प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रकृतिमा देखिने परमेश्‍वरको बुद्धि
    प्रहरीधरहरा—२००८ | जून १
    • प्रकृतिमा देखिने परमेश्‍वरको बुद्धि

      “तर तिनीहरूमध्येका कसैले पनि यसो भनेर सोद्धैनन्‌, ‘. . . मेरा सृष्टिकर्ता कहाँ हुनुहुन्छ? जसले हामीलाई पृथ्वीका पशुहरूलाईभन्दा बढी बुद्धि दिनुहुन्छ, र आकाशका चराहरूलाई भन्दा हामीलाई अझ ज्ञानी तुल्याउनुहुन्छ।’ ”—अय्यूब ३५:१०, ११.

      चराहरूसित अचम्म-अचम्मको क्षमता हुन्छ। तिनीहरू आकासमा जुन दक्षताका साथ उड्‌छन्‌ त्यो देखेर हवाईजहाजका डिजाइनरहरू आरिस गर्छन्‌। चराका केही प्रजातिहरू आफ्नो बाटो चिन्‍न कुनै खास चिह्न नभएको अथाह समुद्रमाथि हजारौं किलो मिटर पार गर्दै फरकै नपर्ने गरी आफ्नो गन्तव्य पुग्न सक्छन्‌।

      चराहरूको अर्को विशेषता भनेको आवाज र गीतद्वारा आपसमा कुरा गर्न सक्नु हो। यसले सृष्टिकर्ताको बुद्धिलाई अझ स्पष्ट पार्छ। आउनुहोस्‌, केही उदाहरणहरू विचार गरौं।

      चराहरूले आपसमा कुरा गर्दा

      चराका कुनै-कुनै प्रजातिका चल्लाहरू कोरलिनुअघि नै आपसमा कुरा गर्न थाल्छन्‌। एउटा उदाहरणलाई विचार गरौं। पोथी बट्टाईले एक छिमलमा दिनको एउटाको दरले आठ वटासम्म अण्डा पार्छ। सबै चल्ला एउटै गतिमा बढ्यो भने ती सबै आठ दिनभित्रमा काढिन्छन्‌। यसो भयो भन्‍ने त माउलाई धौ-धौ पर्छ किनभने तिनलाई एक हप्ता भएका फुर्तिला बचरा-बचरीलाई हेर्ने कि अझै कोरल्न बाँकी अण्डालाई छोपेर बस्ने हुन्छ। बरु त्यो आठैवटा अण्डा छ घण्टाको अवधिमा काढिन्छन्‌। त्यो कसरी सम्भव छ? अनुसन्धानकर्ताहरूका अनुसार यसको एउटा मुख्य कारण के हो भने, बचरा-बचरीहरूले कोरलिनुअघि नै अण्डाभित्रबाट आपसमा कुरा गर्न थालिसकेका हुन्छन्‌ र कुनै-न-कुनै तरिकामा एउटै समयमा निस्कन कुरा मिलाउँछन्‌।

      अक्सर भाले चल्लाले मात्र हुर्केपछि गीत गाउँछ। भालेले विशेष गरी जोडी खोज्ने बखतमा आफ्नो सीमाना कोर्न वा पोथीलाई फकाउन गीत गाउँछ। चराका हजारौं प्रजाति छन्‌ र भन्‍ने हो भने सबैको आ-आफ्नै भाषा हुन्छ र यसले पोथीलाई आफ्नो प्रजातिको भाले चिन्‍न मदत गर्छ।

      चराहरूले विशेष गरी झिसमिसे बिहान र सूर्य अस्ताउने समयमा गीत गाउँछन्‌ र यसको एउटा राम्रो कारण छ। त्यतिबेला धेरै हावा चलेको हुँदैन र अरू हल्ला पनि त्यति हुँदैन। मध्य दिनमा भन्दा झिसमिसे बिहान र साँझको समयमा चराको गीत २० गुणा बढी राम्ररी सुनिने कुरा अनुसन्धानकर्ताहरूले पत्ता लगाएका छन्‌।

      चराहरूमा ‘गायक’ प्रायजसो भाले नै भए तापनि भाले-पोथी दुवैले विभिन्‍न आवाज निकाल्छन्‌ र प्रत्येक आवाजको आ-आफ्नै अर्थ हुन्छ। उदाहरणको लागि, भँगेरा जस्तै चाफिन्च भन्‍ने एक प्रकारको चराले नौ वटा भिन्‍नाभिन्‍नै आवाज निकाल्न सक्छ। आकासबाट कुनै खतरा आउँदा—जस्तै सिकारी चरा देख्दा एक प्रकारको आवाज निकालेर चेतावनी दिन्छ भने स्थलप्राणीबाट खतरा आउँदा अर्कै आवाज निकालेर चेताउनी दिन्छ।

      सर्वोत्कृष्ट वरदान

      चराहरूमा हुने सहज-ज्ञान साँच्चै विशेष छ। तर आपसमा कुरा गर्ने क्षमताबारे भन्‍नुपर्दा मानिसहरू अझै विशिष्ट छन्‌। परमेश्‍वरले मानिसलाई ‘आकाशका चराहरूलाई भन्दा अझ ज्ञानी तुल्याउनुभयो’ भनी बाइबलको पुस्तक अय्यूब ३५:११ बताउँछ। हावा, प्रेम जस्ता अनुभव मात्र हुने अमूर्त कुरा र जटिल विचारहरूलाई मानिसले मात्रै इसारा वा स्वरग्रन्थीबाट निस्कने आवाजद्वारा व्यक्‍त गर्न सक्छ।

      मान्छेको बच्चा जटिल भाषाहरू सिक्ने क्षमतासहित बनाइएका हुन्छन्‌ जस्तो देखिन्छ। अरू प्राणीसित त्यस्तो क्षमता हुँदैन। एउटा प्रकाशनअनुसार “आमाबाबुले बच्चासित कुरै नगरे तापनि उनीहरूले आफै भाषा सिक्छन्‌। अझ, बहिरा बच्चाहरूलाई घरमा सांकेतिक भाषा सिकाइएको छैन भने पनि तिनीहरू आफैले सांकेतिक भाषा सृजना समेत गर्न सक्छन्‌।”—अनलाइन पत्रिका अमेरिकन साइन्टिस्ट।

  • प्रकृतिमा देखिने परमेश्‍वरको बुद्धि
    प्रहरीधरहरा—२००८ | जून १
    • तपाईंलाई कसरी असर गर्छ?

      चराको चिरबिर आवाज वा बच्चाको बोली फुटेको सुन्दा तपाईंलाई कसरी असर गर्छ? के तपाईं परमेश्‍वरका यी सृष्टिमा उहाँको बुद्धि देख्नुहुन्छ?

      आफ्नो बनावटबारे गहिरोसित सोचेपछि भजनहार दाऊद परमेश्‍वरबारे यसो भन्‍न उत्प्रेरित भए: “म तपाईंलाई धन्यवाद दिनेछु। किनकि म भयानक र आश्‍चर्य रीतिले बनिएको छु। तपाईंका कार्यहरू आश्‍चर्यका छन्‌। र ती कुरा मेरो आत्माले राम्ररी जान्दछ।” (भजन १३९:१४) कृतज्ञ हुँदै सृष्टिमा देखिने परमेश्‍वरको बुद्धिलाई जाँचेर हेर्दा भरपर्दो डोऱ्‍याइ दिन सक्ने उहाँको क्षमतामाथि तपाईंको विश्‍वास पक्कै बलियो हुनेछ। (w08 5/1)

  • ताराहरूमा देखिने परमेश्‍वरको शक्‍ति
    प्रहरीधरहरा—२००८ | जून १
    • ताराहरूमा देखिने परमेश्‍वरको शक्‍ति

      “तिमीहरूका आँखा माथि उठाएर हेर, यी कसले बनाएका हुन्‌? उहाँलेनै होइन र? जसले तिनीहरूका दललाई गन्ती गरेर नाउँ बोलाउँदै ल्याउनुहुन्छ। उहाँको शक्‍तिको बडप्पनले गर्दा, उहाँ सामर्थ्यमा बलियो भएको हुनाले, तिनीहरूमध्ये एउटै पनि हराउनेछैन।”—यशैया ४०:२६.

      सूर्य केवल मध्यम खालको तारा हो। तैपनि यसको पिण्ड पृथ्वीको भन्दा ३,३०,००० गुणा बढी छ। पृथ्वी नजिक रहेका प्रायजसो ताराहरू सूर्यभन्दा साना छन्‌। तर अरू तारा, जस्तै V382 Cygni नाउँ गरेको ताराको पिण्ड सूर्यको भन्दा कम्तीमा पनि २७ गुणा बढी छ।

      सूर्यले कति उर्जा उत्पादन गर्छ? मानिलिनुहोस्‌, तपाईं दन्किरहेको आगोबाट झन्डै १५ किलोमिटर टाढा हुनुहुन्छ र अझै यसको राप महसुस गर्न सक्नुहुन्छ। अब कल्पना गर्नुहोस्‌, त्यो आगो कत्ति दन्केको होला! मोटामोटी रूपमा भन्‍नुपर्दा पृथ्वीबाट सूर्य १५ करोड किलोमिटर टाढा छ। तैपनि चर्को घाम लागेको दिनमा यसले भतभत पोल्छ! छक्कलाग्दो कुरा के हो भने, सौर्यशक्‍तिको दुई अरब भागको झन्डै एक भाग मात्र पृथ्वीमा आइपुग्छ। तैपनि पृथ्वीमा जीवन धान्‍न यति नै पर्याप्त छ।

      वास्तवमा, वैज्ञानिकहरूको हिसाबअनुसार मात्र सूर्यले उत्पादन गर्ने कुल शक्‍तिले पृथ्वीजस्तो अर्को ३ नील १० खरब (३,१०,००,००,००,००,०००) ग्रहहरूमा जीवन धान्‍न सक्छ। अथवा सूर्यको यत्ति धेरै शक्‍तिलाई यसरी हिसाब गर्दा सूर्यले उत्पादन गर्ने कुल उर्जा एक सेकेन्डको लागि मात्र जम्मा गर्न सकेको भए यसले अमेरिकामा अहिले जति उर्जा खपत हुन्छ त्यही दरमा “अर्को ९०,००,००० वर्षको लागि पर्याप्त उर्जा उत्पादन गर्न सक्छ” भनी स्पेस वेदर प्रिडिक्सन सेन्टर भन्‍ने बेवसाइट-ले बताउँछ।

      सूर्यको केन्द्रबाट उर्जा उत्पादन हुन्छ। यो, मानौं एउटा आणविक भट्टी हो जहाँ परमाणुहरू आपसमा बेसरी ठोकिएर चक्नाचूर हुन्छ र प्रशस्त उर्जा उत्पादन गर्छ। सूर्य विशाल हुनुका साथै यसको केन्द्रको घनत्व यत्ति बाक्लो छ कि त्यहाँबाट निस्किने उर्जा यसको सतहमा पुग्न लाखौं वर्ष लाग्छ। माथि उल्लेख गरेको बेवसाइटअनुसार “सूर्यले अहिले उर्जा उत्पादन गर्न बन्द नै गऱ्‍यो भने पनि त्यसको असर ५,००,००,००० वर्षपछि मात्र पृथ्वीमा महसुस हुन्छ!”

      अब यो तथ्यलाई विचार गर्नुहोस्‌: खुला आकास भएको दिनमा तपाईंले सूर्य जस्तै हजारौं ताराहरू देख्नुहुन्छ र ती प्रत्येक ताराले सूर्यले जत्तिकै उर्जा उत्पादन गर्छ। अनि वैज्ञानिकहरूअनुसार ब्रह्‍माण्डमा अरबौं अरब ताराहरू छन्‌!

      ती सबै तारा कसरी अस्तित्वमा आए? अनुसन्धानकर्ताहरूले झन्डै १४ अरब वर्षअघि ब्रह्‍माण्ड अचानक अस्तित्वमा आयो भनेर विश्‍वास गर्छन्‌ तर उनीहरू आफैले यो कसरी भयो भनेर बुझेका छैनन्‌। बाइबल सरल शब्दमा यसो भन्छ: “आदिमा परमेश्‍वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो।” (उत्पत्ति १:१) त्यति धेरै मात्रामा उर्जा उत्पादन गर्ने ‘मेसिन’ जसलाई हामी तारा भन्छौं, ती बनाउनेलाई ‘शक्‍तिमा बडप्पन’ भनी वर्णन गर्नुमा कुनै दुई मत छैन।—यशैया ४०:२६.

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने