प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • दुष्टता र दुःखकष्ट हुनुको कारण के हो?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
    • पाठ २६. घाइते भएर अस्पतालको शय्यामा पल्टिरहेको छोराको छेउमा चिन्तित आमाबुबा बसिरहेका छन्‌।

      पाठ २६

      दुष्टता र दुःखकष्ट हुनुको कारण के हो?

      दुःखकष्ट आइपर्दा मानिसको मनमा स्वतः यस्तो प्रश्‍न उठ्‌छ: “किन?” तर खुसीको कुरा, बाइबलले त्यस प्रश्‍नको सुस्पष्ट जवाफ दिन्छ।

      १. सैतानले कसरी दुष्टताको सुरुवात गऱ्‍यो?

      सैतानले परमेश्‍वरको विद्रोह गऱ्‍यो। सैतान अरूमाथि शासन गर्न चाहन्थ्यो। त्यसकारण त्यसले प्रथम मानव दम्पती आदम र हव्वालाई बहकायो अनि तिनीहरूलाई पनि परमेश्‍वरको विद्रोह गर्न उक्सायो। त्यसो गर्न सैतानले हव्वासित झूट बोल्यो। (उत्पत्ति ३:१-५) त्यसले हव्वालाई यहोवाले तिनलाई असल कुराबाट जानाजानी वञ्चित गर्नुभएको छ भनेर सोच्न लगायो। सैतानले के भन्‍न खोज्दै थियो भने परमेश्‍वरको आज्ञा नमान्दा मानिस अझ खुसी हुन सक्छ। त्यसले हव्वालाई तिनी मर्नेछैनन्‌ भनेर पहिलो झूट बोल्यो। त्यसैले बाइबलमा सैतान “झूटा हो र झूटको बुबा हो” भनिएको छ।—युहन्‍ना ८:४४.

      २. आदम र हव्वाले कस्तो छनौट गरे?

      यहोवाले आदम र हव्वालाई प्रशस्तै असल कुरा दिनुभएको थियो। उहाँले तिनीहरूलाई अदनको बगैँचाको एउटा रूखको बाहेक बाँकी सबै रूखको फल खाने अनुमति दिनुभएको थियो। (उत्पत्ति २:१५-१७) तर तिनीहरूले त्यही रूखको फल खाने निर्णय गरे। हव्वाले “त्यसको फल टिपेर खाइन्‌” अनि पछि “[आदमले] पनि खाए।” (उत्पत्ति ३:६) तिनीहरू दुवै जनाले परमेश्‍वरको आज्ञा उल्लङ्‌घन गरे। आदम र हव्वा त्रुटिरहित भएकाले जे सही छ, त्यही गर्ने तिनीहरूको स्वाभाविक झुकाव थियो। तर तिनीहरूले जानाजानी परमेश्‍वरको आज्ञा उल्लङ्‌घन गरेर पाप गरे अनि परमेश्‍वरको शासन गर्ने अधिकारलाई तिरस्कार गरे। त्यस निर्णयले गर्दा तिनीहरूले असाध्यै दुःखकष्ट भोग्नुपऱ्‍यो।—उत्पत्ति ३:१६-१९.

      ३. आदम र हव्वाको निर्णयले हामीलाई कस्तो असर पुऱ्‍याएको छ?

      आदम र हव्वाले पाप गरेपछि तिनीहरू त्रुटिपूर्ण भए। तिनीहरूले गर्दा तिनीहरूका सबै सन्तान पनि त्रुटिपूर्ण भए। आदमबारे बाइबलले भन्छ: “एकै जना मानिसद्वारा पाप संसारमा प्रवेश भयो अनि पापद्वारा मृत्यु, त्यसैले मृत्यु सबै मानिसमा व्याप्त भयो।”—रोमी ५:१२.

