-
“ख्रीष्टको मनलाई” जान्नेप्रहरीधरहरा—२००० | फेब्रुअरी १५
-
-
“ख्रीष्टको मनलाई” जान्ने
“कसले प्रभुको [यहोवाको] मनलाई जानेको छ, र त्यसले उहाँलाई सिकाउनसक्छ? तर अब हामीसँग ता ख्रीष्टको मन छ।”–१ कोरिन्थी २:१६.
१, २. यहोवाले आफ्नो वचनमा येशूसित सम्बन्धित कुन कुरा प्रकट गर्नु उचित देख्नुभयो?
येशू कस्तो देखिनुहुन्थ्यो? उहाँको कपालको रंग कस्तो थियो? उहाँको छाला? उहाँका आँखा? उहाँ कति अग्लो हुनुहुन्थ्यो? उहाँको तौल कति थियो? शताब्दीयौंदेखि उहाँको रूपरंगको चित्रण कतै मनासिब ढंगमै गरिएको छ भने कतै हुनै नसकिने तरिकामा गरिएको छ। कसैले उहाँलाई एकदम बलियो र जीवन्त पुरुषको रूपमा प्रस्तुत गरेको छ भने कसैले चाहिं कमजोर अनि नाजुक व्यक्तिको रूपमा।
२ तथापि, बाइबलले येशूको रूपरंगमा ध्यान केन्द्रित गर्दैन। बरु, यहोवाले योभन्दा पनि बढ्ता महत्त्वपूर्ण कुरा अर्थात् येशू कस्तो किसिमको व्यक्ति हुनुहुन्थ्यो, त्यो प्रकट गर्नु उचित देख्नुभयो। येशूको जीवनीसम्बन्धी सुसमाचारका पुस्तकहरूले उहाँले भन्नुभएका कुराहरू मात्र नभई उहाँले बोल्नुभएका शब्दहरू तथा गर्नुभएका कामहरू पछाडिको अनुभूति तथा सोचाइको गहिराइ पनि प्रकट गरेका छन्। प्रेरणाद्वारा लेखिएका सुसमाचारका चार विवरणहरूले हामीलाई प्रेरित पावलले “ख्रीष्टको मन” भनी उल्लेख गरेको कुरा नियाल्न मदत गर्छ। (१ कोरिन्थी २:१६) हामीले येशूका विचारहरू, अनुभूतिहरू र व्यक्तित्वसित अभ्यस्त हुनु महत्त्वपूर्ण छ। किन? कम्तीमा पनि दुई कारणका लागि।
३. ख्रीष्टको मनसित परिचित हुँदा हामी कस्तो अन्तरदृष्टि पाउँछौं?
३ पहिलो हो, येशूको मनले हामीलाई यहोवाको मनको झलक दिन्छ। येशू आफ्नो पितासित अति घनिष्ठ हुनुहुन्थ्यो। त्यसैले त उहाँले यसो भन्न सक्नुभयो: “पुत्र को हो? भनेर पिताबाहेक कसैले जान्दैन, औ पिता को हुन्? पुत्रले, र जसलाई पुत्रले प्रकट गर्ने इच्छा गर्दछ, त्यसले बाहेक कसैले जान्दैन।” (लूका १०:२२) मानौं येशू यसो भन्नुहुँदै थियो, ‘यहोवा कस्तो हुनुहुन्छ भनी जान्न चाहन्छौ भने मलाई हेर।’ (यूहन्ना १४:९) सुसमाचारका पुस्तकहरूले येशूको सोचाइ तथा भावनाहरूबारे प्रकट गरेका कुराहरूको अध्ययन गर्दा वास्तवमा हामीले यहोवाले सोच्नुहुने र महसुस गर्नुहुने तरिका सिकिरहेका हुन्छौं। यस्तो ज्ञानले हामीलाई हाम्रो परमेश्वरसित घनिष्ठ हुन मदत गर्छ।—याकूब ४:८.
४. ख्रीष्टले जस्तै काम गर्ने हो भने हामीले सर्वप्रथम के सिक्नैपर्छ र किन?
४ दोस्रो, ख्रीष्टको मनलाई जान्दा त्यसले हामीलाई “उहाँको पाइलामा टेकेर हिंड़न” मदत गर्छ। (१ पत्रुस २:२१) येशूको अनुसरण गर्नुको अर्थ उहाँका शब्दहरू दोहऱ्याउनु र उहाँको कामहरूको नक्कल गर्नु मात्र होइन। बोलीवचन र कामलाई विचार तथा अनुभूतिहरूले असर गर्ने हुँदा ख्रीष्टको अनुसरण गर्न हामीले उहाँकै जस्तो “मन” खेती गर्नुपर्छ। (फिलिप्पी २:५) अर्को शब्दमा भन्ने हो भने, ख्रीष्टले जस्तै काम गर्न हामीले अशिद्धताको बावजूद सकेसम्म ख्रीष्टले जस्तै सोच्ने अनि महसुस गर्ने प्रयत्न गर्नैपर्छ। त्यसो भए आउनुहोस्, सुसमाचारका पुस्तकहरूका लेखकहरूको मदत लिएर हामी येशूको मनलाई नियालौं। सबैभन्दा पहिले, येशूको विचार तथा भावनाहरूलाई असर गर्ने विभिन्न तत्त्वहरूबारे छलफल गरौं।
उहाँको मानवपूर्व अस्तित्व
५, ६. (क) हाम्रो संगतीले हामीमाथि कस्तो प्रभाव पार्छ? (ख) पृथ्वीमा आउनुअघि परमेश्वरको पहिलौठो पुत्रले कोसित संगत गर्नुहुन्थ्यो र यसले उहाँमाथि कस्तो प्रभाव पाऱ्यो?
५ हामीसित घनिष्ठ सम्बन्ध हुनेहरूले हामीलाई असर गर्न सक्छन्, हाम्रो विचारधारा, अनुभूतिलाई तिनीहरूले या त असल या खराब बनाउन सक्छन्।a (हितोपदेश १३:२०) पृथ्वीमा आउनुअघि स्वर्गमा येशूको संगत कस्तो थियो, विचार गर्नुहोस्। यूहन्नारचित सुसमाचारको पुस्तकले “वचन” वा परमेश्वरको प्रवक्ताको रूपमा येशूको मानवपूर्व अस्तित्वतर्फ ध्यान खिंचेको छ। यूहन्ना भन्छन्: “आदिमा वचन थियो, औ वचन परमेश्वरसँग थियो, औ वचन परमेश्वरनै थियो। उहाँ आदिमा परमेश्वरसँग हुनुहुन्थ्यो।” (यूहन्ना १:१, २) यहोवाको कुनै सुरु नभएकोले वचन “आदिमा” परमेश्वरसित हुनुले पक्कै पनि उहाँको सृजनशील कार्यको सुरुआतलाई संकेत गरेको हुनुपर्छ। (भजन ९०:२) येशू “सारा सृष्टिको जेठो” हुनुहुन्छ। यसर्थ, उहाँ अन्य आत्मिक प्राणीहरू र यो भौतिक ब्रह्माण्ड सृष्टि हुनुभन्दा पहिल्यै अस्तित्वमा आइसक्नुभएको थियो।—कलस्सी १:१५; प्रकाश ३:१४.
६ केही वैज्ञानिक तथ्यांकअनुसार यो भौतिक ब्रह्माण्ड कम्तीमा पनि १२ अरब वर्षदेखि अस्तित्वमा छ। यदी यी तथ्यांकहरू केही गरी सत्य हुन् भने परमेश्वरको पहिलौठो पुत्रले आदम सृजनुभन्दा युगौंयुगअघिदेखि नै आफ्नो पितासित घनिष्ठ सम्बन्धको आनन्द उठाउनुभएको हुनुपर्छ। (मीका ५:२ तुलना गर्नुहोस्।) उहाँहरू दुईबीच मायालु र गहिरो सम्बन्ध विकास भएको हुनुपर्छ। बुद्धिको मूर्तरूप यस पहिलौठो पुत्रको मानवपूर्व अस्तित्वबारे हामी यस्तो परिचय पाउँछौं: “म [यहोवा]को छेउमा उहाँको प्रिय र आनन्दको पात्रझैं दिनहुँ उहाँकै सामने निरन्तर खेल्दै बस्थें।” (हितोपदेश ८:३०) प्रेमको स्रोतसित युगौंयुगसम्म घनिष्ठ सम्बन्धको आनन्द उठाउने परमेश्वरको पुत्रमाथि निस्सन्देह यसले अमेट छाप पाऱ्यो! (१ यूहन्ना ४:८) फलतः यस पुत्रले पिताका विचार, भावना तथा तरिकाहरू अति राम्ररी थाह पाउनुभयो अनि प्रतिबिम्बित गर्नुभयो। त्यसो अरू कसैले पनि गर्नसक्दैनथ्यो।—मत्ती ११:२७.
पार्थिव जीवन र प्रभाव
७. परमेश्वरको पहिलौठो पुत्रलाई यस पृथ्वीमा आउन आवश्यक पर्नुका कारणहरूमध्ये एउटा के हो?
७ परमेश्वरको पुत्रले थुप्रै कुराहरू सिक्नुपरेको थियो किनकि यहोवाको उद्देश्य आफ्नो पुत्रलाई “हाम्रा निर्बलतामा हामीसँग दुःखी हुन” सक्ने प्रधान पूजाहारी बनाउनु थियो। (हिब्रू ४:१५) यो भूमिका निर्वाह गर्न चाहिने आवश्यकताहरू पूरा गर्नु मानव रूपमा यस पृथ्वीमा आउनुका कारणहरूमध्ये एक थियो। यहाँ, मासु र रगतले बनेको शरीर लिएर येशूले पहिले स्वर्गबाट मात्र देख्नुभएका अवस्थाहरू तथा प्रभावहरूको सामना गर्नुभयो। उहाँ आफैले मानव अनुभूति तथा भावनाहरू अनुभव गर्नुभयो। उहाँलाई पनि थकाइ, तिर्खा अनि भोक लाग्थ्यो। (मत्ती ४ :२; यूहन्ना ४:६, ७) यसभन्दा बढी उहाँले हर प्रकारका हन्डर र कष्ट पनि भोग्नुभयो। यसरी उहाँले “आज्ञा पालन गर्न सिक्नुभयो” र प्रधान पूजाहारीको भूमिका निर्वाह गर्न पूर्णतया योग्य हुनुभयो।—हिब्रू ५:८-१०.
८. पृथ्वीमा येशूका प्रारम्भिक जीवनबारे हामीलाई के थाह छ?
८ पृथ्वीमा हुनुहुँदा येशूको प्रारम्भिक जीवन कसरी बित्यो होला? उहाँको बाल्यावस्थाको रेकर्ड निकै छोटो छ। वास्तवमा, मत्ती र लूकाले मात्र उहाँको जन्मसम्बन्धी घटनाहरूबारे बताए। सुसमाचारका पुस्तकहरूका लेखकहरूलाई येशू पृथ्वीमा आउनुअघि स्वर्गमा हुनुहुन्थ्यो भनेर थाह थियो। त्यो मानवपूर्व अस्तित्वले येशू कस्तो प्रकारको मानिस हुनुभयो भनेर अन्य तथ्यहरूले भन्दा पनि स्पष्टिकरण दियो। तथापि, येशू पूर्णतया मानिस हुनुहुन्थ्यो। सिद्ध भए तापनि उहाँले शैशवकालदेखि बाल्यावस्थासम्म अनि किशोरावस्थादेखि जवानीसम्मै सिक्दै बुझ्दै हुर्कनु पऱ्यो। (लूका २:५१, ५२) पृथ्वीमा हुनुहुँदा येशूको प्रारम्भिक जीवनमा भएका खास घटनाहरूको बाइबल उल्लेख गर्छ। ती घटनाहरूले निस्सन्देह उहाँको जीवनलाई गहिरो प्रभाव पारेको हुनुपर्छ।
९. (क) येशू गरिब परिवारमा जन्मनुभएको थियो भनेर केले संकेत गर्छ? (ख) येशू सायद कस्तो परिस्थितिमा हुर्कनुभएको हुनसक्छ?
९ प्राप्त प्रमाणहरूअनुसार येशूले एउटा गरिब परिवारमा जन्म लिनुभएको थियो। उहाँ जन्मनुभएको ४० दिनमा यूसुफ र मरियमले मन्दिरमा चढाएको भेटीबाट यो कुरा प्रस्ट हुन्छ। होमबलिको निम्ति कलिलो भेडा अनि पापबलिको निम्ति भर्खरको एक जोडी परेवाका बचेरा वा दुइटा ढुकुर ल्याउनुको साटो तिनीहरूले “एक जोड़ ढुकुर कि परेवाका दुइवटा बच्चा” ल्याएका थिए। (लूका २:२४) मोशालाई दिइएको व्यवस्थाअनुसार यो भेटी गरिबहरूको निम्ति गरिएको प्रबन्ध थियो। (लेवी १२:६-८) समयमा यो नम्र परिवार फल्दैफुल्दै गयो। चमत्कारी तरिकामा येशूको जन्म भइसकेपछि यूसुफ र मरियमका प्राकृतिक तरिकाबाट कम्तीमा पनि अरू छ जना छोराछोरी भए। (मत्ती १३:५५, ५६) अतः सायद येशू साधारण परिस्थितिमा एउटा ठूलो परिवारमा हुर्कनुभयो।
१०. मरियम र यूसुफ ईश्वरभीरु थिए भनी केले देखाउँछ?
१० येशूलाई उहाँको चिन्ता गर्ने ईश्वरभीरु आमाबाबुले हुर्काएका थिए। तिनकी आमा मरियम असामान्य स्त्री थिइन्। गब्रिएल स्वर्गदूतले तिनलाई अभिवादन गरेर के भने सम्झनुहोस् त: “हे कृपाको पात्र, तिमीलाई सलाम! परमप्रभु तिमीसँग हुनुहुन्छ।” (लूका १:२८) यूसुफ पनि भक्त पुरुष थिए। तिनी वर्षेनी यरूशलेममा निस्तार चाड मनाउन विश्वासी भई १५० किलोमिटर लामो यात्रा गर्थे। यो यात्रा पुरुषहरूले मात्र गर्नुपर्ने भए तापनि मरियम पनि साथमा जाने गर्थिन्। (प्रस्थान २३:१७; लूका २:४१) यस्तै एक अवसरमा, यूसुफ र मरियमले १२ वर्षका येशूलाई खोज्नसम्म खोजिसकेपछि उहाँलाई मन्दिरमा शिक्षकहरूबीच भेट्टाए। चिन्तित आमाबाबुलाई येशूले भन्नुभयो: “के म आफ्ना पिताको घरमा हुनुपर्छ भन्ने तपाईंहरूलाई थाह थिएन?” (लूका २:४९) “पिता” भन्ने शब्द बालक येशूलाई पक्कै पनि न्यानो अनि सकारात्मक लागेको हुनुपर्छ। कुरा के हो भने, यहोवा नै उहाँको वास्तविक पिता हुनुहुन्थ्यो भनेर उहाँलाई पक्कै पनि बताइएको हुनुपर्छ। यसको अलावा, यूसुफले पनि एक असल धर्मपिताको भूमिका निर्वाह गरेका हुनुपर्छ। निस्सन्देह, यहोवाले एक निष्ठुर वा क्रूर पुरुषलाई आफ्नो प्यारो पुत्र हुर्काउन कदापि छान्नुहुने थिएन!
११. येशूले कस्तो सीप हासिल गर्नुभयो र बाइबलकालीन समयमा त्यो काम गर्न के के गर्नुपर्थ्यो?
११ नासरतमा छँदा येशूले पक्कै पनि आफ्नो धर्मपितासित सिकर्मीको काम सिक्नुभएको हुनुपर्छ। येशू यो काममा यत्ति निपुण हुनुभयो कि उहाँ “सिकर्मी” कहलाइनुभयो। (मर्कूस ६:३) बाइबलकालीन समयमा सिकर्मीहरूलाई घर, (टेबुल, स्टुल, बेन्चलगायत) अन्य फर्निचर र खेतबारीमा प्रयोग गरिने सरसामग्रीहरू बनाउन लगाइन्थ्यो। द्वितीय शताब्दीमा जस्टिन मार्टिरले डाइलग विथ ट्राइफो-मा येशूबारे यस्तो लेखे: “सिकर्मी हुनुभएकोले उहाँको हलो र जुवा बनाउने बानी थियो।” यस्तो काम गर्नु सजिलो थिएन किनकि पुरातन समयमा काठ किन्ने चलन नभएको हुनसक्छ। त्यसकारण, उहाँ आफै जंगल गएर, रूख छानेर, बन्चरोले रूख ढालेर अनि घरसम्म काठ बोकेर ल्याउनुभएको हुनसक्छ। अतः येशूलाई जीवन धान्न के कस्ता चुनौतिहरू सामना गर्नुपर्छ, ग्राहकहरूसित कसरी व्यवहार गर्नुपर्छ र घरगृहस्थी कसरी सम्हाल्नुपर्छ, यी सबै थाह भएको हुनसक्छ।
१२. येशूको मृत्यु हुनुभन्दा अघि नै यूसुफको मृत्यु भइसकेको थियो भनी के कुराले संकेत गर्छ र फलतः येशूले के गर्नुपऱ्यो?
१२ जेठो छोरा हुनुभएकोले येशूले परिवारको हेरचाहमा पनि योगदान पुऱ्याउनुभएको हुनुपर्छ र त्यो पनि विशेष गरी येशूको मृत्यु हुनुभन्दा अघि नै यूसुफको मृत्यु भइसकेको जस्तो देखिएकोले परिवारको सम्पूर्ण अभिभारा उहाँमाथि आएको हुनुपर्छ।b जनवरी १, १९०० को जायन्स वाच टावर-ले यसो भन्यो: “भनिन्छ, येशू कलिलै छँदा यूसुफको मृत्यु भएको थियो र पछि उहाँले सिकर्मीको काम गरेर परिवारको हेरचाह गर्नुभयो। धर्मशास्त्रले पनि यस कुरालाई केही हदसम्म समर्थन गरेको पाइन्छ। किनकि धर्मशास्त्रमा उहाँलाई सिकर्मी भनिएको छ भने उहाँकी आमा र भाइबहिनीहरूबारे उल्लेख गरे तापनि यूसुफको चाहिं कुनै उल्लेख छैन। (मर्कूस ६:३) . . . त्यसकारण हाम्रा प्रभुको अठार वर्ष लामो जीवन अर्थात् [लूका २:४१-४९ मा रेकर्ड गरिएको] घटनादेखि उहाँको बप्तिस्मासम्मको समय जीवनका सामान्य कामकुरामा बितेको हुनसक्ने निकै सम्भावना छ।” मरियम र येशूलगायत तिनका अन्य छोराछोरीलाई प्रिय पति तथा बुबाको मृत्यु हुँदाखेरिको पीडा पक्कै पनि थाह थियो।
१३. येशूले कसरी अन्य मानिसहरूसित नभएको ज्ञान, अन्तर्दृष्टि र गहिरो भावनासहित आफ्नो सेवकाई थाल्न सक्नुभयो?
१३ स्पष्टतया, येशूको जीवन सुखसयलपूर्ण थिएन। उहाँले साधारण मानिसहरूको जस्तो जीवन बिताउनुभयो। पछि सा.यु. २९ मा येशूले आफ्नो ईश्वरीय कार्यभार सुरु गर्नुपर्ने समय आयो। त्यस वर्षको शरद ऋतुमा उहाँले पानीमा बप्तिस्मा लिनुभयो र परमेश्वरको आत्मिक पुत्र हुनुभयो। ‘स्वर्ग उहाँको निम्ति उघ्रियो’ मतलब उहाँले स्वर्गमा बिताउनु भएको आफ्नो मानवपूर्व जीवन र त्यतिखेरका विचारहरू तथा भावनाहरू सम्झन सक्नुभयो। (लूका ३:२१, २२) अतः उहाँले, अन्य मानिसहरूले कहिल्यै पाउन नसक्ने ज्ञान, अन्तर्दृष्टि र गहिरो भावनासहित आफ्नो सेवकाई थाल्नुभयो। अतः सुसमाचारका लेखकहरूले आफ्ना अधिकांश लेखहरू येशूको सेवकाईमाथि केन्द्रित गर्नुको राम्रै कारण देखिन्छ। तैपनि, उहाँले भन्नुभएका र गर्नुभएका जम्मै कुराहरू तिनीहरूले लिपिबद्ध गर्न सकेनन्। (यूहन्ना २१:२५) तर तिनीहरू जे जति लेख्न प्रेरित भए, त्यसले हामीलाई आजसम्म बाँचेका पुरुषहरूमध्ये सबैभन्दा महान् पुरुषको मन नियाल्नसक्ने बनाएको छ।
येशूको व्यक्तित्व कस्तो थियो?
१४. सुसमाचारका पुस्तकहरूले येशूलाई कोमल, मिजासिलो र गहिरा भावनाहरू व्यक्त गर्नुहुने व्यक्तिको रूपमा कसरी चित्रित गर्छ?
१४ सुसमाचारका पुस्तकहरू पढ्दा येशू कोमल, मिजासिलो र गहिरा भावनाहरूले भरिपूर्ण व्यक्तित्वको धनी देखिनुहुन्छ। उहाँले विभिन्न भावनाहरू प्रकट गर्नुभयो: कोरी देखेर टिठाउनु (मर्कूस १:४०, ४१); प्रतिक्रिया व्यक्त नगर्ने मानिसहरू देखेर विलाप गर्नु (लूका १९:४१, ४२); पैसा साट्ने लोभी रेजगीहरू देखेर धार्मिक रिस प्रकट गर्नु आदि (यूहन्ना २:१३-१७)। समानुभूतिशील हुनुभएकोले येशू रुनु भयो र उहाँले आफ्नो भावना लुकाउनु भएन। आफ्नो प्रिय मित्र लाजरसको मृत्यु हुँदा लाजसरकी दिदी मरियम रोएकी देख्दा येशूलाई यत्ति खल्लो लाग्यो कि, उहाँ सबैसामु रुनु भयो।—यूहन्ना ११:३२-३६.
१५. येशूले अरूप्रति राख्नुभएको दृष्टिकोण र अरूसित गर्नुभएको व्यवहारबाट उहाँको कोमल भाव कसरी प्रस्टै देखिन्छ?
१५ विशेष गरी अरूप्रतिको दृष्टिकोण र व्यवहारबाट येशूको कोमल भावना प्रस्टै देखिन्छ। उहाँ आफै अघि सरेर गरिब अनि थिचोमिचोमा परेकाहरूलाई भेट्नुहुन्थ्यो र तिनीहरूले ‘आफ्ना आफ्ना आत्मामा विश्राम पाऊन्’ भनेर मदत गर्नुहुन्थ्यो। (मत्ती ११:४, ५, २८-३०) उहाँको लुगा छुने रक्तस्रावले पीडित आइमाई होस् वा चुप नलाग्ने अन्धो माग्ने, दुःखकष्टमा परेकाहरूको आवश्यकता पूरा गर्न उहाँ कहिल्यै पछि पर्नुभएन। (मत्ती ९:२०-२२; मर्कूस १०:४६-५२) येशूले अरू व्यक्तिहरूमा असल गुण खोज्नुहुन्थ्यो र तिनीहरूको सराहना पनि गर्नुहुन्थ्यो; यद्यपि, आवश्यक परेको बेला तिनीहरूलाई सच्याउनसमेत कहिल्यै पछि पर्नु हुन्नथ्यो। (मत्ती १६:२३; यूहन्ना १:४७; ८:४४) आइमाईहरूको हकहितको वास्तै नगरिने युगमा पनि येशूले सन्तुलित भएर गरिमा र आदरसहित व्यवहार गर्नुभयो। (यूहन्ना ४:९, २७) त्यसैकारण, थुप्रै आइमाईहरूले येशूलाई आफ्नो सरसम्पत्ति चढाएर सेवा गरेको कारण बुझ्न सकिन्छ।—लूका ८:३.
१६. जीवन र भौतिक कुराहरूप्रति येशूको सन्तुलित दृष्टिकोण थियो भनी केले देखाउँछ?
१६ येशूको जीवनप्रति सन्तुलित दृष्टिकोण थियो। उहाँ भौतिक कुरालाई प्राथमिकता दिनुहुँदैनथ्यो। भनौं भने, उहाँसित भौतिक कुराहरू थोरै मात्र थिए। उहाँले आफ्नो लागि “शिर अड़ाउने ठाउँ पनि छैन” भन्नुभएको थियो। (मत्ती ८:२०) तर येशू रमाइलो व्यक्ति हुनुहुन्थ्यो। पक्कै पनि बाजा, गाना अनि रमझम हुने विवाह भोजमा उपस्थित हुनुहुँदा उहाँले अरूलाई खल्लो पार्नुभएन। वास्तवमा, येशूले आफ्नो पहिलो चमत्कार विवाह भोजकै अवसरमा गर्नुभएको थियो। दाखमद्य सिद्धिएपछि उहाँले पानीलाई “मानिसको मन खुश गराउ[ने]” दाखमद्यमा परिणत गराइदिनुभयो। (भजन १०४:१५; यूहन्ना २:१-११) यसरी, त्यस अवसरको रमाहटमा दखल पुगेन भने दुलहा-दुलही पनि लज्जित हुनबाट जोगिए। उहाँ सन्तुलित हुनुहुन्थ्यो भन्ने कुरा त्यसपछिका थुप्रै अवसरहरूमा उहाँले सेवकाईमा गर्नुभएको लामा अनि कठिन परिश्रमबाट प्रकट हुन्छ।—यूहन्ना ४:३४.
१७. येशू श्रेष्ठ गुरु हुनु किन अचम्म लाग्दो कुरा होइन अनि उहाँको शिक्षाले के प्रतिबिम्बित गर्छ?
१७ येशू श्रेष्ठ गुरु हुनुहुन्थ्यो। उहाँको अधिकांश शिक्षामा आफूले पनि भोगेका दैनिक जीवनको वास्तविकता झल्किन्थ्यो। (मत्ती १३:३३; लूका १५:८) उहाँको शिक्षण कला अतुलनीय अर्थात् स्पष्ट, सरल अनि व्यवहारिक थियो। योभन्दा पनि महत्त्वपूर्ण कुरा त उहाँले दिनुभएको शिक्षामा आफ्ना स्रोताहरूलाई यहोवाको विचार, भावना अनि तरिकाहरूसित अभ्यस्त गराउने उहाँको हार्दिक इच्छा झल्किन्थ्यो।—यूहन्ना १७:६-८.
१८, १९. (क) येशूले कस्ता जीवन्त शब्दहरूद्वारा आफ्नो पिताको वर्णन गर्नुभयो? (ख) अर्को लेखमा के छलफल गरिनेछ?
१८ अक्सर दृष्टान्तहरू प्रयोग गर्नुभएर सजिलै बिर्सन नसकिने गरी येशूले जीवन्त वर्णनहरूद्वारा आफ्नो पिता यहोवालाई चिनाउनुभयो। परमेश्वरको दयाबारे कुरा गर्नु एउटा सामान्य कुरा हो। तर आफ्नो छोरा फर्केको देख्दा मात्र पनि ‘दौडेर त्यसको गलामा अंगालो हालेर त्यसलाई चुम्मन गर्दै’ माफी दिन इच्छुक पितासित यहोवालाई दाँज्नु अर्कै कुरा हो। (लूका १५:११-२४) साधारण मानिसहरूलाई तुच्छ ठान्ने अरट्ठो संस्कृतिलाई एकातिर पन्छाएर येशूले आफ्नो पिता, घमण्डी फरिसीको अहंकारी प्रार्थना होइन तर महसूल उठाउने व्यक्तिको विनम्र दुहाइ सुन्न रुचाउनुहुने र जोसुकै पनि उहाँको नजिक हुनसक्ने परमेश्वर हुनुहुन्छ भनेर बताउनुभयो। (लूका १८:९-१४) येशूले यहोवालाई सानो भँगेरा जमिनमा खस्दा पनि फिक्री गर्नुहुने परमेश्वरको रूपमा चित्रित गर्नुभयो। येशूले आफ्ना चेलाहरूलाई ढाडस दिंदै भन्नुभयो, “नडराओ, तिमीहरू धेरै भँगेराहरूभन्दा बढ़ता मूल्यका छौ।” (मत्ती १०:२९, ३१) निस्सन्देह, मानिसहरू येशूले “सिकाउनु” भएको तरिका देखेर छक्क पर्थे र उहाँतर्फ खिचिन्थे। (मत्ती ७:२८, २९) त्यसैकारण, एक पटक एउटा “भीड़” खानपीन नगरी उहाँसँग तीन दिनसम्म रहे!—मर्कूस ८:१, २.
१९ यहोवाले आफ्नो वचनमा ख्रीष्टको मन प्रकट गरिदिनुभएकोमा हामी धन्यवादी हुनसक्छौं! तर अरूसितको व्यवहारमा हामी कसरी ख्रीष्टको मन खेती गर्न अनि प्रकट गर्नसक्छौं? अर्को लेखमा यसबारे छलफल गरिनेछ।
[Footnotes]
a प्रकाश १२:३, ४ अनुसार आत्मिक प्राणीहरू पनि आफ्ना सँगीहरूद्वारा प्रभावित हुनसक्छन्। त्यहाँ शैतानलाई “अजींगर” भनेर चिनाइएको छ। त्यसले अन्य “ताराहरूलाई” अथवा आत्मिक पुत्रहरूलाई आफूसँगसँगै विद्रोही कार्यमा उत्रन आफ्नो प्रभावमा पार्छ।—अय्यूब ३८:७ तुलना गर्नुहोस्।
b येशू १२ वर्षको हुनुहुँदा मन्दिरमा फेलापर्नुभएको घटनालाई लिएर यूसुफबारे अन्तिमपटक प्रत्यक्ष उल्लेख गरिएको पाइन्छ। येशूको सेवकाईको प्रारम्भतिर कानामा भएको विवाह भोजमा यूसुफको उपस्थितीबारे केही उल्लेख गरिएको छैन। (यूहन्ना २:१-३) सा.यु. ३३ मा झुन्ड्याइनु भएका येशूले मरियमको जिम्मा आफ्ना प्रिय चेला यूहन्नालाई सुम्पनुभयो। त्यतिञ्जेल यूसुफ जीवितै भएका भए येशूले पक्कै त्यसो गर्नुहुने थिएन।—यूहन्ना १९:२६, २७.
-
-
के तपाईंसित “ख्रीष्टको मन” छ?प्रहरीधरहरा—२००० | फेब्रुअरी १५
-
-
के तपाईंसित “ख्रीष्टको मन” छ?
“धीरज र शान्तिका परमेश्वरले तिमीहरूलाई ख्रीष्ट येशूको अनुसार आपसमा एउटै मन दिऊन्।”– रोमी १५:५.
१. मसीहीजगत्का थुप्रै चित्रहरूमा येशूको कस्तो चित्रण गरिएको छ र यसरी येशूको चित्रण गर्नु किन न्यायसंगत देखिंदैन?
उहाँ हाँस्नुभएको त कहिल्यै पनि देखिएन।” पुरातन रोमी अधिकृतले लेखेको भनी झूटो दाबी गरिएको लेखोटमा यसरी येशूको वर्णन गरिएको छ। बितेको ११ औं शताब्दीदेखि आजसम्म त्यही अवस्था रहेको यो लेखोटले थुप्रै चित्रकारहरूलाई प्रभाव पारेको देखिन्छ।a थुप्रै चित्रहरूमा येशूलाई कहिल्यै नमुस्कुराउनु हुने, दुःखी देखाइएको छ। तर सुसमाचारका पुस्तकहरूले मिजासिलो, गहिरो भावसहितको दयालु व्यक्ति भनी वर्णन गरेको येशूको यस्तो चित्रण न्यायसंगत देखिंदैन।
२. हामीले “येशूको अनुसार आपसमा एउटै मन” कसरी खेती गर्नसक्छौं र यसले हामीलाई के गर्न सुसज्जित पार्नेछ?
२ स्पष्टतः वास्तविक येशूलाई चिन्न उहाँ यस पृथ्वीमा हुनुहुँदा कस्तो प्रकारको व्यक्ति हुनुहुन्थ्यो त्यसबारे सही ज्ञान हासिल गरेर हामीले आफ्नो मन अनि हृदयमा सही कुरा भर्नुपर्छ। त्यसैकारण आउनुहोस्, “ख्रीष्टको मन” अर्थात् उहाँका भावना, सोचाइ तथा तर्कहरूबारे अन्तरदृष्टि पाउन सुसमाचारका पुस्तकहरूमा दिइएका केही विवरणहरू जाँचौं। (१ कोरिन्थी २:१६) साथै “येशूको अनुसार आपसमा एउटै मन” पनि कसरी खेती गर्नसक्नेछौं, त्यो पनि विचार गरौं। (रोमी १५:५) किनकि यसो गऱ्यौं भने हामी आफ्नो जीवन बिताउँदा अनि साथै अरूसित व्यवहार गर्दा उहाँले हाम्रोनिम्ति राखिदिनुभएको नमुना पछ्याउनसक्नेछौं।—यूहन्ना १३:१५.
नहिचकिचाई नजिक जान सकिने
३, ४. (क) मर्कूस १०:१३-१६ मा लिपिबद्ध विवरणको कस्तो पृष्ठभूमि थियो? (ख) चेलाहरूले साना केटाकेटीहरूलाई उहाँ नजिक आउन नदिंदा येशूले कस्तो प्रतिक्रिया देखाउनुभयो?
३ मानिसहरू येशूतर्फ आकर्षित हुन्थे। थुप्रै अवसरहरूमा भिन्नाभिन्नै उमेर र पृष्ठभूमिका मानिसहरूले उहाँसित मन लागेको बेला नहिचकिचाई कुरा गरे। मर्कूस १०:१३-१६ मा लिपिबद्ध घटनालाई विचार गर्नुहोस्। यो घटना येशूको सेवकाईको अन्ततिर र त्यो पनि अत्यन्त पीडादायी मृत्युको सामना गर्न अन्तिम पटक यरूशलेम जानुभएको बेलाको हो।—मर्कूस १०:३२-३४.
४ कल्पना गर्नुहोस्। येशूले आशिष् देऊन् भनी मानिसहरूले आफ्ना छोराछोरी र शिशुहरूसमेत ल्याउन थाले।b तथापि, चेलाहरूले ती बच्चाहरूलाई येशूकहाँ जानदेखि रोक्न खोजे। सायद तिनीहरूले यस्तो निर्णायक घडीमा बच्चाहरूले अलमल गरेको येशू चाहनुहुन्न होला भन्ठाने। तर तिनीहरूको अनुमान गलत थियो। चेलाहरूले त्यसरी बच्चाहरूलाई रोक्न खोजेको येशू मन पराउनुहुन्न। येशू बच्चाहरूलाई आफू नजिक बोलाउनुहुन्छ र भन्नुहुन्छ: “साना केटाकेटीहरूलाई मकहाँ आउनदेओ, तिनीहरूलाई नरोक।” (मर्कूस १०:१४) त्यसपछि उहाँले जे गर्नुभयो त्यसमा साँच्चै कोमल र मायालु भाव प्रकट हुन्छ। विवरण भन्छ: “उहाँले तिनीहरूलाई काखमा लिएर तिनीहरू माथि आफ्नो हात राखेर आशीर्वाद दिनुभयो।” (मर्कूस १०:१६) येशूले बच्चाहरूलाई आफ्नो न्यानो अंगालोमा लिनुहुँदा स्पष्टतः तिनीहरूलाई अप्ठ्यारो लागेन।
५. मर्कूस १०:१३-१६ को विवरणले येशू कस्तो प्रकारको व्यक्ति हुनुहुन्छ भनेर बताउँछ?
५ यो छोटो विवरणले येशूको व्यक्तित्वबारे धेरै कुरा बताउँछ। उहाँसित नहिचकिचाई कुरा गर्न सकिन्थ्यो भन्ने कुरा पनि याद गर्नुहोस्। स्वर्गमा उच्च स्थान पाउनुभएको भए तापनि असिद्ध मानवहरू सामु उहाँले ठूलाबडाको जस्तो हैकम जमाउनु भएन न त तिनीहरूलाई होच्याउनुभयो। (यूहन्ना १७:५) बच्चाहरूले समेत उहाँसित सजिलो महसुस गर्नु के अर्थपूर्ण छैन र? कहिल्यै नमुस्कुराउने वा नहाँस्ने कठोर र नीरस मानिससित तिनीहरू पक्कै आकर्षित हुनेथिएनन्! हर उमेरका मानिसहरू येशूसित नहिचकिचाई नजिकिए किनकि तिनीहरूलाई उहाँ मिजासिलो, अरूको ख्याल गर्ने र अरूलाई कहिल्यै नहोच्याउने व्यक्ति हुनुहुन्छ भनेर थाह थियो।
६. प्राचीनहरूले अरूलाई आफूसित अझ खुलस्त हुने गरी नजिकिन कसरी मदत गर्नसक्छन्?
६ यस विवरणलाई ध्यानमा राख्दै हामी आफैलाई सोध्नसक्छौं, ‘के मसित ख्रीष्टको मन छ? के मानिसहरू नहिचकिचाई मेरो नजिक आउन मान्छन्?’ वर्तमान कठिन समयमा परमेश्वरका भेडाहरूलाई यस्तै नहिचकिचाई कुरा गर्न गोठालो चाहिन्छ। ती तिनीहरूका निम्ति “बतासबाट लुक्ने ठाउँ” समान छन्। (यशैया ३२:१, २; २ तिमोथी ३:१) प्राचीनहरू हो, तपाईंहरूले भाइहरूलाई हार्दिक चासो देखाउनसक्नुभयो र तिनीहरूका लागि आफूलाई अर्पण गर्नसक्नुभयो भने तिनीहरूले तपाईं तिनीहरूको ख्याल गर्नुहुँदो रहेछ भनेर बुझ्नेछन्। यो तिनीहरूले तपाईंको मुहारमा देख्नसक्छन्, तपाईंको बोलीमा सुन्नसक्छन् र तपाईंको व्यवहारमा देख्नसक्छन्। यस्तो साँचो न्यानोपन र चासोले भरोसाको यस्तो वातावरण सृजना गर्छ जहाँ केटाकेटीलगायत सबै व्यक्तिहरू नहिचकिचाई तपाईं नजिक आउँछन्। एउटी मसीही बहिनी एक जना प्राचीनसित किन खुलेर कुरा गर्नसक्ने भइन् त्यसबारे यसो भन्छिन्: “उहाँले मसित कोमल अनि कृपालु हुँदै कुरा गर्नुहुन्छ। अन्यथा, म एक शब्द पनि बोल्ने थिइनँ होला। उहाँ मलाई ढुक्क महसुस गराउनुहुन्थ्यो।”
अरूको ख्याल गर्ने
७. (क) अरूको ख्याल राख्नुहुन्छ भनेर येशूले कसरी देखाउनुभयो? (ख) येशूले एक जना अन्धाको दृष्टि किन बिस्तारै निको पारिदिनुभएको हुनसक्छ?
७ येशू अरूको ख्याल गर्नुहुन्थ्यो। उहाँ अरूको भावनाहरूप्रति सचेत हुनुहुन्थ्यो। कष्टमा परेकाहरूलाई देख्दा मात्र पनि उहाँको मन त्यो हदसम्म छुन्थ्यो कि उहाँ तिनीहरूको त्यो कष्टलाई हटाउन अघि सर्नुहुन्थ्यो। (मत्ती १४:१४) उहाँ अरूको सीमितता र आवश्यकताहरूको पनि ख्याल गर्नुहुन्थ्यो। (यूहन्ना १६:१२) एक पटक मानिसहरूले एक जना अन्धालाई येशूसामु ल्याएर त्यसलाई निको पारिदिऊन् भनेर आग्रह गरे। येशूले त्यस मानिसको दृष्टि फर्काइदिनुभयो, तर बिस्तारै। सुरुमा त त्यो मानिसले अरू मानिसहरूलाई त्यति ठिम्याउन सकेन अर्थात् उसले मानिसहरू “रूखहरू जस्तै, हिंड़िरहेका” देख्यो। त्यसपछि येशूले उसको दृष्टि पूर्णतया फर्काइदिनुभयो। उहाँले त्यो मानिसलाई किन बिस्तारै निको पार्नुभयो? निष्पटट् अन्धकारमा बस्ने बानी भइसकेको मानिसलाई एक्कासी घामको ज्योति र यो जटिल संसार हेर्न लगाउँदा ऊ तिरमिराउनसक्ने भएकोले त्यसो नहोस् भनेर येशूले बिस्तारै बिस्तारै दृष्टि निको पारिदिनुभएको हुनसक्छ।—मर्कूस ८:२२-२६.
८, ९. (क) डिकापोलिस प्रान्तमा छिर्ने बित्तिकै येशू र उहाँका चेलाहरूलाई के भयो? (ख) येशूले बहिरो मानिसलाई कसरी निको पार्नुभयो, वर्णन गर्नुहोस्।
८ सा.यु. ३२ को निस्तार चाडपछि भएको घटनालाई पनि विचार गर्नुहोस्। येशू र उहाँका चेलाहरू गालील समुद्रको पूर्वतिर डिकापोलिस प्रान्तमा जानुभयो। केही बेरमै ठूलो भीडले उहाँहरूलाई भेट्टाइहाल्यो र रोगी, अशक्तहरूलाई येशूकहाँ ल्याए अनि उहाँले तिनीहरू सबैलाई निको पारिदिनुभयो। (मत्ती १५:२९, ३०) चाखलाग्दो कुरा के हो भने, येशूले तीमध्ये एक जना मानिसलाई विशेष ध्यान दिनुभयो। सुसमाचारका लेखक मर्कूसले मात्र यो घटना लिपिबद्ध गरेका छन्।—मर्कूस ७:३१-३५.
९ त्यो मानिस बहिरो र भकभके थियो। येशूले यो मानिसको हिचकिचाहट वा शर्मको भावना देख्नुभएको हुनसक्छ। त्यसपछि येशूले अलिक अनौठो काम गर्नुभयो। उहाँले त्यस मानिसलाई भीडबाट अलि पर एकान्तमा लानुभयो। अनि येशूले आफूले के गर्न लाग्नुभएको हो इसारा गरेर त्यस मानिसलाई थाह दिनुभयो। उहाँले “आफ्ना औंला त्यसका कानमा लगाउनुभयो, र थुकेर त्यसको जिब्रो छुनुभयो।” (मर्कूस ७:३३) त्यसपछि येशूले माथि स्वर्गतिर हेर्नुभयो र प्रार्थनापूर्वक लामो सास फेर्नुभयो। यो सांकेतिक भाषाले “म जे गर्न लागिरहेको छु त्यो परमेश्वरको शक्तिले हो” भनी त्यस मानिसलाई बुझाइरहेको थियो। अन्तमा, येशूले भन्नुभयो: “खोलिजा।” (मर्कूस ७:३४) त्यतिखेरै त्यो मानिसले सुन्नसक्यो र राम्ररी बोल्नसक्यो।
१०, ११. हामीले मण्डलीमा अनि परिवारमा कसरी अरूको भावनाको ख्याल राख्नसक्छौं?
१० येशूले अरू व्यक्तिहरूको कत्ति ख्याल गर्नुहुँदो रहेछ! उहाँ तिनीहरूका भावनाहरूप्रति संवेदनशील हुनुहुन्थ्यो र उहाँ अरूको भावनालाई ठेस नपुऱ्याई काम गर्नुहुन्थ्यो। मसीही भएको नाताले यस सम्बन्धमा हामीले येशूको मन खेती गर्नुपर्छ, प्रदर्शन गर्नुपर्छ। बाइबल हामीलाई यस्तो सल्लाह दिन्छ: “तिमीहरू सबै एक मनका, सहानुभूति देखाउने, भातृ-प्रेम गर्ने, कोमल हृदयका, नम्र मनका” होओ। (१ पत्रुस ३:८) यसले हामीलाई अरूको भावनाको ख्याल राख्दै कामकुरा गर्नुपर्ने आवश्यकता बोध गराउँछ।
११ मण्डलीमा अरूको कदर गर्दै अरूले हामीसित जस्तो व्यवहार गरेको चाहन्छौं त्यस्तै व्यवहार गर्दै अरूको भावनाको ख्याल गर्नसक्छौं। (मत्ती ७:१२) यसमा हामी के भन्छौं र कसरी भन्छौं त्यसमा होसियार हुनु समावेश छ। (कलस्सी ४:६) नबिर्सनुहोस्, “व्यर्थको गफ तरवारझैं तीखो हुन्छ।” (हितोपदेश १२:१८) अनि परिवारमा नि? एकअर्कालाई साँच्चै माया गर्ने लोग्नेस्वास्नी एकअर्काको भावनाहरूप्रति संवेदनशील हुन्छन्। (एफिसी ५:३३) तिनीहरू कठोर शब्दहरू, तीखो आलोचना, व्यंग्यात्मक बोलीको प्रयोगबाट अलग बस्छन्। किनकि ती कुराहरूले अरूको भावनामा सजिलै निको नहुने चोट पुऱ्याउँछ। बच्चाहरूका पनि भावना हुन्छन् र मायालु आमाबाबुले यसलाई ध्यानमा राख्छन्। अनुशासन दिनु आवश्यक पर्दा यस्ता आमाबाबुहरूले छोराछोरीको भावनाको कदर गर्दै तिनीहरूलाई अनावश्यक शर्म महसुस गर्नदेखि जोगाउँदै अनुशासन दिन्छन्।c (कलस्सी ३:२१) यसरी हामीले अरूको ख्याल गर्दा हामीसित ख्रीष्टको मन छ भनी देखाइरहेका हुन्छौं।
अरूलाई भरोसा गर्न इच्छुक
१२. आफ्ना चेलाहरूप्रति येशूको कस्तो सन्तुलित अनि व्यावहारिक दृष्टिकोण थियो?
१२ चेलाहरूप्रति येशूको दृष्टिकोण सन्तुलित अनि व्यावहारिक थियो। तिनीहरू सिद्ध छैनन् भनेर उहाँलाई राम्ररी थाह थियो। आखिर, उहाँ मानिसहरूको हृदय पनि पढ्न सक्नुहुन्थ्यो। (यूहन्ना २:२४, २५) त्यसो भए तापनि, उहाँले तिनीहरूको असिद्धता मात्रै देख्नुभएन तर तिनीहरूको असल गुणहरू पनि देख्नुभयो। यहोवाले खिंच्नुभएका यी पुरुषहरूमा लुकेका सम्भावनाहरू पनि उहाँले देख्नुभयो। (यूहन्ना ६:४४) आफ्ना चेलाहरूप्रतिको येशूको सकारात्मक दृष्टिकोण उहाँले तिनीहरूसित गर्नुभएको व्यवहारमा देखिन्थ्यो। जस्तै उहाँ तिनीहरूमाथि भरोसा गर्न इच्छुक हुनुहुन्थ्यो।
१३. आफ्ना चेलाहरूमाथिको भरोसा येशूले कसरी प्रदर्शन गर्नुभयो?
१३ येशूले यो भरोसा कसरी प्रकट गर्नुभयो? पृथ्वी छोड्नुहुँदा उहाँले आफ्ना अभिषिक्त चेलाहरूलाई गम्भीर जिम्मेवारी सुम्पनुभयो। उहाँले तिनीहरूलाई विश्वव्यापी तवरमा हुने राज्यसम्बन्धी कामकुराको हेरचाह गर्ने जिम्मेवारी सुम्पनुभयो। (मत्ती २५:१४, १५; लूका १२:४२-४४) सेवकाईको दौडान उहाँले सानो-तिनो कुरामा पनि अप्रत्यक्ष तरिकामा तिनीहरूमाथि भरोसा प्रकट गर्नुभयो। भीडलाई खुवाउन चमत्कारी ढंगमा प्रशस्त भोजनको प्रबन्ध गर्नुहुँदा उहाँले खाना बाँड्ने जिम्मेवारी चेलाहरूलाई सुम्पनुभयो।—मत्ती १४:१५-२१; १५:३२-३७.
१४. मर्कूस ४:३५-४१ मा दिइएको विवरणलाई सारांशमा तपाईं कसरी वर्णन गर्नुहुन्छ?
१४ मर्कूस ४:३५-४१ को विवरणलाई पनि ध्यान दिनुहोस्। येशू र उहाँका चेलाहरू एउटा डुंगामा चढेर गालील समुद्रको पूर्वतिर जाँदै थिए। किनाराबाट अलि पर मात्र के पुगेका थिए, येशू डुंगाको पछिल्तिर पल्टनुभयो र सुत्नुभयो। तथापि, चाँडै “त्यहाँ ठूलो बतासको हुरी चल्यो।” गालील समुद्रमा यस्तो हुरी चल्नु अनौठो कुरा थिएन। समुद्रको सतहभन्दा लगभग २०० मिटर तल भएकोले गालील समुद्रको सतह वरपरको वातावरणभन्दा निकै न्यानो हुन्छ र फलतः बतास चल्छ। यसको अलावा, उत्तरतिर रहेको हर्मोन डाँडाबाट पनि यर्दन उपत्यकामा बेतोडले बतास चल्छ। अतः कुनै पनि बेला एक्कासी हुरी चलिहाल्नसक्छ। सोच्नुहोस्: गालीलमै हुर्कनुभएकोले येशूलाई यस्तो हुरीबारे राम्ररी थाह थियो। यद्यपि, आफ्ना कुशल चेलाहरू जसमध्ये कोही कोही माझी पनि थिए, तिनीहरूमाथि भरोसा गरेर उहाँ शान्तसित सुतिरहनुभयो।—मत्ती ४:१८, १९.
१५. येशूले आफ्ना चेलाहरूमाथि भरोसा गर्न देखाउनुभएको इच्छुकताको हामी कसरी अनुकरण गर्नसक्छौं?
१५ के हामी आफ्ना चेलाहरूमाथि भरोसा गर्न इच्छुक येशूको अनुकरण गर्नसक्छौं? कसै कसैलाई अरूलाई जिम्मेवारी सुम्पन गाह्रो लाग्छ। भनौं भने, तिनीहरू सधैं नै नाइके भएर बस्न रुचाउँछन्, जस्तो लाग्छ। तिनीहरू सोच्लान्, ‘यो काम ठीकसँग गर्ने हो भने म आफैले नै गर्नुपर्छ!’ तर यदि सबथोक आफैले नै गर्नुपऱ्यो भने हामी थाकेर चूर हुनसक्छौं र आफ्नो परिवारसित बिताउनुपर्ने समय पनि अनावश्यक तवरमा अन्यत्र खर्च भइरहेको हुनसक्छ। यसबाहेक, उपयुक्त कार्य तथा जिम्मेवारी अरूसित बाँडेनौं भने हामीले तिनीहरूलाई अनुभव र तालिम हासिल गर्नदेखि वञ्चित गराइरहेका हुनेछौं। तसर्थ, अरूसित काम बाँडेर तिनीहरूमाथि भरोसा गर्न सिक्नु बुद्धिमानी हुनेछ। आफैलाई इमानदार भई यी प्रश्नहरू सोध्नु बेस हुनेछ: ‘के यस विषयमा मसित ख्रीष्टको मन छ? के म केही खास काम अरूले पनि राम्ररी गर्नसक्छ भन्ने भरोसा गर्दै तिनीहरूसित आफ्नो काम बाँड्न इच्छुक छु?’
उहाँले चेलाहरूमाथि आफ्नो विश्वास देखाउनुभयो
१६, १७. चेलाहरू उहाँलाई छोडेर भाग्नेछन् भन्ने थाह हुँदाहुँदै पनि आफ्नो पार्थिव जीवनको अन्तिम रात येशूले आफ्ना चेलाहरूलाई कस्तो आश्वासन दिनुभयो?
१६ येशूले आफ्ना चेलाहरूमाथि अर्को महत्त्वपूर्ण तरिकामा पनि सकारात्मक दृष्टिकोण राखेर देखाउनुभयो। तिनीहरूमाथि आफ्नो भरोसा छ भनेर उहाँले तिनीहरूलाई थाह दिनुभयो। आफ्नो पार्थिव जीवनको अन्तिम रात आफ्ना चेलाहरूलाई भन्नुभएको सान्त्वनादायी शब्दहरूबाट यो प्रस्टै देखिन्छ। के भयो ध्यान दिनुहोस्।
१७ त्यो साँझ येशू साह्रै व्यस्त हुनुहुन्थ्यो। उहाँले चेलाहरूलाई तिनीहरूको खुट्टा धोइदिनुभएर नम्रताको पाठ सिकाउनुभयो। पछि उहाँले साँझको भोज स्थापित गर्नुभयो। त्यसपछि उहाँको मृत्युको स्मरणार्थ हुने थियो। त्यसपछि प्रेरितहरू फेरि को ठूलो भन्ने कुरामा चर्काचर्की बहस गर्न थाले। सदाझैं धीरजी हुँदै येशूले तिनीहरूसित तर्क गर्नुभयो, गाली गर्नुभएन। उहाँले तिनीहरूलाई अगाडि हुने कुरा भन्नुभयो: “यही रात तिमीहरू मप्रति रुष्ट हुनेछौ, किनभने यसो लेखिएको छ, म गोठालालाई प्रहार गर्नेछ, र बगालका भेड़ाहरू जता-ततै तितर-बितर हुनेछन्।” (मत्ती २६:३१; जकरिया १३:७) आफूलाई खाँचो परेको बेला आफ्ना निकटतम मित्रहरूले आफूलाई छोड्नेछन् भनेर उहाँलाई थाह थियो। तैपनि, उहाँले तिनीहरूको भर्त्सना गर्नुभएन। यसको विपरीत उहाँले तिनीहरूलाई भन्नुभयो: “तर मेरो पुनरुत्थान भएपछि, म तिमीहरूभन्दा अगि गालीलमा जानेछु।” (मत्ती २६:३२) हो, तिनीहरूले त्यागे पनि उहाँ तिनीहरूलाई कहिल्यै त्याग्नुहुनेछैन भनी तिनीहरूलाई निश्चिन्त गराउनुभयो। यो भीषण परीक्षा सिद्धिसकेपछि उहाँले तिनीहरूलाई फेरि भेट्नुहुनेथियो।
१८. गालीलमा येशूले आफ्ना चेलाहरूलाई कस्तो गम्भीर जिम्मेवारी सुम्पनुभयो र प्रेरितहरूले यो आदेश कसरी पूरापूर पालन गरे?
१८ येशूले जे भन्नुभयो, त्यो गरेर देखाउनुभयो। पुनरुत्थान हुनुभएका येशू, पछि गालीलमा अरू थुप्रै व्यक्तिहरूसित भेला भएका ११ जना विश्वासी चेलाहरूकहाँ देखा पर्नुभयो। (मत्ती २८:१६, १७; १ कोरिन्थी १५:६) त्यहाँ येशूले तिनीहरूलाई यो गम्भीर जिम्मेवारी सुम्पनुभयो: “गएर सबै देशका जातिहरूलाई चेला बनाओ, र पिता, पुत्र र पवित्र आत्माको नाउँमा बप्तिस्मा देओ। जे जे मैले तिमीहरूलाई आज्ञा गरें, तिनीहरूलाई ती सबै गर्नालाई सिकाओ।” (मत्ती २८:१९, २०) प्रेरितहरूले यो आदेश पूरापूर पालन गरे भनी प्रेरितको पुस्तकले हामीलाई स्पष्ट प्रमाण दिन्छ। प्रथम शताब्दीमा राज्यको सुसमाचार प्रचार गर्ने कामलाई तिनीहरूले विश्वासी भई जोडतोडका साथ अगाडि बढाए।—प्रेरित २:४१, ४२; ४:३३; ५:२७-३२.
१९. पुनरुत्थान हुनुभएपछि येशूले गर्नुभएका कामहरूले हामीलाई ख्रीष्टको मनबारे के सिकाउँछ?
१९ यो प्रकटित विवरणले हामीलाई ख्रीष्टको मनबारे के सिकाउँछ? येशूले आफ्ना चेलाहरूको कमी-कमजोरी राम्ररी देख्नुभएको थियो तैपनि तिनीहरूलाई “अन्त्यसम्मनै प्रेम गर्नुभयो।” (यूहन्ना १३:१) तिनीहरूका त्रुटिहरूको बावजूद उहाँले तिनीहरूमाथि भरोसा गर्नुभयो। याद गर्नुहोस्, येशूले तिनीहरूमाथि भरोसा गर्नुभएर भूल गरिरहनुभएको थिएन। उहाँले देखाउनुभएको भरोसा र विश्वासले तिनीहरूलाई उहाँले आज्ञा गर्नुभएको काम पूरा गर्ने अठोट गर्न बल दियो।
२०, २१. हामीले सँगी विश्वासीहरूप्रति सकारात्मक दृष्टिकोण कसरी प्रकट गर्नसक्छौं?
२० यस सम्बन्धमा हामी ख्रीष्टको मन कसरी प्रकट गर्नसक्छौं? सँगी विश्वासीहरूको कमजोरी मात्र हेर्ने नगर्नुहोस्। तपाईं खराब पक्षहरूलाई मात्र हेर्नुहुन्छ भने त्यो तपाईंको बोलीवचन र कामकुरामा झल्किनेछ। (लूका ६:४५) प्रेमले “सबै कुराको पत्यार गर्छ” भनी बाइबल हामीलाई बताउँछ। (१ कोरिन्थी १३:७) प्रेम सकारात्मक हुन्छ, नकारात्मक होइन। त्यसले प्रोत्साहन दिन्छ, मन भाँच्दैन। मानिसहरू डर-धम्कीभन्दा पनि माया र प्रोत्साहन दिंदा तुरुन्तै प्रतिक्रिया व्यक्त गर्छन्। मानिसहरूमाथि आफ्नो भरोसा जाहेर गरेर हामी तिनीहरूलाई बलियो पार्नसक्छौं, प्रोत्साहन दिनसक्छौं। (१ थिस्सलोनिकी ५:११) ख्रीष्टजस्तै हाम्रो पनि भाइहरूप्रति सकारात्मक दृष्टिकोण छ भने हामी तिनीहरूसित तिनीहरूलाई प्रोत्साहित पार्ने र तिनीहरूको असल कुरा तिखार्ने ढंगमा व्यवहार गरिरहेका हुनेछौं।
२१ ख्रीष्टको मन खेती गर्नु र प्रकट गर्नुमा ख्रीष्टले गर्नुभएका केही कुराहरू मात्र अनुकरण गर्नु पर्याप्त छैन। अघिल्लो लेखमा उल्लेख गरिएझैं येशूले जस्तै साँच्चै काम गर्ने हो भने सर्वप्रथम हामीले उहाँको दृष्टिकोण अपनाउनुपर्छ। सुसमाचारका पुस्तकहरूले हामीलाई उहाँको व्यक्तित्वको अर्को पक्ष अर्थात् सुम्पिएको कार्यभारप्रतिको उहाँको विचार र भावनालाई नियाँल्न मदत गर्छ। यसबारे अर्को लेखमा छलफल गरिनेछ।
[फुटनोटहरू]
a उक्त लेखोटमा जाली व्यक्तिले येशूको कपाल, दाह्री अनि आँखाको रंगसमेत बताउँदै उहाँको रंगरूप वर्णन गरेको छ। बाइबल अनुवादक एड्गर जे. गूडस्पीडअनुसार यो जालसाजी “चित्रकारको हातेपुस्तकमा येशूको रंगरूपबारे दिइएको वर्णनलाई समर्थन गर्न तयार पारिएको थियो।”
b ती केटाकेटीहरू एउटै उमेरका थिएनन्। यहाँ “साना केटाकेटी” भनी प्रयोग गरिएको शब्द याइरसकी १२ वर्षकी छोरीलाई पनि प्रयोग गरिएको थियो। (मर्कूस ५:३९, ४२; १०:१३) तथापि, लूकाले आफ्नो विवरणमा शिशुहरूलाई बुझाउने खालको शब्द प्रयोग गरेका हामी पाउँछौं।—लूका १:४१; २:१२; १८:१५.
c प्रहरीधरहरा, अप्रिल १, १९९८ अंकको “के तपाईं तिनीहरूको मर्यादाको कदर गर्नुहुन्छ?” लेख हेर्नुहोस्।
-
-
के तपाईं येशूले जस्तै गर्न उत्प्रेरित हुनुभएको छ?प्रहरीधरहरा—२००० | फेब्रुअरी १५
-
-
के तपाईं येशूले जस्तै गर्न उत्प्रेरित हुनुभएको छ?
“उहाँ निस्कँदा एउटा ठूलो भीड़ देख्नुभयो, र तिनीहरूमाथि टिठाउनुभयो। किनकि तिनीहरू गोठालो नभएका भेड़ाहरूजस्ता थिए। र उहाँले तिनीहरूलाई धेरै कुरा को शिक्षा दिन लाग्नुभयो।”–मर्कूस ६:३४.
१. व्यक्तिविशेषले प्रशंसनीय गुणहरू प्रकट गर्नु किन बुझ्नसकिने कुरा हो?
इतिहासका पानाभरि थुप्रै व्यक्तिविशेषले प्रशंसनीय गुणहरू प्रकट गरेको भेटिन्छ। कारण तपाईं बुझ्न सक्नुहुन्छ। यहोवा परमेश्वरसित हामी मानवजातिले कदर गर्ने गरेका अन्य थुप्रै गुणहरूको अतिरिक्त प्रेम, दया अनि उदार भाव छ र उहाँ ती प्रकट गर्नुहुन्छ। मानवहरू उहाँको स्वरूपमा सृजिए। त्यसकारण, थुप्रैले केही मात्रामा भए पनि प्रेम, दया, अनुकम्पा र अन्य ईश्वरीय गुणहरू किन प्रकट गर्छन् अनि अन्तस्करणको आभास दिनुका कारण हामी बुझ्नसक्छौं। (उत्पत्ति १:२६; रोमी २:१४, १५) तैपनि, कसै कसैले अरूको तुलनामा यी गुणहरू सजिलै प्रकट गर्न सकेको हामीले देखेका हौंला।
२. ख्रीष्टको अनुकरण गरिरहेका छौं भन्ठान्दै मानिसहरूले गर्ने केही असल काम के के हुन्?
२ रोगले सताइरहेको व्यक्तिलाई अक्सर भेट्न जाने वा मदत गर्ने, अपांगहरूप्रति सहानुभूति दर्साउने वा गरिबहरूलाई उदारचित्त भएर दिने स्त्री तथा पुरुषहरू सायद तपाईंले चिन्नुभएको होला। अनि आफ्नो सम्पूर्ण जीवन कुष्ठ रोगीहरूको सेवामा वा अनाथालयहरूमा बिताउनेहरू, अस्पताल वा नर्सिङ होमहरूमा स्वयंसेवा गर्नेहरू अथवा घरबारविहीन वा शरणार्थीहरूलाई मदत गर्न यत्न गर्ने सहानुभूतिशील व्यक्तिहरूबारे पनि सोच्नुहोस्। हुनसक्छ, तिनीहरूमध्ये कसै कसैलाई आफूले मसीहीहरूका लागि नमुना छोड्नुहुने येशूको अनुकरण गरिरहेको जस्तो लाग्दो हो। सुसमाचारका पुस्तकहरूमा ख्रीष्टले रोगीहरूलाई निको पार्नुभएको र भोकाहरूलाई खुवाउनुभएको घटनाबारे हामी पढ्छौं। (मर्कूस १:३४; ८:१-९; लूका ४:४०) येशूले देखाउनुभएको प्रेम, कोमलता अनि अनुकम्पा “ख्रीष्टको मन[को]” प्रतिबिम्ब हुन्। उहाँ सधैं स्वर्गमा हुनुहुने आफ्नो पिताको अनुकरण गर्नुहुन्थ्यो।—१ कोरिन्थी २:१६.
३. येशूले गर्नुभएका असल कामहरूप्रति सन्तुलित दृष्टिकोण राख्न हामीले के विचार गर्नु आवश्यक छ?
३ तथापि, आज थुप्रै मानिसहरू येशूको प्रेम अनि अनुकम्पादेखि उत्प्रेरित भए तापनि ख्रीष्टको मनको मुख्य पक्षलाई नै बुझ्न नसकेको तपाईंले देख्नुभएको छ कि? मर्कूस अध्याय ६ लाई होसियारीसाथ विचार गरेर हामी यसबारे अन्तरदृष्टि पाउनसक्छौं। हामी त्यहाँ मानिसहरूले येशूकहाँ रोगीहरू निको पार्नलाई ल्याएको कुरा पढ्छौं। उहाँकहाँ आउने हजारौं मानिसहरू भोकाएका देख्नुभएपछि येशूले तिनीहरूलाई चमत्कार गरेर खुवाउनुभएको पनि हामी त्यहाँ पाउँछौं। (मर्कूस ६:३५-४४, ५४-५६) रोगीहरूलाई निको पार्नु र भोकाहरूलाई खुवाउनु प्रेम र अनुकम्पाको अतुलनीय प्रदर्शन भए तापनि के येशूले अरूलाई मदत गर्नुभएको प्रमुख तरिका यही थियो त? अनि जसरी उहाँले यहोवाको अनुकरण गर्नुभयो, त्यसै गरी हामीले प्रेम, दया र अनुकम्पा देखाउने क्षेत्रमा येशूले छाड्नुभएको सिद्ध नमुना सकेसम्म हुबहु कसरी अनुकरण गर्नसक्छौं?
आध्यात्मिक आवश्यकता पूरा गर्न अग्रसर
४. मर्कूस ६:३०-३४ को पृष्ठभूमि के थियो?
४ येशू आफू वरपरका मानिसहरूको विशेष गरी आध्यात्मिक आवश्यकताहरू देखेर टिठाउनुहुन्थ्यो। यी आवश्यकताहरू शारीरिक आवश्यकताभन्दा बढ्ता महत्त्वपूर्ण थिए। मर्कूस ६:३०-३४ को विवरणलाई याद गर्नुहोस्। त्यहाँ लिपिबद्ध गरिएको घटना गालील समुद्रको किनारामा सा.यु. ३२ को निस्तार चाड सुरु हुनुभन्दा केही समयअघि भएको थियो। प्रेरितहरू उत्सुक थिए र त्यो स्वाभाविक पनि थियो। बृहत् भ्रमण पूरा गरिसकेपछि आफूले संगालेका अनुभवहरू बताउन उत्सुक हुँदै तिनीहरू येशूकहाँ आए। तथापि, भीड जम्मा भयो। भीड अति ठूलो भएकोले येशू र उहाँका प्रेरितहरूले खान वा आरामसमेत गर्न पाउनु भएन। येशूले प्रेरितहरूलाई यसो भन्नुभयो: “तिमीहरू आफै पनि सुटुक्क एकान्त ठाउँमा आओ, र केही थकाइ मार।” (मर्कूस ६:३१) एउटा डुंगामा चढेर उहाँहरू गालील समुद्रपारि शान्त ठाउँमा सायद कफर्नहुमतिर जानुभयो। तर भीडहरू किनारैकिनार भएर डुंगा आइपुग्नु अगावै त्यहाँ पुगे। येशूले के गर्नुभयो? एकछिन पनि थकाइ मार्न नदिएकोमा के उहाँ रिसाउनुभयो? अहँ! पटक्कै रिसाउनुभएन!
५. उहाँकहाँ आउने भीड देखेर येशूलाई कस्तो लाग्यो र कस्तो प्रतिक्रिया व्यक्त गर्नुभयो?
५ उत्सुकतासाथ उहाँलाई पर्खिरहेका रोगीहरूका साथै हजारौं मानिसहरूको भीड देखेर येशूको मन पग्लियो। (मत्ती १४:१४; मर्कूस ६:४४) येशू किन अनुकम्पाले भरिनुभयो र उहाँले त्यसपछि के गर्नुभयो, त्यसतर्फ ध्यान खिंच्दै मर्कूसले लेखे: “उहाँ निस्कँदा एउटा ठूलो भीड़ देख्नुभयो, र तिनीहरूमाथि टिठाउनुभयो। किनकि तिनीहरू गोठालो नभएका भेड़ाहरूजस्ता थिए। र उहाँले तिनीहरूलाई धेरै कुरा को शिक्षा दिन लाग्नुभयो।” (मर्कूस ६:३४) येशूले त्यहाँ थुप्रै मानिसहरूको भीड मात्र देख्नुभएन। उहाँले तिनीहरूको आध्यात्मिक आवश्यकता पनि देख्नुभयो। तिनीहरू हरियो चौरमा चराउन लैजाने वा हेरचाह गर्ने गोठालो नभएको असहाय भेडाहरूजस्तै थिए। मायालु गोठालो साबित हुनुपर्नेमा कठोर हृदय भएका धार्मिक नेताहरूले उल्टो आम जनताहरूलाई तुच्छ ठानिरहेका र तिनीहरूको आध्यात्मिक आवश्यकतालाई बेवास्ता गरिरहेका छन् भनी येशूलाई थाह थियो। (इजकिएल ३४:२-४; यूहन्ना ७:४७-४९) येशूले तिनीहरूसित भिन्नै तरिकामा, सकेसम्म तिनीहरूको भलो हुने व्यवहार गर्न चाहनुभयो। उहाँले तिनीहरूलाई परमेश्वरको राज्यबारे सिकाउन थाल्नुभयो।
६, ७. (क) मानिसहरूको आवश्यकता पूरा गर्ने सम्बन्धमा येशूले दिनुभएको प्राथमिकतालाई सुसमाचारका पुस्तकहरूले कसरी प्रकट गरेको छ? (ख) केले येशूलाई प्रचार गर्न र सिकाउन उत्प्रेरित गऱ्यो?
६ यसै घटनालाई लिएर अर्का लेखकले दिएको विवरणमा कुन कुन कुरालाई क्रमैसित प्राथमिकता दिइएको छ विचार गर्नुहोस्। यो, अरूको सु-स्वास्थ्यमा निकै चासो दिने चिकित्सक लूकाको विवरण हो। “भीड़हरू [येशूका] पछिपछि लागे। औ उहाँले तिनीहरूलाई खुशीसित ग्रहण गर्नुभयो, र परमेश्वरको राज्यको विषयका सुनाउनुभयो, औ निको पार्नु पर्ने जतिलाई निको पार्नुभयो।” (लूका ९:११; कलस्सी ४:१४) लूकाको यस प्रेरित विवरणमा सबैभन्दा पहिले उल्लेख गरिएको कुरा प्रायः येशूले चमत्कार गर्नुभएका अन्य अवसरहरूबारे उल्लेख गरिंदा हरेक चोटी उल्लेख गरिएको छैन? त्यो हो, येशूले मानिसहरूलाई सिकाउनुभयो भन्ने कुरा।
७ मर्कूस ६:३४ मा जोड दिइएको कुरासित यो मेल खान्छ। उक्त पदमा येशूले सबैभन्दा पहिले भीड देखेर टिठाउनुभएको कुरा स्पष्ट पारिएको छ। मानिसहरूको आध्यात्मिक आवश्यकताहरू बुझेर उहाँले तिनीहरूलाई सिकाउनुभयो। आफ्नो सेवकाईको प्रारम्भमा येशूले यसो भन्नुभएको थियो: “मैले अवश्य परमेश्वरको राज्यको सुसमाचार अरू शहरहरूमा पनि सुनाउनुपर्छ, किनकि म यसैको निम्ति पठाइएको हुँ।” (लूका ४:४३) तैपनि, येशूले कर्तव्य बोधको कारण मात्र राज्य सन्देश घोषणा गर्नुभएको वा मानौं उहाँ प्रचार कार्य गर्नैपर्छ भन्दै मेसिनजस्तो हुनुभएको थियो भनेर सोच्नु गलत हुनेछ। बरु, उहाँलाई मुख्यतया मानिसहरूप्रतिको मायालु चासोले अरूसित सुसमाचार बाँड्न उत्प्रेरित गऱ्यो। येशूले रोगी, प्रेतहरूद्वारा सताइएका, गरिब वा भोकाहरूका लागि पुऱ्याउन सक्नुहुने चिरकालीन फाइदा त तिनीहरूलाई परमेश्वरको राज्यबारे सत्य कुरा थाह दिन, ग्रहण तथा प्रेम गर्न मदत गर्नु थियो। यहोवाको सार्वभौमिकता उच्च गर्न र मानवजातिलाई स्थायी आशिष्हरू दिन परमेश्वरको राज्यको भूमिकाको कारण सत्य अत्यावश्यक छ।
८. प्रचार गर्ने र शिक्षा दिने कामलाई येशू कस्तो ठान्नुहुन्थ्यो?
८ येशू पृथ्वीमा आउनुभएको प्रमुख कारण नै परमेश्वरको राज्यबारे सक्रिय प्रचार गर्नु थियो। पार्थिव सेवकाईको अन्तमा येशूले पिलातसलाई भन्नुभयो: “यसैको निम्ति म जन्मेको हुँ, र त्यसैको निम्ति गवाही दिऊँ भनेर म यस संसारमा आएको हुँ। सत्यको जो छ, हरेकले मेरो सोर सुन्छ।” (यूहन्ना १८:३७) येशू कोमल भावना हुनुभएका अर्थात् हेरचाह गर्ने, नजिकिन सजिलो, अरूको विचार राख्ने, भरोसा गर्ने र सबैभन्दा महत्त्वपूर्ण त माया गर्ने व्यक्ति हुनुहुन्थ्यो भनेर अगिल्ला दुई लेखहरूमा हामीले विचार गऱ्यौं। यदि हामी ख्रीष्टको मन साँच्चै बुझ्न चाहन्छौं भने उहाँको व्यक्तित्वको यो पक्षलाई मूल्यांकन गर्नु आवश्यक छ। ख्रीष्टको मनमा उहाँले प्रचारकार्य अनि शिक्षा दिने काममा दिनुभएको प्राथमिकता पनि समावेश छ भनेर बुझ्नु पनि उत्तिकै महत्त्वपूर्ण छ।
उहाँले साक्षी दिन अरूलाई आग्रह गर्नुभयो
९. प्रचार गर्ने र शिक्षा दिने सम्बन्धमा कसले प्राथमिकता दिनुभएको थियो?
९ प्रेम र अनुकम्पा व्यक्त गर्ने तरिका अर्थात् प्रचार गर्ने र शिक्षा दिने काममा प्राथमिकता दिनु येशूको लागि मात्र लागू हुने होइन। अनुयायीहरूलाई उहाँले आफ्नो मनोवृत्ति, प्राथमिकता र कार्यहरू अनुकरण गर्न आग्रह गर्नुभयो। उदाहरणका लागि, येशूले १२ जना चेलाहरू छानिसक्नुभएपछि तिनीहरूले के गर्ने थिए? मर्कूस ३:१४, १५ हामीलाई यसो भन्छ: “तिनीहरू उहाँका साथमा रहन, र तिनीहरूलाई प्रचार गर्न पठाउन, र भूतहरू निकाल्ने अधिकार पनि तिनीहरूलाई होस् भनेर, उहाँले बाह्र जनालाई नियुक्त गर्नुभयो।” प्रेरितहरूले राख्नुपर्ने प्राथमिकता के तपाईंले देख्नुभयो?
१०, ११. (क) प्रेरितहरूलाई पठाउनुहुँदा येशूले तिनीहरूलाई के गर भन्नुभयो? (ख) प्रेरितहरू पठाउनुको कारण के थियो?
१० समयमा ती १२ जनालाई येशूले अरूलाई निको पार्न र भूत निकाल्न सक्षम पार्नुभयो। (मत्ती १०:१; लूका ९:१) त्यसपछि उहाँले तिनीहरूलाई “इस्राएलको घरानामा हराएका भेड़ाहरूकहाँ” पठाउनुभयो। के गर्न? येशूले तिनीहरूलाई यस्तो निर्देशन दिनुभयो: “ ‘स्वर्गको राज्य नजीकै आइपुगेको छ,’ भन्दै प्रचार गर। बिरामीहरूलाई निको पार, मरेकाहरूलाई जगाओ, कोरीहरूलाई शुद्ध पार, भूतहरूलाई निकाल।” (मत्ती १०:५-८; लूका ९:२) वास्तवमा तिनीहरूले के गरे? “तब तिनीहरू निस्केर गई [१] मानिसहरूले पश्चाताप गरून् भन्ने प्रचार गरे। अनि [२] तिनीहरूले धेरै भूतात्माहरूलाई निकाले, र धेरै रोगीहरूलाई तेल घसिदिएर निको पारे।”—मर्कूस ६:१२, १३.
११ हर अवसरमा सुरुमा नै शिक्षा दिनेबारे उल्लेख नगरिएको भए तापनि त्यसबारे उपरोक्त क्रमलाई विचार गर्दा यहाँ प्राथमिकता दिनुपर्ने कुरालाई जोड दिइएको छ वा मनोवृत्तिलाई? (लूका १०:१-८) निको पार्नुअघि शिक्षा दिनेबारे कति पटक उल्लेख गरिएको छ, त्यसलाई हामीले कम महत्त्वको ठान्नु हुँदैन। यो घटनालाई विचार गर्नुहोस्। बाह्र प्रेरितहरूलाई पठाउनुअघि मात्र भीडलाई देखेर येशूको मन पग्लियो। हामी यसो लेखिएको पाउँछौं: “येशू सब शहरहरू र गाउँहरूतिर तिनीहरूका सभाघरहरूमा शिक्षा दिंदै र राज्यको सुसमाचारको प्रचार गर्दै, र हरेक किसिमका रोग र बिमार निको पार्दै हिंड़नुभयो। तर भीड़हरूलाई देखेर उहाँको हृदय तिनीहरूका निम्ति दयाले भरियो। किनभने तिनीहरू गोठालो नभएका भेड़ाहरू जस्तै हैरान भई तितर-बितर भएका थिए। तब उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, ‘फसल ता साँच्चिनै प्रशस्त छ, तर खेतालाहरू भने थोरै छन्। यसकारण तिमीहरूले फसलका प्रभुलाई उहाँको आफ्नो फसलमा खेतालाहरू पठाइदिऊन् भनी बिन्ती गर।’ ”—मत्ती ९:३५-३८.
१२. येशू र प्रेरितहरूले गरेका चमत्कारी कार्यहरूले कुन थप उद्देश्य पूरा गरे?
१२ उहाँसित हुनुहुँदा प्रेरितहरूले केही हदसम्म ख्रीष्टको मनसित भिज्नसके। तिनीहरूको सुकर्मको प्रमुख पक्ष अर्थात् मानिसहरूप्रति मायालु अनि अनुकम्पापूर्ण हुन परमेश्वरको राज्यबारे प्रचार गर्नु र शिक्षा दिनु समावेश छ भनेर तिनीहरूले बुझ्नसके। त्यसअनुरूप रोगी निको पार्ने जस्ता भौतिक सुकर्मले खाँचोमा परेकाहरूका लागि धेरै मदत गरेको थियो। रोग निको पारिएको र चमत्कार गरेर खुवाएको हुनाले केही मानिसहरू आकर्षित हुन्छन् भनेर तपाईंले कल्पना गर्नुभएकै होला। (मत्ती ४:२४, २५; ८:१६; ९:३२, ३३; १४:३५, ३६; यूहन्ना ६:२६) तथापि, शारीरिक मदतको अलावा यी कार्यहरूको कारण दर्शकहरूले येशू परमेश्वरको पुत्र हुनुहुन्छ र मोशाले अगमवाणी गरेका “अगमवक्ता” हुनुहुन्छ भनेर पनि बुझे।—यूहन्ना ६:१४; व्यवस्था १८:१५.
१३. व्यवस्था १८:१८ को भविष्यवाणीले आउनलागेका “अगमवक्ता[को]” कस्तो भूमिकामाथि जोड दियो?
१३ येशू “अगमवक्ता” हुनु किन अर्थपूर्ण थियो? वास्तवमा, भविष्यवाणीमा उहाँको प्रमुख भूमिका के थियो? व्यवस्था १८:१८ यस्तो भविष्यवाणी गर्छ: “तिनीहरूका निम्ति तिनीहरूमध्येबाट म एउटा [मोशाजस्तै] अगमवक्ता खड़ा गर्नेछु। मैले बोल्ने कुरा म त्यसलाई भन्नेछु र त्यसले मेरो आज्ञाअनुसार मानिसहरूसम्म मेरो कुरा पुऱ्याउनेछ।” त्यसै गरी प्रेरितहरूसित कोमल भावना हुनु र त्यो व्यक्त गर्नुका साथै त्यतिखेरै तिनीहरूले ख्रीष्टको मन तिनीहरूको प्रचारकार्य र शिक्षा दिने कार्यमा प्रत्यक्ष देखिनुपर्छ भन्ने निष्कर्षमा पनि पुग्नुपर्थ्यो। यो तिनीहरूले मानिसहरूका लागि गर्नसक्ने सर्वोत्तम कुरा थियो। यसद्वारा रोगी तथा गरिबहरूले यो छोटो मानव जीवन वा एकदुई छाक मात्र होइन स्थायी लाभहरू पाउनसक्थे।—यूहन्ना ६:२६-३०.
आजै ख्रीष्टको मन विकास गर्नुहोस्
१४. हामीले प्रचार गर्ने सम्बन्धमा ख्रीष्टको मन हुनुमा के समावेश छ?
१४ हामीमध्ये कसैलाई पनि प्रथम शताब्दीकाहरूलाई जति ख्रीष्टको मन अनुपम लाग्दैन होला। अर्थात् येशू र प्रारम्भिक मसीहीहरूलाई जति लाग्दैन होला जसबारे पावलले यसो लेखे: “हामीसँग ता ख्रीष्टको मन छ।” (१ कोरिन्थी २:१६) अनि सुसमाचार प्रचार गर्न र चेला बनाउन हामी करमा नै परेका छौं भनेर सहजै स्वीकारौंला। (मत्ती २४:१४; २८:१९, २०) यद्यपि, यो काम गर्ने सम्बन्धमा हामीले आफ्नो मनोवृत्ति केलाउनु फाइदाजनक हुन्छ। हामीले कर्तव्यबोधको कारण यसो गर्न नहुने हो। हामी सेवकाईमा किन भाग लिन्छौं, त्यसको प्रमुख कारण परमेश्वरप्रतिको प्रेम हो र साँच्चै येशूजस्तै हुनुमा प्रचार गर्न र शिक्षा दिन अनुकम्पाको कारण उत्प्रेरित हुनु पनि समावेश छ।—मत्ती २२:३७-३९.
१५. किन अनुकम्पा हाम्रो सेवकाईको अत्यावश्यक भाग हो?
१५ हो, हाम्रो विश्वाससित सहमत नहुनेहरू र विशेष गरी भावशून्यता, तिरस्कार वा विरोध सामना गर्नुपर्दा ती व्यक्तिहरूप्रति अनुकम्पा प्रकट गर्नु सधैं सजिलो हुँदैन। यद्यपि, मानिसहरूप्रति हाम्रो प्रेम र अनुकम्पा गुमायौं भने हामीले मसीही सेवकाईमा भाग लिने अत्यावश्यक उत्प्रेरणा पनि गुमाउनेछौं। त्यसोभए, हामी कसरी अनुकम्पा खेती गर्नसक्छौं? हामीले मानिसहरूप्रति येशूको जस्तै दृष्टिकोण राखेर अर्थात् तिनीहरूलाई “गोठालो नभएका भेड़ाहरू जस्तै हैरान भई तितर-बितर भएका” छन् भन्ठानेर। (मत्ती ९:३६) के आज थुप्रै यस्तै छैनन् र? तिनीहरू झूटा धार्मिक गोठालाहरूका कारण तिरस्कृत र अन्धो भएका छन्। फलतः, तिनीहरूलाई बाइबलमा पाइने निश्छल निर्देशनहरू थाह छैन न त परमेश्वरको राज्यले चाँडै यस पृथ्वीमा ल्याउने प्रमोदवनरूपी अवस्थाबारे नै थाह छ। तिनीहरूसित परमेश्वरको राज्यले ल्याउने आशा छैन र तिनीहरूले गरिबी, पारिवारिक कलह, रोग र मृत्युलगायत जीवनका दैनिक समस्याहरू सामना गरिरहेका छन्। हामीसित तिनीहरूलाई चाहिएकै कुरा छ: स्वर्गमा स्थापित परमेश्वरको राज्यको जीवनरक्षक सुसमाचार!
१६. हामी अरूसित सुसमाचार किन बाँड्न चाहन्छौं?
१६ आफू वरपरकाहरूको आध्यात्मिक आवश्यकताहरूमा ध्यान केन्द्रित गर्दा के तपाईं तिनीहरूलाई परमेश्वरको मायालु प्रबन्धबारे सबथोक भन्न हृदयदेखि नै उत्प्रेरित हुनुहुन्न र? हो, हाम्रो काम अनुकम्पापूर्ण छ। येशूले जस्तै मानिसहरूप्रति समानुभूति छ भने त्यो हाम्रो बोल्ने तरिका, हाम्रो अनुहार अनि हामीले शिक्षा दिने तरिकामा प्रस्टिन्छ। यी सबले “अनन्त जीवनका लागि नियुक्त भएकाहरू जत्ति[का]” लागि हाम्रो सन्देश कर्णप्रिय बनाउँछ।—प्रेरित १३:४८.
१७. (क) अरूप्रतिको हाम्रो प्रेम र अनुकम्पा प्रकट गर्ने केही तरिकाहरू के के हुन्? (ख) किन यो, कि असल कामहरू गर्ने कि त जनसेवकाईमा भाग लिने कुरा होइन?
१७ पक्कै पनि हाम्रो सम्पूर्ण जीवनमा प्रेम र अनुकम्पा झल्कनुपर्छ। यसमा खाँचोमा परेका, रोगी र गरिबहरूप्रति दयालु हुनु अर्थात् तिनीहरूको पीडा कम गर्न व्यावहारिक भई हामीले गर्नसकेजति गर्नु पनि समावेश छ। यसमा मृत्युको कारण प्रियजनहरू गुमाएकाहरूको शोक हरण गर्ने प्रयासमा हामीले बोलेका र गरेका कामहरू पनि समावेश छन्। (लूका ७:११-१५; यूहन्ना ११:३३-३५) यद्यपि, प्रेम, दया र अनुकम्पाको यस्तो प्रकटिकरण हाम्रो कोही कोही मानववादीहरूको जस्तै असल कार्यतिर ध्यान खिच्ने मुख्य कुरा पटक्कै हुनुहुँदैन। योभन्दा पनि चिरकालीन अर्थ राख्ने कुरा त माथि उल्लेख गरिएका ईश्वरीय गुणहरूले उत्प्रेरित भई गरिएका प्रयासहरू हुन् जुन मसीही प्रचारकार्य र शिक्षा दिने कार्यमा भाग लिंदा प्रकट हुन्छन्। यहूदी धार्मिक नेताहरूबारे येशूले के भन्नुभयो सम्झनुहोस्: “तिमीहरू पदीना र सूँप र जीराको दशौं भाग दिन्छौ, औ व्यवस्थाका तीभन्दा गहकिला कुराहरू, अर्थात् न्याय, दया र विश्वास छोड़दछौ। तर तिमीहरूले यो पनि गरेर ती पनि नछोड़नु पर्थ्यो।” (मत्ती २३:२३) येशूले कि यो कि त त्यो भन्नु भएन अर्थात् मानिसहरूलाई कि भौतिक आवश्यकता पूरा गर्न मदत गर्नू कि जीवन दिने आध्यात्मिक कुराहरू सिकाउनू, भन्नुभएन। येशूले यी दुवै गर्नुभयो। तैपनि, उहाँको शैक्षिक कार्य सबैभन्दा पहिलो थियो भन्ने कुरामा दुई मत छैन किनकि यही असल कार्यद्वारा उहाँले अनन्तसम्म मदत हुने काम गरिरहनुभएको थियो।—यूहन्ना २०:१६.
१८. ख्रीष्टको मन विचार गर्दा हामीलाई के गर्न उत्प्रेरित गर्छ?
१८ यहोवाले हाम्रोनिम्ति ख्रीष्टको मन प्रकट गरिदिनुभएकोमा हामी कत्ति कृतज्ञ हुनसक्छौं! सुसमाचारका पुस्तकहरू मार्फत हामीले आजसम्म बाँचेकाहरूमध्ये सबैभन्दा महान् पुरुषका विचार, भावना, गुण, क्रियाकलाप र प्राथमिकताहरू अझ राम्ररी बुझ्नसक्यौं। बाइबलले येशूबारे प्रकट गरेका कुराहरू पढ्ने अनि मनन गर्ने कि नगर्ने त्यो हामीमा भर पर्छ। नबिर्सनुहोस्, येशूले जस्तै गर्न चाहन्छौं भने असिद्धताको बावजूद क्षमताले भ्याएसम्म हामीले सर्वप्रथम उहाँले जस्तै सोच्नैपर्छ, महसुस गर्नैपर्छ अनि स्थिति पारख गर्नैपर्छ। त्यसकारण, आउनुहोस्, ख्रीष्टको मन खेती गर्न र प्रदर्शन गर्न दृढ होऔं। यसभन्दा असल तरिकामा जीवन बिताउने, मानिसहरूसित व्यवहार गर्ने अनि हामी र अरू येशूले पूर्णतया प्रतिबिम्बित गर्नुभएको हाम्रो मायालु परमेश्वर यहोवासित नजिकिने अरू कुनै तरिका छैन।—२ कोरिन्थी १:३; हिब्रू १:३.
-
-
के तपाईं येशूले जस्तै गर्न उत्प्रेरित हुनुभएको छ?प्रहरीधरहरा—२००० | फेब्रुअरी १५
-
-
[पृष्ठ २३-मा भएको पृष्ठभरिको चित्र]
-