प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w98 ४/१ pp. १०-१५
  • सबैका लागि उपयोगी किताब

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सबैका लागि उपयोगी किताब
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • संसारमा सबैभन्दा व्यापक वितरण भएको किताब
  • संरक्षणको विशिष्ट रेकर्ड
  • मानिसजातिको चलनचल्तीका भाषाहरूमा अनुवाद गर्नु
  • भरोसा गर्न योग्य
  • चलनचल्तीका भाषाहरूमा “कुरा गर्ने” किताब
    सबैका लागि उपयोगी किताब
  • यो किताब कसरी अहिलेसम्म अस्तित्वमा रह्‍यो?
    सबैका लागि उपयोगी किताब
  • के बाइबल परमेश्‍वर बाट आएको हो?
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
  • बाइबल हामीसम्म कसरी आइपुग्यो?
    ब्यूँझनुहोस्‌!: बाइबल हामीसम्म कसरी आइपुग्यो?
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
w98 ४/१ pp. १०-१५

सबैका लागि उपयोगी किताब

“परमेश्‍वरले मानिसहरूको पक्षपात गर्नुहुन्‍न, तर हरेक जातिमा जो उहाँसँग डराउँछ, र उचित काम गर्छ, त्यसलाई उहाँले स्वीकार गर्नुहुन्छ।”—प्रेरित १०:३४, ३५.

१. बाइबलप्रति कस्तो धारणा छ भनेर सोध्दा एक प्राध्यापकले कस्तो जवाफ दिए र तिनले के गर्ने निर्णय गरे?

आइतबार दिउँसो घरैमा बसेका त्यस प्राध्यापकले आफूलाई भेट्‌न कोही आउला भनेर सोचेकै थिएनन्‌। तर हाम्री मसीही बहिनी तिनको ढोका ढकढकाउन पुग्दा तिनले उनको कुरा सुने। उनले प्रदूषण र पृथ्वीको भविष्यबारे अर्थात्‌ तिनलाई मन पर्ने विषयमा कुरा गरिन्‌। तथापि, उनले जसै बाइबलतर्फ कुरा मोडिन्‌, तिनी अलि आलोचनात्मक भएजस्तो देखियो। त्यसैकारण, उनले बाइबलप्रति तिनको के धारणा छ भनेर सोधिन्‌।

“हुन त यो केही बुद्धिजीवीहरूले लेखेको पुस्तक हो,” तिनले जवाफ दिए, “तर बाइबललाई गम्भीरतापूर्वक लिनु हुँदैन।”

“के तपाईंले कहिल्यै बाइबल पढ्‌नुभएको छ?” उनले सोधिन्‌।

प्रश्‍न सुनेर प्राध्यापक अकमकाए। आफूले कहिल्यै बाइबल नपढेको कुरा तिनले स्वीकार्नै पऱ्‍यो।

त्यसपछि उनले सोधिन्‌: “त्यसोभए, आफूले कहिल्यै नपढेको किताबबारे कसरी त्यति ठूलो कुरा भन्‍न सक्नुभयो?”

हाम्री बहिनीको कुरा तर्कसंगत थियो। अतः त्यस प्राध्यापकले बाइबल पढेर मात्र त्यसबारे आफ्नो विचार पोख्ने निर्णय गरे।

२, ३. धेरैजसोका लागि बाइबल एउटा बन्द पुस्तक मात्र किन भएको छ र यसले हामीसमक्ष कस्तो चुनौती खडा गर्छ?

२ यस्तो विचार राख्ने व्यक्‍ति उक्‍त प्राध्यापक मात्रै होइनन्‌। त्यस्ता धेरै मानिसहरू छन्‌ जो बाइबल पढ्‌दै नपढिकन पनि आफ्नो विचार पोख्छन्‌। तिनीहरूसित बाइबल हुनसक्छ। तिनीहरूले बाइबलको साहित्यिक वा ऐतिहासिक मूल्य छ भनेर पनि स्वीकार्नसक्छन्‌। तर धेरैका लागि बाइबल एउटा बन्द पुस्तक भएको छ। कोही भन्छन्‌, ‘बाइबल पढ्‌ने फुर्सत छैन।’ अन्य कतिपय भने यसरी ताजुब मान्छन्‌, ‘यति पुरानो किताब अहिले मेरो जीवनमा कसरी उपयोगी हुनसक्ला र?’ यस्ता दृष्टिकोणहरूले हामीसमक्ष साँच्चै एउटा चुनौती खडा गर्छ। यहोवाका साक्षीहरू “परमेश्‍वरबाट प्रेरणा भएको” बाइबल “सिकाउनलाई . . . उपयोगी हुन्छ,” भन्‍ने दृढ विश्‍वास गर्छन्‌। (२ तिमोथी ३:१६, १७) त्यसो भए, जुनसुकै जाति, राष्ट्र वा वर्णको भए तापनि बाइबल मानिसजातिले एकपटक जाँचेर हेर्नैपर्ने किताब हो भनेर कसरी विश्‍वस्त गराउनसक्छौं?

३ आउनुहोस्‌, बाइबल जाँच्न योग्यको किन छ, त्यसका केही कारणहरू छलफल गरौं। यस्तो छलफलले सेवकाईमा भेटिने मानिसहरूसित तर्क गर्न हामीलाई सुसज्जित पार्नसक्छ। हुनसक्छ, हाम्रो तर्क सुनेर बाइबल जाँचेर हेर्नैपर्ने रहेछ भनेर तिनीहरूले स्वीकार्लान्‌। यसबाहेक, यो पुनरावलोकनले बाइबल वास्तवमा यसले दाबी गरेजस्तै “परमेश्‍वरको वचन” हो भन्‍ने कुरामा पनि हाम्रो विश्‍वासलाई दृढ बनाउन मदत गर्नुपर्ने हो।—हिब्रू ४:१२.

संसारमा सबैभन्दा व्यापक वितरण भएको किताब

४. बाइबललाई संसारमा सबैभन्दा व्यापक वितरण भएको किताब किन भन्‍न सकिन्छ?

४ बाइबल गौर गरेर हेर्नुपर्ने पुस्तक हुनुको पहिलो कारण, यो पुस्तक इतिहासभरि सबैभन्दा व्यापक वितरण भएको र सबैभन्दा बढी भाषाहरूमा अनुवाद गरिएको भएर हो। लगभग ५०० वर्षअघि योआनेस गुटेनबर्गको छापाखानामा मुभेबल टाइप प्रविधिद्वारा बाइबलको पहिलो संस्करण छापिएको थियो। त्यसउप्रान्त पूर्ण वा आंशिक रूपमा चार अरब बाइबलहरू छापिइसकिएको अनुमान छ। सन्‌ १९९६ सम्ममा बाइबल पूर्ण वा आंशिक रूपमा २,१६७ भाषाहरूमा अनुवाद भइसकेको थियो।a नब्बे प्रतिशतभन्दा धेरै मानिसहरूले बाइबलको एउटै अंश मात्र भए पनि आफ्नै भाषामा पढ्‌न पाएका छन्‌। धार्मिक होस्‌ वा अन्य, अरू कुनै पनि किताब बाइबल जति व्यापक वितरण भएको छैन!

५. बाइबल संसारभरिका मानिसहरूले सजिलै पाउनसक्छन्‌ भनेर किन आशा गर्नसक्छौं?

५ आँकडाहरूले मात्र बाइबल परमेश्‍वरको वचन हो भन्‍ने प्रमाण दिंदैन। तथापि, परमेश्‍वरद्वारा प्रेरित भएको अभिलेख संसारभरिका मानिसहरूले पाउनसक्ने हुनुपर्छ भनेर हामीले पक्कै पनि आशा गर्नुपर्ने हो। आखिर, बाइबल आफैले पनि “परमेश्‍वरले मानिसहरूको पक्षपात गर्नुहुन्‍न, तर हरेक जातिमा जो उहाँसँग डराउँछ, र उचित काम गर्छ, त्यसलाई उहाँले स्वीकार गर्नुहुन्छ” भन्छ। (प्रेरित १०:३४, ३५) अन्य किताबहरूको तुलनामा बाइबल सबै देशहरूमा पाइने अनि सबै जाति वा वर्णका मानिसहरूले पढ्‌नसक्ने किताब भएको छ। हो, साँच्चै बाइबल सबैका लागि उपयोगी किताब हो!

संरक्षणको विशिष्ट रेकर्ड

६, ७. बाइबलका मूल प्रतिहरू आज अस्तित्वमा नरहनु किन अचम्मलाग्दो छैन र यसले कुन प्रश्‍न खडा गर्छ?

६ बाइबल जाँचेर हेर्नुपर्ने अर्को कारण पनि छ। यसले प्राकृतिक तथा मानवीय दुवै थरिका बाधाहरू पार गरेको छ। बाइबलले यस्ता विकट बाधाहरू कसरी पार गऱ्‍यो त्यसको रेकर्ड पनि अन्य प्राचीन लेखहरूको भन्दा साँच्चै विशिष्ट छ।

७ प्राप्त प्रमाणअनुसार बाइबल लेखकहरूले पपाइरस (त्यही नाउँको मिश्री बिरुवाबाट बनेको) तथा चर्मपत्रमा (जनावरका छालाबाट बनेको) मसीले आफ्ना शब्दहरू कोरे।b (अय्यूब ८:११) तथापि, यस्ता साधनहरूका जन्मजात शत्रुहरू छन्‌। यस सन्दर्भमा विद्वान्‌ अस्कर पारेट यसरी व्याख्या गर्छन्‌: “लेख्नका निम्ति प्रयोग गरिने यी दुवै साधनलाई पानी, ढुसी र विभिन्‍न कीराहरूले सजिलै नाश गर्नसक्छन्‌। खुला हावा वा ओसिलो कोठामा कागज अनि बलियो से बलियो छालासमेत कसरी कुहिएर जान्छ, त्यो हामीलाई थाह भएकै कुरा हो।” त्यसैकारण, मूल प्रतिहरूमध्ये कुनै पनि आज अस्तित्वमा नहुनु स्वाभाविक हो। सम्भवतः ती धेरैअघि नै नाश भइसके। प्राकृतिक शत्रुहरूको कारण मूल प्रतिहरू नाश भएका भए, बाइबल अहिलेसम्म कसरी रहिरह्‍यो त?

८. शताब्दीयौंको दौडान बाइबल लेखोटहरू कसरी सुरक्षित राखिए?

८ मूल प्रतिहरू लेखिने बित्तिकै तिनका हस्त प्रतिलिपिहरू तयार पार्न थालिए। वास्तवमा पुरातन इस्राएलमा व्यवस्था तथा पवित्र धर्मशास्त्रका अन्य भागहरूको प्रतिलिपि तयार पार्नु एक किसिमको पेशा नै भयो। उदाहरणका लागि, पूजाहारी एज्रालाई “मोशाद्वारा दिनुभएको व्यवस्थामा . . . एक विशेषज्ञ थिए” भनेर वर्णन गरिएको छ। (एज्रा ७:६, ११; तुलना गर्नुहोस्‌ भजन ४५:१) तर ती प्रतिलिपिहरू पनि नाशवान्‌ वस्तुहरूमै तयार पारिएका थिए। फलतः समयमा ती प्रतिलिपिहरूका पनि अन्य प्रतिलिपिहरू बनाउनुपऱ्‍यो। यसरी प्रतिलिपिहरूको प्रतिलिपि बनाउने काम शताब्दीयौंसम्म चलिरह्‍यो। मानिसहरू सिद्ध नभएकाले कतै यी प्रतिलिपिकहरूको गल्तीहरूले बाइबलको मूल हावभाव नै परिवर्तन त गरेनन्‌? प्राप्त प्रशस्त प्रमाणहरूअनुसार गरेनन्‌!

९. प्रतिलिपिकहरूले कुन हदसम्म शब्दहरू ठीक ठीकसँग उतार्थे र त्यसको उदाहरण मेसोरेटहरूले कसरी पेश गरे?

९ यी प्रतिलिपिकहरू कुशल मात्र थिएनन्‌ तर आफूले नकल उतारिरहेका शब्दहरूको पनि गहिरो श्रद्धा गर्थे। “प्रतिलिपिक” भनिने हिब्रू शब्दले गन्‍ने अनि मात्र अभिलेख गर्ने भन्‍ने बोध गराउँछ। यी प्रतिलिपिकहरूले कुन हदसम्म शब्दहरू ठीक ठीकसँग उतार्थे त्यसको लागि सा.यु. छैटौंदेखि दसौं शताब्दीबीचका हिब्रू धर्मशास्त्र प्रतिलिपिक मेसोरेटहरूलाई विचार गर्नुहोस्‌। विद्वान्‌ थोमस हार्टवेल हर्नअनुसार तिनीहरूलाई “हिब्रू धर्मशास्त्रभरि कुन [हिब्रू] वर्ण कति पटक दोहरिएको छ” भनेर राम्ररी थाह थियो। यसो विचार गर्नुहोस्‌ त! बाइबलको एउटै अक्षर पनि नछुटोस्‌ भनेर यी समर्पित प्रतिलिपिकहरूले शब्दहरू मात्र होइन अक्षरहरूसमेत गन्थे। अझ एक जना विद्वान्‌अनुसार तिनीहरूले जम्माजम्मी हिब्रू धर्मशास्त्रका ८,१५,१४० अक्षरहरू गने! तिनीहरूको यस्तो मेहनतले गर्दा प्रतिलिपि बनाउँदा कुनै पनि शब्द छुटेन।

१०. आधुनिक अनुवादहरूको आधार हिब्रू तथा युनानी पदहरूले मूल लेखकहरूकै शब्दहरू पेश गरे भनेर विश्‍वास गर्न करै लाग्ने कस्तो प्रमाण छ?

१० आधुनिक अनुवादहरूको आधार हिब्रू तथा युनानी पदहरूले मूल लेखकहरूकै शब्दहरूसित मेल खाने पदहरू पेश गर्नु वास्तवमा उदेकलाग्दो प्रमाण हो। आज हाम्रो समयसम्म अस्तित्वमा रहिरहेका हिब्रू धर्मशास्त्रका झन्डै ६,००० जति पूरा वा आंशिक हस्तलिपि टुक्राहरू अनि मसीही युनानी धर्मशास्त्रका लगभग ५,००० हस्तलिपि टुक्राहरूले त्यसको प्रमाण दिन्छन्‌। हाल अस्तित्वमा रहेका धेरैजसो हस्तलिपिहरूको होसियारीसाथ तुलनात्मक विश्‍लेषण गर्न सकिएकोले विद्वान्‌हरूलाई प्रतिलिपिकहरूले गरेका गल्तीहरू पत्ता लगाएर मूल शब्दहरू चयन गर्न मदत मिलेको छ। अतः हिब्रू धर्मशास्त्रको पदबारे टिप्पणी गर्दै शास्त्रज्ञ विलियम एच. ग्रीनले यसो भन्‍न सके: “प्राचीन समयका कुनै पनि साहित्यिक कार्यलाई जस्ताको तस्तै हस्तान्तरण गरिएको छैन भनी दृढताका साथ भन्‍न सकिन्छ।” मसीही युनानी धर्मशास्त्रमाथि पनि यस्तै भरोसा व्यक्‍त गर्न सकिन्छ।

११. पहिलो पत्रुस १:२४, २५ अनुसार आज हाम्रो समयसम्म बाइबल कसरी अस्तित्वमा आउनसक्यो?

११ मूल प्रतिहरूका ठाउँमा हस्तलिपिहरू तयार नपारिएका भए बाइबल त्यसका बहुमूल्य सन्देशसँगसँगै कति सजिलै नाश हुनेथियो! बाइबल आजसम्मै रहिरहनुको एक मात्र कारण छ, त्यो हो—यहोवा आफ्नो वचनका संरक्षक हुनुहुन्छ। बाइबल आफैले १ पत्रुस १:२४, २५ मा भनेझैं: “सबै शरीर घाँसजस्तै हो, र तिनको सबै महिमा घाँसका फूलजस्ता। घाँस ओइलाउँछ, र फूल झरिहाल्छ, तर प्रभुको वचन ता सदा सर्वदा रहिरहन्छ।”

मानिसजातिको चलनचल्तीका भाषाहरूमा अनुवाद गर्नु

१२. शताब्दीयौंदेखि प्रतिलिपिहरूका प्रतिलिपिहरू बनाउँदा सामना गर्नुपर्ने बाधाको अलावा बाइबलले कस्तो बाधा पनि सामना गर्नुपऱ्‍यो?

१२ शताब्दीयौंसम्म प्रतिलिपिहरूका प्रतिलिपिहरू तयार पार्दा त्रुटीरहित हुनु चुनौतीपूर्ण थियो। तर बाइबलले त्यसमाथि अर्को बाधा पनि सामना गर्नुपऱ्‍यो। र त्यो बाधा थियो—समकालीन भाषाहरूमा बाइबल अनुवाद गर्नु। मानिसहरूको मन छुनसक्न बाइबलले चलनचल्तीका भाषाहरूमा कुरा गर्न सक्नैपर्छ। तथापि, १,१०० भन्दा बढी अध्याय अनि ३१,००० भन्दा बढी पदहरू भएको बाइबल अनुवाद गर्नु कम गाह्रो काम होइन। यद्यपि, शताब्दीयौंको दौडान समर्पित अनुवादकहरूले हेर्दा पारै नलाग्लाजस्तो देखिने बाधाहरूसामु स्वेच्छापूर्वक त्यो चुनौती स्वीकारे।

१३, १४. (क) अफ्रिकामा १९ औं शताब्दीको प्रारम्भतिर रबर्ट मोफटले कस्तो चुनौती सामना गर्नुपऱ्‍यो? (ख) आफ्नै भाषामा लूकारचित सुसमाचार पाउँदा स्वानाभाषी मानिसहरूले कस्तो प्रतिक्रिया जनाए?

१३ उदाहरणका लागि, अफ्रिकी भाषाहरूमा बाइबल कसरी अनुवाद गरियो विचार गर्नुहोस्‌। सन्‌ १८०० तिर सारा अफ्रिकाभरि लगभग एक दर्जन भाषाहरूको मात्रै लिपि थियो। अन्य सयौं चलनचल्तीका भाषाहरूको वर्णमाला थिएन। बाइबल अनुवादक रबर्ट मोफटले सामना गर्नुपरेको चुनौती यही थियो। सन्‌ १८२१ तिर २५ वर्षको कलिलो उमेरमा मोफटले दक्षिण अफ्रिकाको स्वानाभाषी मानिसहरूबीच आफ्नो मिसन सुरु गरे। लिपि नभएको उक्‍त भाषा सिक्न मोफट तिनीहरूसित घुलमिल भए। मोफट डटिरहे र अन्ततः कुनै परिचयात्मक पुस्तक वा शब्दकोशको मदतबिना नै तिनले भाषा सिकेरै छोडे, लिपि तयार पारे र केही स्वानाभाषीहरूलाई उक्‍त लिपि पढ्‌न सिकाए। स्वानाभाषी मानिसहरूबीच रहेर आठ वर्षजति काम गरेपछि अर्थात्‌ १८२९ मा तिनले लूकारचित सुसमाचार अनुवाद गरिसिध्याए। तिनले पछि यसो लेखे: “सन्त लूकाका प्रतिहरू लिन मानिसहरू सयौं किलोमिटर परदेखि आउँथे। . . . मानिसहरूले सन्त लूकाको किताबलाई छातीमा लगाएर रोएको, खुशीले आँखा भरिएको मैले देखें। कतिलाई त मैले ‘भैगो अब धेरै नरोओ, नत्रता तिम्रो किताब आँसुले भिजेर खत्तम हुनेछ,’ भन्‍नुपऱ्‍यो।” केही मानिसहरूले लूकारचित सुसमाचार पढिरहेको देखेर तिनीहरूसित त्यो के हो भनेर सोध्ने एक अफ्रिकी पुरुषबारे पनि मोफटले बताए। “यो परमेश्‍वरको वचन हो,” तिनीहरूले जवाफ दिए। त्यस पुरुषले सोधे, “के यसले कुरा गर्नसक्छ?” “सक्छ” तिनीहरूले भने, “यसले हाम्रो मनसित कुरा गर्छ।”

