-
के तपाईँ बप्तिस्मा गर्न तयार हुनुहुन्छ?सधैँभरि जीवनको आनन्द उठाउनुहोस्!—बाइबल अध्ययन सामग्री
-
-
३. तपाईँ किन डराएर पछि हट्नु हुँदैन?
कसै-कसैलाई आफूले यहोवासित गरेको वाचा पूरा गर्न नसकिएला कि भन्ने डर लाग्छ। हो, तपाईँबाट कहिलेकाहीँ गल्तीहरू हुनेछन्। बाइबलमा उल्लेख गरिएका वफादार पुरुषहरू र स्त्रीहरूबाट समेत गल्तीहरू भएका थिए। तर यहोवा आफ्ना उपासकहरूले कहिल्यै गल्ती गर्नेछैनन् भनेर आशा गर्नुहुन्न। (भजन १०३:१३, १४ पढ्नुहोस्।) तपाईँले आफ्नो तर्फबाट सक्दो कोसिस गर्दा उहाँलाई खुसी लाग्छ। उहाँले तपाईँलाई मदत गर्नुहुनेछ। वास्तवमा कुनै कुराले “परमेश्वरको प्रेमबाट हामीलाई अलग पार्न [सक्नेछैन]” भनेर यहोवा हामीलाई आश्वासन दिनुहुन्छ।—रोमी ८:३८, ३९ पढ्नुहोस्।
-
-
तपाईँ खेदो सहन सक्नुहुन्छसधैँभरि जीवनको आनन्द उठाउनुहोस्!—बाइबल अध्ययन सामग्री
-
-
ढिलो होस् वा चाँडो सबै ख्रिष्टियनले विरोधको मात्र होइन, खेदोको पनि सामना गर्नुपर्ने हुन्छ। के यसले गर्दा हामी चिन्तित हुनुपर्छ?
१. हामीमाथि किन खेदो आइपर्छ?
बाइबलले स्पष्टसित भन्छ: “ख्रिष्ट येसुको चेलाको नाताले परमेश्वरको भक्ति गर्दै जीवन बिताउन चाहनेहरूजति सबैमाथि खेदो आइपर्नेछ।” (२ तिमोथि ३:१२) येसु सैतानको संसारको हुनुहुन्न थियो, त्यसैले उहाँमाथि खेदो आइपऱ्यो। उहाँजस्तै हामी पनि यस संसारका होइनौँ। त्यसैले यस संसारका सरकारहरू र धार्मिक सङ्गठनहरूले हाम्रो खेदो गर्दा हामी छक्क पर्दैनौँ।—युहन्ना १५:१८, १९.
२. हामीले खेदोको सामना गर्न कसरी तयारी गर्न सक्छौँ?
हामीले अहिले नै यहोवामाथिको भरोसालाई बलियो पार्नुपर्छ। हरेक दिन उहाँलाई प्रार्थना गर्न र उहाँको वचनको केही भाग पढ्न समय छुट्ट्याउनुहोस्। नियमित रूपमा मण्डलीका सभाहरूमा उपस्थित हुनुहोस्। यी गतिविधिहरूले तपाईँलाई जुनसुकै खेदोको साहसीपूर्वक सामना गर्न बल दिनेछ, चाहे त्यो आफ्नै परिवारबाट आएको किन नहोस्। पटक-पटक खेदोको सामना गरेका प्रेषित पावलले लेखे: “यहोवा मेरो मदतगार हुनुहुन्छ; म डराउनेछैनँ।”—हिब्रू १३:६.
हामीले नियमित रूपमा सुसमाचार सुनाएर पनि साहस बढाउन सक्छौँ। सुसमाचार सुनाउने कामले हामीलाई यहोवामा भरोसा गर्न र मानिसहरूको डर हटाउन सिकाउँछ। (हितोपदेश २९:२५) तपाईँले अहिले सुसमाचार सुनाउनको लागि साहस बटुल्नुभयो भने सरकारले हाम्रो गतिविधिमा प्रतिबन्ध लगाए तापनि यस काममा भाग लिइरहन तयार हुनुहुनेछ।—१ थिस्सलोनिकी २:२.
३. खेदो सहँदा हामीलाई कस्तो फाइदा हुन्छ?
हुनत खेदो भोग्नुपर्दा हामीलाई खुसी लाग्दैन तर हामीले अन्तसम्मै खेदो सह्यौँ भने हाम्रो विश्वास अझ बलियो हुनेछ। हामीले खेदो भोगिरहेको बेला ‘अब सहनै सक्दिनँ’ जस्तो लाग्न सक्छ। त्यतिबेला यहोवाको मदत पाएकोले हामी उहाँसित अझ नजिक हुन्छौँ। (याकुब १:२-४ पढ्नुहोस्।) हामीले खेदो भोग्दा उहाँलाई दुःख लाग्छ तर सहेर अघि बढिरहेको देख्दा उहाँलाई खुसी लाग्छ। बाइबलले भन्छ: “तिमीहरूले असल काम गरेकोले दुःख पायौ अनि तिमीहरूले सह्यौ भने त्यो . . . परमेश्वरको नजरमा राम्रो कुरा हो।” (१ पत्रुस २:२०) वफादार भई खेदो सहनेजति सबैलाई यहोवाले साँचो उपासनाका विरोधीहरू नहुने संसारमा अनन्त जीवनको इनाम दिनुहुनेछ।—मत्ति २४:१३.
अझ खोतल्नुहोस्
हामी किन खेदोको बाबजुद यहोवाप्रति वफादार रहन सक्छौँ र यसो गर्दा कस्ता आशिष् पाउँछौँ, बुझ्नुहोस्।
४. तपाईँ परिवारको विरोध सहन सक्नुहुन्छ
यहोवाको उपासना गर्ने हाम्रो निर्णय परिवारलाई मन नपर्न सक्छ भनेर येसुलाई राम्ररी थाह थियो। मत्ति १०:३४-३६ पढ्नुहोस् अनि यो प्रश्न छलफल गर्नुहोस्:
परिवारको कुनै सदस्यले यहोवाको सेवा गर्ने निर्णय गर्दा के हुन सक्छ?
एउटा उदाहरण विचार गर्न भिडियो हेर्नुहोस् अनि तल दिइएको प्रश्न छलफल गर्नुहोस्:
तपाईँलाई कुनै नातेदार वा साथीले यहोवाको सेवा गर्नदेखि रोक्न खोज्दा के गर्नुहुन्छ?
भजन २७:१० र मर्कुस १०:२९, ३० पढ्नुहोस्। प्रत्येक बाइबल पद पढेपछि यो प्रश्न छलफल गर्नुहोस्:
परिवार वा साथीभाइबाट विरोध आउँदा यस प्रतिज्ञाले तपाईँलाई कसरी मदत गर्न सक्छ?
५. खेदोको बाबजुद यहोवाको उपासना गरिरहनुहोस्
अरूले हामीलाई यहोवाको उपासना गर्नदेखि रोक्न खोज्दा उहाँको सेवा गरिरहन साहस चाहिन्छ। भिडियो हेर्नुहोस् अनि तल दिइएको प्रश्न छलफल गर्नुहोस्:
भिडियोमा देखाइएका उदाहरणहरूले तपाईँलाई कसरी साहसी हुन मदत गर्छ?
प्रेषित ५:२७-२९ र हिब्रू १०:२४, २५ पढ्नुहोस्। प्रत्येक बाइबल पद पढेपछि यो प्रश्न छलफल गर्नुहोस्:
सुसमाचार सुनाउने काम वा सभाहरूमाथि प्रतिबन्ध लगाइँदा समेत हामीले यहोवाको उपासना गरिरहनु किन महत्त्वपूर्ण छ?
६. यहोवाले तपाईँलाई खेदो सहन मदत गर्नुहुनेछ
विभिन्न उमेर र पृष्ठभूमिका यहोवाका साक्षीहरू खेदोको बाबजुद वफादार भई यहोवाको सेवा गर्दै छन्। यसो गर्न तिनीहरूलाई कुन कुराले मदत गऱ्यो भनी थाह पाउन भिडियो हेर्नुहोस्। त्यसपछि तल दिइएको प्रश्न छलफल गर्नुहोस्:
भिडियोमा देखाइएका साक्षीहरूलाई खेदो सहन कुन कुराले मदत गऱ्यो?
रोमी ८:३५, ३७-३९ र फिलिप्पी ४:१३ पढ्नुहोस्। प्रत्येक बाइबल पद पढेपछि यो प्रश्न छलफल गर्नुहोस्:
जस्तोसुकै परीक्षा सहन सक्छु भनेर विश्वस्त हुन यस पदले तपाईँलाई कसरी मदत गर्छ?
मत्ति ५:१०-१२ पढ्नुहोस् अनि यो प्रश्न छलफल गर्नुहोस्:
तपाईँ खेदोको बाबजुद किन आनन्दित हुन सक्नुहुन्छ?
यहोवाका लाखौँ उपासकले विरोधको बाबजुद वफादार भई उहाँको सेवा गरेका छन्। त्यसैले तपाईँ पनि सक्नुहुन्छ!
कोही-कोही भन्छन्: “म खेदो सहन सक्दिनँ होला।”
तिनीहरूले कुन-कुन पदबाट खेदोको सामना गर्न साहस पाउन सक्छन्?
सारांश
हामीले खेदोको बाबजुद यहोवाको सेवा गरिरहँदा उहाँ त्यसको कदर गर्नुहुन्छ। उहाँको मदत पाएर हामी अन्तसम्मै खेदो सहन सक्छौँ!
तपाईँले के सिक्नुभयो?
ख्रिष्टियनहरूमाथि किन खेदो आइपर्छ?
खेदो आइपर्दा त्यसको सामना गर्न तपाईँ अहिल्यै कस्तो तयारी गर्न सक्नुहुन्छ?
जस्तोसुकै परीक्षाको बाबजुद यहोवाको सेवा गरिरहन सक्छु भनेर विश्वस्त हुन तपाईँलाई कुन कुराले मदत गर्न सक्छ?
अझ धेरै जान्नुहोस्
एक जना भाइ तटस्थताको कारण जेलमा पर्दा यहोवाले तिनलाई सहनशील हुन कसरी मदत गर्नुभयो भनेर तिनीबाटै सुन्नुहोस्।
एक दम्पतीलाई विरोधको बाबजुद वर्षौँसम्म वफादार भई यहोवाको सेवा गर्न कुन कुराले मदत गऱ्यो, हेर्नुहोस्।
हामी कसरी साहसी भई खेदोको सामना गर्न सक्छौँ, थाह पाउनुहोस्।
“खेदोको सामना गर्न अहिल्यै तयारी गर्नुहोस्” (प्रहरीधरहरा, जुलाई २०१९)
हामीले परिवारबाट आउने विरोधप्रति कस्तो दृष्टिकोण राख्नुपर्छ अनि यसले गर्दा आइपर्ने चुनौतीहरूको सामना कसरी गर्न सक्छौँ?
“सत्यले ‘शान्ति होइन तर फूट गराउँछ’” (प्रहरीधरहरा, अक्टोबर २०१७)
-