मसीहीहरूले गोप्य राख्नै नहुने कुरा!
“मैले संसारलाई खुल्लमखुल्ला भनेको छु, . . . मैले गुप्तमा केही भनेको छैनँ।”—यूहन्ना १८:२०.
१, २. धर्मशास्त्रमा प्रयोग गरिएको मिस्टेरियन शब्दको के विशेषता छ?
युनानी शब्द मिस्टेरिन-लाई पवित्र धर्मशास्त्रको नयाँ विश्व अनुवाद-मा (अंग्रेजी) २५ पटक “पवित्र गोप्य” र ३ पटक “रहस्य” भनेर अनुवाद गरिएको छ। पवित्र कहलिएको गोप्य कुरा अवश्य महत्त्वपूर्ण हुनुपर्छ! त्यस्तो गोप्य कुराको ज्ञान हासिल गर्ने सुअवसर पाउने जो कसैले पनि ठूलो गर्व महसुस गर्नुपर्छ। अनि नगर्ने पनि किन? आखिर, ब्रह्माण्डको सर्वोच्च परमेश्वरसित गोप्य कुरा बाँड्ने योग्यको गनिन पाउनु कम सानो कुरा पनि त होइन।
२ प्रायजसो स्थितिमा मिस्टेरियन शब्दलाई “रहस्य” भन्दा “पवित्र गोप्य” भनेर अनुवाद गर्नु नै उपयुक्त छ भनेर भाइनको पुरानो तथा नयाँ नियमका शब्दहरूको व्याख्यात्मक शब्दकोश-ले (अंग्रेजी) पुष्टि दिन्छ। मिस्टेरियन शब्दबारे उक्त शब्दकोश यसो भन्छ: “[मसीही युनानी धर्मशास्त्रमा] यो शब्दले (अंग्रेजी शब्द ‘मिस्ट्री’-ले जस्तो) कुनै रहस्यमय कुरालाई बुझाउँदैन। बरु त्यस्तो कुरालाई बुझाउँछ, जुन मानिस आफैले आफ्नै क्षमताको भरमा बुझ्न सक्दैन तर ईश्वरीय प्रकाशको जरुरत पर्छ र आफूले तोक्नुभएको समयमा अनि आफ्नै ढंगमा अनि उहाँको आत्मा पाउनेहरूलाई मात्र परमेश्वरले बुझाउनुहुन्छ। सामान्यतः रहस्य भन्नाले कुनै कुराबारे प्रकट नगरिएको ज्ञान बोध हुन्छ। तर बाइबलमा प्रयोग भएको रहस्य शब्दले प्रकट भएको सत्यलाई बुझाउँछ। तसर्थ, ‘प्रकाश गरिएको’ ‘प्रकट गरिएको’ ‘प्रकटित’ ‘प्रचार गरिएको’ ‘बुझ्नु’ ‘सबैलाई दिइएको’ जस्ता अभिव्यक्तिहरू रहस्य शब्दसँग सम्बन्धित छन्।”
३. प्रथम शताब्दीका मसीही मण्डली अन्य रहस्यमय धार्मिक समूहहरूभन्दा कसरी भिन्न थिए?
३ यस परिभाषाले प्रथम शताब्दीताक फस्टाएको रहस्यमय धर्महरू र भर्खरै स्थापित भएको मसीही मण्डलीबीच सबैभन्दा ठूलो भिन्नता के थियो, सो प्रकाश पार्छ। गोप्य धार्मिक सम्प्रदायमा लाग्नेहरूलाई प्रायः आफ्ना धार्मिक शिक्षाहरू अरू कसैलाई नबताउने भाकल खुवाइएको हुन्थ्यो तर मसीहीहरूलाई त्यस्तो कुनै प्रतिबन्ध थिएन। हो, प्रेरित पावलले “परमेश्वरको ज्ञान रहस्यमा . . . छिपेर रहेको ज्ञान” हो भने। तर “यस संसारका . . . शासकहरू[का निम्ति]” छिपेको, मसीहीहरूका लागि होइन। किनकि तिनीहरूले त्यो ज्ञान सबैलाई बताइदिऊन् भनिकन परमेश्वरको आत्माले प्रकट गरिसकेको थियो।—१ कोरिन्थी २:७-१२; तुलना गर्नुहोस् हितोपदेश १:२०.