१४ मोफटजस्ता समर्पित अनुवादकहरूले धेरैजसो अफिक्रीहरूलाई तिनीहरूको पहिलो लिपि दिए। तर अनुवादकहरूले अफ्रिकीहरूलाई यो भन्दा पनि अझ बहुमूल्य उपहार दिए—त्यो थियो, तिनीहरूको आफ्नै भाषामा बाइबल। यसबाहेक, मोफटले स्वानाभाषीहरूलाई ईश्‍वरीय नाउँसित पनि परिचित गराए र आफ्नो अनुवादभरि त्यस नाउँ प्रयोग गरे।c यसप्रकार स्वानाभाषीहरूले बाइबललाई “यहोवाको बोली” पनि भन्‍न थाले।—भजन ८३:१८.

१५. आज बाइबल कसरी जीवित छ?

१५ संसारका अन्य भागहरूमा पनि अनुवादकहरूले यस्तै बाधाहरू सामना गर्नुपऱ्‍यो। बाइबल अनुवाद गर्न कसैकसैले आफ्नो ज्यानसमेत खतरामा पारे। यसो विचार गर्नुहोस्‌, बाइबल पुरातन हिब्रू तथा युनानी भाषामा मात्र भएको भए त्यो निकैअघि “मरिसक्थ्यो” किनकि समयको दौडान ती भाषाहरू बिर्संदै गइयो र पृथ्वीका कतिपय ठाउँहरूका मानिसहरूलाई त ती भाषाहरूबारे केही पनि थाह थिएन। यद्यपि, बाइबल जीवित छ किनकि अन्य पुस्तक विपरीत यसले संसारभरिका मानिसहरूसित तिनीहरूको आफ्नै भाषामा “कुरा गर्नसक्छ।” फलतः त्यसको सन्देशले “[यसमा] विश्‍वास गर्नेहरूमा काम पनि गर्दछ।” (१ थिस्सलोनिकी २:१३) द जेरूशलेम बाइबल-मा यी शब्दहरू यसरी अनुवाद गरिएका छन्‌: “तिमी विश्‍वास गर्नेहरूमा यो अझै पनि जीवित शक्‍ति नै हो।”

भरोसा गर्न योग्य

१६, १७. (क) बाइबल भरोसायोग्य हुनको लागि कस्तो प्रमाण हुनुपर्छ? (ख) बाइबल लेखक मोशाको निष्कपटताको एउटा उदाहरण दिनुहोस्‌।

१६ कसै कसैलाई खुलदुली लाग्ला, ‘के बाइबललाई साँच्चै पत्याउन सकिन्छ?’ बाइबलमा उल्लेख गरिएका मानिस, ठाउँ तथा वृत्तान्तहरू के वास्तविक हुन्‌? बाइबललाई भरोसा गर्ने हो भने त यो होसियार, इमानदार लेखकहरूले लेखेको किताब हो भन्‍ने प्रमाण पनि हुनुपर्छ। बाइबललाई जाँच्ने अर्को कारण यसले पेश गर्छ: बाइबल सही तथा भरोसायोग्य छ भन्‍ने ठोस प्रमाण छ।

१७ इमानदार लेखकहरू सफलताहरू मात्र होइनन्‌ असफलताहरूबारे पनि लेख्छन्‌, गुनहरू मात्र होइनन्‌ कमजोरीहरूबारे पनि लेख्छन्‌। यसैगरि बाइबलका लेखकहरूले यस्तै निष्पक्षता देखाए। उदाहरणका लागि, मोशाको स्पष्टवादीतालाई विचार गर्नुहोस्‌। तिनले केही नलुकाई लेखेका विवरणहरूमध्ये यी पनि पर्छन्‌: आफू ढंग पुऱ्‍याएर बोल्न नजानेको र तिनको आफ्नै विचारमा यो कमजोरीको कारण आफू इस्राएलीहरूको नेता हुन योग्य नभएको (प्रस्थान ४:१०); प्रतिज्ञा गरिएको देशमा प्रवेश गर्न नपाउनेगरि तिनले गरेका गम्भीर गल्ती (गन्ती २०:९-१२; २७:१२-१४); विद्रोही इस्राएलीहरूसँगसँगै लागेर सुनको बाछो बनाएर आफ्नै दाइ हारून भड्‌किएको (प्रस्थान ३२:१-६); दिदी मरियमको विद्रोह र तिनले भोग्नुपरेको लज्जास्पद सजाय (गन्ती १२:१-३, १०); नादाब र अबीहूले पवित्र कुरा बिटुलो पारेको (लेवी १०:१, २); अनि परमेश्‍वरका आफ्नै जनहरूले बारम्बार गुनासो तथा गनगन गरेको आदि। (प्रस्थान १४:११, १२; गन्ती १४:१-१०) यस्तो स्पष्ट तथा इमानदार विवरणले सत्यप्रतिको निष्कपट चासो व्यक्‍त गर्छ होइन र? बाइबलका लेखकहरूले आफ्ना प्रियजनहरू, आफ्नै जाति तथा आफ्नै विषयमा पनि नमीठा जानकारीहरू स्वेच्छापूर्वक लेखेका हुँदा तिनीहरूको कुरा पत्याउने पर्याप्त कारण मिल्दैन र?

१८. बाइबल लेखकहरूका लेखोट भरोसायोग्य छन्‌ भन्‍ने प्रमाण के ले दिन्छ?

१८ बाइबलका लेखकहरूको एकरूपताले पनि तिनीहरूको लेखोट भरोसायोग्य छ भनेर प्रमाणित गर्छ। लगभग १,६०० वर्षको अवधिमा ४० जना पुरुषहरूले लेखेका स-साना विवरणहरूमा समेत एकरूपता हुनु साँच्चै उल्लेखनीय छ। तथापि, जानीबुझीकन एकरूपता ल्याउन खोजिएको जस्तो नभेटिएको हुँदा कतै लेखकहरूबीच साँठगाँठ थियो भन्‍ने शंका गर्ने ठाउँ पनि देखिंदैन। तर अनजानमै विभिन्‍न विवरणहरू आपसमा मिल्न पुग्नु अक्सर स्पष्टतः संयोग मात्र भएको छ।

१९. सुसमाचारका पुस्तकहरूमा येशू गिरफ्तार हुनुभएको विषयको विवरण अनजानमै कसरी समान हुन गयो?

१९ उदाहरणका लागि, येशू गिरफ्तार हुनुभएको रातलाई विचार गर्नुहोस्‌। सुसमाचारका चारै लेखकहरूले एक जना चेलाले तरवार झिकेर प्रधानपूजाहारीको दासको कान च्वाट्टै पारे भनेर उल्लेख गरेका छन्‌। तर लूकाले मात्र येशूले “त्यसको कान छोएर . . . त्यसलाई निको पारिदिनुभयो” भनेर बताउँछन्‌। (लूका २२:५१) तर के हामी “प्रिय वैद्य लूका” भनेर चिनिएका लेखकले त्यसरी नै लेख्ने थिए भन्‍ने आशा गर्दैनथ्यौं त? (कलस्सी ४:१४) यूहन्‍नाले आफ्नो विवरणमा उपस्थित चेलाहरूमध्ये तरवार थुतेर जाइलाग्ने व्यक्‍ति पत्रुस थिए भनेर उल्लेख गरे। हडबडे तथा तुरुन्तै जोस्सिने बानी भएकोले पत्रुसले त्यसो गरे भन्‍ने सुन्दा अचम्म लाग्दैन। (यूहन्‍ना १८:१०; तुलना गर्नुहोस्‌, मत्ती १६:२२, २३ र यूहन्‍ना २१:७, ८) यूहन्‍ना हेर्दा त्यति महत्त्वपूर्ण नभएजस्तो देखिने अर्को विवरण पनि पेश गर्छन्‌: “त्यस दासको नाउँ माल्‌कस थियो।” किन यूहन्‍नाले मात्र त्यस मानिसको नाउँ उल्लेख गरे? यसको कारण पनि यूहन्‍नाले संयोगवश लेखेको सानो विवरणको केही सानो जानकारीले दिन्छ—यूहन्‍ना “प्रधान पूजाहारीका चिन्हारु थिए।” यूहन्‍ना प्रधानपूजाहारीको परिवारसित परिचित थिए र त्यहाँका दासहरूले तिनलाई र तिनले ती दासहरूलाई राम्ररी चिन्थे।d (यूहन्‍ना १८:१०, १५, १६) त्यसकारण, यूहन्‍नाले मात्र त्यस घाइतेको नाउँ उल्लेख गर्नु स्वाभाविकै हो। तर जहाँसम्म सुसमाचारका अन्य लेखकहरूको कुरा छ, तिनीहरूका लागि त्यो व्यक्‍ति अपरिचित थियो। त्यसैकारण तिनीहरूले नाउँ उल्लेख गरेनन्‌। यी सम्पूर्ण विवरणहरूबीच भएको एकरूपता उल्लेखनीय भए तापनि संयोगवश मात्र यसो भएका हुन्‌। बाइबलभरि यस्ता समानताका अनगिन्ती उदाहरणहरू छन्‌।

२०. इमानदार हृदय भएका मानिसहरूले बाइबलबारे के कुरा थाह पाउनु जरुरी छ?

२० अतः के हामी बाइबललाई पत्याउनसक्छौं? अवश्‍य सक्छौं! बाइबल लेखकहरूको निष्पक्षता र बाइबलको आन्तरिक सामञ्जस्यताले यसमा भएको सच्चाइलाई गुञ्जाउँछ। बाइबलमा भरोसा गर्न सकिन्छ भनेर इमानदार हृदय भएका मानिसहरूले थाह पाउनु जरुरी छ किनकि यो “परमप्रभु [“यहोवा,” NW], . . . सत्य परमेश्‍वर[को]” प्रेरित वचन हो। (भजन ३१:५) बाइबल सबैका लागि उपयोगी किताब किन हो यसका थप कारणहरू छन्‌ र यसबारे अर्को लेखमा छलफल गरिनेछ।

[फुटनोटहरू]

a युनाइटेड बाइबल सोसाइटीद्वारा प्रकाशित तथ्यांकहरूमा आधारित।

b रोममा दोस्रो पटक थुनिनुपर्दा पावलले तिमोथीलाई “पुस्तकहरू, विशेष गरी चर्मपत्रहरू” लिएर आउनु भनेका थिए। (२ तिमोथी ४:१३) थुनामा छँदा पढ्‌न पाइयोस्‌ भनेर पावलले हिब्रू धर्मशास्त्रको केही अंश मागिरहेका हुनसक्छन्‌। “विशेष गरी चर्मपत्रहरू” भन्‍ने अभिव्यक्‍तिले पपाइरसको मुठा र चर्मपत्र दुवैलाई जनाएको हुनसक्छ।

c सन्‌ १८३८ मा मोफटले मसीही युनानी धर्मशास्त्र अनुवाद गरिसिध्याए। अनि एक जना मित्रको सहयोग लिएर १८५७ मा तिनले हिब्रू धर्मशास्त्र अनुवाद गरे।

d प्रधानपूजाहारी र तिनको परिवारसित यूहन्‍नाको चिनापर्ची थियो भनेर त्यही विवरणमा पछि अझ राम्ररी खुलाएको छ। प्रधानपूजाहारीको अर्को दासले पत्रुसलाई येशूका चेलाहरूमध्ये एक जना हो भनेर ठहराउँदा यूहन्‍नाले त्यो आरोप लाउने व्यक्‍ति “जसको कान पत्रुसले काटेका थिए, त्यसको नातेदार” थियो भने।—यूहन्‍ना १८:२६.

तपाईं कस्तो जवाफ दिनुहुन्छ?

◻ बाइबल संसारभरि सजिलै प्राप्त गर्नसकिने पुस्तक हुनुपर्छ भनेर किन आशा गर्नसक्छौं?

◻ बाइबल जस्ताको तस्तै संरक्षित गरिएको छ भन्‍ने के प्रमाण छ?

◻ बाइबल अनुवाद गर्नेहरूले कस्ता बाधाहरूको सामना गर्नुपऱ्‍यो?

◻ बाइबल भरोसायोग्य छ भनेर के ले छाप लगाएको छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने