‘हामी आफ्नैनिम्ति बाँचेनौं’
ज्याक योहान्सनको वृत्तान्तमा आधारित
ल्याण्ड रोभरको हेडलाइटले नदी किनारनेर उज्यालो पारेको ठाउँमा अफ्रिकाका एक मलावी सैनिकले मलाई उभ्यायो। आफ्नो बन्दुक काँधमा तेर्साएर मलाई गोली ठोक्नै लाग्दा लइड लिख्वाइड हाम्फाल्दै नदी किनारामा पुग्यो र मलाई छेक्दै बिन्ती गर्न थाल्यो: “मलाई गोली हान! मलाई हान! यो विदेशीलाई नहान! यिनले त केही पनि गरेका छैनन्!” एक अफ्रिकी म युरोपेलीको निम्ति आफ्नो ज्यानको बाजी लगाउन किन तयार भए? बितेको ४० वर्षदेखि म अफ्रिकामा कसरी मिसनरी हुनपुगें, सुन्नुहोस्।
मेरी आमा, १९४२ मा म नौ वर्षको मात्र छँदा हामी पाँच छोराछोरी र बुबालाई छोडेर बित्नुभयो। म सबैभन्दा कान्छो थिएँ। चार महिनापछि बुबाको पनि डुबेर मृत्युभयो। उहाँ फिनल्याण्डका सुरु सुरुका साक्षीहरूमा पर्नुहुन्थ्यो। मेरी जेठी दिदी मायाले हामी सबैको हेरविचार गर्नुभयो र हामीले खेतबारी पनि जसोतसो हेऱ्यौं। मायाले आध्यात्मिकतामा पनि डोऱ्याइ लिनुभयो र बुबा बित्नुभएको वर्षदिनमै उहाँ र एक जना दाइले यहोवा परमेश्वरप्रतिको आफ्नो समर्पणलाई पानीको बप्तिस्माद्वारा प्रतिकात्मक रूप दिनुभयो। यसको वर्षदिनपछि ११ वर्षको उमेरमा मैले पनि बप्तिस्मा लिएँ।
निर्णायक क्षण
सन् १९५१ मा पूर्वव्यवसायिक शिक्षा हासिल गरिसकेपछि मैले फिनल्याण्डको फोर्ड मोटर कम्पनीमा काम गर्न थालें। त्यसको छ महिनापछि यहोवाका साक्षीहरूको एक जना बुद्धिमान् परिभ्रमण सेवकले मलाई छक्कै पार्नुभयो। उहाँले मलाई अग्रगामी वा पूर्ण-समय सेवकको आशिष्हरूबारे सम्मेलनमा भाषण दिन निम्त्याउनुभयो। म पूर्ण-समय जागिर खाइरहेको थिएँ र यस विषयमा आफू पक्का भएर बोल्न सक्दिनँ जस्तो लागेकोले मलाई अप्ठ्यारो लाग्यो। यसबारे मैले यहोवालाई प्रार्थना गरें। मसीहीहरूले “आफू बाँच्ने होइन, तर उहाँको निम्ति बाँच्नुपर्छ जो तिनीहरूका खातिर मर्नुभयो” भनेर बुझें अनि अग्रगामीको रूपमा सेवा गर्न मैले आफ्ना प्राथमिकताहरू परिवर्तन गर्ने निर्णय गरें।—२ कोरिन्थी ५:१५.
कम्पनीमा काम नछोड्ने हो भने मेरो सुपरभाइजरले तलब दुई गुना बढाइदिने बाचा गरे। तर मैले काम छोड्ने पक्का विचार गरिसकेको देखेर उहाँले मलाई भन्नुभयो “तपाईंले सही निर्णय गर्नुभयो। मैले आफ्नो सारा जीवन यो अफिसमा बिताएँ तर खै कतिलाई पो साँच्चै मदत गरें हुँला र?” अतः मे १९५२ देखि म अग्रगामी भएँ। केही हप्तापछि मैले अग्रगामी सेवाबारे एकदम निर्धक्क भई भाषण दिनसकें।
केही महिना अग्रगामीको सेवा गरिसकेपछि मसीही तटस्थताको कारण म छ महिना थुनामा परें। त्यसपछिको आठ महिनासम्म फिनल्याण्डको खाडीको हास्टो बुसो टापुमा अन्य केही जवान साक्षीहरूसित कैदमा परें। हामीले त्यहाँ गरिने गहिरो बाइबल अध्ययन कार्यक्रमको कारण हामी यो टापुलाई सानो गिलियड भन्थ्यौं। तथापि, मेरो लक्ष्य चाहिं न्यु योर्क, साउथ लानसिङ नजिकैको वाचटावर गिलीयड स्कूल अर्थात् साँच्चैको गिलियडमा जानु थियो।
उक्त टापुमा बन्दी छँदा मैले वाच टावर सोसाइटीको शाखा कार्यालयबाट एउटा चिठी पाएँ। उक्त चिठीमा मलाई यहोवाका साक्षीहरूको परिभ्रमण सेवकको रूपमा सेवा गर्न निम्त्याइएको थियो। जेलबाट छुटेपछि मैले फिन्ल्याण्डको स्वीडिस भाषी मण्डलीहरूको भ्रमण गर्नुपर्थ्यो। त्यतिखेर म २० वर्षको मात्र थिएँ र आफू अयोग्य छु जस्तो लाग्यो तर मैले यहोवामाथि भरोसा राखें। (फिलिप्पी ४:१३) मैले सेवा गरेका मण्डलीका साक्षीहरू प्रशंसनीय थिए अनि मलाई “बच्चै” सम्झेर हेपेनन्।।—यर्मिया १:७.
अर्को वर्ष मण्डलीको भ्रमण गर्न जाँदा मैले संयुक्त राज्यबाट फिनल्याण्डमा बिदा मनाउन आएकी लिन्डालाई भेटें। संयुक्त राज्य फर्केपछि तिनले आध्यात्मिकतामा द्रुत प्रगति गरिन्। केही समयमै तिनले बप्तिस्मा लिइन्। हामीले जून १९५७ मा विहे गऱ्यौं। पछि, सेप्टेम्बर १९५८ मा गिलियडको ३२ औं कक्षामा भाग लिन हामीलाई निम्त्याइयो। फेब्रुअरी महिनामा स्नातक भएपछि हामी दक्षिणपूर्वी अफ्रिकाको हाल मलावी भनिने नियासाल्याण्डमा खटाइयौं।
अफ्रिकामा हाम्रो सेवकाई
त्यतिखेर नियासाल्याण्डमा हाम्रा अफ्रिकी भाइहरू १४,००० भन्दा अलि बढी थिए र तिनीहरूसित जनसेवकाईमा जान पाउँदा हामीलाई असाध्यै रमाइलो लाग्थ्यो। कहिलेकाहीं हामी आफूलाई चाहिने जति सबै सामानहरू साथै लिएर ल्याण्ड रोभरमा यात्रा गर्थ्यौं। गोराहरू कहिल्यै नपुगेको गाउँहरूमा हामी बस्थ्यौं र हाम्रो सधैं स्वागत सत्कार गरिन्थ्यो। गाउँ पुगेपछि पूरै गाउँ हामीलाई हेर्न आइपुग्थ्यो। सञ्चो विसञ्चो सोधिसकेपछि तिनीहरू भुइँमा थपक्क बसेर हामीलाई एकटक लाएर नियाँल्थे।
गाउँलेहरूले अक्सर हाम्रोनिम्ति भनेर एउटा छाप्रो बनाइदिएका हुन्थे। कहिले माटो त कहिले हात्तीपाइलेका पातहरूले बनेका ती छाप्राहरू एउटा खाटसम्म अटाउन सकिने साइजको हुन्थ्यो। राति छाप्रो वरपर हुँडारहरू कानैनेर चिच्याएर कुदाकुद गर्थे। तर नियासाल्याण्डका साक्षीहरूले यस्ता जंगली जनावरहरूभन्दा पनि खतरनाक शक्तिहरूको सामना गर्नै लागेका थिए।
राष्ट्रवाद विवादको विषय हुँदा
अफ्रिकाभरि स्वतन्त्रताकालागि आन्दोलनहरू मच्चिन थाल्यो। नियासाल्याण्डमा सबैले विद्यमान् एक मात्र राजनैतिक पार्टीको सदस्यता लिनुपर्ने भयो। अचानक हाम्रो तटस्थता चर्को राष्ट्रव्यापी विवाद भयो। हाम्रो शाखा कार्यालयका निरीक्षक माल्कम भीगो बाहिर गएकाले त्यतिखेर मैले तिनको कार्यभार सँभालिरहेको थिएँ। मैले नियासाल्याण्डका प्रधानमन्त्री डा. हास्टिङस कामुधु बान्डालाई भेट्न पाइयोस् भनेर निवेदन दिएँ। अन्य दुइ मसीही प्राचीनहरू र मैले हाम्रो तटस्थताबारे उहाँलाई अवगत गरायौं र उहाँसित सौहार्दपूर्ण भेटघाट भयो। यसको बावजूद, महिना दिनपछि फेब्रुअरी १९६४ मा अल्टन म्वचन्द सतावट भोग्ने पहिलो व्यक्ति भए। तिनलाई क्रोधित हूलले भाला हानेर मारे। यसबाहेक, गाउँका अन्य साक्षीहरूलाई गाउँ छोडेर जान बाध्य तुल्याइयो।
हामीले डा. बान्डालाई टेलिग्राम पठायौं र तिनलाई आफ्नो अख्तियारको प्रयोग गरेर यस्ता हिंसात्मक दंगा रोक्न आग्रह गऱ्यौं। तुरुन्तै प्रधानमन्त्रीको कार्यालयबाट फोन आयो र मलाई बोलाइयो। अर्को मिसनरी ह्यारोल्ड गाइ र एक स्थानीय साक्षी एलेक्सजेन्डर माफाम्बानालाई लिएर म डा. बान्डालाई भेट्न हिंडे। त्यहाँ दुई जना मन्त्रीहरू पनि थिए।
हामी बस्ने बित्तिकै डा. बान्डाले एक शब्द पनि नबोली आफ्नो टाउकोमाथि मैले पठाएको टेलिग्राम नचाउन थाले। अन्ततः तिनले यसो भन्दै मौन भंग गरे: “मिस्टर योहान्सन, यस्तो टेलिग्राम पठाउनुको अर्थ के हो?” हामीले तिनलाई फेरि राजनैतिक मामिलामा हाम्रो तटस्थताबारे बतायौं अनि मैले अझै यसो भन्दै कुरा थपें: “हालै अल्टन म्वचन्दको हत्या भएकोले हामीलाई मदत गर्नसक्ने तपाईं मात्रै हुनुहुन्छ।” यो सुनेर डा. बान्डा खुसी भए जस्तो लाग्यो र तिनी निश्चिन्त भएको देखिन्थे।
तथापि, त्यहाँ उपस्थित मन्त्रीहरूमध्ये एकले टाढाको कुन चाहिं हो एउटा गाउँमा यहोवाका साक्षीहरू स्थानीय अख्तियारवालाहरूलाई सहयोग गर्दैनन् भनेर दाबी गरे। त्यसपछि अर्को मन्त्रीले त्यस्तै टाढाको अर्को गाउँका साक्षीहरूले डा. बान्डाको अनादर गरे भन्ने कुरा गरे। तर तिनीहरूमध्ये कसैले कुन चाहिं साक्षीले त्यसो गरेका हुन्, नाउँ दिन सकेनन्। यहोवा साक्षीहरूलाई सरकारी अख्तियारवालाहरूको सधैं आदर गर्नू भनेर सिकाइएको हुन्छ भनेर हामीले राम्ररी बतायौं। तर दुःखलाग्दो कुरा, हाम्रो दाल गलेन। डा. बान्डा र तिनको मन्त्रीहरूको गलत धारणा हामीले हटाउन सकेनौं।
हाम्रो जीवन खतरामा
सन् १९६४ मा नियासाल्याण्ड स्वतन्त्र भयो र पछि यसको नाउँ गणतन्त्र मलावी रहनगयो। हाम्रो प्रचारकार्य साबिक बमोजिम चल्यो तर निकै दबाब खप्दै। त्यतिखेर मुलुकको दक्षिणी भागमा रहेका साक्षीहरूले फोन गरेर त्यहाँ राजनैतिक उथलपुथल सुरु भएको खबर दिए। त्यहाँका साक्षीहरूको अवस्था कस्तो छ, जाँचबुझ गर्न र प्रोत्साहन दिन त्यहाँ तुरुन्तातुरुन्तै कसैलाई पठाउनुपर्ने आवश्यकता देख्यौं। यसअघि बनजंगलहरू हुँदै म निकै पटक त्यहाँसम्म एक्लै पुगेको थिएँ र लिन्डाले नडराइ मलाई बिदा गरेकी थिइन्। तर यसपाली भने तिनले मलाई एक जना स्थानीय साक्षी, लइड लिख्वाइड भन्ने युवकलाई पनि साथै लैजानुस् भनेर कर गर्न थालिन्। मनमनै ‘तिनी ढुक्क हुन्छिन् भने ठीकै छ, नी,’ भन्दै आखिरमा तिनको कुरा मानें।
साझँ छ बजे कर्फ्यू लाग्नुअगावै एउटा नदी तरिसक्नुपर्छ भनेर हामीलाई बताइएको थियो। सकेसम्म निश्चित समयअगावै डुंगामा चढिसक्ने प्रयास गऱ्यौं तर बाटो नराम्रो भएकोले ढिलो भयो। साझँ छ बजेपछि हामी जुन नदीको किनारमा थियौं, त्यहाँ जसलाई देखे पनि गोली ठोक्नु भन्ने आदेश दिइएको रहेछ भनेर पछि मात्र थाह पायौं। नदी नजिक आइपुग्दा त डुंगा पारीपट्टि पुगिसकेको देख्यौं। भाइ लिख्वाइडले त्यो डुंगालाई हामीलाई लिन आउन बोलाए। डुंगा आउन त आयो तर डुंगामा भएको सिपाही चिच्यायो: “त्यो गोरेलाई गोली ठोक्नुपर्छ!”
सुरुमा त मलाई त्यसै ठट्टा गरेझैं लाग्यो तर डुंगा नजिकिंदै गएपछि त्यो सिपाहीले मलाई हाम्रो गाडीको उज्यालोमा उभिन लगायो। तब मेरो अफ्रिकी साथी मलाई छेक्दै र मेरो सट्टा उसैलाई गोली हान्नुस् भन्न थाल्यो। त्यो भाइ मेरो निम्ति मर्नसमेत तयार भएको देखेर हो कि क्या हो, उसले आफ्नो बन्दुक झाऱ्यो। मैले येशूका यी शब्दहरू सम्झें: “आफ्नो प्राण मित्रहरूका लागि अर्पण गरिदिनु भन्दा बढ़ता प्रेम कसैको हुँदैन।” (यूहन्ना १५:१३) लिन्डाले हाम्रो यो प्रिय भाइलाई सँगै लैजानुस् भनेकी सुझाउ मानेको कत्ति बेस भयो!
लगत्तै अर्को दिन ब्लान्टीर फर्कने बाटो बन्द गरेर केही युवकहरूले भाइ लिख्विडसित पार्टीको सदस्य पत्र मागे। अब एउटै उपाय बाँकि थियो—सुट्ट हूलभित्र छिरेर हराउने! मैले झट्ट गीयर बद्लेर तिनीहरूलाई हक्क न बक्क पार्नेगरि बेतोडले गाडी कुदाइहालें। त्यो उत्तेजित भीडले भाइ लिख्वाइडलाई समातेका भए, तिनी त्यहीं सिद्धिन्थे होलान्। शाखा कार्यालयमा पुग्दा हामी दुवै डरले थरथर काँपिरहेका थियौं तर यहोवाले हामीलाई जोगाउनुभएकोमा उहाँप्रति कृतज्ञ थियौं।
आफ्नो विश्वासको कारण थुनिएका
अक्टोबर १९६७ देखि मलावीमा हाम्रो काम औपचारिक तवरमा प्रतिबन्धित भयो। त्यतिखेर देशभरि १८,००० साक्षीहरू थिए। हामीले दुई हप्तापछि राजधानी लिलंवेमा ३,००० साक्षीहरू थुनिएको जानकारी पायौं। मानसिक बल भएपनि दिन सकिन्छ कि भनेर हामीले त्यही रात ३०० किलोमिटर यात्रा गरेर त्यहाँ पुग्ने निर्णय गऱ्यौं। हामीले ल्याण्ड रोभरमा वाचटावर साहित्यहरू राख्यौं र कुनै पनि चौकीमा जाँचपड्ताल नगरिएकोले यहोवालाई धन्यवाद दिंदै हिंड्यौं। बाटोभरि एकपछि अर्को गर्दै मण्डलीहरूमा सामयिक आध्यात्मिक भोजनका बाकसहरू छोड्दै हिंड्यौं।
बिहान हामी जेलतिर लाग्यौं। कस्तो दृष्य! रातभर पानी परेको रहेछ र हाम्रा मसीही भाइबहिनीहरू खुल्ला आकासमुनि बार लगाइएको चौरमै थुनिएका रहेछन्। तिनीहरू पानीले मुसा चुट्टिएझै चुट्टिएछन् र हामीले भेट्दा कतिपय त आफ्नो बारमा राडी सुकाउन खोज्दै थिए। हामीले तिनीहरूमध्ये कसै-कसैसित बारबाटै कुरा गऱ्यौं।
दिउँसो मुद्दा चलाइयो र केही साक्षी भनाउँदाहरूलाई कठघरामा उभ्याइए। हामीले तिनीहरूसित आँखा जुधाउन खोज्यौं तर तिनीहरू ढुंगा कि मुढा हो जस्तो गरी ठिंग उभिरहेका थिए। कठघरामा उभ्याइएका सबैले आफ्नो विश्वास त्यागेको सुन्दा हामी खङ्ग्रङ्ग भयौं! तथापि, त्यसरी यहोवाका साक्षी होइन भन्नेहरूमध्ये कसैलाई स्थानीय साक्षीहरूले चिनेका रहेनछन् भनी थाह पाएँ। सायद त्यो, सच्चा साक्षीहरूलाई हतोत्साही पार्न खेलिएको चाल हुनसक्छ।
यसैबीच, हामीलाई देश निकाला गर्ने आदेश जारी गरियो। ब्लान्टीरस्थित हाम्रो शाखा कार्यालय जफत गरियो र मिसनरीहरूलाई २४ घण्टाभित्र देश छोडेर जाने आदेश दिइयो। घर फर्कंदा पुलिस अफिसरले ढोका खोलिदिंदा हामी छक्क पऱ्यौं। भोलिपल्ट दिउँसो एक जना पुलिस अफिसर आयो, अफसोस व्यक्त गऱ्यो। त्यसपछि हामीलाई गिरफ्तार गरेर विमानस्थलमा पुऱ्यायो।
नोभेम्बर ८, १९६७ मा मलावी छोड्दा हाम्रा मसीही भाइहरूले भीषण परीक्षाको सामना गर्नुपर्नेछ भनेर हामीलाई थाह थियो। हाम्रो मन रोयो। थुप्रैले आफ्नो ज्यान गुमाए; सयौंले क्रूर यातना भोगे अनि हजारौंले आफ्नो जागिर, घर तथा सरसम्पत्ति गुमाए। यद्यपि, प्रायः सबैले आफ्नो निष्ठा कायमै राखे।
नयाँ कार्यभार
कठिनाइको बावजूद मिसनरी कार्य छोड्ने विचार हाम्रो मनमा कहिल्यै आएन। बरु, हामीले विविध दृष्य तथा मानिसहरू भएको केन्यामा नयाँ कार्यभार स्वीकाऱ्यौं। मसाईहरू देखेर लिन्डा मोहित हुन्थिन्। त्यतिखेरसम्म कुनै पनि मसाई यहोवाका साक्षी भइसकेका थिएनन्। पछि लिन्डाले मसाई आइमाई डोर्कासलाई भेटिन् र तिनीसित अध्ययन थालिन्।
परमेश्वरलाई प्रसन्न तुल्याउन आफ्नो विवाहले कानुनी मान्यता पाएको हुनुपर्छ भनेर डोर्कासलाई थाह थियो। तिनका दुई बच्चाका बुबाले विवाह दर्ता गर्न मानेन्। अतः डोर्कास आफू एक्लैले छोराछोरी हुर्काउने कोसिस गरिन्। त्यो मानिस साक्षीहरूसित असाध्यै रिसायो तर आफ्नो परिवारसित अलग्गिनु परेकोले उनी दुःखी थियो। आखिरीमा डोर्कासले कर गर्दा गर्दा उसले पनि यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्नथाल्यो। उसले आफ्नो जीवनमा काँटछाँट गऱ्यो, साक्षी बन्यो र डोर्काससित बिहे गऱ्यो। डोर्कासले पछि अग्रगामीको काम गर्न थालिन् र अहिले उनका पति अनि जेठो छोरो मण्डलीमा प्राचिन छन्।
अचानक १९७३ मा केन्यामा यहोवाका साक्षीहरूको काम प्रतिबन्ध गरियो र हामीले मुलुक छोड्नुपऱ्यो। तर केही महिना नबित्दै प्रतिबन्ध फुकुवा गरियो। तर त्यतिञ्जेल हामीले तेस्रो कार्यभार पाइसकेका थियौं र त्यो थियो कंगो (ब्राजाभील)। हामी अप्रिल १९७४ मा ब्राजाभील पुग्यौं। झन्डै तीन वर्षपछि मिसनरीहरूलाई जासुसहरू भन्ने झूटो आरोप लगाइयो र त्यहाँ पनि हाम्रो काम प्रतिबन्धित भयो। त्यसमाथि, राष्ट्रपतिको हत्या भएपछि ब्राजाभीलमा दंगा मच्चियो। अझ सबै मिसनरीहरू अन्यत्र खटाइए तर हामीलाई सम्भव भएसम्म त्यहीं बस्न आग्रह गरियो। हप्तौंसम्म हामी भोलिको दिन देख्न पाउने हो कि होइन भन्ने सम्झँदै सुत्थ्यौं। तर यहोवाले देखभाल गर्नुहुन्छ भन्ने विश्वासका साथ हामी राम्ररी नै निदाउँथ्यौं। कोही पनि नभएको डङ्गडङ्गती खाली शाखा कार्यालममा बिताएका ती महिनाहरू सायद हामीले मिसनरी सेवामा भोग्नुपरेको विश्वासको सबैभन्दा कठिन जाँच हुनुका साथै विश्वास सदृढ बनाउने समय पनि थिए।
अप्रिल १९७७ मा हामीले ब्राजाभील छोड्नुपऱ्यो। इरानमा नयाँ शाखा कार्यालय खोल्ने कार्यभार पाउँदा त हामी तीन छक पऱ्यौं। हामीले सामना गर्नुपरेको पहिलो चुनौती फारसी भाषा सिक्नुथियो। नयाँ भाषा सिक्नुपरेकोले मण्डलीका सभाहरूमा हामी स-साना केटाकेटीले दिने सजिलो टिप्पणीहरू मात्र दिनसक्ने भयौं! सन् १९७८ मा इरानमा क्रान्ति सुरु भयो। घमासान लडाइ चलिरहे तापनि हामी त्यही बस्यौं तर जुलाई १९८० मा हामी सबै मिसनरीहरू देशबाट निकालियौं।
पाँचौ कार्यभारको सिलसिलामा हामी फेरि मध्य अफ्रिका, हाल गणतन्त्र कंगोको नाउँले चिनिने तत्कालीन जायर पुग्यौं। हामीले १५ वर्षसम्म जायरमा सेवा गऱ्यौं भने केही समय त प्रतिबन्ध लगाइएको बेलामा पनि सेवा गऱ्यौं। यस मुलुकमा आइपुग्दा जम्मा २२,००० सक्रिय साक्षीहरू थिए तर अहिले वृद्धि भएर १,००,००० भन्दा धेरै छन्!
फेरि घर!
अगस्त १२, १९९३ मा मलावीमा यहोवाका साक्षीहरूमाथि लगाइएको प्रतिबन्ध फुकुवा गरियो। दुई वर्षपछि लिन्डा र मलाई फेरि हामीले मिसनरी सेवा सुरु गरेका ठाउँमै, अर्थात् अफ्रिकाको न्यानो हृदय भनेर चिनिने रमणीय मित्रैलो मुलुक मलावीमै खटाइयो। जनवरी १९९६ देखि हामीले मलावीका आनन्दित तथा शान्तिप्रिय मानिसहरूबीच काम गर्न पाइरहेका छौं। फेरि तीन दशकसम्म सतावट भोग्ने मलावीका हाम्रा विश्वासी भाइहरूसित मिलेर सेवा गर्न पाएकोमा हामी मूल्यांकन गर्छौं। हाम्रा अफ्रिकी भाइहरू हाम्रोलागि प्रेरणाका स्रोत हुन् र हामी तिनीहरूलाई माया गर्छौं। तिनीहरूले निश्चय पनि पावलका यी शब्दहरूअनुरूप जीवन बिताइरहेका छन्: “अनेक कष्ट सही परमेश्वरको राज्यमा पस्नैपर्छ।” (प्रेरित १४:२२) मलावीमा झन्डै ४१,००० साक्षीहरू अहिले स्वतन्त्रतासाथ खुल्लमखुल्ला प्रचार गर्नुका साथै ठूलठूला अधिवेशनहरू सञ्चालन गरिरहेका छन्।
हामीले आफूलाई दिइएको सम्पूर्ण कार्यभारको आनन्द उठायौं। अनुभव जतिसुकै कठिन किन नहोस्, हामीले ‘यहोवाको आनन्दलाई’ कायम राख्यौं भने त्यसले हामीलाई अझ निखार्दो रहेछ भनी लिन्डा र मैले सिकेका छौं। (नहेम्याह ८:१०) आफूले गरिरहेको काम छोडेर अर्कै ठाउँमा खटिनुपर्दा मलाई काँटछाँट गर्न कहिलेकाहीं गाह्रो हुन्थ्यो। तर लिन्डा जस्तोसुकै परिस्थितिमा पनि भिज्न सक्थिन्। त्यसबाहेक, विशेषगरि यहोवामाथि उनको बलियो विश्वासको कारण मैले “असल पत्नी” पाउनुको आशिष् मूल्यांकन गर्नसकेको छु।—हितोपदेश १८:२२.
हामीले साह्रै आनन्दित तथा रोमाञ्चकारी जीवन बिताउन पाएका छौं! यहोवाले सुरक्षित राख्नुभएकोमा हामी बारम्बार उहाँलाई धन्यवाद दिन्छौं। (रोमी ८:३१) पूर्ण-समय सेवाका आशिष्हरूबारे मैले भाषण दिएको चार दशकभन्दा धेरै भइसक्यो। हामी खुसी छौ। किनकि हामीले ‘यहोवालाई पारख गऱ्यौं र उहाँको भलाई देख्यौं।’ (भजन ३४:८; मलाकी ३:१०) ‘आफ्नैनिम्ति नबाँच्नु नै’ जीवन बिताउने सर्वोत्तम तरिका हो भन्ने कुरामा हामी विश्वस्त छौं।
[पृष्ठ २३-मा भएको नक्सा/चित्र]
(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्)
हामीले सेवा गरेका देशहरू
इरान
गणतन्त्र कंगो
संघीय गणतन्त्र कंगो
केन्या
मलावी
[पृष्ठ २०-मा भएको चित्र]
केप टाउन, साउथ अफ्रिका भएर मलावी जाँदै
[पृष्ठ २२-मा भएको चित्र]
गिरफ्तार भएपछि मलावीबाट निकालिंदा
[पृष्ठ २४-मा भएको चित्र]
मसाई डोर्कास र तिनका श्रीमान्