“पवित्र गोप्य” प्रस्ट हुन्छ
४. “पवित्र गोप्य” कसमाथि केन्द्रित छ र कसरी?
४ यहोवाको “पवित्र गोप्य” (NW) येशू ख्रीष्टमा केन्द्रित छ। पावलले लेखे: “हामीलाई उहाँकै इच्छाको रहस्य [”पवित्र गोप्य,” NW] जान्न दिनुभएर उहाँको अभिप्रायअनुसार, जो उहाँले ख्रीष्टमा ठहराउनुभयो, चाहे स्वर्गका, चाहे पृथ्वीका, सबै कुरा ख्रीष्टमा गाभ्नालाई समयको पूर्णताको प्रबन्धको निम्ति।” (एफिसी १:९, १०) “पवित्र गोप्यको” (NW) प्रकृति कस्तो छ त? पावलले ‘परमेश्वरको रहस्य, [“पवित्र गोप्य,” NW] अर्थात् ख्रीष्टलाई चिन्नु पर्ने’ आवश्यकता औंल्याउँदै त्यसलाई अझ स्पष्ट पारे।—कलस्सी २:२.
५. “पवित्र गोप्य[मा]” के के समावेश छन्?
५ तथापि, कुरा त्यतिमै सीमित छैन। “पवित्र गोप्य” (NW) त्यस्तो गोप्य हो, जसका विभिन्न मोहडाहरू छन्। त्यो केवल येशू नै प्रतिज्ञा गरिएको वंश वा मसीह हुनुहुन्छ भन्ने परिचय मात्र होइन। परमेश्वरको उद्देश्य पूर्ति गर्नाका लागि उहाँलाई निर्वाह गर्न लगाइको भूमिका पनि त्यसमा समावेश छ। स्वर्गीय सरकार, परमेश्वरको मसीही राज्य पनि त्यसमा समावेश छ। जुन कुरा येशूले आफ्ना चेलाहरूलाई यसरी प्रस्ट्याउनुभयो: “तिमीहरूलाई ता स्वर्गको राज्यको रहस्यको [“पवित्र गोप्य,” NW] ज्ञान दिइएको छ, तर तिनीहरूलाई दिइएको छैन।”—मत्ती १३:११.
६. (क) “पवित्र गोप्य” “सनातनदेखि गुप्त रहेको थियो” भन्नु किन ठीक छ? (ख) पवित्र गोप्यलाई कसरी क्रमिक रूपमा प्रकट गरियो?
६ परमेश्वरले पहिलो पटक मसीही राज्यका लागि आधार तयार पार्ने आफ्नो उद्देश्य प्रकट गर्नुभएदेखि “परमेश्वरको रहस्य [“पवित्र गोप्य,” NW] खतम” नहोउञ्जेल निकै समय बित्ने थियो। (प्रकाश १०:७; उत्पत्ति ३:१५) अनि परमेश्वरको राज्य स्थापित भएपछि सो गोप्य कुरा खुलाइने थियो। जुन प्रकाश १०:७ र ११:१५ तुलना गरेर हेर्दा प्रमाणित हुन्छ। वास्तवमा भन्ने हो भने अदनको बगैंचामा राज्यबारे पहिलो प्रतिज्ञा भएदेखि सा.यु. २९ मा नियुक्त राजा भएसम्म यस्तै ४,००० वर्ष बितिसकेको थियो। अनि सन् १९१४ मा परमेश्वरको राज्य स्थापित नभइञ्जेल अर्को १,८८५ वर्ष बित्यो। यसप्रकार, लगभग ६,००० वर्षको समयावधिभित्र क्रमिक ढंगमा “पवित्र गोप्य” (NW) प्रकट गरियो। (पृष्ठ १६ हेर्नुहोस्।) अतः “त्यस रहस्यको प्रकाश . . . जो सनातनदेखि गुप्त रहेको थियो, तर अब प्रकट भएको छ” भनेर पावलले ठीकै भनेका थिए।—रोमी १६:२५-२७; एफिसी ३:४-११.
७. विश्वासी र बुद्धिमान् दासवर्गमाथि हामी किन पूरापूर भरोसा राख्नसक्छौं?
७ मानिसहरू जीवन छोटो भएकोले हतार गर्छन्। तर यहोवालाई हतार गर्नुपर्ने जरुरत छैन। त्यसकारण आफ्नो गोप्य कुरा समयअगावै खोल्नुपर्ने दबाब उहाँ महसुस गर्नुहुन्न। बाइबलका कुनै कुनै प्रश्नहरूको हाल चित्तबुझ्दो जवाफ पाउन नसक्दा अधीर नहुन यसले हामीलाई मदत गर्नुपर्ने हो। अर्कोतर्फ मसीही घरानालाई ठीक ठीक समयमा भोजन टक्राउने जिम्मेवारी पाउने विश्वासी र बुद्धिमान् दासलाई विचार गर्दा, उनीहरूलाई पनि बढ्ता जान्नेसुन्ने भई समय अगावै अस्पष्ट कुराहरूको अड्कल काट्नदेखि विनम्रताले रोक्छ। दासवर्ग हठवादी नहुने प्रयत्न गर्छन्। अतः अहिल्यै सबै प्रश्नको जवाफ दिन सकिंदैन भनेर तिनीहरू विनम्रतापूर्वका स्वीकार्छन् र यस सन्दर्भमा हितोपदेश ४:१८ लाई राम्ररी मनमा राख्छन्। तर यहोवाले आफ्नो समयमा अनि आफ्नै ढंगमा आफ्ना उद्देश्यहरूसित सम्बन्धित गोप्य कुराहरू खुलाउँदै लानुहुनेछ भनेर थाह पाउनु कत्ति रोमाञ्चकारी छ। अतः हामी कहिल्यै यहोवाले गर्नुभएको प्रबन्धदेखि अधीर नहोऔं र गोप्य कुरा प्रकट गर्नुहुने परमेश्वरलाई अविवेकी भएर उछिन्ने कोसिस नगरौं! यहोवाले अहिले प्रयोग गर्नुभएको माध्यमले त्यसरी उछिन्ने प्रयत्न गर्दैन भनेर थाह पाउनु कत्ति आश्वासनदायी छ! यो दास साँच्चै विश्वासी अनि बुद्धिमान् छ।—मत्ती २४:४५; १ कोरिन्थी ४:६.
प्रकट गरिएको रहस्य सबैलाई बताउनैपर्छ!
८. “पवित्र गोप्य” लुकाएर राख्नुहुन्न भनेर हामी कसरी भन्नसक्छौं?
८ मसीहीहरूले गोप्य राखोस् भनेर यहोवाले तिनीहरूलाई “पवित्र गोप्य” (NW) प्रकट गर्नुभएको होइन। येशूले केही मुठीभर पादरीहरूलाई होइन तर आफ्ना सबै अनुयायीहरूलाई बताउनुभएको यस सिद्धान्तअनुरूप त्यो गोप्य कुरा सबैलाई सुनाउनुपर्छ: “तिमीहरू जगत्का ज्योति हौ। डाँड़ामा बसालिएको शहर लुक्नसक्तैन। मानिसहरूले बत्ती बालेर पाथीमनि ता होइन, तर सामदानमाथि राख्तछन्। र घरमा हुने सबैको निम्ति त्यो चम्कन्छ। उसरीनै तिमीहरूको ज्योति मानिसहरूका सामु चम्कोस्, र तिनीहरूले तिमीहरूका सुकर्म देखून्, र स्वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरून्।”—मत्ती ५:१४-१६; २८:१९, २०.
९. केही मानिसहरूले दाबी गरेजस्तो येशू क्रान्तिकारी हुनुहुन्न भन्ने के प्रमाण छ?
९ आफ्ना अनुयायीहरूको भूमिगत संगठन खोलेर गोप्य उद्देश्यहरू पूरा गर्ने क्रान्तिकारी मनसाय येशूको थिएन। प्रारम्भिक मसीही धर्म र समाज भन्ने (अंग्रेजी) आफ्नो किताबमा रबर्ट एम. ग्रान्टले दोस्रो शताब्दीको मसीही समर्थक जस्टिन मार्टिरले प्रारम्भिक मसीहीहरूका पक्षमा बोलेका निम्न शब्दहरू लेखे: “मसीहीहरू क्रान्तिकारी भएको भए तिनीहरू आफ्ना लक्ष्य हासिल गर्न लुकेर बस्ने थिए।” यदि मसीहीहरू साँच्चै “लुकेर” बसे भने तिनीहरू कसरी “डाँड़ामा बसालिएको शहर” जस्तै हुनसक्थे र? तिनीहरूले आफ्नो ज्योति पाथीमनि लुकाउने हिम्मतसमेत गरेनन्! अतः सरकारहरू तिनीहरूको गतिविधिदेखि डराउनुपर्ने कुनै कारण थिएन र यही कुरा उक्त लेखकले यसरी खुलाए: “शान्ति र सुव्यवस्थाको कुरा गर्ने हो भने तिनीहरू सम्राटका सबैभन्दा असल मित्रहरू हुन्।”
१०. मसीहीहरूले किन आफ्नो परिचय गोप्य राख्नुहुँदैन?
१० आफ्ना चेलाहरूले तथाकथित धार्मिक पन्थका सदस्यहरूको रूपमा आफ्नो परिचय गोप्य राखून् भनेर येशूले चाहनुभएको थिएन। (प्रेरित २४:१४; २८:२२) अतः आज हामीले आफ्नो ज्योति चम्काएनौं भने ख्रीष्ट अनि उहाँको पिता अर्थात् गोप्य कुरा खोल्नुहुने परमेश्वर अप्रसन्न हुनुहुनेछ र हामी पनि दुःखी हुनेछौं।
११, १२. (क) मसीहीधर्मबारे सबैले थाह पाऊन् भनेर यहोवाले चाहनुको कारण के हो? (ख) यस सन्दर्भमा येशूले कसरी उचित उदाहरण बसाल्नुभयो?
११ यहोवा “कोही पनि नष्ट नहोस्, तर सबै जनाले पश्चात्ताप गरून् भन्ने इच्छा” गर्नुहुन्छ। (२ पत्रुस ३:९; इजकिएल १८:२३; ३३:११; प्रेरित १७:३०) अनि त्यसरी पश्चात्ताप गर्ने मानिसहरूको पाप क्षमा गर्ने आधार येशू ख्रीष्टले दिनुभएको छुटकाराको बलिदान हो। र येशूले केही मुठीभरको लागि मात्र होइन तर सबैको छुटकाराको निम्ति बलिदान दिनुभएको थियो, ताकि “उहाँमाथि विश्वास गर्ने प्रत्येक नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्।” (यूहन्ना ३:१६) अतः आउँदै गरेको न्यायको दिनमा मानिसहरू बाख्रा होइन तर भेडा ठहरिन योग्यका हुनसकून् भनेर निम्ति मानिसहरूलाई मदत गर्नु अत्यावश्यक छ।—मत्ती २५:३१-४६.
१२ साँचो मसीहीधर्म लुकाएर छिपाएर राख्नुपर्ने धर्म होइन। बरु सम्भव भएसम्म हर उपयुक्त तरिकामा मानिसहरूलाई बताउनुपर्ने धर्म हो। यस सन्दर्भमा येशू आफैले राम्रो नमुना बसाल्नुभयो। प्रधान पूजाहारीले उहाँका चेला र शिक्षाहरूबारे प्रश्न गर्दा येशूले यस्तो जवाफ दिनुभयो: “मैले संसारलाई खुल्लमखुल्ला भनेको छु, मैले सधैं सभाघरमा र मन्दिरमा शिक्षा दिएको छु, जहाँ सबै यहूदीहरू जम्मा हुन्छन्। मैले गुप्तमा केही भनेको छैनँ।” (यूहन्ना १८:१९, २०) येशूले बसाल्नुभएको यो नजिरलाई विचार गर्ने हो भने परमेश्वरको डर मान्ने कुन चाहिं मानिसले परमेश्वरले सबैलाई सुनाउनु भन्नुभएको कुरा लुकाउने हिम्मत गर्ला? अनि कसले पो अनन्त जीवनतर्फ लैजाने “ज्ञानको साँचो” लुकाएर राख्ने आँट गर्ला? अनि कसैले लुकाउने हिम्मत गर्छ भने, त्यो प्रथम शताब्दीका धार्मिक कपटीहरूभन्दा कम हुनेछैन।—लूका ११:५२; यूहन्ना १७:३.
१३. हामीले किन मौका पाउने बित्तिकै प्रचार गर्नुपर्छ?
१३ हामी यहोवाका साक्षीहरूले परमेश्वरको राज्यको सन्देशलाई गोप्य राखेका छौं भनेर कसैले औंला ठड्याउन नसकोस्! चाहे सुनून् वा नसुनून् मानिसहरूले सन्देश प्रचार भएको छ भनेर चाहिं जान्नैपर्छ। (इजकिएल २:५; ३३:३३ तुलना गर्नुहोस्।) त्यसकारण, आउनुहोस् हर समय, हर मौकाको फाइदा उठाउँदै हामी सबैलाई सत्यको सन्देश सुनाऔं।
शैतानलाई बल्छी हान्ने
१४. खुल्लमखुल्ला परमेश्वरको उपासना गर्न हामी किन हिचकिचाउनु हुँदैन?
१४ धेरै जसो ठाउँहरूमा यहोवाका साक्षीहरूतर्फ पत्र पत्रिका, रेडियो, टेलिभिजनको ध्यान झन् झनै बढ्दै गएको छ। तर प्रायः यस्ता माध्यमहरूले साक्षीहरूबारे गलत धारणा प्रचारमा ल्याएर शंकास्पद धार्मिक सम्प्रदाय अनि गोप्य संगठनहरूको दर्जामा राखेका छन्। प्रारम्भिक मसीहीहरूलाई पनि त्यस्तै गरिएको थियो। (प्रेरित २८:२२) त्यसोभए हामीले अझ खुल्लमखुल्ला प्रचार गर्दा मानिसहरू झनै चिढिने हुन् कि? निस्सन्देह, अनावश्यक रूपमा विवादमा मुछिनु अवश्य बुद्धिमानी हुनेछैन र येशूको सल्लाहअनुरूप चलेको पनि हुनेछैन। (हितोपदेश २६:१७; मत्ती १०:१६) तथापि, राज्य प्रचारजस्तो लाभदायी काम अनि मानिसहरूलाई आफ्नो जीवन उकास्ने मदत दिने काम पटक्कै छिप्नु हुँदैन। किनकि त्यसले यहोवाको महिमा गर्छ तथा उहाँ र उहाँले स्थापित गरिसक्नुभएको राज्यतर्फ मानिसहरूको ध्यान खिच्छ। पूर्वीय युरोप र अफ्रिका महादेशका केही भागहरूमा हाल झन् झन् खुल्लमखुल्ला सत्यको प्रचार गर्न सकिएको हुँदा नै ती क्षेत्रहरूबाट निकै राम्रा प्रतिक्रियाहरू पाउन सकिएको हो।
१५, १६. (क) हामीले खुल्लमखुल्ला उपासना गर्दा, आध्यात्मिक फलिफापको आनन्द उठाउँदा त्यसले कुन उद्देश्य पूरा गर्छ तर के त्यो उद्देश्य पूरा होला भनेर हामी डराउनु ठीक छ? (ख) यहोवाले किन शैतानलाई बल्छी हान्नुहुन्छ?
१५ हो, यहोवाका साक्षीहरूले त्यसरी खुल्लमखुल्ला प्रचार गर्दा, आध्यात्मिक प्रमोदवनको आनन्द उठाउँदा र तिनीहरूको आर्थिक उन्नति अनि संख्यात्मक वृद्धि मानिसहरूको दृष्टिबाट लुक्दैन। इमानदार हृदय भएका मानिसहरूलाई आकर्षित गर्दा यी कुरा विरोधीहरूलाई चाहिं मन नपर्न सक्छ। (२ कोरिन्थी २:१४-१७) अझ भनौं भने, अन्ततः यस्तै वृद्धि देखेर शैतान परमेश्वरका जनहरूमाथि आक्रमण गर्न सुरिनसक्छ।
१६ तर के यसो भन्दैमा हामी चिन्तित हुनुपर्छ? इजकिएल अध्याय ३८ मा दिइएको यहोवाको भविष्यवाणीअनुसार त पर्दैन। किनकि सन् १९१४ मा परमेश्वरको राज्य स्थापित भएपछि यस पृथ्वीमा फ्याँकिएको मागोगको गोग मतलब शैतान अर्थात् दियाबलले परमेश्वरका जनहरूमाथि आक्रमण गर्नेछ भनेर त्यस भविष्यवाणीले भनेको छ। (प्रकाश १२:७-९) यहोवा गोगलाई यसो भन्नुहुन्छ: “तैंले भन्नेछस्, ‘पर्खाल विनाका गाउँहरू भएको देशलाई म आक्रमण गर्नेछु। मूल–ढोका र बारहरू विनै बस्ने, पर्खालद्वारा सुरक्षित नभएका शान्ति र ढुक्कसित बस्ने जातिहरूलाई म आक्रमण गर्नेछु। ती ध्वंस भएका ठाउँहरूमा अहिले फेरि जाति जातिहरूबाट भेला भएका मानिसहरू, गाई–वस्तु सम्पत्ति प्राप्त गरेर, संसारको केन्द्रमानै आफ्नो घर बनाएर बस्तैछन्। ती ठाउँहरूलाई लूट्दै, सखाप र आबादीलाई ध्वंस पार्दै आउने प्रतीक्षामा तिमीहरू बसेका छौ।” (इजकिएल ३८:११, १२) तथापि, यहोवाले नै त्यसो गराउनुभएको हुनाले परमेश्वरका जनहरू शैतानको आक्रमणदेखि डराउनु आवश्यक छैन भनेर पद ४ ले देखाउँछ। तर परमेश्वरले आफ्नै जनमाथि त्यसरी एकैचोटि ठूलो आक्रमण हुनदिने अनुमति दिनुको कारण? यहोवा के जवाफ दिनुहुन्छ, हामी पद २३ मा पाउँछौं: “यसरी मेरो महानता र पवित्रताको प्रमाण दिएर धेरै जातिहरूकहाँ आफैलाई प्रकट गर्नेछु। तब तिनीहरूले मनै परमप्रभु हुँ भनी जान्नेछन्।”
१७. गोगको निकटवर्ती आक्रमणलाई हामीले कुन दृष्टिले हेर्नुपर्छ?
१७ अतः गोगको आक्रमणदेखि डराइ डराइ बाँच्नुको साटो यहोवाका जनहरू माथि उल्लिखित भविष्यवाणी पूरा हुने आशा गर्दै पर्खन्छन्। आफ्नो दृश्य संगठनलाई आशिष् दिएर अनि फलिफाप गराएर यहोवाले शैतानलाई बल्छी हान्नुहुन्छ र त्यसका सेनाहरूसमेत त्यसलाई तानेर निकाल्नुहुन्छ भनेर थाह पाउनु कत्ति रोमाञ्चकारी छ!
पहिलेभन्दा झन् खुलेआम प्रचार
१८. (क) थुप्रै मानिसहरूले कुन कुरा महसुस गर्न थालेका छन् र किन? (ख) राज्य प्रचार कार्यप्रति मानिसहरूले देखाएको प्रतिक्रियाले कसरी जोडदार प्रेरणाको काम गर्छ?
१८ आधुनिक समयमा यहोवाका साक्षीहरूले आफ्ना बाइबलआधारित विचारहरू लोकप्रिय नभए तापनि झन् खुलेआम प्रकट गर्न थालेका छन्। दशकौंदेखि तिनीहरूले धुम्रपान, दुर्व्यसनका खतराहरूको चेताउनी दिएका छन्। छोराछोरीलाई अनुशासन नदिंदा, अवैध यौन अनि हिंसाले भरिएको मनोरञ्जन गर्दा अनि रक्तक्षेपण लिंदा कस्ता खराब असरहरू पर्छन् भनेर दशकौं अघिदेखि तिनीहरूले चेताउनी दिएका छन्। तिनीहरूले विकासवादका सिद्धान्त कसरी चित्तबुझ्दो छैन भनेर औंल्याएका छन्। फलतः आजकल, “यहोवाका साक्षीहरू ठीकै भन्थे,” भन्ने मानिसहरू झन् झन् बढ्दैछन्। हामीले जनसमक्ष खुलेआम आफ्नो विचार नल्याएको भए यस्तो हुने थिएन। अनि यो पनि नबिर्सनुहोस्, मानिसहरूले साक्षीहरू ठीकै भन्थे भन्नुका साथै “शैतान, तँ फटाहा होस्; बरु यहोवा ठीक हुनुहुँदो रहेछ,” भन्ने तर्फ कदम चाल्दैछन्। येशूको अनुकरण गर्दै खुलेआम सत्यको वचन बोल्ने कत्ति जोडदार प्रेरणा!—हितोपदेश २७:११.
१९, २०. (क) यहोवाका जनहरूले सन् १९२२ मा कुन दृढ निर्णय गरे र के ती शब्दहरू अझै लागू हुन्छन्? (ख) यहोवाको “पवित्र गोप्य[लाई]” हामीले कुन दृष्टिले हेर्नुपर्छ?
१९ तर यहोवाका साक्षीहरूले भर्खरै आएर मात्र त्यसरी खुलेआम सत्य कुरा प्रचार गर्नुपर्छ भनेर बुझेका होइनन्। सन् १९२२ मा भएको उल्लेखनीय सम्मेलनमा वाच टावर सोसाइटीका तत्कालीन अध्यक्ष जे. एफ. रदरफोर्डले आफ्ना श्रोतागणलाई उत्तेजित पार्दै के भने, ध्यान दिनुहोस्: “गम्भीर हुनुहोस्, चनाखो हुनुहोस्, सक्रिय हुनुहोस् अनि साहसी हुनुहोस्। प्रभुका विश्वासी अनि साँचो साक्षी हुनुहोस्। बेबिलोन धूलोपीठो नभइञ्जेल अगाडि बढेर लड्नुहोस्। चारैतिर सन्देश पुऱ्याउनुहोस्। किनकि यहोवा मात्र परमेश्वर हुनुहुन्छ र येशू ख्रीष्ट राजाहरूको राजा अनि प्रभुहरूको प्रभु हुनुहुन्छ भनेर सारा संसारले जान्नैपर्छ। यो सबैभन्दा महत्त्वपूर्ण क्षण हो। किनकि, हाम्रो राजाले शासन गर्न थालिसक्नुभएको छ! अनि तपाईंहरू उहाँको प्रचार-प्रसार गर्ने माध्यम हुनुहुन्छ। त्यसकारण, राजा र उहाँको राज्यको विज्ञापन गर्नुहोस्, विज्ञापन गर्नुहोस्, विज्ञापन गर्नुहोस्।”
२० सन् १९२२ मा त यी शब्दहरू यति महत्त्वपूर्ण थिए भने अहिले ७५ वर्षपछि, ख्रीष्ट न्यायकर्ता र प्रतिशोधीको रूपमा प्रकट हुने बेला नजीकै भएको बेला झन् कत्ति महत्त्वपूर्ण होला! यहोवाले स्थापना गरिसक्नुभएको राज्य अनि उहाँका जनहरूले आनन्द उठाइरहेका आध्यात्मिक प्रमोदवन त्यस्तो “पवित्र गोप्य” (NW) हो, जसलाई लुकाउने हिम्मत उहाँका जनहरू गर्दैनन्। येशू आफैले सुस्पष्ट शब्दहरूमा भन्नुभएजस्तै उहाँका अनुयायीहरूले पवित्र आत्माको मदतद्वारा “पृथ्वीको अन्तसम्म . . . गवाही” दिएर यहोवाका चिरकालीन उद्देश्य पूरा गर्न उहाँले खेल्नुहुने भूमिकाबारे सबैलाई बताउनैपर्छ। (प्रेरित १:८; एफिसी ३:८-१२) साँच्चै भन्ने हो भने, गोप्य कुरा प्रकट गर्नुहुने परमेश्वर, यहोवाका सेवकहरूको हैसियतमा हामी यो गोप्य कुरा लुकाउने हिम्मतसमेत गर्दैनौं!
तपाईं कसरी जवाफ दिनुहुन्छ?
◻ “पवित्र गोप्य” के हो?
◻ “पवित्र गोप्य” प्रचारप्रसारमा ल्याउनुपर्छ भनेर हामी कसरी भन्नसक्छौं?
◻ कुन कुरा देखेपछि गोगले यहोवाका जनहरूमाथि आक्रमण गर्छ र त्यस आक्रमणलाई हामीले कुन दृष्टिले हेर्नुपर्छ?
◻ हामी प्रत्येकले के गर्ने दृढ निर्णय गर्नुपर्छ?
[पृष्ठ १६-मा भएको पेटी]
क्रमिक रूपमा प्रकट भएको “पवित्र गोप्य”
◻ सा.यु.पू. ४०२६ पछि: शैतानको नाश गर्न परमेश्वरले वंश खडा गर्ने प्रतिज्ञा गर्नुहुन्छ।—उत्पत्ति ३:१५
◻ सा.यु.पू. १९४३: अब्राहामसित गरिएको वाचाको पुष्टि गरिन्छ र वंश अब्राहामकै सन्तानबाट आउने प्रतिज्ञा गरिन्छ।—उत्पत्ति १२:१-७
◻ सा.यु.पू. १९१८: वाचाको उत्तराधिकारीको रूपमा इसहाकको जन्म हुन्छ।—उत्पत्ति १७:१९; २१:१-५
◻ लगभग सा.यु.पू. १७६१ तिर: इसहाकको छोरो याकूबद्वारा वंश आउनेछ भनेर यहोवाले पुष्टि गर्नुहुन्छ।—उत्पत्ति २८:१०-१५
◻ सा.यु.पू. १७११: याकूब आफ्नो छोरो यहूदाद्वारा वंश आउनेछ भनेर संकेत दिन्छन्—उत्पत्ति ४९:१०
◻ सा.यु.पू. १०७०-१०३८: राजा दाऊदले वंश आफ्नै सन्तानबाट आउनेछ र वंशले सधैंभरि शासन गर्नेछ भनेर थाह पाउँछन्।—२ शमूएल ७:१३-१६; भजन ८९;३५, ३६
◻ सा.यु. २९-३३: वंश, मसीह, भावी न्यायकर्ता, अनि नियुक्त राजा येशू नै हुनुहुन्छ भनेर चिनाइन्छ।—यूहन्ना १:१७; ४:२५, २६; प्रेरित १०:४२, ४३; २ कोरिन्थी १:२०; १ तिमोथी ३:१६
◻ आफूसँगसँगै शासन गर्ने र न्याय गर्ने अरू पनि हुनेछन्, पार्थिव प्रजाहरू हुनेछन् र उहाँका अनुयायीहरू राज्य प्रचारक हुन्छन् भनेर येशू प्रकट गर्नुहुन्छ।—मत्ती ५:३-५; ६:१०; २८:१९, २०; लूका १०:१-९; १२:३२; २२:२९, ३०; यूहन्ना १०:१६; १४:२, ३.
◻ स्वर्गको राज्य तोकिएको समयमा स्थापित हुनेछ र विश्व घटनाहरूले त्यसको प्रमाण दिनेछ भनेर येशू प्रकट गर्नुहुन्छ।—मत्ती २४:३-२२; लूका २१:४
◻ सा.यु. ३६: गैरयहूदीहरू पनि परमेश्वरको राज्यका सहउत्तराधिकारी हुनेरहेछन् भनेर पत्रुसले थाह पाउँछन्।—प्रेरित १०:३०-३४
◻ सा.यु. ५५: ख्रीष्टको उपस्थिति सुरु भएपछि राज्यका सहउत्तराधिकारीहरूको पुनरुत्थान हुनेछ र अविनाशी, अनन्त जीवन पाउनेछन् भनेर पावल वर्णन गर्छन्।—१ कोरिन्थी १५:५१-५४
◻ सा.यु. ९६: आफ्ना अभिषिक्त अनुयायीहरूमाथि शासन गर्न थालिसक्नुभएको येशूले अभिषिक्त अनुयायीहरूको कुल संख्या १,४४,००० हुनेछ भनेर प्रकट गर्नुहुन्छ।—एफिसी ५:३२; कलस्सी १:१३-२०; प्रकाश १:१; १४:१-३
◻ सा.यु. १८७९: जायन्स वाच टावर-ले सन् १९१४ लाई परमेश्वरको “पवित्र गोप्य” पूरा गर्ने सन्दर्भमा सबैभन्दा महत्त्वपूर्ण वर्ष भनेर औंल्याउँछ
◻ सा.यु. १९२५: द वाच टावर-ले परमेश्वरको राज्य सन् १९१४ मा जन्मियो र परमेश्वरको राज्यसित सम्बन्धित “पवित्र गोप्य” प्रचारप्रसारमा ल्याउनैपर्छ भनेर वर्णन गर्छ।—प्रकाश १२:१-५, १०, १७
[पृष्ठ १५-मा भएका चित्रहरू]
आफ्नो नेता येशूले जस्तै यहोवाका साक्षीहरू खुलेआम यहोवाको राज्यको घोषणा गर्छन्