      हामी विभिन्‍न कारणले दुःखकष्ट भोग्छौँ। कहिलेकाहीँ हामीले गरेको गलत निर्णयले गर्दा दुःख भोग्छौँ। कुनै-कुनै बेला भने अरूले गरेको गलत निर्णयले गर्दा दुःख भोग्छौँ। कहिलेचाहिँ हामी गलत समयमा गलत ठाउँमा पुगेकोले पनि दुःख भोग्छौँ।—उपदेशक ९:११ पढ्‌नुहोस्‌।

      अझ खोतल्नुहोस्‌

      अहिले संसारमा व्याप्त दुष्टता र दुःखकष्ट किन परमेश्‍वरले गर्दा भएको होइन, बुझ्नुहोस्‌। हामीले दुःख भोग्दा उहाँलाई कस्तो लाग्छ, विचार गर्नुहोस्‌।

      ४. हाम्रो दुःखकष्टको लागि दोषी

      धेरैजसो मानिसको विचारमा यो संसार परमेश्‍वरको हातमा छ। तर के यो साँचो हो? भिडियो हेर्नुहोस्‌।

      भिडियो: यो संसार कसको हातमा छ? (१:२४)

      याकुब १:१३ र १ युहन्‍ना ५:१९ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

      • के दुःखकष्ट र दुष्टताको लागि परमेश्‍वर दोषी हुनुहुन्छ?

      ५. सैतानले शासन गर्दा भएको नतिजा विचार गर्नुहोस्‌

      भिडियो हेर्नुहोस्‌।

      भिडियो: परमेश्‍वरले किन दुःखकष्ट रहिरहन दिनुभएको छ?—सानो अंश (३:०७)

      उत्पत्ति ३:१-६ पढ्‌नुहोस्‌ अनि यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

      • सैतानले कुन झूट बोल्यो?—पद ४ र ५ हेर्नुहोस्‌।

      • यहोवाले मानिसलाई असल कुराबाट वञ्चित गर्नुभएको छ भन्‍ने भान सैतानले कसरी पाऱ्‍यो?

      • सैतानले मानिस खुसी हुन यहोवालाई आफ्नो शासकको रूपमा स्विकार्नु पर्दैन भन्‍ने छनक कसरी दिन खोज्यो?

      उपदेशक ८:९ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

      • यहोवाले शासन नगर्नुभएकोले संसारको अवस्था कस्तो भएको छ?

      चित्रहरूको सँगालो: पृथ्वीको सृष्टिदेखि भविष्यमा पूरै पृथ्वी सुन्दर बगैँचा बनेको अवस्थालाई चित्रण गर्ने दृश्‍यहरू। क. हराभरा बगैँचारूपी पृथ्वी। ख. शताब्दियौँ लामो मानव शासनको परिणामस्वरूप पृथ्वीमा झूटो धर्म, विभेद, युद्ध र प्रदूषण व्याप्त भएको छ। केही शक्‍तिशाली सरकार इजिप्ट, चीन, ग्रीस, रोम, बेलायत र अमेरिकालाई चित्रण गर्ने दृश्‍यहरू। ग. मानिसहरू पूरै पृथ्वी सुन्दर बगैँचा बनेपछि त्यहाँ बसोबास गर्दै छन्‌।
      1. क. आदम र हव्वा त्रुटिरहित थिए अनि सुन्दर बगैँचामा बस्थे। तर तिनीहरूले सैतानको कुरा सुनेर यहोवाको विद्रोह गरे

      2. ख. विद्रोहपछि संसारमा पाप, दुःखकष्ट र मृत्यु फैलियो

      3. ग. यहोवाले पाप, दुःखकष्ट र मृत्यु हटाउनुहुनेछ। मानिसहरू फेरि त्रुटिरहित हुनेछन्‌ अनि सुन्दर बगैँचारूपी पृथ्वीमा बस्नेछन्‌

      ६. हामीले दुःखकष्ट भोग्दा यहोवालाई दुःख लाग्छ

      के हामीले दुःखकष्ट भोग्दा परमेश्‍वरलाई कुनै फरक पर्छ? यसको जवाफ पाउन राजा दाउद र प्रेषित पत्रुसले के लेखे, विचार गर्नुहोस्‌। भजन ३१:७ र १ पत्रुस ५:७ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

      • यहोवाले हाम्रो दुःखकष्ट देख्नुहुन्छ र हाम्रो ख्याल राख्नुहुन्छ भन्‍ने कुरा थाह पाउँदा तपाईँलाई कस्तो लाग्यो?

      ७. परमेश्‍वरले मानिसका सबै दुःखकष्ट हटाउनुहुनेछ

      यसैया ६५:१७ र प्रकाश २१:३, ४ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

      • मानिसहरूले भोगिरहेका सबै खराब कुराको असरलाई यहोवाले सच्याउनुहुनेछ भनेर थाह पाउँदा तपाईँ किन सान्त्वना पाउनुहुन्छ?

