स्वर्गदूतहरूबारे यथार्थ कुरा
कुनै व्यक्तिसित परिचित हुन सामान्यतः उसको परिवारबारे केही जान्नुपर्छ। यहोवा परमेश्वरलाई चिन्नु पनि त्यस्तै हो। हामीले उहाँको नाउँ जानेर मात्र पुग्दैन। हामीले उहाँको स्वर्गीय “परिवार[बारे]” पनि केही जान्नुपर्छ। (एफिसी ३:१४, १५ तुलना गर्नुहोस्।) बाइबलले स्वर्गदूतहरूलाई परमेश्वरका “छोराहरू” भनी सम्बोधन गर्छ। (अय्यूब १:६) त्यसैले बाइबलमा तिनीहरूले निर्वाह गरेका उल्लेखनीय भूमिकालाई ध्यानमा राख्दै परमेश्वरले तिनीहरूलाई सृष्टि गर्नुको उद्देश्य के हो, हामीसित त्यो जान्ने इच्छा हुनुपर्छ।
संस्कृतिको एउटा नयाँ हाँगा पलाउँदैछ। अधिकांश मानिसहरू स्वर्गदूतमाथि आफ्नो विश्वास व्यक्त गर्नुका साथै कुनै न कुनै तरिकाबाट स्वर्गदूतको सम्पर्कमा आएको दाबीसमेत गर्छन्। पाँच सय अमेरिकीहरूलाई “के तपाईंले व्यक्तिगत तवरमा स्वर्गदूतको उपस्थिति महसुस गर्नुभएको छ” भनी प्रश्न गर्दा झन्डै एक तिहाइ मानिसहरूले सकारात्मक जवाफ दिए। अचम्मलाग्दो कुरा त के छ भने थुप्रै युवक युवतीहरूले समेत स्वर्गदूतमाथि विश्वास गर्न थालेका छन्। संयुक्त राज्यमा लिएको गणनाअनुसार ७६ प्रतिशत युवक युवतीहरू स्वर्गदूतमाथि आफ्नो विश्वास भएको दाबी गर्छन्। स्पष्ट छ, स्वर्गदूतहरूप्रति मानिसहरूको चासो छ। तर अहिले मानि- सहरूले स्वर्गदूतहरूप्रति राखेको धारणा बाइबलको सच्चाइसित कत्तिको मेल खान्छ त?
शैतानको अस्पष्ट भूमिका
स्वर्गदूतहरूबारे कुरा गर्दा हामीले दुष्ट स्वर्गदूतहरूलाई भुल्नु हुँदैन। बाइबलअनुसार यी स्वर्गदूतहरू परमेश्वरको विद्रोह गर्ने स्वर्गीय प्राणीहरू हुन्। यिनीहरूमध्ये अग्रपंक्तिमा शैतान आउँछ। यद्यपि, आस्क योर एन्जेल्स नामक लोकप्रिय पुस्तकअनुसार शैतान, मानिसहरूलाई निरन्तर प्रलोभनमा पारेर तिनीहरूको “आध्यात्मिक बल” बढाउन मदत गर्ने “परमेश्वरको एउटा पक्ष मात्र हो।” लेखकहरू अझ के भन्छन् भने शैतानको “मायालु मनसाय” हुँदाहुँदै पनि शताब्दीयौंसम्म मानिसहरूले तिनलाई दुष्ट सम्झेर गलत अर्थ लगाएका छन्। तिनीहरूको विचारअनुसार शैतान तथा येशू “एकअर्काको पूरक नभए तापनि तिनीहरूको एउटै लक्ष्य छ र तिनीहरू दुवै एउटै व्यक्तिका दुइ अभिन्न भागहरू हुन्।” कुरा सुन्दा त छक्क लाग्छ तर बाइबलले के भन्छ?
बाइबलले स्पष्टसित भन्छ, शैतान “परमेश्वरको पक्ष” नभई शत्रु हो। (लूका १०:१८, १९; रोमी १६:२०) त्यसले यहोवाको सार्वभौमिकतालाई चुनौती दिन्छ र मानवप्रति त्यसको मनसाय रत्तिभर “मायालु” छैन। परमेश्वरका पार्थिव सेवकहरूमाथि त्यसले निर्दयीपूर्वक आफ्नो रीस पोखाउँछ। त्यसले परमेश्वरसमक्ष दिनरात तिनीहरूलाई दोष लगाउँछ!a (प्रकाश १२:१०, १२, १५-१७) शैतान हरहालतमा तिनीहरूलाई भ्रष्ट बनाउन चाहन्छ। त्यसले कुनै दयामाया नगरी धर्मी पुरुष अय्यूबलाई दिएको सतावटले मानवप्रति त्यसको कठोर मनोवृत्ति उदांग पारेको थियो।—अय्यूब १:१३-१९; २:७, ८.
कुनै रीतिले पनि शैतान र येशूको “एउटै लक्ष्य छैन।” वास्तवमा तिनीहरू एकअर्काका घोर शत्रुहरू हुन्। भनौं भने बालक येशूलाई खतम पार्न हेरोदलाई शिशुहत्या गर्न उक्साउने वास्तवमा त्यही शैतान थियो। (मत्ती २:१६-१८) अनि येशूको मृत्यु नहोऊञ्जेल त्यसले निरन्तर घातक आक्रमण गरिरह्यो। (लूका ४:१-१३; यूहन्ना १३:२७) तसर्थ, शैतान तथा येशू “एउटै व्यक्तिको अनन्य पक्ष” हुनु त परै जाओस् तिनीहरू वास्तवमा एकअर्काका घोर शत्रुहरू हुन्। र बाइबलको भविष्यवाणीअनुसार तिनीहरूबीचको शत्रुता पन्छाउन सकिने कुरा थिएन। (उत्पत्ति ३:१५) अतः पुनरुत्थान हुनुभएको येशूले परमेश्वरले तोक्नुभएको समयमा शैतानलाई नाश गर्नु सुहाउँदो कुरा हो।—प्रकाश १:१८; २०:१, १०.
प्रार्थना कसलाई?
स्वर्गदूतसित सम्बन्धित गतिविधिका केही समर्थकहरू स्वर्गदूतहरूसँग सम्पर्क राख्न मनन गर्ने तथा अन्य तरिकाहरू अपनाउने सुझाव दिन्छन्। एउटा पुस्तकअनुसार “अलौकिक परिवारको कुनै पनि सदस्यसित सम्पर्क राख्न निष्कपट बिन्ती गरेमा अवश्य ग्रहण गरिनेछ। बिन्ती गर्नुहोस्, जवाफ पाउनुहुनेछ।” माइकल, गब्रिएल, युरियल र रफाएल उपरोक्त पुस्तकले सोधपुछ गर्न सुझाव दिएका स्वर्गदूतहरूमध्ये केही हुन्।b
तथापि, येशूले आफ्ना अनुयायीहरूलाई स्वर्गदूतहरूलाई नभई परमेश्वरलाई प्रार्थना गर्न सिकाउनुभएको थियो। (मत्ती ६:९, १०) त्यस्तैगरि पावलले लेखे: “सबै कुरामा धन्यवादसाथ प्रार्थना र अन्तरबिन्तीमा तिमीहरूका माग परमेश्वरमा जाहेर होस्।” (फिलिप्पी ४:६) तसर्थ, मसीहीहरू यहोवाबाहेक अरू कसैलाई प्रार्थना गर्दैनन् र त्यो पनि येशू ख्रीष्टको नाउँमा मात्र।c—यूहन्ना १४:६, १३, १४.
धर्म नभएका स्वर्गदूतहरू?
एन्जेलवाच नेटवर्कका अध्यक्ष इलिन इलियास फ्रिम्यानअनुसार “स्वर्गदूतहरूलाई संसारको कुनै पनि धर्म, दर्शन र मतले असर गर्दैन। वास्तवमा हामीलाई थाह भएसम्म स्वर्गदूतहरूको कुनै धर्म छैन।”
तथापि, विश्वासी स्वर्गदूतहरूको धर्म छ भनेर बाइबलले स्पष्टसित बताउँछ। अरू कुनै देउताले प्रतिद्वन्द गरेको नसहनुहुने साँचो परमेश्वर यहोवालाई तिनीहरू उपासना चढाउँछन्। (व्यवस्था ५:६, ७; प्रकाश ७:११) तसर्थ, त्यस्तै विश्वासी स्वर्गदूतले आफू परमेश्वरका आज्ञा मान्ने मानिसहरूको “सह-कर्मी” हुँ भनी प्रेरित यूहन्नालाई बताए। (प्रकाश १९:१०) विश्वासी स्वर्गदूतहरूले अरू कुनै किसिमको उपासना गरेको बाइबलमा कतै पाइँदैन। तिनीहरू यहोवालाई ऐकान्तिक भक्ति चढाउँछन्।—प्रस्थान २०:४, ५.
“झूटको पिता”
स्वर्गदूतसँग भएका थुप्रै तथाकथित भेटघाटहरू मृतक मानिसहरूसँग गरिने कुराकानीसँग सम्बन्धित हुन्छन्। उदाहरणको लागि एलिस नाउँ गरेकी स्त्री आफूले एक किसिमको संकेत वा शकुन पाएजस्तो लागेपछिको अनुभव यसरी बताउँछिन्, “अन्ततः मेरो काकाले आफू सुखी भएको कुरा बताउने मौका पाउनुभएको जस्तो लाग्यो।” टेरी नाउँ गरेकी स्त्रीले पनि आफ्नो प्रिय मृत मित्रबारे त्यस्तै महसुस गरेको बताउँछिन्। तिनी भन्छिन्, “अन्त्येष्टिको एक हप्तापछि तिनी मकहाँ आए। मलाई त्यो सपनाजस्तै लाग्यो। तिनले आनन्द र शान्ति पाएको हुँदा मलाई दुःखी नहुनु भने।”
तर बाइबलले मरेका मानिसहरू “केही पनि जान्दैनन्” भनेर बताउँछ। (उपदेशक ९:५) जुन दिन मानिसको मृत्यु हुन्छ “त्यही दिन त्यसका युक्तिहरू नष्ट भइहाल्छन्” भनेर पनि त्यसले बताउँछ। (भजन १४६:४) तथापि, शैतान “झूटको पिता” हो। (यूहन्ना ८:४४) मृत्युपश्चात् मानव प्राण जीवित रहन्छ भन्ने झूटको आरम्भक पनि त्यही हो। (इजकिएल १८:४ तुलना गर्नुहोस्।) थुप्रै मानिसहरूले आज त्यसको त्यो झूट विश्वास गर्छन् र त्यो शैतानलाई मन पनि पर्छ। किनभने त्यस्तो झूटले मसीही धर्मको आधारभूत सिद्धान्त अर्थात् पुनरुत्थानमाथिको विश्वासलाई बेकाम तुल्याउँछ। (यूहन्ना ५:२८, २९) मृत मानिसहरूसित सोधपुछ गर्नु वा तिनीहरूबाट तथाकथित सन्देश प्राप्त गर्न खोज्नु स्वर्गदूतसित सम्बन्धित गतिविधिको अर्को पक्ष हो। परमेश्वरले त्यसलाई अनुमोदन दिनुहुन्न।
सम्पर्क स्वर्गदूतहरूसित हो वा प्रेतहरूसित?
स्वर्गदूतसित सम्बन्धित अधिकांश वर्तमान गतिविधिहरू तन्त्रमन्त्रसित सम्बन्धित हुन्छन्। उदाहरणका लागि, मार्सियाको अनुभवलाई विचार गर्नुहोस्। तिनी यसो भन्छिन्, “सन् १९८६ को सेप्टेम्बरदेखि डिसेम्बरसम्म मैले ‘अलौकिक’ सन्देशहरू पाउन थालें। म अचम्मलाग्दा कुराहरू देख्थें र सपनामा पनि ‘पूर्व जुनीका’ थुप्रै दृश्यहरू देख्थें। मैले मरिसकेका मित्रहरूसँग सम्पर्क राखें र अरू थुप्रै मानसिक अनुभवहरू गरें अनि कुनै मानिसलाई भेट्नुअघि नै तिनीबारे कतिपय कुराहरू थाह पाउँथे। मैले आत्मिक शक्तिद्वारा लेख्ने अवसर पनि पाएँ र आत्मिक व्यक्तिहरूद्वारा मेरा सन्देशहरू पठाएँ। तिनीहरूमध्ये कसै कसैलाई मैले पहिले कहिल्यै भेटेकी थिइनँ। तिनीहरूले पनि मद्वारा अरूलाई सन्देश पठाउँथे।”
तन्त्रमन्त्रद्वारा स्वर्गदूतहरूसित सम्पर्क राख्नु कुनै असामान्य कुरा होइन। एक जना लेखक त आफ्नो पाठकहरूलाई जादूई पत्थर, भाग्य बताउने तास, इ जींग सिक्का, हस्तरेखा र ज्योतिष विद्याको निसंकोच सहयोग लिन प्रोत्साहन गर्छन्। तिनी अझ यो लेख्छन्, “आत्मिक संसारसित सम्पर्क राख्ने सही ठाउँमा पुग्न तपाईंको अन्तरात्मालाई चलाउनुहोस् र स्वर्गदूतलाई भेट्नुहुनेछ भनी भरोसा गर्नुहोस्।”
तथापि, ‘तपाईंलाई भेट्न’ जो सुकै आए तापनि त्यो परमेश्वरको स्वर्गदूत हुनै सक्दैन भनेर बाइबलले बताउँछ। किन? किनभने तन्त्रमन्त्र पूर्णतया परमेश्वरको नियम विपरित छ र स्वर्ग तथा पृथ्वी दुवै ठाउँका साँचो उपासकहरू त्यससित कुनै सरोकार राख्दैनन्। अझ भनौं भने, इस्राएलमा तन्त्रमन्त्र गर्ने व्यक्तिले मृत्यु दण्ड पाउँथ्यो। इस्राएललाई दिइएको व्यवस्थाअनुसार “यस्तो काम गर्ने व्यक्ति परमप्रभुको अगि घृणित हो।”—व्यवस्था १३:१-५; १८:१०-१२.
“ज्योतिर्मय स्वर्गदूत”
दियाबलले तन्त्रमन्त्र जस्तो कुरालाई लाभदायी वा स्वर्गदूतीयजस्तो देखाउनसक्नु कुनै अचम्मको कुरा होइन। किनकि शैतानले “आफैलाई ज्योतिर्मय स्वर्गदूतहरूको भेषमा परिवर्त्तन गर्दछ” भनेर बाइबलले बताउँछ। (२ कोरिन्थी ११:१४) त्यसले भविष्यमा हुनसक्ने अनिष्टकारी कुराबारे पूर्व संकेत दिएर त्यसलाई पूरा गर्नसक्छ। जसले गर्दा देख्ने मानिसहरू त्यो संकेत परमेश्वरबाट आएको हो भन्ने भ्रममा पर्छन्। (मत्ती ७:२१-२३ तुलना गर्नुहोस्; २ थिस्सलोनिकी २:९-१२) तर शैतानले गर्ने कुनै पनि काम जति नै असल वा अनिष्टकारी देखियोस् त्यसपछाडि त्यसको यी दुइमध्ये एक उद्देश्य लुकेको हुन्छ। त्यो हो, या त मानिसहरूलाई यहोवाको विरुद्धमा लैजाने वा ‘ख्रीष्टको महिमाको सुसमाचार तिनीहरूमाथि नचम्कोस् भनेर’ तिनीहरूको मानसिकतालाई अन्धा बना- उने। (२ कोरिन्थी ४:३, ४) मानिसहरूलाई झुक्याउने यो पछिल्लो तरिका चाहिं प्रायः असाध्यै प्रभावकारी हुन्छ।
उदाहरणका लागि, प्रथम शताब्दीको एउटी दासीबारे बाइबलले दिने विवरणलाई विचार गर्नुहोस्। तिनको पूर्वानुमानले गर्दा मालिकहरूले निकै फाइदा उठाइरहेका थिए। एकचोटी निकै दिनसम्म चेलाहरूलाई पछ्याउँदै यसो भन्दै चिच्चाए: “यी मानिसहरू परमेश्वरका सेवकहरू हुन्। यिनीहरूले तिमीहरूलाई मुक्तिको बाटो बताउँछन्।” तिनले साँचो कुरा भनिरहेकी थिइ। तर तिनी स्वर्गदूतको होइन तर “दुष्टात्मा[को]” वशमा थिइ भनेर विवरणले बताउँछ। अन्ततः पावलले “फनक्क फर्की त्यस दुष्टात्मालाई भने, ‘येशू ख्रीष्टको नाउँमा म तँलाई त्यसबाट निस्कने आज्ञा गर्दैछु।’ अनि त्यो त्यही घड़ी निस्किहाल्यो।”—प्रेरित १६:१६-१८.
पावलले किन त्यो केटीलाई दुष्टात्माबाट मुक्त गरे? आखिरमा, के त्यही दुष्टात्माले गर्दा केटीको मालिकले निकै आम्दानी गर्न पाएको थिएन र? शायद अलौकिक शक्ति पाउने त्यो दासीले किसान, कन्या र खानी खोज्ने मानिसहरूलाई कहिले रोप्ने, विवाह गर्ने वा कहाँ सुन खोज्ने भन्दो हो। भनौं भने त्यही दुष्टात्माले त्यस दासीलाई जनसमक्ष चेलाहरूको प्रशंसा गर्न लगाएर केही सत्य कुरा बोलेको थियो!
तैपनि, त्यो “दुष्टात्मा” नै थियो। त्यसैकारण, यहोवा वा उहाँले प्रबन्ध गर्नुभएको छुटकाराबारे घोषणा गर्ने हक त्यसलाई थिएन। त्यसको त्यस्तो प्रशंसाले गर्दा शायद त्यस दासीको कुरामाथि अझ विश्वास बढेको हुनसक्छ र ख्रीष्टका साँचो अनुयायीहरूतर्फ ध्यान दिने मानिसहरू उल्टो अलमलमा परेका हुनसक्छन्। हो, यस्तै कारणले गर्दा पावलले कोरिन्थीहरूलाई यस्तो चेताउनी दिए: “तिमीहरूले प्रभुको कचौरा र भूत-प्रेतहरूको कचौरा दुवैबाट पिउनसक्तैनौं।” (१ कोरिन्थी १०:२१) स्वाभाविकतः प्रथम शताब्दीका मसीहीहरूले तन्त्रमन्त्रसित सम्बन्धित सबै कितापहरू नष्ट गरे।—प्रेरित १९:१९.
‘स्वर्गबीच उडिरहेको स्वर्गदूत’
हामीले बुझ्यौं, बाइबलले स्वर्गदूतसित सम्बन्धित वर्तमान गतिविधिहरू परमेश्वरको शत्रु शैतान अर्थात् दियाबलसित जोडिएको छ भनेर उदांग पार्छ। तर के यसको अर्थ पवित्र स्वर्गदूतहरूले मानव गतिविधिमा रत्तिभर भाग लिंदैनन्? त्यसो होइन, बरु तिनीहरूले अहिले पृथ्वीमा शक्तिशाली काम गरिरहेका छन्। त्यो के हो? सो जान्न हामीले बाइबलको पुस्तक प्रकाशलाई हेर्नैपर्छ। किनकि बाइबलको अन्य पुस्तकहरूमा भन्दा यसमा स्वर्गदूतहरूको धेरै उल्लेख गरिएको छ।
प्रकाश १४:६, ७ मा हामी प्रेरित यूहन्नाले देखेको भविष्यसूचक दर्शनबारे यस्तो विवरण लेखेको पाउँछौं: “अनि पृथ्वीमा रहनेहरू हरेक जाति, कुल, भाषा र मानिसहरूलाई घोषणा गर्ने अनन्त सुसमाचार साथमा भएका एउटा दूत स्वर्गको बीचमा उड़िरहेको देखें। औ तिनले ठूलो सोरले भन्दारहेछन्, ‘परमेश्वरसँग डराओ, र उहाँलाई महिमा देओ। किनकि उहाँको ठूलो इन्साफको समय आएको छ, र स्वर्ग, पृथ्वी, समुद्र र पानीका मूलहरू बनाउनुहुनेलाई दण्डवत् गर।’”
यो पदले आज स्वर्गदूतहरूले गर्ने सबैभन्दा ठूलो काममाथि प्रकाश पार्छ। तिनीहरू अति महत्त्वपूर्ण काममा लागेका छन्। त्यो हो, परमेश्वरको राज्यको सुसमाचार घोषणा गर्ने। यसै कामको विषयमा येशूले आफ्ना अनुयायीहरूलाई यस्तो प्रतिज्ञा गर्नुभएको थियो: “म सब दिन, अँ, जगत्को अन्तसम्म तिमीहरूका साथमा छँदैछु।” (मत्ती २८:१८-२०) येशू कसरी आफ्ना अनुयायीहरूसित हुन सक्नुहुन्छ? एउटा तरिका यो ऐतिहासिक काम पूरा गर्न स्वर्गदूतीय मदतको प्रबन्ध गर्नु हो।
यहोवाका साक्षीहरू वर्षेनी एक अरब घण्टाभन्दा धेरै समय परमेश्वरको राज्यको सुसमाचार प्रचार गर्न बिताउँछन्। यो काममा लाग्दा तिनीहरूले स्वर्गदूतीय डोऱ्याइको प्रमाण देख्छन्। ढोका-ढोकामा प्रचार गर्न जाँदा कहिलेकाहीं घरधनीले परमेश्वरको उद्देश्य बुझ्ने मदत पाऊँ भनी प्रार्थना गरिरहेकै बेला तिनीहरू पुगिरहेका हुन्छन्। यस्ता घटनाहरू प्रायजसो भइरहन्छन्। स्वर्गदूतको डोऱ्याइ अनि साक्षीहरू आफै अग्रसर भएकोले आज वर्षेनी हजारौं मानिसहरूले यहोवाको ज्ञान प्राप्त गरिरहेका छन्।
स्वर्गबीच उडिरहेको स्वर्गदूतले के भन्दैछ, के तपाईं सुन्दै हुनुहुन्छ? त्यसो भए यहोवाका साक्षीहरू तपाईंकहाँ आउँदा यस स्वर्गदूतीय समचारबारे अझ राम्ररी छलफल गरे कसो होला?
[फुटनोटहरू]
a “शैतान” तथा “दियाबलको” अर्थ “विरोधी” र “निन्दक” हो।
b बाइबलमा माइकल र गब्रिएलको नाउँ उल्लेख गरिएको भए तापनि रफाएल र युरियलको नाउँ अप्रमाणिक पुस्तकहरूमा मात्र पाइन्छ, जसलाई बाइबलको अंश मानिंदैन।
c स्मरण रहोस्, प्रार्थना येशू-लाई होइन तर येशू-द्वारा गरिन्छ। येशूले बगाउनुभएको रगतले परमेश्वरसमक्ष जाने बाटो खोलिदिएको हुँदा येशूको नाउँमा प्रार्थना गरिन्छ।—एफिसी २:१३-१९; ३:१२.
[पृष्ठ ८-मा भएको पेटी]
यी स्वर्गदूतहरू को हुन्?
अधिकांश मानिसहरूले विश्वास गरेझैं स्वर्गदूतहरू मरेका मानिसहरूको प्राण होइनन्। मरेका मानिसहरू “केही पनि जान्दैनन्” भनेर बाइबलले स्पष्टसित बताउँछ। (उपदेशक ९:५) त्यसोभए, स्वर्गदूतहरू कहाँबाट आए त? तिनीहरू परमेश्वरले पृथ्वी रच्नुअघि सृष्टि गर्नुभएका व्यक्तिहरू हुन् भनी बाइबलले बताउँछ। (अय्यूब ३८:४-७) परमेश्वरको स्वर्गीय परिवारमा करोडौं, अरबौं स्वर्गदूतहरू हुनसक्छन्! यी स्वर्गदूतहरूमध्ये केही शैतानसँगसँगै यहोवाको विद्रोहमा लागे।—दानियल ७:१०; प्रकाश ५:११; १२:७-९.
यहोवा व्यवस्थित परमेश्वर हुनुभएकोले उहाँको विशाल स्वर्गदूतीय परिवार पनि व्यवस्थित हुनु अनौठो कुरा होइन।—१ कोरिन्थी १४:३३.
• शक्ति र अख्तियार दुवैमा सर्वश्रेष्ठ स्वर्गदूत, प्रधान दूत अर्थात् येशू ख्रीष्ट हुनुहुन्छ, जसलाई माइकल पनि भनिन्छ। (१ थिस्सलोनिकी ४:१६; यहूदा ९) उहाँको अधीनमा सराफ, करूब र अन्य स्वर्गदूतहरू छन्।
• सराफहरू परमेश्वरको सिंहासन वरपर खडा रहन्छन्। निस्सन्देह, तिनीहरूको काम परमेश्वरको पवित्रता घोषणा गर्नु र उहाँका जनहरूलाई शुद्ध राख्नु हो।—यशैया ६:१-३, ६, ७.
• करूबहरू पनि यहोवासमक्ष खडा रहेका देखिन्छन्। परमेश्वरको सिंहासनवाहक तथा सवारी भएकोले तिनीहरूले यहोवाको महिमा गर्छन्।—भजन ८०:१; ९९:१; इजकिएल १०:१, २.
• स्वर्गदूतहरू (जसको अर्थ हो, “समाचारवाहक”) यहोवाका कर्ता वा प्रतिनिधिहरू हुन्। परमेश्वरका जनहरूलाई छुटकारा दिनेदेखि लिएर दुष्टहरूलाई नाश गर्नेसम्मका सबै काम गरेर तिनीहरूले ईश्वरीय इच्छा पूरा गर्छन्।—उत्पत्ति १९:१-२६.
[पृष्ठ ७-मा भएका चित्रहरू]
स्वर्गबीच उडिरहेको स्वर्गदूतले के भन्दैछ, के तपाईं सुन्दै हुनुहुन्छ?