लिडिया परमेश्वरको आतिथेय उपासक
पुरातन समयदेखि साँचो परमेश्वरका सेवकहरू तिनीहरूले देखाएको आतिथेयका लागि चिनिन्छन्। (उत्पत्ति १८:१-८; १९:१-३) आतिथ्यलाई “अपरिचित व्यक्तिहरूप्रति प्रेम, माया वा दया” भनी परिभाषित गरिएको छ र निष्कपट हृदयबाट प्रेरित आतिथ्य आज पनि साँचो मसीही धर्मको चिनारी हो। वास्तवमा, परमेश्वरलाई स्वीकार्य उपासना गर्ने सबैबाट यो माग गरिन्छ।—हिब्रू १३:२; १ पत्रुस ४:९.
उदाहरणीय ढंगमा आतिथ्य प्रदर्शन गर्ने एक व्यक्ति लिडिया थिइन्। फिलिप्पीमा भ्रमण गरिरहेका मसीही मिसनरीहरूलाई तिनले आफ्नो घरमा बस्न “कर लगाइन्।” (प्रेरित १६:१५) धर्मशास्त्रमा लिडियाबारे संक्षिप्तमा मात्रै उल्लेख गरिए तापनि तिनीबारे जे जति भनिएको छ, त्यो हाम्रोनिम्ति प्रोत्साहनदायी हुनसक्छ। कुन तरिकामा? लिडिया को थिइन्? हामीलाई तिनको विषयमा के थाह छ?
“बैजनी लुगा बेच्ने”
लिडिया म्यासिडोनियाको मुख्य शहर, फिलिप्पीमा बस्थिन्। तथापि, तिनी पश्चिमी एसिया माइनरको लिडिया प्रान्त, थाइआटीरा शहरकी बासिन्दा थिइन्। यसैकारण तिनलाई फिलिप्पीमा “लिडिया” भन्ने उपनाम दिइएको हो भन्ने कसै कसैको भनाइ छ। अर्को शब्दमा भन्ने हो भने, येशू ख्रीष्टले प्रचार गर्नुभएको स्त्रीलाई “सामरी आइमाई” भनेझैं तिनी “लिडियाली” थिइन्। (यूहन्ना ४:९) तिनले “बैजनी” लुगा वा यस रंगबाट रँगाइएका चीजबीजहरू बेच्थिन्। (प्रेरित १६:१२, १४) थाइआटीरा र फिलिप्पी दुवै ठाउँमा रञ्जकहरू थिए भनेर पुरातत्त्वविद्हरूले पत्ता लगाएका शिलालेखहरूबाट पुष्टि हुन्छ। लिडिया आफ्नो रोजगारी, आफ्नै व्यापार सँभाल्न वा थाइआटीराका रञ्जकहरूको प्रतिनिधिको रूपमा त्यहाँ बसाइँ सरेकी हुनसक्छ।
विभिन्न स्रोतहरूबाट बैजनी रंग निकाल्न सकिन्छ। सबैभन्दा महँगो चाहिं एक प्रकारको समुद्री शंखकीराबाट निकालिन्थ्यो। प्रथम शताब्दीका रोमी कवि मार्सलअनुसार टायरको (यो चीज उत्पादन गर्ने अर्को केन्द्र) सर्वोत्तम बैजनी रंगको पोशाकको मूल्य १०,००० सेस्टर्सस् वा २,५०० डिनारीसम्म पर्थ्यो जुन एक श्रमिकको २,५०० दिनको ज्याला बराबर हुन्थ्यो। स्पष्टतः, त्यस्ता पोशाकहरू विलासका वस्तुहरू थिए र थोरैले मात्र किन्न सक्थे। तसर्थ, लिडिया आर्थिक तवरमा सम्पन्न थिइन् होली। तर जे होस्, लिडियाले प्रेरित पावल तथा तिनका सँगीहरू लूका, सिलास, तिमोथी र शायद अरूको पनि अतिथि सत्कार गर्न सकिन्।
फिलिप्पीमा पावलको प्रचारकार्य
सा.यु. ५० तिर पावल पहिलो चोटि युरोप गए र फिलिप्पीमा प्रचार गर्न थाले।a नयाँ शहरमा पुगेपछि सर्वप्रथम सभाघरमा गएर त्यहाँ भेला भएका जन्मजात यहूदी तथा धर्म परिवर्तन गरेर यहूदी धर्म मानेकाहरूलाई प्रचार गर्ने पावलको चलनै थियो। (प्रेरित १३:४, ५, १३, १४; १४:१ तुलना गर्नुहोस्।) तथापि, केही जानकारीअनुसार रोमी व्यवस्थाले यहूदीहरूलाई फिलिप्पीको “पवित्र सिमाना[भित्र]” तिनीहरूको धर्म मान्न निषेध गर्थ्यो। त्यसैकारण, “केही दिन” त्यहाँ बिताएर विश्रामको दिनमा ‘प्रार्थना गर्ने ठाउँ त्यही हो भन्ने सम्झेर’ मिसनरीहरू शहरको मूलढोकाबाहिर नदीको किनारमा भेला भए। (प्रेरित १६:१२, १३) स्पष्टतः, यो ग्याङगटेस नदी थियो। मिसनरीहरू त्यहाँ पुग्दा स्त्रीहरू मात्रै थिए, जसमध्ये एक लिडिया थिइन्।
“ईश्वर-भक्त”
लिडिया “ईश्वर-भक्त” थिइन् तर धार्मिक सत्यको खोजीमा तिनले यहूदी धर्म अपनाएकी हुनसक्छ। आफ्नो रोजगारी राम्रो भए तापनि लिडिया भौतिकवादी थिइनन्। बरु तिनले आध्यात्मिक कुराको लागि समय छुट्याउँथिन्। “पावलले बोलेका कुरा ध्यानसित सुनून् भनेर प्रभुले तिनको हृदय खोलिदिनुभयो” र लिडियाले सत्य स्वीकारिन्। भनौं भने, ‘तिनी र तिनको परिवार सबैले बप्तिस्मा लिए।’—प्रेरित १६:१४, १५.
लिडियाको परिवारका अन्य सदस्यहरू को थिए भनी बाइबलले स्पष्टसित बताउँदैन। तिनको पतिबारे कतै उल्लेख नभएको हुँदा तिनी अविवाहित वा विधवा थिइन् होली। शायद तिनको “परिवार” भनेको नातेदारहरू हुनसक्छन् तर यो अभिव्यक्ति दास वा नोकरहरूमा पनि लागू हुनसक्छ। जे होस्, आफूले सिकेका कुराहरू तिनीसित बस्ने अरू सबैलाई लिडियाले जोशका साथ बताइन्। तिनीहरूले पनि विश्वास गरेर साँचो धर्म ग्रहण गर्दा तिनी कति आनन्दित भइन् होली!
“तिनले हामीलाई कर लगाइन्”
लिडियालाई भेट्नुअघि मिसनरीहरू शायद आफ्नै खर्चमा डेरामा बस्नुपर्थ्यो। तर तिनी आवासको विकल्प दिन पाएकोमा खुशी थिइन्। तिनले कर लगाउनु परेको तथ्यबाट पावल अनि तिनका सँगीहरूले केही हदसम्म इन्कार गरेको हुनसक्ने संकेत पाउँछौं। किन? पावल ‘सुसमाचारमा भएको हकको पूरा उपयोग नगर्नलाई सुसमाचार सुनाउँदा सुसमाचारलाई मोल विनाको तुल्याउन’ चाहन्थे र कसैमाथि बोझ बन्न चाहँदैनथिए। (१ कोरिन्थी ९:१८; २ कोरिन्थी १२:१४) तर लूका अझ यसो भन्छन्: “जब तिनी र तिनको परिवार सबै बप्तिस्मा भए, तब तिनले यसो भनेर हामीलाई बिन्ती गरिन्, ‘यदि तपाईंहरूले मलाई प्रभु-भक्त हो भनी ठान्नुहुन्छ भने मेरो घरमा आउनुहोस्, र त्यहीं बस्नुहोस्।’ औ तिनले हामीलाई कर लगाइन्।” (प्रेरित १६:१५) लिडियालाई सबैभन्दा चिन्ताको विषय नै यहोवाप्रति विश्वासी रहनु थियो र आतिथ्य देखाउनु तिनको विश्वासको प्रमाण थियो भनी स्पष्ट हुन्छ। (१ पत्रुस ४:९ तुलना गर्नुहोस्।) कस्तो अत्युत्तम उदाहरण! के हामी पनि सुसमाचारसम्बन्धी कार्यहरू बढाउन आफ्ना सम्पत्तिहरू चलाउँछौं?
फिलिप्पीका भाइहरू
भूत लागेको दासी केटीसित सम्बन्धित घटनापछि पावल र सिलास झ्यालखानाबाट निस्केर लिडियाको घरमा फर्कंदा त्यहाँ तिनीहरूले केही भाइहरूलाई भेटे। (प्रेरित १६:४०) भर्खरै स्थापित फिलिप्पीको मण्डलीका विश्वासीहरूले लिडियाको घरलाई नियमित तवरमा भेट्ने ठाउँको रूपमा चलाएको हुनसक्छ। तिनको घर, त्यस शहरको ईश्वरतान्त्रिक गतिविधिहरूको केन्द्रबिन्दु रह्यो भनी सोच्नु तर्कसंगत छ।
सुरुमा लिडियाले देखाएकी न्यानो आतिथ्य सम्पूर्ण मण्डलीको नै विशेषता साबित भयो। आफ्नो गरिबीको बावजूद फिलिप्पीहरूले पावललाई आवश्यक चीजबीजहरू धेरै चोटि पठाए र त्यसको लागि तिनी कृतज्ञ थिए।—२ कोरिन्थी ८:१, २; ११:९; फिलिप्पी ४:१०, १५, १६.
पावलले फिलिप्पीहरूलाई सा.यु. ६०-६१ तिर पठाएको चिठीमा लिडियाको नाउँ उल्लेख गरिएको छैन। प्रेरित अध्याय १६ मा बताइएका घटनाहरूपछि तिनलाई के भयो, धर्मशास्त्रले प्रकट गरेको छैन। तैपनि, यस प्रभावशाली स्त्रीबारे संक्षिप्तमा जे जति उल्लेख गरिएको छ, त्यसले हामीलाई “अतिथि-सत्कार कायम राख्न” उत्सुक गराउँछ। (रोमी १२:१३) हाम्रो माझ लिडियाजस्ता मसीहीहरू पाएकोमा हामी कति कृतज्ञ छौं! तिनीहरूको यस्तो मनोवृत्तिले मण्डलीहरूलाई न्यानो र मित्रैलो बनाउन निकै योगदान पुऱ्याउँछ र परिणामस्वरूप यहोवा परमेश्वरको महिमा हुन्छ।
[फुटनोट]
a म्यासिडोनियाका मुख्य शहरहरूमध्ये फिलिप्पी तुलनात्मक रूपमा सम्पन्न सैनिक उपनिवेश हुनुका साथै यहाँ यस इटालेकुम-को (पुरातन इटालेली प्रणाली) शासन लागू थियो। यस विधानले गर्दा फिलिप्पीहरूले रोमी नागरिकहरूसरह नै अधिकारहरू पाएका थिए।—प्रेरित १६:९, १२, २१.
[पृष्ठ २८-मा भएको पेटी]
फिलिप्पीमा यहूदीहरूको जीवन
जन्मजात यहूदी तथा यहूदी धर्म अपनाउने व्यक्तिहरूका लागि फिलिप्पीमा जीवन सजिलो नभएको हुनुपर्छ। यहूदीहरूप्रति प्रतिशोधको भावना भएको हुनसक्छ किनभने पावलको भ्रमणको लगत्तैपछि सम्राट क्लौदियसले यहूदीहरूलाई रोमबाट देशनिकाला गरेका थिए।—प्रेरित १८:२ तुलना गर्नुहोस्।
उल्लेखनीय कुरा, जोखना हेर्ने विद्या भएकी दासी केटीलाई निको पारेकोले पावल र सिलासलाई न्यायाधीशहरूकहाँ तान्दै लगेका थिए। तिनका मालिकहरूले अब कमाइको लाभप्रद स्रोत बन्द भएको देखेर आफ्ना सँगी नागरिकहरूको पूर्वाग्रहको नाजायज फाइदा उठाउँदै यसो भने: “यी मानिसहरू यहूदी भईकन पनि हाम्रो शहरमा साह्रो हलचल मच्चाउँछन्। औ यस्ता यस्ता रीति-थितिहरू सिकाउँछन् जो ग्रहण गर्न र मान्न हामी रोमीहरूलाई उचित हुँदैन।” फलस्वरूप पावल र सिलासलाई छडीले पिटेर झ्यालखानामा हाले। (प्रेरित १६:१६-२४) त्यस्तो अवस्थामा यहूदीहरूका परमेश्वर, यहोवालाई खुलेआम उपासना गर्न साहस चाहिन्थ्यो। तर आफू भिन्न हुनु परेकोमा लिडियालाई कुनै डर थिएन भनी स्पष्ट देखिन्छ।
[पृष्ठ २७-मा भएको चित्र]
फिलिप्पीको पतन