-
प्रथम शताब्दीका यहूदीहरूलाई प्रचार गरियोप्रहरीधरहरा—२००५ | अक्टोबर १५
-
-
प्रथम शताब्दीका यहूदीहरूलाई प्रचार गरियो
इस्वी संवत् ४९ मा यरूशलेममा एउटा महत्त्वपूर्ण सभा बस्यो। प्रथम शताब्दीमा मण्डलीको “खामा कहलिएका” यूहन्ना, पत्रुस र येशूको सौतेनी भाइ याकूब त्यस सभामा उपस्थित थिए। प्रेरित पावल र तिनका साथी बर्णाबास पनि त्यस सभामा थिए भनी बताइएको छ। सभामा छलफल गरिएको एउटा बुँदा थियो—सुसमाचार प्रचार गर्नुपर्ने ठूलो इलाका कसरी विभाजन गर्ने। पावल यसो भन्छन्: “[तिनीहरूले] मलाई र बर्णाबासलाई सङ्गतिको दाहिने हात दिएर हामीचाहिं अन्य जातिकहाँ जाने, र उनीहरूचाहिं खतनाका मानिसहरूकहाँ जाने भने।”—गलाती २:१, ९.a
सुसमाचार प्रचार गर्नुपर्ने इलाकालाई कसरी विभाजन गरियो? के यहूदी तथा यहूदी मत मान्नेहरूको एउटा समूह र अन्यजातिहरूको अर्को समूह गरी जम्मा दुई समूहमा विभाजन गरियो? अथवा कतै यो विभाजन भौगोलिक रूपमा पो गरिएको थियो कि? यस प्रश्नको सही जवाफ पाउन हामीले प्यालेस्टाइनबाहिर बसोबास गर्ने यहूदी डायास्पोरा अर्थात् प्रवासी यहूदीहरूको इतिहासबारे केही थाह पाउनुपर्छ।
प्रथम शताब्दीमा यहूदीहरू
प्रथम शताब्दीमा कति जना यहूदीहरू प्रवासमा बस्थे? यहूदीहरूको मानचित्र भन्ने पुस्तकमा लेखिएको कुरामा थुप्रै शास्त्रविद्हरू सहमति जनाउँछन्: “प्रवासमा बस्ने यहूदीहरू यति नै थिए भनेर पक्का गर्न त गाह्रो छ तर इस्वी संवत् ७० अघि यहूदियामा यहूदीहरू पच्चीस लाख र रोममा चाहिं चालीस लाखभन्दा धेरै थिए भनी अनुमान लगाउन सकिन्छ। . . . रोमी साम्राज्यको कुल जनसंख्याको झन्डै १० प्रतिशत यहूदीहरू थिए र यहूदीहरू धेरै भएको पूर्वीय प्रान्तका सहरहरूमा यहूदीहरूको जनसंख्या २५ प्रतिशत वा त्योभन्दा धेरै हुन सक्छ।”
सिरिया, एसिया माइनर, बेबिलोन र पूर्वमा पर्ने मिश्रमा यहूदीहरूको ठूलै बस्ती थियो भने, युरोपमा यहूदीहरूको स-सानो समुदाय थियो। प्रथम शताब्दीमा नाउँ चलेका केही मसीहीहरू प्रवासी यहूदीहरू नै थिए। जस्तै—साइप्रसका बर्णाबास, पोन्टसका प्रिस्किला र अक्विला, जो पछि रोम गए, अलेक्जेन्ड्रियाका अप्पोलस र टार्ससका पावल।—प्रेरित ४:३६; १८:२, २४; २२:३.
प्रवासी यहूदीहरूले आफ्नो मातृभूमिसित थुप्रै तरिकामा सम्बन्ध कायम राखेका थिए। तीमध्ये एउटा तरिका यरूशलेमको मन्दिरमा वर्षेनी कर पठाउनु थियो। त्यसरी कर पठाउनु भनेको मन्दिरको कामकुरा तथा उपासनामा भाग लिन सक्ने एउटा तरिका थियो। यसबारे शास्त्रविद् जोन बार्क्ले भन्छन्: “यसरी पैसा सङ्कलन गर्दा थप पैसा धनीहरूको अनुदानबाट आउँथ्यो भनेर स्पष्ट छ र यसमा पनि दाताहरू विशेष गरी प्रवासी यहूदीहरू नै थिए।”
अर्कोचाहिं, हजारौं प्रवासी यहूदीहरू चाड मनाउन वर्षेनी यरूशलेम आउने भएकोले पनि आफ्नो मातृभूमिसित उनीहरूको सम्बन्ध टुटेको थिएन। इ.सं. ३३ पेन्तिकोसबारे प्रेरित २:९-११ को विवरणले यसको प्रमाण दिन्छ। ती यहूदी तीर्थयात्रीहरू पार्थीया, मादी, एलाम, मेसोपोटामिया, कपोदिसिया, पोन्टस, एसिया, फ्रिगिया, प्याम्फिलिया, मिश्र, लिबिया, रोम, क्रेट र अरबबाट आएका थिए।
मन्दिरका जिम्मेवार व्यक्तिहरूले प्रवासी यहूदीहरूसित चिट्ठीमार्फत सम्पर्क राख्थे। प्रेरित ५:३४ मा उल्लिखित व्यवस्थाका शिक्षक गमलिएलले बेबिलोन र त्यस साम्राज्यका अन्य ठाउँहरूमा चिट्ठी पठाउने गर्थे भनी हामी थाह पाउन सक्छौं। इ.सं ५९ तिर प्रेरित पावललाई रोममा कैदीको रूपमा ल्याइँदा “यहूदीहरूका मुख्य मुख्य मानिसहरू[ले]” तिनलाई यसो भने, “हामीले ता तपाईंको विषयमा यहूदियाबाट केही चिट्ठी पाएका छैनौं। कुनै भाइहरू आएर तपाईंको केही खराबी कुरा पनि सुनाएको छैन।” यसबाट के कुरा स्पष्ट हुन्छ भने, यहूदियाबाट रोममा चिट्ठी तथा रिपोर्टहरू आइरहन्थ्यो।—प्रेरित २८:१७, २१.
प्रवासी यहूदीहरूले हिब्रू धर्मशास्त्रको युनानी अनुवाद सेप्टुआजिन्ट बाइबल पढ्थे। एउटा पुस्तक यस्तो टिप्पणी गर्छ: “प्रवासी यहूदीहरूले सेप्टुआजिन्ट बाइबललाई पवित्र धर्मशास्त्रको रूपमा स्वीकारेका थिए भन्न सकिने ठोस कारणहरू छन्।” प्रारम्भिक मसीहीहरूले पनि आफ्नो शिक्षण कार्यमा सेप्टुआजिन्ट बाइबल नै व्यापक रूपमा चलाउँथे।
यरूशलेममा भएको मसीही परिचालक निकायलाई यी सबै परिस्थितिबारे राम्रोसँग थाह थियो। सिरियालगायत दमीशक र एन्टिओकजस्ता ठाउँहरूमा बसोबास गर्ने प्रवासी यहूदीहरूलाई पनि सुसमाचार सुनाइसकिएको थियो। (प्रेरित ९:१९, २०; ११:१९; प्रेरित १५:२३, ४१; गलाती १:२१) इ.सं ४९ को सभामा उपस्थित भएकाहरूले भविष्यमा गर्ने कामबारे पनि पक्कै योजना बनाएको हुनुपर्छ। आउनुहोस्, यहूदी तथा यहूदी मत मान्नेहरूलाई पनि व्यापक रूपमा सुसमाचार प्रचार गरेको विषयमा बाइबलमा दिइएका जानकारीहरू केलाएर हेरौं।
पावलको यात्रा र प्रवासमा रहेका यहूदीहरू
प्रेरित पावलले सुरुमा “अन्यजातिहरू, राजाहरू र इस्राएलका सन्तानका सामु [येशू ख्रीष्टको] नाउँ [को]” साक्षी दिने कार्यभार पाएका थिए।b (छड्के अक्षर हाम्रो, प्रेरित ९:१५) यरूशलेमको सभापछि पावलले आफ्नो यात्राको दौडान प्रवासी यहूदीहरू जहाँ-जहाँ भेटिन्छन् त्यहीं-त्यहीं प्रचार गरे। (पृष्ठ १४ को पेटी हेर्नुहोस्।) यसबाट प्रचार गर्नुपर्ने इलाकाको विभाजन भौगोलिक रूपमा गरिएको थियो भन्ने कुरा स्पष्ट हुन्छ। पावल र बर्णाबासले आफ्नो मिसनरी कार्य पश्चिमतिर विस्तार गर्दै लगे भने, केही भाइहरूले यहूदीहरूको मातृभूमिमै रहेर प्रचार गरे। अरू कतिपयचाहिं पूर्वमा यहूदीहरूको ठूलो समुदाय भएको ठाउँतिर गए।
-
-
प्रथम शताब्दीका यहूदीहरूलाई प्रचार गरियोप्रहरीधरहरा—२००५ | अक्टोबर १५
-
-
प्रवासी यहूदीहरू धेरै भएको अर्को ठाउँ बेबिलोन, पार्थीया, मादी र एलाम थियो। एक जना इतिहासकारका अनुसार “यहूदीहरू टिग्रीस र यूफ्रेटिसको इलाका, आर्मेनियादेखि फारसको खाडी र उत्तरपूर्वमा केस्पियन सागर र पूर्वतिर मादीसम्म थियो।” इन्साइक्लोपीडिया जुडाइका-ले तिनीहरूको संख्या ८,००,००० वा त्योभन्दा धेरै हुन सक्ने अनुमान गरेको छ। प्रथम शताब्दीका यहूदी इतिहासकार जोसेफसका अनुसार बेबिलोनमा बसोबास गर्ने हजारौं यहूदीहरू वार्षिक चाडको लागि यरूशलेम आउँथे।
इ.सं ३३ पेन्तिकोसमा बप्तिस्मा लिएकाहरूमध्ये बेबिलोनबाट आएका यहूदीहरू पनि थिए कि? त्यसबारे हामीलाई थाह छैन तर त्यो दिन मेसोपोटामियाबाट आएका मानिसहरूले पनि प्रेरित पत्रुसको भाषण सुनेका थिए। (प्रेरित २:९) इ.सं. ६२-६४ मा प्रेरित पत्रुस बेबिलोनमा थिए भनेर चाहिं हामीलाई थाह छ। त्यहीं छँदा तिनले आफ्नो पहिलो र सायद दोस्रो पत्र पनि लेखेका हुन सक्छन्। (१ पत्रुस ५:१३) गलातीका भाइहरूलाई लेखेको पत्रमा उल्लिखित सभामा पत्रुस, यूहन्ना र याकूबलाई खटाइएको इलाकामा यहूदीहरूको धेरै जनसंख्या भएको बेबिलोन पनि पक्कै परेको हुनुपर्छ।
-
-
प्रथम शताब्दीका यहूदीहरूलाई प्रचार गरियोप्रहरीधरहरा—२००५ | अक्टोबर १५
-
-
a प्रथम शताब्दीको परिचालक निकाय खतनासम्बन्धी विवादबारे छलफल गर्न भेला भएको बेला अथवा त्यही छलफलको दौडान यो कुरा पनि उठेको हुन सक्छ।—प्रेरित १५:६-२९.
-