प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ख्रिष्टियनहरूले रक्सीप्रति कस्तो दृष्टिकोण राख्नुपर्छ?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
    • ख्रिष्टियनहरूले रक्सीप्रति कस्तो दृष्टिकोण राख्नुपर्छ?

      रक्सीप्रति संसारभरिका मानिसहरूको भिन्‍नाभिन्‍नै धारणा छ। कसै-कसैलाई आफ्ना साथीहरूसित कहिलेकाहीँ रक्सी पिउन रमाइलो लाग्छ। कतिपयले भने रक्सी पटक्कै नपिउने निर्णय गर्छन्‌। अरू कोही भने मात्तिने गरी पिउँछन्‌। बाइबलले रक्सीप्रति कस्तो दृष्टिकोण राख्छ?

      १. के रक्सी पिउनु गलत हो?

      बाइबलले रक्सी पिउनु गलत हो भनेर बताउँदैन। बरु ‘मद्यले मानिसको हृदयलाई प्रसन्‍न पार्छ’ भनेर बाइबलमा बताइएको छ र यो परमेश्‍वरले हामीलाई दिनुभएका थुप्रै उपहारमध्ये एक हो। (भजन १०४:१४, १५) केही वफादार पुरुष तथा स्त्रीले रक्सी पिएको विवरण बाइबलमा पाइन्छ।—१ तिमोथि ५:२३.

      २. बाइबलले रक्सी पिउने निर्णय गर्नेहरूलाई कस्तो सल्लाह दिन्छ?

      रक्सी पिएर मात्तिएको जस्तो नदेखिए तापनि अत्यधिक मद्यपान गर्नुलाई यहोवा गलत ठान्‍नुहुन्छ। (गलाती ५:२१) उहाँको वचनले भन्छ: “रक्सी धेरै पिउने मानिसहरूको सङ्‌गत नगर।” (हितोपदेश २३:२०) त्यसैले यदि हामी रक्सी पिउने निर्णय गर्छौँ भने राम्ररी सोचविचारै गर्न नसक्ने, आफ्नो बोली र व्यवहारलाई काबूमा राख्न नसक्ने वा स्वास्थ्यमा हानि पुग्ने हदसम्म धेरै रक्सी पिउनु हुँदैन। यो कुरा चाहे हामी एक्लै पिउँदा होस्‌ या अरूसित, दुवै अवस्थामा लागू हुन्छ। यदि हामी रक्सी पिउने सन्दर्भमा सीमा तोक्न सक्दैनौँ भने पिउँदै नपिउने निर्णय गर्न तयार हुनुपर्छ।

      ३. रक्सी पिउने सन्दर्भमा अरूको निर्णयको हामी कसरी कदर गर्न सक्छौँ?

      रक्सी पिउने कि नपिउने भनेर प्रत्येकले आफै निर्णय गर्नुपर्छ। यदि कसैले ठिक्क मात्रामा रक्सी पिउने छनौट गर्छन्‌ भने हामीले तिनको आलोचना गर्नु हुँदैन। त्यसैगरि कोही रक्सी पिउन चाहँदैनन्‌ भने हामीले तिनलाई कर गर्नु हुँदैन। (रोमी १४:१०) हामीले रक्सी पिउँदा अरूलाई नकारात्मक असर पर्छ भने हामी रक्सी नपिउने छनौट गर्छौँ। (रोमी १४:२१ पढ्‌नुहोस्‌।) हामी “आफ्नो होइन तर अर्को मानिसको फाइदा” खोज्छौँ।—१ कोरिन्थी १०:२३, २४ पढ्‌नुहोस्‌।

      अझ खोतल्नुहोस्‌

      रक्सी पिउने कि नपिउने अनि पिउने हो भने कति पिउने भनेर निर्णय गर्न मदत दिने बाइबल सिद्धान्तहरू विचार गर्नुहोस्‌। साथै तपाईँलाई रक्सीको लत लागेको छ भने के गर्न सक्नुहुन्छ, बुझ्नुहोस्‌।

      ४. रक्सी पिउने कि नपिउने भनेर निर्णय गर्नुहोस्‌

      येसुले रक्सी पिउनुलाई कस्तो दृष्टिकोणले हेर्नुभयो? यसको जवाफ पाउन उहाँले गर्नुभएको पहिलो चमत्कार विचार गर्नुहोस्‌। युहन्‍ना २:१-११ पढ्‌नुहोस्‌ अनि यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

      • यस चमत्कारबाट रक्सी र रक्सी पिउनेहरूप्रति येसुको दृष्टिकोणबारे हामी के सिक्न सक्छौँ?

      • येसुले रक्सी पिउनु गलत हो भन्‍नुभएन। त्यसैले रक्सी पिउन छनौट गर्ने व्यक्‍तिप्रति ख्रिष्टियनले कस्तो दृष्टिकोण राख्नुपर्छ?

      हुनत ख्रिष्टियनहरू रक्सी पिउने निर्णय गर्न स्वतन्त्र छन्‌ तैपनि कुनै-कुनै अवस्थामा रक्सी नपिउने निर्णय गर्नु नै बुद्धिमानी हुन्छ। हितोपदेश २२:३ पढ्‌नुहोस्‌। त्यसपछि तल दिइएका अवस्थाहरूले तपाईँको निर्णयमा कस्तो असर पार्न सक्छ, विचार गर्नुहोस्‌:

      • तपाईँ सवारीसाधन वा कुनै मेसिन चलाउन लाग्नुभएको छ।

      • तपाईँ गर्भवती हुनुहुन्छ।

      • डाक्टरले तपाईँलाई रक्सी नपिउन सल्लाह दिएका छन्‌।

      • तपाईँ कति रक्सी पिउने भनेर आफूलाई नियन्त्रणमा राख्न सक्नुहुन्‍न।

      • कानुनले तपाईँलाई रक्सी पिउन निषेध गरेको छ।

      • तपाईँसँगै भएको व्यक्‍तिले रक्सी नपिउने निर्णय गरेका छन्‌ किनभने विगतमा तिनले धेरै रक्सी पिउने समस्यासित सङ्‌घर्ष गरेका थिए।

      कुनै विवाह भोज वा सामाजिक जमघटमा रक्सी राख्ने कि नराख्ने भनेर निर्णय गर्नुपर्दा तपाईँ के गर्न सक्नुहुन्छ? यस सन्दर्भमा मदतको लागि भिडियो हेर्नुहोस्‌।

      भिडियो: जमघट आयोजना गर्दा रक्सी राखूँ कि नराखूँ? (२:४१)

      रोमी १३:१३ र १ कोरिन्थी १०:३१, ३२ पढ्‌नुहोस्‌। प्रत्येक बाइबल पद पढेपछि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

      • यो सिद्धान्त लागू गर्दा तपाईँ कसरी यहोवालाई खुसी बनाउने निर्णय गर्न सक्नुहुन्छ?

      एक जना भाइ रेस्टुराँमा वाइन लिन इन्कार गर्छन्‌। तिनीसँगै खाना खाइरहेका दुई जना बहिनी वाइन पिउँदै छन्‌।

      रक्सी पिउने कि नपिउने भनेर प्रत्येक ख्रिष्टियनले आफै निर्णय गर्नुपर्छ। तिनले कहिलेकाहीँ रक्सी पिए पनि अरू बेलाचाहिँ नपिउने छनौट गर्न सक्छन्‌

      ५. कति पिउने भनेर निर्णय गर्नुहोस्‌

      यदि तपाईँले रक्सी पिउने निर्णय गर्नुहुन्छ भने यो कुरा याद राख्नुहोस्‌: यहोवा रक्सी पिउनुलाई गलत ठान्‍नुहुन्‍न तर धेरै रक्सी पिउनुलाई चाहिँ गलत ठान्‍नुहुन्छ। किन? होसे ४:११, १८ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

      • धेरै रक्सी पिउँदा के हुन सक्छ?

      धेरै रक्सी नपिउन हामीलाई कुन कुराले मदत गर्न सक्छ? हामी मर्यादामा रहनुपर्छ अर्थात्‌ आफ्नो सीमितता बुझ्नुपर्छ। हितोपदेश ११:२ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

      • कति रक्सी पिउने भनेर तपाईँले स्पष्ट सीमा तोक्नु किन बुद्धिमानी हो?

      ६. रक्सीको लत त्याग्नुहोस्‌

      एक जना पुरुषलाई रक्सीको लत त्याग्न कुन कुराले मदत गऱ्‍यो, थाह पाउनुहोस्‌। भिडियो हेर्नुहोस्‌ अनि तल दिइएका प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

      भिडियो: ‘आफ्नो जीवनदेखि म वाक्कै भइसकेको थिएँ’ (६:३२)

      चित्रहरूको सँगालो: ‘आफ्नो जीवनदेखि म वाक्कै भइसकेको थिएँ’ भिडियोका दृश्‍यहरू। १. डिमीट्री रक्सीको बोतल हेर्छन्‌। २. डिमीट्री, तिनकी पत्नी र छोरी बाइबल अध्ययन गर्छन्‌।
      • भिडियोमा देखाइएका डिमीट्रिले रक्सी पिएपछि कस्तो व्यवहार गर्थे?

      • के तिनले रक्सी पिउन चटक्कै छोड्‌न सके?

      • पछि तिनले कसरी रक्सीको लत त्याग्न सके?

      पहिलो कोरिन्थी ६:१०, ११ पढ्‌नुहोस्‌ अनि यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

      • अत्यधिक मद्यपानबारे बाइबलले के भन्छ?

      • रक्सीको लत लागेको व्यक्‍ति परिवर्तन हुन सक्छ भनेर हामी किन भन्‍न सक्छौँ?

      मत्ति ५:३० पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

      • एउटा हात काटेर फाल्नु भन्‍ने उदाहरणले यहोवालाई खुसी पार्न कुनै कुरा त्याग्नुपर्ने हुन सक्छ भनेर बुझाउँछ। यदि तपाईँ रक्सीको लत त्याग्न सङ्‌घर्ष गर्दै हुनुहुन्छ भने के गर्न सक्नुहुन्छ?a

      पहिलो कोरिन्थी १५:३३ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

      • धेरै रक्सी पिउने व्यक्‍तिहरूसित सङ्‌गत गर्दा त्यसले तपाईँमा कस्तो असर पार्न सक्छ?

      कसै-कसैले सोध्लान्‌: “के रक्सी पिउनु गलत हो?”

      • तपाईँ कस्तो जवाफ दिनुहुन्छ?

      सारांश

      यहोवाले हाम्रो आनन्दको लागि दिनुभएको एउटा उपहार रक्सी हो। तर रक्सी पिएर मात्तिएको जस्तो नदेखिए तापनि अत्यधिक मद्यपान गर्नुलाई यहोवा गलत ठान्‍नुहुन्छ।

      तपाईँले के सिक्नुभयो?

      • बाइबलले रक्सीप्रति कस्तो दृष्टिकोण राख्छ?

      • धेरै रक्सी पिउँदा कस्ता खतरा हुन्छन्‌?

      • रक्सी पिउने सन्दर्भमा अरूको निर्णयको हामी कसरी कदर गर्न सक्छौँ?

      लक्ष्य

      अझ धेरै जान्‍नुहोस्‌

      रक्सी पिउने सन्दर्भमा किशोरकिशोरीले कसरी सही निर्णय गर्न सक्छन्‌?

      रक्सी पिउनुअघि सोच्नुहोस्‌ (२:३१)

      रक्सीको लत त्याग्न तपाईँ कस्ता कदम चाल्न सक्नुहुन्छ, थाह पाउनुहोस्‌।

      “रक्सीलाई त्यसकै ठाउँमा राख्नुहोस्‌” (प्रहरीधरहरा, फेब्रुअरी १, २०१०)

      के ख्रिष्टियनहरूले चियर्स गर्नु उचित हो?

      “पाठकहरूका प्रश्‍नहरू” (प्रहरीधरहरा, फेब्रुअरी १५, २००७)

      एक जना पुरुषले कसरी धेरै रक्सी पिउन छोडे भनेर थाह पाउन “म कहिल्यै नभरिने घ्याम्पो थिएँ” जीवनी पढ्‌नुहोस्‌।

      “बाइबलले जीवनलाई नयाँ मोड दिन्छ” (प्रहरीधरहरा, मे १, २०१२)

      a रक्सीको लतमा फसेकाहरूलाई त्यस्तो लत त्याग्न डाक्टरको मदत चाहिन सक्छ। धेरैजसो डाक्टरले विगतमा रक्सीको लत त्याग्न सङ्‌घर्ष गरेकाहरूलाई रक्सी पटक्कै नपिउन सल्लाह दिन्छन्‌।

  • हामीले आफ्नो पहिरन र रूपरङ्‌गमा किन ध्यान दिनुपर्छ?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
    • पाठ ५२. एउटी स्त्री कुन लुगा किन्‍ने भनेर निर्णय गर्छिन्‌।

      पाठ ५२

      हामीले आफ्नो पहिरन र रूपरङ्‌गमा किन ध्यान दिनुपर्छ?

      कस्तो लुगा लगाउने र कोरीबाटी गर्ने भन्‍ने विषयमा हामी सबैको आ-आफ्नै रुचि छ। हामीले बाइबलका केही आधारभूत सिद्धान्त पालन गऱ्‍यौँ भने आफ्नो रुचिको पहिरन लगाउनुका साथै यहोवालाई पनि खुसी बनाउन सक्छौँ।

      १. हामीले पहिरन र कोरीबाटी छान्दा कस्ता सिद्धान्त विचार गर्नुपर्छ?

      हामीले “शालीनतासाथ र सुझबुझ चलाउँदै भद्र पहिरन” छान्‍नुपर्छ र आफ्नो रूपरङ्‌ग सफा राख्नुपर्छ। यसो गऱ्‍यौँ भने हामी “परमेश्‍वरको भक्‍ति” गर्छौँ भनेर अरूले देख्नेछन्‌। (१ तिमोथि २:९, १०) यी चार वटा सिद्धान्त विचार गर्नुहोस्‌: (१) हाम्रो पहिरन “भद्र” हुनुपर्छ। तपाईँले मण्डलीका सभाहरूमा यहोवाका सेवकहरूको रुचि फरकफरक छन्‌ भन्‍ने कुरा देख्नुभएको होला। तर हाम्रो पहिरन र कोरीबाटीबाट हामी उहाँको आदर गर्छौँ भनेर देखिन्छ। (२) “शालीन” पहिरन भनेको अरूमा यौन उत्तेजना नजगाउने र आफूतर्फ बढ्‌तै ध्यान नखिच्ने रूपरङ्‌ग हो। (३) हामी पहिरन र कोरीबाटीको सन्दर्भमा “सुझबुझ” चलाउँछौँ भने हरेक स्टाइल वा फेसनको पछि लाग्दैनौँ। (४) हाम्रो रूपरङ्‌गबाट हामी “परमेश्‍वरको भक्‍ति” गर्छौँ अर्थात्‌ साँचो परमेश्‍वर यहोवाको उपासना गर्छौँ भनेर सधैँ प्रस्टै देखिनुपर्छ।—१ कोरिन्थी १०:३१.

      २. हाम्रो रूपरङ्‌गले सङ्‌गी उपासकहरूमा कस्तो असर पार्न सक्छ?

      हुनत हामीसित कस्तो लुगा लगाउने भनेर छनौट गर्ने स्वतन्त्रता छ तर हाम्रो रूपरङ्‌गले अरूमा कस्तो असर पार्न सक्छ भनेर विचार पुऱ्‍याउनुपर्छ। हामी कसैलाई पनि ठेस नपुऱ्‍याउन सक्दो कोसिस गर्छौँ। बरु ‘आफ्नो छिमेकीको उत्थान हुने राम्रो काम गरेर उसलाई खुसी पार्न’ हरप्रयास गर्छौँ।—रोमी १५:१, २ पढ्‌नुहोस्‌।

      ३. हाम्रो रूपरङ्‌गले कसरी अरूलाई साँचो उपासनातर्फ आकर्षित गर्न सक्छ?

      हुनत हामी सधैँ भद्र पहिरन लगाउन कोसिस गर्छौँ तर मण्डलीका सभाहरूमा उपस्थित हुँदा र सुसमाचार सुनाउने काममा भाग लिँदा आफ्नो पहिरनमा विशेष ध्यान दिन्छौँ। हाम्रो पहिरनले गर्दा हामीले सुनाउने महत्त्वपूर्ण सन्देशदेखि मानिसहरूको ध्यान खलबलिएको चाहँदैनौँ। बरु हाम्रो रूपरङ्‌गले गर्दा मानिसहरू सत्यतर्फ आकर्षित भएको र यसले “हाम्रा उद्धारक, परमेश्‍वरको शिक्षाको शोभा” बढाएको चाहन्छौँ।—तितस २:१०.

      अझ खोतल्नुहोस्‌

      हाम्रो पहिरन र रूपरङ्‌ग ख्रिष्टियनहरूको लागि उपयुक्‍त छ कि छैन भनेर कसरी पक्का गर्न सक्छौँ, बुझ्नुहोस्‌।

      दुई जना पुरुष न्यायाधीशसामु उभिरहेका छन्‌। एक जना मानिसले सुट लगाएका छन्‌। अर्कोले चाहिँ च्यातिएको र अति नै अनौपचारिक देखिने लुगा अनि क्याप लगाएका छन्‌।

      हाम्रो रूपरङ्‌गबाट हामी अख्तियारवालाहरूको आदर गर्छौँ कि गर्दैनौँ भनेर देखिन सक्छ। यहोवाले हाम्रो हृदयको कुरा देख्न सक्नुहुने भए तापनि हामीले आफ्नो रूपरङ्‌गबाट उहाँको आदर गरेको देखाउनुपर्छ

      ४. सफा र चिटिक्क रूपरङ्‌गले यहोवाप्रतिको आदर झल्काउँछ

      हाम्रो रूपरङ्‌गमा ध्यान दिनुपर्ने सबैभन्दा महत्त्वपूर्ण कारण के हो? भजन ४७:२ पढ्‌नुहोस्‌ अनि यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

      • हामी यहोवाको नामद्वारा चिनिने भएकोले पहिरन छान्‍ने सन्दर्भमा कस्तो निर्णय गर्नुपर्छ?

      • के तपाईँलाई मण्डलीका सभाहरूमा उपस्थित हुँदा र सुसमाचार सुनाउने काममा भाग लिँदा हामीले आफ्नो रूपरङ्‌गलाई ध्यान दिनुपर्छ जस्तो लाग्छ? तपाईँलाई किन त्यस्तो लाग्छ?

      ५. पहिरन र कोरीबाटीको सन्दर्भमा सही छनौट गर्नुहोस्‌

      भिडियो हेर्नुहोस्‌।

      भिडियो: “सबै थोक परमेश्‍वरकै महिमाको निम्ति गर” (१०:१८)

      हाम्रा लुगाहरू महँगा होऊन्‌ वा सस्ता, ती सफा र अवसर सुहाउँदो हुनुपर्छ। पहिलो कोरिन्थी १०:२४ र १ तिमोथि २:९, १० पढ्‌नुहोस्‌। त्यसपछि हामी किन तल बताइएका जस्ता लुगा लगाउन चाहँदैनौँ, छलफल गर्नुहोस्‌:

      • ह्वार्ल्याङ्‌ग परेको वा अति नै अनौपचारिक देखिने किसिमको।

      • टिमिक्क कस्सिने, अङ्‌ग प्रदर्शन हुने वा यौन उत्तेजना जगाउने किसिमको।

      हुनत ख्रिष्टियनहरूले मोसाको व्यवस्था पालन गर्नु पर्दैन तर यसले यहोवाको सोचाइ बुझ्न मदत गर्छ। व्यवस्था २२:५ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

      • हाम्रो पहिरन र कोरीबाटी किन पुरुषहरूलाई स्त्रीहरूजस्तो र स्त्रीहरूलाई पुरुषहरूजस्तो देखाउने किसिमको हुनु हुँदैन?

      पहिलो कोरिन्थी १०:३२, ३३ र १ युहन्‍ना २:१५, १६ पढ्‌नुहोस्‌ अनि यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

      • हाम्रो रूपरङ्‌गले गर्दा टोलछिमेकमा वा मण्डलीमा कसैलाई ठेस नपुगोस्‌ भनेर किन विचार पुऱ्‍याउनुपर्छ?

      • तपाईँको टोलछिमेकका मानिसहरू सामान्यतया के-कस्ता पहिरन लगाउँछन्‌ र कोरीबाटी गर्छन्‌?

      • के तपाईँलाई तीमध्ये कुनै-कुनै पहिरन र कोरीबाटी ख्रिष्टियनहरूलाई उपयुक्‍त हुँदैन जस्तो लाग्छ? तपाईँलाई किन त्यस्तो लाग्छ?

      हामीले यहोवालाई स्वीकार्य विभिन्‍न किसिमको पहिरन र कोरीबाटी रोज्न सक्छौँ

      विभिन्‍न देश र जातिका पुरुषहरू र स्त्रीहरूले ख्रिष्टियनहरूलाई सुहाउने थरीथरीका पहिरन लगाएका र कोरीबाटी गरेका छन्‌।

      कोही-कोही भन्छन्‌: “मलाई जे मन पर्छ, त्यही लगाउँछु। यो मेरो अधिकार हो।”

      • के तपाईँलाई पनि त्यस्तै लाग्छ? किन?

      सारांश

      हामीले आफ्नो रूपरङ्‌गको सन्दर्भमा सही छनौट गर्दा यहोवा र अरूको आदर गरेको देखाइरहेका हुन्छौँ।

      तपाईँले के सिक्नुभयो?

      • यहोवा हाम्रो पहिरन र कोरीबाटीमा किन चासो लिनुहुन्छ?

      • हामीले आफ्नो रूपरङ्‌गको सन्दर्भमा कस्ता सिद्धान्त विचार गरेर निर्णय गर्नुपर्छ?

      • हाम्रो रूपरङ्‌गले साँचो उपासनाप्रति अरूको दृष्टिकोणमा कस्तो असर पार्न सक्छ?

      लक्ष्य

      अझ धेरै जान्‍नुहोस्‌

      तपाईँको पहिरन देख्दा अरूले तपाईँबारे कस्तो सोचाइ राख्न सक्छन्‌, थाह पाउनुहोस्‌।

      “म कस्तो देखिन्छु?” (jw.org को लेख)

      तपाईँले ट्याटु खोप्ने सन्दर्भमा राम्ररी सोचविचार गर्नु किन महत्त्वपूर्ण छ, बुझ्नुहोस्‌।

      “बाइबलले जीउमा कुनै किसिमको आकृति खोप्नेबारे के भन्छ?” (jw.org को लेख)

      हामीलाई सही निर्णय गर्न मदत गर्ने अरू सिद्धान्त विचार गर्नुहोस्‌।

      “के तपाईँको पहिरनले परमेश्‍वरको महिमा गर्छ?” (प्रहरीधरहरा, सेप्टेम्बर २०१६)

      परमेश्‍वरलाई खुसी बनाउन चाहने एउटी स्त्रीले रूपरङ्‌गबारे अरूको छनौटप्रति सन्तुलित दृष्टिकोण राख्न कसरी सिकिन्‌?

      “मैले पहिरन र कोरीबाटीप्रति आफ्नो दृष्टिकोण सच्याउनुपर्थ्यो” (ब्यूँझनुहोस्‌!, डिसेम्बर २२, २००३)

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने