिनु हुने बदला बारे घोषणा गर्न, परमेश्वरका मानिसहरू हिचकिचाउनेछैनन्। तिनीहरूले जोड़तोड़का साथ, प्रकाश १४:७ मा उल्लेखित्, स्वर्गदूतको यो सन्देशको प्रचार गर्नेछन्: “परमेश्वरसँग डराओ र उहाँलाई महिमा देओ। किनकि उहाँको ठूलो इन्साफको समय आएको छ।” र यो घोषणामा, तिनीहरूले, प्रकाश १८:४ मा झूटो धर्म बारे दिइएको, यो अर्को महत्वपूर्ण चेताउनी पनि समावेश गर्नेछन्, “हे मेरा मानिस हो, त्यसबाट निस्केर आओ। त्यसका पापसँग तिमीहरूको केही सङ्गत हुन नपाओस्। त्यसका विपत्तिहरू तिमीहरूले भोग्न नपरोस्।” (w90 2/1)
समीक्षाका लागि प्रश्नहरू:
◻ अधर्मको मानिसको अन्त के हुनेछ, र किन?
◻ अरूहरू प्रति यहोवाका सेवकहरूको के कर्त्तव्य छ?
◻ सबैको प्राणको निर्दोष भएर यहोवाका मानिसहरू कसरी बस्न सकेकाछन्?
◻ महान बेबिलन बारे हामीले के गर्नु पर्छ?
◻ अधर्मको मानिस बारे हाम्रो शक्तिशाली खबरको घोषणा, हामी किन निरन्तर गरि नै रहनेछौं?
[पृष्ठमा भएको चित्र]
प्रेरितहरूले एउटा सर्वोच्च अदालतको सामने एसो भने: “हामीले मानिसहरूको भन्दा परमेश्वरको आज्ञा अवश्य मान्नु पर्छ।”
[पृष्ठमा भएको चित्र]
निष्कपट हृदय भएका मानिसहरूलाई, संसार र त्यसका धर्महरू कतातिर गइरहेका छन् भन्ने कुरा थाह हुनु खाँचो छ।