प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w03 ४/१५ pp. १२-१७
  • यहोवाको हृदयलाई आनन्दित तुल्याउने युवाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाको हृदयलाई आनन्दित तुल्याउने युवाहरू
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • “दुष्टबाट” सुरक्षा
  • ‘मेरो हृदयलाई आनन्दित तुल्याओ’
  • यहोवाले तपाईंको फिक्री गर्नुहुन्छ
  • अहिले प्रशस्त आशिष्‌हरू
  • “आनन्दित परमेश्‍वरको” सेवा गर्ने
  • तपाईं एउटा विवादमा सामेल हुनु भएको छ
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
  • परमेश्‍वरलाई मन पर्ने तरिकामा जीवन बिताउनुहोस्‌
    बाइबलले वास्तवमा के सिकाउँछ?
  • परमेश्‍वरलाई कसरी खुसी पार्न सक्छौं?
    महान्‌ शिक्षकबाट सिकौं
  • तपाईँ कसरी परमेश्‍वरको मित्र बन्‍न सक्नुहुन्छ?
    बाइबलले हामीलाई के सिकाउँछ?
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
w03 ४/१५ pp. १२-१७

यहोवाको हृदयलाई आनन्दित तुल्याउने युवाहरू

यी अध्ययन लेखहरू विशेष गरी यहोवाका साक्षीहरूमाझका युवाहरूको लागि तयार पारिएका हुन्‌। त्यसकारण हामी युवाहरूलाई यी विषयवस्तुहरू होसियारीसाथ अध्ययन गर्न र यसलाई प्रहरीधरहरा अध्ययनको दौडान मण्डलीमा छलफल गरिंदा सक्रियतासाथ टिप्पणी दिन प्रोत्साहन दिन्छौं।

“हे मेरो छोरो, बुद्धिमान हो, र त्यसले मेरो हृदयलाई आनन्दित तुल्याउँछ, र मेरो आलोचना गर्नेहरूलाई म मुखभरिको जवाफ दिनसक्छु।”—हितोपदेश २७:११.

१, २. (क) संसारका कुराहरूतर्फ आकर्षित हुँदैमा तपाईं मसीही हुन योग्यको हुनुहुन्‍न भनेर भन्‍न मिल्छ कि मिल्दैन वर्णन गर्नुहोस्‌। (रोमी ७:२१) (ख) आसापको उदाहरणबाट तपाईं के सिक्नुहुन्छ? (पृष्ठ १३ को पेटी हेर्नुहोस्‌।)

कल्पना गर्नुहोस्‌, तपाईं लुगा किन्दै हुनुहुन्छ। लुगा छान्दै गर्दा तपाईंको आँखा एउटा निक्कै राम्रो लुगामा गएर टक्क अडिन्छ। यसको रंग र स्टाइल तपाईंले खोजेजस्तै छ अनि दाम पनि त्यति महँगो छैन। त्यसपछि तपाईंले त्यसलाई ओल्टाइ-पल्टाइ राम्ररी हेर्नुहुन्छ। अचम्मको कुरा, तपाईंले किनारतिरको धागो झुत्रो भएर निस्किएको र सिलाइ पनि त्यति राम्रो नभएको याद गर्नुहुन्छ। त्यो लुगा हेर्दा निक्कै राम्रो भए तापनि बलियो छैन। के तपाईं यस्तो कमसल लुगामा आफ्नो पैसा खर्च गर्नुहुन्छ?

२ यस परिस्थितिलाई मसीही युवाको हैसियतमा तपाईंले सामना गर्नुपर्ने परिस्थितिसित तुलना गर्नुहोस्‌। झट्ट हेर्दा, त्यो लुगाजस्तै यस संसारका कुराहरू पनि निक्कै आकर्षक देखिन सक्छ। उदाहरणका लागि, तपाईंको स्कूलका साथीहरू रमाइला पार्टीहरूमा जाने, लागू पदार्थ सेवन गर्ने, मद्यपान गर्ने, डेटिङमा जाने र विवाहपूर्व यौन सम्बन्ध राख्ने गर्न सक्छन्‌। कहिलेकाहीं के तपाईं पनि यस्तै खालको जीवन शैलीप्रति आकर्षित हुनुभएको छ? के तपाईंमा तिनीहरूको तथाकथित स्वतन्त्रता अनुभव गर्ने लालसा जागेको छ? त्यसो हो भने, आफ्नो हृदय असाध्यै खराब छ र आफू मसीही हुन योग्यको छैन भन्‍ने निष्कर्षमा पुगिनहाल्नुहोस्‌। आखिर, परमेश्‍वरलाई खुसी तुल्याउन चाहने व्यक्‍तिहरूको लागि समेत संसार असाध्यै मनमोहक हुन सक्छ भनेर बाइबलले स्वीकार्छ।—२ तिमोथी ४:१०.

३. (क) संसारका कुराहरूको पछि लाग्नु किन निरर्थक हो? (ख) संसारको पछि लाग्नुको व्यर्थताबारे एक जना मसीही के भन्छिन्‌?

३ तपाईंलाई किन्‍न मन परेको लुगालाई झैं यस संसारका कुराहरूलाई पनि गहिरिएर हेर्नुहोस्‌। आफैलाई यस्ता प्रश्‍नहरू सोध्नुहोस्‌: ‘यस रीतिरिवाजको कपडा तथा सिलाइको गुणस्तर कस्तो छ?’ बाइबलले “संसार बितिजान्छ” भनेर बताउँछ। (१ यूहन्‍ना २:१७) यस संसारबाट प्राप्त हुने सुख-सुविधा जतिसुकै राम्रो भए तापनि त्यो क्षणिक हो। यसबाहेक परमेश्‍वरको स्तर विपरीतका कार्यहरूको त निक्कै महंगो मूल्य चुकाउनुपर्छ। यो पक्कै पनि लाभकारी छैन। आफ्नो युवावस्थामा भोगेका पीडालाई “बेकारमा गएको युवावस्थाको पीडा” भनेर बताउने एक जना मसीही यसो भन्छिन्‌: “संसार लोभलाग्दो तथा आकर्षक देखिन सक्छ। अनि कुनै पीडा नभोगीकन आनन्द उठाउन सकिन्छ भनेर तपाईंले विश्‍वास गरोस्‌ भनेर यसले चाहन्छ। तर वास्तवमा यो कुरा सम्भव छैन। संसारले आफूलाई फाइदा होउन्जेल तपाईंलाई चुस्नसम्म चुस्छ अनि काम नलाग्ने खोक्रो भएपछि फालिदिन्छ।”a आफ्नो युवावस्थालाई किन यस्तो कमसल जीवन शैलीमा खेर फाल्ने?

“दुष्टबाट” सुरक्षा

४, ५. (क) आफ्नो मृत्यु हुनुभन्दा केही समयअघि येशूले प्रार्थनामा यहोवालाई कुन कुरा बिन्ती गर्नुभयो? (ख) यस्तो बिन्ती गर्नु किन उचित थियो?

४ यस रीतिरिवाजले कुनै असल चीज दिन सक्दैन भन्‍ने कुरा महसुस गरेर यहोवाका साक्षीहरूमाझका युवा जनहरू यस संसारसित मित्रता गाँस्नदेखि जोगिने प्रयास गर्छन्‌। (याकूब ४:४) के तपाईं पनि यी विश्‍वासी युवाहरूमध्ये हुनुहुन्छ? त्यसो हो भने, तपाईं प्रशंसायोग्य हुनुहुन्छ। हो, साथीहरूको दबाबको सामना गर्न तथा अरूभन्दा भिन्‍न देखिन सजिलो छैन तर यसको लागि तपाईं एक्लै हुनुहुन्‍न।

५ आफ्नो मृत्यु हुनुभन्दा केही समयअघि येशूले चेलाहरूलाई “दुष्टबाट जोगाइराख्नुहोस्‌” भनी यहोवालाई प्रार्थना गर्नुभयो। (यूहन्‍ना १७:१५) येशूले यस्तो बिन्ती गर्नु उचित थियो। आफ्ना अनुयायीहरूको उमेर जतिसुकै भए तापनि तिनीहरूलाई निष्ठा कायम राख्न सजिलो हुनेछैन भन्‍ने कुरा उहाँलाई थाह थियो। किन? एउटा कारण त, येशूले स्वीकार्नुभएझैं उहाँका चेलाहरूले शक्‍तिशाली, अदृश्‍य “दुष्ट” शत्रु—शैतान अर्थात्‌ दियाबलको सामना गर्नुपर्ने थियो। बाइबलले बताएअनुसार यो दुष्ट आत्मिक प्राणी “कसलाई भेट्टाऊँ र निलिहालूँ भनेर गर्जने सिंहझैं खोजेर हिंड्‌छ।”—१ पत्रुस ५:८.

६. शैतानले युवा जनहरूप्रति कुनै दया देखाउँदैन भनी हामी कसरी थाह पाउँछौं?

६ शैतानले इतिहासभरि नै मानिसहरूमाथि अत्यन्तै क्रूर व्यवहार गरेर आनन्द लिइरहेको छ। शैतानले अय्यूब तथा तिनको परिवारमाथि ल्याएको भयंकर विपत्तिलाई विचार गर्नुहोस्‌। (अय्यूब १:१३-१९; २:७) सायद तपाईं शैतानको हिंसात्मक मनोभाव झल्कने, आफ्नै जीवनकालमा घटेका घटनाहरू पनि सम्झन सक्नुहुन्छ होला। दियाबल सिकारको खोजीमा छ र त्यसले कसलाई निलूँ भनेर हिंडेको बेला युवाहरूलाई पनि छोड्‌दैन। उदाहरणका लागि, सा.यु. प्रथम शताब्दीको सुरुतिर, हेरोदले बेतलेहेममा भएका दुई वर्ष र त्यसदेखि मुनिका सबै बालकहरूलाई मार्ने षड्यन्त्र रचे। (मत्ती २:१६) एक दिन परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको मसीह हुने र शैतानमाथि परमेश्‍वरको न्याय ल्याउने बच्चालाई मार्नकै लागि सम्भवतः शैतानले हेरोदलाई उक्साएको थियो! (उत्पत्ति ३:१५) कुरा स्पष्ट छ, शैतानले युवा जनहरूप्रति कुनै दया देखाउँदैन। त्यसको उद्देश्‍य भनेकै जतिसक्दो धेरै मानिसहरूलाई निल्नु हो। यो कुरा विशेष गरी अहिले सत्य साबित भएको छ किनभने “आफ्नो अल्प समय थाह पाएर शैतान ठूलो क्रोधसँग” स्वर्गबाट पृथ्वीमा आएको छ।—प्रकाश १२:९, १२.

७. (क) शैतानभन्दा यहोवा कसरी बिल्कुलै भिन्‍न हुनुहुन्छ? (ख) तपाईंले जीवनको आनन्द उठाउने सन्दर्भमा यहोवाले कस्तो दृष्टिकोण राख्नुहुन्छ?

७ “ठूलो क्रोध” भएको शैतानभन्दा बिल्कुलै विपरीत यहोवामा भने “कोमल दया” छ। (लूका १:७८) उहाँ प्रेमको मूर्तरूप हुनुहुन्छ। भन्‍ने हो भने, हाम्रा सृष्टिकर्ताले यो महान्‌ गुण यस हदसम्म देखाउनुहुन्छ कि बाइबलले यसो भन्छ: “परमेश्‍वर प्रेम हुनुहुन्छ।” (१ यूहन्‍ना ४:८) यस रीतिरिवाजको देव र तपाईंले उपासना गर्ने सुअवसर पाउनुभएको परमेश्‍वरबीच कत्ति ठूलो भिन्‍नता! शैतानले सबैलाई निल्न खोज्छ तर यहोवा “कोही पनि नष्ट नहोस्‌ . . . भन्‍ने इच्छा” गर्नुहुन्छ। (२ पत्रुस ३:९) उहाँले तपाईंलगायत सबै मानिसहरूको जीवनलाई मूल्यवान्‌ ठान्‍नुहुन्छ। यहोवाले आफ्नो वचनमार्फत तपाईंलाई यस संसारको भाग नहुनू भनेर आग्रह गर्नुहुँदा, उहाँले तपाईंको जीवनको रमाइलोलाई निसास्याउन वा तपाईंको स्वतन्त्रलाई सीमित पार्न खोज्नुभएको होइन। (यूहन्‍ना १५:१९) बरु, उहाँले तपाईंलाई दुष्टबाट जोगाइराख्न खोज्नुभएको मात्र हो। स्वर्गमा बस्नुहुने हाम्रो पिता, तपाईंले यस संसारको क्षणिक आनन्दभन्दा अझ उत्तम कुरा प्राप्त गरेको चाहनुहुन्छ। उहाँ तपाईंले “साँच्चै जीवन” अर्थात्‌ पार्थिव प्रमोदवनमा अनन्त जीवन प्राप्त गरोस्‌ भन्‍ने चाहनुहुन्छ। (१ तिमोथी ६:१७-१९) तपाईं सफल भएको यहोवा चहानुहुन्छ र त्यो लक्ष्य हासिल गर्न उहाँले तपाईंलाई आग्रह गर्दै हुनुहुन्छ। (१ तिमोथी २:४) साथै, यहोवा तपाईंलाई एउटा विशेष निमन्त्रणा पनि दिनुहुन्छ। त्यो के हो?

‘मेरो हृदयलाई आनन्दित तुल्याओ’

८, ९. (क) यहोवालाई तपाईं कस्तो उपहार दिन सक्नुहुन्छ? (ख) अय्यूबको उदाहरणबाट प्रस्ट भएझैं, शैतानले कसरी यहोवाको आलोचना गर्छ?

८ तपाईंले आफ्नो घनिष्ठ साथीको लागि उपहार किनेर दिनुहुँदा, त्यो साथीको अनुहार आश्‍चर्य र मूल्यांकनले उज्यालो भएको के तपाईंले कहिल्यै देख्नुभएको छ? तिनलाई कस्तो उपहार दिंदा ठीक होला भनेर तपाईंले निक्कै बेर सोच्नुभयो होला। अब यो प्रश्‍न विचार गर्नुहोस्‌: तपाईं सृष्टिकर्ता, यहोवा परमेश्‍वरलाई कस्तो उपहार दिन सक्नुहुन्छ? हुन त, सुरुमा यो कुरा अतार्किकजस्तो लाग्ला। सर्वशक्‍तिमान्‌लाई तुच्छ मानिसहरूबाट के चाहिन्छ र? उहाँसँग नभएको त्यस्तो के कुरा तपाईं दिन सक्नुहुन्छ र? यसको जवाफ बाइबलले हितोपदेश २७:११ मा यसरी दिन्छ: “हे मेरो छोरो, बुद्धिमान हो, र त्यसले मेरो हृदयलाई आनन्दित तुल्याउँछ र मेरो आलोचना गर्नेहरूलाई म मुखभरिको जवाफ दिनसक्छु।”

९ बाइबल अध्ययन गर्दा तपाईंले थाह पाइसक्नुभएकै होला, यहोवाको आलोचना गर्ने व्यक्‍ति शैतान अर्थात्‌ दियाबल हो। परमेश्‍वरको सेवा गर्नेहरूले प्रेमको खातिर होइन तर स्वार्थको कारण गर्छन्‌ भनेर त्यसले ठोकुवा गर्छ। तिनीहरूमाथि दुःखकष्ट आइपरेमा तिनीहरूले साँचो उपासनालाई त्यागिहाल्नेछन्‌ भनी शैतानले दाबी गर्छ। उदाहरणका लागि, शैतानले धर्मी मानिस अय्यूबबारे यहोवालाई के भन्यो विचार गर्नुहोस्‌: “के तिनलाई, तिनका घराना र तिनका सबै धन-सम्पत्तिलाई तपाईंले चारैतिरबाट बार हालेर रक्षा गर्नुभएको छैन? तिनका सबै काममा तपाईंले आशिष दिनुभएको छ, औ तिनका गाई-वस्तुहरू अनगन्ती बढ़ेका छन्‌। तर आफ्नो हात पसारेर तिनका सबैचीज छुनुहोस्‌, र तिनले तपाईंलाई तपाईंकै मुखको सामने सराप्नेछन्‌।”—अय्यूब १:१०, ११.

१०. (क) शैतानले अय्यूबको निष्ठामाथि मात्रै औंला ठड्याएको थिएन भनेर हामी कसरी थाह पाउँछौं? (ख) सार्वभौमिकताको विवादमा तपाईं कसरी मुछिनुभएको छ?

१० बाइबल विवरणले देखाएअनुसार, शैतानले अय्यूबको मात्र होइन तर तपाईंलगायत परमेश्‍वरको सेवा गर्ने सबै जनाको वफादारितामाथि औंला ठड्यायो। साँच्चै भन्‍ने हो भने, शैतानले सबै मानिसहरूबारे यहोवालाई यसो भन्यो: “आफ्नो ज्यान बचाउन मानिसले [अय्यूबले मात्र होइन तर जोसुकैले पनि] आफ्नो भएका सबै कुरा दिंदैन र?” (अय्यूब २:४) यो महत्त्वपूर्ण विवादमा के तपाईं आफ्नो कुनै भूमिका देख्नुहुन्छ? हितोपदेश २७:११ ले तपाईंले यहोवालाई दिन सक्ने केही कुरा छ भनेर संकेत गरेको छ। त्यो हो, उहाँले आफ्नो आलोचक शैतानलाई मुखभरिको जवाफ दिन सक्ने आधार। कल्पना गर्नुहोस्‌ त, ब्रह्‍माण्डका सार्वभौमसत्ताधारीले तपाईंलाई अहिलसम्मको सबैभन्दा ठूलो विवादमा सामेल हुन आग्रह गरिरहनुभएको छ। तपाईंले कस्तो अद्‌भुत जिम्मेवारी तथा सुअवसर पाउनुभएको छ! यहोवाले तपाईंबाट माग गर्नुभएको कुरा के तपाईं दिन सक्नुहुन्छ? अय्यूबले त दिन सके। (अय्यूब २:९, १०) येशूका साथै इतिहासभरि अरू धेरै मानिसहरूले पनि दिन सके, जसमध्ये थुप्रै युवाहरू थिए। (फिलिप्पी २:८; प्रकाश ६:९) तपाईं पनि त्यसै गर्न सक्नुहुन्छ। यद्यपि, एउटा कुरा नबिर्सनुहोस्‌, यस विवादमा तटस्थ रहन सकिंदैन। तपाईं शैतानको आलोचनाको समर्थन गर्नुहुन्छ वा यहोवाको जवाफको समर्थन गर्नुहुन्छ भन्‍ने कुरा तपाईंको क्रियाकलापबाट देखिनेछ। तपाईं कुनचाहिंलाई समर्थन गर्नुहुनेछ?

यहोवाले तपाईंको फिक्री गर्नुहुन्छ

११, १२. तपाईंले यहोवाको सेवा गर्न रोज्नुहुन्छ वा रोज्नुहुन्‍न भन्‍ने कुराले के उहाँलाई कुनै फरक पार्छ? वर्णन गर्नुहोस्‌।

११ तपाईंले गर्नुभएको रोजाइले के यहोवालाई कुनै असर गर्छ? शैतानलाई मुखभरिको जवाफ दिनको लागि के पर्याप्त व्यक्‍तिहरू उहाँप्रति विश्‍वासी रहिसकेका छैनन्‌ र? हो, कसैले पनि प्रेमको कारण यहोवालाई सेवा गर्दैन भनेर दियाबलले ठोकुवा गरेको थियो तर उक्‍त आरोप झूटो साबित भइसकेको छ। तैपनि, सार्वभौमिकताको यो विवादमा तपाईंले यहोवाको पक्ष लिएको उहाँ चाहनुहुन्छ किनभने उहाँले व्यक्‍तिगत तवरमा तपाईंको फिक्री गर्नुहुन्छ। येशूले यसो भन्‍नुभयो: “त्यस्तै गरी यी सानाहरूमध्ये एउटा पनि नष्ट नहोस्‌ भन्‍ने तिमीहरूका स्वर्गमा हुने पिताको इच्छा छ।”—मत्ती १८:१४.

१२ स्पष्टतः तपाईंले रोज्नुहुने मार्गमा यहोवाले चासो लिनुहुन्छ। त्योभन्दा पनि उहाँलाई यसले असर गर्छ। यहोवाका गहिरा भावनाहरू छन्‌ र यसलाई मानिसहरूको असल वा खराब कामहरूले असर गर्छ भनी बाइबलले स्पष्ट पार्छ। उदाहरणका लागि, इस्राएलीहरूले बारम्बार विद्रोह गर्दा यहोवालाई “झोंक” चल्यो। (भजन ७८:४०, ४१) नूहको दिनको जलप्रलयभन्दा अघि “मानिसहरूको दुष्टता बढी” भएको हुँदा यहोवा “मनमा साह्रै दुःखित हुनुभयो।” (उत्पत्ति ६:५, ६) यसको अर्थबारे विचार गर्नुहोस्‌। गलत मार्ग पछ्याउनुभयो भने, तपाईंले आफ्नो सृष्टिकर्तालाई दुःखी तुल्याउन सक्नुहुन्छ। यसको अर्थ परमेश्‍वर कमजोर हुनुहुन्छ वा उहाँ तुरुन्तै भावनामा बहनुहुन्छ भन्‍ने होइन। बरु, उहाँले तपाईंलाई माया गर्नुहुन्छ र तपाईंको हितबारे फिक्री गर्नुहुन्छ। अर्कोतर्फ, तपाईंले ठीक कुरा गर्नुभयो भने, यहोवाको हृदय आनन्दित हुन्छ। उहाँले शैतानलाई थप जवाफ दिन सक्ने भएकोले मात्र होइन तर उहाँ तपाईंको इनामदाता हुन सक्ने भएकोले उहाँ आनन्दित हुनुहुन्छ। अनि उहाँ इनामदाता बन्‍ने इच्छा पनि गर्नुहुन्छ। (हिब्रू ११:६) यहोवा परमेश्‍वर कत्ति मायालु पिता हुनुहुन्छ!

अहिले प्रशस्त आशिष्‌हरू

१३. यहोवाको सेवा गर्दा कसरी अहिले पनि आशिष्‌हरू पाइन्छ?

१३ यहोवाको सेवा गर्दा पाइने आशिष्‌हरू भविष्यमा मात्र पाइने होइनन्‌। यहोवाका साक्षीहरूमाझका थुप्रै युवाहरूले अहिले पनि आनन्द तथा सन्तुष्टिको आशिष्‌ पाएका छन्‌ र यसरी आशिष्‌ पाउनु उचित छ। “परमप्रभुका आदेश ठीक छन्‌, हृदयलाई आनन्द गराउने” भनी भजन रचयिताले लेखे। (भजन १९:८) हाम्रोलागि कुन कुरा राम्रो हुन्छ भनेर यहोवालाई जत्ति अरू कुनै पनि मानिसलाई थाह छैन। यशैया अगमवक्‍तामार्फत यहोवाले यसो भन्‍नुभयो: “म परमप्रभु तेरा परमेश्‍वर हुँ, जसले तेरो फायदाको निम्ति तँलाई सिकाउँछ। जसले तँ जाने बाटोमा तँलाई डोऱ्‍याउँछ। यदि तैंले मेरा आज्ञाहरू पालन गरेको भएता तेरो शान्ति नदीझैं र तेरो धार्मिकता समुद्रका छालहरूझैं हुनेथियो!”—यशैया ४८:१७, १८.

१४. बाइबल सिद्धान्तहरूले तपाईंलाई कसरी ऋणले निम्त्याउने दुःखबाट जोगिन मदत दिन सक्छ?

१४ बाइबल सिद्धान्तहरूअनुरूप चल्दा तपाईं थुप्रै दुःख-कष्टबाट जोगिन सक्नुहुनेछ। उदाहरणका लागि, रूपियाँ-पैसालाई प्रेम गर्नेहरूबारे बाइबल यसो भन्छ: “धेरै दुःखले तिनीहरूका हृदय छेंडेका हुन्छन्‌।” (१ तिमोथी ६:९, १०) के तपाईंका साथीहरूमध्ये कसैले यस शास्त्रपदको कटु सत्यता अनुभव गरेका छन्‌? नाउँ चलेका कम्पनीका लुगा तथा आधुनिक उपकरणहरू किन्‍नकै लागि थुप्रै युवायुवतीहरू ठूलो ऋणमा डुबेका छन्‌। आफ्नो औकातले नभ्याउने चीज किन्‍नको लागि कहिल्यै तिरेर नसिद्धिने र एकदमै चर्को व्याज भएको ऋणमा डुब्नु दासत्वको पीडादायी रूप हो।—हितोपदेश २२:७.

१५. यौन अनैतिकताको कारण आउने दुःखबाट बाइबल सिद्धान्तहरूले तपाईंलाई कसरी जोगाउँछ?

१५ यौन अनैतिकताबारे पनि विचार गर्नुहोस्‌। हरेक वर्ष संसारभर, विवाह नै नगरेका असंख्य किशोरीहरू गर्भवती हुन्छन्‌। कतिपयले बच्चा जन्माउँछन्‌ तर तिनीहरूको न बच्चा जन्माउने इच्छा हुन्छ न त हुर्काउने क्षमता नै। अरूले गर्भपात गर्छन्‌ र दोषी अन्तस्करणको बोझ बोकेर बाँच्छन्‌। अनि कतिपय युवायुवतीहरूचाहिं एड्‌सजस्ता यौनरोगले ग्रसित हुन्छन्‌। निस्सन्देह, यहोवालाई चिनेको व्यक्‍तिको लागि त सबैभन्दा खराब नतिजा भनेको यहोवासितको सम्बन्ध बिग्रनु हो।b (गलाती ५:१९-२१) त्यसैकारण त बाइबलले यसो भन्छ: “व्यभिचारदेखि अलग रहो।”—१ कोरिन्थी ६:१८.

“आनन्दित परमेश्‍वरको” सेवा गर्ने

१६. (क) तपाईंले आफ्नो युवावस्थाबाट आनन्द उठाएको यहोवा चहानुहुन्छ भनी हामी कसरी थाह पाउँछौं? (ख) यहोवाले तपाईंको लागि किन मार्ग-निर्देशन तय गरिदिनुहुन्छ?

१६ बाइबलले यहोवालाई “आनन्दित परमेश्‍वर” भनेर बताउँछ। (१ तिमोथी १:११, NW) उहाँ तपाईं पनि आनन्दित भएको चाहनुहुन्छ। वास्तवमा, उहाँको वचनले यसो भन्छ: “आफ्नो युवावस्थामा सुखी होऊ। तेरो बैंस छउञ्जेल सुख-चैन गर्‌।” (उपदेशक ११:९) तर यहोवाले भविष्यसमेत देख्नुका साथै असल तथा खराब दुवै आचरणहरूको दूरगामी प्रभावबारे पहिल्यै थाह पाउन सक्नुहुन्छ। त्यसैकारण उहाँले तपाईंलाई यस्तो सल्लाह दिनुहुन्छ: “दुःखको समय र वृद्धावस्था आउनअघिनै जब तैंले भन्‍नेछस्‌, ‘यिनमा मेरो मन लाग्दैन।’ आफ्नो युवावस्थामा आफ्ना सृष्टिकर्त्ताको सम्झना गर्‌।”—उपदेशक १२:१.

१७, १८. एक जना जवान मसीहीले यहोवाको सेवा गर्दाको आफ्नो आनन्द कसरी व्यक्‍त गरिन्‌ र तपाईं पनि कसरी यस्तै आनन्द प्राप्त गर्न सक्नुहुन्छ?

१७ आज, थुप्रै युवाहरूले यहोवाको सेवा गरेर ठूलो आनन्द पाएका छन्‌। उदाहरणका लागि, १५ वर्षीया लीना यसो भन्छिन्‌: “म आफ्नो शिर ठाडो राख्न सक्छु। धूम्रपान तथा लागू पदार्थबाट अलग रहेको कारण म स्वस्थ छु। मैले मण्डलीबाट बहुमूल्य मार्ग-निर्देशन प्राप्त गरेको छु र यसले मलाई शैतानका शक्‍तिशाली दबाबहरूको सामना गर्न मदत दिन्छ। राज्यभवनमा हुने उत्थानदायी संगतिको कारण मेरो अनुहार हँसिलो छ। सबैभन्दा ठूलो कुरा त, मसँग पार्थिव प्रमोदवनमा अनन्त जीवन पाउने सर्वोत्कृष्ट प्रत्याशा छ।”

१८ लीनाजस्तै थुप्रै मसीही युवाहरूले विश्‍वासको लागि कडा संघर्ष गरिरहेका छन्‌ र यसले तिनीहरूलाई आनन्दित तुल्याउँछ। कहिलेकाहीं जीवन चुनौतीपूर्ण भए तापनि आफ्नो जीवनको वास्तविक उद्देश्‍य तथा भविष्य छ भनी तिनीहरू महसुस गर्छन्‌। त्यसकारण, तपाईंको भलो चिताउनुहुने परमेश्‍वरको सेवा गरिरहनुहोस्‌। उहाँको हृदयलाई आनन्दित तुल्याउनुहोस्‌ अनि उहाँले तपाईंलाई अहिले र सदा-सर्वदाको लागि आनन्दित तुल्याउनुहुनेछ!—भजन ५:११.

[फुटनोटहरू]

a अक्टोबर २२, १९९६ अंकको अवेक!-मा प्रकाशित “सत्यले मलाई पुनर्जीवन दियो” भन्‍ने लेख हेर्नुहोस्‌।

b कसैले पश्‍चात्ताप गर्छ, गलत काम छोड्‌छ र आफ्नो पाप स्वीकार्छ भने, यहोवाले “त्यसलाई प्रशस्त गरी क्षमा गर्नुहुनेछ” भनेर थाह पाउनु सान्त्वनादायी छ।—यशैया ५५:७.

के तपाईंलाई सम्झना छ?

• तपाईंले “दुष्ट,” शैतानबाट कस्तो खतराको सामना गर्नुहुन्छ?

• यहोवाको हृदयलाई तपाईं कसरी आनन्दित तुल्याउन सक्नुहुन्छ?

• यहोवाले तपाईंको फिक्री गर्नुहुन्छ भनी बाइबलले कसरी देखाउँछ?

• यहोवाको सेवा गर्दा पाइने केही आशिष्‌हरू के-के हुन्‌?

[पृष्ठ १३-मा भएको पेटी/चित्र]

एक जना धर्मी मानिसलाई झन्डै ठेस पुग्छ

आसाप पुरातन इस्राएलमा यहोवाको मन्दिरका नामुद लेवी संगीतकार थिए। तिनले सार्वजनिक उपासनामा गाइने गीतहरूसमेत रचे। तथापि, तिनले अद्वितीय सुअवसरहरू पाएका भए तापनि आफ्ना साथीहरूले परमेश्‍वरका नियमहरू भंग गरेर पनि कुनै खराब नतिजा भोग्नु नपरेको देख्दा आसापले आफू आफ्ना साथीहरूको अधर्मी क्रियाकलापतर्फ आकर्षित भएको महसुस गरे। पछि, आसापले यस्तो स्वीकारोक्‍ति जाहेर गरे: “मेरा खुट्टा झण्डै ठेस लागेका थिए। मेरा पाइलाहरू चिप्लन लागेका थिए। किनकि दुष्टहरूको उन्‍नति देख्ता ती अहंकारीहरूको म डाही भएको थिएँ।”—भजन ७३:२, ३.

पछि, आसापले परमेश्‍वरको मन्दिरमा गएर यसबारे प्रार्थना गरे। नविकृत आध्यात्मिक दृष्टिकोणको कारण तिनले यहोवाले खराबीलाई घृणा गर्नुहुन्छ र समयमा दुष्ट र धर्मी दुवैले आ-आफूले छरेअनुसारै कटनी गर्नेछन्‌ भन्‍ने कुरा बुझे। (भजन ७३:१७-२०; गलाती ६:७, ८) साँच्चै नै दुष्टहरू चिप्लो ठाउँमा छन्‌। यहोवाले यस अभक्‍त रीतिरिवाजको विनाश गर्नुहुँदा अन्ततः तिनीहरूले पतन भोग्नेछन्‌।—प्रकाश २१:८.

[पृष्ठ १५-मा भएका चित्रहरू]

यहोवाले तपाईंको भलो चिताउनुहुन्छ तर शैतानको लक्ष्य भने तपाईंलाई निल्नु हो

[पृष्ठ १६-मा भएको चित्र]

सँगी मसीहीहरूसित मिलेर यहोवाको सेवा गर्दा थुप्रै युवाहरूले ठूलो आनन्द पाइरहेका छन्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने