अध्याय २८
एक-अर्कासँग प्रेमपूर्ण व्यवहार गर्नु
१. (क) परमेश्वरको सङ्गठनको एउटा भाग तपाईं कसरी हुन सक्नु हुन्छ? (ख) त्यसबेला तपाईंले कुन आदेशलाई पालन गर्नु पर्दछ?
यहोवा परमेश्वर र उहाँका उद्देश्यहरूको ज्ञान र गुणग्रहणमा जसै-जसै तपाईं बृद्धि गर्दै जानु हुनेछ, समान विश्वास र आशा राख्ने व्यक्तिहरूसँग नियमित रूपले तपाईं सङ्गत गर्न इच्छुक रहनु हुनेछ। एसो गर्नाले, तपाईं परमेश्वरको दृश्य सङ्गठन अर्थात, एउटा साँचो मसीही बन्धुत्वको भाग हुनुहुनेछ। अनि “भाइ-बन्धुहरूलाई प्रेम गर” भन्ने आदेशको पालन गर्न तपाईंकालागि आवश्यक हुनेछ।—१ पत्रुस २:१७; ५:८, ९.
२. (क) येशूले आफ्नो चेलाहरूलाई कुन नया आदेश दिनु भएको थियो? (ख) यी वाक्यांश “एक अर्कोलाई” र “आपसमा” ले स्पष्टरूपले के जनाउँदछ? (ग) प्रेम राख्नु कतिको महत्वपूर्ण छ?
२ उनका चेलाहरूले एक अर्कालाई प्रेम गर्न कत्तिको महत्वपूर्ण छ भन्ने कुरालाई येशू ख्रीष्टले जोर दिनु भएको छ। उहाँले तिनीहरूलाई भन्नुभयो: “एउटा नया आज्ञा म तिमीहरूलाई दिंदैछु, कि तिमीहरू एक अर्कालाई प्रेम गर, . . . यदि तिमीहरूले आपसमा प्रेम गऱ्यौ भने, तिमीहरू मेरा चेलाहरू हौ भनी यसैबाट सबैले जान्नेछन्।” (यूहन्ना १३:३४, ३५) “एक अर्कालाई र “आपसमा” भन्ने अभिव्यक्तिहरूले यो स्पष्टसँग जनाउदछ कि सबै सच्चा मसीहीहरू एउटै समूह अथवा सङ्गठनमा जम्मा हुनेछन्। (रोमी १२:५; एफिसी ४:२५) र सदस्यहरू बीच एक अर्का सँगको प्रेम नै यो सङ्गठनको पहिचान हुनेछ। यदि एउटा व्यक्तिमा प्रेम छैन भने, अन्य सबै कुरा व्यर्थ छ।—१ कोरिन्थी १३:१-३.
३. मसीही साथीहरूलाई हेरविचार गर्ने र प्रेम गर्ने कुरामा बाइबलले कसरी जोर दिएकोछ?
३ त्यसकारण, प्राचीन समयका मसीहीहरूलाई यस प्रकारका सम्झौटोहरू दिइन्थियो: “एक दोस्रोतर्फ मयालु होओ।” “एउटाले अर्कोलाई सत्कार गर।” “एक अर्काको दास बन।” “एक अर्कोलाई क्षमा गरेर तिमीहरू एक अर्को प्रति कोमल मनको र दयालु होओ।” “एउटाले अर्कोलाई सहेर, कुनै मानिसको विरुद्धमा केही दोषको कारण छ भने, एउटाले अर्कोलाई क्षमा गर।” “एउटाले अर्कोलाई सान्त्वना देऊ, र एउटाले अर्कोलाई सुधार गर।” “आपसमा मेल मिलापमा बस।” “आपसमा प्रगाढ़ प्रेम राख।”—रोमी १२:१०; १५:७; गलाती ५:१३; एफिसी ४:३२; कलस्सी ३:१३, १४; १ थिस्सलोनिकी ५:११, १३; १ पत्रुस ४:८; १ यूहन्ना ३:२३; ४:७, ११.
४. (क) “एक अर्कोलाई” बाहेक अरूहरूलाई पनि मसीहीहरूले प्रेम गर्नु पर्दछ भन्ने कुरा के ले जनाउदछ? (ख) मसीहीहरूले कसलाई विशेष रूपले प्रेम गर्नु पर्दछ?
४ तथापि, परमेश्वरको सङ्गठनका सदस्यहरूले आफ्ना सङ्गी साँचो मसीहीहरूलाई मात्र प्रेम गर्नु भनेको होइन। तिनीहरूले अरूहरूलाई पनि प्रेम गर्न जरूरी छ। सँधै “एउटाले अर्कोसँग र सबैसँग प्रेम गर्नमा” तिनीहरूले बृद्धि गरिरहुन् भनेर बाइबलले जोर दिन्छ। (१ थिस्सलोनिकी ३:१२; ५:१५) प्रेरित पावलले एउटा सन्तुलित् दृष्टिकोण जनाउँदै एसो लेखेका छन्: “सबै मानिसतर्फ, खास गरेर विश्वासका घरानातर्फ, भलाइको काम गरौं।” (गलाती ६:१०) अत: मसीहीहरूले शत्रुहरू समेत सबैलाई प्रेम गर्नु आवश्यक छ भने, परमेश्वरको सङ्गठनका सङ्गी सदस्यहरू अथवा आफ्ना आध्यात्मिक भाइ र बहिनीहरूलाई अझ विशेष रूपले प्रेम गर्नु पर्छ।—मत्ती ५:४४.
५. साँचो मसीहीहरू, प्रारम्भिक समयमा र आज पनि, आफ्ना प्रेमकालागि प्रसिद्ध छन् भनेर कसरी बुझिन्छ?
५ पहिलेका मसीहीहरू एक अर्कासँग यस प्रकारको प्रेम गर्ने कुरामा प्रसिद्ध थिए। दोस्रो शताव्दी का तरतुलियन नाउँ भएका लेखक अनुसार, मानिसहरू मसीहीहरूवारे यसो भन्दथिए: ‘हेर यिनीहरू एक अर्कालाई कस्तो प्रेम गर्दछन्, र एक अर्काकालागि मर्न पनि तैयार रहन्छन्!’ आज पनि साँचो मसीहीहरूका बीचमा यस प्रकारको प्रेम देखिन्छ। तर यसको अर्थ, के साँचो मसीहीहरू बीच कहिले पनि कुनै समस्याहरू अथवा कठिनाइहरू उत्पन्न हुँदैन र?
असिद्धताको परिणाम
६. साँचो मसीहीहरू पनि कहिलेकाहीं एकअर्काको विरुद्धमा पाप किन गर्दछन्?
६ हामी सबैले आफ्ना प्रारम्भिक पिता र माता आदम र हव्वा बाट असिद्धता वंशानुगत पाएका छौं भन्ने कुरा, तपाईंले आफ्नो बाइबल अध्ययन द्वारा बुझ्नु भएको छ। (रोमी ५:१२) त्यसकारण, अनुचित काम गर्ने प्रवृत्ति हामीहरूमा हुन्छ। बाइबल अनुसार: “धेरै कुरामा हामी चुक्तछौं।” (याकूब ३:२; रोमी ३:२३) परमेश्वरको सङ्गठनका सदस्यहरू पनि असिद्ध छन् र कहिलेकाहीं अनुचित कार्य गर्दछन् भन्ने कुरा तपाईंले बुझ्नु पर्दछ। यस बाट साँचो मसीहीहरू बीच पनि समस्याहरू र कठिनाइहरू उत्पन्न हुन सक्दछ।
७. (क) इयोदिया र सिन्तुकेलाई “एकमनको हुनु” भन्नुपर्ने आवश्यकता किन पऱ्यो? (ख) वास्तवमा ती महिलाहरू असलै थिए भन्ने कुराको बोध कसरी हुन्छ?
७ प्रारम्भिक फिलिप्पी मण्डलीकी इयोदिया र सिन्तके नाउँ भएकी दुई महिलाहरूको स्थिति बारे सोंच्नु होस्। तिनीहरू बारे प्रेरित पावलले यस प्रकार लेखे: “म, इयोदिया र सिन्तकेलाई प्रभुमा एउटै मनका होओ भनेर अर्ति दिन्छु।” पावलले किन यी दुई महिलाहरूलाई “एउटै मनका होओ” भनेर प्रोत्साहित गर्नु पर्यो? यिनीहरूको बीचमा केही समस्या थियो भन्ने कुरा यसबाट स्पष्ट हुन्छ। के समस्या थियो, बाइबलमा केही भनिएको छैन। शायद तिनीहरूमा एक अर्का प्रति कुनै प्रकारको ईर्ष्या थियो होला। तथापि, तिनीहरू वास्तवमा असलै महिलाहरू थिए। तिनीहरू निकै समय देखिन् मसीही धर्ममा थिए र वषौं अघि देखिन् पावलसँग प्रचार कार्यमा भाग लिई रहेका थिए। त्यसकारण तिनले मण्डलीलाई लेखे: “यी स्त्रीहरूलाई मदत गर, किनभने यिनीहरूले मसँग सुसमाचारमा परिश्रम गरे।”—फिलिप्पी ४:१-३.
८. (क) पावल र बर्णबासका बीच कुन समस्या उत्पन्न भएको थियो? (ख) यदि तपाईं त्यहाँ उपस्थित हुनुभएको भए र सो झगड़ा देख्नु भएको भए तपाईं के निष्कर्षमा पुग्न सक्नु हुने थियो?
८ एक समयमा प्रेरित पावल र तिनका सहयात्री बर्णाबास बीच पनि समस्या उठेको थियो। आफ्नो दोस्रो धर्म प्रचार यात्रामा हिड़ने तयारी गर्दा, बर्णाबासले आफ्नो भाइ पर्ने मर्कूसलाई पनि आफूसँगै लैजान चाहे। तर, पावलले मर्कूसलाई साथमा लैजान चाहेनन्, किनभने धर्म प्रचारको प्रथम यात्राको समयमा मरकुस तिनीहरूलाई छाड़ेर घरतर्फ गएका थिए। (प्रेरित १३:१३) बाइबलमा उल्लेखित छ: “तिनीहरूका बीचमा यति चर्को मतभेद भयो, कि तिनीहरू एक अर्काबाट छुट्टिए।” (प्रेरित १५:३७-४०) के तपाईं यस्तो कल्पना गर्न सक्नु हुन्छ। यदि तपाईं त्यहाँ हुनुहुँदो हो र त्यो “चर्को मतभेद” देख्नु भएको भए, तिनीहरूको व्यवहार बाट पावल र बार्णबास परमेश्वरको सङ्गठनका भाग होइनन् भन्ने निष्कर्षमा के तपाईं पुग्नु हुन्थियो?
९. (क) पत्रुसले के पाप गरे, र के कारणले गर्दा तिनले त्यसो गर्नु परेको थियो? (ख) त्यहाँ जे भइ रहेको थियो, त्यसलाई देखेर पावलले के गरे?
९ एउटा अर्को अवसरमा प्रेरित पत्रुसले एउटा अनुचित काम गरे। गैर इस्राएली भाइहरूलाई तिरस्कारको दृष्टिले हेर्ने केही यहूदी मसीही भाइहरूले तिनलाई पनि अवहेलनाको दृष्टिले हेर्लान् भन्ने डरले, गैर इस्राएली मसीहीहरूसँग सङ्गत गर्न पत्रुसले छाड़ि दिए। (गलाती २:११-१४) पत्रुसले त्यसो गरेको देख्दा, तिनको यो अनुचित आचरणको प्रेरित पावलले त्यहाँ उपस्थित सबैका सामुन्ने भर्त्सना गरे। तपाईं पत्रुस हुनु भएको भए, तपाईंलाई कस्तो लाग्ने थियो?—हिब्रू १२:११.
प्रेमद्वारा समस्याहरूको समाधान गर्नु
१०. (क) ताड़ना पाउँदा पत्रुसले के प्रतिक्रिया देखाए? (ख) पत्रुसको उदाहरण बाट हामीहरू के सिक्न सक्दछौं?
१० पत्रुस, पावलसँग रिसाउन सक्थिए। सबैका सामुन्ने जसरी पावलले तिनलाई ताड़ना दिए भनेर, पत्रुस चित्तदुखाउन सक्थिए। तर तिनले त्यसो गरेनन्। (उपदेशक ७:९) पत्रुस नम्र थिए। तिनले सो ताड़नालाई स्वीकार गरे, र यस कुराले गर्दा पावल प्रतिको आफ्नो प्रेममा कुनै कमी हुन दिएनन्। (१ पत्रुस ३:८, ९) ध्यान दिनु होस्, पछि पत्रुसले आफ्ना सङ्गी मसीहीहरूलाई उत्साहित पार्न लेखेको पत्रमा पावल बारे के भनेकाछन्: “औ तिनलाई दिइएको ज्ञान अनुसार हाम्रा प्रिय भाइ पावलले पनि तिमीहरूलाई लेखेझैं प्रभुको धीरजनै मुक्ति हो भनी सम्झ।” (२ पत्रुस ३:१५) हो, यो समस्यालाई पत्रुसले प्रेम द्वारा ढाकि दिए र यस पटक यो समस्या उनकै अनुचित कामले गर्दा उठेको थियो।—हितोपदेश १०:१२.
११. (क) पावल र बर्णबासको बीच चर्को मतभेद भएता पनि, तिनीहरू साँचो मसीहीहरू हुन् भनेर कसरी जनाउन सके? (ख) तिनीहरूको उदाहरण बाट हामीहरू कसरी लाभ उठाउन सक्दछौं?
११ पावल र बर्णबासका बीचको समस्या चाहिं के भयो? त्यस्को पनि प्रेम द्वारा हल भयो। पछि, पावलले कोरिन्थीको मण्डलीलाई लेख्दा, बर्णबासलाई आफ्नो निकटतम सङ्गी कार्यकर्त्ता भनेर सम्बोधन गरेकोछ। (१ कोरिन्थी ९:५, ६) यद्यपि, एउटा यात्रा साथीको रूपमा, मर्कूसको योग्यतामा शङ्का गर्नु पर्ने पावलसँग उचित कारण थियो होला। तथापि, पछि यो युवा पुरूष परिपक्वताको उच्च बिन्दु सम्म पुग्न सकेको हुनाले पावलले तिमोथीलाई यसो भनेर लेखे: “मर्कूसलाई लिएर तिम्रो साथैमा ल्याऊ, किनभने तिनी सेवाको निम्ति मलाई उपयोगी छन्।” (२ तिमोथी ४:११) मतभेद हटाउने यस उदाहरणबाट हामीहरू लाभ उठाउन सक्दछौं।
१२. (क) इयोदिया र सिन्तुकेले आपसको मतभेदलाई खतम गरे होलान् भनेर हामीहरू कसरी अनुमान गर्न सक्दछौं? (ख) गलाती ५:१३-१५ का अनुसार मसीहीहरूले आपसको मतभेद प्रेमपूर्वक हटाउनु पर्ने अनिवार्यता किन छ?
१२ अब इयोदिया र सिन्तकेको के भयो? के तिनीहरूले आफ्ना मतभेदहरू हटाए, र एक अर्काको विरुद्धमा जे पाप गरेको भएता पनि, प्रेमले त्यसलाई छोपे? अन्तत: तिनीहरूको बीचमा के भयो बाइबल केही भन्दैन। तर, मसीही सेवामा पावल सँग-सँगै काम गर्ने असल स्त्रीहरू भएका हुनाले, दिएका परामर्शहरू नम्रतापूर्वक स्वीकार गरे होलान् भनेर हामीहरू उचित अनुमान गर्न सक्दछौं। पावलको पत्र पाए पछि एक अर्का कहाँ गएर प्रेमपूर्ण भावनाले समस्याहरूको समाधान गरे होलान् भन्ने कुरा हामी सहजै अनुमान गर्न सक्दछौं।—गलाती ५:१३-१५.
१३. यहोवा परमेश्वरले प्रेम दर्शाउनमा के उदाहरण प्रस्तुत गर्नु भएको छ?
१३ तपाईंलाई पनि शायद मण्डलीका कुनै व्यक्ति वा व्यक्तिहरू सँग मिल्न मुश्किल पर्दो होला। तिनीहरूमा मसीही गुणहरूको विकाश हुन निकैनै समय लाग्ने भएता पनि, यहाँ यसरी सोंच्नु होस् त: मानिसहरूले आफ्नो सबैनै खराब आनी-बानी नछाड़े सम्म तिनीहरूलाई प्रेम गर्दिन भनेर के यहोवा परमेश्वर पर्खेर बस्नु हुन्छ? होइन, बाइबल भन्दछ: “तर परमेश्वरले हामीतर्फको उहाँको आफ्नो प्रेम उहाँमा यसैमा प्रमाणित गर्नुहुन्छ, कि हामी पापी छँदै, ख्रीष्ट हाम्रा निम्ति मर्नु भयो।” (रोमी ५:८) हामीहरूले पनि परमेश्वरको सो उदाहरणलाई अनुसरण गर्दै, खराब र मूर्ख काम गर्नेहरूलाई प्रेम देखाउन सक्नु पर्दछ।—एफिसी ५:१, २; १ यूहन्ना ४:९-११; भजन संग्रह १०३:१०.
१४. अर्काको आलोचना नगर्ने बारे येशुले के सल्लाह दिनु भएको छ?
१४ हामीहरू सबैनै असिद्ध भएका हुनाले, अर्काको आलोचना गर्नु हँदैन भनेर येशूले हामीलाई शिक्षा दिनु भएको छ। यो साँचो हो, अरूमा खोट होला तर त्यो खोट हामीमा पनि छ। येशूले सोध्नु भयो: “किन तिमी आफ्नो भाइको आँखामा भएको कसिङ्गर देख्तछौ, तर तिम्रो आफ्नै आँखामा भएको मूढा चाहिं थाहा पाउँदैनौ?” (मत्ती ७:१-५) यस प्रकारको विवेकपूर्ण परामर्श आफ्नो मनमा राख्नाले, आफ्ना भाइ र बहिनीहरू सँग मिलेर बस्नमा सहायता पाउनेछौं।
१५. (क) हामीसँग अरूहरू बारे शिकायत गर्ने कारण भएता पनि तिनीहरूलाई क्षमा गर्नु किन महत्वपूर्ण छ? (ख) मत्तीको १८ वाँ अध्यायमा वर्णन गरिएको आफ्नो दृष्टान्त द्वारा, येशूले क्षमाशील हुने शिक्षा कसरी दिनु भएको छ?
१५ हामीहरू करुणामय र क्षमाशील हुनु अत्यन्त जरूरी छ। एउटा भाइ अथवा बहिनीको विरुद्धमा साँच्चैकै शिकायत गर्ने कारण तपाईंसँग होला, तर भएता पनि, बाइबलको यो सल्लाह याद राख्नु होस्: “एउटाले अर्कोलाई सहेर, कुनै मानिसको विरुद्धमा केही दोषको कारण छ भने, एउटाले अर्कोलाई क्षमा गर।” तर, तपाईं भन्नु होला तिनीहरूको विरुद्ध शिकायत गर्ने प्रमाणिक कारणहरू छन् भने तिनीहरूलाई किन क्षमा गर्ने? किनभने, बाइबलले उत्तर दिएकोछ: “यहोवाले पनि तिमीहरूलाई क्षमा गर्नु भयो।” (कलस्सी ३:१३) र यदि हामी परमेश्वरबाट क्षमा चाहन्छौं भने, येशू भन्नु हुन्छ, हामीले पनि अर्कालाई क्षमा गर्नु आवश्यक छ। (मत्ती ६:९-१२, १४, १५) येशूले दिनु भएको एउटा दृष्टान्तको राजा जस्तै, यहोवाले हामीहरूलाई हजारौं पटक क्षमा गर्नु भएको छ भने, के हामीहरू आफ्ना भाइहरूलाई केही पटक मात्र पनि क्षमा गर्न सक्दैनौं?—मत्ती १८:२१-३५; हितोपदेश १९:११.
१६. (क) १ यूहन्ना ४:२०, २१ अनुसार, परमेश्वर प्रतिको प्रेम र मसीही साथीहरूको प्रेम कसरी सम्बन्धित छ? (ख) यदि तपाईंको भाइलाई तपाईंसँग केही शिकायत छ भने, के गर्न आवश्यक छ?
१६ एकातिर आफ्ना भाइ र बहिनीहरू प्रति निष्ठुर र अक्षमाशील व्यवहार गर्ने र अर्कोतिर सच्चाइलाई आफ्नो जीवनमा प्रयोग गर्न खोज्ने, त्यो कदापि सम्भव हुनेछैन। (१ यूहन्ना ४:२०, २१; ३:१४-१६) त्यसकारण, एउटा सङ्गी मसीही सँग कुनै समस्या पर्न गएमा, उ सँग कुरा गर्न नछाड़नु होस्। मनमा द्वेषको भावना नराख्नु होस्। प्रेमसँग सो कुरालाई सुल्झाउनु होस्। यदि आफ्नो भाइको चित्त दुखाउनु भएको छ भने, आफ्नो दोष स्वीकार गरेर क्षमा माँग्न तत्पर रहनुहोस्।—मत्ती ५:२३, २४.
१७. यदि कसैले तपाईंलाई नोकसान पुऱ्याएको छ भने के कदम चाल्न उचित होला?
१७ तर कसैले तपाईंको अपमान गर्दछ, अथवा तपाईंलाई कुनै प्रकारको खराबी गर्दछ भने के गर्ने? बाइबलको सल्लाह छ: “यसो नभन्, ‘त्यसले मलाई गरेझैं म पनि गर्नेछु।’” (हितोपदेश २४:२९; रोमी १२:१७, १८) येशू ख्रीष्टले सल्लाह दिनु भयो: “जसले तिम्रो दाहिने गाला चट्काउला त्यसलाई अर्कोतिरको पनि फर्काइदेओ।” (मत्ती ५:३९) गाला चट्काउनुको उद्देश्य कसैलाई शारीरिक रूपले नोक्सान पुऱ्याउनु होइन, तर उसलाई अपमान गर्ने वा उसलाई रीस उठाउनु हो। यस प्रकार येशू आफ्ना चेलाहरूलाई कुनै सङ्घर्ष वा वाद-विवादमा नपर्ने शिक्षा दिनु हुँदैथियो। “खराबीको बदला खराबी अथवा गालीको बदला गाली” दिनुको सट्टा, तपाईंले “खराबी बाट फर्केर असल पछि लाग्ने” प्रयत्न गर्नु पर्दछ।—१ पत्रुस ३:९, ११; रोमी १२:१४.
१८. परमेश्वरले सबै मानिसहरूलाई प्रेम गर्नु भएको उदाहरण बाट हामीहरूले के सिक्न सक्दछौं?
१८ याद राख्नु पर्ने कुरा के हो भने, हामीले “भाइ-बन्धुहरूलाई प्रेम गर्नु” पर्दछ। (१ पत्रुस २:१७) यहोवा परमेश्वरले यसको उदाहरण प्रस्तुत गर्नु भएको छ। उहाँ पक्षपाती हुनुहुन्न। उहाँको दृष्टिमा सबै जातिहरू बराबर छन्। (प्रेरित १०:३४, ३५; १७:२६) आउने “महा सङ्कष्टमा” सुरक्षित रहनेहरू “सबै जाति, कुल, र मानिस र भाषाहरूबाट” लिएका हुनेछन्। (प्रकाश ७:९, १४-१७) त्यसकारण, परमेश्वरको अनुसरण गर्दै, अरूहरू बेग्लै जाति, राष्ट्रियता, सामाजिक स्थिति, अथवा भिन्न रङ्गको छालाका भएता पनि, हामीले तिनीहरूलाई कम प्रेम गर्नु हुँदैन।
१९. (क) मसीही साथीहरूसँग हामीहरूले के कस्तो सम्मान र व्यवहार गर्नु पर्दछ? (ख) के महान विशेषाधिकार हाम्रो हुन सक्दछ?
१९ मसीही मण्डलीका सबै लाई राम्रो सँग जान्ने कोशिश गर्नु होस्, अनि मात्र तिनीहरूलाई तपाईंले प्रेम र कदर गर्नु हुनेछ। प्रौढहरूलाई पिता र माता सरह, युवाहरूलाई भाइ र बहिनीहरू सरहको व्यवहार गर्नु होस्। (१ तिमोथी ५:१, २) परमेश्वरको परिवार समान दृश्य सङ्गठनको, जसका सदस्यहरू आपसमा प्रेमपूर्वक व्यवहार गर्दछन्, एउटा भाग हुन पाउनु वास्तवमा एउटा ठूलो विशेषाधिकार हो। यस प्रकारको मायालु परिवारसँग पार्थिव प्रमोदबनमा सदाकालागि बाँचेर बस्न पाउनु कति राम्रो हुनेछ!—१ कोरिन्थी १३:४-८.
[पृष्ठ २३३-मा भएको चित्र]
इयोदिया र सिन्तुकेको बीच घटेको घटना बाट हामीहरू के सिक्खन सक्दछौं?
[पृष्ठ २३५-मा भएको चित्र]
के पावल र बर्णबासको बीच भएको विवादले गर्दा तिनीहरू परमेश्वरको सङ्गठनका सदस्य थिएनन् भन्न सकिन्छ?
[पृष्ठ २३६-मा भएको चित्र]
साँचो मसीहीहरू शिकायतका कारणहरूलाई प्रेमले ढाकि दिन्छन्
[पृष्ठ २३७-मा भएको चित्र]
परमेश्वरको सङ्गठन भित्र, प्रेमले प्रेरित भएर मसीहीहरू आपसमा समान व्यवहार गर्दछन्