प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रभुको साँझको भोज—यो कति पटक मनाउनु पर्ने हो?
    प्रहरीधरहरा—१९९४ | मार्च १
    • एक मात्र उत्सव

      आफू मर्ने दिनमा येशूले यो उत्सव आरम्भ गर्नुभयो। आफ्ना प्रेरितहरूसित उहाँले यहूदी निस्तार चाड मनाइसक्नुभएको थियो। त्यसपछि उहाँले तिनीहरूलाई सानो टुक्रा अखमिरी रोटी दिंदै भन्‍नुभयो: “तिमीहरूको निम्ति दिएको यो मेरो शरीर हो।” अनि येशूले दाखमद्यको कचौरा दिंदै भन्‍नुभयो: “यो कचौरा तिमीहरूका निम्ति बगेको मेरो रगतमा भएको नयाँ करार हो।” उहाँले यसो पनि भन्‍नुभयो: “मेरो सम्झनामा यो गर्ने गर।” (लूका २२:१९, २०; १ कोरिन्थी ११:२४-२६) यस उत्सवलाई नै प्रभुको साँझको भोज अथवा स्मरणार्थ भनिन्छ। येशूले आफ्ना अनुयायीहरूलाई मनाउनू भनी आज्ञा दिनुभएको यो एक मात्र उत्सव हो।

      अरू चाडहरूका साथै यो उत्सव पनि मनाउँछौं भनी थुप्रै चर्चहरू दाबी गर्छन्‌। तर धेरैजसोले येशूले आज्ञा गर्नुभएकोभन्दा बेग्लै ढङ्‌गमा मनाउँछन्‌। शायद सबैभन्दा उल्लेखनीय भिन्‍नता त यस उत्सव मनाउने पटक होला। कुनै कुनै चर्चहरूले महिनैपिच्छे, हप्तैपिच्छे र दिनहुँ समेत मनाउने गर्छन्‌। “मेरो सम्झनामा यो गर्ने गर” भनी येशूले आफ्ना अनुयायीहरूलाई भन्‍नुहुँदा के उहाँको मनसाय यही नै थियो? द न्यु इङ्‌गलिश बाइबल यसो भन्छ: “यो मेरो स्मरणार्थको रूपमा गर्ने गर।” (१ कोरिन्थी ११:२४, २५) स्मरणार्थ अथवा वार्षिक उत्सव कति पटक मनाइन्छ? सामान्यतः वर्षको एक पटक।

      यो पनि सम्झनुहोस्‌, येशूले यो उत्सव सुरु गर्नुभयो र त्यसपछि उहाँ यहूदी पात्रोअनुसार नीसान १४ मा मर्नुभयो।a त्यो निस्तार चाडको दिन थियो। यस चाडले १६ औं शताब्दी सा.यु.पू. मा यहूदीहरूले मिश्रबाट पाएको ठूलो छुटकाराको स्मरण गराउँथ्यो। त्यतिबेला चढाइएको पाठोको बलिले यहूदीहरूको ज्येष्ठ पुत्रको ज्यान जोगायो तर मिश्रीहरूका सबै ज्येष्ठ पुत्रलाई यहोवाको स्वर्गदूतले नाश गऱ्‍यो।—प्रस्थान १२:२१, २४-२७.

      यो कुरा बुझ्न हामी कसरी मदत पाउन सक्छौं? मसीही प्रेरित पावलले लेखे: “हाम्रो निस्तार चाडको बलिदान भइसकेको छ, जो ख्रीष्ट हुनुहुन्छ।” (१ कोरिन्थी ५:७) येशूको मृत्यु निस्तारको ठूलो बलिदान थियो जसले गर्दा मानवजातिले महान मुक्‍ति पाउन सम्भव भयो। तसर्थ, मसीहीहरूको निम्ति ख्रीष्टको मृत्युको स्मरणार्थले यहूदी निस्तार चाडलाई प्रतिस्थापन गऱ्‍यो।—यूहन्‍ना ३:१६.

      निस्तार चाड एउटा वार्षिक उत्सव थियो। अतः येशूको मृत्युको स्मरणार्थ पनि वार्षिक उत्सव हुनेछ भन्‍नु तर्कसङ्‌गत छ। येशू मर्नुभएको दिन—निस्तार चाड जहिले पनि यहूदी महिनाअनुसार नीसानको १४ औं दिनमा पर्थ्यो। यसर्थ, नीसान १४ पर्ने दिनमा ख्रीष्टको मृत्युको स्मरणार्थ वर्षको एक पटक मनाइनु पर्छ। सन्‌ १९९४ मा त्यो दिन सूर्यास्तपश्‍चात्‌ शनिबार, मार्च २६ मा पर्छ। यदि त्यसो हो भने मसीहीजगतका चर्चहरूले यस दिनमा किन कुनै विशेष उत्सव मनाउँदैनन्‌? इतिहासलाई सरसरती पल्टाएर हेऱ्‍यौं भने त्यस प्रश्‍नको उत्तर पाउनेछौं।

  • प्रभुको साँझको भोज—यो कति पटक मनाउनु पर्ने हो?
    प्रहरीधरहरा—१९९४ | मार्च १
    • a यहूदी वर्षको प्रथम महिना नीसान हो र औंसीदेखि महिना सुरु हुन्छ। तसर्थ, नीसान १४ जहिले पनि पूर्णिमाको दिनमा पर्छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने