प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • “मैले पनि परमेश्‍वरमा आशा राखेको छु”
    प्रहरीधरहरा (अध्ययन संस्करण)—२०१७ | डिसेम्बर
    • १५. येशू “अगौटे फल” हुनु किन अर्थपूर्ण छ?

      १५ पुनर्जीवित हुनुभएपछि येशूले जुन जीवन पाउनुभयो, त्यस्तो जीवन पहिला अरू कसैले पाएका थिएनन्‌। अनि उहाँले त्यस्तो जीवन पाउनु एकदमै अर्थपूर्ण थियो। (प्रेषि. २६:२३) तर पुनर्जीवित भएर स्वर्गमा जाने व्यक्‍ति उहाँ मात्र होइन, अरू पनि हुनेछन्‌ भनेर प्रतिज्ञा गरिएको थियो। आफ्ना वफादार प्रेषितहरूले स्वर्गमा आफूसँगै शासन गर्नेछन्‌ भनेर येशूले आश्‍वासन दिनुभयो। (लूका २२:२८-३०) यस्तो इनाम पाउन पहिला तिनीहरूको मृत्यु हुनु आवश्‍यक थियो। पछि तिनीहरू ख्रीष्टजस्तै अदृश्‍य शरीरमा पुनर्जीवित हुनेथिए। पावलले लेखे: “ख्रीष्ट मरेकाहरूबाट ब्यूँताइनुभएको छ, जो मृत्युको चिर निद्रामा परेकाहरूमध्ये अगौटे फल हुनुहुन्छ।” तिनले पुनर्जीवित भएर स्वर्गमा जानेहरू अरू पनि हुनेछन्‌ भनेर बताए। तिनले यसो भने: “हरेकको आ-आफ्नै क्रमअनुसार: अगौटे फलको रूपमा ख्रीष्टलाई, त्यसपछि जो ख्रीष्टका हुन्‌, तिनीहरूलाई उहाँको उपस्थितिको दौडान जीवित पारिनेछ।”—१ कोरि. १५:२०, २३.

      १६. स्वर्गमा जानेहरू पुनर्जीवित हुने समयबारे हामी कस्तो सङ्‌केत पाउँछौं?

      १६ हामी पावलका शब्दहरूबाट स्वर्गमा जानेहरू कहिले पुनर्जीवित हुनेछन्‌ भन्‍नेबारे केही सङ्‌केत पाउँछौं। यो “उहाँको उपस्थितिको दौडान” हुने थियो। धर्मशास्त्रलाई केलाएर हेर्दा सन्‌ १९१४ देखि हामी येशूको “उपस्थितिको दौडान” बाँचिरहेका छौं भनेर यहोवाका साक्षीहरूले धेरै पहिलेदेखि भन्दै आएका छन्‌। “उहाँको उपस्थिति” अहिले पनि चलिरहेको छ र अब चाँडै यस दुष्ट युगको अन्त हुनेछ।

      १७, १८. ख्रीष्टको उपस्थितिको दौडान केही अभिषिक्‍त जनलाई के हुनेछ?

      १७ पुनर्जीवित भएर स्वर्गमा जानेहरूबारे बाइबलमा यस्तो जानकारी पनि पाउँछौं: “तिमीहरू मृत्युको चिर निद्रामा परेकाहरूको विषयमा अजान रहो भन्‍ने हामी चाहँदैनौं . . . येशू मर्नुभयो र फेरि ब्यूँतनुभयो भनी हामी विश्‍वास गर्छौं भने जो-जो येशूको चेलाको रूपमा मरे, तिनीहरू उहाँसँगै होऊन्‌ भनेर परमेश्‍वरले तिनीहरूलाई ब्यूँताउनुहुनेछ भन्‍ने कुरामा पनि हामी विश्‍वास गर्छौं। . . . हामीमध्ये जो-जो प्रभुको उपस्थितिको दौडान बाँचिरहेका हुनेछौं, मृत्युको चिर निद्रामा परिसकेकाहरूलाई हामीले कुनै हालतमा उछिन्‍नेछैनौं, किनभने प्रभु स्वयम्‌ ठूलो सोर[ले] . . . स्वर्गबाट ओर्लनुहुनेछ र ख्रीष्टको चेलाको रूपमा मर्नेहरू पहिला ब्यूँतनेछन्‌। त्यसपछि, हामी जो जिउँदा छौं र जो बचेका छौं, हामी उठाइनेछौं र बादलहरूमा लगिनेछौं अनि तिनीहरूसित हुनेछौं र प्रभुलाई आकाशमा भेट्‌नेछौं। यसरी हामी सधैंभरि प्रभुसँगै हुनेछौं।”—१ थिस्स. ४:१३-१७.

      १८ स्वर्गमा जानेहरू ख्रीष्टको उपस्थिति सुरु भएको केही समयपछि पुनर्जीवित हुने थिए। अनि महासङ्‌कष्टको दौडान जीवित अभिषिक्‍त जनहरू ‘बादलहरूमा लगिनेछन्‌।’ (मत्ती २४:३१) यसरी ‘बादलहरूमा लगिनेहरू’ ‘मृत्युको चिर निद्रामा पर्नेछैनन्‌।’ भन्‍नुको मतलब, तिनीहरूले पुनर्जीवित हुन लामो समय पर्खनुपर्ने छैन। तिनीहरू “एकै क्षणमा, आँखाको एक निमेषमा, बिगुलको अन्तिम आवाजको दौडान . . . परिवर्तन” हुनेछन्‌।—१ कोरि. १५:५१, ५२.

  • “मैले पनि परमेश्‍वरमा आशा राखेको छु”
    प्रहरीधरहरा (अध्ययन संस्करण)—२०१७ | डिसेम्बर
    • २०. मरेकाहरू भविष्यमा क्रमैसित पुनर्जीवित हुनेछन्‌ भनेर हामी किन विश्‍वस्त हुन सक्छौं?

      २० पुनर्जीवित भएर स्वर्गमा जानेहरू “आ-आफ्नै क्रमअनुसार” जीवित पारिनेछन्‌ भनी बाइबल बताउँछ। (१ कोरि. १५:२३) त्यसैगरि, पृथ्वीमा जीवन बिताउनको लागि पुनर्जीवित हुनेहरू पनि क्रमैसित ब्युँताइनेछन्‌। कस्तो रोचक आशा! के हालै मरेकाहरूलाई ख्रीष्टको हजार वर्षीय शासनको सुरुतिर पुनर्जीवित गरिनेछ र आफूले चिनेका प्रियजनहरूले तिनीहरूलाई स्वागत गर्नेछन्‌? के नयाँ संसारमा परमेश्‍वरका जनहरूलाई व्यवस्थित पार्न पुरातन समयका नेतृत्व लिन सिपालु पुरुषहरू सुरुतिरै पुनर्जीवित हुनेछन्‌? यहोवाको कहिल्यै उपासना नगरेका मानिसहरू नि? तिनीहरू कहिले अनि कहाँ पुनर्जीवित हुनेछन्‌? यस्तै विभिन्‍न प्रश्‍न हाम्रो मनमा आउन सक्छ। तर साँच्चै भन्‍ने हो भने, यी प्रश्‍नहरूबारे अहिल्यै विचार गरिरहनु आवश्‍यक छ र? पछि हुने कुरा पर्खेर बस्नु नै बेस होइन र? यी कुराहरू यहोवाले कसरी गर्नुहुनेछ भनेर आफैले हेर्न पाउनु साँच्चै रोमाञ्चकारी हुनेछ भन्‍ने कुरामा हामी विश्‍वस्त हुन सक्छौं।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने