यहोवाको नजीक रहनु होस्
“प्रार्थनामा अटूटसँग लागिरहो।”—रोमी १२:१२.
१. प्रार्थना सम्बन्धी यहोवाको इच्छा के हो र प्रेरित पावलले प्रार्थना गर्ने विषयमा के प्रोत्साहन दिए?
यहोवा आफ्ना सबै विश्वासीहरूका निम्ति आशा दिनु हुने “आशाको परमेश्वर हुनु हुन्छ।” उहाँले राखिदिनु भएको आनन्दायी आशा प्राप्त गर्ने मद्दतका निम्ति मानिसहरूले गरेका बिन्तीहरू उहाँ सुनी दिनु हुन्छ, किनकि उहाँ “प्रार्थना सुन्नु हुने” हुनु हुन्छ। (रोमी १५:१३; भजनसंग्रह ६५:२) र उहाँको वचन बाइबल द्वारा, उहाँले आफ्ना सबै सेवकहरूलाई तिनीहरूले चाहेका जुन सुकै बेलामा उहाँ सित सम्पर्क राख्ने प्रोत्साहन दिनु हुन्छ। तिनीहरूका आन्तरिक चिन्ताहरू स्वीकार गर्न, उहाँ सधैं इच्छुक रहनु हुन्छ। भनौं भने, उहाँले तिनीहरूलाई “प्रार्थनामा अटूटसँग लागि रहन” र “निरन्तर प्रार्थनामा लागिरहो” भनी प्रोत्साहन दिनु हुन्छ।a (रोमी १२:१२; १ थिस्सलोनिकी ५:१७) सबै मसीहीहरूले आफ्नो हृदयका सारा कुरा उहाँको सामुन्ने पोखाउँदै उहाँलाई प्रार्थनामा बारम्बार पुकारेको यहोवा चाहनु हुन्छ र त्यसो चाहिं उहाँका प्यारा पुत्र येशू ख्रीष्टको नाउँमा गर्नु पर्दछ।—यूहन्ना १४:६, १३, १४.
२, ३. (क) “प्रार्थनामा अटूटसँग लागि रहो” भनेर परमेश्वरले हामीलाई किन सल्लाह दिनु भएको छ? (ख) हामीले प्रार्थना गरेको परमेश्वर चाहनु हुन्छ भनी हामी कसरी निश्चित हुन सक्तछौं?
२ परमेश्वरले हामीलाई यो उपदेश किन दिनु हुन्छ? किनभने, जीवनका दबाउहरू र जिम्मावारीहरूको बोझले लादिएर हामी प्रार्थना गर्न बिर्सन सक्नेछौं। अथवा समस्याहरूको कारण हायल-कायल भएर, हामी आशामा आनन्दित हुन र प्रार्थना गर्न छाड़न सक्तछौं। यी सबै कारणहरूले गर्दा, हामीलाई प्रार्थना गर्न र मद्दत र सान्त्वनाको स्रोत, यहोवा हाम्रा परमेश्वरको धेरै नजीक आउन, प्रोत्साहित पार्ने सम्झौटोहरू चाहिन्छन्।
३ चेला याकूबले लेखे: “परमेश्वरको नजीक आओ र उहाँ तिमीहरूका नजीक आउनुहुनेछ।” (याकूब ४:८) हामी असिद्ध मानव अवस्थामा भएता पनि, परमेश्वर प्रति हामीले गरेका अभिव्यक्तिहरू सुन्न उहाँ धेरै उँच्च अथवा टाढ़ा हुनु हुन्न। (प्रेरित १७:२७) साथै, अझ उहाँ बेवास्ता गर्ने र उदासीन हुनु हुन्न। भजनसंग्रहका लेखक भन्छन्: “परमप्रभुको [यहोवाको, न्यु.व.] नजर धर्मात्मातर्फ हुन्छ, र उहाँका कान तिनीहरूका पुकारा सुन्न खुला हुन्छन्।”—भजनसंग्रह ३४:१५; १ पत्रुस ३:१२.
४. यहोवाले प्रार्थनालाई ध्यान दिनु हुने कुराबारे कसरी उदाहरण प्रस्तुत गर्न सकिन्छ?
४ हामीले प्रार्थना गरेको यहोवा चाहनु हुन्छ। यसको तुलना हामी कुरा गरिरहेका मानिसहरूको एउटा जमघटसँग गर्न सक्तछौं। तपाईं पनि त्यहाँ अरूहरूले गरेका कुरा सुन्नु हुँदै, उपस्थित हुनुहुन्छ। तपाईं त्यहाँ एउटा दर्शकको हैसियतमा हुनुहुन्छ। अचानक, तपाईं तिर फर्कन्दै, तपाईंको नाउँ लिएर, तपाईंलाई सम्बोधन गर्दै कसैले केही भन्न थाल्छ। यसबाट तपाईंको ध्यान विशेष रूपमा आकर्षित हुन्छ। यसै प्रकार, परमेश्वरका जनहरू जहाँ भएता पनि, उहाँको ध्यान तिनीहरू प्रति रहन्छ। (२ इतिहास १६:९; हितोपदेश १५:३) संरक्षण र चासोको भावसाथ नजर राख्नु हुँदै, उहाँले हाम्रा शब्दहरू सुन्नु हुन्छ। तथापि, हामीले प्रार्थनामा उहाँको नाउँ लिएर पुकार्दा, उहाँको ध्यान आकर्षित हुन्छ र विशेष ढङ्गमा उहाँको चासो हामीमा केन्द्रित हुन्छ। मानिसको हृदय र मन भित्र गुप्त रीतिले चढाइएका बिन्तीहरू खुलेर व्यक्त न गरिएता पनि, यहोवाले आफ्नो शक्ति द्वारा ती थाह लगाउन र बुझ्न सक्नु हुन्छ। निष्कपटतासाथ उहाँको नाउँ पुकार्ने र उहाँको नजीक रहन चाहने सबैजनाको नजीक उहाँ पनि आउनु हुन्छ भनी परमेश्वरले हामीलाई निश्चित तुल्याउनु हुन्छ।—भजनसंग्रह १४५:१८.
परमेश्वरको उद्देश्य अनुसारको जवाफ
५. (क) “प्रार्थनामा अटूटसँग लागि रहो” भन्ने उपदेशबाट हाम्रा प्रार्थनाहरूबारे के बोध हुन्छ? (ख) परमेश्वरले प्रार्थनाहरूको जवाफ कसरी दिनु हुन्छ?
५ प्रार्थनामा लागिरहनु भन्ने उपदेशबाट यो बोध हुन्छ कि कहिले कहीं कुनै विषयबारे यहोवाले जवाफ दिनु भन्दा अघि, त्यसका निम्ति केही समयसम्म हामीलाई प्रार्थना गरी रहन लाउन सक्नु हुन्छ। हामीलाई चाहिएको अत्यावश्यक निगाह वा अनुकम्पा पाउन ढिलो हुँदा, परमेश्वरसँग बिन्ती गर्न पनि दिक्क लाग्न सक्तछ। यसकारण, यहोवाले हामीलाई त्यस प्रकारको कुनै पनि झुकावबाट बच्न र प्रार्थना गरी रहन भनी अनुरोध गर्नु हुन्छ। उहाँले हाम्रा प्रार्थनाहरूको कदर गर्नु हुन्छ र हामीले सोंचेको भन्दा बढ़ी हाम्रो वास्तविक आवश्यकता उहाँले पूरा गरी दिनु हुन्छ भनी विश्वस्त भएर हामीले आफ्ना चिन्ता-फिक्रीहरूबारे उहाँसँग बिन्ती गरी नै रहनु पर्दछ। यहोवाले निःसन्देह, हाम्रा बिन्तीहरूलाई उहाँको उद्देश्यसँग मिल्ने गराउनु हुन्छ। उदाहरणका निम्ति, हामीले गरेको बिन्तीको असर अरूहरूमाथि पर्नु सक्तछ। जस्तो कि, एउटा छोराले आफ्नो पितासँग साइकलको माँग गर्ला। पितालाई थाह छ कि तिनले त्यो छोराको निम्ति साइकल किनि दिए भने, अर्को छोराले पनि साइकल माँगनेछ। तर साइकल चलाउन अर्को छोराको उमेर पुगेको छैन भने, त्यस बेला सायद पिताले कुनै पनि साइकल न किन्ने फैसला गर्न सक्तछन्। यसै प्रकार, उहाँको उद्देश्य र उहाँले तोक्नु भएको समय तालिकालाई ध्यानमा राख्दै, हाम्रा र अरूहरूका निम्ति वास्तवमा सबै भन्दा हितकर के हुनेछ, सो हाम्रा स्वर्गमा हुनुहुने पिताले फैसला गर्नु हुन्छ।—भजनसंग्रह ८४:८, ११; हबकुक २:३ सँग तुलना गर्नु होस्.
६. प्रार्थना सम्बन्धी येशूले के उदाहरण दिनु भयो र प्रार्थनामा दत्तचित्तसाथ लागि रहँदा के प्रदर्शित हुन्छ?
६ आफ्ना चेलाहरूले “बराबर प्रार्थना गरीरहून् र निरूत्साह नहोऊन्” भन्ने हेतुले, येशूले दिनु भएको उखान विचारणीय छ। इन्साफ पाउन न सकेकी एउटी विधवीले इन्साफ न पाउञ्जेलसम्म, एक जना मानव न्यायाधीशसँग एकाग्रचित्तसाथ बिन्ती गरी रहिन्। अनि येशूले भन्नु भयो: “के परमेश्वरले आफ्ना चुनिएकाहरूका बदला लिनु हुन्न र? [के परमेश्वरले उहाँलाई दिन-रात गुहार्ने आफ्ना चुनिएका जनहरूको पक्षमा न्याय गराइ दिनु हुन्न र? न्यु. व.]” (लूका १८:१-७) प्रार्थनामा एकाग्रचित्तसाथ लागि रहनाले, आफ्नो विश्वास र यहोवामाथिको हाम्रो आस्था प्रदर्शित हुन्छ र उहाँको नजीक रहने र आफ्ना बिन्तीहरू उहाँमा जाहेर गर्दै, परिणाम चाहिं उहाँकै हातमा छाड़ी दिन हामी तयार छौं भन्ने कुरा प्रकट हुन्छ।—हिब्रू ११:६.
यहोवाका नजीक रहने मानिसहरूको उदाहरण
७. यहोवाको नजीक रहनका लागि, हामीले हाबिलको विश्वासको अनुकरण कसरी गर्न सक्तछौं?
७ बाइबलभरि, परमेश्वरका सेवकहरूले गरेका प्रार्थनाहरूको वर्णन प्रशस्त मात्रामा उल्लेख गरेको पाउँदछौं। ती कुराहरू “जत्ति अघि लेखिए, ती सबै हाम्रो शिक्षाको निम्ति हो, कि धीरज र धर्मशास्त्रको शान्ति द्वारा हामीलाई आशा होस्।” (रोमी १५:४) यहोवाका नजीक रहने केही जनहरूका उदाहरणहरूलाई विचार गर्दा, हाम्रो आशा बलियो हुन्छ। हाबिलले परमेश्वरलाई एउटा ग्रहणयोग्य बलिदान चढाए र त्यहाँ कुनै प्रार्थनाको उल्लेख न गरिएको भएता पनि, तिनले निश्चय नै, आफ्नो बलिदान स्वीकार होस् भनेर यहोवासँग प्रार्थना द्वारा बिन्ती गरेको हुनु पर्छ। हिब्रू ११:४ भन्छ: “विश्वासबाटै हाबिलले कयिनभन्दा उत्तम बलिदान परमेश्वरमा चढ़ाए, जसद्वारा तिनी धर्मी हुन् भन्ने तिनको गवाही भयो।” उत्पत्ति ३:१५ मा पाइने परमेश्वरको प्रतिज्ञाबारे हाबिललाई थाह थियो, तर आज हामीलाई जे जति थाह छ, त्यसको तुलनामा तिनलाई अति नै कम थाह थियो। तापनि, आफूसँग जे जति ज्ञान थियो, त्यसैको आधारमा तिनले काम गरे। यसकारण, आज पनि, परमेश्वरको सच्चाइमा भर्खरै चासो लिनेहरूसँग धेरै ज्ञान छैन, तर हाबिलले झैं, तिनीहरू प्रार्थना गर्छन् र आफूसँग भएको ज्ञानबाट सक्तो लाभ उठाउँछन्। हो, तिनीहरू विश्वासको आधारमा काम गर्छन्।
८. अब्राहाम यहोवाको नजीक रहन्थे भनी हामी किन निश्चित हुन सक्छौं र हामीले आफूलाई के प्रश्न सोध्नु पर्दछ?
८ “विश्वास गर्नेहरू सबैका पिता” अब्राहाम, परमेश्वरका अझ एउटा विश्वासी सेवक थिए। (रोमी ४:११) पहिले भन्दा आज, हामीलाई बलियो विश्वासको खाँचो छ र अब्राहामले झैं हामीले विश्वाससाथ प्रार्थना गर्नु आवश्यक छ। उत्पत्ति १२:८ भन्छ कि तिनले “परमप्रभुको [यहोवाको, न्यु.व.] नाउँमा . . . एउटा वेदी बनाएर परमप्रभुको [यहोवाको, न्यु.व.] नाउँको पुकारा गरे।” अब्राहामलाई परमेश्वरको नाउँ थाह थियो र त्यो तिनले प्रार्थनामा प्रयोग गरे। बारम्बार, तिनीले निष्कपटतासाथ प्रार्थनामा लागि रहे र “आदि-अनन्तका परमेश्वरको नाउँमा पुकारा गरे।” (उत्पत्ति १३:४; २१:३३) अब्राहामले परमेश्वरलाई त्यस विश्वाससाथ पुकारे जुन विश्वासले गर्दा तिनी प्रसिद्ध भएका छन्। (हिब्रू ११:१७-१९) ईश्वरको राज्यको आशामा आनन्द मनाइ रहने मद्दत अब्राहामले प्रार्थनाबाट पाए। प्रार्थनामा यसरी अटूटसँग लागिरहने अब्राहामको उदाहरणको अनुकरण के हामीले गरिरहेका छौं?
९. (क) दाऊदका प्रार्थनाहरू आज परमेश्वरका जनहरूका लागि किन यतिका लाभदायक छन्? (ख) यहोवाको नजीक रहन, हामीले पनि दाऊदले झैं प्रार्थना गर्यौं भने, परिणाम के हुन सक्छ?
९ प्रार्थनामा अटूटसँग लागिरहने सम्बन्धमा, दाऊद विशिष्ट थिए र प्रार्थनाहरूमा कुन कुन विषय सम्मिलित हुनु पर्दछ भन्ने कुराको उदाहरण हामी तिनले लेखेका भजनहरूमा पाउँदछौं। उदाहरणका निम्ति, परमेश्वरका सेवकहरूले औचित्यसाथ मुक्ति अथवा बचाउ (३:७, ८; ६०:५), निर्देशन (२५:४, ५), संरक्षण (१७:८), पापहरूको क्षमा (२५:७, ११, १८), र एउटा शुद्ध हृदय (५१:१०) जस्ता कुराहरूका निम्ति प्रार्थना गर्न सक्तछन्। दाऊद पीड़ित हुँदा, तिनले यस प्रकार प्रार्थना गरे: “आफ्नो दासको मनलाई खुसी पार्नु होस्।” (८६:४) त्यसै प्रकार हामीले पनि आफ्नो हृदय आनन्दित होस् भनेर प्रार्थना गर्नसक्तछौं किनभने हामी हाम्रो आशामा आनन्दित भएको यहोवा चाहनु हुन्छ। दाऊद यहोवाको नजीक रहे र प्रार्थना गरे: “मेरो आत्मा खुरन्धारसँग तपाईंको पछि लाग्छ, तपाईंको दाहिने बाहुलीले मलाई सह्माल्छ।” (६३:८) के हामी पनि दाऊद झैं यहोवाको नजीक रहने छौं? रह्यौं भने, उहाँले हामीलाई पनि सह्माल्नु हुनेछ।
१०. एक पटक, भजनसंग्रहका एउटा लेखक असापले कुन प्रकारका गलत विचारहरू व्यक्त गरेका थिए तर पछि तिनले कुन कुरा महसुस गरे?
१० यहोवाको नजीक रहने हो भने, हामीले दुष्ट मानिसहरूका बेफिक्री र भौतिकवादी जीवन पद्धति देखेर डाह गर्नु हुँदैन। दुष्टहरू “सधैं आरामीमा बसेको” देखेर, एक पटक भजनसंग्रहका एउटा लेखक, असापलाई यहोवाको सेवा गर्नु व्यर्थ हो जस्तो लाग्यो। तापनि, तिनको सोंचाइ गलत रहेछ र दुष्टहरू “चिप्ला ठाउँहरूमा” रहेछन् भनी तिनले बुझे। यहोवाको नजीक रहनु भन्दा अझ ठूलो कुरा अरू केही रहेनछ भनी तिनले महसुस गरे र परमेश्वरको सामुन्ने तिनले आफ्नो विचार यस प्रकार व्यक्त गरे: “म निरन्तर तपाईंसँगै छु, तपाईंले मेरो दाहिने हात थाम्नुभएको छ। तपाईंबाट टाढ़ा रहनेहरू नष्ट हुनेछन्। . . . तर परमेश्वरको नजीक जान मेरो निम्ति असल छ। मैले तपाईंका सबै कार्यहरूको बयान गरूँ भनी मैले परमप्रभु [यहोवा, न्यु.व.] परमेश्वरलाई मेरो शरणस्थान बनाएको छु।” (भजनसंग्रह ७३:१२, १३, १८, २३, २७, २८) दुष्ट अथवा आशा न भएका मानिसहरूको बेफिक्री जीवन पद्धति देखेर डाह गर्नुको सट्टा, हामी असापको अनुकरण गर्दै यहोवाको नजीक रहौं।
११. यहोवाको नजीक रहने सम्बन्धमा, दानियल एउटा असल उदाहरण थिए भनी किन भन्न सकिन्छ र हामीले तिनको अनुकरण कसरी गर्न सक्नेछौं?
११ प्रार्थना सम्बन्धी सरकारी प्रतिबन्धहरूको अवहेलना गरेको हुनाकारण, सिंहको खोर भित्र फालिने खतराको सामुन्ने पनि दानियल दृढ़तापूर्वक, एकाग्रचित्तसाथ प्रार्थनामा लागि रहे। तर यहोवाले दानियलाई बचाउन “सिंहहरूका मुख थुनिदिनलाई आफ्ना दूत पठाउनु भयो।” (दानियल ६:७-१०, २२, २७) प्रार्थनामा अटूटसँग लागिरहेको हुनाकारण, दानियलले ठूलो आशिष पाए। के हामी पनि, विशेषगरी राज्यको प्रचार गर्ने हाम्रो काममाथि विरोध आइ पर्दा, त्यसरी नै प्रार्थनामा लागि रहन्छौं?
येशू, हाम्रो आदर्श
१२. (क) प्रार्थनाबारे, येशूले आफ्नो सेवकाईको प्रारम्भ मै, के उदाहरण कायम गर्नु भयो र यसबाट मसीहीहरूले कसरी लाभ उठाउन सक्छन्? (ख) येशूले सिकाउनु भएको आदर्श प्रार्थनाले प्रार्थनाबारे के प्रकट गर्दछ?
१२ आफ्नो पार्थिव सेवकाईको शुरू देखिन् नै, येशू प्रार्थनामा लागि रहुन भएको देखिन्छ। बप्तिस्मा लिने बेलामा उहाँको प्रार्थनापूर्ण प्रवृत्तिले, आधुनिक समयहरूमा बप्तिस्मा लिने सबैका निम्ति एउटा असल उदाहरण कायम गर्यो। (लूका ३:२१, २२) पानीमा लिएको बप्तिस्माले जुन कुराको चित्रण गर्दछ, त्यस कुरालाई पूरा गर्न परमेश्वरको मद्दतका निम्ति प्रार्थना गर्न सकिन्छ। यहोवासँग प्रार्थना द्वारा सम्पर्क राख्न येशूले अरूहरूलाई पनि सहायता दिनु भयो। एक पटक येशू एउटा विशेष ठाउँमा प्रार्थना गरी रहनु भएको बेलामा, उहाँका एक जना चेलाले पछिबाट उहाँलाई भने: “हे प्रभु, हामीलाई पनि प्रार्थना गर्न सिकाउनु होस्।” अनि येशूले त्यो प्रार्थना सिकाउनु भयो जसलाई साधारणतयाः प्रभुको प्रार्थना भनिन्छ र जसमा उल्लेखित विषय वस्तुको क्रमबाट प्रदर्शित हुन्छ कि परमेश्वरको नाउँ र उद्देश्यलाई प्राथमिकता दिनु पर्दछ। (लूका ११:१-४) यस प्रकार, हामीले आफ्ना प्रार्थनाहरूमा प्राथमिकता र सन्तुलन कायम राख्नु पर्दछ र “उच्च कुराहरूको [बढ़ी महत्त्व भएका कुराहरूको, न्यु.व.]” हेलचक्राईं गर्नु हुँदैन। (फिलिप्पी १:९, १०) हुन त हो, कहिले काहीं, विशेष खाँचो अथवा कुनै विशेष समस्याको समाधान गर्न अत्यावश्यक परेको हुन सक्तछ। येशूले झैं, मसीहीहरूले पनि आफूलाई खटाइएका केही कामहरू पूरा गर्न अथवा कुनै विशेष कठिनाइहरू अथवा खतराहरूको सामना गर्नु पर्दा, परमेश्वरसँग प्रार्थना द्वारा बल माँग्न सक्छन्। (मत्ती २६:३६-४४) यथार्थमा, व्यक्तिगत प्रार्थनाहरूमा जीवनको प्रायः हर क्षेत्र समावेश हुन सक्तछ।
१३. येशूले अरूहरूका निम्ति प्रार्थनागर्ने कुराको महत्त्व कसरी दर्साउनु भयो?
१३ आफ्नो असल उदाहरण द्वारा, येशूले अरूहरूका निम्ति गरिने प्रार्थनाको महत्त्वलाई पनि दर्शाउनु भयो। उहाँले झैं, उहाँका चेलाहरूले पनि घृणा र सतावटको सामना गर्नु पर्नेछ भनी उहाँलाई थाह थियो। (यूहन्ना १५:१८-२०; १ पत्रुस ५:९) यसकारण, “तिनीहरूलाई दुष्टबाट जोगाइराख्नुहोस्” भनी उहाँले परमेश्वरसँग बिन्ती गर्नु भयो। (यूहन्ना १७:९, ११, १५, २०) र पत्रुसले एउटा विशेष कठिनाइको सामना गर्नु पर्ने छ भनी उहाँलाई थाह भएको हुनाकारण, उहाँले तिनलाई भन्नु भयो: “मैले तिम्रो विश्वास नडगोस् भनेर तिम्रो निम्ति प्रार्थना गरें।” (लूका २२:३२) हामी पनि आफ्ना भाइहरूकालागि प्रार्थना गर्न अटूटसँग लागिरह्यौं र हाम्रै समस्याहरू र चासोका कुराहरूबारे मात्र सोंचनुको सट्टा अरूहरूबारे पनि सोंचने गर्यौं भने, कति लाभदायक हुनेछ।—फिलिप्पी २:४; कलस्सी १:९, १०.
१४. आफ्नो पार्थिव सेवकाईको समयभरि, येशू यहोवाको धेरैनै नजीक रहनु भयो भनी हामी कसरी जान्दछौं र हामीले उहाँको अनुकरण कसरी गर्न सक्छौं?
१४ आफ्नो सेवकाईभरि, येशू प्रार्थनामा अटूटसँग लागिरहनु हुँदै यहोवाको धेरै नै नजीक रहनु हुन्थ्यो। (हिब्रू ५:७-१०) प्रेरित २:२५-२८ मा, प्रेरित पत्रुसले भजनसंग्रह १६:८ देखिन् उद्धरण गर्दै, त्यहाँ उल्लेखित कुरा प्रभु येशू ख्रीष्टमा प्रयोग गर्दछन्: “दाऊदले उहाँको विषयमा भनेका छन्, ‘मैले प्रभुलाई [यहोवालाई, न्यु.व.] सधैं मेरो मुखको सामने देखें, किनभने म नडगमगाऊँ भनेर उहाँ मेरो दाहिनेतर्फ हुनुहुन्छ।” हामी पनि त्यसै गर्न सक्तछौं। हामी पनि परमेश्वर हाम्रो नजीक हुनुहोस् भनी प्रार्थना गर्न सक्छौं र यहोवालाई सधैं ध्यानमा राखेर उहाँमाथि आफ्नो भरोसा व्यक्त गर्न सक्नेछौं। (भजनसंग्रह ११०:५; यशैया ४१:१०, १३ सँग तुलना गर्नु होस्) यस प्रकार हामी हर प्रकारका समस्याहरूबाट बाँच्न सक्नेछौं किनभने यहोवाले हामीलाई सह्माल्नुहुनेछ र हामी कहिले डग्नेछैनौं।
१५. (क) कुन कुराको सम्बन्धमा हामीले प्रार्थनामा अटूटसँग लागि रहन छाड़नु हुँदैन? (ख) हाम्रो कृतज्ञताबारे के होसियारी दिलाइएको छ?
१५ हामी यहोवालाई उहाँको अपार भलाइ, हो, हामीलाई आफ्ना पापहरूबाट छुटकारा दिलाउने बलिदानको रूपमा आफ्नो पुत्र वरदान दिनु भएर “असीम अनुग्रह” प्रकट गर्नु भएका लागि धन्यवाद चढ़ाउन कहिले न छाड़ौं। (२ कोरिन्थी ९:१४, १५; मर्कूस १०:४५; यूहन्ना ३:१६; रोमी ८:३२; १ यूहन्ना ४:९, १०) वास्तवमा, येशूको नाउँमा, “हामी सधैं परमेश्वर र पितालाई धन्यवाद चढ़ाउँने गरौं।” (एफिसी ५:१९, २०; कलस्सी ४:२; १ थिस्सलोनिकी ५:१८) हामीसँग न भएका कुराहरूका लागि अथवा आफ्ना व्यक्तिगत समस्याहरूमा ग्रस्त भएर, हामीसँग भएका कुराहरूका लागि आफ्नो कृतज्ञताको भावमा नरमाइलोपना आउन दिन देखिन् हामी होसियार हुनु पर्दछ।
यहोवामाथि आफ्ना भारीहरू बिसाउन
१६. कुनै चिन्ताको कारण हामी विचलित हुँदा, के गर्नु उचित हो?
१६ प्रार्थनामा निरन्तर लागि रहँदा, आफ्नो भक्तिको गहराई प्रकट हुन्छ। परमेश्वरलाई हामीले पुकार्दा, उहाँबाट जवाफ आउनु अघि नै, यसको हामीमाथि राम्रो असर पर्दछ। कुनै प्रकारको बोझको कारण हाम्रो मन अशान्त छ भने, हामी यो सल्लाह मान्दै यहोवाको नजीक रहन सक्नेछौं: “तेरो भारी परमप्रभुमा [यहोवामा, न्यु.व.] राख र उहाँले तँलाई सह्माल्नुहुनेछ।” (भजनसंग्रह ५५:२२) हाम्रा सारा भारी—चिन्ताहरू-फिक्रीहरू, नैराश्यहरू र भय इत्यादि—सबै परमेश्वरमाथि पूर्ण विश्वाससाथ बिसाइदियौं भने, हामीले “सारा समझलाई माथ गर्ने” “परमेश्वरको शान्ति” अर्थात् एउटा शान्त हृदय प्राप्त गर्ने छौं।—फिलिप्पी ४:४, ७; भजनसंग्रह ६८:१९; मर्कूस ११:२४; १ पत्रुस ५:७.
१७. परमेश्वरको शान्ति हामी कसरी प्राप्त गर्न सक्छौं?
१७ के परमेश्वरको यो शान्ति तुरुन्तै पाइन्छ? हामीले त्यतिनै खेर केही हदसम्म शान्ति पायौं भने पनि, पवित्र आत्माका लागि प्रार्थना गर्ने सम्बन्धमा येशूले जे भन्नु भयो, त्यो यसमा पनि प्रयोग हुन्छ: “माग [मागी रहौ, न्यु.व.] त तिमीहरूलाई दिइनेछ, खोज [खोजी रहौ, न्यु.व.] त तिमीहरूले भेट्टाउने छौ, घचघच्याओ, [घचघच्याइरहौ, न्यु.व.] त तिमीहरूको निम्ति खोलिनेछ।” (लूका ११:९-१३) हाम्रो आफ्नो चिन्ता हटाउने माध्यम पवित्र आत्मा भएको हुनाकारण, परमेश्वरको शान्ति र हाम्रा भारीहरूका सम्बन्धमा, हामीले उहाँको मद्दतका निम्ति, एकाग्रचित्तसाथ माँगी रहनु आवश्यक छ। प्रार्थनामा अटूटसँग लागिरहँदा, चाहिंदो आराम र हृदयको शान्ति पाउनेछौं भनी हामी विश्वस्त हुन सक्तछौं।
१८. कुनै खास परिस्थितिमा कसो भनेर प्रार्थना गर्नु पर्ने हो, सो हामीलाई थाह न हुँदा, यहोवाले हाम्रो निम्ति के गरी दिनु हुन्छ?
१८ तर के को निम्ति प्रार्थना गर्नु पर्ने हो भनी हामीलाई राम्ररी थाह नभएको खण्डमा के गर्ने? हाम्रा आन्तरिक वेदनाहरू अकसर व्यक्त न भइकनै रहन्छन् किनभने हामी आफ्नो परिस्थिति राम्रो र पूर्ण ढङ्गमा बुझ्दैनौं, अथवा यहोवालाई के भन्नु पर्ने हो, हाम्रो दिमागले काम गर्दैन। यस्तो भएको बेलामा, पवित्र आत्माले हाम्रा लागि मध्यस्थता गरी दिन सक्तछ। पावलले लेखे: “जसरी प्रार्थना गर्नु पर्ने हो, हामी त्यसरी गर्न जान्दैनौं, तर बयान गर्न नसक्ने सोरले आत्मा आफैले हाम्रा निम्ति अन्तरबिन्ती गर्नुहुन्छ।” (रोमी ८:२६) यो कसरी गरिन्छ? हाम्रो परिस्थितिसँग मिल्ने प्रेरित भविष्यवाणीहरू र प्रार्थनाहरू परमेश्वरको वचनमा पाइन्छन्। यिनीहरू नै मानौ उहाँले हाम्रो निम्ति प्रयोग गर्नु हुन्छ। हामीलाई तिनीहरूको अर्थ थाह भएको भए, हामी त्यसरी नै प्रार्थना गर्ने थियौं भन्नु हुँदै, उहाँले ती प्रार्थनाहरू हामीले चढ़ाएकै सरह ठान्नु भएर स्वीकार्नु हुन्छ र ती पूरा पनि गरी दिनु हुन्छ।
प्रार्थना र आशा रही रहनेछ
१९. प्रार्थना र आशा सदा-सर्वदा किन रही रहनेछ?
१९ स्वर्गमा हुनु हुने हाम्रा पितालाई, विशेष गरी नया संसार र त्यसका सारा आशिषहरूका लागि धन्यवादपूर्वक प्रार्थना चढ़ाउने क्रम सदा-सर्वदै रही रहनेछ। (यशैया ६५:२४; प्रकाश २१:५) हामी आशामा पनि रमाइ रहने छौं किनभने आशा पनि कुनै न कुनै रूपमा सधैंभरि रही रहनेछ। (१ कोरिन्थी १३:१३ सँग तुलना गर्नु होस्) यहोवाले स्वयंलाई पालन गर्न बाध्य पार्नु भएको, पृथ्वी सम्बन्धित विश्रामको दिन समाप्त भए पछि, अझ कस्ता कस्ता नया कुराहरू उहाँले सृजनु हुनेछ हामी अहिले कल्पना पनि गर्न सक्तैनौं। (उत्पत्ति २:२, ३) सदा-सर्वदासम्म, आफ्ना जनहरूका लागि प्रेमपूर्ण नया नया अचम्मका कुराहरू उहाँसँग भइरहनेछन् र तिनीहरूका निम्ति भविष्यमा उहाँको इच्छाको पूर्तिसँग सम्बन्धित महान कुराहरू राखिएका छन्।
२०. हाम्रो दृढ़ फैसला के हुनु पर्छ, र किन?
२० यस प्रकारको रोमाञ्कारी आशा आफ्नो सामने भएको हुनाकारण, हामी सबै नै प्रार्थनामा अटूटसँग लागेर यहोवाको नजीक रहि रहौं। हामीले पाएका सबै आशिषहरूका निम्ति स्वर्गमा हुनु हुने हाम्रा पितालाई धन्यबाद चढ़ाउन कहिले न छोड़ौं। समयमा, हामीले सोंचेको अथवा प्रतीक्षा गरेको भन्दा पनि महान ढङ्गमा, हाम्रा आकाँक्षाहरूको आनन्दमय पूर्ति हुनेछ, किनभने “हामीले मागेको अथवा सम्झेको भन्दा ज्यादै प्रशस्तगरी” यहोवाले दिन सक्नु हुन्छ। (एफिसी ३:२०) यस कुरालाई ध्यानमा राखेर “प्रार्थना सुन्नु हुने” हाम्रा परमेश्वर यहोवालाई हर प्रशंसा, महिमा र धन्यवाद सदा-सर्वदा चढ़ाउँने गरौं! (w91 12/15)
[फुटनोट]
a वेबस्टर्स न्यु डिक्सनेरी अफ सिनोनिम्स अनुसार, “लगनशील हुन प्राय सधैं नै एउटा प्रशंसनीय गुण मानिन्छ; असफलता, शङ्का अथवा कठिनाइहरूको सामुन्ने पनि निरुत्साहित न हुने र कुनै जिम्मावारी अथवा लक्ष्यको प्राप्तीमा दत्तचित्त अथवा एकाग्रतासाथ लागि रहने भाव यसबाट बोध हुँदछ।”
तपाईं कसरी जवाफ दिनु हुनेछ?
◻ हामी प्रार्थनामा अटूटसँग लागि रहनु पर्ने आवश्यकता किन छ?
◻ प्रार्थना सम्बन्धी, ईसा-पूर्व उदाहरणहरूबाट हामी के सिक्तछौं?
◻ येशूको उदाहरणले हामीलाई प्रार्थनाबारे के सिकाउँछ?
◻ हामीले आफ्नो भारी यहोवामा कसरी बिसाउन सक्तछौं र यसको परिणाम के हुन सक्छ?
[पृष्ठ २५-मा भएको चित्र]
सिंहहरूको खोरमा फालिदिने धम्कीको सामुन्नेपनि दानियल प्रार्थनामा एकाग्रचित्तसाथ लागि रहे