प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w18 मे pp. १७-२१
  • हामी किन ‘धेरै फल फलाइरहन्छौँ?’

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हामी किन ‘धेरै फल फलाइरहन्छौँ?’
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • हामी यहोवाको महिमा गर्छौँ
  • हामी यहोवा र उहाँको छोरालाई प्रेम गर्छौँ
  • हामी मानिसहरूलाई चेतावनी दिन्छौँ
  • हामी मानिसहरूलाई प्रेम गर्छौँ
  • धीरजी हुन मदत गर्ने वरदानहरू
  • ‘तिमीहरूले धेरै फल फलाइरहो’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • फल फलाएमा चेलाहरू येसुको मित्र हुन सक्छन्‌
    येसु—बाटो, सत्य र जीवन
  • ‘धीरजी भई फल फलाउनेहरूलाई’ यहोवा माया गर्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • आफ्नो प्रस्थानको निम्ति प्रेषितहरूलाई तयार पार्नुहुन्छ
    सबैभन्दा महान्‌ पुरुष
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
w18 मे pp. १७-२१
आफ्नो मृत्यु हुनुअघिको साँझ येशू आफ्ना चेलाहरूसित कुरा गर्नुहुन्छ

हामी किन ‘धेरै फल फलाइरहन्छौँ?’

“तिमीहरूले धेरै फल फलाइरह्‍यौ अनि मेरा चेलाहरू हौ भनी प्रमाणित गऱ्‍यौ भने मेरो बुबाको महिमा हुन्छ।”—यूह. १५:८.

गीत: ५३, ६०

हामीले के सिक्यौँ?

  • हामीले प्रचार गरिरहनुपर्ने कस्ता कारणहरू बाइबलमा पाउँछौँ?

  • हामीले प्रचार गर्नुको कारण स्पष्टसित बुझ्नु किन महत्त्वपूर्ण छ?

  • हामीलाई धीरजी भई प्रचार गरिरहन केले मदत गर्छ?

१, २. (क) आफ्नो मृत्यु हुनुअघि येशूले आफ्ना चेलाहरूसित कस्तो महत्त्वपूर्ण कुराकानी गर्नुभयो? (शीर्षकमाथिको चित्र हेर्नुहोस्‌) (ख) हामीले प्रचार गर्नुको कारण सम्झनु किन महत्त्वपूर्ण छ? (ग) हामी के छलफल गर्नेछौँ?

आफ्नो मृत्यु हुनुभन्दा अघिल्लो रात येशूले आफ्ना प्रेषितहरूसित लामो कुराकानी गर्नुभयो। त्यतिबेला उहाँले तिनीहरूलाई असाध्यै माया गर्छु भनेर बताउनुभयो। साथै उहाँले दाखको बोटको दृष्टान्त पनि बताउनुभयो, जसबारे हामीले अघिल्लो लेखमा छलफल गरिसक्यौँ। त्यो दृष्टान्त चलाएर येशूले आफ्ना चेलाहरूलाई ‘धेरै फल फलाइरहन,’ अर्थात्‌, धीरजी भई राज्य सन्देश सुनाइरहन प्रोत्साहन दिनुभयो।—यूह. १५:८.

२ येशूले आफ्ना चेलाहरूलाई के गर्नुपर्छ मात्र होइन तर किन त्यसो गर्नुपर्छ भनेर पनि बताउनुभयो। उहाँले तिनीहरूलाई प्रचार गरिरहनुपर्ने कारण प्रस्ट पार्नुभयो। हामीले पनि ती कारणहरू विचार गर्नु किन महत्त्वपूर्ण छ? प्रचार गरिरहनुपर्ने कारण बुझ्यौँ भने “सबै जातिलाई साक्षी दिन” धीरजी भई लागिरहन उत्प्रेरित हुनेछौँ। (मत्ती २४:१३, १४) त्यसोभए आउनुहोस्‌, हामीले प्रचार गरिरहनुपर्ने चार वटा कारण बाइबलबाट विचार गरौँ। साथै धीरजी भई फल फलाइरहने मदतको लागि यहोवाले दिनुभएका चार वटा वरदानबारे पनि छलफल गर्नेछौँ।

हामी यहोवाको महिमा गर्छौँ

३. (क) यूहन्‍ना १५:८ अनुसार हामीले प्रचार गर्नुको कारण के हो? (ख) येशूले बताउनुभएको दृष्टान्तमा दाखले कसलाई बुझाउँछ? यो तुलना किन उपयुक्‍त छ?

३ हामीले प्रचार गर्नुको प्रमुख कारण हो, हामी मानिसहरूसामु यहोवाको महिमा गर्न र उहाँको नाम पवित्र पार्न चाहन्छौँ। (यूहन्‍ना १५:१, ८ पढ्‌नुहोस्‌) यस दृष्टान्तमा येशूले यहोवालाई किसान अर्थात्‌ बगैँचेसित तुलना गर्नुभयो। येशूले आफूलाई दाखको बोटसित अनि आफ्ना चेलाहरूलाई हाँगासित तुलना गर्नुभयो। (यूह. १५:५) त्यसैले दाखले ख्रीष्टका चेलाहरूले फलाउने राज्यको फललाई चित्रण गर्नु उपयुक्‍त छ। येशूले आफ्ना प्रेषितहरूलाई यसो भन्‍नुभयो: “तिमीहरूले धेरै फल फलाइरह्‍यौ . . . भने मेरो बुबाको महिमा हुन्छ।” असल दाख फलाउने बोटले किसानको मान बढाउँछ। त्यसरी नै परमेश्‍वरको राज्य सन्देश सुनाउन सक्दो प्रयास गर्दा हामी यहोवाको आदर अर्थात्‌ महिमा गर्छौँ।—मत्ती २५:२०-२३.

४. (क) हामी कसरी परमेश्‍वरको नाम पवित्र पार्छौँ? (ख) परमेश्‍वरको नाम पवित्र पार्ने सुअवसर पाएको कुरा विचार गर्दा तपाईँलाई कस्तो लाग्छ?

४ हाम्रो प्रचारकार्यले कसरी परमेश्‍वरको नाम पवित्र पार्छ? परमेश्‍वरको नाम पहिल्यैदेखि अत्यन्तै पवित्र छ। त्यसैले हामी उहाँको नामलाई अझ पवित्र पार्न सक्दैनौँ। भविष्यवक्‍ता यशैयाले यसो भने: “सेनाहरूका परमप्रभुलाईनै तैंले पवित्र ठान्‍नू।” (यशै. ८:१३) हामीले यहोवाको नामलाई पवित्र पार्न सक्ने एउटा तरिका, उहाँको नामलाई सबैभन्दा उच्च ठानेर अनि त्यो नाम अरूलाई पनि पवित्र ठान्‍न मदत गरेर हो। (मत्ती ६:९) उदाहरणको लागि, जब हामी यहोवाका उत्कृष्ट गुणहरू अनि मानिसजातिको लागि उहाँको सुरुको उद्देश्‍यबारे अरूलाई साँचो कुरा बताउँछौँ, तब सैतानले परमेश्‍वरको नाममा लगाएको सबै आरोप र कलङ्‌क झूटो हो भनेर तिनीहरूले बुझ्छन्‌। (उत्प. ३:१-५) साथै हाम्रो इलाकाका मानिसहरूलाई यहोवा “महिमा, आदर अनि शक्‍ति ग्रहण गर्न योग्य हुनुहुन्छ” भनेर बुझ्न सकेजति मदत गर्दा हामीले उहाँको नामलाई पवित्र पारिरहेका हुन्छौँ। (प्रका. ४:११) सोह्र वर्ष अग्रगामी सेवा गरिसकेका रुनी यसो भन्छन्‌: “यस ब्रह्‍माण्डका सृष्टिकर्ताबारे साक्षी दिने मौका पाएको छु भन्‍ने कुरा थाह पाउँदा कृतज्ञ महसुस गर्छु। अनि प्रचारकार्यमा लागिरहने उत्प्रेरणा पाउँछु।”

हामी यहोवा र उहाँको छोरालाई प्रेम गर्छौँ

५. (क) यूहन्‍ना १५:९, १० अनुसार हामीले प्रचार गर्नुको दोस्रो कारण के हो? (ख) येशूले धीरजी हुनुपर्ने आवश्‍यकतालाई कसरी जोड दिनुभयो?

५ यूहन्‍ना १५:९, १० पढ्‌नुहोस्‌। हामीले राज्यको सन्देश प्रचार गर्नुको दोस्रो कारण हो, हामी यहोवा र उहाँको छोरालाई मनैदेखि प्रेम गर्छौँ। (मर्कू. १२:३०; यूह. १४:१५) येशूले आफ्ना चेलाहरूलाई उहाँको प्रेम पाउन लायकको होओ मात्र भन्‍नुभएन तर “भइरहो” भन्‍नुभयो। किन? किनभने वर्षौँसम्म ख्रीष्टको साँचो चेलाको रूपमा जीवन बिताउन धीरज चाहिन्छ। येशूले धीरजी हुनुपर्ने आवश्‍यकतालाई जोड दिन यूहन्‍ना १५:९, १० को छोटो विवरणमा “सधैं” भन्‍ने शब्दलाई दोहोऱ्‍याउनुभयो।

६. हामी ख्रीष्टको प्रेम पाउन लायकको भइरहन चाहन्छौँ भनेर कसरी देखाउँछौँ?

६ हामी ख्रीष्टको प्रेम र अनुमोदन पाउन लायकको भइरहन चाहन्छौँ भनेर कसरी देखाउँछौँ? उहाँका आज्ञाहरू पालन गरेर। सरल शब्दमा भन्‍ने हो भने येशू हामीलाई यसो भन्‍नुहुन्छ, ‘मेरो आज्ञा मान।’ येशूले खालि हामीलाई मात्र आज्ञा पालन गर्नू भन्‍नुभएन तर उहाँ आफैले पनि पालन गर्नुभयो। किनकि उहाँले यसो पनि भन्‍नुभयो: “मैले पनि बुबाका आज्ञाहरू पालन गरेर सधैं उहाँको प्रेम पाउन लायकको भइरहेको छु।” हो, येशूले हाम्रो लागि नमुना बसाल्नुभएको छ।—यूह. १३:१५.

७. आज्ञाकारिता र प्रेमबीच कस्तो सम्बन्ध छ?

७ आज्ञाकारिता र प्रेमबीचको सम्बन्धलाई बुझाउन येशूले आफ्ना प्रेषितहरूलाई यसो भन्‍नुभएको थियो: “जसले मेरा आज्ञाहरू ग्रहण गर्छ र ती पालन गर्छ, मलाई प्रेम गर्ने ऊ नै हो।” (यूह. १४:२१) साथै, जाओ र प्रचार गर भन्‍ने येशूको आज्ञा पालन गर्दा हामी परमेश्‍वरलाई प्रेम गर्छौँ भनेर पनि देखाइरहेका हुन्छौँ। किनकि येशूको आज्ञामा उहाँको बुबाको सोचाइ झल्कन्छ। (मत्ती १७:५; यूह. ८:२८) हामीले यहोवा र येशूलाई प्रेम गरेको देखाउँदा उहाँहरूले पनि हामीलाई उहाँहरूको प्रेम पाउन लायकको ठान्‍नुहुनेछ।

हामी मानिसहरूलाई चेतावनी दिन्छौँ

८, ९. (क) हामीले प्रचार गर्नुको तेस्रो कारण के हो? (ख) इजकिएल ३:१८, १९ र १८:२३ मा पाइने यहोवाका शब्दहरूले हामीलाई किन प्रचार गरिरहन उत्प्रेरित गर्छ?

८ हामीले प्रचार गर्नुको तेस्रो कारण हो, हामी मानिसहरूलाई चेतावनी दिन्छौँ। बाइबलमा नूहलाई “प्रचार गर्ने” मानिस भनेर बताइएको छ। (२ पत्रुस २:५ पढ्‌नुहोस्‌) जलप्रलय आउनुअघि प्रचार गर्दा तिनले मानिसहरूलाई आउँदै गरेको विनाशबारे चेतावनी पनि दिएको हुनुपर्छ। हामी किन त्यस्तो निष्कर्षमा पुग्न सक्छौँ? येशूले के भन्‍नुभयो, ध्यान दिनुहोस्‌: “किनकि ती दिनहरूमा नूह जलप्रलयअघि जहाजभित्र नपसेको दिनसम्म तिनीहरू खाँदै अनि पिउँदै थिए, विवाह गर्दै अनि गराउँदै थिए। अनि जलप्रलय आएर तिनीहरू सबैलाई स्वात्तै नलगेसम्म तिनीहरूले यादै गरेनन्‌, मानिसको छोराको उपस्थिति पनि त्यस्तै हुनेछ।” (मत्ती २४:३८, ३९) मानिसहरूले वास्ता नगरे तापनि नूहले वफादार भई परमेश्‍वरको चेतावनी सुनाइरहे।

९ मानिसजातिको लागि परमेश्‍वरको उद्देश्‍य के हो भनेर बुझ्ने मौका दिन अहिले हामी मानिसहरूलाई राज्यको सन्देश प्रचार गर्छौँ। यहोवा मानिसहरूले उहाँको सन्देश स्विकारेको अनि “बाँचेको” चाहनुहुन्छ र हामी पनि त्यस्तै चाहन्छौँ। (इज. १८:२३) साथै घर-घरमा अनि सार्वजनिक ठाउँहरूमा प्रचार गर्दा हामी सकेसम्म धेरै मानिसलाई परमेश्‍वरको राज्य आउनेछ र यस दुष्ट संसारलाई नाश गर्नेछ भनेर चेतावनी दिन्छौँ।—इज. ३:१८, १९; दानि. २:४४; प्रका. १४:६, ७.

हामी मानिसहरूलाई प्रेम गर्छौँ

१०. (क) मत्ती २२:३९ अनुसार हामीले प्रचार गर्नुको चौथो कारण के हो? (ख) फिलिप्पीमा पावल र सिलासले जेलरलाई कसरी मदत गरे, बताउनुहोस्‌।

१० हामीले प्रचार गर्नुको चौथो कारण हो, हामी मानिसहरूलाई प्रेम गर्छौँ। (मत्ती २२:३९) त्यस्तो प्रेमले उत्प्रेरित भएकोले हामी प्रचार गरिरहन्छौँ किनभने परिस्थिति परिवर्तन हुँदा मानिसहरूको मन बदलिन सक्छ भनेर हामीलाई थाह छ। यस सन्दर्भमा प्रेषित पावल र सिलासको अनुभव विचार गर्नुहोस्‌। फिलिप्पी सहरमा विरोधीहरूले तिनीहरूलाई झ्यालखानामा हालिदिए। मध्यरातमा अचानक भूकम्प गयो, झ्यालखाना हल्लियो र ढोकाहरू खुले। कैदीहरू भागे होलान्‌ भनेर जेलर डराए अनि आत्महत्या गर्न सुर कसे। तर पावलले ठूलो सोरले यसो भने: “आफूलाई कुनै चोट नपुऱ्‍याउनुहोस्‌।” विचलित हुँदै जेलरले सोधे: “उद्धार पाउन मैले के गर्नुपर्छ?” तिनीहरूले भने: “प्रभु येशूमा विश्‍वास गर्नुहोस्‌ अनि . . . तपाईंको . . . उद्धार हुनेछ।”—प्रेषि. १६:२५-३४.

एउटी स्त्रीलाई प्रचार गर्दै

यहोवा, येशू र मानिसहरूप्रतिको प्रेमले हामीलाई प्रचार गरिरहने उत्प्रेरणा दिन्छ (अनुच्छेद ५, १० हेर्नुहोस्‌)

११, १२. (क) जेलरको विवरणले हामीलाई प्रचारकार्यबारे के सिकाउँछ? (ख) हामी किन प्रचार गरिरहन्छौँ?

११ जेलरको विवरणले हामीलाई प्रचारकार्यबारे के सिकाउँछ? यो कुरा याद गर्नुहोस्‌: भूकम्प गएपछि मात्र जेलरको मन बदलियो र तिनले मदत मागे। त्यसरी नै, अहिले बाइबलको सन्देश नस्विकार्ने मानिसहरूको जीवनमा पनि कुनै ठूलो घटना घटेपछि मात्र तिनीहरूको मन बदलिन सक्छ र तिनीहरूले मदत माग्न सक्छन्‌। जस्तै, वर्षौँदेखि खाँदै आएको जागिर अचानक गुमाएकोले कोही-कोही अलमल्लमा परेका हुन सक्छन्‌। अरू कोहीलाई भने वैवाहिक सम्बन्ध टुक्रिएकोले ठूलो आघात पुगेको हुन सक्छ। अरू कतिपय भने आफूलाई गम्भीर रोग लागेको कुरा पत्ता लागेकोले असाध्यै निराश हुन सक्छन्‌। अथवा आफूले माया गरेको व्यक्‍तिको मृत्युले गर्दा मनमा गहिरो चोट पुगेको हुन सक्छ। यस्ता घटनाहरूले गर्दा विचलित भएर कसै-कसैले जीवनको अर्थबारे प्रश्‍नहरू सोध्न सक्छन्‌। सायद त्यस्ता प्रश्‍नहरूबारे पहिला तिनीहरूलाई त्यति मतलब थिएन होला। तर अब भने ती जेलरको जस्तै तिनीहरूको मनमा पनि यस्तो प्रश्‍न आउन सक्छ, ‘उद्धार पाउन मैले के गर्नुपर्छ?’ त्यस्ता मानिसहरू हामीले आशाको सन्देश सुनाउँदा जिन्दगीमा पहिलो चोटि हाम्रो कुरा सुन्‍न राजी हुन सक्छन्‌।

१२ त्यसैले वफादार भई प्रचारकार्यमा लागिरह्‍यौँ भने मानिसहरूलाई चाहिएकै बेलामा सान्त्वना दिन सक्नेछौँ। (यशै. ६१:१) अठतीस वर्ष पूर्ण समय सेवा गरिसकेकी शार्लोट यसो भन्छिन्‌: “मानिसहरू अन्योलमा छन्‌। तिनीहरूले सुसमाचार सुन्‍ने मौका पाउनुपर्छ।” चौंतीस वर्ष अग्रगामी सेवा गरिसकेकी इभोन यसो भन्छिन्‌: “पहिलेभन्दा धेरै मानिसहरू अहिले भावनात्मक तवरमा खोक्रो महसुस गरिरहेका छन्‌। म तिनीहरूलाई साँच्चै मदत गर्न चाहन्छु। त्यसैकारण म प्रचार गरिरहन्छु।” मानिसहरूप्रतिको प्रेमले उत्प्रेरित भई प्रचार गरिरहनु साँच्चै उत्तम कुरा हो!

धीरजी हुन मदत गर्ने वरदानहरू

१३, १४. (क) यूहन्‍ना १५:११ मा कस्तो वरदानबारे बताइएको छ? (ख) हामी कसरी येशूको आनन्द पाउन सक्छौँ? (ग) आनन्दले हाम्रो प्रचारकार्यमा कस्तो प्रभाव पार्छ?

१३ आफ्नो मृत्यु हुनुअघिको रात येशूले आफ्ना प्रेषितहरूलाई धीरजी भई फल फलाइरहन मदत गर्ने केही वरदानबारे पनि बताउनुभयो। ती वरदानहरू के हुन्‌? त्यसबाट हामी कस्तो लाभ उठाउँछौँ?

१४ आनन्द। प्रचार गर्नू भन्‍ने येशूको आज्ञा पालन गर्नु के हाम्रो लागि बोझिलो छ? पटक्कै छैन। दाखको बोटबारे दृष्टान्त बताउनुभएपछि येशूले हामी राज्य प्रचारकहरूले आनन्द पाउनेछौँ भन्‍नुभयो। (यूहन्‍ना १५:११ पढ्‌नुहोस्‌) येशूको आनन्द हामीले पनि पाउनेछौँ भनेर उहाँले आश्‍वासन दिनुभयो। कसरी? अघिल्ला अनुच्छेदहरूमा उल्लेख गरिएझैँ येशूले आफूलाई दाखको बोटसित अनि चेलाहरूलाई हाँगासित तुलना गर्नुभयो। हाँगाहरूलाई बोटले थामेको हुन्छ। त्यसैले हाँगाहरू बोटमै रहुन्जेल तिनीहरूले बोटबाट पानी र पोषण पाइरहन्छन्‌। त्यसरी नै, ख्रीष्टको पदचिन्ह राम्ररी पछ्याएर उहाँसित एकतामा रहिरह्‍यौँ भने बुबाको इच्छा पूरा गर्दा येशूले जस्तो आनन्द महसुस गर्नुहुन्छ, हामीले पनि त्यस्तै आनन्द महसुस गर्नेछौँ। (यूह. ४:३४; १७:१३; १ पत्रु. २:२१) चालिस वर्षभन्दा लामो समय अग्रगामी सेवा गरिसकेकी हाना यसो भन्छिन्‌, “प्रचार गरेपछि म सधैँ आनन्दित महसुस गर्छु। त्यसले गर्दा म यहोवाको सेवामा लागिरहने उत्प्रेरणा पाउँछु।” हो, मनैदेखिको आनन्दले गर्दा हामी राज्यको सन्देश नसुन्‍ने इलाकाहरूमा पनि प्रचार गरिरहने बल पाउँछौँ।—मत्ती ५:१०-१२.

१५. (क) यूहन्‍ना १४:२७ मा कस्तो वरदानबारे बताइएको छ? (ख) शान्तिले हामीलाई फल फलाइरहन कसरी मदत गर्छ?

१५ शान्ति। (यूहन्‍ना १४:२७ पढ्‌नुहोस्‌) त्यही रात येशूले आफ्ना प्रेषितहरूलाई यसो भन्‍नुभयो: “म तिमीहरूलाई मेरो शान्ति दिन्छु।” यो वरदान अर्थात्‌ उहाँको शान्तिले हामीलाई फल फलाइरहन कसरी मदत गर्छ? धीरजी भई प्रचार गरिरहँदा यहोवा र येशूको अनुमोदन पाएको कुरामा ढुक्क हुन सक्छौँ। अनि त्यसले हामीलाई गहिरो र चिरकालीन शान्ति दिन्छ। (भज. १४९:४; रोमी ५:३, ४; कल. ३:१५) पैंतालिस वर्ष पूर्ण समय सेवा गरिसकेका उल्फ यसो भन्छन्‌, “प्रचार गरेपछि मलाई थकाइ लाग्छ। तर साँचो सन्तुष्टि पाउनुका साथै आफ्नो जीवन अर्थपूर्ण भएको महसुस गर्छु।” यस्तो चिरकालीन मनोशान्ति पाएकोमा हामी साँच्चै कृतज्ञ छौँ!

१६. (क) यूहन्‍ना १५:१५ मा कस्तो वरदानबारे बताइएको छ? (ख) येशूका प्रेषितहरू कसरी उहाँको मित्र बनिरहन सक्थे?

१६ येशूसितको मित्रता। आफ्ना प्रेषितहरूको आनन्द “झन्‌ बढ्‌दै जाओस्‌” भन्‍ने इच्छा व्यक्‍त गर्नुभएपछि येशूले तिनीहरूलाई आत्मत्यागी प्रेम देखाउनुको महत्त्वबारे बताउनुभयो। (यूह. १५:११-१३) त्यसपछि उहाँले भन्‍नुभयो: “मैले तिमीहरूलाई मित्र भनेको छु।” कस्तो अनमोल वरदान—येशूसित मित्रता! येशूको मित्र बनिरहन प्रेषितहरूले के गर्नुपर्थ्यो? तिनीहरूले ‘फल फलाइरहनुपर्थ्यो।’ (यूहन्‍ना १५:१४-१६ पढ्‌नुहोस्‌) यो भन्‍नुभन्दा लगभग दुई वर्षअघि येशूले आफ्ना प्रेषितहरूलाई यस्तो निर्देशन दिनुभएको थियो: “जाओ र यसो भन्दै प्रचार गर: ‘स्वर्गको राज्य नजिकै आएको छ।’” (मत्ती १०:७) त्यसैले आफ्नो मृत्युभन्दा अघिल्लो रात उहाँले प्रेषितहरूलाई धीरजी भई प्रचार गरिरहन प्रोत्साहन दिनुभयो। (मत्ती २४:१३; मर्कू. ३:१४) येशूको आज्ञा पालन गर्नु सजिलो थिएन तर तिनीहरू उहाँको आज्ञा पालन गरेर उहाँको मित्र बनिरहन सक्थे। कसरी? अर्को वरदानको मदत पाएर।

१७, १८. (क) यूहन्‍ना १५:१६ मा कस्तो वरदानबारे बताइएको छ? (ख) त्यस वरदानले येशूका चेलाहरूलाई कसरी मदत गऱ्‍यो? (ग) अहिले हामी कस्ता वरदानहरूबाट बल पाउँछौँ?

१७ प्रार्थनाको जवाफ। येशूले यसो भन्‍नुभयो: “तिमीहरूले मेरो नाममा बुबासित जेसुकै मागे पनि उहाँले तिमीहरूलाई [दिनुहुनेछ]।” (यूह. १५:१६) येशूको यो प्रतिज्ञा सुन्दा प्रेषितहरूले कत्ति बल पाए होलान्‌!a चाँडै येशूको मृत्यु हुनेछ भन्‍ने कुरा चेलाहरूले स्पष्टसित बुझेका थिएनन्‌। तैपनि तिनीहरू बेसहाराचाहिँ हुने थिएनन्‌। राज्यको सन्देश प्रचार गर्ने आज्ञा पूरा गर्न तिनीहरूले मदत माग्दा यहोवाले तिनीहरूको प्रार्थनाको जवाफ दिनुहुने थियो। येशूको मृत्यु भएको थोरै समयपछि नै प्रेषितहरूले मदतको लागि पुकार्दा यहोवाले तिनीहरूको प्रार्थनाको जवाफ दिनुभयो।—प्रेषि. ४:२९, ३१.

एउटी बहिनी मदतको लागि प्रार्थना गर्छिन्‌

मदतको लागि यहोवालाई पुकार्दा उहाँले हाम्रो प्रार्थनाको जवाफ दिनुहुनेछ भनेर ढुक्क हुन सक्छौँ (अनुच्छेद १८ हेर्नुहोस्‌)

१८ आज पनि कुरा त्यही हो। धीरजी भई फल फलाइरहँदा हामी येशूको मित्र बनिरहन्छौँ। त्यति मात्र होइन, राज्यको सुसमाचार प्रचार गर्दा आइपर्ने अवरोधहरू पार गर्न हामीले यहोवालाई प्रार्थना गर्दा उहाँ जवाफ दिन तयार हुनुहुन्छ भनेर हामी ढुक्क हुन सक्छौँ। (फिलि. ४:१३) प्रार्थनाहरूको जवाफ पाएकोमा अनि येशूको मित्र बन्‍न पाएकोमा हामी कत्ति कृतज्ञ छौँ! यहोवाले दिनुभएका यी वरदानहरूले हामीलाई फल फलाइरहन बल दिन्छ।—याकू. १:१७.

१९. (क) हामी किन प्रचार गरिरहन्छौँ? (ख) परमेश्‍वरले दिनुभएको काम पूरा गर्न हामीलाई केले मदत गर्छ?

१९ यस लेखको छलफलबाट हामीले प्रचार गरिरहनुको यी चार वटा कारण बुझ्यौँ: यहोवाको महिमा गर्न र उहाँको नाम पवित्र पार्न, यहोवा र येशूप्रति हाम्रो प्रेम देखाउन, चेतावनी दिन अनि मानिसहरूप्रतिको प्रेम देखाउन। साथै परमेश्‍वरले दिनुभएको काम पूरा गर्न हामीलाई यी वरदानहरूले थप बल दिन्छ: आनन्द, शान्ति, येशूसितको मित्रता र प्रार्थनाको जवाफ। हामीले ‘धेरै फल फलाइरहन’ पूरा तनमनले प्रयास गरेको देख्दा यहोवा साँच्चै खुसी हुनुहुनेछ!

a प्रेषितहरूले प्रार्थनाको जवाफ पाउनेछन्‌ भनेर येशूले तिनीहरूसित कुराकानी गर्नुहुँदा पटक-पटक भन्‍नुभयो।—यूह. १४:१३; १५:७, १६; १६:२३.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने