सेदर देखिन् मुक्ति तर्फ
उद्धारको कचौरा लिएर, म यहोवाको नाउँको पुकारा गर्नेछु।”—भजन संग्रह ११६:१३. [NW]
१. कुन लोक-प्रिय गीतले तपाईंको भविष्यलाई प्रभाव पार्न सक्छ?
तपाईंको दीर्घायु र सुखी भविष्यको निम्ति गाइएको गीत तपाईंलाई कतिको मन पर्नेछ? भनौं भने, यस प्रकारको गीत सधैं नै लोक-प्रिय हुन्छ। तर अरू धेरै मानिसहरूले भन्दा, तपाईंले यो अर्थपूर्ण गीत बुझ्न र यसबाट आनन्द उठाउन सक्नु हुनेछ। यहूदीहरूले यो गीतलाई हालेल (प्रशंसा) भन्छन्। भजन संग्रह ११३ देखिन् ११८ सम्मको यो गीतले हामीलाई “हल्लेलूयाह” अथवा “याहको प्रशंसा” गर्न उत्साहित् पार्छ।
२. यस गीतको प्रयोग कसरी गरिन्छ र सेदेर सँग यस्को के सम्बन्ध छ?
२ यहूदीहरू तिनीहरूको निस्तार चाड़मा हालेल गाउने गर्छन् र जानवरहरूको बलिदान चढ़ाउने प्रबन्ध भएको परमेश्वरको मन्दिर छँदा देखिन् यो गाउने प्रथा चली आएको थियो। वर्तमान समयमा, यहूदी घरहरूमा निस्तार चाड़ र त्यस पछि हुने सेदेरको भोजमा यो गीत गाइन्छ। तर सेदेरमा यो गीत गाउने थोरैले मात्र भजन संग्रह ११६:१३ को खास महत्व बुझ्छन्: “उद्धारको कचौरा लिएर म यहोवाको नाउँका पुकारा गर्नेछु।” तर निस्तार चाड़ सँग उद्धार किन सम्बन्धित छ? र यसमा तपाईंको उद्धार पनि विथोलित् छ कि?
निस्तार—उद्धारको चाड़
३. सेदेरको एतिहासिक भूमिका के हो?
३ तपाईंलाई थाहै होला, कसरी इस्राएलीहरू मिश्रमा एउटा क्रूर फिरऊनको अधीनमा दासहरू थिए। अन्तमा आफ्ना मानिसहरूलाई मुक्ति दिन यहोवाले मोशालाई उठाउनु भयो। परमेश्वरले मिश्रमा नौं वटा पीड़ाहरू ल्याइ सके पछि, मोशाले दशौं पीड़ाको घोषणा गरे। मिश्रको प्रत्यक घरानामा यहोवाले प्रथम जन्मेकाहरूलाई प्रहारगर्नु हुनेवाला थियो। (प्रस्थान ११:१-१०) इस्राएलीहरू चाहिं बाँच्न सक्थिए। तर कसरी? तिनीहरूले एउटा थुमा मारेर त्यसको रगत ढोकाहरूको खामाहरूमा छर्के पछि तिनीहरूले घर भित्र बसेर थुमाको मासु, अखमिरी रोटी र तीते सागपात खानु पर्ने थियो। त्यो सेदेरको उत्सवमा, परमेश्वरले तिनीहरूका प्रथम जन्मेकाहरूलाई प्रहार नगरिकन “छाड़िदिनु” हुने थियो।—प्रस्थान १२:१-१३.
४, ५. निस्तार द्वारा धेरैको निम्ति उद्धारको बाटो कसरी खोलियो? (भजन संग्रह १०६:७-१०)
४ यो दशौं पीड़ा पछि, फिरऊनले मोशालाई एसो भन्यो: “तिमीहरू, इस्राएलीहरू सबै, मेरा प्रजाहरूका बीचबाट निक्लेर गइहाल, र तिमीहरूले भने बमोजिम यहोवाको सेवा गर।” (प्रस्थान १२:२९-३२) हिब्रूहरू र तिनीहरू सँग विश्वास गर्नेहरूको “एउटा ठूलो मिश्रित-दल” मिश्र छाड़ेर हिड़े पछि, फिरऊनले आफ्नो विचार बदलियो र तिनीहरूको पिछा गर्यो। तब परमेश्वरले चमत्कारी ढङ्गमा आफ्ना मानिसहरूलाई लाल समुद्रबाट उम्कने बाटो खोलिदिनु भयो तर फिरऊन र उसका सारा सेना त्यहाँ मरे।—प्रस्थान १२:३८; १४:५-२८; भजन ७८:५१-५३; १३६:१३-१५.
५ मोशाले इस्राएललाई लाल समुद्रमा एसो भने: “तिमीहरू नडराओ। यहोवाले आज तिमीहरूलाई दिनुहुने उद्धारलाई स्थिर भएर हेर।” पछि तिनीहरूले एसो भन्दै गाए: “यहोवानै मेरो शक्ति र स्तुतिगान हुनुहुन्छ, र उहाँ मेरा उद्धार हुनुभएको छ। उहाँ मेरा परमेश्वर हुनुहुन्छ, म उहाँको स्तुति गर्नेछु।” (प्रस्थान १४:१३; १५:२) हो, दशौं पीड़ा र लाल समुद्रबाट इस्राएलले पाएको छुटकारा एक प्रकारको उद्धार नै थियो। त्यसैकारण भजन संग्रहको लेखकले पनि यहोवा परमेश्वर “पृथ्वीको बीचमा उद्धारको काम गर्नुहुने” परमेश्वर हुनुहुन्छ भनेर व्याखा गरेको पाउँछौं।—भजन संग्रह ६८:६, २०; ७४:१२-१४; ७८:१२, १३, २२.
६, ७. निस्तार चाड़को स्थापना किन भयो तर आज यो उत्सव, प्रथम पटकको उत्सव भन्दा बेग्लै रीति अनुसार किन मनाइन्छ?
६ हिब्रूहरूले उद्धारको समझनामा निस्तार चाड़ मनाउनु परेको थियो। परमेश्वरले एसो भन्नु भयेको थियो: “यो दिन तिमीहरूका निम्ति एउटा स्मरणीय दिन हुनेछ र तिमीहरूले यो दिन यहोवाको निम्ति चाड़ मनाउनेछौ। तिमीहरूले त्यो पुस्तौं सम्म सदाको निम्ति एउटा धार्मिक विधान स्वरूप मान्नू।” (प्रस्थान १२:१४) प्रत्यक सेदर अथवा निस्तारको भोजमा, परिवारको बाबुले आफ्नो परिवारलाई त्यो उद्धारको सम्झना गराउनु पर्थियो। यहोवाले दिनु भएको निर्देशन यो थियो: “तिमीहरूका छोराहरूले यस सेवाको अर्थ के हो भनी सोध्छन्, तब तिमीहरूले भन्नु, ‘यो यहोवाको निस्तार चाड़को बलिदान हो। उहाँ मिश्रमा इस्राएलीहरूको घरहरूबाट भएर जानुभयो, र उहाँले मिश्रीहरूलाई प्रहार गर्नुहुँदा हामीहरूका घर चाहिं उहाँले छोड़ेर उहाँले निस्तार गर्नु भएको थियो।’”—प्रस्थान १२:२५-२७.
७ आज सम्म यहूदीहरूले निस्तारको सेदेर मनाएको कुराले त्यो घटनाको वास्तविकतालाई प्रमाण दिन्छ। तथापि, तिनीहरूका कुनै कुनै चलनहरू चाहिं परमेश्वरले दिनु भएको निर्देशन भन्दा बेग्लै छन्। दी ओरिजिन्स अफ दी सेदेर नाउँको पुस्तकले एसो भन्छ: “निस्तार चाड़ र अखमिरी रोटीको उत्सवबारे बाइबलमा गहिरो छलफल गरिएको छ; तर त्यहाँ दिएका विवरणहरू यी चाड़हरू सँग सम्बन्धित् वर्तमान चलनहरू सँग मिल्दैनन्। उदारणका लागि, बाइबलमा दिएको विधिमा निस्तारको बलिदानको विशेष महत्व भएता पनि, पछि आएका चलनहरूमा यस कुरालाई विशेष महत्व दिएको छैन।” यसको एउटा मुख्य कारण, जानवरहरूको बलिदान चढ़ाउनका लागि, यहूदीहरूको कुनै एउटा मन्दिर छैन।
८. निस्तार उत्सवलाई ध्यान दिने विशेष कारण के हो?
८ परमेश्वरले प्राचीन इस्राएलीहरूलाई अह्राउनु भएका सबै चाड़हरू अध्ययन गर्न मसीहीहरूका लागि लाभदायक हुनेछa तर अहिले चाहिं निस्तार चाड़का केही विशेषताहरूलाई ध्यान दिन उचित हुनेछ। येशू, एक जना यहूदी हुनाकारण, निस्तार चाड़ मान्ने गर्नु हुन्थियो। अन्तिम पटक यो चाड़ मान्नु भए पछि, उहाँले मसीहीहरूले मान्नु पर्ने एक मात्र ईश्वरीय उत्सवको रूपरेखा बताउनु भयो—अर्थात प्रभुको साँझको भोज वा येशूको मृत्युको स्मरणार्थ। यसैकारण, यो मसीही उत्सवको निस्तार चाड़ सँग सम्बन्ध छ।
निस्तारको पाठो भन्दा महान
९, १०. निस्तार चाड़को पाठोको बलि कुन-कुन कुरोमा विशेष अथवा अनुपम थियो?
९ हिब्रू १०:१ मा: ‘व्यवस्था अब आउने कुराहरूको . . . छाया मात्र’ हो भनिएको छ। मेकलिन्टक र स्ट्रंगको साइक्लोपेडिया अफ बिबलिकल, थिओलोजिकल एन्ड एकलिजियास्टीकल लिटरेचरले एसो भन्छ: “व्यवस्थामा भएको कुनै पनि उत्तम कुरा, निस्तार चाड़ भन्दा महत्वपूर्ण हुन सक्तैन।” निस्तार चाड़को पाठो, परमेश्वरले प्रथम जन्मेकाहरूलाई र यस पछि सबै हिब्रूहरूलाई मिश्रबाट बचाउनु भएको एउटा स्मरणार्थको चिन्ह मात्र थिएन। त्यसको एउटा अझ गहिरो अर्थ थियो।
१० त्यो पाठोका धेरै विशेषताहरू थिए। उदाहरणका लागि, मोशाको व्यवस्था अनुसार चढ़ाइनु पर्ने जानवरहरूका धेरै बलिदानहरू एउटै व्यक्तिले, व्यक्तिगत पापहरूको निम्ति चढ़ाउने गरथिए र जानवरहरूका विभिन्न अङ्गहरू वेदीमा जलाइन्थिए। (लेवी ४:२२-३५) यो पाप बलिबाट केही भाग त्यहाँ मदद दिने पुजारी अथवा पुजारीहरूलाई दिने चलन थियो। (लेवी ७:११-३८) तथापि, निस्तार चाड़को पाठो कहिले पनि वेदीमाथि राखिन्दैन थियो र त्यसलाई जहिले पनि मानिसहरूको एक समूह अथवा एउटा परिवारले चढ़ाउने गर्थिए र यिनीहरूले नै त्यसबाट खाने पनि गर्थिए।—प्रस्थान १२:४, ८-११.
११. निस्तार चाड़को पाठो बारे यहोवाको दृष्टिकोण के थियो र यसले के लाई सङ्केत गरिरहेको थियो? (गन्ती ९:१३)
११ यहोवाले निस्तारको पाठोलाई यति ठूलो महत्व दिनु हुन्थियो कि उहाँले त्यसलाई “मेरो बलिदान” भन्नु भयो। विद्वानहरूको भनाइ अनुसार “निस्तारको बलिदान यहोवाको सर्व श्रेष्ठ बलिदान थियो।” यो पाठोले निस्सन्देह येशूको बलिदानलाई सङ्केत गर्दथियो। हामीलाई यो निश्चित् रूपमा थाह छ किनभने प्रेरित पावलले “हाम्रो निस्तार चाड़को बलिदान भइसकेको छ जो ख्रीष्ट हुनु हुन्छ” भने। (१ कोरिन्थी ५:७) येशूको परिचय “परमेश्वरको थुमा” र “मारिएका थुमा” भनेर गरिएको छ।—यूहन्ना १:२९; प्रकाश ५:१२; प्रेरित ८:३२.
जीवन बचाउन सक्ने रगत
१२. थुमाको रगतले प्रथम निस्तारको उत्सवमा के भूमिका निभाएको थियो?
१२ मिश्रमा हुँदा, पाठोको रगत सँग उद्धार पाउने कुरा निर्णायक थियो। यहोवाले प्रथम जन्मेकाहरूलाई मार्नु हुँदा, ढोकाको खामामा रगत भएका घरहरूलाई छाड़ि दिनु भयो। साथै, आ-आफ्नो घरका प्रथम जन्मेकाहरूको मृत्युका लागि हिब्रूहरूले शोक मनाउन न परेको हुनाले, तिनीहरू लाल समुद्रको बीचबाट स्वतन्त्रता तर्फ अघि लम्कन सके।
१३, १४. येशूको रगतले कसरी जीवन बचाउन सक्छ र उद्धारको निम्ति किन आवश्यक छ? (एफिसी १:१३)
१३ आज पनि उद्धार सँग रगतको सम्बन्ध छ—येशूले बगाउनु भएको रगत। ई. स. ३२ मा, “यहूदीहरूको चाड़ अर्थात् निस्तार चाड़ नजीक” आइ पुगेको बेलामा, येशूले एउटा ठूलो भीड़लाई एसो भन्नु भयो: “मेरो देह खाने र मेरो रगत पिउनेलाई अनन्त जीवन हुन्छ, औ म त्यसलाई पछिल्लो दिनमा बिउँताउनेछु, किनभने मेरो देह साँच्चिकै खानेकुरो हो औ मेरो रगत साँच्चिकै पिउने कुरा हो।” (यूहन्ना ६:४, ५४, ५५) उहाँका जम्मै यहूदी स्रोताहरूले अवश्य पनि नजीक आइ पुगेको निस्तार चाड़ र मिश्रमा थुमाको रगतको प्रयोग भएको कुरा सम्झिरहेका थिए।
१४ येशूले यहाँ प्रभुको साँझको भोजमा प्रयोग हुने चिन्हहरूको विषयमा कुरा गर्नु भएको थिएन। मसीहीहरूका लागि त्यो नया उत्सव प्राय एक वर्ष पछि मात्र स्थापित भयो र यस विषयमा, ई. स. ३२ सालमा उहाँका कुरा सुन्ने प्रेरितहरूलाई पनि केही थाह थिएन। तापनि, येशूले उहाँको रगत उद्धार पाउनका लागि अनिवार्य छ भनेर देखाउँनु हुँदै थियो। यस विषयमा प्रेरित पावलले एसो भने: “जसमा हामीलाई उहाँको रगतबाट उद्धार, अर्थात उहाँको अनुग्रहको धनअनुसार अपराधहरूको क्षमा हुन्छ।” (एफिसी १:७) येशूको रगतको आधारमा पाएको क्षमा द्वारा मात्र हामी सधैंका लागि बाँच्न सक्ने छौं।
कुन उद्धार र कहाँ?
१५. मिश्रमा भएका हिब्रूहरूका लागि कुन प्रकारको उद्धार र अधिकारहरू पाउन सम्भव भयो र के चाहिं सम्भव भएन? (१ कोरिन्थी १०:१-५)
१५ प्राचीन मिश्रमा, सीमित उद्धार मात्र उपलव्ध थियो। मिश्र छाड़ेर आउने कसैले पनि त्यो प्रस्थान पछि अनन्त जीवन पाउने प्रतीक्षा गरेको थिएन। हो, परमेश्वरले लेवीहरूलाई राष्ट्रका लागि पुजारी हुन र यहूदाका घरानाका कुनै कुनैलाई चाहिं पार्थिव राजाहरू हुन नियुक्त गर्नुभयो तर यिनीहरू जम्मै केही समय पछि मरी हाल्ने थिए। (प्रेरित २:२९; हिब्रू ७:११, २३, २७) यस प्रकारका विशेष अधिकारहरूमा भाग लिन न पाएता पनि, मिश्र छाड़ेर आएका त्यो “ठूलो मिश्रित दलले” हिब्रूहरू सँग सँगै प्रतिज्ञाको देश प्रवेश गर्ने र परमेश्वरको उपासना गर्दै एउटा साधारण जीवन व्यतित गर्ने आशा गर्न सकथिए। अझ येशू पूर्वका यहोवाका उपासकहरूले पनि मानिसहरूका लागि परमेश्वरको उद्देश्य अनुसार, समयमा यही पृथ्वी मै अनन्त जीवन पाउने आशा गर्ने आधार थियो। यो आशा यूहन्ना ६:५४ को अनुसार हुनु थियो।
१६. परमेश्वरका प्राचीन सेवकहरूले कुन प्रकारको उद्धारका लागि आशा राख्न सके?
१६ यो पृथ्वी आबाद पार्नका लागि सृजिएको हो र यसमा धर्मात्माहरू सदाका लागि बास गर्ने छन् भन्ने उत्साहवर्धक शब्दहरू लेख्न, परमेश्वरले आफ्ना केही प्राचीन सेवकहरूको प्रयोग गर्नु भयो। (भजन संग्रह ३७:९-११; हितोपदेश २:२१-२२; यशैया ४५:१८) तर साँचो उपासकहरूले यस प्रकारको उद्धार आफू मरी सके पछि कसरी अनुभव गर्न सकथिए? यसका लागि परमेश्वरले तिनीहरूलाई यस पृथ्वीमा पुनः जीवित पार्नु हुने थियो। उदाहरणका लागि, यसरी परमेश्वरले तिनको सम्झना गरेर तिनलाई पुनः जीवित पारून् भन्ने आशा अय्यूबले गरे। (अय्यूब १४:१३-१५; दानियल १२:१३) स्पष्टतया, एक प्रकारको उद्धार चाहिं यही पृथ्वीमा अनन्त जीवन पाउनु हो।—मत्ती ११:११.
१७. अरूहरूले कुन बेग्लै प्रकारको उद्धार पाउनेछन भनेर बाइबलले देखाउँदछ?
१७ तर बाइबलमा स्वर्गीय जीवन पाउने उद्धारको पनि चर्चा गरिएको छ। “उहाँ स्वर्गमा गएर परमेश्वरको दाहिने बाहुली तर्फ हुनु हुन्छ। स्वर्गदूतहरू, अख्तियारहरू र शक्तिहरू उहाँकै अधीनमा राखिएका छन्।” (१ पत्रुस ३:१८, २२; एफिसी १:२०-२२; हिब्रू ९:२४) तर स्वर्गमा लगिने येशू मात्र एक जना मानिस हुनु हुने छैन। परमेश्वरले यस पृथ्वीबाट एउटा सानो सङ्ख्याका अरूहरूलाई पनि लैजाने फैसला गर्नु भएको छ। येशूले आफ्ना प्रेरितहरूलाई भन्नु भयो: “मेरा पिताको घरमा धेरै बस्ने ठाउँहरू छन्। . . . म तिमीहरूका निम्ति ठाउँ तयार पार्न जान्छु। औ यदि मैले गएर तिमीहरूका निम्ति ठाउँ तयार पारें भने म फेरि आउँछु, र तिमीहरूलाई म कहाँ लैजानेछु, र जहाँ म छु, त्यहाँ तिमीहरू पनि हुनेछौ।”—यूहन्ना १४:२, ३.
१८. स्वर्गीय जीवन पाउने उद्धार तिर हामीले ध्यान दिने के कारण छ?
१८ येशू सँग स्वर्गीय जीवन पाउने उद्धार, प्रथम निस्तारको सीमित उद्धार भन्दा धेरै नै महान छ। (२ तिमोथी २:१०) पछिल्लो उचित् सेदेर अथवा निस्तारको भोजमा, येशूले आफ्ना चेलाहरूका लागि नया उत्सवको स्थापना गर्नु भयो जुन उत्सव स्वर्गीय जीवन पाउने मुक्ति सँग सम्बन्धित थियो। उहाँले आफ्ना अनुयायीहरूलाई एसो भन्नु भयो: “मेरो सम्झनामा यो गर्नेगर।” (लूका २२:१९) मसीहीहरूले यो उत्सव कसरी मान्नु पर्छ भन्ने कुरामा ध्यान दिनु अघि, यो उत्सव कहिले मान्नु पर्छमा ध्यान दिउँ।
एउटा “तोकिएको समय”
१९. निस्तार चाड़ र प्रभुको साँझको भोज किन सम्बन्धित छन्?
१९ येशूले एसो भन्नु भएको थियो: “मैले दुःख भोग्न अघि नै यो निस्तार-चाड़ तिमीहरू सित मनाउने ठूलो इच्छा गरेथें।” (लूका २२:१५) यस पछि, उहाँले प्रभुको साँझको भोज मनाउनु भयो र उहाँका चेलाहरूले पनि उहाँको मृत्युको स्मरणार्थमा यही गर्नु परेको थियो। (लूका २२:१९, २०) निस्तार चाड़ सालमा एक पटक मनाइन थियो। यसकारण प्रभुको साँझको भोज पनि सालमा एक पटक मनाइनु उचित हो। तर कहिले? बसन्त ऋतुमा पर्ने निस्तार चाड़कै दिन मुनासिब हुनेछ। यसको अर्थ, येशू शुक्रवारको दिनु मर्नु भयो भनेर, प्रत्यक सालको शुक्रवारलाई महत्व दिनुको सट्टा, निसान महिनाको १४ तारीख (यहूदी तिथि-पत्र अनुसार) जुन दिन पर्छ, त्यही नै दिन ठीक हुनेछ।
२०. यहोवाका साक्षीहरूले निसान १४ मा किन चासो लिन्छन्?
२० यसकारण, निसान १४ को दिन नै मनमा राखेर, पावलले यस प्रकार लेखेको हुनु पर्छ: “किनभने जहिले जहिले तिमीहरू यो रोटी खान्छौ र कचौराबाट पिउँछौ, उहाँ नआउञ्जेल तिमीहरू प्रभुको मृत्युको प्रचार गर्दछौ।” (१ कोरिन्थी ११:२६) यस पछि, दुई शताब्दि सम्म, धेरै मसीहीहरूले निसान १४ तारीखलाई नै महत्व दिने गरे र तिनीहरूलाई क्वर्टोडेसिमन भनेर सम्बोधन गरिन्थियो किनभने लेटिन भाषामा त्यसको अर्थ १४ वाँ हो। यस विषयमा मेकलिनटक र स्ट्रंगले यो विवरण दिएका छन्: “एशिया माइनरका गिर्जाहरूले प्रभुको मृत्युको दिनको स्मरर्णाथ निसान महिनाको १४ वाँ तारीख सँग मिल्ने दिनमा मनाउने गर्थिए किनभने त्यसै दिनमा, सम्पूर्ण प्राचीन गिर्जाहरूको विचार अनुसार, ख्रीष्टको मृत्यु भएको थियो।” आज यहोवाका साक्षीहरूले प्रत्यक साल, निसान महिनाको १४ तारीख जुन दिन पर्छ, त्यही दिन, प्रभुको साँझको भोज मनाउने गर्छन्। तर कुनै बेला यो तारीख आज यहूदीहरूले तिनीहरूको निस्तार चाड़ मान्ने दिन भन्दा बेग्लै हुन जान्छ। किन?
२१. निस्तारको पाठोलाई कहिले बलि चढ़ाउनु परेको थियो तर आजका यहूदीहरूले के गर्छन्?
२१ हिब्रूहरूको एक दिन, सूर्यास्त देखिन् शुरू भएर (करीब बेलुकी ६ बजे) अर्को दिनको सूर्यास्तमा समाप्त हुन्थियो। परमेश्वरले निस्तार चाड़को पाठोलाई “दुई साँझको बीचमा” मार्नु भनेर आदेश दिनु भएको थियो। (प्रस्थान १२:६) त्यो कहिले पर्छ? कुनै-कुनै यहूदी विधिज्ञहरूको विचारमा निसान १४ को अन्त तिर, अर्थात सूर्यास्त हुनु भन्दा तीन घण्टा अघि, पाठो मार्नु पर्छ र धेरै आधुनिक यहूदीहरूले यो विचारलाई अपनाएका छन्। फलःस्वरूप, तिनीहरूले सूर्यास्त भइ सके पछि मात्र सेदेर मनाउछन् र त्यति बेला निसान १५ शुरू भइसकेको हुन्छ।—मर्कूस १:३२.
२२. यहूदीहरूले तिनीहरूको निस्तार चाड़ मनाउने तारीख र स्मरणार्थको तारीखमा भिन्नता हुने एउटा कारण के हो? (मर्कूस १४:१७; यूहन्ना १३:३०)
२२ तर यस कुरालाई बेग्लै ढ़ङ्गले बुझ्ने हामी सँग मुनासिब कारण छ। व्यवस्थाविवरणमा, इस्राएलीहरूलाई स्पष्ट सँग “सूर्यास्तमा, . . . निस्तार चाड़को बलि चढ़ाउनु” भनेर आदेश दिइएको पाइन्छ। (यहूदी तानाख अनुवाद) यसकारण “दुई साँझको बीच” भन्नुको अर्थ सूर्यास्तको बेला हुनु पर्छ अर्थात (निसान १४ शुरू हुने) सूर्यास्त देखिन् अन्धकार हुने बेला सम्म। प्राचीन करैतेb र यहूदीहरूले यसरी नै बुझेका थिए र आधुनिक सामरीहरूलेc पनि यो कुरा यस्तैगरी बुझेका छन्। निस्तार पाठोलाई, निसान १५ मा होइन तर निसान १४ मा, “तोकिएको समयमा” बलि चढ़ाइन् थियो र खाइन् थियो भनेर हामीले पनि स्वीकारेको हुनाले, यहूदीहरूले तोकेको दिन र हामीहरूले स्मरणार्थ मनाउने दिनमा कहिले काहिं भिन्नता हुने एउटा कारण यो हो।—गन्ती ९:२-५.
२३. हिब्रू तिथि-पत्रमा महिनाहरू किन थपिन्छन् र आधुनिक यहूदीहरूले यो कसरी गर्ने गर्छन्?
२३ यहूदीहरूले तोकेको दिन र हाम्रो तारीखमा हुने भिन्नताको एउटा अर्को कारण यो पनि हो: तिनीहरूले एउटा पूर्व-निश्चित तिथि-पत्र प्रयोग गर्छन् र एसो गर्ने चलन चौथो शताब्दि देखिन् मात्र शुरू भएको हो। यस प्रकारको तिथिपत्र प्रयोग गर्दै, तिनीहरूले शताब्दियौं अघि निसान १ अथवा अन्य चाड़हरूको दिन तोक्न सक्छन्। साथै, तिथि-पत्रलाई ऋतुहरू सँग मेल गराउनका लागि, प्राचीन चान्द्र-सालमा कहिले काहिं एउटा १३ वाँ महिना थप्नु आवश्यक हुन्थियो। वर्तमान यहूदी तिथि-पत्रले यो महिनालाई तोकिएको ठाउँहरूमा थप्ने गर्छ; प्रत्यक १९ वर्षको क्रममा यो १३ वाँ महिना ३, ६, ८, ११, १४, १७ र १९ वाँ वर्षमा थपिन्छ।
२४, २५. (क) येशूको समयमा महिनाहरूको गन्ती कसरी हुन् थियो र थप्नु पर्ने महिनाहरू कसरी थपिन् थियो? (ख) यहोवाका साक्षीहरूले प्रभुको साँझको भोजको मिति कसरी तोक्छन्?
२४ तथापि, एमिल शुरर अनुसार, “येशूको पालोमा, यहूदीहरूको कुनै पूर्व-निश्चित तिथि-पत्र थिएन। तर व्यवहारिक रूपमा निरूपण गर्दै, तिनीहरूले प्रत्यक अमावस्याबाट नया महिना शुरू गर्थिए र त्यस्तै निरूपणको आधारमा” आवश्यकता अनुसार एउटा महिना थपी दिन्थिए। “निस्तार चाड़, बसन्तको विषुव (मार्च २१) भन्दा अघि पर्ने भएको खण्डमा, निसान महिनाको अघि एउटा महिना थपिन् थियो।” (दी हिस्टरी अफ दी जुवीश पिपल इन दी एज अफ जिसस क्राइस्ट, वल्युम १) यस प्रकार, थपिएको महिना कसैको आफू खुशीले होइन तर प्राकृतिक हिसाबले थपिन् थियो।
२५ यहोवाका साक्षीहरूको सञ्चालक समितिले प्रभुको साँझको भोजको तारीख प्राचीन विधि अनुसार तोक्नेगर्छन्। बसन्त-विषुवको सबै भन्दा नजीक पर्ने अमावस्या यरूशलेमबाट देखापर्ने समयलाई निसान महिनाको १ तारीख गनिन्छ। त्यस दिन देखिन् १४ दिन गनेर ल्याउँदा, निसान १४ तारीख पर्छ र यो अकसर पूर्णिमाको दिन हुन्छ। (जून १५, १९७७ को वाचटावरमा पाना ३८३-४ हेर्नुहोस्.) बाइबलको यसै प्रणालीको आधारमा, संसार भरिका यहोवाका साक्षीहरूलाई, स्मरणार्थको दिन यो साल मार्च ३० तारीख हुनेछ भनेर खबर दिइएको छ।
२६. प्रभुको साँझको भोजको अरू के विशेषताहरूलाई ध्यान दिन आवश्यक छ?
२६ यो दिन, अथवा येशूले आखिरी जायज निस्तार मनाउनु भएको निसान १४को दिन सँग मिल्दछ। तथापि, यहूदी सेदेरले सम्झना गरेको उद्धार भन्दा धेरै नै महान उद्धारको बोध येशूको मृत्युको स्मरणार्थले गर्दछ। प्रभुको साँझको भोजमा हुने घटनाहरूको अर्थ र ती सँग हाम्रो उद्धारको के सम्बन्ध छ भन्ने कुरालाई हामी सबैले राम्रो सँग बुझ्नु आवश्यक छ। (w90 2/15)
[फुटनोटहरू]
a दी वाचटावर, फरवरी १५, १९८०, पाना ८-२४ हेर्नुहोस्.
b मेकलिनटोक र स्ट्रोंग अनुसार यिनीहरू “सबै भन्दा पुरानो र विशिष्ट यहूदी मतहरू मध्यका हुन् जसले लिखित व्यवस्थाको अक्षरसः पालन गर्नमा महत्व दिन्छन्।”
c “तिनीहरूले पाठोलाई साँझमा मार्छन् . . . आधा रातमा प्रत्यक परिवारले त्यसको मासु खान्छन् . . . र बाँकी रहेको मासु र हाडलाई बिहान हुनु भन्दा अघिनै जलाउँछन् . . . कुनै-कुनै विद्वानहरूको राय अनुसार, यहूदी विधिज्ञहरूले गरेका संशोधनहरू भन्दा पहिलेको यहूदी धर्म र आजको सामरी धर्म धेरै नै मिल्दो जुल्दो छ।”—दी अरिजिन्स अफ दी सेदेर.
तपाईंले कसरी उत्तर दिनु हुनेछ?
◻ निस्तार चाड़ उद्धार सँग किन सम्बन्धित छ?
◻ निस्तारको पाठोले भन्दा येशूको बलिदानले धेरै महान कार्य कसरी सम्पन्न गर्न सक्छ?
◻ येशू द्वारा कुन प्रकारको उद्धार उपलव्ध हुन सक्दछ?
◻ यहोवाका साक्षीहरूले प्रभुको साँझको भोजका लागि ठीक समय कसरी स्थापित गर्दछन्?