प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • jy chap. १२० p. २७६-p. २७७ par. ३
  • फल फलाएमा चेलाहरू येसुको मित्र हुन सक्छन्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • फल फलाएमा चेलाहरू येसुको मित्र हुन सक्छन्‌
  • येसु—बाटो, सत्य र जीवन
  • मिल्दोजुल्दो सामग्री
  • आफ्नो प्रस्थानको निम्ति प्रेषितहरूलाई तयार पार्नुहुन्छ
    सबैभन्दा महान्‌ पुरुष
  • ‘तिमीहरूले धेरै फल फलाइरहो’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • के तपाईं परमेश्‍वरले प्रेम गर्नेहरूमध्ये हुनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • हामी किन ‘धेरै फल फलाइरहन्छौँ?’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
थप हेर्नुहोस्
येसु—बाटो, सत्य र जीवन
jy chap. १२० p. २७६-p. २७७ par. ३
माथिल्लो तलाको कोठाबाट निस्कँदै गर्दा येसु आफ्ना प्रेषितहरूसित कुरा गर्नुहुन्छ

अध्याय १२०

फल फलाएमा चेलाहरू येसुको मित्र हुन सक्छन्‌

युहन्‍ना १५:१-२७

  • साँचो अङ्‌गुरको बोट र हाँगाहरू

  • येसुको प्रेम पाउन कसरी लायक भइरहन सक्छौँ?

येसु आफ्ना वफादार प्रेषितहरूसित खुलस्त कुराकानी गरेर तिनीहरूलाई प्रोत्साहन दिँदै हुनुहुन्छ। अहिले मध्यरात भइसकेको छ। अब येसु एउटा प्रेरणादायी उदाहरण बताउनुहुन्छ:

उहाँ भन्‍नुहुन्छ: “म साँचो अङ्‌गुरको बोट हुँ र मेरो बुबा किसान हुनुहुन्छ।” (युहन्‍ना १५:१) उहाँको यो उदाहरण शताब्दीयौँअघि इस्राएल राष्ट्रबारे भनिएको कुरासित मिल्दोजुल्दो छ, इस्राएल राष्ट्रलाई यहोवाको अङ्‌गुरको बोट भनिन्थ्यो। (यर्मिया २:२१; होसे १०:१, २) तर यहोवा त्यो राष्ट्रलाई त्याग्दै हुनुहुन्छ। (मत्ति २३:३७, ३८) त्यसैले येसुले एउटा नयाँ कुरा भन्‍न लाग्नुभएको छ। इस्वी संवत्‌ २९ मा येसुलाई पवित्र शक्‍तिद्वारा अभिषेक गरेपछि बुबाले किसानको रूपमा मलजल गरिरहनुभएको अङ्‌गुरको बोट उहाँ नै हुनुहुन्छ। तर अङ्‌गुरको बोटले उहाँलाई मात्र चित्रण गर्दैन भनेर येसु यसरी बताउनुहुन्छ:

“मेरो हरेक हाँगा जसले फल फलाउँदैन, त्यसलाई [मेरो बुबा] काट्‌नुहुन्छ अनि हरेक जसले फल फलाउँछ, त्यसले अझ धेरै फल फलाओस्‌ भनेर त्यसलाई उहाँ छाँट्‌नुहुन्छ। . .  जसरी अङ्‌गुरको बोटबाट अलग भएर हाँगा आफैले फल फलाउन सक्दैन, त्यसरी नै मसित एकतामा रहेनौ भने तिमीहरूले पनि फल फलाउन सक्दैनौ। म अङ्‌गुरको बोट हुँ अनि तिमीहरू हाँगाहरू हौ।”—युहन्‍ना १५:२-५.

येसुले आफ्ना वफादार चेलाहरूलाई आफू गएपछि एउटा मदतगार अर्थात्‌ पवित्र शक्‍ति पठाउने प्रतिज्ञा गर्नुभएको छ। यसको ५१ दिनपछि जब प्रेषितहरू र अरूहरूले पवित्र शक्‍ति पाउँछन्‌, तब तिनीहरू अङ्‌गुरको बोटको हाँगा हुन्छन्‌। अनि सबै “हाँगा” येसुसित एकतामा रहनुपर्छ। केको लागि?

उहाँ भन्‍नुहुन्छ: “जो मसित एकतामा रहन्छ अनि म जोसित एकतामा रहन्छु, उसले धेरै फल फलाउँछ किनभने मबाट अलग भएर तिमीहरू केही पनि गर्न सक्दैनौ।” यी ‘हाँगाहरू’ अर्थात्‌ उहाँका वफादार अनुयायीहरूले येसुको गुणहरूको अनुकरण गर्दै जोसका साथ अरूलाई परमेश्‍वरको राज्यबारे बताएर र अझ धेरै चेला बनाएर धेरै फल फलाउनेछन्‌। कोही येसुसित एकतामा रहेन र फल फलाएन भने के हुन्छ? येसु भन्‍नुहुन्छ: “यदि कोही मसित एकतामा रहँदैन भने त्यसलाई एउटा हाँगालाई जस्तै फ्याँकिनेछ।” अर्कोतर्फ येसु यसो पनि भन्‍नुहुन्छ: “तिमीहरू मसित एकतामा छौ र मेरा वचनहरू तिमीहरूको मनमा छ भने तिमीहरूलाई जे इच्छा लाग्छ, माग अनि त्यो तिमीहरूले पाउनेछौ।”—युहन्‍ना १५:५-७.

अब येसु पहिला पनि दुई चोटि उल्लेख गरिसक्नुभएको विषयमा फर्कनुहुन्छ। त्यो हो, उहाँका आज्ञाहरू पालन गर्ने। (युहन्‍ना १४:१५, २१) चेलाहरूले त्यसो गरिरहेको कुरा प्रमाणित गर्न सक्ने मुख्य तरिकाबारे उहाँ यसो भन्‍नुहुन्छ: “यदि तिमीहरूले मेरा आज्ञाहरू पालन गऱ्‍यौ भने तिमीहरू सधैँ मेरो प्रेम पाउन लायकका भइरहनेछौ, जसरी मैले पनि बुबाका आज्ञाहरू पालन गरेर सधैँ उहाँको प्रेम पाउन लायकको भइरहेको छु।” तर यसमा यहोवा र उहाँको छोरालाई प्रेम गर्नु मात्र समावेश छैन। येसु भन्‍नुहुन्छ: “म तिमीहरूलाई यो आज्ञा दिन्छु, जसरी मैले तिमीहरूलाई प्रेम गरेको छु, तिमीहरू पनि आपसमा प्रेम गर। आफ्ना मित्रहरूको लागि आफ्नो ज्यान अर्पण गर्नुभन्दा ठूलो प्रेम अरू हुँदैन। मैले तिमीहरूलाई दिएको आज्ञा पालन गर्छौ भने तिमीहरू मेरा मित्रहरू हौ।”—युहन्‍ना १५:१०-१४.

अबको केही घण्टामा येसुले उहाँमाथि विश्‍वास गर्ने सबैको लागि जीवन अर्पण गरेर आफ्नो प्रेमको प्रमाण दिनुहुनेछ। उहाँको उदाहरण अनुकरण गर्दै उहाँका अनुयायीहरू पनि आपसमा त्यस्तै आत्मत्यागी प्रेम देखाउन उत्प्रेरित हुनुपर्छ। यस्तो प्रेम नै तिनीहरूको चिनारी हुनेछ भनेर येसुले पहिला पनि यसरी बताउनुभएको थियो: “तिमीहरूले आपसमा प्रेम गऱ्‍यौ भने तिमीहरू मेरा चेलाहरू हौ भनी सबैले यसैबाट थाह पाउनेछन्‌।”—युहन्‍ना १३:३५.

येसुले तिनीहरूलाई “मित्रहरू” भन्‍नुभएको कुरा प्रेषितहरूले मनमा राख्नुपर्ने हो। तिनीहरूलाई मित्र भन्‍नुको कारण उहाँ यसरी बताउनुहुन्छ: “मैले तिमीहरूलाई मित्र भनेको छु किनभने आफ्नो बुबाबाट मैले जे-जे सुनेको छु, ती सबै तिमीहरूलाई प्रकट गरेको छु।” तिनीहरूले साँच्चै कत्ति अनमोल सम्बन्धको आनन्द उठाउन सक्छन्‌! हो, तिनीहरू येसुको घनिष्ठ मित्र हुन सक्छन्‌ र बुबाले उहाँलाई भन्‍नुभएको सबै कुरा तिनीहरूले सुन्‍न सक्छन्‌। तर यसको लागि तिनीहरूले ‘फल फलाइरहनुपर्छ।’ त्यसो गरेमा तिनीहरूले पाउने आशिष्‌बारे येसु भन्‍नुहुन्छ: “तिमीहरूले मेरो नाममा बुबासित जेसुकै मागे पनि उहाँले तिमीहरूलाई [दिनुहुनेछ]।”—युहन्‍ना १५:१५, १६.

यी “हाँगाहरू”-बीच अर्थात्‌ चेलाहरूबीच भएको प्रेमले तिनीहरूलाई अब भोग्नुपर्ने चुनौतीहरू सहन मदत गर्नेछ। संसारले तिनीहरूलाई घृणा गर्नेछ भनेर येसु चेतावनी दिनुहुन्छ। तर उहाँ यस्तो सान्त्वना पनि दिनुहुन्छ: “यदि संसारले तिमीहरूलाई घृणा गर्छ भने तिमीहरूले यो जानिराख, तिमीहरूलाई घृणा गर्नुअघि संसारले मलाई घृणा गरेको छ। तिमीहरू यस संसारका हुँदा हौ त संसारले आफ्नो ठानेर तिमीहरूलाई माया गर्नेथियो। तर तिमीहरू यस संसारका होइनौ; . . . त्यसैले संसारले तिमीहरूलाई घृणा गर्छ।”—युहन्‍ना १५:१८, १९.

संसारले तिनीहरूलाई घृणा गर्नुको थप कारण बताउँदै येसु यसो भन्‍नुहुन्छ: “तिमीहरू मेरा चेलाहरू भएकाले तिमीहरूविरुद्ध तिनीहरूले यी कुराहरू गर्नेछन्‌ किनभने मलाई पठाउनुहुनेलाई तिनीहरू चिन्दैनन्‌।” उहाँले गर्नुभएका अचम्मका कामहरूले उहाँलाई घृणा गर्नेहरूलाई दोषी ठहऱ्‍याउँछ भन्‍नेबारे उहाँ यसो भन्‍नुहुन्छ: “अरू कसैले नगरेको काम मैले तिनीहरूमाझ गरेँ। यदि मैले ती काम नगरेको भए तिनीहरूमा कुनै पाप हुने थिएन; तर अब तिनीहरूले मेरो काम देख्नुका साथै म र मेरो बुबा दुवैलाई घृणा गरेका छन्‌।” वास्तवमा तिनीहरूको यस्तो घृणाले बाइबलको भविष्यवाणी पूरा गर्छ।—युहन्‍ना १५:२१, २४, २५; भजन ३५:१९; ६९:४.

येसु फेरि मदतगार अर्थात्‌ पवित्र शक्‍ति पठाउने प्रतिज्ञा गर्नुहुन्छ। यो शक्‍ति उहाँका सबै अनुयायीले पाउन सक्छन्‌ र यसले तिनीहरूलाई फल फलाउन अर्थात्‌ ‘साक्षी दिन’ मदत गर्नेछ।—युहन्‍ना १५:२७.

  • येसुको उदाहरणको किसान, अङ्‌गुरको बोट र हाँगाहरूले क-कसलाई बुझाउँछ?

  • परमेश्‍वर हाँगाहरूबाट कस्तो फलको आशा गर्नुहुन्छ?

  • येसुका चेलाहरू कसरी उहाँको मित्र हुन सक्छन्‌ र संसारको घृणा सहन तिनीहरूलाई केले मदत गर्नेछ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने