प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w97 ११/१ pp. २३-२५
  • ‘इपिक्युरीहरूदेखि’ होशियार रहनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ‘इपिक्युरीहरूदेखि’ होशियार रहनुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • इपिक्युरीहरू को थिए?
  • मसीहीधर्मजस्तै हो त?
  • इपिक्युरी मतमा लुकेको पक्ष
  • चालै नपाई हानि पुऱ्‍याउने
  • इपिक्युरी मत आज पनि छ?
  • गलत मानिससित संगत गर्नबाट म कसरी जोगिऊँ?
    ब्यूँझनुहोस्‌!—२००५
  • “परमेश्‍वरलाई खोजून्‌ अनि . . . उहाँलाई भेट्टाऊन्‌”
    परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्‌
  • आजको लागि मात्र बाँच्ने वा अनन्त भविष्यको लागि?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • तपाईंको भला चाल-चलनलाई कसैले बिगार्न नपाओस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
w97 ११/१ pp. २३-२५

‘इपिक्युरीहरूदेखि’ होशियार रहनुहोस्‌

“ओहो! कस्तो भलादमी मान्छे! कस्तो सदाचारी! ऊ चुरोट पिउँदैन, लागू पदार्थ सेवन गर्दैन, फोहर बोली बोल्दैन। भनौं भने, मसीहीहरू भनेर दाबी गर्नेहरूभन्दा पनि ऊ असल छ!”

अनुपयुक्‍त व्यक्‍तिहरूसित मित्रता गाँस्ने व्यक्‍तिहरूले आफ्नो सफाई दिंदा यस्तै शब्दहरू चलाएर तर्क गरेको के तपाईंले सुन्‍नुभएको छ? तर के धर्मशास्त्रले यस्ता तर्कहरूलाई ठीक ठान्छ त? प्रारम्भिक मसीही मण्डलीको एउटा उदाहरणले यसलाई छर्लंग पार्छ।

प्रथम शताब्दीमा प्रेरित पावलले कोरिन्थीको मण्डलीलाई यस्तो चेताउनी दिए: “नठगियौ, खराब संगतले भला चाल-चलनलाई बिगार्दछ।” शायद युनानी दर्शनबाट प्रभावित भएका इपिक्युरीहरूका साथै अन्य व्यक्‍तिहरूसित केही मसीहीहरूले संगत गरिरहेका थिए होलान्‌। यी इपिक्युरीहरू को थिए? तिनीहरूले कोरिन्थका मसीहीहरूको आध्यात्मिकतालाई कसरी खतरामा पार्नसक्थे? हामी सतर्क रहनुपर्ने तिनीहरूजस्तै मानिसहरू के आज पनि छन्‌?—१ कोरिन्थी १५:३३.

इपिक्युरीहरू को थिए?

इपिक्युरीहरू सा.यु.पू. ३४१ देखि २७० सम्म बाँच्ने युनानी दार्शनिक इपिक्युरसका अनुयायीहरू थिए। तिनले सुखविलास प्राप्त गर्नु नै जीवनको एक मात्र वा प्रमुख कुरा हो भनेर सिकाए। के यसको अर्थ इपिक्युरीहरू निरन्तर रमझमको खोजीमा लाग्ने, पतित कार्यहरू गर्ने सिद्धान्तहीन छाडा मानिसहरू थिए त? अचम्मको कुरा के हो भने, इपिक्युरसले आफ्ना अनुयायीहरूलाई यसरी जीवन बिताउन सिकाएनन्‌! बरु, सुखविलास त विवेकी, साहसी, आत्मसंयमी र न्यायपूर्ण जीवन बिताएर प्राप्त गर्न सकिन्छ भनेर तिनले सिकाए। तिनले क्षणिक आनन्द नभई आजीवन रहने आनन्द खोज्न जोड दिए। यसैकारण, घोर पाप गर्नेहरूको तुलनामा इपिक्युरीहरू सदाचारी देखिएका हुनसक्छन्‌।—तीतस १:१२ तुलना गर्नुहोस्‌।

मसीहीधर्मजस्तै हो त?

यदि तपाईं प्रथम शताब्दीको मसीही मण्डलीको सदस्य हुनुभएको भए के इपिक्युरीहरूदेखि प्रभावित हुनुहुने थियो? सुन्दा अति उच्च खालको लाग्ने इपिक्युरीहरूको उच्च आचारसंहिताको कारण मसीहीहरूले तिनीहरूसित संगत गर्नु खतरनाक नहुनुपर्ने हो भनेर कसै कसैले तर्क गरेका हुनसक्छन्‌। अझ कोरिन्थीका मसीहीहरूले इपिक्युरीहरूका स्तरहरू र परमेश्‍वरको वचनका स्तरहरूबीच समानता पाए होलान्‌ भन्‍ने तर्क पनि गरे होलान्‌।

उदाहरणका लागि, इपिक्युरीहरू आनन्द उठाउँदा संयम चलाउनुपर्छ भन्‍ने विश्‍वास गर्थे। तिनीहरू तनको आनन्दलाई भन्दा मनको आनन्दलाई ठूलो ठान्थे। उनीहरूको विचारमा मानिसले के खान्छ, त्यो महत्त्वपूर्ण होइन तर जोसित खान्छ, उससितको सम्बन्ध कस्तो छ, त्यो महत्त्वपूर्ण थियो। इपिक्युरीहरू राजनैतिक गतिविधिमा भाग लिंदैनन्‌ थिए र गोप्य पापकर्महरूबाट पनि अलग बस्थे। “तिनीहरू त हामीजस्तै रहेछन्‌” भन्‍ने अनुमान लाउनु कत्ति सजिलो हुनसक्थ्यो।

तथापि, के वास्तवमा इपिक्युरीहरू प्रारम्भिक मसीहीहरूजस्तै थिए त? कदापि थिएनन्‌। ज्ञानेन्द्रियको सही अभ्यास गर्न प्रशिक्षण पाउनेहरूले निस्सन्देह यी दुइबीचको सुस्पष्ट भिन्‍नता छुट्याउनसक्थे। (हिब्रू ५:४) के तपाईं सक्नुहुन्छ? आउनुहोस्‌, इपिक्युरीहरूको शिक्षा नियालौं।

इपिक्युरी मतमा लुकेको पक्ष

देवीदेवता र मृत्युको डर हटाउन मानिसहरूलाई मदत गर्न इपिक्युरीहरूले देवताहरूलाई मानिसको कुनै वास्ता छैन र उहाँहरू मानिसको काममा हस्तक्षेप गर्नुहुन्‍न भन्‍ने शिक्षा सिकाए। इपिक्युरसअनुसार ईश्‍वरहरूले ब्रह्‍माण्ड सृजेका होइनन्‌ र जीवन संयोगवश हुन आएको थियो। यो, “परमेश्‍वर एउटै हुनुहुन्छ” अनि उहाँले मानिसहरूको ख्याल गर्नुहुन्छ भन्‍ने बाइबलको शिक्षासित कत्तिको बाझ्छ स्पष्टै देखिन्छ होइन र?—१ कोरिन्थी ८:६; एफिसी ४:६; १ पत्रुस ५:६, ७.

मृत्युपछि फेरि जीवन पाउनु सम्भव हुनसक्दैन भन्‍ने शिक्षा पनि इपिक्युरीहरूले सिकाए। यो पनि बाइबलले दिने पुनरुत्थानको शिक्षा विपरीत छ। वास्तवमा प्रेरित पावलले अरैयापागसमा पुनरुत्थानबारे कुरा गरिरहेको बेला पावलको शिक्षासित सहमत नहुनेहरूमध्ये शायद इपिक्युरीहरू पनि थिए।—प्रेरित १७:१८, ३१, ३२; १ कोरिन्थी १५:१२-१४.

इपिक्युरसको दर्शनको सबैभन्दा खतरनाक पक्ष शायद चालै नपाई बिस्तारै असर गर्ने खालको पनि थियो होला। मृत्युपछि जीवन रहँदैन भन्‍ने विचार भएको हुँदा दुइचार दिन बाँचुञ्जेल सकभर आनन्दित भएर बस्नुपर्छ भन्‍ने निष्कर्षमा तिनी पुगे। तथापि, तिनको विचार पापपूर्ण जीवन बिताउनैपर्छ भन्‍ने नभई मृत्युपछि जीवनै नभएकोले अहिल्यै जीवनको आनन्द उठाउनुपर्छ भन्‍ने थियो भनेर त हामीले माथि बुझिसक्यौं।

गुप्तमा गरेको पाप कसैले थाह पाउला भन्‍ने डरमा बाँच्नु पक्कै पनि वर्तमान आनन्दलाई खतरामा पार्नु हुने भएकोले गुप्तमा पाप गर्न पनि इपिक्युरसले सबैलाई निरुत्साहित पारे। अति विलासी हुँदा वर्तमान आनन्दमा धक्का पुग्ने हुँदा तिनले संयमी हुन पनि प्रोत्साहन दिए। अरूसित सुमधुर सम्बन्ध कायम गर्न पनि तिनले प्रोत्साहित गरे। किनकि यसो गर्दा अरूबाट पनि त्यस्तै सम्बन्धको आनन्द पाउन सकिन्थ्यो। हो, गुप्तमा पाप नगर्नु, संयमी हुनु र मित्रहरू बनाउनु पक्कै पनि सह्रानीय छन्‌। त्यसोभए, इपिक्युरसको दर्शन मसीहीहरूका लागि किन खतरनाक थियो? किनकि तिनको दर्शन यस्तो विश्‍वासरहित दृष्टिकोणमा आधारित थियो: “हामी खाऔं र पिऔं, किनभने भोलि ता हामी मरिहाल्छौं पो।”—१ कोरिन्थी १५:३२.

हो, अहिल्यै आनन्दपूर्वक जीवन कसरी बिताउनसकिन्छ, त्यसबारे बाइबलले पक्कै पनि बताएको छ। तथापि, बाइबल यस्तो चेताउनी पनि दिन्छ: “अनन्त जीवनको निम्ति हाम्रा प्रभु येशू ख्रीष्टको कृपाको आशा राखी, तिमीहरू आफैलाई परमेश्‍वरको प्रेममा राखिछोड़।” (यहूदा २१) हो, बाइबलले बित्दै गइरहको यस वर्तमानलाई होइन तर चिरकालीन भविष्यलाई बढ्‌ता जोड दिन्छ। मसीहीको लागि परमेश्‍वरको सेवा गर्नु ठूलो चासोको विषय हो र यसरी परमेश्‍वरलाई प्रथम स्थान दिंदा आनन्द र सन्तुष्टि पाइँदो रहेछ भनेर उसले महसुस गर्छ। येशू पनि आफ्ना व्यक्‍तिगत आकांक्षाहरू पूरा गर्नेतर्फ कहिल्यै लाग्नुभएन। बरु, निःस्वार्थपूर्वक यहोवाको सेवा गर्न र मानिसहरूलाई मदत गर्न आकाश जमीन एक गर्नुभयो। उहाँले आफ्ना चेलाहरूलाई अरूबाट त्यस्तै व्यवहार होस्‌ भन्‍ने आशा गरेर त होइन तर साँचो प्रेमको खातिर अरूको भलाइ गर्नू भनेर सिकाउनुभयो। अतः प्रष्ट छ, इपिक्युरीहरूको र मसीहीहरूको प्रेरणाको स्रोत नै पूर्णतया भिन्‍न छ।—मर्कूस १२:२८-३१; लूका ६:३२-३६; गलाती ५:१४; फिलिप्पी २:२-४.

चालै नपाई हानि पुऱ्‍याउने

आनन्दित हुने विषयमा इपिक्युरीहरूले यत्ति बिघ्न जोड दिए तापनि भने जस्तो आनन्द भने कहिल्यै पाएनन्‌। ‘यहोवाको आनन्दको’ अभाव भएकोले इपिक्युरीहरू जीवनलाई “बोझिलो उपहार” भन्थे। (नहेम्याह ८:१०) तुलनात्मक हिसाबमा भन्‍ने हो भने, बरु प्रारम्भिक मसीहीहरू नै तिनीहरूभन्दा कता हो कता आनन्दित थिए! येशूले अभावै अभावको दुःखी जीवन बिताउनु भनेर कहिल्यै सल्लाह दिनुभएन। वास्तवमा, उहाँको मार्ग पछ्याउनु प्रचुर मात्रामा आनन्द प्राप्त गर्ने तरिका हो।—मत्ती ५:३-१२.

यदि आफ्नो विश्‍वासमा कुनै आँच आउन नदिई इपिक्युरीहरूको प्रभावमा परेकाहरूसित संगत गर्नसक्छु भनी कोरिन्थ मण्डलीका केही सदस्यहरूले विचार गरिरहेका थिए भने, तिनीहरूले कत्ति ठूलो गल्ती गरिरहेका थिए। पावलले कोरिन्थीहरूलाई पहिलो पत्र लेख्दा कसै कसैले पुनरुत्थान हुन्छ भन्‍ने विश्‍वाससमेत गुमाइसकेका थिए।—१ कोरिन्थी १५:१२-१९.

इपिक्युरी मत आज पनि छ?

सा.यु. चौथो शताब्दीतिरै इपिक्युरी मत हराइसकेको भए तापनि मोज गर्ने समय अहिल्यै हो भन्‍ने तिनीहरूकै जस्तो विचारधारा अपनाउनेहरू आज पनि छन्‌। यी मानिसहरू अनन्त जीवनबारे परमेश्‍वरले गर्नुभएको प्रतिज्ञामा अलिकता वा पटक्कै विश्‍वास गर्दैनन्‌। यद्यपि, यिनीहरूमध्ये कसै कसैले राम्रै नैतिक स्तर कायम गरिरहेका होलान्‌।

अतः तिनीहरूसित घनिष्ठ हुने लालसा मसीहीहरूमा जाग्नसक्छ र बानिव्यहोरा राम्रै छ भने मित्र बनाउँदैमा के बिग्रन्छ र? भन्‍ने तर्क पनि मनमा उठ्‌नसक्छ। तथापि, चालै नपाउनेगरि असर गर्ने खालका चालचलन लगायत सबै खालका “खराब संगतले” “भला चालचलनलाई बिगार्दछ” भनी कहिल्यै बिर्सनु हुँदैन। यद्यपि, त्यसो भन्दैमा हामीले आफैलाई अरूभन्दा श्रेष्ठ ठान्‍नु हुँदैन।

मोज गर्ने समय अहिल्यै हो भन्‍ने दर्शन केही व्यापारिक सेमिनार, सहायक पुस्तकहरू, उपन्यासहरू, चलचित्रहरू, टेलिभिजन कार्यक्रमहरू तथा संगीतहरूमा पनि देखा पर्छ। सोझै पापपूर्ण आचरणहरू विकास गर्न बढावा नदिए तापनि के यस्ता विश्‍वासरहित दृष्टिकोणहरूले हामीलाई चालै नपाई असर नपार्लान्‌ त? उदाहरणका लागि, आफ्नै सन्तुष्टिको मात्र विचार गर्न व्यस्त भएकोले यहोवाको सार्वभौमिकताको विवादलाई नै बिर्सन नपुग्ला त? “प्रभुको काममा प्रशस्त हुँदै” जानुको साटो ‘सेवकाईलाई हल्कासित लिनुपर्ला’ भन्‍ने तर्क हाम्रो मनमा नआउला र? अथवा यहोवाका स्तरहरू पालन गर्नु कत्तिको ठीक वा फाइदा होला भन्‍ने शंकामा परेर हामी बहकिन नपुगौंला र? अतः हामी घोर अनैतिक, हिंसात्मक तथा प्रेतवादी कुराहरूको प्रभावमा पर्नदेखि सतर्क रहनुका साथै सांसारिक विचारधाराहरूद्वारा प्रभावित मानिसहरूदेखि पनि होशियार रहनु आवश्‍यक छ।—१ कोरिन्थी १५:५८; कलस्सी २:८.

त्यसकारण, हामी यहोवाको निर्देशन सम्पूर्ण हृदयले पछ्याउनेहरूसित धेरै अरूसित कम संगत गरौं। (यशैया ४८:१७) त्यसो गऱ्‍यौं भने हाम्रो चालचलन अझ भला हुनेछ। विश्‍वास दृढ हुनेछ। अहिले मात्र होइन, तर भविष्यमा अनन्त जीवनको प्रत्याशासहित आनन्दपूर्वक जीवन बिताउनसक्नेछौं।—भजन २६:४, ५; हितोपदेश १३:२०.

[पृष्ठ २४-मा भएको चित्र]

देवताहरूलाई मानिसको कुनै वास्ता छैन भन्‍ने शिक्षा इपिक्युरसले सिकाए

[स्रोत]

The British Museum बाट सौजन्य

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने