राज्यको आशामा आनन्दित हुनुहोस्!
“आशामा आनन्द गर, सङ्कटमा स्थिर रहो।”—रोमी १२:१२.
१. यहोवाको सङ्गतमा हामीले आनन्द किन पाउन सक्तछौं र प्रेरित पावलले मसीहीहरूलाई के गर्न आग्रह गरे?
“आनन्दित परमेश्वर।” (१ तिमोथी १:११) यी शब्दहरूले यहोवाको कति राम्रोसँग वर्णन गर्दछ! किन? किनभने उहाँका सबै कामहरूले उहाँलाई धेरैनै आनन्दित तुल्याउँछ। सबै असल र आनन्दित तुल्याउने कुराहरूका स्रोत यहोवा नै हुनु भएको कारण, उहाँको सङ्गतमा उहाँका सबै बुद्धिमानी प्राणीहरूले आनन्द पाउन सक्तछन्। यसै कारण, मसीहीहरूले यहोवा परमेश्वरलाई चिन्न पाएकोमा आफ्नो आनन्दमय सौभाग्यको मूल्याङ्कन गर्न, उहाँले दिनुभएका सृष्टिका अद्भुत वरदानहरूका निम्ति कृतज्ञ हुन, र उहाँले तिनीहरूका लागि दर्शाउनु हुने प्रेमपूर्ण दयामा मगन हुन भनी प्रेरित पावलले आग्रह गरे। पावलले लेखे: “प्रभुमा सधैं आनन्द गर। म फेरि पनि भन्छु, आनन्द गर।”—फिलिप्पी ४:४; भजनसंग्रह १०४:३१.
२. कुन आशाले ठूलो आनन्द दिन्छ र यस आशाबारे के गर्ने प्रोत्साहन मसीहीहरूलाई दिइएको छ?
२ पावलले दिएका यो सुझावलाई के मसीहीहरूले पालन गरी रहेका छन्? निश्चय पालन गरिरहेकाछन्! परमेश्वरले उपलब्ध गराइ दिनु भएका महिमायुक्त आशामा येशू ख्रीष्टका आत्मिक भाइहरू आनन्द मनाइरहेछन्। (रोमी ८:१९-२१; फिलिप्पी ३:२०, २१) हो, ख्रीष्टसँग उहाँका स्वर्गीय राज्य सरकारमा सेवा गरेर, तिनीहरूले मानिस-जाति, अर्थात् दुवै जीवित र मरेकाहरूका भविष्यको महान आशा पूरा गर्ने काममा भाग लिनेछन् भनी तिनीहरूलाई राम्रोसँग थाह छ। एसो कल्पना गर्नु होस्, साझे-हकवालाको हैसियतमा, राजा र पूजाहारीहरू भएर सेवा गर्ने विशेषाधिकार आफूले पाएकोमा तिनीहरू कति आनन्द मनाउनेछन्! (प्रकाश २०:६) तिनीहरूले विश्वासी मानिसहरूलाई सिद्धता प्राप्त गर्ने मद्दत र हाम्रो पृथ्वीमा प्रमोदवन पुनःस्थापित गराउने निर्देशन दिन पाउँदा, तिनीहरू कति आनन्दित हुनेछन्! हो, परमेश्वरका सबै सेवकहरूसँग “अनन्त जीवनको आशा” छ “जोकि कहिल्यै झूट नबोल्नुहुने परमेश्वरले अघि सनातनदेखि प्रतिज्ञा गर्नु भएको छ।” (तितस १:२) यो महान आशा पाएको हुनाकारण, प्रेरित पावलले सबै मसीहीहरूलाई प्रोत्साहन दिन्छन्: “आशामा आनन्द गर।”—रोमी १२:१२.a
साँचो आनन्द—हृदयको एउटा गुण हो
३, ४. (क) “आनन्द गर्नु” भनेको अर्थ के हो र मसीहीहरूले कति पटक आनन्द मनाउनु पर्दछ? (ख) साँचो आनन्द के हो र त्यो कुन कुरामा भर पर्दछ?
३ “आनन्दित हुनुको” अर्थ आनन्द अनुभव गर्नु र त्यसलाई व्यक्त गर्नु हो; तर निरन्तर हाइसञ्चो महसुस गर्नु अथवा हर्षले थैथै हुनु भनेको होइन। बाइबलमा, “आनन्द” “उल्लास” र “हर्ष मनाउनु” जस्ता शब्दहरूका लागि प्रयोग गरिएका हिब्रू र युनानी शब्दहरूसँग मिल्ने क्रियाहरूबाट आनन्दका दुवै आन्तरिक भावना र बाहिरी अभिव्यक्ति प्रदर्शित हुन्छन्। मसीहीहरूलाई “निरन्तर आनन्द मनाओ” “सधैं आनन्दित रहो” भन्ने प्रोत्साहन दिइएको छ।—२ कोरिन्थी १३:११; १ थिस्सलोनिकी ५:१६.
४ तर कोही पनि सधैं आनन्दित कसरी हुन सक्तछ? यस्तो हुन सम्भव छ, किनभने साँचो आनन्द हृदयको एउटा गुण हो, एउटा गहिरो आन्तरिक गुण हो। (व्यवस्था २८:४७; हितोपदेश १५:१३; १७:२२) साँचो आनन्द परमेश्वरको आत्माको एउटा फल हो जसको उल्लेख पावलले प्रेम पछि नै गरेकाछन्। (गलाती ५:२२) त्यो एउटा आन्तरिक गुण भएको हुनाकारण, त्यो बाहिरी कुराहरू अथवा हाम्रा भाइहरू समेतमा पनि भर पर्दैन। तर त्यो परमेश्वरको पवित्र आत्मामा चाहिं भर पर्दछ। र तपाईंसँग सच्चाइ छ, राज्यको आशा छ, र यहोवालाई प्रसन्न तुल्याउने कुराहरू तपाईं गर्नु हुँदैछ भन्ने सन्तोषबाट यस प्रकारको आनन्द उत्पन्न हुन्छ। यसकारण, आनन्द भन्ने कुरा हाम्रो व्यक्तित्वको जन्मजात गुण होइन; “नया . . . व्यक्तित्व [न्यु.व.]” अर्थात् जुन गुणहरूका लागि येशू प्रसिद्ध हुनु हुन्थ्यो, त्यसको यो एउटा भाग हो।—एफिसी ४:२४; कलस्सी ३:१०.
५. कहिले र कसरी, सबैले देख्ने गरी आनन्द व्यक्त गर्न सकिन्छ?
५ आनन्द, हृदयसँग सम्बन्धित एउटा गुण भए तापनि, त्यसलाई बेला-बेलामा बाहिरी ढङ्गमा व्यक्त गर्न सकिन्छ। बेला-बेलामा गरिने, आनन्दका ती बाहिरी अभिव्यक्तिहरू के हुन्? अनुहारको प्रसन्नता देखिन् लिएर आनन्दले साँच्चैनै उफ्रनेसम्म हुन सक्तछ। (१ राजा १:४०; लूका १:४४; प्रेरित ३:८; ६:१५) तर के यसको अर्थ, धेरै न बोल्ने अथवा सधैं हाँसी न रहने मानिसहरूसँग आनन्द हुँदैन भनेको हो? होइन! निरन्तरको बक-बक, खित्का, मुस्कान अथवा देखावटी हाँसो द्वारा साँचो आनन्द प्रकट हुँदैन। परिस्थितिहरूले आनन्दलाई विभिन्न ढङ्गमा प्रकट गराउँछ। आनन्दले मात्र होइन, तर हाम्रो भ्रातृ स्नेह र प्रेमले पनि हामीलाई राज्य सभा-गृहमा मिलनसार तुल्याउँछ।
६. मन न पर्दो परिस्थितिहरूको सामना गर्नु पर्दा पनि, मसीहीहरू किन सधैं आनन्दित हुन सक्तछन्?
६ एक जना मसीहीको नया व्यक्तित्वमा हर समय एउटा हृदयस्पर्शी गुण भएर रहनु नै आनन्दको स्थायित्वको एउटा रूप हो। यसैले गर्दा सधैं आनन्दित हुन सम्भव हुन्छ। जरुर पनि, हामीलाई समय समयमा कुनै कुराले खलबल्याउनु सक्छ, अथवा हामीले अप्रिय परिस्थितिहरूको सामना गर्नु पर्ला। तर यस्तो हुँदा पनि हाम्रो हृदय आनन्दित हुन सक्तछ। केही प्राचीन मसीहीहरू दासहरू थिए जसका मालिकहरूलाई खुशी तुल्याउन गाह्रो थियो। (१ पत्रुस २:१८) के यस प्रकारका मसीहीहरू पनि सधैं आनन्दित हुन सक्तथिए र? हो, सक्तथिए किनभने राज्यको आशा र आनन्द तिनीहरूको हृदयमा थियो।—यूहन्ना १५:११; १६:२४; १७:१३.
७. (क) सङ्कट हुँदा पनि आनन्द मनाउने विषयमा येशूले के भन्नु भयो? (ख) सङ्कटको बेलामा धैर्य धारण गर्नु हामीलाई के ले मद्दत दिन्छ र यस सम्बन्धमा सबै भन्दा असल उदाहरण कसले कायम गरेको छ?
७ “आशामा आनन्द गर” भने पछि नै, पावलले “सङ्कटमा स्थिर रहो” भनी कुरा थपेका थिए। (रोमी १२:१२) येशूले पनि सङ्कटमा अनुभव गरिने आनन्दबारे, मत्ती ५:११, १२ मा भन्नु भयो: “धन्य हौ तिमीहरू जब मानिसहरूले तिमीहरूलाई . . . निन्दा गर्नेछन्, र खेदो गर्नेछन्। तब रमाओ, र अत्यन्त खुशी होओ। किनभने स्वर्गमा तिमीहरूको इनाम ठूलो हुनेछ।” यहाँ उल्लेखित रमाउने र खुशी हुने कुरा अक्षरसः बाहिरी अभिव्यक्ति हुनु पर्दैन; बरु, मूलतः परीक्षा आइ पर्दा, यहोवा र येशू ख्रीष्टलाई प्रसन्न तुल्याउँदा अनुभव गरिने त्यो एउटा गहिरो र आन्तरिक सन्तोष हो। (प्रेरित ५:४१) यथार्थमा, आनन्दले नै सङ्कटको बेलामा हामीलाई धैर्य धारण गर्ने मद्दत दिन्छ। (१ थिस्सलोनिकी १:६) यस सम्बन्धमा, येशूले सबै भन्दा राम्रो उदाहरण कायम गर्नु भयो। शास्त्रले हामीलाई भन्छ: “उहाँको सामने राखिदिएको आनन्दको निम्ति शर्मलाई घिन गरेर क्रूसको [काठको, न्यु.व.] शासना भोग्नु भयो।”—हिब्रू १२:२.
समस्याहरू हुँदा हुँदै पनि आशामा आनन्द मनाउन
८. मसीहीहरूले के कस्ता समस्याहरूको सामना गर्नु पर्ला, तर समस्याहरूले एक जना मसीहीको आनन्दलाई किन मेटाउँदैन?
८ यहोवाको सेवक हुँदैमा समस्याहरूबाट मुक्त हुने होइन। पारिवारिक समस्याहरू, आर्थिक कठिनाइहरू, बिग्रँदो स्वास्थ्य अथवा प्रिय जनहरूको मृत्य आइ पर्न सक्तछन्। यस प्रकारका कुराहरूले हामीलाई दुःखित पार्न सक्तछन् तर राज्यको आशामा आनन्दित रहने हाम्रो आधार, हृदयको त्यो आन्तरिक आनन्द तिनीहरूले हामीबाट लै जाँदैनन्।—१ थिस्सलोनिकी ४:१३.
९. अब्राहामले कुन कुन समस्याहरूको सामना गर्नु पर्यो तर तिनको हृदयमा आनन्द थियो भनी हामी कसरी जान्दछौं?
९ उदाहरणका लागि, अब्राहामको विषयमा सोंच्नु होस्। तिनका निम्ति जीवन सधैं सजिलो थिएन। तिनका पारिवारिक समस्याहरू थिए। तिनकी भित्रिनी हागार र तिनकी पत्नीको बीचमा मेल थिएन। त्यहाँ बाझाबाझ भइ रहन्थ्यो। (उत्पत्ति १६:४, ५) इश्माएलले इसहाकको ठट्टा गर्दथ्यो, उसलाई सताउँथ्यो। (उत्पत्ति २१:८, ९; गलाती ४:२९) अन्तमा, अब्राहामकी प्रिय पत्नी साराको मत्यु भयो। (उत्पत्ति २३:२) यी सबै समस्याहरू हुँदा हुँदै पनि, तिनले राज्यको सन्तान, अर्थात् अब्राहामको सन्तानको आशामा आनन्द मनाए, जसद्वारा पृथ्वीका सारा परिवारहरूले आशिष पाउने थिए। (उत्पत्ति २२:१५-१८) आफ्नो देश उर छाड़े पछि, यहोवाको सेवागर्दै सय वर्षसम्म आनन्दित हृदयका साथ तिनले धैर्य धारण गरे। यसैकारण तिनको विषयमा यस प्रकार लेखिएको छ: “किनकि तिनले त्यही जग भएको शहरको प्रतीक्षा गर्दथिए, जसको बनाउने र निर्माण गर्ने परमेश्वरनै हुनुहुन्छ।” आउने मसीही राज्यमा अब्राहामले विश्वास गरेको हुनाकारण, परमेश्वरले प्रभु येशूलाई राजा हुन नियुक्त गरी सक्नु भए पछि, उहाँले एसो भन्न सक्नु भयो: “. . . अब्राहाम मेरो दिन देख्नालाई प्रफुल्लित थिए, औ देखेर रमाए।”—हिब्रू ११:१०; यूहन्ना ८:५६.
१०, ११. (क) हामी मसीहीहरूले कुन कुराको सङ्घर्ष गर्नु परेको छ र यसबाट हाम्रो बचाउ कसरी हुन्छ? (ख) हाम्रो पापी शरीरको विरुद्धमा सम्पूर्ण रीतिले सङ्घर्ष गर्न न सक्ने हाम्रो असमर्थतालाई के ले मद्दत पुर्याउँछ?
१० असिद्ध मानिसहरू भएको हुनाले, आफ्नो पापी शरीरसँग पनि हामीले सङ्घर्ष गर्नु पर्दछ र ठीक कुरा गर्नका निम्ति गरिएको सो सङ्घर्ष धेरै नै दुःखदायी हुन सक्तछ। तर हाम्रा कमजोरीहरूसँग हामीले लड़न्त लड़नु पर्यो भन्दैमा, हामी आशारहित छौं भन्नु मिल्दैन। यो सङ्घर्षले गर्दा पावल विचलित थिए र तिनले भने: “यस मृत्युको शरीरबाट मलाई कसले बचाउला? येशू ख्रीष्ट, हाम्रा प्रभुद्वारा परमेश्वरमा धन्यवाद होस्।” (रोमी ७:२४, २५) येशू ख्रीष्ट र उहाँले प्रस्तुत गर्नु भएको मुक्ति-मूल्य द्वारा, हाम्रो बचाउ भएको छ।—रोमी ५:१९-२१.
११ यो सङ्घर्ष सिद्ध रूपमा लड़ने हाम्रो अयोग्यतालाई, येशूले दिनु भएको मुक्ति-मूल्यले पूरा गरी दिन्छ। यो मुक्ति-मूल्यमा हामी रमाउन सक्तछौं किनभने यसबाट हामीले एउटा सफा विवेक र आफ्ना पापहरूका लागि क्षमा पाउन सम्भव हुन्छ। हाम्रा “विवेकलाई शक्तिहीन कामहरूबाट . . . शुद्ध” पार्न सक्ने “ख्रीष्टको रगत” बारे पावलले हिब्रू ९:१४ मा चर्चा गरेका छन्। यसकारण, दोषारोपित अथवा निन्दित भावनाहरूबाट मसीहीहरूको अन्तस्करण पीड़ित हुनु पर्दैन। यो, र साथै हामीसँग भएको आशाले, हर्षमय आनन्द मनाउने एउटा बलियो प्रेरणाको काम गर्दछ। (भजनसंग्रह १०३:८-१४; रोमी ८:१, २, ३२) आफ्नो आशाबारे मनन गरी रह्यौं भने, सफलतापूर्वक यो लड़न्त लड्न हामी सबैनै प्रोत्साहित हुने छौं।
हाम्रो आशा सधैं मनमा राख्नु
१२. अभिषिक्त मसीहीहरूले कुन प्रकारको आशाबारे मनन गर्न सक्तछन्?
१२ आत्माद्वारा अभिषिक्त भएका शेष जनहरू र अरू भेड़ाहरू, दुवैले “मुक्तिको आशा” मनमा सम्झी राख्नु, त्यसलाई एउटा बचाउको टोपीको रूपमा लगाइ राख्नु जरुरी छ। (१ थिस्सलोनिकी ५:८) अभिषिक्त मसीहीहरूले स्वर्गमा अमरत्व प्राप्त गर्ने, यहोवा परमेश्वरको सामुन्ने प्रवेश पाउने र महिमित येशू ख्रीष्ट र प्रेरितहरू र बितेका शताब्दीहरूमा आफ्नो समग्रता पालन गरेका १४४,००० को समूहका बाँकी जनहरूसँग व्यक्तिगत रूपमा सङ्गत गरेर आनन्द उठाउन पाउने अद्भुत् विशेषाधिकार बारे मनन गर्न सक्तछन्। त्यो सङ्गती कति अवणर्नीय र वैभवशाली हुनेछ!
१३. अझ पनि पृथ्वीमै रहेका अभिषिक्त जनहरूले आफ्नो आशा बारे कस्तो भावना राख्तछन्?
१३ पृथ्वीमा सानो सङ्ख्यामा रहेका शेष अभिषिक्त जनहरूले राज्य सम्बन्धी आफ्नो आशा बारे के विचार राख्तछन्? त्यसको जवाफ, १९१३ सालमा बप्तिस्मा लिने एउटा व्यक्तिका यी शब्दहरूद्वारा, सँक्षिप्त रूपमा दिन सकिन्छ: “हाम्रो आशा पक्का छ र यो आशा १४४,००० जनहरूले बनेको सानो बगालका प्रत्येक सदस्यका लागि हामीले कल्पना गरेको भन्दा धेरै नै महान ढङ्गमा पूरा हुनेछ। १९१४ साल मै स्वर्ग जाने आशा गरेका जति जना शेष जनहरू त्यति खेर उपस्थित थिए, ती मध्येका हामी कसैले पनि त्यो आशालाई मूल्यवान ठान्न छाड़ेका छैनौं। हाम्रो आशा त्यति बेला जतिको दृढ़ थियो, त्यतिकै दृढ़ आज पनि छ र त्यसको निम्ति हामीले धेरै समय पर्खनु पर्दा, त्यसका लागि हाम्रो मूल्याङ्कन पनि उति नै बढ़दोछ। दस लाख वर्ष लाग्ने भएता पनि, त्यो पर्खने योग्यको कुरा हो। हाम्रो आशालाई म पहिले भन्दा धेरै नै बढ़ी मूल्यवान ठान्दछु र त्यसको मूल्याङ्कन गर्न म कहिले पनि छाड़न चाहँदिन। सानो बगालको आशाले अरू भेड़ाहरूका ठूलो भीड़को आशालाई पनि निश्चित पार्दछ र असफलताको केही सम्भावनै बिना, हाम्रो सबै भन्दा उज्यालो कल्पनालाई माथ गर्ने गरी तिनीहरूको आशा पनि पूरा हुनेछ। यसैकारण, हामीहरू अहिलेसम्म दृढ़ताका साथ लागिरहेका छौं र परमेश्वरले उहाँका ‘अनमोल र ज्यादै ठूला प्रतिज्ञाहरू’ पूरा गर्नु हुने बेला सम्म हामी दृढ़ताका साथ लागिरहने छौं।”—२ पत्रुस १:४; गन्ती २३:१९; रोमी ५:५.
प्रमोदवनको आशामा अहिले आनन्द मनाउँदै
१४. ठूलो भीड़काहरूले मनमा कुन आशा राख्नु आवश्यक छ?
१४ यस प्रकारको हर्षमय विश्वासको अभिव्यक्तिले ठूलो भीड़का अरू भेड़ा मध्येका व्यक्तिहरूले पनि आनन्दित हुने महान कारणहरू पाउँछन्। (प्रकाश ७:१५, १६) यी जनहरूले आर-मागेडोन पार गर्ने आशा मनमा राख्नु पर्दछ। परमेश्वरको राज्यले महासङ्कष्ट ल्याएर, पृथ्वीलाई सफा पार्न, दियाबललाई ईश्वर मान्ने ती दुष्ट जनहरूलाई नष्ट गरेको र यहोवा परमेश्वरको सार्वभौमिकता कायम गर्दै उहाँको महिमावान नाउँलाई पवित्र तुल्याएको देख्ने आशा राख्नु होस्। त्यो महा सङ्कष्टमा बाँच्न पाउँनु कति आनन्दको कुरा हुनेछ!—दानियल २:४४; प्रकाश ७:१४.
१५. (क) येशू पृथ्वीमा हुनु हुँदा, उहाँले कस्ता कस्ता रोग निको पार्ने काम गर्नु भयो, र किन? (ख) आर-मागेडोनमा बाँच्नेहरूका स्वास्थ्य सम्बन्धी आवश्यकताहरू के हुनेछन् र ती आवश्यकताहरू, पुनरुत्थान भएर आएका जनहरूका आवश्यकताहरू भन्दा किन बेग्लै हुनेछन्?
१५ ठूलो भीड़बारे प्रकाश ७:१७ मा भनिएको छ: “थुमा तिनीहरूका रखवाला हुनुहुनेछ, र तिनीहरूलाई जीवनका पानीहरूका फोहोरासम्म अगुवा भएर लानुहुनेछ, र परमेश्वरले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ।” यो अग्रिमवाणी आज आत्मिक रूपमा पूरा भइरहेको भए तापनि, आर-मागेडोनमा बाँच्नेहरूले यसलाई अक्षरसः पूरा भएको देख्नेछन्। कसरी? येशू पृथ्वीमा हुनु हुँदा उहाँले के गर्नु भएको थियो? उहाँले अपाङ्गहरूलाई निको पारि दिनु भयो, लङ्गड़ालाई हिंड्ने बनाइ दिनु भयो, बहिराहरूको कान र अन्धाहरूको आँखा खोली दिनु भयो, र कोर, पक्षपात र “हरेक किसिमका रोग र बिमार” निको पार्नु भयो। (मत्ती ९:३५; १५:३०, ३१) के आज मसीहीहरूलाई चाहिएको कुरा त्यही होइन र? पुरानो संसारका कमजोरीहरू र अभावहरू लिएर ठूलो भीड़का जनहरू नया संसारमा प्रवेश गर्नेछन्। यसबारे थुमाले के गर्नु हुनेछ भनी हामी आशा राख्छौं? आर-मागेडोन पार गर्नेहरूका आवश्यकताहरू, पुनरुत्थान पाएर आउनेहरूका आवश्यकताहरू भन्दा धेरै नै भिन्न हुनेछन्। पुनरुत्थान पाएर आउनेहरू सित मानव सिद्धता न भएता पनि, तिनीहरू सम्भवतः सम्पूर्ण, निष्खोट र स्वस्थकर शरीरहरू सहित पुनः सृजिनेछन्। तिनीहरूका पहिलेका कुनै पनि शारीरिक कमजोरीहरूको मरम्मत चमत्कारी ढङ्गमा गर्ने खाँचो पर्ने छैन किनभने पुनरुत्थानको चमत्कार द्वारा तिनीहरू निको भइसकेका हुनेछन्। तर अर्को तिर, आर-मागेडोनमा बाँचेर एउटा अनुपम कुराको अनुभव गर्न पाएको कारण, ठूलो भीड़का धेरै व्यक्तिहरूलाई चमत्कारी ढङ्गमा निको पार्नु पर्ने आवश्यकता हुनेछ र सो आवश्यकता पूरा गरिनेछ। येशूले गर्नु भएका धेरै जसो निको पार्ने कार्यहरूको एउटा मुख्य उद्देश्य ठूलो भीड़काहरूका निम्ति यो आनन्दमय आशा र प्रोत्साहन चित्रण गर्नु थियो कि तिनीहरू बाँच्ने मात्र होइनन् तर त्यस पछि तिनीहरूलाई निको पनि पारिनेछ।
१६. (क) आर-मागेडोनमा बाँच्नेहरूलाई चमत्कारपूर्ण ढङ्गमा निको पार्ने काम शायद कहिले देखिन् शुरू हुन सक्छ र यसको परिणाम के हुनेछ? (ख) सहस्र वर्षीय राज्यमा हामी कुन आशामा आनन्द मनाइनै रहने छौं?
१६ निश्चय नै आर-मागेडोन समाप्त भएको केही समय पछि मात्र, पुनरुत्थान शुरू हुनु भन्दा धेरै नै अघि, आर-मागेडोनमा बाँच्नेहरूका निम्ति यस प्रकार चमत्कारपूर्ण ढङ्गमा निको पार्ने काम सम्पन्न हुनेछ। (यशैया ३३:२४; ३५:५, ६; प्रकाश २१:४; मर्कूस ५:२५-२९ सँग तुलना गर्नु होस्) त्यति बेला मानिसहरूले आँखामा लाउने चस्माहरू, लठ्ठीहरू, टेकेर हिंड्ने लौरोहरू, अपाङ्गहरूले प्रयोग गर्ने पाङ्गरा भएका मेचहरू, नकली दाँतहरू, बहिराहरूलाई सुन्न मद्दत दिने यन्त्रहरू इत्यादि सबै फ्याँकिनेछन्। आनन्दित हुने यो कति ठूलो कारण हो! येशूले आर-मागेडोनमा बाँच्नेहरूलाई यस प्रकार पहिले नै पुनः स्वस्थकर तुल्याउनु अति नै उचित हुनेछ किनभने तिनीहरू नया पृथ्वीको जगको हैसियतमा काम गर्नेछन्! यी बाँचेकाहरू जोसका साथ अघि बढ़न सकून्, आफ्नो सामुन्नेको शहस्र वर्षीय राज्यमा गर्नु पर्ने काम तिर उत्सुकतासाथ ध्यान दिऊन् र पुरानो संसारले तिनीहरूलाई दिइएको दुःखको कारण तिनीहरू सुस्त नहोउन् भनेर, अशक्त तुल्याउने सबै रोगहरू हटाइनेछन्। हो, आर-मागेडोन पछि पनि, हजार वर्षको अन्तमा सिद्ध मानव जीवन प्राप्त गर्ने अद्भुत् आशामा, ठूलो भीड़ले आनन्द मनाइनै रहनेछन्। त्यो हर्षमय लक्ष्य प्राप्त गर्ने आशामा तिनीहरू हजार वर्षीय राज्यभरि आनन्द मनाउनेछन्।
१७. प्रमोदवन पुनः स्थापित गर्ने काम जसै अघि सर्नेछ, त्यहाँ आनन्दित हुने कुन कुन कुराहरू हुनेछन्?
१७ तपाईंले पनि यही आशा राख्नु भएको छ भने, पृथ्वीमा प्रमोदवन पुनः स्थापित गर्ने काममा भाग लिने आनन्दबारे सोंच्नु होस्। (लूका २३:४२, ४३) निस्सन्देह, आर-मागेडोनमा बाँच्नेहरूले पृथ्वीलाई सफा पार्ने काममा मद्दत दिनेछन् र यस प्रकार मनोरम स्थलहरू आयोजित गर्नेछन् जहाँ मरेका व्यक्तिहरूको पुनरुत्थान हुनेछ। अन्त्येष्टि गर्नुको सट्टा, पुनरुत्थान द्वारा फर्केर आएकाहरू, अर्थात् मरी सकेका हाम्रा आफ्नै प्रिय जनहरूलाई समेत स्वागत गर्ने कार्यक्रमहरू आयोजित हुनेछन्। र बितेका शताब्दीहरूका विश्वासी पुरूष र स्त्रीहरूसँग गर्न सकिने लाभदायक सङ्गत बारे कल्पना गर्नु होस्! तपाईं विशेष गरी को सँग कुरा गर्न चाहनु हुन्छ? हाबिल, हनोक, नूह, अय्यूब, अब्राहाम, सारा, इसहाक, याकूब, यूसुफ, मोशा, यहोशू, राहाब, डेबोरा, शिमशोन, दाऊद, एलिया, एलीशा, यर्मिया, इजकिएल, दानियल कि यूहन्ना बप्तिस्मासँग? यो अति नै रमाइलो सम्भावना पनि तपाईंको आशाको एउटा भाग हो। तपाईं तिनीहरूसँग कुरा गर्न सक्नुहुनेछ, तिनीहरूबाट सिक्न सक्नु हुनेछ र सम्पूर्ण पृथ्वीलाई एउटा प्रमोदवन बनाउन तिनीहरूसँग मिलेर काम गर्न सक्नु हुनेछ।
१८. हामी अझ कुन कुन आनन्दहरूको प्रतीक्षा गर्न सक्नेछौं?
१८ साथै, यहोवाले पृथ्वीलाई जस्तो हुनका निम्ति सृजनु भएको थियो, ठीक त्यस्तै हुने गरी, यहाँको वातावरण सम्बन्धी सन्तुलन पुनः सिद्ध हुँदा, यहाँ पाइने स्वस्थकर भोजन, शुद्ध पानी र सफा हावाको पनि कल्पना गर्नु होस्। त्यस बेला बाँच्नेहरूले सिद्धताको आनन्द निष्क्रिय ढङ्गमा मात्र उठाउने होइनन् तर आनन्दमय कार्यहरूमा सक्रिय र अर्थपूर्ण रूपमा भाग लिनेछन्। अपराध, अहम, डाह र कलहबाट मुक्त, एउटा विश्व-व्यापी मानव समाजको कल्पना गर्नु होस्—एउटा भ्रातृत्व जसमा सबैले आत्माको फल बढ़ाउने छन् र ती प्रकट पनि गर्नेछन्। कस्तो रोमाञ्चपूर्ण कुरा यो!—गलाती ५:२२, २३.
त्यो आशा जसले जीवनलाई बाँच्ने योग्यको बनाउँदछ
१९. (क) रोमी १२:१२ मा उल्लेखित आनन्द कहिले अनुभव गरिने हो? (ख) जीवनका बोझहरूले हाम्रो आशालाई एकातिर पन्छाउन नदिने फैसला हामीले किन गर्नु पर्दछ?
१९ प्रतिक्षा गरिएको कुरा पूरा भइसके पछि, त्यसलाई आशा भन्नु मिल्दैन, यसकारण पावलले रोमी १२:१२ मा आनन्द मनाउने जुन कुरालाई प्रोत्साहन दिएका छन्, त्यो अहिले नै अनुभव गर्नु पर्ने आनन्द हो। (रोमी ८:२४) परमेश्वरको राज्य द्वारा भविष्यमा पाइने आशिषहरूबारे सोंच्न सक्नु नै त्यो आशामा अहिले आनन्दित हुने हाम्रा लागि एउटा कारण हो। यसकारण, एउटा भ्रष्ट संसारको जीवनका बोझहरूले तपाईंको महिमावान आशालाई एकातिर पन्छाउन नदिने फैसला गर्नु होस्। थकित भएर हार नमान्नु होस् र आफ्नो सामने रहेको आशालाई दृष्टिबाट लोप हुन न दिनु होस्। (हिब्रू १२:३) मसीही मार्ग त्यागेर तपाईंका समस्याहरूको समाधान हुने होइन। याद गर्नु होस्, जीवनका सबै बोझहरूको कारण कसैले परमेश्वरको सेवा गर्न अहिले छाड़ेको खण्डमा, तिनी ती समस्याहरूबाट मुक्त हुनुको सट्टा, तिनले आफ्नो आशा गुमाउँनेछन् र भविष्यमा हुने महान कुराहरूमा तिनी रमाउने सम्भावना पनि रहनेछैन।
२०. राज्यको आशालाई अपनाउनेहरूमाथि त्यसको के असर पर्दछ, र किन?
२० यहोवाका साक्षीहरूले आनन्दित जीवन बिताउन प्रशस्त कारण छ। तिनीहरूको उज्यालो र प्रेरणापूर्ण आशाले जीवनलाई बाँच्ने योग्यको तुल्याउँछ। र तिनीहरूले यो आनन्दमय आशा आफूमा सीमित राख्तैनन्। होइन, तिनीहरू यो आशा अरूहरूसँग बाँड्न उत्सुक छन्। (२ कोरिन्थी ३:१२) यस प्रकार, ईश्वरको राज्यको आशा अपनाउने मानिसहरू निर्धक्क छन् र परमेश्वरबाट आएको सुसमाचार सुनाएर तिनीहरू अरूहरूलाई पनि प्रोत्साहन दिन चाहन्छन्। यो समाचार स्वीकार्ने मानिसहरूको जीवनलाई मानिस-जातिले आजसम्म सामान्यतया पाएको यो सबै भन्दा अद्भुत आशाले भरिदिन्छ—अर्थात् पृथ्वीमा प्रमोदवन पुनःस्थापित गर्ने राज्यको आशा। मानिसहरूले यो समाचार न स्वीकारेता पनि, हामी आनन्द मनाउन छाड़दैनौं किनभने हाम्रो आशा छ। नोक्सान सुन्न न चाहनेहरूको हुन्छ; हाम्रो होइन।—२ कोरिन्थी ४:३, ४.
२१. कुन कुरा नजिकै आइ पुगेको छ, र हामीले आफ्नो आशालाई कतिको मूल्यवान ठान्नु पर्दछ?
२१ परमेश्वरले प्रतिज्ञा गर्नु भएको छ: “हेर! म सब कुरा नया तुल्याउँछु।” (प्रकाश २१:५) मनलाई मोहित पार्ने अनन्तकालीन आशिषहरू साथमा लिएर, त्यो नया संसार नजिकै आइ पुगी सकेको छ। स्वर्गमा अथवा पार्थिव प्रमोदवनमा, जहाँ भए पनि—जीवन बिताउने हाम्रो आशा अनमोल छ; त्यसलाई राम्रोसँग पक्री राख्नु होस्। यी कठिन अन्तका दिनहरूमा, त्यसलाई पहिले भन्दा बढ़ी, “प्राणको लङ्गर” ठान्नु होस् “जो स्थिर र दृढ़” छ। “सनातनको चट्टान—युग, युगको चट्टान” यहोवामा हाम्रो आशा बाँधेर राख्यौं भने, हाम्रो सामने राखिएको “आशामा आनन्द गर्ने” हामीसित निश्चय पनि अहिले नै बलियो र उल्लासपूर्ण कारण हुनेछ।—हिब्रू ६:१९; यशैया २६:४, एमप्लिफाइड् बाइबल. (w91 12/15)
[फुटनोट]
a १९९२ सालभरि, यहोवाका साक्षीहरूको वार्षिक-पद्य हुनेछ: “आशामा आनन्द गर . . . प्रार्थनामा अटूटसँग लागीरहो।”—रोमी १२:१२.
पुनरावलोकनका निम्ति प्रश्नहरू
▫ मानिसजातिको महान आशा के हो?
▫ साँचो आनन्द के हो?
▫ आर-मागेडोनमा बाँच्नेहरूलाई चमत्कारपूर्ण ढङ्गमा निको पार्ने काम सम्भवतः कहिले गरिएला?
▫ जीवनका बोझहरूले हाम्रो आशालाई एकातिर पन्छाउन हामीले किन दिनु हुँदैन?
▫ नया संसारमा तपाईं कुन कुन आनन्दहरू अनुभव गर्ने प्रतीक्षा गर्नु हुन्छ?
[पृष्ठ १६-मा भएको चित्र]
येशूले गर्नु भएका निको पार्ने कामहरू देखेर के तपाईंको हृदय आनन्दले भरिने छैन होला र?
[पृष्ठ १७-मा भएको चित्र]
राज्यमा आनन्द मनाउनेहरूले आफ्नो आशाबारे अरूहरूलाई भन्दै, अरूहरूलाई पनि प्रोत्साहन दिने गर्छन्