      के तपाईँलाई थाह थियो?

      सैतानले पहिलो झूट बोल्दा त्यसले परमेश्‍वरको निन्दा गऱ्‍यो। त्यसले यहोवा न्यायी र मायालु शासक हुनुहुन्‍न भनेर उहाँको नाममा कलङ्‌क लगायो। यहोवाले चाँडै दुःखकष्ट हटाउनुहुँदा आफूमाथि लगाइएको आरोपलाई झूटो साबित गर्नुहुनेछ। यसरी उहाँले आफ्नो शासन नै सर्वोत्तम छ भनेर प्रमाणित गर्नुहुनेछ। यहोवाको नाममा लागेको कलङ्‌क हटाउनु ब्रह्‍माण्डकै सबैभन्दा महत्त्वपूर्ण विषय हो।—मत्ति ६:९, १०.

      कोही-कोही भन्छन्‌: “मानिसले दुःखकष्ट भोग्नु दैवको लीला हो।”

      • तपाईँ के भन्‍नुहुन्छ?

      सारांश

      संसारमा व्याप्त दुष्टताको लागि मुख्यतया सैतान र पहिलो मानव दम्पती दोषी छन्‌। हामीले दुःखकष्ट भोग्दा यहोवालाई असाध्यै दुःख लाग्छ अनि उहाँले चाँडै सबै दुःखकष्ट हटाउनुहुनेछ।

      तपाईँले के सिक्नुभयो?

      • सैतानले हव्वासित कुन झूट बोल्यो?

      • आदम र हव्वाको विद्रोहले हामी सबैलाई कस्तो असर पुऱ्‍याएको छ?

      • यहोवाले हाम्रो दुःखकष्ट देख्नुहुन्छ र हाम्रो ख्याल राख्नुहुन्छ भनेर कसरी थाह पाउन सक्छौँ?

      लक्ष्य

      अझ धेरै जान्‍नुहोस्‌

      पापबारे बाइबलले बताउने कुरा बुझ्नुहोस्‌।

      “पाप के हो?” (jw.org को लेख)

      सैतानले अदनको बगैँचामा उठाएको विवादबारे थप कुरा पढ्‌नुहोस्‌।

      “भगवान्‌ले किन दुःखकष्ट हटाउनुहुन्‍न?” (प्रहरीधरहरा, जनवरी १, २०१४)

      एउटा जटिल प्रश्‍नको चित्तबुझ्दो जवाफ थाह पाउनुहोस्‌।

      “नाजी नरसंहार किन भयो? परमेश्‍वरले किन त्यसलाई रोक्नुभएन?” (jw.org को लेख)

      एक जना व्यक्‍तिले आफ्नो वरपर भइरहेको दुःखकष्टको कारणबारे के बुझे, हेर्नुहोस्‌।

      अहिले म एक्लो छैनँ (५:०९)

  • येसुको मृत्युले हामीलाई कसरी बचाउन सक्छ?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
    • प्रथम मानव दम्पती आदम र हव्वा परमेश्‍वरप्रति अनाज्ञाकारी भएर पाप गरे। त्यसैले हामी पनि पापी भयौँ। नतिजास्वरूप हामी पाप गर्छौँ, दुःखकष्ट भोग्छौँ र मर्छौँ।a तर हामी आशाविहीन छैनौँ। यहोवाले आफ्नो छोरामार्फत हामीलाई पाप र त्यसको असरबाट छुटकारा दिने बाटो खोलिदिनुभएको छ। येसुले आफ्नो मृत्युद्वारा फिरौती तिर्नुभयो भनेर बाइबलले बताउँछ। फिरौती भनेको कसैलाई छुटकारा दिन तिरिने मूल्य हो। येसुले तिर्नुभएको मूल्य उहाँको त्रुटिरहित मानव जीवन थियो। (मत्ति २०:२८ पढ्‌नुहोस्‌।) येसुले पृथ्वीमा अनन्त जीवन बिताउन सक्ने अधिकार स्वेच्छाले त्याग्नुभयो। यसरी उहाँले हाम्रो लागि आदम र हव्वाले गुमाएको सबै कुरा फेरि पाउने बाटो खोलिदिनुभयो। साथै उहाँले हामीप्रति आफ्नो र यहोवाको प्रेम प्रकट गर्नुभयो। यस पाठले तपाईँलाई येसुको मृत्युप्रति कृतज्ञता बढाउन मदत गर्नेछ।

      १. येसुको मृत्युबाट आज हामीले कस्तो लाभ उठाउन सक्छौँ?

      हामी पापी भएकोले यहोवालाई अप्रसन्‍न तुल्याउने थुप्रै काम गर्न पुग्छौँ। तर हामीले आफ्नो पापको लागि साँचो पश्‍चात्ताप गरेर येसु ख्रिष्टमार्फत यहोवासित क्षमा माग्यौँ र ती गल्तीहरू नदोहोऱ्‍याउन सक्दो प्रयास गऱ्‍यौँ भने परमेश्‍वरसित घनिष्ठ मित्रता गाँस्न सक्छौँ। (१ युहन्‍ना २:१) बाइबलले भन्छ: “ख्रिष्ट हाम्रा पापहरू हटाउन एकै चोटि सदाको लागि मर्नुभयो। तिमीहरूलाई डोऱ्‍याएर परमेश्‍वरकहाँ पुऱ्‍याउन सकियोस्‌ भनेर उहाँ धर्मी हुनुभए तापनि पापीहरूको लागि मर्नुभयो।”—१ पत्रुस ३:१८.

      २. येसुको मृत्युबाट हामीले भविष्यमा कस्तो लाभ उठाउन सक्नेछौँ?

      यहोवाले येसुलाई आफ्नो त्रुटिरहित मानव जीवन फिरौतीस्वरूप दिन पठाउनुभयो “ताकि [येसुमाथि] विश्‍वास गर्ने कोही पनि नाश नहोस्‌ तर उसले अनन्त जीवन पाओस्‌।” (युहन्‍ना ३:१६) येसुले गर्नुभएको त्यस कामको आधारमा यहोवाले आदमको अनाज्ञाकारिताको नतिजास्वरूप भएको सबै खराब कुरा चाँडै हटाउनुहुनेछ। भन्‍नुको मतलब, येसुको बलिदानमा विश्‍वास गऱ्‍यौँ भने हामीले सुन्दर बगैँचारूपी पृथ्वीमा सधैँभरि जीवनको आनन्द उठाउने मौका पाउनेछौँ!—यसैया ६५:२१-२३.

      अझ खोतल्नुहोस्‌

      येसुले किन आफ्नो जीवन दिनुभयो भन्‍ने विषयमा अझ राम्ररी बुझ्नुहोस्‌। साथै येसुको मृत्युबाट तपाईँले कस्तो लाभ उठाउन सक्नुहुन्छ भनेर विचार गर्नुहोस्‌।

      ३. येसुको मृत्युले हामीलाई पाप र मृत्युबाट छुटकारा दिन्छ

      भिडियो हेर्नुहोस्‌ अनि तल दिइएका प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

      भिडियो: येसु किन मर्नुभयो? —भाग १ (२:०१)

      • परमेश्‍वरप्रति अनाज्ञाकारी हुँदा आदमले कस्तो मौका गुमाए?

      रोमी ५:१२ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

      • आदमको पापले तपाईँको जीवनमा कस्तो असर पुऱ्‍याएको छ?

      युहन्‍ना ३:१६ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

      • यहोवाले किन आफ्नो छोरालाई पृथ्वीमा पठाउनुभयो?

      क. चित्रहरूको सँगालो: १. परमेश्‍वरप्रति अनाज्ञाकारी भएपछि आदम। २. अन्त्येष्टिको लागि शव बाकस लगिँदै छ। चित्रहरूको सँगालो: क. परमेश्‍वरप्रति अनाज्ञाकारी भएपछि आदम। ख. येसु ख्रिष्ट। ख. चित्रहरूको सँगालो: १. येसु ख्रिष्ट। २. विभिन्‍न उमेर, जाति, संस्कृति र पृष्ठभूमिका मानिसहरू।
      1. क. आदम त्रुटिरहित मानिस थिए तर तिनी परमेश्‍वरप्रति अनाज्ञाकारी भए। तिनले मानिसहरूलाई पाप र मृत्युतर्फ पुऱ्‍याउने बाटोमा धकेले

      2. ख. येसु त्रुटिरहित मानिस हुनुहुन्थ्यो र उहाँ परमेश्‍वरप्रति आज्ञाकारी हुनुभयो। उहाँले मानिसहरू त्रुटिरहित हुने र सधैँभरि जीवित रहने बाटो खोलिदिनुभयो

      ४. येसुको मृत्युबाट सबै मानिसले लाभ उठाउन सक्छन्‌

      भिडियो हेर्नुहोस्‌ अनि तल दिइएको प्रश्‍न छलफल गर्नुहोस्‌:

      भिडियो: येसु किन मर्नुभयो? —भाग २ (२:००)

      • एक जना मानिसको मृत्युबाट कसरी सबै मानिसले लाभ उठाउन सक्छन्‌?

      पहिलो तिमोथि २:५, ६ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

      • त्रुटिरहित मानिस आदमले मानिसजातिलाई पाप र मृत्युतर्फ पुऱ्‍याउने बाटोमा धकेले। येसु पनि त्रुटिरहित मानिस हुनुहुन्थ्यो। त्यसैले उहाँले के गर्न सक्नुभयो?

      ५. फिरौती यहोवाले तपाईँलाई दिनुभएको उपहार हो

      यहोवाका मित्रहरूले फिरौतीलाई ‘यो त यहोवाले मेरै लागि दिनुभएको उपहार हो’ भनेर सोच्छन्‌। एउटा उदाहरण विचार गर्न गलाती २:२० पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

      • प्रेषित पावलले फिरौतीलाई यहोवाले तिनकै लागि दिनुभएको उपहार ठानेको कसरी देखाए?

      आदमले पाप गर्दा तिनी र तिनका सबै सन्तानले मृत्युदण्ड पाए। तर यहोवा तपाईँलाई सधैँभरि बाँच्ने मौका दिन चाहनुहुन्छ। त्यसैले उहाँले आफ्नो छोरालाई मर्न पठाउनुभयो।

      यहाँ दिइएका पदहरू पढ्‌दा यहोवालाई आफ्नो छोराले दुःख भोगेको देख्दा कस्तो लाग्यो होला, कल्पना गर्नुहोस्‌। युहन्‍ना १९:१-७, १६-१८ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

      • यहोवा र येसुले तपाईँको लागि गर्नुभएको कुरा विचार गर्दा तपाईँलाई कस्तो लाग्यो?

      कसै-कसैले सोध्लान्‌: “एक जना मानिसको मृत्युले कसरी सबैलाई बचाउन सक्छ?”

      • तपाईँ कस्तो जवाफ दिनुहुन्छ?

      सारांश

      येसुको मृत्युको आधारमा यहोवाले हाम्रा पापहरूको क्षमा दिनुहुन्छ। साथै येसुको मृत्युले गर्दा हामीले सधैँभरि जीवनको आनन्द उठाउने मौका पाउँछौँ।

      तपाईँले के सिक्नुभयो?

      • येसु किन मर्नुभयो?

      • येसुको त्रुटिरहित मानव जीवन कुन अर्थमा सबैको लागि फिरौती थियो?

      • येसुको मृत्युबाट तपाईँले कस्तो लाभ उठाउन सक्नुहुन्छ?

      लक्ष्य

      अझ धेरै जान्‍नुहोस्‌

      येसुको त्रुटिरहित मानव जीवनलाई किन फिरौती भनिन्छ, बुझ्नुहोस्‌।

      “येसुको बलिदान कसरी ‘धेरैको निम्ति फिरौती’ हो?” (jw.org को लेख)

      उद्धार पाउन हामीले के गर्नुपर्छ, थाह पाउनुहोस्‌।

      “येसुले कसरी मानिसहरूको उद्धार गर्नुहुन्छ?” (jw.org को लेख)

      के यहोवाले गम्भीर पापहरू पनि क्षमा गर्न सक्नुहुन्छ?

      “बाइबलसम्बन्धी प्रश्‍नहरूको जवाफ” (प्रहरीधरहरा, मे १, २०१३)

      एक जना पुरुषले ख्रिष्टको बलिदानबारे सिक्दा कसरी आफ्नो व्यक्‍तित्व सुधार्न मदत पाए, पढ्‌नुहोस्‌।

      “म अहिले हिंसाको दास होइनँ” (jw.org को लेख)

      a पाप भनेको खराब काम गर्नु मात्र होइन। पापले हामीमा वंशाणुगत आएको त्रुटिपूर्ण अवस्थालाई पनि बुझाउँछ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने