प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • bt chap. २५ pp. १९६-२०२
  • “म सिजरलाई अपिल गर्छु!”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “म सिजरलाई अपिल गर्छु!”
  • परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्‌
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • “न्यायासनसामु खडा” (प्रेषित २५:१-१२)
  • “मलाई दिइएको आदेश मैले पालन गरेँ” (प्रेषित २५:१३–२६:२३)
  • “तिमीले त . . . मलाई ख्रिष्टियन बनाउला जस्तो छ” (प्रेषित २६:२४-३२)
  • पावल उच्चपदस्थहरू सामु निडर भई साक्षी दिन्छन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • परमेश्‍वरको राज्य सन्देश स्वीकार्न अरूलाई मदत दिनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • “म सिजरकहाँ अपील गर्दछु।”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • निर्भयतासाथ यहोवाको राज्यको घोषणा गर्नुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
थप हेर्नुहोस्
परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्‌
bt chap. २५ pp. १९६-२०२

अध्याय २५

“म सिजरलाई अपिल गर्छु!”

सुसमाचारको पक्षमा खडा हुने सन्दर्भमा पावलले बसालेको उदाहरण

प्रेषित २५:१–२६:३२ मा आधारित

१, २. (क) पावलको अवस्था कस्तो थियो? (ख) पावलले सिजरलाई अपिल गरेको विषयमा कस्तो प्रश्‍न उठ्‌छ?

पावललाई सिजरियामा कडा सुरक्षा दिएर राखिएको छ। दुई वर्ष पहिले पावल यहुदिया फर्केको केही दिनभित्रै यहुदीहरूले तिनलाई मार्न तीन-तीन पटक प्रयास गरेका थिए। (प्रेषि. २१:२७-३६; २३:१०, १२-१५, २७) पावललाई मार्न शत्रुहरू अहिलेसम्म सफल भएका छैनन्‌ तर तिनीहरूले हार मानेका पनि छैनन्‌। आफूलाई अझै पनि शत्रुहरूको हातमा सुम्पिइने खतरा देखेर पावल रोमी राज्यपाल फेस्तसलाई भन्छन्‌: “म सिजरलाई अपिल गर्छु!”—प्रेषि. २५:११.

२ रोमको सिजरलाई अपिल गर्ने पावलको निर्णयलाई के यहोवाले समर्थन गर्नुभयो? अन्तको यस समयमा परमेश्‍वरको राज्यबारे राम्ररी साक्षी दिइरहेकाहरूले यसको जवाफ थाह पाउनु महत्त्वपूर्ण छ। पावलले “सुसमाचारको पक्षमा खडा भएर त्यसलाई कानुनी तवरमा स्थापना” गर्ने विषयमा हाम्रो लागि उदाहरण बसाले कि बसालेनन्‌ भनेर हामीले बुझ्नु जरुरी छ।—फिलि. १:७.

“न्यायासनसामु खडा” (प्रेषित २५:१-१२)

३, ४. (क) यहुदीहरूले पावललाई यरुसलेममा ल्याउन किन आग्रह गरे? पावल कसरी मृत्युको मुखमा पर्नदेखि जोगिए? (ख) पावललाई जस्तै आज पनि यहोवा आफ्ना सेवकहरूलाई कसरी सँभाल्नुहुन्छ?

३ यहुदियाका नयाँ रोमी राज्यपाल फेस्तस आफ्नो कार्यभार सँभालेको तीन दिनपछि यरुसलेम गए।a तिनले मुख्य पुजारीहरू र यहुदीहरूका गण्यमान्य मानिसहरूले पावलविरुद्ध लगाएको अभियोग सुने। तिनीहरूसँग र सबै यहुदीसँग शान्तिपूर्ण सम्बन्ध राख्नुपर्छ भनेर नयाँ राज्यपाललाई दबाब दिइएको छ भन्‍ने कुरा तिनीहरूलाई थाह थियो। त्यसकारण तिनीहरूले फेस्तसलाई पावललाई यरुसलेम ल्याउन र त्यहीँ नै मुद्दाको छिनोफानो गर्न आग्रह गरे। यस्तो आग्रहको पछाडि धूर्त षड्यन्त्र थियो। ती शत्रुहरूले पावललाई सिजरियाबाट यरुसलेम ल्याउँदा-ल्याउँदै बाटैमा मार्ने षड्यन्त्र रचेका थिए। फेस्तसले तिनीहरूको आग्रह अस्वीकार गर्दै यसो भने: “यहाँ तिमीहरूमध्ये जो-जो उच्च ओहदामा छौ, मसँगै [सिजरिया] आओ र त्यस मानिसले केही गल्ती गरेको छ भने उसलाई आरोप लगाओ।” (प्रेषि. २५:५) पावल एक पटक फेरि मृत्युको मुखमा पर्नदेखि जोगिए!

४ पावलको पुर्पक्षको दौडान यहोवाले येसु ख्रिष्टमार्फत तिनलाई सँभाल्नुभयो। नबिर्सनुहोस्‌, एउटा दर्शनमा येसुले आफ्ना यी प्रेषितलाई यसो भन्‍नुभएको थियो: “साहसी होऊ!” (प्रेषि. २३:११) अहिले पनि परमेश्‍वरका सेवकहरूमाथि बाधाविघ्न आइपर्छन्‌ र धम्की पनि दिइन्छ। यहोवा परमेश्‍वर हामीलाई हरेक समस्याबाट जोगाउने त गर्नुहुन्‍न तर गाह्रो अवस्था सहन उहाँले बुद्धि र बल भने दिनुहुन्छ। हाम्रो मायालु परमेश्‍वरले दिने “असाधारण शक्‍ति”-मा हामी सधैँ भर पर्न सक्छौँ।—२ कोरि. ४:७.

५. फेस्तसले पावलसित कस्तो व्यवहार गरे?

५ केही दिनपछि फेस्तस सिजरियाको “न्यायासनमा बसे।”b तिनीसामु पावल र पावललाई आरोप लगाउनेहरू थिए। तिनीहरूको निराधार आरोपहरूको खण्डन गर्दै पावलले यसो भने: “मैले न यहुदीहरूको व्यवस्थाविरुद्ध न मन्दिरविरुद्ध न त सिजरविरुद्ध नै केही पाप गरेको छु।” प्रेषित पावल निर्दोष थिए अनि तिनले छुटकारा पाउनुपर्थ्यो। फेस्तसले कस्तो निर्णय सुनाउने थिए? यहुदीहरूलाई खुसी पार्न तिनले पावललाई यस्तो प्रश्‍न सोधे: “के तिमी यरुसलेम गएर मसामु यी कुराहरूको फैसला गरिएको चाहन्छौ?” (प्रेषि. २५:६-९) कस्तो वाहियात प्रस्ताव! पावललाई यरुसलेम पठाइयो भने तिनका आरोपकहरू नै तिनका न्यायाधीश हुने थिए र तिनलाई अवश्‍य मृत्युदण्ड दिने थिए। यतिबेला फेस्तसले साँचो न्याय गर्न चाहेका थिएनन्‌ तर आफ्नै राजनैतिक स्वार्थ पूरा गर्न खोजिरहेका थिए। पहिलेको राज्यपाल पन्तियस पिलातसले पनि येसुको मुद्दामा यस्तै व्यवहार गरेका थिए। (युह. १९:१२-१६) आजका न्यायाधीशहरूले पनि राजनैतिक दबाबमा परेर गलत निर्णय सुनाउन सक्छन्‌। त्यसैले परमेश्‍वरका जनहरू मुछिएका मुद्दाहरूमा अदालतले हाम्रो विपक्षमा निर्णय सुनाउँदा हामी अचम्म मान्दैनौँ।

६, ७. पावलले किन सिजरलाई अपिल गरे? आज साँचो ख्रिष्टियनहरूको लागि तिनले कस्तो उदाहरण बसाले?

६ यहुदीहरूलाई खुसी पार्ने फेस्तसको चाहनाले पावललाई मृत्युमा पुऱ्‍याउन सक्थ्यो। त्यसकारण पावलले रोमी नागरिकको रूपमा आफ्नो अधिकार प्रयोग गरे। तिनले फेस्तसलाई भने: “म सिजरको न्यायासनसामु खडा छु र यहीँ मेरो न्याय हुनुपर्छ। मैले यहुदीहरूको केही खराबी गरेको छैनँ, जुन कुरा हजुरले पनि राम्ररी बुझिरहनुभएको छ। . . . म सिजरलाई अपिल गर्छु!” साधारणतया एक चोटि त्यस्तो अपिल गरिसकेपछि त्यसबाट पछि हट्‌न पाइँदैन थियो। यस कुरामा जोड दिँदै फेस्तसले यसो भने: “तिमीले सिजरलाई अपिल गरेका छौ, त्यसैले तिमी सिजरकहाँ नै जानेछौ।” (प्रेषि. २५:१०-१२) उच्च कानुनी निकायकहाँ अपिल गरेर पावलले साँचो ख्रिष्टियनहरूको लागि उदाहरण बसाले। विरोधीहरूले ‘कानुनको आडमा समस्या खडा गर्न’ खोज्दा सुसमाचारको पक्ष लिन यहोवाका साक्षीहरू कानुनी अधिकार प्रयोग गर्दै अदालतको ढोका ढकढक्याउँछन्‌।c—भज. ९४:२०.

७ आफू निर्दोष हुँदाहुँदै पनि दुई वर्षभन्दा धेरै समय कैदमा बिताइसकेपछि मात्र पावलले रोममा आफ्नो सफाइ दिने अवसर पाए। तर रोम जानुअघि अर्को एक जना शासकले तिनको कुरा सुन्‍न चाहे।

अदालतको फैसलाप्रति मानिसहरूको फरक-फरक प्रतिक्रिया। एक भाइ, तिनका वकिलहरू र त्यहाँ उपस्थित अरू साक्षीहरू गम्भीर देखिन्छन्‌। विपक्षीहरू खुसी हुँदै ती भाइविरुद्ध लडेका वकिललाई बधाई दिँदै छन्‌।

हामी अन्यायपूर्ण निर्णयविरुद्ध अपिल गर्छौँ

“मलाई दिइएको आदेश मैले पालन गरेँ” (प्रेषित २५:१३–२६:२३)

८, ९. राजा अग्रिपा किन सिजरिया गए?

८ पावलले सिजरलाई अपिल गरेको केही दिनपछि राजा अग्रिपा नयाँ राज्यपालसित “शिष्टाचार भेट गर्न” आफ्नी बहिनी बर्णिससँगै सिजरिया गए।d रोमीहरूको समयमा नवनियुक्‍त राज्यपालहरूलाई भेट्‌न जाने चलन थियो। राज्यपाल नियुक्‍त भएकोमा फेस्तसलाई बधाई दिएर राजा अग्रिपा तिनीसँग राजनैतिक र व्यक्‍तिगत सम्बन्ध बलियो बनाउन चाहन्थे। यसो गर्दा पछि गएर तिनलाई फाइदा पुग्न सक्थ्यो।—प्रेषि. २५:१३.

साँचो उपासनाको खातिर आधुनिक समयमा गरिएको अपिल

परमेश्‍वरको राज्यको सुसमाचार सुनाउँदा आइपरेका विभिन्‍न बाधाअडचन पार गर्न यहोवाका साक्षीहरूले समय-समयमा सर्वोच्च अदालतहरूमा अपिल गरेका छन्‌। दुई वटा उदाहरण विचार गरौँ।

अमेरिकाको जर्जिया राज्यको ग्रिफिन सहरमा केही यहोवाका साक्षीहरू बाइबल साहित्यहरू वितरण गरेकोले पक्राउ परेका थिए र तिनीहरूलाई त्यहाँको अदालतले दोषी ठहर गरेको थियो। तर १९३८, मार्च २८ मा अमेरिकाको सर्वोच्च अदालतले त्यस निर्णयलाई उल्टाइदियो। साक्षीहरूले राज्यको सुसमाचार प्रचार गर्न पाउनुपर्ने अधिकारको लागि अमेरिकाको सर्वोच्च अदालतमा अपिल गरिएका थुप्रै मुद्दामध्ये यो पहिलो थियो।g

अर्को उदाहरण ग्रीसका मिनोस कोक्किनाकिस नामका साक्षीको हो। तिनलाई धर्म परिवर्तन गराएको आरोपमा ४८ वर्षको अवधिमा ६० भन्दा धेरै पटक गिरफ्तार गरियो। तिनलाई १८ पटकसम्म अदालतसामु उभ्याइयो। तिनलाई थुप्रै वर्ष जेलमा हालियो र एजियन समुद्रको निर्जन टापुमा निर्वासित गरियो। सन्‌ १९८६ मा आफूलाई दोषी ठहर गरिएपछि कोक्किनाकिसले ग्रीसको सर्वोच्च अदालतमा अपिल गरे तर मुद्दा हारे। त्यसपछि तिनले मानवअधिकारसम्बन्धी युरोपेली अदालतमा अपिल गरे। सन्‌ १९९३, मे २५ मा उक्‍त अदालतले ग्रीस सरकारले भाइ कोक्किनाकिसको धार्मिक स्वतन्त्रता हनन गरेको फैसला सुनायो।

यहोवाका साक्षीहरूले मानवअधिकारसम्बन्धी युरोपेली अदालतमा थुप्रै मुद्दा अपिल गरेका छन्‌। तीमध्ये धेरैजसो मुद्दाका निर्णय साक्षीहरूकै पक्षमा भएको छ। मानवअधिकारसम्बन्धी युरोपेली अदालतमा अरू कुनै पनि धार्मिक सङ्‌गठन वा अन्य संस्थाले यहोवाका साक्षीहरूले जत्तिको धेरै जित हासिल गर्न सकेका छैनन्‌।

यहोवाका साक्षीहरूले जितेका मुद्दाहरूको कारण के अरूले पनि लाभ उठाएका छन्‌? धर्मसम्बन्धी प्राध्यापक चार्ल्स सि. हायन्सले यस्तो लेखे: “हामी सबै जना यहोवाका साक्षीहरूप्रति कृतज्ञ हुनुपर्छ। तिनीहरूलाई जत्ति बेइज्जत गरे पनि, सहरबाट लघारे पनि र कुटपिट गरे पनि आफ्नो (र हाम्रो) धार्मिक स्वतन्त्रताको लागि तिनीहरू लडिरहन्छन्‌। तिनीहरूको जित हाम्रै जित हो।”

g वाक्‌ स्वतन्त्रताबारे अमेरिकाको सर्वोच्च अदालतले गरेका निर्णयहरूबारे थाह पाउन ब्यूँझनुहोस्‌! (अङ्‌ग्रेजी) जनवरी ८, २००३, पृष्ठ ३-११ हेर्नुहोस्‌।

९ फेस्तसले अग्रिपालाई पावलको विषयमा बताए। त्यसपछि अग्रिपा पावलबारे तिनकै मुखबाट सुन्‍न उत्सुक भए। अर्को दिन यी दुई जना शासक पावलको मुद्दा सुन्‍न न्यायासनमा बसे। तर तिनीहरूको शक्‍ति र रवाफभन्दा तिनीहरूसामु उभ्याइएको कैदीले अब दिने बयान कता हो कता प्रभावशाली थियो।—प्रेषि. २५:२२-२७.

१०, ११. पावलले कसरी अग्रिपाको आदर गरे? आफ्नो विगतबारे पावलले राजालाई के बताए?

१० राजा अग्रिपालाई यहुदीहरूका सबै रीतिथितिका साथै विवादहरूको राम्रो ज्ञान छ भनेर मानिलिँदै तिनीसामु आफ्नो सफाइ पेस गर्ने मौका पाएकोमा पावलले तिनलाई आदरपूर्वक धन्यवाद दिए। त्यसपछि पावलले आफ्नो विगतबारे बताए: “हाम्रो धर्मको सबैभन्दा कट्टर गुटमा लागेर मैले . . . फरिसीको जीवन बिताएको थिएँ।” (प्रेषि. २६:५) फरिसी हुँदा पावलले मसीह आउनुहुन्छ भन्‍ने आशा राखेका थिए। लामो समयदेखि प्रतीक्षा गरिएको मसीह येसु नै हुनुहुन्छ भनेर तिनले साहसका साथ बताए। परमेश्‍वरले तिनीहरूका पुर्खाहरूसित गर्नुभएको प्रतिज्ञामाथि पावल र तिनका आरोपकहरू दुवैले विश्‍वास गर्थे। त्यही विश्‍वासको कारण अहिले तिनलाई न्यायासनसामु उभ्याइएको छ। यसले गर्दा पावलको कुरा सुन्‍न अग्रिपा झनै जिज्ञासु भए।e

११ आफूले पहिला ख्रिष्टियनहरूलाई क्रूरतासाथ सताएको कुरा सम्झँदै पावलले भने: “मेरो आफ्नै विषयमा भन्‍नुपर्दा मलाई हर हालतमा नासरी येसुको घोर विरोध गर्नुपर्छ भन्‍ने लागेको थियो। . . .  तिनीहरूसित [येसुका अनुयायीहरूसित] म यत्ति रिसाएको थिएँ कि अरू सहरमा समेत गएर मैले तिनीहरूको खेदो गरेँ।” (प्रेषि. २६:९-११) पावलले बढाइचढाइ भनिरहेका थिएनन्‌। तिनले ख्रिष्टियनहरूमाथि गरेको अत्याचारबारे धेरैलाई थाह थियो। (गला. १:१३, २३) अग्रिपाको मनमा यस्तो प्रश्‍न उठेको हुन सक्छ, ‘त्यस्तो मानिस कसरी परिवर्तन हुन सक्यो त?’

१२, १३. (क) आफू ख्रिष्टियन बनेको कुरा पावलले कसरी बताए? (ख) पावलले कसरी ‘सुइरोमा लात’ हिर्काइरहेका थिए?

१२ पावलले त्यसपछि भनेको कुराले त्यसको जवाफ दियो: “म मुख्य पुजारीहरूबाट पाएको अख्तियार अनि आदेशसहित दमिसक जाँदै थिएँ। तब हे राजा, मध्यान्हको बेला बाटोमा आकाशबाट घामको उज्यालोभन्दा पनि चहकिलो ज्योति चम्केको मैले देखेँ र त्यो म अनि मसित यात्रा गरिरहेका मानिसहरूको चारैतिर चम्कियो। अनि हामी सबै जना भुईँमा पछारियौँ र हिब्रू भाषामा मलाई यसो भन्दै गरेको आवाज मैले सुनेँ: ‘सावल, हे सावल, तिमी किन मेरो खेदो गर्दै छौ? तिमी सुइरोमा जति लात हिर्काउँछौ, त्यति नै तिमीलाई दुःख हुन्छ।’ तर मैले सोधेँ: ‘प्रभु, तपाईँ को हुनुहुन्छ?’ प्रभुले भन्‍नुभयो: ‘म येसु हुँ, जसको तिमीले खेदो गरिरहेका छौ।’”f—प्रेषि. २६:१२-१५.

१३ उक्‍त चमत्कारपूर्ण घटना हुनुअघि पावलले लाक्षणिक रूपमा ‘सुइरोमा लात’ हिर्काइरहेका थिए। बाइबलकालीन समयमा सुइरो (साधारणतया टुप्पोमा एकदमै तीखो धातुको किला भएको लामो छडी) भारी बोक्ने जनावर धपाउन र ठीक बाटोमा हिँडाउन प्रयोग गरिन्थ्यो। सुइरोले जनावरलाई हिर्काउँदा अटेर गर्दै जनावरले सुइरोलाई ठेल्यो भने उल्टो उसैलाई कष्ट हुन्थ्यो। त्यसैगरि परमेश्‍वरको इच्छाविरुद्ध चलेर पावलले आफैलाई आध्यात्मिक रूपमा हानि पुऱ्‍याइरहेका थिए। दमिसक जाने बाटोमा पावलसामु देखा परेर मृत्युबाट ब्युँतनुभएका येसुले यी निष्कपट तर गलत बाटोमा लागेका पावललाई आफ्नो सोचाइ बदल्न मदत गर्नुभयो।—युह. १६:१, २.

१४, १५. आफूले जीवनमा गरेका परिवर्तनबारे पावलले के भने?

१४ हुन पनि पावलले आफ्नो जीवनमा आमूल परिवर्तन गरे। अग्रिपालाई सम्बोधन गर्दै तिनले यसो भने: “त्यस स्वर्गीय दर्शनमा मलाई दिइएको आदेश मैले पालन गरेँ। म सबैभन्दा पहिला दमिसक, त्यसपछि यरुसलेम अनि यहुदियाका सारा इलाका र अन्यजातिका मानिसहरूलाई तिनीहरूले पश्‍चात्ताप गर्नुपर्छ र पश्‍चात्ताप गरेको देखिने कामहरू गरेर परमेश्‍वरतर्फ फर्कनुपर्छ भन्‍ने सन्देश सुनाउँदै हिँडेँ।” (प्रेषि. २६:१९, २०) त्यस मध्यान्हको दर्शनमा पावलले येसु ख्रिष्टबाट साक्षी दिने जिम्मेवारी पाएदेखि नै त्यो जिम्मेवारी राम्ररी पूरा गरिरहेका थिए। यसको नतिजा कस्तो भयो? पावलले सुनाएको सुसमाचार स्विकार्नेहरूले आफूले गरिरहेको खराब काम त्यागे अनि पश्‍चात्ताप गरेर परमेश्‍वरतर्फ फर्के। तिनीहरू आफू बस्ने ठाउँको नियमकानुन पालन गरेर अनि शान्ति कायम गरेर असल नागरिक बने।

१५ तर पावलको विरोध गर्ने यहुदीहरूको लागि त्यस्तो लाभले केही अर्थ राख्दैन थियो। पावलले यसो भने: “त्यसैले यहुदीहरूले मलाई मन्दिरमा पक्रे अनि मार्न खोजे। तथापि परमेश्‍वरको मदत पाएकोले आजको दिनसम्मै साना र ठूला सबैलाई म साक्षी दिँदै छु।”—प्रेषि. २६:२१, २२.

१६. न्यायाधीश र शासकहरूसामु आफ्नो विश्‍वासबारे बोल्नुपर्दा हामी कसरी पावलको अनुकरण गर्न सक्छौँ?

१६ हामी साँचो ख्रिष्टियनहरू पनि आफ्नो विश्‍वासबारे “जवाफ दिन सधैँ तयार” रहनुपर्छ। (१ पत्रु. ३:१५) न्यायाधीश र शासकहरूसामु आफ्नो विश्‍वासबारे बोल्नुपर्दा पावलले अग्रिपा र फेस्तससित कुरा गरेको तरिका अनुकरण गर्नु मदतकारी हुन सक्छ। बाइबलले हाम्रो र हाम्रो सन्देश स्विकार्ने मानिसहरूको जीवन सुधार्न कसरी मदत गऱ्‍यो भनेर आदरका साथ बताउँदा ती उच्च अख्तियारवालाहरूको मन छुन सक्छ।

“तिमीले त . . . मलाई ख्रिष्टियन बनाउला जस्तो छ” (प्रेषित २६:२४-३२)

१७. पावलले प्रतिवाद गर्दा फेस्तसले कस्तो प्रतिक्रिया देखाए? आज पनि कस्तो मनोवृत्ति देखिन्छ?

१७ पावलले दिएको सशक्‍त साक्षी सुनेपछि ती दुई शासक चुपचाप बस्न सकेनन्‌। त्यसपछि के भयो, याद गर्नुहोस्‌: “आफ्नो प्रतिवाद गर्दै पावलले यी कुराहरू भनिरहेका बेला फेस्तसले ठूलो स्वरमा यसो भने: ‘तिम्रो दिमाग खुस्केछ पावल! धेरै ज्ञानले तिम्रो दिमाग खुस्काएछ!’” (प्रेषि. २६:२४) अहिले पनि थुप्रै मानिसले फेस्तसको जस्तै मनोवृत्ति देखाउँछन्‌। तिनीहरू बाइबलले वास्तवमा के सिकाउँछ भनेर बताउनेहरूलाई कट्टर भन्छन्‌। संसारमा बुद्धिमान्‌ कहलिएका मानिसहरूलाई फेरि जीवित हुनेबारे बाइबलको शिक्षा स्विकार्न गाह्रो लाग्छ।

१८. पावलले राज्यपाल फेस्तसलाई कस्तो जवाफ दिए? पावलको जवाफ सुनेर राजा अग्रिपाले के भने?

१८ तर पावलले जवाफ दिए: “हे महामहिम फेस्तस, मेरो दिमाग खुस्केको छैन तर म सत्य अनि सद्दे कुरा बोल्दै छु। भनौँ भने जुन राजासामु म यी कुराहरू निर्धक्क भई बोल्दै छु, उहाँलाई यी कुराहरू राम्ररी थाह छ। . . . हे राजा अग्रिपा, के हजुर भविष्यवक्‍ताहरूमाथि विश्‍वास गर्नुहुन्छ? मलाई थाह छ, हजुर विश्‍वास गर्नुहुन्छ।” अग्रिपाले पावललाई यसो भने: “तिमीले त थोरै समयमै मलाई ख्रिष्टियन बनाउला जस्तो छ।” (प्रेषि. २६:२५-२८) अग्रिपाले यो कुरा साँचो मनले भनेका हुन्‌ कि होइनन्‌, त्यो त थाह छैन तर पावलले दिएको साक्षीले राजामा पक्कै गहिरो प्रभाव पाऱ्‍यो।

१९. पावलबारे फेस्तस र अग्रिपा कस्तो निष्कर्षमा पुगे?

१९ भेटघाटको समय सकियो भन्‍ने कुराको सङ्‌केत गर्दै राजा अग्रिपा र राज्यपाल फेस्तस उठे। “बाहिर निस्कँदै गर्दा उनीहरूले आपसमा यसो भन्‍न थाले: ‘यस मानिसले मृत्युदण्ड वा कैदको सजाय पाउन लायकको कुनै काम गरेको रहेनछ।’ अनि अग्रिपाले फेस्तसलाई भने: ‘सिजरलाई अपिल नगरेको भए यस मानिसलाई मुक्‍त गर्न पनि सकिन्थ्यो।’” (प्रेषि. २६:३१, ३२) आफूहरूसामु उभिएर सफाइ दिइरहेको मानिस निर्दोष छ भनेर तिनीहरूलाई थाह थियो। सायद अब तिनीहरूले ख्रिष्टियनहरूलाई पहिलेभन्दा राम्रो दृष्टिकोणले हेर्ने थिए।

२०. पावलले उच्च अख्तियारवालाहरूसामु साक्षी दिनु किन फाइदाजनक थियो?

२० यस विवरणका दुवै शक्‍तिशाली शासकले परमेश्‍वरको राज्यको सुसमाचार स्वीकार गरेनन्‌ जस्तो देखिन्छ। के प्रेषित पावलले यी मानिसहरूसामु बयान दिनु फाइदाजनक थियो? पक्कै थियो। पावललाई यहुदियामा “राजाहरू र राज्यपालहरूसामु” उभ्याइँदा सायद साधारणतया साक्षी दिन नसकिने रोमी अख्तियारवालाहरूलाई समेत साक्षी दिन सकियो। (लुका २१:१२, १३) साथै पुर्पक्षको बेला तिनले गरेको अनुभव र तिनले देखाएको विश्‍वासले भाइबहिनीहरूले पनि प्रोत्साहन पाए।—फिलि. १:१२-१४.

२१. साक्षीकार्यमा लागिरहँदा हामी कस्ता नतिजाहरू हासिल गर्न सक्छौँ?

२१ आज पनि त्यस्तै हुन सक्छ। परीक्षा र सतावटको बाबजुद साक्षीकार्यमा लागिरहँदा हामी थुप्रै राम्रा नतिजा हासिल गर्न सक्छौँ। हामीले हतपती भेट्‌न नसकिने अख्तियारवालाहरूलाई साक्षी दिने मौका पाउन सक्छौँ। हामीले विश्‍वासी भई परीक्षा सहँदा भाइबहिनीहरू प्रोत्साहित हुन सक्छन्‌ र अझै साहसका साथ परमेश्‍वरको राज्यबारे राम्ररी साक्षी दिन उत्प्रेरित हुन सक्छन्‌।

पोर्सिअस फेस्तस—यहुदियाको राज्यपाल

प्रेषितको विवरणमा र फ्लेभियस जोसेफसका लेखहरूमा मात्र फेस्तसबारे प्रत्यक्षदर्शीले बताएको कुरा पाइन्छ। इस्वी संवत्‌ ५८ मा फेलिक्सको सट्टा फेस्तस यहुदियाको राज्यपाल भए। राज्यपालको रूपमा काम गरेको २/३ वर्षमै फेस्तसको मृत्यु भयो।

पोर्सिअस फेस्तस।

समग्रमा हेर्दा फेस्तस आफूअघिको राज्यपाल फेलिक्स र आफूपछिको राज्यपाल अल्बिनसभन्दा बुद्धिमान्‌ र सक्षम थिए जस्तो देखिन्छ। फेस्तसले शासन गर्न थाल्दा यहुदिया डाँकुहरूको अड्डा नै भइसकेको थियो। इतिहासकार जोसेफसअनुसार “फेस्तसले देशमा खैलाबैला मच्चाउने डाँकुहरूलाई तह लगाउने लक्ष्य बनाएका थिए। तिनले कुख्यात डाँकुहरूलाई समाते र तिनीहरूमध्ये कतिपयलाई मृत्युदण्ड समेत दिए।” राजा अग्रिपाले यरुसलेमको मन्दिर परिसरमा भइरहेका गतिविधिहरू देख्न नसकून्‌ भनेर यहुदीहरूले फेस्तसको शासनकालमा नै पर्खाल बनाएका थिए। सुरुमा त फेस्तसले पर्खाल भत्काउने आदेश दिए। तर पछि तिनले यहुदीहरूलाई त्यो कुरा सम्राट्‌ नेरो समक्ष राख्ने अनुमति दिए।

फेस्तसले अपराधीहरू र विद्रोहीहरूको विरुद्धमा ठोस कदम चाले जस्तो देखिन्छ। तर यहुदीहरूसँग राम्रो सम्बन्ध बनाइराख्न तिनी अन्यायपूर्ण व्यवहार गर्न समेत तयार भए। तिनले पावलसँग गरेको व्यवहार त्यस कुराको एउटा उदाहरण हो।

राजा हेरोद अग्रिपा द्वितीय

प्रेषित २५ अध्यायमा जुन अग्रिपाबारे उल्लेख गरिएको छ, तिनी राजा हेरोद अग्रिपा द्वितीय हुन्‌। तिनी महान्‌ हेरोदका पनाति र प्रेषित २५ र २६ अध्यायको घटनाभन्दा १४ वर्षअघि यरुसलेम मण्डलीमा आक्रमण गर्ने हेरोदका छोरा हुन्‌। (प्रेषि. १२:१) अग्रिपा हेरोदको वंशका अन्तिम राजा हुन्‌।

राजा हेरोद अग्रिपा द्वितीय।

इस्वी संवत्‌ ४४ मा आफ्नो बुबाको मृत्यु हुँदा अग्रिपा १७ वर्षका थिए र तिनी रोममा रोमी सम्राट्‌ क्लौडियसको दरबारमा शिक्षा लिँदै थिए। जवान अग्रिपालाई बुबाको ठाउँमा शासक बनाउन उपयुक्‍त छैन भनेर सम्राट्‌का भारदारहरूले सल्लाह दिएकोले तिनको सट्टा अरूलाई नै रोमी राज्यपाल नियुक्‍त गरियो। तैपनि अग्रिपा रोममै हुँदा तिनले यहुदीहरूको मध्यस्थकर्ता बनेर तिनीहरूको पक्षमा बोले भनेर इतिहासकार फ्लेभियस जोसेफसले बताएका छन्‌।

इस्वी संवत्‌ ५० तिर क्लौडियसले अग्रिपालाई खाल्किसमा अनि इस्वी संवत्‌ ५३ मा इतुरिया, त्राखोनितिस र अबिलेनेमा शासन गर्ने जिम्मा दिए। अग्रिपालाई यरुसलेमको मन्दिरको निरीक्षण गर्ने र यहुदी प्रधानपुजारी नियुक्‍त गर्ने अख्तियार पनि दिइयो। क्लौडियसका उत्तराधिकारी नेरोले अग्रिपाको शासनअन्तर्गत गालिल र पेरियाको केही भाग पनि थपिदिए। अग्रिपाले पावललाई भेट्‌दा तिनी आफ्नी बहिनी बर्णिससित सिजरियामा थिए। तिनकी बहिनीले आफ्ना पति सिलिसियाका राजालाई छोडेकी थिइन्‌।—प्रेषि. २५:१३.

इस्वी संवत्‌ ६६ मा यहुदीहरूले रोमविरुद्ध गरेको विद्रोहलाई शान्त पार्न नसकेपछि र आफै विद्रोहीहरूको तारो बनेपछि अग्रिपा रोमीहरूसित मिलापको हात बढाउन बाध्य भए। यहुदी विद्रोहलाई दबाएपछि नयाँ सम्राट्‌ भेस्पासियनले तिनलाई इनामस्वरूप अझै थप इलाका दिए।

a पृष्ठ १९९ मा भएको “पोर्सिअस फेस्तस—यहुदियाको राज्यपाल” शीर्षकको पेटी हेर्नुहोस्‌।

b “न्यायासन” मञ्चमा राखिएको एउटा कुर्सी थियो। उच्च पारिएको स्थानले न्यायाधीशले गरेको निर्णय अन्तिम निर्णय हो र त्यसलाई मान्यता दिनुपर्छ भन्‍ने कुरा बुझाउँथ्यो। येसुमाथि लगाइएका अभियोगहरूको सुनुवाइ हुँदा पिलातस न्यायासनमा बसेका थिए।

c पृष्ठ २०० मा भएको “साँचो उपासनाको खातिर आधुनिक समयमा गरिएको अपिल” शीर्षकको पेटी हेर्नुहोस्‌।

d पृष्ठ २०१ मा भएको “राजा हेरोद अग्रिपा द्वितीय” शीर्षकको पेटी हेर्नुहोस्‌।

e ख्रिष्टियनको रूपमा पावलले येसुलाई मसीहको रूपमा स्विकारे। येसुलाई स्वीकार नगर्ने यहुदीहरू पावललाई धर्मत्यागीको रूपमा हेर्थे।—प्रेषि. २१:२१, २७, २८.

f पावलले “मध्यान्हको बेला” यात्रा गरिरहेको सन्दर्भमा एक जना बाइबलविद्‌ यसो भन्छन्‌: “कुनै यात्रुलाई एकदमै हतार छ भने मात्र तिनी मध्यदिनको चर्को घाममा यात्रा गर्थे। ख्रिष्टियनहरूलाई सताउने काममा पावल कत्ति जोसका साथ लागेका थिए भनेर यसबाट बुझिन्छ।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने