सृष्ट भन्छ, “यिनीहरूलाई कुनै किसिमको बहाना छैन”
“उहाँको अदृश्य गुण, अर्थात् उहाँको अनन्त शक्ति र ईश्वरीय स्वभाव, संसारको सृष्टिदखिनै बनिएका कुराबाट थाह पाएर, उहाँको कामद्वारा बुझ्न सकिने र छर्लङ्गै देखिने भएको छ, र यिनीहरूलाई कुनै किसिमको बहाना छैन।”—रोमी १:२०.
१, २. (क) अय्यूबले यहोवासङ्ग कटुतासाथ के गुनासो गरे? (ख) तरपछि आफ्नो गुनासोलाई तिनले कसरी वापस लिए?
यहोवा परमेश्वरप्रति अटुट निष्ठा राख्ने पुरातन समयका अय्यूब नाउँ भएका एकजना व्यक्तिलाई शैतानले भयङ्कर परीक्षामा पारेको थियो। दियाबलले अय्यूबको सारा धन-सम्पत्तिको नोक्सान गराइदियो, तिनका छोरा-छोरीहरूलाई मारिदियो, तिनलाई घिनलाग्दो रोग लगाइदियो। यी सबै आपदहरू ल्याउने परमेश्वर नै हुनुहुन्छ भनी अय्यूबले सोचे। तिनले कटुतासाथ यहोवासित यसरी गुनासो गरे: “के तपाईं अत्याचारमा केही लाभ पाउनुहुन्छ . . . तपाईं ममा दोष र पाप पाइन्छ कि भनी खोज्नुहुन्छ? म निर्दोष छु भनी तपाईं जान्नुहुन्छ।”—अय्यूब १:१२-१९; २:५-८; १०:३, ६, ७.
२ यसको केही समयपछि अय्यूबले परमेश्वरलाई बिल्कुलै भिन्न कुरा भन्छन्: “मैले ता म आफैले नजानेका महान् कामहरूका विषयमा भनेको छु, मैले जान्न नसक्ने साह्रै अचम्मका कुराहरू! त्यसबेला ता सुनेको कुराले मात्रै मैले तपाईंलाई चिन्दथिएँ। तर अब ता म तपाईंलाई आफ्नै आँखाले देख्तछु। यसैकारण म आफूलाई तुच्छ ठान्छु, म धूलो र खरानीमा बसेर पश्चाताप गर्दछु।” (अय्यूब ४२:३, ५, ६) अचानक त्यस्तो के भयो जसले गर्दा अय्यूबको मनोवृत्तिमा यतिको परिवर्तन आयो?
३. सृष्टिबारे अय्यूबले के नयाँ दृष्टिकोण अपनाए?
३ बीचमा यहोवाले अय्यूबसित आँधीबेह्रीबाट मुठभेड गर्नुभएको थियो। उहाँले अय्यूबलाई प्रश्नमाथि प्रश्न गर्नुभयो। ‘पृथ्वीको जग मैले बसाल्दा तँ कहाँ थिइस्? ढोकाहरू राखेर समुद्रलाई कसले रोक्यो र त्यसको छाल कहाँसम्म आउन सक्छ भनेर कसले सीमाना ठहरायो? के तँ बादललाई पृथ्वीमा पानी खसाल्न लाउन सक्छस्? के तँ घास उमार्न सक्छस्? के तँ तारासमूहलाई एकै ठाउँमा बाँधेर तिनीहरूलाई डोऱ्याउन सक्छस्?’ अय्यूबको किताबको ३८ देखि ४१ अध्यायहरूमा यहोवाले अय्यूबलाई यस्ता र उहाँको सृष्टिबारे अन्य धेरै प्रश्नहरू सोध्नु भएको हामी देख्छौं। उहाँले अय्यूबलाई परमेश्वर र मानिसबीच एउटा अति नै ठूलो भिन्नता छ भनी बुझाउनु भयो। परमेश्वरको सृष्टिमा उहाँको बुद्धि र शक्ति दर्शाउने कुराहरूको उहाँले अय्यूबलाई जोडदार ढङ्गमा सम्झना गराउनु भयो। तीमध्ये यस्ता यस्ता कुराहरू थिए जसलाई अय्यूबले गर्नु त कता हो कता, तिनलाई बुझ्न समेत गाह्रो थियो। सर्वशक्तिमान परमेश्वरको सृष्टिमा देखिने उहाँको उदेकलाग्दो शक्ति र पत्यार गर्नै गाह्रो लाग्ने बुद्धिको सामने अय्यूब हैरान हुन्छन्। यहोवासित तर्कवितर्क गर्न तिनले आँट गरेकोमा तिनी भयभीत हुन्छन्। अतः तिनी भन्छन्: “त्यस बेला ता सुनेको कुराले मात्र मैले तपाईंलाई चिन्दथिएँ, तर अब ता म तपाईंलाई आफ्नै आँखाले देख्छु।”—अय्यूब ४२:५.
४. यहोवाका सृष्टिहरूद्वारा हामीले के बुझ्नु पर्दछ, र त्यसलाई नबुझ्नेहरू कुन अवस्थामा छन्?
४ यहोवाका गुणहरू उहाँको सृष्टिद्वारा देख्नसकिन्छ भनेर बाइबलका एकजना प्रेरित लेखकले लेखे। रोमी १:१९, २०-मा प्रेरित पावलले यसप्रकार लेखे: “परमेश्वरको विषयमा जान्नु पर्ने कुरो तिनीहरूमा प्रकट भएको छ, किनकि परमेश्वरले तिनीहरूलाई प्रकट गरिदिनुभएको छ। किनकि उहाँको अदृश्य गुण, अर्थात् उहाँको अनन्त शक्ति र ईश्वरीय स्वभाव, संसारको सृष्टिदखिनै बनिएका कुराबाट थाह पाएर, उहाँको कामद्वारा बुझ्न सकिने र छर्लङ्गै देखिने भएको छ, र यिनीहरूलाई कुनै किसिमको बहाना छैन।”
५. (क) मानिसहरूमा के स्वाभाविक इच्छा हुन्छ, र त्यसलाई कसै कसैले कसरी गलत ढङ्गमा पूरा गर्छन्? (ख) एथेन्सका युनानीहरूलाई पावलले के सुझाव दिए?
५ आफूभन्दा शक्तिशाली व्यक्तिलाई उपासना गर्ने स्वाभाविक इच्छा मानिसमा सृष्टिदखि नै थियो। डा० के० जी० जुङ्गले द अनडिस्कभर्ड सेल्फ भन्ने आफ्नो पुस्तकमा त्यो इच्छाबारे यसो भनेका छन्: “मानिसमा मात्र हुने यो एउटा सहजात भाव हो जसको प्रदर्शन सारा मानव इतिहासभरि देख्न सकिन्छ।” उपासनाका निम्ति मानिसमा हुने स्वाभाविक इच्छाले गर्दा नै एथेन्समा युनानीहरूले जान अन्जान, सबै थरिका देवताहरूका मूर्तिहरू र वेदीहरू बनाएका हुन् भनी प्रेरित पावलले व्याख्या गरे। पावलले तिनीहरूलाई साँचो परमेश्वर को हुनुहुन्छ भनी चिनाइ दिए। साँचो परमेश्वर यहोवाको खोजी गरेर तिनीहरूले आफूमा भएको अन्तर्निहित तृष्णालाई पूरा गर्न परेका थिए। किनभने “तिनीहरूले उहाँको खोजी गरून्, र सायद छामेर भेट्टाउन भनेर उहाँ हामी हरेकबाट टाढ़ा हुनुहुन्न।” (प्रेरित १७:२२-३०) हामी उहाँको सृष्टिको जति-जति नजीक हुन्छौं त्यति-त्यति हामी उहाँका गुणहरू र विशेषताहरूलाई देख्न सक्नेछौं।
अचम्मलाग्दो पानीको चक्र
६. पानी चक्रमा यहोवाका कुन चाहिं गुणहरू हामी देख्छौं?
६ नरम बादलहरूमा त्यतिका थुप्रो पानीलाई रोकेर राख्ने क्षमता देख्दा यहोवाका कुन चाहिं गुणहरूलाई हामी देख्न सक्छौं? यसमा हामी उहाँको प्रेम र बुद्धि देख्छौं किनकि यस प्रबन्धद्वारा उहाँले पृथ्वीमा आशिषको रूपमा पानी बर्षाउनु हुन्छ। उहाँले पानी चक्र जस्तो अद्भुत प्रक्रियाद्वारा यो काम गर्नुहुन्छ। यसबारे उपदेशक १:७-मा यसो भनिएको छ: “सबै खोलाहरू समुद्रमानै बग्छन्, तापनि समुद्र चाहिं कहिल्यै भरिएर पोखिंदैन। जुन स्थानबाट खोलाहरू बग्छन् फेरि बग्नलाई ती त्यतै फर्कन्छन्।” यो कसरी हुन्छ, सो बाइबलमा अय्यूबको पुस्तकमा स्पष्टसित बताइएको छ।
७. समुद्रबाट पानी मेघसम्म कसरी पुग्छ, र नरम मेघहरूले त्यति थुप्रै पानी कसरी थाम्न सक्छन्?
७ हिउँदका खोलाहरू समुद्रमा बगेर गएपछि ती त्यहीं पर्खेर बस्दैनन्। यहोवाले “समुद्रबाट पानीको थोपा खिंच्नुहुन्छ र आफूले बनाउनुभएको मेघबाट झरी बर्षाउनुहुन्छ।” किनभने पानी वाफबाट अन्ततोगत्वा एउटा सुन्दर कुइरो बन्दछ। “बादलहरू माथि आकाश-मण्डलमा रहन्छन्। यो उहाँको सुसम्पन्न निपुणताको अद्भुत कार्य हो।” (अय्यूब ३६:२७; ३७:१६; द इङ्गलिश बाइबल) बादलहरू उडिरहन्छन् किनभने तिनीहरू वाफ हुन्: “उहाँले पानीलाई बाक्लो बादलको थुप्रोमा बन्द गरी राख्नुहुन्छ, औ तिनको भारले कुइरोहरू फुटेर निस्कँदैनन्।” अथवा अर्को अनुवादले यसो भन्दछ: “उहाँले बाक्लो मेघहरूमा पानीलाई थुनेर राख्नुहुन्छ र तिनीहरूको भारले मेघहरू फुटेर निस्कँदैनन्।”—अय्यूब २६:८, द यरूशलेम बाइबल; एन०इ०.
८. कुन क्रमाअनुसार “आकाशमा भएका भण्डारहरूलाई” रित्याइन्छन् र पानी चक्र पूरा हुन्छ?
८ “आकाशमा भएको [यस] भण्डारलाई कसले रित्याएर” पृथ्वीमा बर्षा बर्साउँछ? (अय्यूब ३८:३७) त्यसैले जसको “सुसम्पन्न निपुणताले” तिनीहरूलाई जम्मा पार्छ, र जसले स्वयं “बनाउनुभएको मेघबाट झरी बर्साउनुहुन्छ।” मेघबाट झरी बर्साउनमा के को आवश्यकता पर्छ? हावाका प्रत्येक क्युबिक सेन्टिमिटरमा धूलो वा नुनजस्ता कणहरूका हजारौं लाखौं सुक्ष्म ठोस पदार्थ हुनु पर्दछ जो सा-साना थोपाहरूका लागि केन्द्रको काम गर्दछन्। दस लाख बादलका साना-साना थोपाहरू मिलेर पानीको एउटा थोपा बन्दछ भनी अनुमान गरिएको छ। यी सबै थोक भइसकेपछि मात्र बादलहरूले पानीको झरी पृथ्वीमा खसाल्छन् र ती नै खोला भएर पानीलाई समुद्रतिर फेरि लैजान्छन्। यसप्रकार पानी चक्र पूरा हुन्छ। तर के यो सबै संयोगले भएको हो र? कदापि पनि होइन!
सुलेमानको बुद्धिको एकमात्र स्रोत
९. एक थरिको कमिलामा सुलेमानले कुन विशेषता पाए?
९ पुरातन संसारमा सुलेमानको बुद्धि अतुलनीय थियो। त्यो बुद्धि धेरैजसो यहोवाको सृष्टिसित सम्बन्धित थियो: “[सुलेमानले] रूखहरूका विषयमा, लबानोनका देवदारदेखि लिएर भित्तामा उम्रने झार विशेषसम्मका विषयमा, पशुहरू, पक्षीहरू, घस्रने जन्तुहरू, र माछाहरूका विषयमा बताउँथे।” (१ राजा ४:३३) तीनै राजा सुलेमानले यसप्रकार लेखे: “ए अल्छे! कमिलाकहाँ गएर त्यसको चाल-ढङ्ग हेर, र ज्ञान सिक्। त्यसको कुनै हेर-विचार गर्ने हुँदैन, कुनै राज्यपाल अथवा शासन गर्ने हुँदैन। तर ग्रीष्म ऋतुमा त्यसले आफ्नो अन्नको भण्डार तयार गर्छ, र कटनीको समयमा आफ्नो खानेकुरो सञ्चय गर्छ।”—हितोपदेश ६:६-८.
१०. कटनी गर्ने कमिलाहरूबारे सुलेमानले दिएको उदाहरण कसरी ठीक प्रमाणित भयो?
१० जाडो महिनाभरि खानका लागि, ग्रीष्म ऋतुमै अन्न जम्मा गर्न कमिलाहरूलाई कसले सिकायो? जाडो महिनाका निम्ति कमिलाहरूले भोजन जम्मा पारेर राख्तछन् भन्ने सुलेमानको विवरणको सत्यतामाथि शदियौंदेखि शङ्का व्यक्त गरियो। तिनको विवरणलाई पुष्टि दिने प्रमाण कसैले पनि फेला पार्न सकेको थिएन। तथापि, १८७१-मा एक जना ब्रिटिश प्रकृतिवादीले कमिलाहरूको भूमिगत अन्नभण्डारको पत्ता लगाए र तिनीहरूबारे बाइबलमा भनिएका कुराहरूको सत्यता प्रमाणित भयो। तर जाडोको मौसम आउने कुरा, ग्रीष्म ऋतु मै थाह पाएर त्यसका लागि तयारी समेत गर्ने अग्रबुद्धि कमिलाहरूले कहाँबाट पाए? यस कुराको व्याख्या बाइबलमा नै गरिएको छ। त्यो व्याख्याअनुसार आफ्नो बचाउको निम्ति आवश्यक बुद्धि यहोवाले आफ्ना धेरै जसो सृष्टिलाई दिनु भएको छ। यो वरदान कटनी गर्ने कमिलाहरूले पनि पाएका छन्। हितोपदेश ३०:२४-ले यसबारे भन्छ: “तिनीहरू साह्रै बुद्धिमानी छन्।” यसप्रकारको बुद्धि त्यसै संयोगले पाएको हो भन्नु मनासिब होइन; र यसको पछाडि एकजना बुद्धिमान सृष्टिकर्त्ता हुनुहुन्छ भनी बुझ्न नसक्नु पनि क्षम्य छैन।
११. (क) अमेरिकामा हुने लालकाठको अति अग्लो रूख किन त्यति विस्मयकारी हुन्छ? (ख) फोटोसिन्थेसिसममा हुने प्रथम क्रियामा त्यस्तो अचम्मलाग्दो कुरा के छ र?
११ अमेरिकामा हुने लालकाठको अति अग्लो रूखको फेदमा उभिने एउटा मानिस त्यस रूखको भव्यता देखेर अचम्म मान्दै आफूलाई एउटा सानो कमिला सरह ठान्दछ। रूख डरलाग्दो हुन्छ। ९० मिटर अग्लो, ११ मिटर गोलाई, बोक्रा ०.६ मिटर बाक्लो, जराहरू तीन वा चार एकडसम्म फैलिएको हुन्छ। तर यसको भव्यताभन्दा अझ उदेकलाग्दो त यसको वृद्धिसित सम्बन्धित रासायनिक र भौतिक प्रक्रियाहरू हुन्। यसका पातहरूले जरोबाट पानी, हावाबाट कार्बन डाइअक्साइड, र सूर्यबाट शक्ति तानेर चिनी तयार पार्छन् र आक्सीजन छाड्छन्। यस प्रक्रियालाई फोटोसिन्थेसिस भनिन्छ जसमा लगभग ७० प्रकारका रासायनिक प्रक्रियाहरू हुन्छन्। यी प्रक्रियाहरूमध्ये धेरैको रहस्य बुझिएको छैन। छक्कलाग्दो कुरा के हो भने, प्रथम क्रिया सही रङ्ग र सही तरङ्ग-दैर्घ्य भएको सूर्यको प्रकाशमा भर पर्छ। नत्र भने यस प्रकाशलाई क्लोरोफिल अणुहरूले सोसेरे फोटोसिन्थेसिसको प्रक्रिया सुरु गर्न सम्भव हुने थिएन।
१२. (क) अमेरिकामा हुने लालकाठको रूखले पानी प्रयोग गर्ने कुरामा के विशेषता छ? (ख) बिरुवा हुर्कनका निम्ति नाइट्रोजनको किन आवश्यकता पर्दछ, र यसको चक्र कसरी पूरा हुन्छ?
१२ अर्को छक्क पर्दो कुरा के हो भने यो रूखले आफ्नो जराबाट ९० मिटर माथि टुप्पोसम्म पानी तानेर लान सक्छ। फोटोसिन्थेसिसका निम्ति चाहिनेभन्दा पनि बढी पानी यसले तान्दछ। बढी पानी पातहरूबाट वाष्पिकरणद्वारा हावामा जान्छ। यसले रूखलाई पानीको शीतलता प्रदान गर्छ। जस्तोकि पसिनाले हाम्रो शरीरलाई शीतल तुल्याउँछ। वृद्धिका लागि चाहिने प्रोटिन बनाउन चिनीहरू वा कार्बोहाइड्रेट्समा नाइट्रोजन थपिनु पर्छ। हावाबाट लिइएको नाइट्रोजन ग्यास पातले प्रयोग गर्न सक्तैन तर माटोमा हुने प्राणीहरूले भूमिमा हुने नाइट्रोजन ग्यासलाई नाइट्रेट्स र पानीमा घुल्न सकिने नाइट्राइट्समा परिणत गर्न सक्छ। यी तत्त्वहरू पछि जराबाट माथि पातसम्म पुग्छन्। आफ्नो प्रोटिनमा यस नाइट्रोजनलाई प्रयोग गर्ने पौधाहरू र जनावरहरू मरेर सडेपछि, नाइट्रोजन फेरि बाहिर आउँछ। यसप्रकार नाइट्रोजन चक्र समाप्त हुन्छ। यी सबै क्रमका जटिलता देखेर मनै अलमल्ल हुन्छ। निश्चय नै, यो कुनै निर्देशनबिना हुने कुरा पटक्कै होइन!
तिनीहरू कुनै बोली वा शब्द वा आवाज बिना बोल्छन्
१३. दाऊदलाई तारै-तारा भएको आकाशले के भन्यो, र तिनले हामीलाई के भनिरहन्छन्?
१३ तारै-ताराले भरिएको आकाशलाई हेर्दा सृष्टिकर्त्ताको एउटा कस्तो विस्मयकारी झलक देखिन्छ। दर्शकहरूको मन श्रद्धाले भरिन्छ। भजनसंग्रह ८:३, ४-मा दाऊदले आफू विस्मित भएको अनुभवलाई यसरी प्रकट गरे: “जब म तपाईंका औंलाहरूको काम आकाश, र तपाईंले नियुक्त गर्नुभएका जून र ताराहरूलाई विचार गर्दछु, मानिस के हो र, तपाईं त्यसको सम्झना गर्नुहुन्छ?” यी तारामय आकाशहरूले दाऊदलाई भने झैं आज देख्न सक्ने आँखा, सुन्न सक्ने कान र महसुस गर्न सक्ने हृदय हुनेहरू सबैलाई भन्दछन्: “आकाशले परमेश्वरको महिमाको वर्णन गर्दछ।”—भजनसंग्रह १९:१-४.
१४. ताराहरूमध्ये एउटा ताराको असीम शक्ति हाम्रो लागि किन अत्यावश्यक छ?
१४ हामी ताराहरूको विषयमा जति बढी ज्ञान लिन्छौं, उति नै ठूलो स्वरमा तिनीहरू हामीसित कुरा गर्छन्। यशैया ४०:२६-मा तिनीहरूको असीम शक्तिबारे बुझ्न हामीलाई आमन्त्रित गरिन्छ: “तिमीहरूका आँखा माथि उठाएर हेर, यी कसले बनाएका हुन्? उहाँलेनै होइन र? जसले तिनीहरूका दललाई गन्ती गरेर नाउँ बोलाउँदै ल्याउनुहुन्छ। उहाँको शक्तिको बडप्पनले गर्दा, उहाँ सामर्थ्यमा बलियो भएको हुनाले, तिनीहरूमध्ये एउटै हराउनेछैन।” तीमध्ये एउटा अर्थात् हाम्रो सूर्यको भीषण शक्ति र भूआकर्षणले पृथ्वीलाई आफ्नो धूरीमा स्थिर राख्तछ, बिरुवाहरूलाई हुर्काउँछ, हामीलाई न्यानो राख्छ र यसप्रकार पृथ्वीमा जीवन बाँच्न सम्भव हुन्छ। प्रेरणाद्वारा प्रेरित पावलले भने: “प्रकाशमा एउटा तारा अर्को ताराभन्दा विभिन्न हुन्छ।” (१ कोरिन्थी १५:४१) अगम्य शक्तिहरूलाई उन्मुक्त पार्न सक्ने हाम्रो सूर्यजस्तो पहेंला ताराहरू, नीला ताराहरू, राता भीमकायहरू, सेता पुड्केहरू, न्यूट्रोन ताराहरू र विस्फोटक सुपरनोभाहरूबारे विज्ञानले बताउँछ।
१५. धेरै आविष्कारकहरूले सृष्टिबाट के सिकेका र नक्कल गरेका छन्?
१५ थुप्रै आविष्कारकहरूले सृष्टिबाट धेरै कुरा सिकेका छन् र तिनीहरूले जीवित प्राणीहरूको काम गर्ने ढङ्ग नक्कल गर्ने प्रयास गरेका छन्। (अय्यूब १२:७-१०) सृष्टिका केही विशिष्ट पक्षलाई विचार गर्नुहोस्। समुद्रको पानीको नुन झिक्ने ग्रन्थि भएका समुद्री चराहरू; बिजुली पैदा गर्ने माछा र ईलहरू; दीप्तिशील प्रकाश पैदा गर्ने माछा, कीराहरू, र कीरा-फट्याघ्रहरू; सोनार प्रयोग गर्ने चमेराहरू र सोंसहरू; कागत बनाउने बारुलाहरू; पुल बनाउने कमिलाहरू, बाँधहरू बनाउने ऊदबिरालो; थर्मामिटर भएका साँपहरू; स्नोर्केल्स र निमज्जन-घन्टा प्रयोग गर्ने पोखरीका कीराहरू; धारा-प्रेरणा प्रयोग गर्ने अष्टभुजहरू; सात प्रकारका जालो र घोप्टे द्वारहरू, जालहरू, र नागपासहरू बनाउने र धेरै उँचाइमा हजारौं किलोमिटरसम्म उड्न सक्ने बच्चाहरू पैदा गर्ने माकुराहरू; पनडुब्बीजस्तै ट्याङ्की प्रयोग गर्ने माछा र कछुवाहरू; अचम्मलाग्दो गरी बसाइँ सर्ने चराहरू, कीराहरू, समुद्री कछुवाहरू, माछाहरू जसको योग्यताबारे व्याख्या गर्ने शक्ति विज्ञानसित पनि छैन।
१६. विज्ञानले पत्ता लगाउनुभन्दा हजारौं वर्षअघि नै बाइबलमा के वैज्ञानिक तथ्यहरू लेखिसकिएका थिए?
१६ विज्ञानले जान्नुभन्दा हजारौं वर्ष अघि बाइबलले वैज्ञानिक तथ्यहरू बताइ सकेको थियो। पास्तेर भन्ने वैज्ञानिकले पता लाउनुभन्दा हजारौं वर्ष पहिले नै मोशाको व्यवस्थाले (१६-वौं शताब्दी सा० यु० पू०) कीटाणुबाट हुने बिमारीको जानकारी दिएको थियो। (लेवी, १३, १४ अध्याय।) सा० यु० पू० १५-वौं शताब्दीमा अय्यूबले भनेका थिए: “परमेश्वरले . . . अन्तरिक्षमा पृथ्वीलाई झुन्डाउनुभयो।” (अय्यूब २६:७) ख्रीष्टभन्दा एक हजार वर्षअघि सुलेमानले रक्तको सञ्चारबारे लेखे। यसबारे जानकारी पाउन चिकित्सा विज्ञानलाई १५-वौं शताब्दीसम्म [सा०यु०] पर्खिनु पऱ्यो। (उपदेशक १२:६) योभन्दा पहिले भजनसंग्रह १३९:१६-ले प्रजनन सम्बन्धी ज्ञान यसरी दर्शाएको थियो: “मेरो रचना नभई तपाईंका आँखाले मलाई देखेका थिए, म अपूर्ण रूपमै भएका तपाईंका आँखाले देखेका थिए, र मेरा सबै अङ्ग जो दिन दिन बनिंदै आएका थिए, ती नबनिंदै तपाईंका पुस्तकमा ती लेखिएका थिए।” बसाइँ सराइबारे प्रकृतिशास्त्रीहरूले बुझ्नुभन्दा अघि नै सातौं शताब्दी सा० यु० पू०-मा यर्मियाले तिनको पुस्तकको ८:७-मा यसरी लेखे: “आकाशका कऱ्याङकुरूङले पनि आफ्नो समय जान्दछ, औ कुर्ले ढुकुर, गौंथली र सारसले आफ्नो फर्कने समय जान्दछ।”—एन०इ०.
विकाशवादीहरूले छानेका “सृष्टिकर्त्ता”
१७. (क) अद्भुत सृष्टिको पछाडि एक जना बुद्धिमान सृष्टिकर्त्ता हुनहुन्छ भन्ने कुरा न बुझ्नेहरूबारे रोमी १:२१-२३-मा के भनिएको छ? (ख) एक अर्थमा विकाशवादीहरूले आफ्नो “सृष्टिकर्त्ता” कसलाई छानेका छन्?
१७ अद्भुत सृष्टि पछाडि हुनु हुने सृष्टिकर्त्तालाई देख्न नचाहनेहरूबारे एउटा शास्त्रपदले यसो भन्छ: “तिनीहरू आफ्ना विचारमा बेकम्मा भए, र तिनीहरूका बेहोशी हृदय अँध्यारो भयो। बुद्धिमान छु भनेर तिनीहरू मूर्ख भए, र अविनाशी परमेश्वरको महिमालाई तिनीहरूले विनाशी मानिस, चरा-चुरुङ्गी, चराखुट्टे जीवात् र घस्रने जन्तुहरूको मूर्तिको रूपमा परिवर्त्तन गरे।” तिनीहरूले “परमेश्वरको सत्यतालाई झूटमा परिवर्त्तन गरे र सदा सर्वदाको परमधन्य सृष्टिकर्त्तालाई त्यागेर बरु सृष्टिको पूजा र सेवा गरे।” (रोमी १:२१-२३, २५) विकाशवादी वैज्ञानिकहरू पनि त्यस्तै हुन्। यथार्थमा तिनीहरू पनि प्रजीवाणु, अर्थात् कीराहरू, माछा, उभयचरहरू, घस्रने जन्तुहरू, स्तनपेयी पशुहरूबाट विकसित हुँदै बनिएको “हनुमन्ते” लाई नै आफ्नो “सृष्टिकर्त्ता” मान्दछन्। तथापि तिनीहरू जान्दछन् कि विकासको यो श्रंखला सुरु गर्ने एउटा कोशिका मात्र भएको जीवाणु वास्तवमा छँदै छैन। थाहा पाइएको सबैभन्दा साधारण प्राणीमा पनि एक खरब जति परमाणु हुन्छन्। यसभित्र एकै साथ हजारौं रासायनिक प्रक्रियाहरू स्वतः संयोगले हुन सक्नु एउटा अति नै घोर जटिलता अर्थात् हुनै नसक्ने कुरा हो।
१८, १९. (क) जीवनको सुरु गरी दिनु भएको लागि उचित श्रेय कसलाई दिनु पर्छ? (ख) यहोवाको सृष्टिलाई हामी कुन हदसम्म बुझ्न सक्छौं?
१८ जीवनको सृजनहार यहोवा परमेश्वर हुनुहुन्छ। (भजनसंग्रह ३६:९) उहाँ नै सबैभन्दा ठूलो प्रथम कारण हुनुहुन्छ। उहाँको नाउँ अर्थात् यहोवाको अर्थ हो “उहाँ सबै कुराको कर्त्ता हुनुहुन्छ।” उहाँका सृष्टिहरू अनगन्ती छन्। निश्चय पनि मानिसहरूले थाह पाएको भन्दा लाखौं गुणा बढी छन्। यसबारे भजनसंग्रह १०४:२४, २५-ले यसरी व्याख्या गर्छ: “हे परमप्रभु, तपाईंका कार्यहरू कस्ता किसिम किसिमका छन्। ती सबै तपाईंले आफ्नो बुद्धिले बनाउनु भएको हो।” अययूब २६:१४ यसबारे अझ स्पष्ट छ: “यी ता उहाँको शक्तिको एक छेउ मात्र हुन्, औ हामीले सुन्ने उहाँको मधुर-सोर कति मधुरो छ। परमेश्वर साँच्चिनै कस्तो महान् हुनुहुन्छ भनी कसले पत्ता लाउनुसक्छ र?
१९ तथापि उहाँलाई चिनाउने उहाँका भौतिक सृष्टिबाहेक हामीसित एउटा अझ उत्तम माध्यम छ। त्यो उत्तम माध्यम हो उहाँको वचन बाइबल। आउँदो लेखमा हामी त्यस माध्यमतिर ध्यान दिनेछौं। (w93 6/15)
के तपाईंलाई सम्झना छ?
▫ आँधी-बेह्रीबाट यहोवा अय्यूबसित बोल्नु भएपछि तिनले के बुझे?
▫ केही मानिसहरूसित कुनै बहाना छैन भनेर पावलले किन भने?
▫ पानी चक्र कसरी काम गर्दछ?
▫ सूर्यको ज्योतिले हाम्रालागि के महत्त्वपूर्ण कुराहरू गरी दिन्छ?
▫ विज्ञानले पत्ता लगाउनुभन्दा पहिले नै बाइबलले कुन कुन वैज्ञानिक तथ्यहरू प्रकाश पारिसकेको थियो?