प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w20 डिसेम्बर pp. ८-१३
  • “मरेकाहरू कसरी ब्युँताइनेछन्‌?”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “मरेकाहरू कसरी ब्युँताइनेछन्‌?”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • कस्तो किसिमको शरीर?
  • मृत्युमाथि विजयी
  • पुनरुत्थानको आशामा शक्‍ति छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • “नामेट हुने शत्रु, मृत्यु हो”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • फेरि जीवित हुने पक्का आशा!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • “मरेकाहरू . . . बिउँताइनेछन्‌”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
w20 डिसेम्बर pp. ८-१३

अध्ययन लेख ५०

“मरेकाहरू कसरी ब्युँताइनेछन्‌?”

“ए मृत्यु, तेरो विजय खोइ? ए मृत्यु, तेरो खील खोइ?”—१ कोरि. १५:५५.

गीत १४१ जीवन—एउटा चमत्कार

परिचयa

१-२. अभिषिक्‍त जनहरू फेरि जीवित भएर स्वर्ग जाने विषयमा सबै ख्रिष्टियनले किन चासो राख्नुपर्छ?

अहिले यहोवाको सेवा गरिरहेका धेरैजसो मानिसले पृथ्वीमै सधैँभरि बाँच्ने आशा राख्छन्‌। तर पृथ्वीमा बाँकी रहेका अभिषिक्‍त ख्रिष्टियनहरूले भने फेरि जीवित भएर स्वर्ग जाने आशा राख्छन्‌। यी अभिषिक्‍त जनहरू मृत्युबाट जीवित भएपछि आफ्नो जीवन कस्तो होला भनेर जान्‍न उत्सुक छन्‌। तर पृथ्वीमै सधैँभरि बाँच्ने आशा पाएकाहरूले पनि यस कुरामा किन चासो राख्नुपर्छ? तिनीहरूले ती अभिषिक्‍त जनहरूमार्फत भविष्यमा थुप्रै आशिष्‌ पाउनेछन्‌ भनेर हामी यस लेखमा बुझ्नेछौँ। त्यसैले हाम्रो आशा स्वर्गीय होस्‌ वा पार्थिव, हामीले अभिषिक्‍त जनहरू फेरि जीवित भएर स्वर्ग जाने कुरामा चासो राख्नुपर्छ।

२ प्रथम शताब्दीमा परमेश्‍वरले येसुका केही चेलालाई स्वर्गीय आशाबारे लेख्न प्रेरणा दिनुभयो। प्रेषित युहन्‍नाले यस्तो लेखे: “अहिले हामी परमेश्‍वरका सन्तान हौँ तर पछि हामी के हुने हौँ, त्यो अहिलेसम्म प्रकट गरिएको छैन। हामीलाई थाह छ, जब उहाँ प्रकट हुनुहुनेछ, तब हामी उहाँजस्तै हुनेछौँ।” (१ युह. ३:२) त्यसैले अदृश्‍य रूपमा ब्युँताएर स्वर्ग लगिएपछि आफ्नो जीवन कस्तो हुनेछ भनेर अभिषिक्‍त ख्रिष्टियनहरूलाई थाह छैन। तर स्वर्गीय इनाम पाएपछि तिनीहरूले यहोवालाई शाब्दिक रूपमै देख्न सक्नेछन्‌। बाइबलले स्वर्गमा फेरि जीवित हुने विषयमा एक-एक कुरा प्रकट गरेको छैन तर प्रेषित पावलले हामीलाई यस विषयमा केही कुरा बताएका छन्‌। ख्रिष्टले ‘सबै सरकार, सबै अख्तियार र शक्‍तिलाई नामेट पार्नुहुँदा’ अभिषिक्‍त जनहरू उहाँसँगै हुनेछन्‌। नामेट पारिने कुराहरूमा हाम्रो अन्तिम “शत्रु मृत्यु” पनि समावेश छ। अन्तमा येसु र उहाँका सह-शासकहरूले सबै कुरा यहोवाकै अधीनमा राखिदिनुहुनेछ र उहाँहरू आफै पनि यहोवाको अधीनमा बस्नुहुनेछ। (१ कोरि. १५:२४-२८) त्यो साँच्चै कत्ति रमाइलो क्षण हुनेछ!b

३. पहिलो कोरिन्थी १५:३०-३२ ले सङ्‌केत गरेअनुसार फेरि जीवित हुने आशामाथिको विश्‍वासले गर्दा पावलले के गर्न सके?

३ फेरि जीवित हुने आशामाथिको विश्‍वासले गर्दा पावलले अनेकन्‌ परीक्षाहरू सहन सके। (१ कोरिन्थी १५:३०-३२ पढ्‌नुहोस्‌) तिनले कोरिन्थीहरूलाई यसो भने: “म दिनहुँ मृत्युको सामना गर्छु।” पावलले यस्तो पनि लेखे: ‘मैले एफिससमा जङ्‌गली जनावरहरूसित लडेको छु।’ तिनले एफिससको रङ्‌गशालामा जनावरहरूसित लडेको विषयमा कुरा गरेको हुन सक्छ। (२ कोरि. १:८; ४:१०; ११:२३) अथवा तिनले “जङ्‌गली जनावर”-को जस्तो आक्रामक स्वभाव भएका यहुदीहरू वा अरूलाई सङ्‌केत गरेको हुन सक्छ। (प्रेषि. १९:२६-३४; १ कोरि. १६:९) जेहोस्‌, खतरनाक परिस्थितिहरूको सामना गर्नुपर्दा समेत पावलले भविष्यबारे सकारात्मक दृष्टिकोण राख्न सके।—२ कोरि. ४:१६-१८.

एक भाइ झ्यालबाट बाहिर हेर्दै छन्‌ अनि तिनकी पत्नी र दुई छोरी बाइबल पढ्‌दै छन्‌।

हाम्रो ख्रिष्टियन गतिविधिमाथि कडिकडाउ गरिएको ठाउँमा बस्ने एउटा परिवार परमेश्‍वरले तिनीहरूको लागि असल कुराहरू साँचेर राख्नुभएको छ भन्‍ने कुरामा पूर्ण विश्‍वास राख्दै उहाँको सेवामा लागिरहेका छन्‌ (अनुच्छेद ४ हेर्नुहोस्‌)

४. फेरि जीवित हुने आशाले आज ख्रिष्टियनहरूलाई कसरी बलियो बनाएको छ? (आवरण तस्बिर हेर्नुहोस्‌)

४ हामी पनि खतरनाक समयमा बाँचिरहेका छौँ। हाम्रा केही दाजुभाइ दिदीबहिनी अपराधको सिकार भएका छन्‌। अरू कतिपय युद्धग्रस्त इलाकाहरूमा बस्छन्‌, जहाँ तिनीहरूको सुरक्षाको कुनै ग्यारेन्टी छैन। कोही-कोही भने हाम्रो प्रचारकार्यमाथि कडिकडाउ गरिएको वा पूरै प्रतिबन्ध लगाइएको देशहरूमा यहोवाको सेवा गर्छन्‌। त्यस्ता देशहरूमा हाम्रा दाजुभाइ दिदीबहिनीको ज्यानै जाने वा स्वतन्त्रता हनन हुने खतरा छ। तैपनि यी सबै दाजुभाइ दिदीबहिनीले यहोवाको उपासनामा लागिरहेर हाम्रो लागि राम्रो उदाहरण बसालेका छन्‌। अहिले आफ्नो ज्यान गुमाउनुपऱ्‍यो भने पनि यहोवाले तिनीहरूको लागि ठूलो इनाम साँचेर राख्नुभएको छ भन्‍ने कुरामा तिनीहरू ढुक्क छन्‌।

५. कस्तो खतरनाक दृष्टिकोणले फेरि जीवित हुने आशामाथिको हाम्रो विश्‍वास कमजोर बनाउन सक्छ?

५ पावलले आफ्ना दाजुभाइ दिदीबहिनीलाई कसै-कसैको यस्तो खतरनाक दृष्टिकोणबारे चेतावनी दिए: “यदि मरेकाहरू ब्युँताइनेछैनन्‌ भने ‘आओ, खाऔँ र पिऔँ किनकि भोलि त हामी मरिहाल्छौँ पो।’” यस्तो दृष्टिकोण पावलको समयभन्दा धेरै अघि पनि व्याप्त थियो। तिनले यसैया २२:१३ बाट उद्धृत गरेको हुन सक्छ, जुन पदमा इस्राएलीहरूको मनोवृत्तिबारे बताइएको छ। परमेश्‍वरसित नजिक हुनुको साटो तिनीहरू सुखसयलको जीवन बिताउनतिर लागे। ती इस्राएलीहरू “दुई दिनको जिन्दगीमा मोजमस्ती गर्नुपर्छ” भन्‍ने सोचाइ राख्थे, जुन आज पनि व्याप्त छ। तर यस्तो गलत सोचाइ राखेकोले इस्राएल राष्ट्रले भोगेको नतिजाबारे बाइबलमा रेकर्ड गरिएको छ।—२ इति. ३६:१५-२०.

६. फेरि जीवित हुने आशाले सङ्‌गतको विषयमा हाम्रो छनौटलाई कस्तो प्रभाव पार्नुपर्छ?

६ यहोवा मरेकाहरूलाई फेरि जीवित पार्न सक्नुहुन्छ भन्‍ने तथ्यले सङ्‌गतको विषयमा हाम्रो छनौटलाई प्रभाव पार्नुपर्छ। कोरिन्थका दाजुभाइ दिदीबहिनी फेरि जीवित हुने आशालाई नकार्ने मानिसहरूसित सङ्‌गत गर्नदेखि होसियार हुनुपर्थ्यो। यसबाट हामी एउटा पाठ सिक्न सक्छौँ: आजको लागि मात्रै बाँच्ने मानिसहरूसित धेरै समय बिताउँछौँ भने तिनीहरूले हामीमा नराम्रो प्रभाव पार्न सक्छ। कुनै साँचो ख्रिष्टियन त्यस्ता मानिसहरूसित धेरै उठबस गर्छन्‌ भने त्यसले तिनको आनीबानी र दृष्टिकोणमा असर गर्न सक्छ। अझ भन्‍नुपर्दा, तिनी परमेश्‍वरले घृणा गर्नुहुने काम गर्ने हदसम्म पुग्न सक्छन्‌। त्यसैले पावलले कोरिन्थका ख्रिष्टियनहरूलाई यस्तो कडा सल्लाह दिए: “होसमा आओ, असल काम गर र पाप गर्न छोडिदेओ।”—१ कोरि. १५:३३, ३४.

कस्तो किसिमको शरीर?

७. पहिलो कोरिन्थी १५:३५-३८ अनुसार कसै-कसैले फेरि जीवित हुने आशाबारे कस्तो प्रश्‍न सोधेका हुन सक्छन्‌?

७ पहिलो कोरिन्थी १५:३५-३८ पढ्‌नुहोस्‌। फेरि जीवित हुने आशामाथि शङ्‌का उब्जाउन खोज्नेहरूले यस्तो प्रश्‍न सोधेका हुन सक्छन्‌: “मरेकाहरू कसरी ब्युँताइनेछन्‌?” यस सन्दर्भमा पावलले दिएको जवाफ मनमा राख्न सक्छौँ किनकि मृत्युपछि के हुन्छ भन्‍नेबारे आज मानिसहरूको आ-आफ्नै धारणा छ। तर बाइबलले चाहिँ के भन्छ?

चित्रहरूको सँगालो: १. येसु मानिसहरूको एउटा ठूलो भीडलाई सिकाउनुहुन्छ। तल कसैले बिउ रोपिरहेको देखाइएको छ। २. येसु र १ लाख ४४ हजार जना स्वर्गमा सिंहासनमा बसिरहनुभएको छ। तल बोट उम्रेको देखाइएको छ।

पावलले बिउ र बोटको उदाहरण चलाएर यहोवाले फेरि जीवित भएकाहरूलाई उपयुक्‍त शरीर दिन सक्नुहुन्छ भनी बुझाए (अनुच्छेद ८ हेर्नुहोस्‌)

८. स्वर्गीय जीवनको लागि फेरि जीवित हुने कुरा बुझ्न हामीलाई कुन उदाहरणले मदत गर्छ?

८ मानिस मरेपछि उसको शरीर कुहिन्छ। तर शून्यबाट विशाल ब्रह्‍माण्ड सृष्टि गर्नुहुने परमेश्‍वरले मरेको मानिसलाई फेरि जीवित पार्न र उसलाई उपयुक्‍त शरीर दिन सक्नुहुन्छ। (उत्प. १:१; २:७) परमेश्‍वरले कसैलाई फेरि जीवित पार्नुहुँदा उसलाई पहिलाकै शरीर दिनु आवश्‍यक छैन भनेर बुझाउन पावलले एउटा उदाहरण चलाए। कुनै अन्‍नको “गेडा” वा “बिउ”-लाई लिनुहोस्‌। जमिनमा बिउ छरेपछि त्यो अङ्‌कुराउँछ र बोट बन्छ। हुर्किसकेको बोट सुरुमा छरेको बिउभन्दा फरक हुन्छ। पावलले यस्तो उदाहरण चलाएर हाम्रो सृष्टिकर्ताले मानिसलाई “[उहाँको] इच्छाअनुसारको शरीर” दिन सक्नुहुन्छ भनेर बुझाउन खोज्दै थिए।

९. पहिलो कोरिन्थी १५:३९-४१ मा पावलले फरक-फरक किसिमका शरीरबारे के बताए?

९ पहिलो कोरिन्थी १५:३९-४१ पढ्‌नुहोस्‌। पावलले सृष्टिमा भएको विविधताबारे उल्लेख गरे। उदाहरणको लागि, गाईवस्तु, चराचुरुङ्‌गी र माछाको शरीरको बनौट फरक-फरक हुन्छ। पावलले आकाशमा भएको सूर्य र चन्द्रमा पनि फरक छ भनेर लेखे। तिनले “हरेक ताराको महिमा फरक-फरक हुन्छ” पनि भने। हामीले आफ्नो नाङ्‌गो आँखाले ठम्याउन नसके पनि वैज्ञानिकहरूले ताराहरू फरक-फरक किसिमका हुन्छन्‌ भनेर पत्ता लगाएका छन्‌; कुनै सानो, कुनै ठूलो, कुनै रातो, कुनै सेतो र कुनै पहेँलो, जस्तै सूर्य। पावलले “स्वर्गीय शरीर र पार्थिव शरीर पनि छन्‌” भनेर लेखे। हुन पनि पृथ्वीमा रगत र मासुको शरीर भएका जीवहरू छन्‌ भने स्वर्गमा चाहिँ अदृश्‍य शरीर भएका, जस्तै स्वर्गदूतहरू।

१०. फेरि जीवित पारेर स्वर्ग लगिनेहरूले कस्तो शरीर पाउनेछन्‌?

१० त्यसपछि पावलले के भने, याद गर्नुहोस्‌: “मरेकाहरू फेरि जीवित हुँदा पनि त्यस्तै हुन्छ। जुन शरीर छरिन्छ, त्यो विनाशी हुन्छ तर जुन शरीर ब्युँताइन्छ, त्यो अविनाशी हुन्छ।” मानिस मरेपछि उसको शरीर कुहिन्छ र माटोमै मिल्छ। (उत्प. ३:१९) त्यसोभए मरेकाहरूलाई कुन अर्थमा “अविनाशी” रूपमा ब्युँताइन्छ? यहाँ पावलले एलिया, एलिसा र येसुले यसै पृथ्वीमा जीवित पार्नुभएका मानिसहरूबारे कुरा गरिरहेका थिएनन्‌। तिनले स्वर्गमा बस्न उपयुक्‍त “अदृश्‍य शरीर”-मा ब्युँताइएको व्यक्‍तिबारे कुरा गर्दै थिए।—१ कोरि. १५:४२-४४.

११-१२. येसुलाई मृत्युबाट जीवित पारिँदा उहाँले कस्तो परिवर्तन अनुभव गर्नुभयो अनि अभिषिक्‍त जनहरूले पनि कस्तो परिवर्तन अनुभव गर्ने थिए?

११ येसु पृथ्वीमा हुनुहुँदा उहाँको शरीर रगत र मासुको थियो। तर मृत्युबाट ब्युँताइएपछि उहाँ “जीवन दिने अदृश्‍य व्यक्‍ति” हुनुभयो र स्वर्ग फर्कनुभयो। त्यसैगरि अभिषिक्‍त ख्रिष्टियनहरूलाई पनि स्वर्गमा बस्न उपयुक्‍त अदृश्‍य शरीरमा ब्युँताइने थियो। पावलले यसो भने: “जसरी हामीले माटोले बनेको त्यो मानिसको रूप धारण गरेका छौँ, त्यसरी नै ती स्वर्गीय जनको रूप पनि धारण गर्नेछौँ।”—१ कोरि. १५:४५-४९.

१२ यो कुरा मनमा राख्नुहोस्‌, येसुलाई मानव शरीरमा जीवित पारिएको थिएन। किनकि पावलले फेरि जीवित हुने आशाबारे आफ्नो छलफलको अन्ततिर यसो भने: “रगत र मासु [स्वर्गमा] परमेश्‍वरको राज्यको हकदार हुन सक्दैन।” (१ कोरि. १५:५०) प्रेषितहरू र अरू अभिषिक्‍त जनहरूलाई विनाश भएर जाने रगत र मासुको शरीरसहित जीवित पारिने थिएन। त्यसोभए तिनीहरूलाई कहिले जीवित पारिने थियो? पावलले यो भविष्यमा हुनेछ भनेर जोड दिए; तिनीहरू मर्नेबित्तिकै स्वर्ग जाने थिएनन्‌। पावलले कोरिन्थीहरूलाई पहिलो पत्र लेखेको समयसम्म केही चेलाहरू “मृत्युको चिर निद्रामा परिसकेका” थिए, जस्तै: प्रेषित याकुब। (प्रेषि. १२:१, २) अरू प्रेषित र अभिषिक्‍त जनहरू भने “मृत्युको चिर निद्रामा” परिसकेका थिएनन्‌।—१ कोरि. १५:६.

मृत्युमाथि विजयी

१३. येसुको उपस्थितिको चिन्हस्वरूप के-कस्ता घटना हुने थिए?

१३ येसु र पावल दुवै जनाले मानव इतिहासको एउटा विशेष समयबारे जोड दिनुभयो। त्यो हो, ख्रिष्टको उपस्थिति। ख्रिष्टको उपस्थितिको चिन्हस्वरूप युद्ध, भूकम्प, महामारी र विश्‍वव्यापी रूपमा अन्य थुप्रै नराम्रा घटना घट्‌ने थिए। हामीले यो भविष्यवाणी १९१४ देखि पूरा भइरहेको देखेका छौँ। तर यस चिन्हको अर्को एउटा महत्त्वपूर्ण पक्ष पनि हुने थियो। स्वर्गमा स्थापना भइसकेको परमेश्‍वरको राज्यको सुसमाचार ‘सबै जातिलाई साक्षी दिनका लागि सारा पृथ्वीभरि प्रचार गरिनेछ। त्यसपछि यस युगको अन्त हुनेछ’ भनेर येसुले बताउनुभयो। (मत्ति २४:३, ७-१४) पावलले “प्रभुको उपस्थिति”-मा “मृत्युको चिर निद्रामा परिसकेका” अभिषिक्‍त ख्रिष्टियनहरूलाई जीवित पार्ने काम पनि गरिनेछ भनेर औँल्याए।—१ थिस्स. ४:१४-१६; १ कोरि. १५:२३.

१४. ख्रिष्टको उपस्थितिको दौडान मृत्यु हुने अभिषिक्‍त जनहरूलाई के हुन्छ?

१४ अहिले पार्थिव जीवन पूरा गर्ने अभिषिक्‍त जनहरूलाई तुरुन्तै ब्युँताएर स्वर्ग लगिन्छ। यस कुरालाई १ कोरिन्थी १५:५१, ५२ मा पावलले भनेका यी शब्दहरूले पुष्टि गर्छ: “हामी सबै जना मृत्युको चिर निद्रामा पर्नेछैनौँ तर हामी सबैको परिवर्तन हुनेछ, एकै क्षणमा, आँखाको एक निमेषमा, बिगुलको अन्तिम आवाजको दौडान।” पावलका यी शब्दहरू अहिले पूरा भइरहेको छ। मृत्युबाट जीवित भएपछि ख्रिष्टका यी भाइहरू पूर्णरूपमा आनन्दित हुनेछन्‌; तिनीहरू “सधैँभरि प्रभुसँगै” हुनेछन्‌।—१ थिस्स. ४:१७.

येसु र फेरि जीवित भएका केही अभिषिक्‍त ख्रिष्टियनको हातमा फलामको डन्डा छ।

“आँखाको एक निमेषमा” परिवर्तन भएर स्वर्ग जानेहरूले येसुसित मिलेर दुष्टहरूलाई नामेट पार्नेछन्‌ (अनुच्छेद १५ हेर्नुहोस्‌)

१५. “आँखाको एक निमेषमा” परिवर्तन भएर स्वर्ग जानेहरूले कस्तो काम पाउनेछन्‌?

१५ बाइबलले “आँखाको एक निमेषमा” परिवर्तन भएर स्वर्ग जानेहरूले त्यहाँ कस्तो काम गर्नेछन्‌ भनेर बताउँछ। येसु तिनीहरूलाई यसो भन्‍नुहुन्छ: “जसले विजय हासिल गर्छ र मैले अह्राएका कामहरू अन्तसम्म गरिरहन्छ, म उसलाई जातिजातिमाथि शासन गर्ने अख्तियार दिनेछु। अनि उसले मानिसहरूमाथि फलामको डन्डाले शासन गर्नेछ र तिनीहरूलाई माटाका भाँडाहरूलाई जस्तै चकनाचुर पार्नेछ। मैले पनि आफ्नो बुबाबाट यही अख्तियार पाएको छु।” (प्रका. २:२६, २७) तिनीहरूले आफ्नो सेनापति येसुसँगै मिलेर जातिजातिलाई फलामको डन्डाले शासन गर्नेछन्‌।—प्रका. १९:११-१५.

१६. थुप्रै मानिस कसरी मृत्युमाथि विजयी हुनेछन्‌?

१६ स्पष्ट छ, अभिषिक्‍त जनहरू मृत्युमाथि विजयी हुनेछन्‌। (१ कोरि. १५:५४-५७) त्यसपछि तिनीहरू आउँदै गरेको आरमागेडोनको युद्धमा पूरै पृथ्वीबाट दुष्टता हटाउने काममा भाग लिन सक्ने अवस्थामा हुनेछन्‌। अन्य लाखौँ ख्रिष्टियन पुरुष तथा स्त्री “महासङ्‌कष्ट पार गरेर” नयाँ संसारमा प्रवेश गर्नेछन्‌। (प्रका. ७:१४) जिउँदै महासङ्‌कष्ट पार गरेकाहरूले मानिसजातिले मृत्युमाथि अर्को विजय हासिल गरेको घटना आफ्नै आँखाले देख्न पाउनेछन्‌; तिनीहरूले विगतमा मरेका अरबौँ मानिस फेरि जीवित भएको देख्नेछन्‌। हर्षोल्लासले भरिएको त्यो घडी कस्तो होला, कल्पना गर्नुहोस्‌ त! (प्रेषि. २४:१५) यहोवाप्रति पूर्णतया आफ्नो वफादारी प्रमाणित गर्ने सबै मानिस जन्मजातै पाएको मृत्युमाथि समेत विजयी हुनेछन्‌। हो, तिनीहरू सधैँभरि बाँच्न सक्नेछन्‌।

१७. पहिलो कोरिन्थी १५:५८ लाई मनमा राख्दै अहिले हामीले के गर्नुपर्छ?

१७ फेरि जीवित हुने आशाबारे पावलले कोरिन्थीहरूलाई लेखेका सान्त्वनादायी शब्दहरूको लागि आज सबै ख्रिष्टियन कृतज्ञ हुनुपर्छ। “प्रभुको काममा” आफूले सकेजति गर्न पावलले दिएको सल्लाह स्विकारेको देखाउने हर कारण हामीसित छ। (१ कोरिन्थी १५:५८ पढ्‌नुहोस्‌) वफादार र सक्रिय भएर यस काममा भाग लियौँ भने हामी भविष्यमा आनन्दित जीवन बिताउने समयको प्रतीक्षा गर्न सक्नेछौँ। त्यो जीवन हामीले कल्पना गरेको भन्दा कता हो कता रमाइलो हुनेछ। प्रभुमा हामीले गरेको परिश्रम व्यर्थ गएन भन्‍ने कुरा त्यतिबेला प्रमाणित हुनेछ।

तपाईँ कस्तो जवाफ दिनुहुन्छ?

  • समस्याहरूको सामना गर्नुपर्दा फेरि जीवित हुने आशाले हामीमा कस्तो असर पार्नुपर्छ?

  • “आँखाको एक निमेषमा” परिवर्तन भएर स्वर्ग जानेहरूले येसुसित मिलेर के गर्नेछन्‌?

  • पहिलो कोरिन्थी १५:५८ मा पाइने सल्लाह हाम्रो समयको लागि किन उपयुक्‍त छ?

गीत १४० जीवन—सधैँभरिलाई!

a पहिलो कोरिन्थी अध्याय १५ को बाँकी भागमा विशेषगरि अभिषिक्‍त ख्रिष्टियनहरू फेरि जीवित हुने विषयमा चर्चा गरिएको छ। तर पावलले लेखेको कुरा अरू भेडाको लागि पनि चासोको विषय हो। फेरि जीवित हुने आशाले अहिले हाम्रो जीवनशैलीमा कस्तो प्रभाव पार्नुपर्छ र यसले हामीलाई भविष्यमा पाइने आनन्दित जीवनको प्रतीक्षा गर्न कसरी मदत गर्छ भनेर यस लेखबाट बुझ्नेछौँ।

b यस अङ्‌कको “पाठकहरूको प्रश्‍न”-मा पावलले १ कोरिन्थी १५:२९ मा लेखेको कुराबारे छलफल गरिएको छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने