प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • jy chap. १३७ p. ३१०-p. ३११ par. २
  • पेन्तिकोसअघि उहाँलाई सयौँले देख्छन्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पेन्तिकोसअघि उहाँलाई सयौँले देख्छन्‌
  • येसु—बाटो, सत्य र जीवन
  • मिल्दोजुल्दो सामग्री
  • आखिरी केही पटक देखा पर्नुहुन्छ र इस्वी संवत्‌ ३३ को पेन्तिकोस
    सबैभन्दा महान्‌ पुरुष
  • “तिमीहरूले मेरो साक्षी दिनेछौ”
    परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्‌
  • यहोवा हाम्रो शासक हुनुहुन्छ!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९०
  • येसु स्वर्ग फर्कनुहुन्छ
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
थप हेर्नुहोस्
येसु—बाटो, सत्य र जीवन
jy chap. १३७ p. ३१०-p. ३११ par. २
येसु स्वर्गतिर उक्लनुहुन्छ

अध्याय १३७

पेन्तिकोसअघि उहाँलाई सयौँले देख्छन्‌

मत्ति २८:१६-२० लुका २४:५०-५२ प्रेषित १:१-१२; २:१-४

  • येसु धेरै मानिससामु देखा पर्नुहुन्छ

  • उहाँ स्वर्ग उक्लनुहुन्छ

  • येसु लगभग १२० जना चेलामाथि पवित्र शक्‍ति खन्याउनुहुन्छ

येसु जीवित हुनुभएपछि उहाँ गालिलको एउटा डाँडामा आफ्ना ११ जना प्रेषितलाई भेट्‌ने प्रबन्ध मिलाउनुहुन्छ। त्यहाँ अरू लगभग ५०० जना चेला पनि छन्‌, जसमध्ये कसै-कसैले पहिला शङ्‌का गरेका थिए। (मत्ति २८:१७; १ कोरिन्थी १५:६) तर अब येसुले भन्‍नुहुने कुरा सुनेर तिनीहरू सबै जना उहाँ साँच्चै जीवित हुनुभएको छ भन्‍ने कुरामा पक्का हुनेछन्‌।

परमेश्‍वरले आफूलाई स्वर्ग र पृथ्वीको सबै अधिकार दिनुभएको छ भनी येसु बताउनुहुन्छ। उहाँ चेलाहरूलाई यस्तो आग्रह गर्नुहुन्छ: “त्यसैले जाओ र सबै जातिका मानिसहरूलाई चेला बनाओ; तिनीहरूलाई बुबा, छोरा र पवित्र शक्‍तिको नाममा बप्तिस्मा गराओ अनि मैले तिमीहरूलाई आज्ञा गरेको सबै कुरा तिनीहरूलाई पालन गर्न सिकाओ।” (मत्ति २८:१८-२०) हो, येसु अहिले जीवित मात्र हुनुहुन्‍न, सुसमाचार प्रचार गर्ने काममा उहाँ अझै पनि चासो राख्नुहुन्छ।

येसुका अनुयायीहरूले—पुरुष, स्त्री र केटाकेटी सबैले चेला बनाउने आज्ञा पाएका छन्‌। विरोधीहरूले प्रचारकार्य र सिकाउने कामलाई रोक्न खोज्लान्‌ तर येसु चेलाहरूलाई यस्तो आश्‍वासन दिनुहुन्छ: “स्वर्ग र पृथ्वीको सबै अधिकार मलाई दिइएको छ।” यसले उहाँका अनुयायीहरूको लागि कस्तो अर्थ राख्छ? उहाँ तिनीहरूलाई भन्‍नुहुन्छ: “हेर! यस युगको आखिरी समयसम्म म सधैँभरि तिमीहरूसितै छु।” सुसमाचार प्रचार गर्ने काममा भाग लिने सबैले चमत्कारहरू गर्न सक्नेछन्‌ भनेर येसु बताउनुहुन्‍न। तर तिनीहरूले पवित्र शक्‍तिको मदत भने अवश्‍य पाउनेछन्‌।

जीवित भएपछि येसु “४० दिनसम्म” विभिन्‍न चेलासामु देखा पर्नुहुन्छ। तिनीहरूले उहाँलाई नचिने तापनि ‘आफू फेरि जीवित भइसकेको छु भनी देखाउन उहाँ तिनीहरूलाई थुप्रै अकाट्य प्रमाण दिनुहुन्छ’ र “परमेश्‍वरको राज्यबारे” सिकाइरहनुहुन्छ।—प्रेषित १:३; १ कोरिन्थी १५:७.

सायद प्रेषितहरू गालिलमै छँदा येसु तिनीहरूलाई यरुसलेम फर्कने निर्देशन दिनुहुन्छ। तिनीहरूलाई भेटेपछि उहाँ भन्‍नुहुन्छ: “यरुसलेम छोडेर कतै नजाओ तर बुबाले प्रतिज्ञा गर्नुभएको कुरा नपाएसम्म पर्खिरहो, जसबारे तिमीहरूले मबाट सुनेका थियौ। किनभने युहन्‍नाले पानीमा बप्तिस्मा गराए तर अबको केही दिनमै पवित्र शक्‍तिद्वारा तिमीहरूको बप्तिस्मा हुनेछ।”—प्रेषित १:४, ५.

पछि येसु फेरि प्रेषितहरूलाई भेट्‌नुहुन्छ। उहाँ ‘तिनीहरूलाई बेथानिसम्म लैजानुहुन्छ’, जुन ठाउँ जैतुन डाँडाको पूर्वी भेगमा पर्छ। (लुका २४:५०) येसुले आफू स्वर्ग जाने विषयमा थुप्रै कुरा बताइसक्नुभए तापनि तिनीहरूलाई अझै उहाँको राज्य कुनै न कुनै तरिकामा पृथ्वीमै स्थापना हुनेछ जस्तो लाग्छ।—लुका २२:१६, १८, ३०; युहन्‍ना १४:२, ३.

प्रेषितहरू येसुलाई सोध्छन्‌: “प्रभु, के तपाईँले इस्राएलमा परमेश्‍वरको राज्य अहिल्यै पुनर्स्थापित गर्न लाग्नुभएको हो?” उहाँ केवल यति भन्‍नुहुन्छ: “त्यो कहिले हुन्छ, त्यो तोक्ने अधिकार बुबासित मात्र छ। त्यसैले बुबाले तोक्नुभएको समयबारे तिमीहरूले जानिराख्नु आवश्‍यक छैन।” तिनीहरूले गर्नुपर्ने कामलाई फेरि जोड दिँदै येसु भन्‍नुहुन्छ: “पवित्र शक्‍ति तिमीहरूमाथि आएपछि तिमीहरूले बल पाउनेछौ अनि यरुसलेमका साथै सारा यहुदिया, सामरिया अनि पृथ्वीको सबैभन्दा टाढा पर्ने इलाकामा तिमीहरूले मेरो साक्षी दिनेछौ।”—प्रेषित १:६-८.

येसु स्वर्ग उक्लनुभएको उहाँका वफादार प्रेषितहरू हेरिरहेका छन्‌

जीवित हुनुभएका येसु प्रेषितहरूसित जैतुन डाँडामा भएको बेला उहाँ स्वर्गतिर उक्लन थाल्नुहुन्छ। केही बेरमा बादलले उहाँलाई छोप्छ र तिनीहरू उहाँलाई देख्न सक्दैनन्‌। मृत्युबाट ब्युँताइएपछि येसुले मानव शरीर धारण गर्नुभएको थियो। तर अब भने उहाँ मानव शरीर त्याग्नुहुन्छ अनि अदृश्‍य रूप धारण गरेर स्वर्ग फर्कनुहुन्छ। (१ कोरिन्थी १५:४४, ५०; १ पत्रुस ३:१८) वफादार प्रेषितहरू आकाशतिर हेरिरहेकै बेला “सेता लुगा लगाएका दुई जना मानिस” तिनीहरूको छेवैमा आएर उभिन्छन्‌। यिनीहरू मानव रूप धारण गरेका स्वर्गदूतहरू हुन्‌, जसले यसो भन्छन्‌: “ए गालिलका मानिसहरू, तिमीहरू किन आकाशतिर हेर्दै उभिरहेका छौ? यही येसु, जसलाई तिमीहरूको बीचबाट उचालेर आकाशतिर लगियो, अहिले जसरी आकाशतिर जानुभएको तिमीहरूले देख्यौ, उहाँ त्यसरी नै आउनुहुनेछ।”—प्रेषित १:१०, ११.

येसु स्वर्गतिर उक्लनुभएको उहाँका वफादार प्रेषितहरूले मात्र देखे। उहाँ पछि राज्यशक्‍तिमा आउनुहुँदा पनि “त्यसरी नै” आउनुहुनेछ। यसको मतलब उहाँ राज्यशक्‍तिमा आउनुभएको कुरा उहाँका वफादार अनुयायीहरूले मात्र ठम्याउन सक्नेछन्‌।

प्रेषितहरू यरुसलेम फर्कन्छन्‌। त्यसपछिका दिनहरूमा तिनीहरू “येसुकी आमा मरियम र येसुका भाइहरू”-लगायत अरू चेलाहरूसित एक ठाउँमा भेला हुन्छन्‌। (प्रेषित १:१४) तिनीहरू एकचित्तको भएर प्रार्थना गरिरहन्छन्‌। तिनीहरू प्रेषितहरूको सङ्‌ख्या फेरि १२ पुऱ्‍याउन यहुदा इस्करियोतको ठाउँमा अर्को चेलालाई रोज्ने विषयमा पनि प्रार्थना गर्छन्‌। (मत्ति १९:२८) तिनीहरू यस्तो चेलालाई प्रेषितको रूपमा रोज्न चाहन्छन्‌, जसले येसुले गर्नुभएका कामहरू देखेको छ र उहाँ जीवित हुनुभएको पनि देखेको छ। त्यसैले यस विषयमा परमेश्‍वरको इच्छा बुझ्न तिनीहरू गोला हाल्छन्‌। गोला हाल्ने सन्दर्भमा बाइबलमा उल्लेख गरिएको यो नै अन्तिम विवरण हो। (भजन १०९:८; हितोपदेश १६:३३) गोला मत्तियासको नाममा पर्छ। सायद तिनी येसुले प्रचार गर्न पठाउनुभएको ७० जना चेलामध्ये एक हुन्‌। यसपछि ‘तिनको गन्ती पनि ११ प्रेषितसँगै हुन थाल्छ।’—प्रेषित १:२६.

येसु स्वर्ग फर्कनुभएको १० दिनपछि इस्वी संवत्‌ ३३ को पेन्तिकोसको चाड मनाइन्छ। लगभग १२० जना चेला यरुसलेममा एउटा माथिल्लो तलाको कोठामा भेला भएका छन्‌। अकस्मात्‌ ठूलो बतास चलेकोजस्तो आवाज आउँछ र तिनीहरू बसिरहेको घरभरि गुन्जिन्छ। अनि जिब्रोजस्तो देखिने आगोका ज्वालाहरू तिनीहरू हरेकमाथि एउटा-एउटा देखा पर्छ। त्यसपछि सबै चेलाहरू फरक-फरक भाषामा बोल्न थाल्छन्‌। यसरी येसुले आफ्नो प्रतिज्ञाअनुसारै तिनीहरूमाथि पवित्र शक्‍ति खन्याउनुहुन्छ।—युहन्‍ना १४:२६.

  • येसुले गालिलको एउटा डाँडामा निर्देशनहरू दिनुहुँदा त्यहाँ को-को छन्‌ र उहाँ के भन्‍नुहुन्छ?

  • मृत्युबाट ब्युँताइएपछि येसु कति दिनसम्म चेलाहरूसामु देखा पर्नुहुन्छ र उहाँ के-के गर्नुहुन्छ?

  • येसु कसरी जुन तरिकामा जानुभयो, त्यसरी नै आउनुहुनेछ?

  • इस्वी संवत्‌ ३३ पेन्तिकोसमा के हुन्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने