अध्याय १२९
पिलातस भन्छन्: “हेर, यो मानिस!”
मत्ति २७:१५-१७, २०-३० मर्कुस १५:६-१९ लुका २३:१८-२५ युहन्ना १८:३९–१९:५
पिलातस येसुलाई मुक्त गर्ने प्रयास गर्छन्
यहुदीहरू बरब्बालाई मुक्त गरिदिन भन्छन्
येसुलाई गिज्याउँछन् र दुर्व्यवहार गर्छन्
येसुलाई मृत्युदण्ड दिन चाहने भीडलाई पिलातसले यसो भने: “तिमीहरूले लगाएको आरोप प्रमाणित हुने कुनै आधार मैले यस मानिसमा फेला पारिनँ। वास्तवमा हेरोदले पनि फेला पारेनन्।” (लुका २३:१४, १५) अब येसुलाई जोगाउने प्रयासमा पिलातस अर्को तरिका अपनाउँछन्। तिनी भन्छन्: “निस्तार चाडको बेला मैले एक जना मानिसलाई मुक्त गर्नुपर्ने तिमीहरूको चलन छ। त्यसोभए के तिमीहरू मैले यहुदीहरूका राजालाई मुक्त गरिदिएको चाहन्छौ?”—युहन्ना १८:३९.
पिलातसलाई बरब्बा नाम गरेका एक जना कैदीबारे थाह छ। ऊ डाँकु, राजद्रोही र हत्यारा भनेर चिनिन्छ। त्यसैले पिलातस भीडलाई सोध्छन्: “तिमीहरू के चाहन्छौ, म बरब्बालाई मुक्त गरिदिऊँ कि ख्रिष्ट भनिने येसुलाई?” मुख्य पुजारीहरूको लहलहैमा लागेर मानिसहरू येसुलाई नभई बरब्बालाई मुक्त गरिदिन भन्छन्। पिलातस फेरि पनि सोध्छन्: “मैले यी दुईमध्ये कसलाई मुक्त गरेको तिमीहरू चाहन्छौ?” तिनीहरू “बरब्बालाई” भन्दै कराउँछन्।—मत्ति २७:१७, २१.
निराश हुँदै पिलातस यसो भन्छन्: “त्यसोभए ख्रिष्ट भनिने यस येसुलाई म के गरूँ त?” मानिसहरू यसो भन्दै चिच्याउँछन्: “त्यसलाई खम्बामा टाँग्नुहोस्!” (मत्ति २७:२२) निर्दोष मानिसको ज्यान लिने माग गर्नु कत्ति लाजमर्दो कुरा! पिलातस भीडलाई यसो भन्दै सम्झाउँछन्: “किन? यस मानिसले के खराब काम गऱ्यो र? उसले मृत्युदण्ड पाउनुपर्ने कुनै काम गरेको मैले फेला पारिनँ। त्यसैले म उसलाई सजाय दिएर छोडिदिन्छु।”—लुका २३:२२.
पिलातसले बारम्बार प्रयास गर्दा पनि त्यो क्रुद्ध भीड एकजुट भएर यसरी चिच्याउन थाल्छ: “त्यसलाई खम्बामा टाँग्नुहोस्!” (मत्ति २७:२३) धर्मगुरुहरूले भीडलाई यत्ति नराम्ररी भड्काएका छन् कि तिनीहरू रगतको प्यासी भएका छन्। हो, तिनीहरू कुनै अपराधी वा हत्याराको होइन, ती निर्दोष मानिसको ज्यान लिन चाहन्छन्, जसलाई पाँच दिनअघि यरुसलेममा राजाको रूपमा स्वागत गरिएको थियो। येसुका चेलाहरू त्यहीँ छन् भने पनि उनीहरू चुपचाप बस्छन्, कसैको ध्यान आफूतर्फ खिच्न चाहँदैनन्।
आफ्नो कोसिस सफल हुनुको सट्टा भीड झनै उत्तेजित हुन थालेको देखेर पिलातस पानी लिन्छन् अनि भीडले देख्नेगरि आफ्नो हात धुन्छन्। त्यसपछि यसो भन्छन्: “म यस मानिसको रगतको दोषबाट मुक्त छु। यसको जिम्मेवार अब तिमीहरू नै हौ।” तर तिनीहरू अझै पनि चिच्याउन छोड्दैनन्। उल्टै यसो भन्छन्: “त्यसको रगतको दोष हामी र हाम्रा सन्तानमाथि आइपरोस्।”—मत्ति २७:२४, २५.
ती राज्यपाललाई सत्यतथ्य राम्ररी थाह छ। तर तिनी जे सही हो, त्यो गर्नभन्दा पनि त्यस भीडको चित्त बुझाउन खोज्छन्। त्यसैले तिनीहरूको मागअनुसारै तिनी बरब्बालाई मुक्त गरिदिन्छन्। तर येसुलाई भने उहाँको लुगा फुकालेर कोर्रा लगाउने आदेश दिन्छन्।
यसरी निर्ममतापूर्वक कोर्रा लगाएपछि सिपाहीहरू येसुलाई राज्यपालको महलमा लैजान्छन्। त्यहाँ सेनाको पूरै टुकडी भेला हुन्छ र उहाँलाई अझै दुर्व्यवहार गर्छ। तिनीहरू काँडाको मुकुट उनेर उहाँको शिरमा पहिराइदिन्छन्। साथै तिनीहरू उहाँको दाहिने हातमा नर्कट थमाइदिन्छन् अनि उहाँलाई राजघरानाका मानिसहरूले लगाउने जस्तो बैजनी रङ्गको लुगा लगाइदिन्छन्। त्यसपछि यसो भन्दै उहाँलाई गिज्याउँछन्: “हे यहुदीहरूका राजा, प्रणाम!” (मत्ति २७:२८, २९) यति मात्र नभई तिनीहरू उहाँलाई थुक्छन् र पटक-पटक थप्पड हान्छन्। अनि उहाँको हातबाट नर्कट खोसेर उहाँको शिरमा हिर्काउँछन्, जसले गर्दा उहाँको बेइज्जत गर्न लगाइदिएको “मुकुट”-का तीखा-तीखा काँडाहरू उहाँको शिरको छालामा भित्रसम्मै गड्छन्।
यस्तो दुर्व्यवहार भोग्नुपर्दा समेत येसु शान्त रहनुहुन्छ अनि उल्लेखनीय साहस र आत्मसंयम देखाउनुहुन्छ। यो देखेर पिलातस अत्यन्तै प्रभावित हुन्छन्। येसुको मृत्युको दोषी हुनदेखि जोगिने प्रयासस्वरूप तिनी फेरि एक पटक यसो भन्छन्: “हेर, मैले उसमा कुनै दोष भेटिनँ भनी तिमीहरूले थाह पाओ भनेर मैले उसलाई बाहिर तिमीहरूकहाँ ल्याएको छु।” चोटैचोट लागेको र रक्ताम्मे हुनुभएको येसुलाई भीडसामु ल्याउँदा उनीहरूको मनमा दया जाग्ला कि भन्ने पिलातसले सोचेको हुनुपर्छ। येसु त्यो निर्दयी भीडसामु उभिनुहुँदा पिलातस यसो भन्छन्: “हेर, यो मानिस!”—युहन्ना १९:४, ५.
कुटाइ खाएर चोटै चोटले भरिए तापनि येसु शान्त रहनुहुन्छ र उल्लेखनीय गुणहरू देखाउनुहुन्छ। यो कुरा पिलातसले समेत नकार्न सक्दैनन्। उहाँका शब्दहरूमा आदर र दयाको भाव स्पष्टै झल्किएको छ।